
प्रस्तुत छ, उपन्यास ‘जौवा’का लेखक विष्णु ढकालसँग साहित्यपोस्टका लागि गरिएको कुराकानीको सम्पादित अंश;
===
‘जौवा’ उपन्यास सार्वजनिक भएको छ । ‘जौवा’को अर्थ के हो र यसले समग्र उपन्यासलाई कसरी प्रतिनिधित्व गरेको छ ?

विष्णु ढकाल
जौवा मूलत: दुई किशोर तुलसी र ईश्वरीको वरिपरि घुमेको छ । उनीहरूको आँखाले देखेको समाज, परिवेश, गाउँ, भूगोललाई मूल कथा बनाइएको छ । हरेक मान्छेले बाल्यकालमा कुनै न कुनै बदमासी गरेको हुन्छ । कुनै न कुनै बिठ्याइँ गरेको हुन्छ । बाल्यकाल सपनाकाल पनि हो ।
यस उपन्यासमा तुलसी र ईश्वरीका बद्मासी, बिठ्याइँ, चकचक र सपनाका कथाहरू जोडिएको हुँदा जौवा अर्थात् बदमासी गर्ने, नपढ्ने वा फटाहा खालको भन्ने अर्थले उपन्यासको हरेक उपकथालाई प्रतिनिधित्व गरेको छ । त्यो पाठकले कुनै न कुनै रूपमा अनुभव गर्न पाउनुहुन्छ । त्यसैले मलाई लाग्छ, जौवा शब्दले समग्र उपन्यासलाई प्रतिनिधित्व गरेको छ । जौवा मनमौजी या बिन्दास पनि हो ।
नेपाली साहित्यमा ‘जौवा’को आवश्यकता किन पर्यो ?
जौवा आम मान्छेको कथा हो । आम मान्छेका कथाले साहित्यको आकाश फराकिलो पार्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ । समाज उज्यालोको उपज मात्रै होइन, सँगसँगै अँध्यारो यथार्थ पनि लिएर बाँचेको हुन्छ । जौवाले समाजको कुरूप यथार्थलाई उजागर गरेको छ । मुक्तिको यात्रामा अग्रसर गराउन प्रेरित गरेको छ । अन्यायका विरुद्ध लड्न र स्वतन्त्रतापूर्वक बाँच्न प्रेरित गरेको छ । लेखकको हिसाबले समाजको एउटा कुरूप यथार्थलाई उजागर गर्न सकेँ कि भन्ने आत्मगौरवले मन पुलकित भएको छ ।
एक पाठकका दृष्टिबाट, ‘जौवा’ उपन्यासभित्र के–कस्ता कथाहरू भेटिने छन् ?
मैले अघि नै भनेँ, जौवा आम मान्छेको कथा हो । आम मान्छेले पहिलोपल्ट भोगेका, देखेका, अनुभव गरेका थुप्रै उपकथाहरू यस उपन्यासभित्र रहेका छन् । जस्तो – पहिलोपल्ट जिन्स पाइन्ट लगाएको । खोलामा पौडी खेलेको । पहिलोपल्ट टेलीफोन गरेको । स्कुलमा बदमासी गरेको । आदि । यसका साथै जौवाभित्र दूध बेच्ने, चिया बेच्ने, चटपटे बेच्ने, ज्याला मजदुरी गर्ने, साइकल बनाउने जस्ता भुइँमान्छेका कथाहरू पनि रहेको छ । पद, पैसा र प्रतिष्ठाको आडमा समाजमा हुने अन्याय अत्याचार र त्यसका विरुद्ध लड्न हिम्मत गर्ने हरेक व्यक्तिका कथाहरू यस उपन्यासभित्र रहेका छन् ।
पहिलो कृति नै उपन्यास लिएर आउनु भयो । विषयवस्तुले नै उपन्यास लेखाएको हो या उपन्यासको बजारबाट प्रभावित हुनुभएको हो ?
यस उपन्यासभित्रका ४८ उपकथाहरुमा एउटै परिवेश, भूगोल, समाज र प्रवृति तर भिन्न कथाहरू रहेका छन् । मेरो आफ्नो लेखनको सुविधाको कारण भन्नुस् वा मेरो रुचीको कारण भन्नुस्, मलाई उपन्यास लेख्न सहज भयो । जहाँसम्म उपन्यासको बजारको कुरा छ, यसका बारेमा मलाई त्यति धेरै ज्ञान छैन । यो मेरो रुचिको विषय पनि होइन । पाठकको मनको बजारमा जम्न सकेँ भने सबैभन्दा ठुलो खुसी त्यही हुनेछ । अर्थ बजारले मेरो जीवनमा खासै ठुलो अर्थ राख्ने छैन ।
उपन्यासले मध्य तराईको कुनै दुर्गम गाउँलाई पृष्ठभूमि बनाएको छ । भनेपछि, उही आँसु, दु:ख र तिरष्कारका पुरानै कथाहरूको नयाँ दस्ताबेज हो ‘जौवा’ ?
होइन, जौवा पढ्दा पाठकहरू कतै दु:खी हुनुपर्ने वा आँसु झार्नुपर्ने छैन भन्ने मेरो दाबी छ । जौवा सपनाको कथा हो । यथार्थताको कथा हो । मुक्तिको कथा हो । हरेक पाठकले यस उपन्यास पढ्दा आफूलाई कुनै न कुनै रुपमा प्राप्त गर्नेछन् । फर्केर हेर्नेछन् र सुतेका सपना, कल्पनाहरूलाई पुन: बिउताउनेछन् भन्ने मेरो विश्वास छ । जौवाले सपना र खुसी दिनेछ । आँसु कदापि दिने छैन ।
उपन्यासले किशोर–किशोरी तथा युवाहरुका रहर, सपना, प्रेम तथा धोकाका कथानकसमेत उपन्यासले समेटेको छ । यो कथावस्तुको माग नै थियो कि मसलाका रुपमा उपन्यासलाई रोचक बनाउन खोज्नुभएको हो ?
जौवा आम मान्छेको कथा हो भन्ने कुरा मैले पटकपटक भन्दै आएको छु । थोरै मरमसला भएन भने आम मान्छेको कथा कसले पढ्छ ? अवश्य पनि, कथानकलाई रोचक बनाउन यस उपन्यासभित्र थुप्रै फूलबुट्टा कुँदिएका छन् । जसले पाठकलाई बाँधिराख्न मद्दत गर्दछ । जौवाभित्र मसला पक्कै छ तर त्यसले कथाको वास्तविक स्वादलाई भने मर्न दिएको छैन ।
पुस्तकको विमोचन कार्यक्रममा समीक्षक राजकुमार बानियाँले तपाईँको उपन्यासलाई बुद्धिसागरको कर्णाली ब्लुजसँग दाँज्न सकिने बताउनु भएको थियो । यत्रो ठुलो प्रशंसाको भार थाम्न गाह्रो भएन ?
मलाई समकालीन नेपाली लेखकहरू उत्तिकै मनपर्छ । प्रायः सबैलाई पढ्ने पनि गर्छु । बुद्धिसागर मेरो मनपर्ने लेखक हुनुहुन्छ । म उहाँको फ्यान पनि हुँ । राजकुमार बानियाँज्यूले थुप्रै नयाँ लेखकहरूलाई हौसला दिने गर्नुहुन्छ । उहाँले मलाई माया गरेर दुई शब्द भनिदिनु भयो होला भन्ने लाग्छ मलाई । उहाँले कुनै दिन जौवाको समीक्षा लेख्नुभयो भने थाहा पाइहाल्नु हुनेछ नि मेरो असली हैसियत !
म अग्रजहरूले खनेको सजिलो बाटोमा हिँड्न आएको छु । सबै अग्रजहरूले दिनुभएको आशीर्वाद मलाई लागोस् भन्ने मेरो प्रार्थना छ ।
अन्त्यमा, यस उपन्यासलाई लिएर तपाईंको अपेक्षाचाहिँ के छ ?
मैले कुनै अपेक्षा लिएर यो उपन्यास लेखेको होइन । म सिक्न आएको हुँ । धेरै कुरा अध्ययन पनि गर्दै छु । कुनै दिन पाठकको मनमा बलियोगरी बस्न सक्षम भएँ भने मेरो सम्पूर्ण इच्छा अपेक्षा पुरा हुनेछ । मेरो अन्तिम गन्तव्य पाठकको मन हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

