सानो छँदा
होली पूर्णिमाको दिन
आउनु केही दिन अगाडिदेखि नै
बाँसको ढुंग्रोको पिचकारीले
रङ भरेको पानी छ्याप्दै
साथीहरूको बीच रमाइलो
गरेको सम्झना ताजा छ
खैंजडी र मादल बजाएर
होली गीत गाउँदै
बजाउँदै, नाच्दै
छिमेकी गाउँमा समेत
पुगेको सम्झना छ
त्यो बेला साँच्चै
संस्कृतिको जगेर्ना
र परम्पराको निरन्तताको
आभाष हुन्थ्यो
पर्वहरूले
सामाजमा भिटामिन खुवाएर
सामाजिक घनिष्टताको
हृष्टपुष्ट गराउँथ्यो
सरकार पनि जनतासँगै
भएको अनुभूत हुन्थ्यो

अचेल संस्कार बिग्रिएको छ
परम्परा लोप भएको छ
आयातित धर्मले
भ्रमित गराएको छ परिवार
कुल धर्म खण्डित भएको छ
विश्वास रोएको छ
आस्था हराएको छ
शंका मौलाएको छ
भ्रष्टाचार सगरमाथा पुग्न
अठ्चालिस
फिट मात्र बाँकी छ
समृद्धि आर्यघाट
ब्रह्मनालमा छ
गणतन्त्र
कुपोषणले ग्रस्त छ
खोज्दा नपाइने भैसक्यो
चुनावी घोषणापत्र
छ त केवल आडम्बर मात्र
सरकार देशको छैन
मात्र पार्टीको सरकारले
देश हेर्नु कसरी
संविधानलाई
अचानो बनाएर
काटिरहेछन्
स्वाभिमान
सनातनको रक्षा गर्नु कसरी
सहिदको सपनासँगै
होली खेलिरहेछन् सदनभित्र
जन चाहना विपरीत
कानुन हातमा लिएर
पड्काइरहेछन् पटाका
छ्यापिरहेछन् बारुद
जनाताको आँसु भरेर
बाल्टीका बाल्टी
खन्याइरहेछन्
सिमानामा पारि देश
संविधानमा सहिदको रगत
ह्वाकिरहेछन्
तीन सय पैसठ्ठी दिन
खेलिरहेछन् सदनभित्रै
होली
हेरिरहेछु विक्षिप्त मनले
कसरी खेलुँ यो रङ्गीन होली
मनमै खुशी नरहेपछि
कालो अनुहारमा
रङ्गीन रङ्कको चमक
भित्रै हराउँछ
संस्कार र संस्कृतिलाई
पवित्र मनले अतितभित्रै राखेर
पूजा गरेँ
अतीतको खुशीमा
पौडिएँ
होली खेल्न मन लागेन ।