गेन्जीको कथा

संसारकै प्रथम उपन्यासका रूपमा चर्चित यो पुस्तककी लेखिका मुरासाकी सिकिबु हुन् ।

उनले लेखेको पाण्डुलिपि भने फेला पर्दैन । तर गेन्जीको कथा यति लोकप्रिय बन्यो कि पछि आएर १२ औँ शताब्दीताका केफुकिन ग्योकुई (१५२६‑१६०२) ले १३ औँ शताब्दीताका दुई जना जापानी कविहरूले लेखेका फुटकर रचनाहरूलाई आधारित बनाएर लामो कथानक बनाएकी थिइन् ।

त्यो बेला जापानको मूल राजधानी क्योटोमा हुने गर्थ्यो । त्यहीँ ११ औँ शताब्दीताका राजदरबारमा रहने सम्राटको छोरो गेन्जीको रोमान्टिक सम्बन्धका बारेमा पनि लेखिएको छ ।

५४ अध्यायमा बाँडिएको यो उपन्यास मूलतः राजकुमार हिकारू गेन्जीका बारेमा हो । उसको छिमेकी राजकुमारीसँगको बिहे, राजकुमारीसँगको विछोड, विछोडसँगै प्रेम पाउन गेन्जीले सम्बन्ध बनाउने अनगिन्ती युवतीसँगको दैनिकी र उसले राजाकै रखौटीबाट जन्माउने अवैध सन्तानको बारेमा थाहा पाउने कथाका बारेमा यो उपन्यास केन्द्रित छ ।

गेन्जीले दरबारमा अदालती कारबाही हेर्ने सँगै अन्य प्रतिद्वन्द्विहरूसँगको व्यवहारका बारेमा पनि विस्तारपूर्वक लेखिएको छ । दरबारमा पदवी पाउन गरिने हानाथाप, प्रगतिका लागि गरिने अनेक चाउपेचसँगै दरबारको यौन क्रियाकलाप, प्रकृतिप्रेम, संगीतमोह, कविता र क्यालिग्राफीप्रतिको लगावका बारेमा पनि विस्तारपूर्वक वर्णन गरिएको छ ।

पुस्तकले मनोविज्ञानको उच्चतम ज्ञानसमेत प्रदान गरेको छ । एक पटक गेन्जीले १२ वर्षीया बालिका अपहरण गर्छ र उसलाई लायकदार महिला बनाउँछ । उसले अपहरण गर्नुको एउटै मात्र कारण, त्यो बालिका आफ्नी मृत आमाजस्तै देखिनु थियो । सानै उमेरमा आमाको निधन भएकाले जीवनभर मातृस्नेहको खोजी गरेको उपन्यास पढ्दा महसुस हुन्छ ।

उपन्यास गेन्जीमा मात्र केन्द्रित छैन, वृद्ध उमेरमा उसको मृत्युपछि पनि उसका छोरा नातिहरूको दैनिकीमा केन्द्रित हुन थाल्छ । तर जति गेन्जीको कथा रोचक लाग्छ, उसको मृत्युपछिको कथाहरू उदास, उराठलाग्दो कथामा परिणत भएको महसुस हुन्छ ।

उपन्यासले जीवन केही होइन, मात्र भोगाई र पीडा मात्र हो भन्ने दर्शन दिन खोजेको छ । उपन्यासमा प्रस्तुत गरिएका सबैजसो सम्बन्धहरूमा दुःख र पीडा मात्र देखिन्छ । निकै कम मात्र विजयी भावमा प्रस्तुत भएको पाइन्छ । बरू दुःख र पीडालाई महानतम् रूपमा प्रस्तुत गरिएको छ ।

गेन्जीको कथालाई ऐतिहासिक समयको भावनात्मक रेकर्डका रूपमा केहीले मान्दछन् । उपन्यासमा पुरूषलाई पहिलो पटक स्त्रैण प्रस्तुत गरिएको छ । गेन्जीमा अनेकन् खुबी छ, ऊ काव्यात्मक छ, ऊ संवेदनशील छ । प्रायः पुरूषलाई बलवान्, शक्तिशाली, पीडकका रूपमा प्रस्तुत गरिन्छ तर यस उपन्यासमा भने केन्जीले ती सारा गतिविधि गरे पनि अन्ततः ऊ दुःखी नै हुन्छ भन्ने प्रस्तुत गरेको पाइन्छ । विजेताका पनि आफ्नै मानसिक भोगाई र पीडा हुन्छन् भन्ने यसमार्फत प्रस्तुत गरिएको छ ।

आफ्ना कारणले पत्नीले पाएको दुःखका बारेमा सधैँ सचेत रहेको गेन्जीमार्फत प्रेम सबै दुःखको मुहानका रूपमा देखाउन खोजिएको महसुस हुन्छ ।

यसको अंग्रेजी अनुवाद १९५५ मा प्रथम पटक भएको थियो । त्यसपछि नै संसारले संसारकै प्रथम उपन्यासबारे जान्ने अवसर पाएको थियो ।

लेखिका मुरासाकी सिकिबु
सन् ९७३ मा जन्मिएकी मुरासाकी उच्च घरानामा जन्मिएकी थिइन् । उनी कवि थिइन् । दरबारमा उनी नोकरी गर्नेसँगै दरबारियाहरूलाई पढाउने काम पनि गर्थिन् । फुजिवारा वंशमा उनको जन्म भएको थियो । उनका हजुरबुवा पनि कवि थिए । उनका बुवा देशकै प्रख्यात विद्वानका रूपमा परिचित थिए । उनको वास्वतिक नाम भने अझै थाहा हुन सकेको छैन । उनको बिहे उनकै नाता सम्बन्धीको दाइ पर्नेसँग भएको र एक जना छोरी जन्मिएको थाहा हुन्छ ।

सन् १००१ मा उनको पतिको निधनपछिको चार वर्षपछि दरबारमा रानीको सेवा टहलका लागि उनको नियुक्ति भएको थियो । उनले कुन अवधिमा यो उपन्यास लेखिन् भन्नेबारे खुल्न सकेको छैन ।

उपन्यासको पहिलो ३३ अध्याय भने निकै चाखका साथ लेखिएको देखिन्छ । बाँकीका अध्यायमा भने गहनता भेटिदैन । यसै कारणले पनि यो उपन्यासको पछाडिका भागहरू अरूले नै लेखेको भनी आँकलन गरिन्छ ।

उनको समयावधिमा जापानमा राष्ट्रवादी भावना प्रवल हुँदै आइरहेको थियो । खासगरी चिनियाँ प्रभाव तीव्र बढेको हुँदा त्यसबखत स्थानीय भाषा, संस्कृतिलाई दरबारले जोड दिन थालेको थियो । त्यही बेला मुरासाकीले जापानी भाषामा लेख्न थालिन् । एक पटक जब उनका बाबुले छोरीको लेखन मोह र प्रतिभा देखे, छक्क परेर भनेका थिए, ‘मेरी छोरी साह्रै प्रतिभाशाली रहिछ । के गर्नु ? छोरी भएर जन्मिई !’

मुरासाकीको बेलामा किशोर वयमा नै छोराछोरीको बिहे गरिदिने चलन थियो तर लामो समयसम्म उनले बिहेका लागि अस्वीकार गरिरहिन् । त्यसैले उनको बिहे निकै ढिला गरी भएको मानिन्छ । अध्येताहरूले उनको बिहे लगभग ३० वर्षको उमेरमा भएको अनुमान गरेका छन् ।

सन् ९९६ ताका उनका बुवाको सरूवा भयो र उनी एचिजेन प्रान्तमा बुवासँगै गइन् । त्यसै अवधिमा उनी बिहे गर्न राजी भइन् र आफूभन्दा २० वर्ष जेठा धनी आफन्तै पर्ने नोबुताकासँग बिहे गरिन् । नोबुताकाका कैयन् पत्नी थिए । बिहेको दुई वर्षमा नै उनको हैजाको महामारीका कारण मृत्यु भयो । मुरासाकी एक पटक पुनः एक्लो भइन् ।

यही पीडामा उनले द टेल अफ गेन्जी उपन्यास लेखेकी थिइन् भनिन्छ । यही उपन्यास संसारकै प्रथम उपन्यासका रूपमा परिचित बन्यो ।

उपन्यास त्यस बेला जापानी दरबारमा निकै लोकप्रिय बन्यो र मुरासाकीको ख्याति पनि बढ्यो । यो देखेर सन् १००५ मा मुरासाकीलाई दरबारकी राजकुमारी सोसीले आफ्नो नजिककी सहेली बनाइन् । राजकुमारी सोसीको टहलमा बसेका अन्य दुई स्त्री पनि कवि नै थिए । तिनको नाम अकाजोम इमोन र इजुमी शिकिबु थियो । मुरासाकीले राजकुमारी सोसीलाई लुकीछिपी चिनियाँ भाषा पढाउने गर्थिन् ।

पछि दरबारमा पनि उनी अलोकप्रिय हुन थालिन् । क्रमशः आफूलाई खुम्च्याउँदै लैजान थालिन् र जम्मा ४१ वर्षको उमेरमा उनको निधन भयो । उनको निधन सन् १०१४ ताका भएको मानिन्छ ।