
चैत्र महिनामा दिदी-बहिनीको घर (ससुराली) मा गएर भेटेर दिइने सौगातलाई चैतालो वा चैतलो वा चइतालो वा भिटौलो भनिन्छ । चैत+आलो । चैत = चैत्र महिना । आलो= सम्झनाले सताइनुलाई आलो (ताजा) भनिन्छ । अर्थात् यादले सताउनु । सोराइले मन-मुटुमा पीडा भैरहने हुँदा “आलो” लाई विम्बको रुपमा लिइएको छ । छरछिमेकमा चैतालो (भेट्न) आइसके पछि माइतीको प्रतिक्षामा बसेकी छोरीको पीडालाई लोककथा र लोकगीतका अनेकन प्रसङ्गले कोट्याएको पाइन्छ । भाइसँग भेट हुने आशमा बसेकी दिदी-बहिनीको वेदनालाई “आलो घाउ”को रुपमा लोकसन्दर्भमा आउछ । आलो= आउला भन्ने अर्थमा पनि प्रयोग भएको पाइन्छ । बैतडी र दार्चुलाको स्थानीय भाषामा “आलो” भनेको आउला भनिन्छ ।
आलो= खलो (आँगन) हो । स्थानीय भाषामा घर र देवस्थलको आँगनलाई “खलो” (पटकन) भनिन्छ । चैत्र महिनामा “रितुरानो” लोकगीत घरआँगनमा गाइन्छ । रितुरानो लोकगायक दमाई, औजी आदिले पारम्परिक रुपमा गाउछन् । रितुरानोमा ऐतिहासिक, पौराणिक र धार्मिक गाथामा आधारित लोककाव्य गाइने गरिन्छ । लोकगीतमा वसन्त ऋतुको महिमा, कालीनागको गाथा, रानादेउ, राम शाही, लाला द्यौवा, श्रीकृष्ण, सीता, स्थान विशेषका देवदेवता र वीरगाथा गाइन्छन् ।
भिटौलो वा चैतालो सांस्कृतिक प्रथा हो । विवाहित छोरीचेलीलाई माइती (दाइ, भाइ, बुवा, आमा)ले अनिवार्य भेट्ने गर्छन् । तर लोकगीत र लोककथाको अधिकांश प्रसङ्गमा भाइ र आमा (इज्या/इजु) आउने गर्छ । चैत महिनाले भाइबैनीको अमर प्रेमलाई देखाउछ । विवाह भएको पहिलो वर्ष र माइती वा पोइली मध्ये कुनै एक घरमा मृत्यु भएको वर्षदिन नभएमा चैतालो दिइदैन ।
चैतालो सम्बन्धी भनिने र गाइने लोककथा र लोकगीतहरु विरहीपूर्ण छन् । वसन्तोत्सव आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुन्छ । वसन्त ऋतुको रङ्गीचङ्गी वातावरणमा भाइको आवागमन र विछोडिनुको पिर, चैतमा गाइने रितुरानोको विरही प्रसङ्ग, वनपाखामा सुनिने कोयली र न्याउलीको व्यथापूर्ण करुण भाकाले उदासी र रुडिभाडीको महिनाको रुपमा चित्रण गर्छन् । माइतीको प्रतिक्षामा बसेकी चेली व्यग्र छटपटाहटमा हुन्छिन् ।
विक्रम सम्वतअनुसार चैत्र महिना वर्षको अन्तिम र बाह्रौं महिना हो । धार्मिक विश्वासअनुसार सृष्टिका रचयिता ब्रह्माले चैत्र महिनाको शुक्ल प्रतिपदादेखि सृष्टिको प्रारम्भ गरेका थिए । जसलाई सतयुगको शुरुवात मानिन्छ । पौराणिक मान्यता अनुसार चैत्रको प्रतिपदामा भगवान विष्णुका दशावतार मध्ये पहिलो अवतार मत्स्यावतार पृथ्वीमा अवतरित भएको थियो । जल प्रलय भएपछि नयाँ सृष्टिको पहिलो मानिस मनुलाई मानसखण्डमा सुरक्षित अवतरण गरिएको थियो । त्यसपछि नयाँ सृष्टि प्रारम्भ भएको थियो ।
विक्रम सम्वतअनुसार वर्षको अन्तिम महिना चैत्र हो । चैत्र महिना ग्रेगोरियन क्यालेन्डरको मार्च-अप्रिलमा पर्दछ । चैत्र शुक्ल पक्षको पहिलो तिथि (प्रतिपदा) बाट हिन्दू नयाँ वर्ष सुरु हुन्छ । हिन्दू धार्मिक कलेन्डरमा महिनाको नामकरण नक्षत्र अनुसार हुन्छ । चन्द्रमाको चक्र अनुसार महिना परिवर्तन हुन्छन् । जुन नक्षत्रमा चन्द्रमा हुन्छ महिनाको नाम सोही नक्षत्रको आधारमा राखिन्छ ।
बैतडी र दार्चुलामा चैत महिनाको साँस्कृतिक महत्व छ । दमाई वा औजीले चैत महिनाको १ गतेदेखि चैत्र मसान्तसम्म घरघरमा गइ हुड्को बजार चैत गाउँछन् । जसलाई रितुरानो भनिन्छ । चैतका अनेकन प्रसङ्गले ऐतिहासिक गाथा उद्धरण हुन्छन् । चैत गाउनेलाई मान, सम्मान र उपहार स्वरुप थालमा अबीर टिका, अन्नादी, रुपियाँ राखेर दिइन्छ । चैत गाउँदा युगल जोडी (महिला-पूरुष) ले सँगसँगै गाउँछन् । पुरुषले हुड्को बजाएर गाथा गाएपछि महिलाले भाका पछ्याएर साथ दिन्छिन् । गीतको लयसँगै बीच बीचमा लोककथाको प्रसङ्ग आउँछ । रितुरानोको प्रसङ्गले वसन्त ऋतुको बखान, दाजुभाइले दिदी बहिनीलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा उल्लेख गर्छन् ।
रितुरानो/चैतः रितुरानो वा चैत मानसखण्डको साँस्कृतिक लोकगीत हो । वसन्त ऋतुको आगमनमा गाइने लोकगीत हो । चैत महिनामा गाइने हुँदा यसलाई चैत/चैइती/चैतुआ/ आदि भनिन्छ । गीतमा भाइबहिनीको प्रेम प्रसङ्ग अटुट रुपमा व्याख्या गरिन्छ । धेरै दिनसम्म माइती नदेख्दा भावविह्वल भएकी छोरीले माइतीको सम्झनामा विलौना गरिरहेको अवस्थाको वर्णन पाइन्छ । माइतीको व्याकुलताले तनमनमा छटपटी हुन्छ । रितुरानो गीतमा गोरीधानाको विवाह प्रसङ्ग आउँछ । उसको विवाह कालीनागसँग हुन्छ । गोरीधानाको विवाह भएपछि उसको भाइ जन्मिएको कुरा उसले सुनेकी हुन्छे । भेट भएको हुँदैन । भाइलाई दिदीका बारेमा जानकारी गराएको हुँदैन । धौनी मौनीका थरका ग्वालाहरुले दिदी बैनी नभएको भन्दै हेला गरेको घटनाले सदेउ आफ्नी इजासँग दिदीबैनी नभएकाले मेरो बेज्जत भएको प्रसङ्गमा दिदी गोरीधानाको बारेमा जानकारी पाउँछ । त्यसपछि कालीनागसँग धेरै टाढा विवाह भएकी दिदीलाई भेट्न गएको प्रसङ्ग आउँछ ।
कहिल्यै नदेखेको बाह्र वर्षे भाइलाई देखेपछि गोरीधाना भावविभोर हुन्छिन् । कालीनाग घर आएपछि सदेउले भिनालाई ढोग्न बिर्सेको प्रसङ्गलाई भागा (कालीनागकी बहिनी) ले गलत अर्थ लगाउँछिन् । आफ्नो दाइ कालीनागलाई कुरा लगाउँछिन् । सदेउसँगै माइती जाने खोजेकी गोरीधानालाई कालीनागले रोक्न खोज्छ । गोरीधानाले आफ्नो भाइ हो भनेर जिकिर गर्छिन् । भागाले कालीनागलाई सदेउ भाइ नभई प्रेमी हुन सक्ने कुरा उठाएर भाउजुको चरित्र माथि प्रश्न उठाउँछिन् । बैनीको कुरा पत्याएर उसले सदेउलाई मार्न खोज्छ । सदेउ र कालीनागका बीचमा युद्ध हुन्छ । युद्धमा दुबैजना मर्छन् । भाइ र पति वियोग खप्न नसकी गोरीधानाले पनि आत्महत्या गर्छिन् । सोही प्रसङ्गलाई लिएर एउटा प्रख्यात भनाइ छ “अनाली कनालीमाइ फुलि गया तीता । निको गरे भागा नन्दु दुबै घर रिता ।” सोही समयदेखि भाउजु र नन्दको सम्बन्धलाई कुटिल र कपटपूर्ण मानिन्छ । भागाको छुल्याहा बानीले दुबै घर रित्तिएको प्रसङ्गले भावविह्वल बनाउँछ । चैतमा अन्य विभिन्न महापूरूषको वीर गाथा, देवीदेवताको आराधना आदि गाइन्छ ।
छोरीलाई भेट्ने प्रचलनः बैतडी, दार्चुला र भारतको उत्तराखण्डमा चैत्र महिनामा छोरीचेलीलाई चैतालो दिने प्रचलन अहिलेसम्म छ । डडेल्धुरा, डोटी, बाजुरा, बझाङ्ग, अछाम, हुम्ला, जुम्ला, कालिकोट आदि जिल्लामा छोरीचेलीलाई भेट्ने प्रथालाई चेल्तिहार (चेली तिहार) भनिन्छ । चेल्तिहार माध महिनामा हुन्छ । नामकरण जे सुकै भए पनि छोरीलाई भेट्ने प्रचलन पाइन्छ ।
चैत र वैशाख वसन्त ऋतुका महिना हुन् । प्रकृतिको कण-कण र अङ्गप्रत्यङ्गमा हरियाली आगमन भएको हुन्छ । चारैतिरको वातावरण आनन्द र उल्लासमय हुन्छ । प्रकृति यौवनमा मदमस्त हुन्छिन् । पशुपन्छी एवं मानिसको प्रेमिल दिल धड्किएको हुन्छ । प्रकृति श्रृङ्गारले सजिएकी हुन्छिन् । खेतमा तोरी पहेँलपुर भएर फुलेको हुन्छ । भमरा र माहुरीको भुन्भुनावटले तोरीबारी सङ्गितमय हुन्छ । कोइलीको कुहुकुहु सुरिलो आवाजले वनपाखा लठ्ठिएका हुन्छन् । ढुकुरले फूलेको आरु र आँपको हाङ्गामा ढुकुर-ढुकुर गर्दै बास्दा माइती पर्खेर बसेकी छोरीको मन आकुल व्याकुल हुन्छ । घरआँगनको रुखको हाङ्गामा काग का का गर्दै पाहुना बोलाइ रहदाँ भाइ आउने आश गर्दै दिदीबहिनी बाटो हेर्छिन् । स्वयं प्रकृति आफैमा मादकताले मदहोस हुँदा माइतीको बाटो हेर्दै बसेकी छोरीचेलीको प्रतीक्षा लम्बिएको हुन्छ ।
मानसखण्ड अन्तर्गत चैतालो/भिटौला/चेल्तिरले सांस्कृतिक उद्देश्य बोकेको छ । प्राचीन कालमा भौगोलिक अवस्थाले भेट गर्न कतिको गाह्रो थियो भन्ने विषयवस्तुलाई लोकगीतबाट जानकारी पाइन्छ । मानसी भेषभुषा, रहन-सहन, परम्परा, कला, व्यवहार, ढङ्ग, नैतिक मूल्य र मान्यता चइतालोमा देखिन्छ । पहाडी भूभागमा पाइने ग्रामीण संस्कृति, जातिय व्यवहार, आस्था र विश्वासमा शिव एवं पार्वती (देवी)को जीवनशैलीको साक्षात झलक पाइन्छ । हिन्दूहरुमा वैदिक धर्म, पौराणिक धर्म, सनातन धर्म, शैव धर्म, वैष्णव धर्म, शाक्त धर्म, आर्य समाज आदिको सङ्गम जनजीवनमा पाइन्छ । अधिकांश देवीदेवताका मठमन्दिर हेर्दा शिव र पार्वती (भगवती/ दूर्गा) का पाइन्छन् । जाति विशेषले आ-आफ्ना पिशाच पिसाचिनीको स्थापना पनि गरेका हुन्छन् ।
ग्रामीण वस्ती श्रममा आधारित समाज हो । अहिलेसम्म संयुक्त परिवार प्रथा अवशेषको रुपमा पाइन्छ । शहर बजारमा एकल परिवारको बाहुल्यता बढ्दै गएको छ । मानसी समाज धार्मिक नैतिकतामा आधारित छ । राज्यको न्याय भन्दा देवीदेवताको न्यायमा बढी विश्वास गर्दछन् । प्रत्येक जातजातिमा घात, फिराद र उचाइनो (शर्त सहितको कबुल) गर्ने परम्परा यद्यपि कायमै छ । आधुनिक परिवर्तनले धामी कमाउने प्रथामा कमी आए पनि आस्था घटेको पाइँदैन । सामाजिक मूल्य र मान्यताले जनजीवन नियन्त्रित छ । पुनर्जन्म, आत्मा-परमात्मा, पाप, पूण्य, धर्म र मोक्ष आदि आध्यात्मिक विश्वास प्रवल रुपमा कायम छ ।
चैतालोको निहुँमा प्रतिकूल भौगोलिक अवस्थामा बसेकी छोरीचेलीलाई हुने खाने माइतीले सक्दो सहयोग पुर्याउँछन् । प्रायः मानिसको पेशा कृषि र पशुपालन भएको हुँदा बाह्रै महिना खेती किसानीमा व्यस्त रहनु पर्दछ । प्राचीन कालमा घरजम गरेकी छोरीले वर्षौंसम्म माइतीघर जाने अवसर पाउँदैनथे । वर्षदिनमा एकपटक चैतालो दिने बहानामा भेटघाट हुन्थ्यो । भेटमा खाद्यपदार्थ, फलफूल र गोरस लगेर जाने प्रचलन थियो । मानसखण्डमा मनाइने प्रत्येक तिहार र पर्वका आ-आफ्नै लोककथा, दन्तकथाका प्रसङ्ग जोडिन्छन् ।
माइतीको प्रतिक्षामा बसेकी चेलीको व्यथा निम्न लोकगीतले स्पष्ट पार्दछः
लागीग्यो चैतको मैना न्याउली बासली ।
सबैका भेट्न आउन्ना म सोराई लागली ।
क्याइ बासन्छै न्याउली चडि चैतका छकला ।
सम्झनाले मुटु फुटि मन हुन्छ पागला ।
विरही गीतहरु जनजीब्रोमा पाइन्छन् । वसन्तमा वनपाखामा बुरूँज (लालीगुराँस) फुलेको प्रसङ्ग, चरीले काफल पाक्यो भनेर सूचना दिने, कुहुकुहु चरीको वेदना, ढुकुर बास्दै गरेको दृश्य, वसन्तोत्सव हरियाली, कोपिला फुलेर ढकमक्क भएको परिवेश, गाउँ घरमा हुड्कोसँगै गाइने चैतगीतले सङ्गीतमय प्रतिध्वनि गाउँ गाउँमा सुनिएको हुन्छ । दिदीबहिनीमा भएका पीडाहरु वनपाखामा गाइने गीतबाट समेत प्रष्फुटित हुन्छ ।
चैतालोको समयसीमाः विवाहित छोरीचेलीलाई भेट्न जाने समयसीमा चैत्र १ देखि चैत्र मसान्तसम्म हुन्छ । मध्यपहाडी भागमा खानलाउन पुग्ने महिनाको रुपमा चैत्र पर्दछ । बेसीमा गहुँ, जौं, दलहन र तेलहन बाली भित्र्याई सकेको वा भित्र्याउने तरखर हुन्छ । हिमाली भूभागमा बालीनाली वैशाखदेखि जेठसम्म पाक्दछ । मध्य पहाडमा उखु (लिखु) पेल्ने समय पनि चैत्र हो । गुड तथा गुडजन्य परिकार मिष्ठान्नको रुपमा लगिन्छ । जस्तैः खुदो, गुड (भेली), गज्या, लेच्या आदि । भुटेको गहुँ र मकै जाँतोमा पिसेर त्यसमा खुदो मिसाएर “बाडी” बनाएर लैजान्छन् । चिस्यानबाट बचाएर राखेमा बाडी महिनौं दिनसम्म भण्डारण गर्न सकिन्छ । पहिला पहिला चिनीको अभावमा गुड मिसाएर खजुरा, पिन्जरी, खीर, बाडी, कसार, सेल, पुवा आदि खाद्यपदार्थ पकाइन्थे । चैतालोमा पुरी (भित्र मस्युटो राखेको), लउन, अर्सा, फिना, गोरस, फलफूल, वस्त्रादि एवं दक्षिणा पनि आर्थिक अवस्थाले भ्याएसम्म दिने प्रचलन छ । चैतालो सामग्री निङला/बाँसको टोकरी (आजभोलि ब्याग)मा लैजाने गरिन्थ्यो ।
आजभोलिः आधुनिक युगमा चैतालो सामग्री सामाजिक परिवेशअनुसार परिवर्तन भएको छ । पहिला जस्तो छोरीचेलीलाई भेट्न चैत्र महिना कुर्नु पर्ने बाध्यता नभए पनि चैतालोको सान्दार्भिकता समाप्त भएको छैन । सञ्चार र यातायात साधनको विकासले विहान बेलुका भेट गर्न सकिन्छ । वैदेशिक रोजगारमा गएकाहरुले सामाजिक सञ्जालमा भेट गर्छन् । आजभोलि फलफूल, मिष्ठान्न, कपडा, दक्षिणा आदि विशेष रुपमा दिइन्छन् । कार्य व्यस्तताले भौतिक रुपमा उपस्थित हुन नसक्ने भाइहरु मोबाइल बैङ्किङ्ग मार्फत् पैसा पठाउनेको सङ्ख्या उल्लेख्य देखिन्छ । सामग्रीमा परिवर्तन भए पनि चैतालो दिने परम्परा कायम छ ।
चैतालो बाँड्ने प्रचलन : माइतीले दिएको चैतालो छरछिमेकीलाई बाँडेपछि माइतीको सुख, समृद्धि भित्रिन्छ भन्ने लोकमान्यता छ । माइतबाट आएको कोसेली गाउँ घरका प्रत्येक घर-घरमा बाँडिन्छ । बाँडिचुडी खाने स्वभावले समाजवादी अवधारणाको झझल्को पाइन्छ । चैतालो पर्वले सामाजिक मूल्य र मान्यता संस्थागत गरेको छ । मेलमिलापसँगै एकआपसमा सौहार्दपूर्ण सम्बन्ध कायम गरेको छ । मानवीय सभ्यता र संस्कृतिको सजीव उदाहरण चैतालो बन्दै आएको छ ।
चैतालोको सन्देशः प्राचीनकालमा मानिसको प्रमुख पेशा खेतीपाती र पशुपालन थियो । कृषि र पशुपालन जीविकोपार्जनको प्रमुख आधार थियो । विकट भौगोलिक क्षेत्रमा कृषि र पशुपालन पेशा कठिन श्रममा आधारित थियो । प्रतिफल न्यून प्राप्त हुन्थ्यो । धनी र गरिबीको वर्गीकरणको आधार जग्गा-जमिन र पशुपालन थियो । कृषि र पशुपालनमा जनशक्ति जति भए पनि खपत हुन्थ्यो । बाह्रै महिना खेतीपाती र पशुपालनबाट फुर्सद पाउन गाह्रो हुन्थ्यो । यातायातका साधनको अभावले एकआपसमा भेट्न सहज थिएन् । रातदिन काम नगरी खान लाउन पाइने अवस्था थिएन । कृषिकर्ममा व्यस्त जीवनशैलीले छोरीचेलीको हालखबर बुझ्न चैत्र महिना कुर्नु पर्ने बाध्यता थियो ।
हिमाली क्षेत्रमा चैत्र महिनामा भोकमरी हुन्थ्यो । बेसी भूभागमा चैत्र महिनामा गहुँ, जौ, तेलहन, दलहन आदि बालीनाली पाकी सक्थे । सोही समयमा छोरीलाई खाद्यान्न सहयोग गर्न सकिने भएकोले पनि चैतालो पर्वले राहत प्रदान गर्दथ्यो । हिमाली भेकमा पौष-माघमा बर्खेबाली भित्र्याउने समय भएकोले माघ महिनामा चेल्तिहार मनाएको हुन सक्छ । गरीबीका कारण दिनदिनै मिठो मसिनो खान लाउन सकिदैनथ्याे । चैतालोमा ल्याइने वा दिइने खाद्य सामग्री घी र तेलमा पकाइने हुँदा धेरै लामो समयसम्म भण्डारण गरी खान सकिने हुन्छ । चैतालो पर्वको माध्यमले माइतीले सक्दो सहयोग गर्ने प्रचलन उहिलेदेखि चलि आएको छ । भिटौला संस्कृतिले सहयोगको आदान प्रदानसँगै दुबैतर्फका सुख दुःख बुझ्ने र आशीर्वाद दिने गरिन्छ ।
चैतालो मानसखण्ड (बैतडी, दार्चुला र भारतको उत्तराखण्ड)को लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ । किंवदन्ती, लोकगीत, लोककथा, रितुरानो (फाग) आदिले प्राचीनताको पुष्टि गर्दछ । पर्वले मानवीय आवश्यकताको परिपूर्तिसँगसँगै सामाजिक सद्भाव र व्यक्तिलाई सामाजीकरण गर्ने प्रेरणा दिन्छ । माइतीको आर्थिक अवस्था जस्तो सुकै भए पनि माया र सद्भावको कोसेली दिनै पर्ने बाध्यकारी व्यवस्थाले चैतालो संस्कृतिको अभिन्न अङ्ग बनेको छ । सामाजिक आचारसंहिता र सामाजिक नैतिकताको योग चैतालोमा पाइन्छ । भाइबैनीको मात्र होइन माइती र ससुरालीको एकता, माया, प्रेमलाई शक्तिशाली र सर्वोपरी मान्यतामा बाँधेको छ । यसले वसन्त ऋतुको गरिमा र विशिष्ट पक्षलाई सामाजिकरण गरेको छ ।
मानसी समाजमा वर्षदिनमा एकपटक अनिवार्य रुपमा चैतालो मार्फत् भातृत्व र आत्मियता पर्व चैतालो मनाइन्छ ।
चैतालोमा एकआपसमा प्रेम, स्नेह, भेट र अटुट बन्धनलाई बलियो बनाउने अनौठो पर्व मनाइन्छ । माइतबाट आमाबुवाले दाजुभाइसँग कोसेली पठाएर परम्परा निभाउने पवित्र महिनाको रुपमा चैत्रलाई लिइन्छ । चैत्र एक गतेदेखि सुरु भएर मसान्तका दिन भेट गर्ने अन्तिक दिन हुन्छ । माइतीबाट आएको स्नेहले प्रफुल्लित हुने अटुट प्रेम र मिलनलाई नै चैतालो वा भिटौला भनिन्छ । आधुनिक युगमा पनि परम्परालाई श्रद्धाभावका साथ निभाइन्छ । अहिले भौतिक स्रोतसाधनको बढ्दो सुविधासँगै भेटघाट वा कुरा गर्न सहज भएको छ । उपहार दिने तरिका अनलाइन गिफ्ट उपहार दिने चलन पनि बढेको छ । यति हुँदाहुँदै पनि स्नेह र मायाको बन्धनले दिदीबहिनी छोरी आफ्नो माइतीबाट आउने चैतालोका लागि व्यग्र प्रतीक्षामा हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

