मैले सुनेको छु, एक जना भोको मानिस मरुभूमिमा भोकले मर्न लागिरहेको थियो । त्यहाँ न पानी छ, न भोजन । भनिन्छ, शैतान यस्तै अवसरको खोजीमा हुन्छ । शैतान प्रकट भयो र उसले भन्यो, ‘म तिमीलाई भोजन दिनेछु, पूर्णरुपमा तृप्त पनि पार्नेछु । तर, एउटा शर्त छ । त्यो शर्त के भने, तिमीले बदलामा ईमान दिनुपर्छ, आफ्नो धर्म दिनुपर्छ ।’

भोकले चूर भएको मानिसले भन्यो, ‘म बिलकुल राजी छु ।’

शैतानले भोजन दियो । पानी दियो । भोको मानिस तृप्त बन्यो । जब त्यो मानिस तृप्त बनेपछि शैतानले सम्झायो, “अघिको शर्त याद छ नि, हैन ? लु.. अब मलाई तिम्रो ईमान देऊ ।”

यो सुनेर भोको मानिस मज्जाले हाँस्न थाल्यो ।

हाँसो रोक्दै उसले भन्यो, ‘तिमी ठूलो भूलमा प-यौ । भोको मानिसको कुनै इमान हुन्छ ? शर्त त गरेको थिएँ, जब म भोको थिएँ । तर, अब अघाएको छु म । अब त्यो मान्छे अर्कै मान्छे भएको छ । जसले वचन दिएको थियो, अब त्यो मान्छे कहाँ म हुँ र ? र, अहिले जुन मान्छे म छु, त्यो त्यहाँ कहाँ थियो र ? यदि त्यो बेला पनि मेरो पेट भरिएको हुन्थ्यो भने त्यो शर्त मान्दिन थेँ । अब त त्यो मान्दै मान्दिनँ ।’

भोको पेटको मानिस र अघाएको पेटको मानिसमा यत्ति फरक छ ।

त्यसैले तिमीले सोच, जाबो खाली पेट र भरिएको पेटमा यति फरक छ भने प्रश्नले भरिएको चेतना र प्रश्नरहित चेतनामा झन् कति फरक होला ?

जब तिमी प्रश्नले भरिएका हुन्छौ, तिमी उत्तर सम्झिन असमर्थ हुनेछौ, अयोग्य बन्नेछौ । तिम्रो उत्सुकता प्रश्नमा यति डुबेको हुन्छ कि उत्तर दियो नै भने पनि उत्तर गुमाउने छौ ।

(दिया तले अँधेराबाट)