योजना अर्कै थियो जीवनको, भयो अर्कै । सास फेर्नैका लागि बाँच्नु र नबाँच्नुको फरक के ? सानी मनसँग दोहोरो संवाद गरिरहिछे । ऊ पच्चीस वर्षे बूढी आइमाई हो, सम्बन्ध र व्यवहार दुवैमा । विश्वास सबैबाट टुटिसकेको छ । जवानीका जाँगरहरू अहिले नै सेलाइसकेका छन् । ऊ टाढा छे आफन्तबाट अनि आफ्ना पुराना क्रियाकलापबाट ।

आज मर्निङवाक सुरु गरेको पन्ध्रौँ दिन हो सानीको । साँढे पाँच फिट अग्ली, पचास किलोकी एउटी लुखुरी आइमाई दिनहुँ घन्टौँ किन हिँड्छे ? यही कुराले चकित हुन्थी ऊ स्वयम् । मनभित्रै मरिसकेका सपनाका लासहरूको व्यवस्थापन सहजै हुन्छ भन्ने उसको अनुमान थियो । तर अहँ, त्यो बसन्ती हावाले मनको औडाहामा शीतलता सिञ्चन गरेन । सिथिल उल्लास ब्युतिएन फेरि र पहिले नै उजाडिएका आकाङ्क्षा पाउलिएनन् ।
छातीमा पाँच वर्षे छोराको अघोर माया छ । स्वाँ….स्वाँ…..सास बढ्दै छ । हिँडाइले ? बाँकी जीवनको चिन्ताले ? कि कलेजोमा सजाएको त्यो अबोध सन्तानको मायाले ?, “हरे ! धड्कन चलुन्जेल मातृत्व मर्दोरहेनछ ।”

सुशीला  खनाल

चार बजेको अँध्यारो, सुनसान बाटो, त्रसित मन अनि उसको भाग्य र जीवनका साइनाहरू ।
स्पोर्टस् सुजले बानेश्वर जित्छ । फेरि रिप्ले हुन्छ विगत आतङ्क । बुबाआमाको हृदय चहराएको थियो छोरी जन्मँदा । बालिका र युवती आफैँमा दुखेका थिए । परिवारमा छोरी र बिहेको साइनो निकै आत्मीय हुँदोरहेछ ।

जे भयो नराम्रो भएको थिएन । वर्ष दिनपछि संसार रङ्गाउँदै छोरो धर्तीमा आएको थियो । जिन्दगी मात्र होइन संसार नै पूर्ण भएको आभाष भएको थियो त्यसबखत । जन्मनेबित्तिकैको छोरो मनमनै पुलुक्क हेरी उसले । छेउमा आफूलाई चौबन्दी र फेटामा ठम्याई । “मेरो मुटुको टुक्रो……! मैले नै तिम्रो जीवनको हरियाली फाँडिदिएँ । अपहेलित नारीत्व र लत्याइएको पत्नीत्वको खिचातानीमा मैले मातृत्वको संरक्षण गर्न सकिनँ । सरी बाबु ! सरी छोरा !”, उसका पाइला अडिए । गोडा लल्याकलुलुक भएर आए । ऊ टुसुक्क बसेर दसै औँलाले आँखा छोपिरही । केही समयपछि उठी र चिसा हत्केला लुगाको फेरमा दलेर पाइला बढाई ।

व्यथाहरू भित्र हुन्छन्, तापनि अनुहारमा देखिन्छन् । त्यो मिर्मिरे बिहानीले सानीको अनुहार नियाल्दै थियो । आकाशमा चरा गाउनगाउन लाग्दै थिए । क्षितिजमा घाम आउनआउन लाग्दै थियो । रगतका भुल्कामा छोराले आमा….! आमा….! भन्दै थियो । त्यही पनि सानीले आफूलाई एक्लै ठानी । मनमनै उसले भनी, “आफ्नो जीवन अव्यवस्थित हुनेले अर्काको जीवनको व्यवस्था गर्न सक्तैन ।”

यहाँ आफ्नै छोराले ‘अर्का’को परिचय पायो । मन दरो बनाई, “अरूलाई मार्नुमा र आफू मर्नुमा कुनै फरक छैन । कमिला र किरा त आफ्नो पूरा आयु बाँच्छन् ।”, सानीभित्रको मान्छे अलिकति जाग्यो । उसले बाच्ने अठोट गरी । मरेर बाँच्ने होइन, बाँचेरै बाँच्ने । अचानक उसको गन्तव्य परिवर्तन भयो ।
बाटो अझै चकमन्न थियो; मन पो कोलाहलमय थियो त । सानीले यसो आफूले भिरेको झोला सुम्सुम्याई । उसलाई लाग्यो; झोला हलुङ्गो छ, तर जीवन भने सारै भारी छ । झोलामा अलिअलि सामान छ, तर यता पेट पूरै खाली छ ।

“आफ्ना बासँग पनि अनि छोराका बासँग पनि मागेरै खाएकी थिएँ । यदाकदा बात पचाउने पनि बानी छँदैछ । मागेरै भए पनि खाउँला ।”, उसले दुई दिनदेखिको भोको पेट छामी ।

सानी सहिद गेटलाई देब्रे हातपट्टि पारेर अगाडि बढ्दै थिई । गाडी गुडेको आवाज आयो । आफैँलाई जित्नजित्न लागेको ट्याक्सीलाई रोकी ।

सानीः दाइ ! कलङ्की जाऊँ है ।

ड्राइभरः हुन्छ ।

सानीः कति पैसा ?

ड्राइभरः पाँच सय ।

सानीः घटाउन मिल्दैन दाइ ?

ड्राइभरः तपाईँको एक रातको त मागेको छैन त !– च्याँठियो ।

लान्छना डाइजेस्ट गर्ने सामाजिक आमासय ‘सानी’ थपक्क ट्यक्सीभित्र पसी । उसलाई कसैले यही बात लगाउँदा रातभरि रुनुपरेको थियो । त्यही बातले सम्बन्ध छोडायो र घर पनि उजाड्यो ।

बिहानको छ बजिसकेको छ । सडकका बत्तीहरू निभ्न नसकेर जलिरहेझैँ लाग्छन् । बजारका सटरहरू अलिअलि गर्दै खुल्दै छन्, तर सानीका समग्र साइना र सम्बन्धका ढोकाहरू सदासदाका लागि बन्द हुँदै छन् । अब ऊसँग बेग्लिएर बस्न कसैले रहर गर्ने छैन ।

“के म अब मेरो निजी सम्पत्ति ‘अस्मिता’ जोगाउन सकूला ? म उस्ती कि मेरो भाग्य उस्तो ?”, यी प्रश्न कसैलाई नसोध्ने बाचा मनले मनसँग ग¥यो । अब सानीको मन अझै दरो बन्न खोज्यो ।

कलङ्की चोकपारि गाडीहरूको भीड छ । सडकछेउको फोहोरको थुप्रोमा कुकुरहरू जीवन रक्षाको सङ्घर्ष गर्दै थिए । “हो, बाँच्नुपर्छ । आफ्नो बाँच्ने अधिकारको सुरक्षा आफैँले गर्नुपर्छ; हरेकले ।”, सानीले पत्रिकामा बेरेको मेटासिटको सानो सिसी बिस्तारै निकाली अनि कसैले नदेख्ने गरी फोहोरको थुप्रोतिर मिल्काइदिई । फेरि आफ्नो पुरानो सामसुङ (ई फाइफ) मोबाइल निकाली । डाटा अन गरेर सबैभन्दा पहिला फेसबुक डिएक्टिभेट गरिदिई । त्यसपछि मोबाइलबाट सिम निकालेर त्यही फोहोरको थुप्रोमा हुत्याइदिई । अब अरूका नजरमा ऊ कहीँ थिइन, तर वास्तवमा दुनियाँ हराइसकेको थियो अनि ऊ मात्र बाँकी थिई उसका लागि ।

“जाने हो अन्टी ?”, मयुर यातायात छेउमा थियो ।

“हो ।”, ऊ गाडीमा पसी र भनेकै सिटमा गएर बसी । गाडीले आफ्नो वेग लियो । उसले पनि आफ्नो मनोवेग रोक्न सकेकी थिइन ।
“मलाई काठमाडौँले त्यसरी नै रुचाएन जसरी मायालुले मेरो माया रुचाएको थिएन । निठुरी दैवले छोराकी आमा नरुचाए जस्तै नेपाल आमाको काखले मलाई नरुचाउला अब ।”, जसजसलाई बिर्सन खोज्यो सबभन्दा बढी उसैलाई सम्झिँदो रहेछ मनले । सानीका आँखा भल्भल्ती बगिरहे । गाडीले थानकोट काट्यो । मृत्युदण्ड भोग्न हतकडीसहित अगाडि बढिरहेको निर्दोष अपराधीझैँ सानी पनि गन्तव्यहीन यात्रातर्फ अगाडि बढिरहेकी थिई । ऊसँग भाव थियो, भाषा थिएन । अनुभुति थियो, शब्द थिएन अनि आँसु थियो, मूल्य थिएन ।
छेउमै बसेको मान्छे कान्तिपुर पत्रिका हेरिरहेको थियो । ऊ ‘चीनमा कोरोनाको कहर’ शीर्षकको समाचार पढिरहेको थियो अनि सानी मृत्युसँग

डराएको उसको अनुहार । लगत्तै सानीका आँखा पत्रिकाको ‘मानिस हराएको सूचना’मा परे । सूचना र समाचारहरू त नयाँ नयाँ हुन्छन् दिनहुँ । केही दिनपछि त्यही पेजको त्यही ठाउँमा आउनेछ;

महिला हराएको सूचना:
नाम : सानी शर्मा
उमेर : पच्चिस वर्ष
वर्ण : गहुँगारो
उचाई : साँढे पाँच फिट ……….