
किताबै नपढ्नेहरू अचेल अमेरिकामा अडियो बुकका माध्यमबाट पढिरहेका छन् । त्यसैले पछिल्लो समय अडियो बुकको बजार उदेकलाग्दो तरिकाले बढिरहेको छ ।
र, भविष्यमा यसको बजार अझ चुलिने अपेक्षा विश्लेषकहरूको छ । र, यो विश्लेषण कुनै हावादारी होइन । सन् २०३० सम्म यसको बजार ३३.५ बिलियन डलरको पुग्ने बताइएको छ । सन् २०२१ मा यसको बजार जम्मा ४.२ बिलियनको मात्र थियो । एक दशकमै यति विघ्न बढ्ने कारण के हो त ? यसको खोजी भइरहेको छ । केहीले भने पछिल्लो समय पडकास्टको अभूतपूर्व लोकप्रियतालाई आधार मानिरहेका छन् ।
कोभिड १९ को महामारीका बेला घरभित्रै अल्छी मानेर बस्नेहरूले अन्य काम गर्दै सुन्न सकिने पडकास्टमा ठूलो रूचि देखाए । यही रूचिका कारण पछिल्लो समय पडकास्टरहरू संसारभर बढेका छन् । झन्, अबका केही वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोग लिएर स्ववाचित पडकास्टको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय एआईको सहयोगले बनाइएका चित्रकलाको लोकप्रियतापछि त डिजिटल आर्ट बनाएर कमाई खाई आएका संघर्षशील चित्रकारहरूले ठूलै हाई तौबा मच्चाएका थिए । तर के गर्नु ? यसको लोकप्रियता अझ दिन दुई गुना रात चौगुनाले बढिरहेको छ ।
यही क्रम अब अडियो बुकमा समेत हुने देखिएको छ । एप्पल र गुगलजस्ता कम्पनीले किताब वाचन गर्न एआईलाई लगाउने भएका छन् । अमेरिका, क्यानडा, स्पेन लगायतका ६ मुलुकमा गुगलको एआईले बोल्ने पुस्तक परीक्षणका कामहरू भइरहेका छन् । यसमा आर्ची नामक पुरूष आवाजले स्वर दिइरहेको छ । यस्तै गएको जनवरीमा नै एप्पलले म्याडिसन र ज्याक्सन दुई नाममा स्वतन्त्र प्रकाशकका पुस्तकमा आवाज दिएका छन् र तिनलाई एप्पल बुक्स एपमार्फत सुन्ने बनाइएको छ । खासगरी गैरआख्यान र रोमान्स विधाका पुस्तकमा यी आवाज सुन्न सकिन्छ ।
अडियो बुकमा एआईको उपस्थितिले आफ्नो जागिर खोसिएको अनुभव तान्या एबीजस्ता कलाकारले गरेका छन् । ‘पाँच वर्षपछि म पूर्ण रूपमा बेरोजगार हुने पक्का हुँदैछ,’ मिचिगनमा बसेरै अडियो आवाज दिने तान्याले भनिन् । उनले आफ्नो २१ वर्षे अडियो आवाजदाताका रूपमा एक हजारभन्दा बढी पुस्तकमा कला देखाइसकेकी छन् ।
तान्या भन्छिन्, ‘मैले त्यतिञ्जेलसम्म मात्र आवाज दिएबापत पैसा पाउँछु, जबसम्म एआईले हाम्रो ठ्याक्कै नक्कल गर्न सक्दैन । उदाहरणका लागि, कुनै हिरोइनको बाउको निधन भएको दृश्य वाचन गर्दैछु र हिरोइन रून्चे स्वरमा संवाद बोल्दैछे भने एआईले ठ्याक्कै त्यही रून्चे स्वरमा आवाज दिन नसकुञ्जेल मेरो जागिर पक्का हो, नत्र मेरो पनि सन्दर्भ सकिन्छ ।’
अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टाका अर्का कलाकार जोनाथन स्लिप भन्छन्, ‘मान्छे भएर मान्छेको आवाज सुन्न हामीलाई मन पर्छ तर किन हो अचेल हरकोही एआईको नक्कली आवाजको पछि लागेको छ । त्यो चाहिँ मैले बुझ्न सकेको छैन ।’
पैसा मूल कारण
अडियो बुकमा आवाज भर्नु एउटा महँगो सोख हो । नाम चलेका कलाकारबाट केहीले आवाज भर्छन् । प्रायः गैरआख्यान र खासगरी आत्मकथामा व्यक्ति स्वयंले आवाज दिनुलाई स्वाभाविक रूपमा लिइन्छ तर त्यो पनि निकै महँगो हुन्छ । यस्तो महँगो सोख साना लगानी भएका प्रकाशकको बुताले भ्याउँदैन । आवाजका महारथिहरू पनि अमेरिकामा निकै छन् ।
तिनको आवाजयुक्त अडियो बुक मारामार बिक्छ भन्ने विश्वास पनि केहीलाई छ तर ती निकै महँगा हुन्छन् । साना प्रकाशकका लागि अडियो बुकमा लगानी गर्नु नै महँगो सोख बन्न पुग्छ । त्यसैले एआईले दिएका आवाज सुलभ र कम खर्चालु मात्र हैन, लगभग न्यून लगानीभित्रै पर्छन् ।
केही प्रकाशकका लागि त अडियो बुक खासमा लगानी नै नउठ्ने विधा हो । खासगरी मिचिगन विश्वविद्यालय प्रेसले वार्षिक १०० वटा एकेडेमिक पुस्तक प्रकाशन गर्ने गर्छ । तीमध्ये सीमित किताबले मात्र पैसा कमाउँछ । बेस्टसेलर भएर कमाउन नसक्नुका पछाडि यस्ता किताबहरू विद्वान र अध्येताले विद्यार्थी वा अध्येताका लागि मात्र लेखेका हुन्छन् ।
साधारण पाठकका लागि ती दुरूह हुने हुँदा तिनले व्यापक पाठक पाउँदैनन् ।
युनिभर्सिटी प्रेसको एउटा अडियो बुक बनाउन कम्तीमा ६ हजार डलर खर्च हुन्छ । त्यसले दिने आम्दानी भने केही सय मात्र हुन्छ । एउटा एक घण्टाको अडियो बुक बनाउन कम्तीमा ६ घण्टा लाग्ने अमेजनको अडियो बुक क्रिएसन एक्सचेन्जको भनाइ छ । त्यसैले लाग्ने समय, हुने खर्च यावत् कारणले साना लगानीकर्ताले अडियो बुकमा लगानी गर्दैनन् ।
‘र, त्यो बेस्ट सेलर हुने सम्भावना छैन भने लगानी गर्नुको कुनै तुक छैन,’ मिचिगन विश्वविद्यालय प्रेसका निर्देशक चार्ल्स वाटकिन्सन भन्छन्, ‘यस्तोमा एआई
हाम्रा लागि वरदान साबित हुनसक्छ ।’
दुई वर्षअघि गुगलले युनिभर्सिटी अफ मिचिगन प्रेसलाई एउटा पाइलट कार्यक्रमका लागि सहभागी गराएको थियो । सो कार्यक्रममा गुगलको टुल प्रयोग गरेर एक सयभन्दा बढी पुस्तकलाई अडियोबुकमा परिणत गरिएको थियो ।
त्यसमा अझै मान्छेको काम आवश्यक पर्ने देखियो । यसका बाबजुद पनि धेरै पुस्तकमा एआईले राम्रो काम गरेको पाइयो । एआई प्रयुक्त अडियो बुकलाई मिचिगन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई सुन्न र त्यसमा भएका कमीकमजोरीबारे बताउन आग्रह गरेको थियो । तिनै सुझावका आधारमा एआईले अझै धेरै काम गर्नुपर्ने आवश्यकताबोध गरिएको थियो ।
तर अबका केही वर्षमा एआईले ती सारा समस्या पहिचान गरी समाधानसमेत निकाल्नेछ ।
त्यसो त अहिले पनि केही प्रविधिले काम गरिरहेको छ । नेत्रहीनहरूका लागि केही प्रविधिले पढिदिने काम गर्छ । तर त्यसको तुलनामा एआईको कामलाई अझ
सुधारिएको पाइएको छ । यस्तोमा नेत्रहीन वा अडियो बुकलाई प्राथमिकतामा राख्नेहरूका लागि यस्ता किताब प्राथमिकतामा पर्न सक्छन् ।
विश्वविद्यालयले गरेको अध्ययनले केही विद्यार्थीहरू ठूला ठूला ठेली किताब बोक्नुभन्दा फोनमै अट्ने र सुन्न सकिने किताबप्रति रूचि राखिरहेको पनि पाइएको छ ।
बढ्दै डिजिटल आवाज
साना प्रकाशकलाई नजरमा राख्दै काम गर्न इच्छुक हुनेमा एप्पल वा गुगल मात्र होइन, अन्य कम्पनीको पनि ध्यान केन्द्रित हुन थालेको छ । डिपजेन नामक एउटा सानो एआई कम्पनीले यसमा काम गरिरहेको छ । डिपजेनको स्थापना सन् २०१८ मा भएको थियो ।
यसले पछिल्लो समय अनलाइन सुविधा दिने गरेको छ । जसमा अनलाइनमै टेक्स्ट फाइल अपलोड गर्ने र त्यसपछि रकमअनुसारको सुविधा छनोट गर्न सकिन्छ
। यसले आफ्नो बजेटले भ्याउँछ भ्याउँदैन भन्ने पनि तुरून्तै थाहा हुन्छ, सँगैमा काम सकिएपछि कुनै क्लाइन्टले समस्यामा पारिदेला भन्ने पनि हुँदैन ।
आधारभूत सुविधाका लागि ६९ डलरबाट शुरू भएर १२९ डलरमा उच्च सुविधा यसले दिने गरेको छ । अहिलेसम्म यस कम्पनीले तीन हजार पुस्तक फिक्सन र ननफिक्सनमा काम गरिसकेको जनाएको छ ।
उसो भए के अब कृत्रिम बुद्धिमताले पनि किताब सुनाउने दिन आएको हो त?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

