प्रख्यात क्राइम थ्रिलर उपन्यासकार जेम्स प्याटरसनले यतिबेला अरूकै लागि गोस्टराइटिङ गरिरहेका छन् ।
खासमा जेम्स त अरूलाई आफ्नो उपन्यास लेख्न गोस्ट राइटर भाडामा लगाउने गर्छन् तर यस पटक भने उनले आफू अरूकै लागि गोस्ट राइटिङ गर्ने भएका छन् ।
तपाईंले सम्भवतः जुरासिक पार्क भन्ने फिल्म हेर्नु भएको होला । हो, त्यही फिल्म बन्नुअघि उपन्यासका रूपमा बजारमा आएको थियो र त्यसका लेखक थिए, माइकल क्रिच्टन । उनको सन् २००८ मा निधन भएको थियो । निधनअघि उनले नयाँ उपन्यास लेखिरहेका थिए । सो उपन्यास पूरा गर्नुअघि नै उनको देहान्त भएपछि उनकी विधवा पत्नी सेरीले पतिको आधाअधुरो उपन्यास पूरा गर्नका लागि उपयुक्त पात्र खोजिरहेकी थिइन् । सो उपन्यासलाई जेम्स स्वयंले पूरा गर्ने इच्छा व्यक्त गरेका छन् ।
द वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै सेरीले भनेकी थिइन्, ‘माइकलले यो उपन्यास पूरा गर्न वर्षौं अनुसन्धान गरेका थिए । यो प्रोजेक्टमा उनले दिल ज्यान सबै लगाएका थिए । उनले जीवनको पछिल्लो समय उपन्यासको मूल थलो हवाईमा हुनेछ भनेर सारा समय त्यहीँ बिताउने गरेका थिए । त्यहाँ रहँदा उनले वैज्ञानिक खोज अनुसन्धानका कयौँ ठेलीहरू पढेर निष्कर्षसमेत निकालिसकेका थिए ।’
माइकलले उपन्यासका पात्र, तिनको जीवनी, उपन्यासको कथानक सबै लेखेर तयार पारेका थिए । कतिपय विषयवस्तुका पूर्वकथाहरू पनि भिडियोमा रेकर्ड गरेका थिए । उनले उपन्यासलाई प्रामाणिक बनाउनका लागि कयौँ ज्वालामुखी विज्ञहरूसँग पनि कुराकानी गरेका थिए ।
उनले लगभग सय पृष्ठको असम्पादित उपन्यासको पहिलो पाण्डुलिपि समेत तयार पारिसकेका थिए । उपन्यासको आधारभूमि अमेरिकाको हवाई राज्यको मौना लोआ क्षेत्रमा रहने र सो क्षेत्रमा विष्फोट भएको ज्वालामुखीले कसरी करोडौं वर्षअघि सो क्षेत्रलाई तहसनहस पार्नुका साथै आधा पृथ्वी नै ध्वस्त भएको थियो भन्नेबारे रहेको छ ।
यो उपन्यास आफूले पूरा गर्न पाउनु भाग्यको कुरा भएको बताउँदै जेम्स प्याटरसनले उनले जत्तिकै रोचक उपन्यास तयार पार्न प्रयास गर्ने बताएका छन् ।
जेम्स प्याटर्सन संसारकै बढी बिक्री हुने अमेरिकी लेखकमध्येमा गनिन्छन् । उनका कयौँ उपन्यासहरू टेलिभिजन शृंखला र फिल्म बनेका छन् ।
उपन्यासका फ्याक्ट्रीः जेम्स प्याटरसन | साहित्यपोस्ट (sahityapost.com)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।