हालै सम्पन्न अस्कर अवार्ड (एकेडेमी अफ मोसन पिक्चर) एउटा बेग्लै कथाले पायो । एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स नामक यो फिल्मलाई दुई ड्यानियलले निर्देशन गरेका छन् ।

यो फिल्मले पुरस्कार पाउनासाथ अस्करको उचाइ बढेको चर्चा पनि चलिरहेको छ । कारण, पहिलो पटक बेस्ट एक्टर र सपोर्टिङ एक्टरमा एसियाली मूलका कलाकारले पाएका छन् । पहिले पहिले एसियाली मूलका कलाकारहरू विचरा वा अनौठा बानी व्यवहार भएका व्यक्तिका रूपमा पर्दामा देखिन्थे । यो फिल्मले उम्दा दर्शनमा उच्च कोटीको अभिनय गरेबापत प्रदान गरिएको छ ।

फिल्मले सर्वोत्कृष्ट फिल्म, अभिनेता, सहअभिनेता र बेस्ट ओरिजनल स्क्रिन प्लेको अवार्डसमेत हात पारेको छ ।

फिल्ममा एकसाथ तीन चार कथा, तीन चार ठाउँमा अघि बढ्ने हुनाले सर्वसाधारण शुरूमा दुविधामा पर्ने गर्छन् तर जसलाई मल्टिभर्स (यो ब्रह्माण्डमा युनिभर्स मात्र छैन, थुप्रै युनिभर्स जोडिएर मल्टिभर्स बनेका छन् भन्ने सिद्धान्त)मा आधारित फिल्मका बारेमा थाहा छैन, उनीहरूलाई फिल्म पचाउन गाह्रो हुन्छ तर जसले यसअघि डाक्टर स्ट्रेन्जका फिल्म र स्पाइडर म्यानको एनिमेटेड फिल्म हेरेका छन्, उनीहरूका लागि यो नयाँ कुरा भने हुने छैन ।

ठूला बजेटका फिल्ममा चमकदमकपूर्ण एक्सन सिक्वेन्सका कारण तिनले सिनेमा हलमा राम्रै वाहवाही कमाए पनि गम्भीर दर्शकलाई भने एभ्रिथिङले राम्रैसँग कज्याउन पुग्यो ।

तुलनात्मक रूपमा कम बजेटको फिल्मलाई हिट बनाउने एउटै मसला हुन्छ, त्यो हो दमदार कथा र पटकथा ।

फिल्ममा अमेरिका पुगेकी आप्रवासी चिनियाँ महिला एभलिन वाङ छे, जसले त्यहाँ एउटा लन्ड्री (लुगा धुने संस्था) चलाइरहेकी छे । उसको जीवनमा तनावै तनाव छ । उसको वैवाहिक जीवन धर्मराइरहेको छ । उसको लोग्ने हातमा पारपाचुकेको कागज बोकी हिँडेको छ । कुन बेला मिल्छ र स्वास्नी एभलिनलाई जिम्मा लगाएर टाप कसूँ भन्ने सोचिरहेको छ ।

अमेरिकी भूमिमा जन्मिएकी छोरी जोय आफ्ना बाउआमासँग यति क्षुब्ध छे कि ऊ एक क्षण पनि त्यहाँ बस्न चाहन्न । त्यसमाथि उसले एउटी केटीलाई नै जीवनसाथी रोजेकी छे । यो सुनाउने कि नसुनाउने धर्मरमा परेकी छे ।

यसैबीच कर कार्यालयले समयमै कर नतिरेका कारण उसलाई हाजिरी जनाउन आदेश दिएको छ ।

अब कथाले रोचक मोड लिन पुग्छ । यहाँबाट जे जति हुन थाल्छ, शुरूमा तपाईंले फिल्म बुझ्न कठिन हुनसक्छ तर फाइटका रोचक कन्टेन्टले तपाईंलाई बाँध्न थाल्छ । जब फाइट सकिन्छ, तपाईंले कुरा बुझ्न थाल्नुहुन्छ कि जोयको बाउ, जो देखिँदा बेवकुफ जस्तो देखिन्छ, ऊ त्यस्तो हुँदैन । बरू ऊ यो संसारलाई ध्वस्त हुनबाट जोगाउन एक बेवकुफ पतिको अभिनय गरेर बसेको छ ।

बाँकी कथा चाहिँ तपाईं आफैँले हेर्नुभयो भने मज्जा आउँछ । खासमा समानान्तर व्रह्माण्डको यो सोचले तपाईंको दिमाग रिङ्ग्याउँछ ।

यसलाई शृंखलाबद्ध रूपमा देखाइएको छ, शुरूवात, मध्यान्तर र अन्त्यजस्ता कुराहरू कथानक अघि बढ्दै जाँदा कसरी एकअर्कासँग गाँसिएका छन् भन्ने बुझ्दा तपाईंलाई रमाइलो लाग्नेछ ।

सबैभन्दा रोचक, एउटा बेग्लै युनिभर्समा दुई ढुंगाहरूबीचको संवादले तपाईंलाई यति हँसाउँछ कि कुरै नगरौँ । फेरि त्यत्ति नै बेला यी ढुंगाले गम्भीर पनि बनाउँछन् । जब ढुंगाले आत्महत्या गर्छ, त्यो बेला तपाईंहरू गम्भीर बन्ने कि हाँस्ने दुविधामा पर्नुहुन्छ ।

फिल्मले पुस्तान्तरको समस्या, बदलिँदो पारिवारिक मूल्य, नयाँपनप्रति अस्वीकारजस्ता कुराहरू मज्जाले प्रस्तुत गरेको छ । त्यसो त यस्ता कुरा तपाईंले हरेक फिल्ममा देख्नु भएकै हो । तर सेटिङले यसलाई तपाईंलाई बोर गर्दैन । किनभने, यसले जुन रूपमा मौलिकताका साथ भनेको छ, त्यसले तपाईंलाई तानिरहन्छ ।

यो फिल्मलाई संसारभर सराहना गरिनुका साथै अस्करले पुरस्कार दिनुका खास कारणमा यसले प्रस्तुत गरेको नयाँ कन्सेप्ट नै हो ।