मेरो यो लेख, आफैँप्रति लक्षित छ । भनौँ, यो मेरो, मैसँगको आत्मसाक्षात्कार हो । त्यसैले, अधिकांश लेखकहरू, यहाँ मैले व्यक्त गरेको कुरासँग सहमत नहुने सम्भावना मैले प्रस्टै देखेको भए पनि, निजी अनुभव भएकोले आफ्नै मनोवेगको विचरनका लागि लेखेका हुँ ।

म भूमिकाहरूमा धेरै नै विभाजित मान्छे हुँ । हुन त सबै मान्छे विभिन्न मोडमा, विभिन्न भूमिकामा विभाजित छ । तर, म यो लेख एक सर्जकको हदमा लेखिरहेको छु, समालोचक वा समीक्षकको हदमा होइन । मलाई मेरा सिर्जनाको प्रेम छ, र त्यो नै मेरो अनुहार हो । मेरो समालोचनाप्रति मलाई कुनै प्रेम वा लोभ छैन, र समालोचक भनिनुमा कुनै सहजता पनि छैन । त्यसैले, यो एक सर्जकको विचार हो ।

महेश पौड्याल

पछिल्लो समय सञ्चार माध्यम तथा सामाजिक सञ्जालामा केही लेखकहरूले, आफूलाई पाठक, समीक्षक, समालोचक र मिडियाले वेवास्ता गरेको भनेर असन्तुष्टि पोखिरहेका छन् । आवरणमा उनीहरूका आक्षेप जेजे भए पनि, सारमा उनका आरोप यी हुन्ः

१. हामी अब्बल सर्जक हौँ । हामीलाई पाठक, अन्य लेखक, प्रकाशक, समीक्षक तथा समालोचकहरूले पढेनन् ।
२. साहित्यमा गुट धेरै भए । गुटका कारण नेपोटिज्म बढ्यो । त्यैले, हामीले हुर्कनै पाएनौँ ।
३. साहित्यमा एउटाले गोडमेल गरेर, बोकेर सेना बनाउँछ, र गुणगान गराउँछ ।
४. मिडियाले हामीलाई स्थानै दिएन ।

आफू पनि एक सिकारु लेखक भएका नाताले अन्य लेखकहरूको पीडा र असन्तुष्टिले मलाई पनि स्वतः संवेदनशील बनाएको छ । तर, साहित्यको फाँटमा यस्ता असन्तुष्टि सर्वकालीक हुन् । यी सधैँ रहन्छन् कुनै पनि युगमा, कालमा, समयमा । त्यसैले, यस्ता असन्तुष्टिको अघिल्तिर उभिएर म अचेल दुई विषयमा निर्मम चिन्तन गर्न थालेको छु । पहिलो, हामीले चाहेजति परिमाणमा समयले किन पढिरहेको छैन हामीलाई ? दोस्रो, यी गुनासा सर्वकालीक हुन् यदि भने, हामीले यिनलाई दरकिनार गरेर कसरी अगाडिको बाटो तय गर्ने ?

प्रथमतः यत्तिका धेरै असन्तुष्टि बोकेका हामी आफैँ गैरजिम्मेवार र घमण्डी लेखक हौँ । हामीले बुझ्नु त पर्छ नि — कुनै पनि समयमा, कुनै पनि प्राज्ञिक समुदायमा भएका “सबै” मान्छे र सबै “पाठक” निधेष गर्न तम्सिएर बसेको हुँदैनन् । पाठकहरू, समीक्षक, समालोचक र पत्रपरित्रकाहरू पनि आआफ्नै बुझाइ, रुचि, आग्रह, चिन्तन र दर्शन बोकेर बसेका हुन्छन् । आआफ्नो रुचिको विषय किन्छन्, पढ्छन् । एउटा सर्जकको लेखनमा साँच्चै नै कुनै विलक्षणता छ भने, यसै समुदायको कुनै न कुनै घटकले उसको विलक्षणताको पहिचान गर्दछ, र उसलाई जीवित राख्दछ । तर, कतैबाट पनि त्यस प्रकारको सम्बोधन भएन भने, त्यसका दुई कारण हुन्छन्— कि सिर्जना नै दुर्वल छ, कि त त्यसलाई समाजसामु सम्प्रेषण गर्ने माध्ययम गलत छ, र त्यो पुग्नुपर्ने ठाउँमा पुग्दै पुगेन । मेरो सिर्जनाका सन्दर्भमा म यी दुवै कुरामा प्रस्ट र विश्वस्त छ ।

हामीले पाठक समुदायलाई सत्तोसराप गर्नुमा कुनै पनि तुक छैन । एक गैरजिम्मेवार लेखकको स्वभाव हो त्यो । भोलि पनि हामीलाई चाहिने पाठक समुदाय त्यही वा त्यस्तै होइन ? आज यति अभद्र बनेर प्रस्तुत भएपछि भोलि पाठकले के कारणले पढ्ने हामीलाई ? दोस्रो, हाम्रो सिर्जना सम्प्रेष्य भएन, बजार पाएन, उचित प्रोत्साहन पाएन, चर्चामा गएन वा ध्यान तान्न सकेन भने, एउटा सर्जक आफूतिर बढी फर्केर आत्मचिन्तन गर्नु जरुरी छ । उदाहरणका लागि, हामी कवि हौँ भने, र कविता लेखिरहेका छौँ भने, आफूलाई सोध्नु जरुरी छ दुई प्रश्न । एक, पाठकले हाम्रो सिजना किन पढ्ने ? र, दुई, आफू बौद्धिक आवाज हुँ भन्ने कुरा समाजमा स्थापित गर्नलाई मैले केके गरेँ अहिलेसम्म ?

कविलाई उदारणका रूपमा राखौँ । हाम्रो त्यो समय र जमाना होइन, जब पाठक र लेखक दुवैको सङ्ख्या समीति थियो, पाठकको ज्ञानतन्त्रमा पहुँच पनि सीमित थियो, र साहित्यको नाममा, हाजमोलाले जस्तो जो आयो त्यही पचायो गर्थे सबै । अचेल, हरेक पाठक सचेत छन्, बौद्धिक छन् । ऊसँग विश्वकै ज्ञानकोशसँग सिधा जोडिने सामथ्र्य छ । ऊ, विविध पनि छ, विभाजित पनि बढी छ । उसको रुचि र चाख पनि उसै गरी बाँडिएको छ । यस्तो स्थितिमा उसले, आफूले पढ्ने लेखकलाई सयौँ कोणबाट मूल्याङ्कन गरेरै मात्रै पढ्न । उसको मूल्याङ्कनमा हामी खरो उत्रन सकेनौँ भने पढ्दैन । हामीले भ्रमको खेती गरेर अब पाठक अल्मल्याउन सक्ने समय छैन ।

हामी कविता लेखिरहेका छौँ भने, हामीलाई पाठककले, कम्तीमा चार कोणबाट मूल्याङ्कन गर्छ । उसले सोध्छ—

१. तपाईं कवि । तपाईंलाई विश्व कविता, काव्यिक आन्दोलन, तिनका सैद्धान्तिक विकास, तिनका क्रमिक रूपमा आउँदैगरेका परिवर्तनहरूका बारेमा के कति थाहा छ ? कति पढ्नुभाछ ? छैन भने, तपाईँसँग स्वरूप र कथ्य दुवैको पुनरावृत्ति गर्ने सम्भावना हुन्छ, जसले गर्दा पाठकको नजरमा तपाईं बासी र असान्दर्भिक ठहरिनु हुने छ । अथवा, तपाईंको कविता निजी भावना हो, र त्यस निजी भावनामा पाठकले आफ्नो पनि भावको समानधर्मिता भेटेन भने पढ्दैन ।

२. तपाईं नेपाली कवि । नेपाली कविताको ऐतिहासिक विकासक्रसँग आफूलाई कतिको परिचित गराउनु भाको छ ? छैन भने, तपाईंको असान्दर्भिकता स्वतः सिद्ध हुन्छ ।

३. तपाईं आजको समयको कवि । आजको विश्व कहाँ खडा छ ? आजको समयका अनौपचारिक तर मानव–हितका निर्देशक सिद्धान्त केके हुन् ? विश्वको इतिहासमा, राजनीतिमा, विज्ञानमा, वातारवरणमा, वा ज्ञान र अध्ययनका अन्य आयाममा केके भइरहेको छ ? त्यसको पनि तपाईंलाई आधारभूत कुरा थाहा छ भन्ने कुरा तपाईंले पाठकसामु प्रमाणित गर्नुभाको छ ? छैन भने, तपाईंको ज्ञानमाथि पाठकको प्रश्न र शङ्का हुन्छ । त्यसैले, तपाईंलाई उसले पूर्ण रूपमा पढ्दैन । समालोचक रेमण्ड विलियम्सले भनेजस्तो, समयको पनि मुड हुन्छ, मनस्थिति हुन्छ, त्यसको एक मूल सांस्कृतिक भँगालो हुन्छ, र अनुभूतिको आफ्नै संरचना हुन्छ । विश्व तथा राष्ट्रिय परिवेशसँग परिचित नभएको कविले उक्त संरचना समात्न सक्दैन । त्यसो भयो भने पाठकले पढ्दैन ।

४. कवितामा कुराको, बिम्बको र प्रतीकको पुरानावृत्ति अति नै पट्टयारलाग्दो हुँदै गएको सत्य हो । यस स्थितिमा, प्रत्येक कविका लागि विशेषज्ञताको कम्तीमा एउटा क्षेत्र चाहिएकै छ, जहाँबाट उसले नयाँ कुरा प्रशोधन गरेर ल्याउन सकोस् । तपाईंको विशेषज्ञता वा गहन अध्ययनको “अर्को” क्षेत्र कुन् हो ? कि, कुनै पनि छैन ? छैन भने, नयाँ कुरा आउँदैन । पाठकले पढ्दैन ।

हरेक पाठक, समीक्षक र समालोचक राम्रो सिर्जनको खोजीमै हुन्छ । त्यो उसका लागि पनि खुसीको कुरा हो । एउटा प्राप्ति हो । कोही कसैको दुस्मन होइन । सबैलाई सुन्दर साहित्यको रसपान गर्ने अभिलाषा हुन्छ । तर पनि, कहिल्यै उसको रोजाइमा परिएन भने, समस्या आफूमा नै छ, उसमा होइन । यस कुरामा म प्रस्ट छु ।

सञ्चारमाध्यमको प्रश्नमा— म आफू थुप्रै संचारमाध्यमको छनोटबाट बाहिरिएको छु । मेरा धेरै धेरै रचना रद्दीको टोकरीमा परेका छन् । मैले हरेकपल्ट सोचेको छु — मेरो साधना पुगेन, स्तर पुगेन, ध्यान पुगेन । होला, कतिपय पत्रिका सन्दर्भमा पूर्वाग्रह भयो होला । उक्त पत्रिकाको सम्पादक अथवा संयोजकको गुड बुकमा म परिनँ होला । तर, त्यो अपवदा हो । सबैसँग दुस्मनी त कहाँ हुन्छ ? धेरैतिरबाट बन्देजमा पर्नुभनेको मेरो लेखनको दुर्वलता हो ।

अर्को तरिकाबाट पनि सोच्नुपर्छ । कुनै पत्रिकाले रचना छापिदिएरै मात्रै कवि वा साहित्यकार भइन्छ भन्ने समय गयो । उहिले उहिले, रचना, रूपरेखा, अभिव्यक्ति, रचना गरिमा, मधुपर्क आदिमा छापिएपछि कवि होइने चलन थियो । हाम्रो समयमा पनि कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक आदिमा छापिएपछि लेखक होइन्छ भन्ने कतिपयको विश्वास छ । तर, यो सत्य होइन । यिनमा छापिए पनि, अन्त्यमा त्यो फोटो बनेर, लिङ्क बनेर आइपुग्ने फेसबुकमा वा ट्विटरमा हो अचेल । फेसबुक वा ट्विटरबाटै पढिन्छ, सेयर गरिन्छ । प्रतिक्रिया पनि त्यहीँ दिइन्छ । त्यसैले, पत्रिकाले छापेन भन्ने गुनासो गरिरहनुपर्ने समय पनि होइन यो । सबै लेखक, अचेल, आफैँ पनि सञ्चारमाध्यम । सबै सम्पादक । सबै प्रकाशक । रोइलो किन ?
फेरि अधिकांश पत्रिका नाफामुखी र व्यवसाय हुन् । उनको आफ्नै आग्रह छ । आफ्नै लेखकको समुदाय छ, सम्प्रदाय पनि छ । मुद्दा वा एजेन्डा छन्, जसको निकट लेखक तान्छन् । तर, पत्रिकैमा छापिएर लेखक होइन्छ भन्ने जमाना नै होइन । यसमा धेरै चिन्ता लिइरहनुपर्ने जरुरी छैन । भोलि संचारमाध्यमले आफैँ खोज्दै आउनुपर्ने हैसियत आफूले बनाउनुपर्ने हुन्छ । आखिर, उसलाई पनि त राम्रो सामग्री चाहिएकै हुन्छ ! नत्र, उसको पनि त पब्लिक रेटिङ घट्छ । घटेकै छ । नाम नलिऔँ, कतिपय दैनिक पत्रिकाको पाठकसङ्ख्या घटेर अचेल केही सयमा सीमित हुन पुगेको छ । कहिले बन्द हुन्छन् यस्ता पत्रिका, थाहै छैन । कतिपय बन्द हुन पनि थालिसके । आफैँ रुग्ण छन् । तिनलाई के भन्ने? फेरि, त्यहाँ डेस्कमा रहेको संयोजकको जागिर आफैँ अस्थायी छ । एक अस्थायी व्यवस्थामाथि स्थायी धारणा टाँसेर आफैँलाई दुःखी बनाइरहनुभन्दा भोलि पनि उज्याले हुन्छ, र एउटा नयाँ घामको उदय हुन्छ भन्ने कुरामा मलाई मेरै मनले विश्वास गर्न सिकाइरहेको छ ।

अब आयो कुरा गुट वा नेपोटिज्मको । गुटहरू हुन्छन्, किनकि हाम्रो एउटा स्वभाव हुन्छ, बानी हुन्छ, आग्रह हुन्छ, दुव्र्यसन हुन्छ, चिन्तन् हुन्छ, राजनैतिक झुकाव हुन्छ, भन्न मिल्ने प्रकृति हुन्छ, भन्न नमिल्ने सन्दिग्धता हुन्छ । हामी विशुद्ध लेखक भए त नहुनुपर्ने नि त, यी सबै । किन भए त ? किनकि, हामी लेखक पनि मान्छे हौँ र मान्छे हुनुका सतगुण वा दुर्गुण हामीसँग पनि हुन्छन् । र हाम्रोे जस्तो बानी र सोच छ, त्यस्तै साथी हुन्छन् । हामी पियक्कड हौँ भने, साथी त्यस्तै । हामी अन्य कुराका दुव्र्यसनी हौँ भने, हाम्रो समूह त्यस्तै । माक्र्सवादी हौँ भने त्यस्तै । जातिवादी हौँ भने, यस्तै । होइन, गुट हुनुहुँदैन भन्ने हो भने, हामी आफ्ना सबै गुण र अवगुण फुकालेर विशुद्ध लेखकमात्रै बनेर प्रस्तुत हुन सक्छौँ ? सक्दैनौँ भने, हामी गुटका सदस्य बनिरहनु अवश्यम्भावी छ । सक्छौँ भने, हामीले एक्लै हिँड्ने आँट गर्नुपर्छ । त्यस्तो एक्लै हिँड्ने आँट भएको सर्जक, वास्वतमा सही सर्जक हो । उसलाई न गुट चाहिन्छ, न समूह । उसलाई आफ्नै सिर्जनाप्रतिको आत्मविश्वासले कालजयी बनाउँछ । हामी गुट बनाउने पनि, देख्ने पनि सबै सबै खण्डित लेखक हौँ । हामी क्षेत्रका, जातका, पार्टीका, लिङ्गका, वर्गका, मुद्दाका सैनिक हौँ । म पनि । अनि, हामी सबैका आआफ्ना गुट हुँदैनन् ? यत्ति हो — गुटलाई लोकतान्त्रिकरण गरौँ । उदार बन्न सिकाऔँ । अन्य स्वभाव र विचारका सर्जकलाई निषेध गर्नुहुँदैन भन्ने संस्कार सिकाऔँ । एकअर्काका कमजोरीमा निर्मम बनौँ, र सच्याऔँ । अनि हुन्छ काम । नत्र केही पनि हुँदैन ।

यति कुरा मेरो आत्माले मलाई बताउन थालेको छ अचेल ।

जहाँसम्म नेपोटिज्मको प्रश्न छ — नेपोटिज्म त छ । तर त्यो पाठकले गर्ने होइनन् । त्यसले लेखकको लोकप्रियता कतै पनि रोक्दैन । नेपोटिज्म गर्ने भनेको — सरकार, प्रतिष्ठान, गुठी, संस्थान, संस्था वा संगठनले दिने पुरस्कार, सम्मान, प्रतिनिधित्व, नियुक्ति आदिमा हो । प्रतियोगिताहरूमा हो । पाठ्यक्रमहरूमा हो । प्रकाशनहरूमा हो । होस् । यो दुःखद हो । पीडादायी कुरा हो । तर पनि, यसैमा दुखेसो गरिरहेर के हुन्छ ? कति वर्ष कराउँदा सच्चिन्छ प्रज्ञाप्रतिष्ठानको प्राज्ञ नियुक्तिको प्रक्रिया ? प्रतिभा पुरस्कारको छनोट विधि, मोती पुरस्कारको कसी ? जति कराए पनि सञ्चिदैन । कराउन पनि छोड्नु हुँदैन । आफ्नो सिर्जना यात्रा, पाठकको हृदय जित्ने उपक्रम पनि छोड्नु हुँदैन । पाठकको सत्ताभन्दा ठूलो, एउटा लेखकका लागि अर्को सत्ता छैन । र, पाठक कमाउने काममा नेपोटिज्मले छुन पनि सक्दैन ।

अब, यस प्रकारका भाँडस पोख्ने हामी गैरजिम्मेवार लेखक हौँ भनेको कुरामा फर्किन्छु । त्यसलाई पुष्टि गर्छु । विरोधमा उभिइदिन, विद्रोह गरिदिन, भएन भन्दिन, औँलो उठाइदिन — सजिलो छ । खरो पनि होइन्छ, बलियो पनि । तर, सिर्जना ? कुरा छुट्छ ।

एउटा जिम्मेवार लेखकले, माथि सोधिएका तमाम प्रश्नका उत्तर आफूभित्र खोज्छ । उससँग, अन्य दसजना कविहरूलाई प्रेम गरेर, साथ लिएर, प्रोस्तसाहन दिएर, अगाडि ल्याएर, कवि व्यक्तित्वको निर्माणमा योगदान दिएको अनुभव हुन्छ । बजारमा, फलानाले साथ र सहयोग दिएर हामी अगाडि बढ्न सक्यौँ भनेर खुल्लमखुल्ला भन्न सक्ने दसौँ सर्जक हुन्छन् । पक्का हुन्छन् । कतै सिन्को भाँचेका छैनौँ भने हुँदैनन् । एउटा जिम्मेवार लेखकसँग, पाठकले देखाएको ऐनामा काम गर्ने धैर्य र आत्मविश्वास हुन्छ । ऊ, गुट, उपगुट र व्यवस्थाले जति उपेक्षा गरे पनि, पाठकहरूसँगको सिधा सम्बन्धमा निकै लोकप्रिय हुन्छ । ऊ, क्षणिक सोच्दैन । ऊ दूरगामी सोच्छ । म यो जातको, क्षेत्रको, लिङ्गको, धर्मको वा वर्गको भएकोले कसैले अगाडि आउन दिएनन् भन्नेजस्तो रोइलो गरेर ऊ भिक्टिम कार्ड खेल्ने मान्छे होइन । यी तमाम कार्ड राजनीतिमा काम लाग्छन्, तर साहित्यमा लाग्दैनन् ।

पाठकको जात हुँदैन । त्यसैले, लेखकको पनि जातको कुनै सान्दर्भिकता हुँदैन । पाठको बृहत्तर समुदायले जातका आँखाले हेर्दैन हामीलाई । अँ, मुद्दामा लेखेको हो भने, त्यस मुद्दाले जोडेका केही पाठक र त्यसलाई सम्बोधन गर्नुपर्ने सरकारबीचको कुरा हो त्यो । बृहत् सामाजिक सरोकारको विषय हो भने, सिर्जनाको कलापक्षभन्दा पनि, उठाइएको मुद्दाको कथ्यपक्षले ध्यान तान्छ, तानिनु पनि पर्छ । तर, उक्त मुद्दा वा एजेन्डा सम्बोधित भएको भोलिपल्ट उक्त सिर्जनाको सान्दर्भिकता रहँदैन । त्यसमा, उक्त लेखक पुनः पाठक र प्राज्ञिक समुदायमाथि खनिनुको कुनै पनि तुक हुँदैन ।

सारमा — हजार असन्तुष्टिका पुलिन्दा बनेर बाँचेका हामी धेरै लेखकहरूसँग कुनै पनि दृष्टि छैन । केवल कुण्ठा छ हामीसँग । अस्तु ।