
५० हजार पाउन्ड रकमको बुकर अन्तर्राष्ट्रिय पुरस्कारको लामो सूची गत साता जारी गरिएको छ ।
संसारका जुनसुकै भाषामा लेखिएका तर अंग्रेजीमा अनुदित भएर बेलायत र आयरल्यान्डमा प्रकाशित सिर्जनालाई बुकर अन्तर्राष्ट्रिय पुरस्कारका लागि योग्य मानिन्छ ।
पुरस्कृत पुस्तकले प्राप्त गर्ने ५० हजार पाउन्डलाई अनुवादक र लेखकलाई आधा आधा बाँडेर पुरस्कार रकम दिने गरिन्छ ।
यस पटकको सूचीमा १३ वटा सिर्जना परेका छन् । बुल्गेरियन, क्याटलन र तमिल भाषाबाट अंग्रेजीमा अनुदित पुस्तक पहिलो पटक लामो सूचीमा परेका छन् । १२ देशका ११ भाषाका पुस्तक यस पटक सूचीमा परेका हुन् ।
८९ वर्षकी मरिसे कोन्डेको द गोस्पल अकोर्डिङ टु द न्यु वर्ल्ड उपन्यासमार्फत सबैभन्दा वृद्ध लेखिका नामांकित भएकी छन् । उनको यो उपन्यासलाई उनका पति रिचर्ड फिल्कक्सले अनुवाद गरेका हुन् । यसरी नामांकनमा पर्ने पहिलो पतिपत्नी लेखक-अनुवादक बन्न समेत उनीहरू सफल भएका छन् ।
युक्रेनका एन्ड्रे कुर्कोभले रूसी भाषामा लेखेको उपन्यास जिमी हेन्ड्रिक्स लाइभ इन् एलभिभ पनि यो सूचीमा परेको छ । एन्ड्रेले रूसी भाषामा नलेख्ने प्रण गरेलगत्तै उनको उपन्यास यो सूचीमा पर्नु एक अनौठो किस्सा बन्न पुगेको छ ।
यस पटकको सूचीमा एक जना फिल्म निर्देशक, चार कवि, दुई पूर्व सुरक्षाकर्मी परेका छन् । तीमध्ये एक लेखकले चाहिँ आफू मरिसकेको दाबी गरेका छन् । मरिसकेको दाबी गर्नेमा तमिल भाषामा लेख्ने रहेका छन् ।
विधागत रूपमा हेर्ने हो भने कोरियाली परीकथा, फ्रान्सेली भुताहा कथा, क्यारेबियन सुसमाचार, भारतीय मेलोड्रामा, स्क्यान्डनेभियन उतारचढाव र पूर्वी जर्मनीको कथा यस नामाङ्कनमा अटाएको बुकर पुरस्कार समितिले जनाएको छ ।
यस पटक लामो सूचीका लागि १३४ पुस्तकहरू प्रतियोगितामा सहभागी भएका थिए । १ मे २०२२ बाट २०२३ अप्रिल ३० सम्म प्रकाशित पुस्तकहरूमध्येबाट तिनलाई छानिएको बताइएको छ ।
लामो सूचीमा अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिकाबाट सहभागिता जनाएका छन् ।
यो पुरस्कारका लागि फ्रेन्च मोरक्कोका उपन्यासकार लैला स्लिमानी, युक्रेनी-बेलायती अनुवादक युलेम ब्लाकर, मलेसियाका उपन्यासकार तान त्वान इङ, द न्युयोर्कर पत्रिकाका साहित्य समीक्षक पल सेहगल तथा फाइनान्सियल टाइम्स पत्रिकाका साहित्य सम्पादक फ्रेडरिक स्टडम्यानले यी पुस्तकहरू छनोट गरेका हुन् ।
आउँदो अप्रिल १८ का दिन यी लामो सूचीमध्येबाट छानेर छोटो सूची जारी गरिने बताइएको छ । पुरस्कारको घोषणा भने आउँदो मे २३ का दिन गरिने बताइएको छ ।
लामो सूचीमा पर्ने पुस्तकहरूमा, नाइन्थ बिल्डिङ (जोउ जिङ्घी) अ सिस्टम सो म्याग्निफिसेन्ट इट इज ब्लाइन्डिङ (अमान्दा भेन्सन), स्टिल बर्न (गुडलुप नेटल), पायर (पेरूमल मुरूगन), ह्वाइल वि वेयर ड्रिमिङ (क्लेमेन्स मेयर), द बर्थडे पार्टी (लउरेन्ट मउभिङनिएर), जिम्मी हेन्ड्रिक्स लाइभ इन लिभिभ (आन्द्रे खुर्कोभ), ह्वेल (चिअन मेअङ), द गोस्पल अकोर्डिङ टु द न्यु वर्ल्ड (मारिसे कोन्डे), टाइम सेल्टर (जर्गेइ गोस्पोडिनभ), स्ट्यान्डिङ हेभी (गउज), बोउल्डर (इभा बाल्टसर) र इज मदर डेड (भिग्डिस जोर्थ) रहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

