लेखिकाः गीताञ्जली श्री
अनुवादः योगप्रसाद उपाध्याय चापागाईं

लुगा फेरेर राजनले भान्साकोठामा खाना तयार गरिरहेकी रीतालाई भन्यो, “लिफ्टमा चढ्दा डा. पमनानी लिफ्टबाट बाहिर निस्केको देखें, यो बिल्डिङमा कोही बिरामी हुनसक्छन् ।”

रीताले हातमा समाइरहेको खानेकुराहरू टेबलमा राखी र रुमालले थाल पुछ्दै भनी, “रति बिरामी छिन्, आज अफिस पनि गइनन् ।”

खानाको पहिलो गाँस मुखमा राख्दै राजनले भन्यो, “आज अफिसमा काम गर्न सकिनँ, सन्चो नभएजस्तो भयो ।”

रीताले जिज्ञासापूर्ण नजरले राजनलाई हेरी, त्यसपछि खाना खाँदै भनी, “बुधबार बिदा छ, डाक्टरको जाँच गराउनुपर्छ ।”

“नानीहरू कहाँ के गर्दैछन् ?” राजनले सोध्यो ।

“पढ्दैछन्, टर्मिनल परीक्षा हुन लागेको छ ।”

दुवै लोग्नेस्वास्नी खाना खान लागे । महानगरको कोलाहल बिस्तारै मधुरो हुँदै थियो । रीताले भनी, “भगवानसँग पनि न्याय छैन ।”

राजन छक्क पर्यो र श्रीमतीलाई जिज्ञासु नजरले हेर्न लाग्यो ।

रीताले भनी, “रति कति असल नारी हुन् तर उनको भाग्यमा श्रीमान् कस्तो लेखिएको रहेछ, हेर्नु त ! त्यस्तो खातेपिते घरकी केटी, यस्तो ठाउँमा परिन् । उनको लोग्ने दिनहुँ रक्सी खाएर घर आउँछ । बढुवापछि रतिको तलब बढेको थाहा छ ?”

राजनले कुनै जवाफ दिएन । चुपचाप खाना खाइरह्यो ।

अर्को कोठाबाट छोरीको किताप पढेको आवाज आइरहेको थियो ।

आफ्नो कुरा अगाडि बढाउँदै रीताले भनि, “रति अहिले अफिसर बनेकी छिन् । उनको तलब एक हजार बढेको छ, थाहा छ ?’

राजनको अनुहारमा गहिरो भाव छायो, कुनै विशेष खबर सुनेजस्तो ।

“विचरी रति बिहानै उठेर घरको काम गर्न र बच्चाहरूलाई विद्यालय पठाउन तयार गर्छिन् । सबैलाई ब्रेकफास्ट खुवाउँछिन्, दिउँसोको खाना बनाउँछिन्, श्रीमानलाई खुवाउँछिन् र आफ्नालागि अफिसमा पनि लैजान्छिन् । दिनभरि अफिसमा काम गर, घर फर्किएपछि फेरि घरको काम गर !” रीताको स्वरमा महिलाको पीडा लुकेको थियो ।

राजनले कुनै प्रतिक्रिया दिएन । राजनको मन केही बेरसम्म आफैँभित्र हरायो । त्यसपछि अचानक ऊ स्तब्ध भयो । उस्को आँखा अगाडि केही दृश्यहरू चलचित्र जसरी घुम्न लागे । हरेक बिहान उठ्न ढिलो भएकाले राजनको मनमा पहिलो विचार आउँथ्यो, ‘उसको दैनिक बस नछुटोस् ।’

ऊ सबै काम छिटो गर्थ्यो । ऊ बारम्बार घडी हेर्ने गर्थ्यो । समय जोगाउन शौचालयमा बस्दा ऊ ब्रश पनि गर्थ्यो । हतार गर्थ्यो र बिहानको खाना पनि पूरा खाँदैनथ्यो । कहिलेकाहीँ पेन्टको चेन तान्न पनि बिर्सने गर्थ्यो । कहिले कलम टेबुलमा छोडिन्थ्यो । लिफ्टमा ओर्लने क्रममा पेटी बाँध्ने गर्थ्यो । ऊ दौडिए जसरी हिँड्थ्यो । उसलाई आफू रमाइरहेको भान गर्थ्यो र आफैँ छक्क पर्थ्यो । बस स्टपमा पुगेपछि रतिलाई त्यहाँ लाइनमा उभिएको देख्दा ऊ ढुक्क हुने गर्थ्यो । रति लाइनमा बस्नु भनेको उस्को बस अझै नआइसकेको संकेत हो । त्यसपछि ऊ सुस्थिरले हिँड्न थाल्थ्यो । यसरी सोच्नु र आफूलाई हीन बनाउनु उस्को बानी बनिसकेको छ ।

अनावश्यक कुरा र मनमा भ्रम पाल्नु उस्को स्वभाव बनिसकेको थियो । यतिखेर उसलाई बस स्ट्यान्ड नै उसको जीवनको गन्तव्य हो रहेछ भन्ने लागेको छ ।

रीताले भनी, “राजन, भगवानले नारीको जीवन किन यस्तो दु:खद् बनाएको ? यो बदलिँदो समयमा सबै बदलियो भनिन्छ तर नारीको भाग्य कहाँ बदलियो ?”

राजन कुल्ला गरेर आइसकेको थियो । रुमालले हात पुछ्दै सोध्यो, “के मिस्टर सजनानी धेरै पिउन थालेका छन् ?”

रीताले भनी, “अहिले व्यवसायमा पनि ध्यान नदिने गरेको सुनेकी छु । पूरै व्यापार ठप्प भएको छ । अहिले श्रीमतीको तलबले घर चलाइरहेका छन् ।”

राजनले निराश भावमा भन्यो, “यो व्यवसाय पनि रतिको बुबाले नै सुरु गरेको हो।”

रीताले लामो सास तान्दै भनी, “आमाबुबाले छोरीमाथि सय आशा राखून्, हजार प्रयास गरुन् तर भाग्यले साथ दियो भने न हुने हो !”

अफिसमा बिताएका दिनहरू राजनलाई याद आइरहेका छन् । ऊ रीतालाई भन्छ, “आज मलाई थकाई लाग्यो । अफिसमा काम गर्न पनि मन लागेन ।”

“सोफामा आरामसँग बसेर टिभी हेर्नुहोस्, तर भोल्युम कम राख्नुहोला । छोराछोरी पढदैछन्, पढाइमा बाधा नपरोस् । म रतिलाई हेरेर आउँछु,” रीताले भनी ।

राजन सोफामा बसेर टिभी हेर्न थाल्यो । चित्रहार सांगीतिक कार्यक्रम चलिरहेको थियो । फिल्मका गीतमा नायक–नायिका उफ्रिदै नाच्दै थिए । पछाडिको दृष्य बारम्बार परिवर्तन भैरहेको थियो । नायिका कहिले सारी, कहिले सलवार कुर्ता र कहिले जिन्स र टिसर्ट लगाएर नाच्दै थिई । सधैँझैँ आज पनि यो कार्यक्रमले राजनलाई सन्तोक दिन सकेन । उसलाई टिभी हेर्न मन लागेन । टिभीमा नाचिरहेका मानिसहरू मानिस नभै ब्याट्रीबाट चल्ने प्लाष्टिकका खेलौनाजस्ता लाग्यो । उठेर टिभी बन्द गर्यो र सोच्न थाल्यो, “मानवजीवन कति अपूर्ण र थकित रहेछ । हरेक दिन एउटै काम गर्नु पर्ने, बिना कुनै उद्देश्य । जीवन अर्थहीन बनेको छ । बाँच्ने बानी चाहिँ भैसक्यो ।”

आज अफिसमा काम गर्दागर्दै उसको शरीर र मन दुवै थाकेका थिए ।

त्यही बेला पल्लो घरबाट रीता फर्किएर आई र भनी, “थोरै अबेर गरेँ, टिभी किन बन्द गरेको ?”

“हेर्दा रमाइलो लागेन,” उसले भन्यो ।

“तपाईं आज थकित देखिनु भएको छ । केटाकेटीहरूलाई ओछ्यान लगाई दिएर हाम्रो ओछ्यान पनि लगाउँछु । एस्पिरिनको चक्कीले निद्रा लाग्छ, चक्की खाएर सुत्नुहोस् ।”

ढोका नजिक पुगेर रीताले श्रीमानलाई हेरी र फेरि भनी, “रतिलाई एक सय दुई ज्वरो आएको थियो तर ज्वरोमा पनि मुस्कुराइरहेकी थिइन् ।”

उसलाई देखेर रतिको अनुहारमा मायाको, केही उदास, केही खुसी, द्वितीयाको चन्द्रमा जस्तै मृदु मुस्कान झल्किन्छ । राजनलाई थाहा छ, यो मुस्कान उसको लागि हो र उनले थाहा नपाई उनको अनुहारमा झल्किन्छ । यही मुस्कानमा उसले बिहानको सबै कष्ट बिर्सने गरेको छ । जब ऊ बसमा आफ्नो सिटमा बस्छ, बस बन्द आँखाले दौडिने घोडाझैं गुड्छ, मानौं शहरको युद्धभूमिका सेनाहरू बीचबाट बाटो बनाउँदै गुडिरहेको छ । त्यो कोमल मुस्कान, उनको हृदय अस्पष्ट आनन्दले भरिन्छ । उनको मुटुबाट बगिरहेको रगतले त्यो मुस्कान उसको शरीरभरि फैलाउँछ । रति पनि त्यही बसमा कतै बसेकी छिन् भन्ने बिर्सन्छ । त्यो मुस्कान मात्रै उसको साथमा रहन्छ र उसको ताजापनको टनिक जस्तै उसको शरीरमा शक्ति भरिरहन्छ ।

ऊ र रति एकअर्कासँग कहिल्यै बोलेका छैनन् । उनीहरूलाई यति थाहा छ कि उनीहरू छिमेकी हुन्, एकअर्काको नजिकै बस्छन् । उनीहरूका मनहरू एकअर्काको मनको वरिपरि घुमिरहन्छन् । राजनलाई आफू मरेको छैन जस्तो लागिरहेको थियो । बसमा बसेका मान्छे पनि निर्जीव होइनन् । सडकको दुवै छेउका भवनहरू पर्खाल मात्र होइनन् । यी भवनहरू भित्र प्राण छन्, मुटु छन् । सायद रतिको यो कोमल मुस्कानले उसको अर्थहीन जीवनलाई केही समयको लागि भए पनि अर्थपूर्ण बनाइरहेको थियो ।

ठूला शहरहरूमा बसको यात्रा सामान्यतः लामो हुन्छ । कहिलेकाहीँ यो यात्रा पूरा हुँदैन भन्ने लाग्छ तर हरेक बस कुनै न कुनै बिन्दुमा रोकिन्छन् । सबै यात्रुहरू त्यहीँ ओर्लिन्छन् । बस रित्तोझैँ बन्छ । राजनको अफिस अन्तिम बिसौनी नजिक र रतिको अलि टाढा थियो । दुवैजना बसको अन्तिम स्टपमा ओर्लिन्छन् र भीडमा हराउँछन् । हराउनुअघि राजनको नजर रतिको खोजीमा रहने गर्छ । नजर रतिका आँखामा परेपछि थाहै नपाई अनुहारमा मुस्कान आउँछ । जवाफमा रतिको अनुहारमा पनि मायाको मुस्कान फुल्छ । यी सबमा यसरी नै राजन बानी परिसकेको थियो । उसको नजर रतिको नजरमा पर्दा रति पनि सायद आफ्ना नजरले उसलाई हेर्न पर्खिरहेकी छिन् जस्तो लाग्न थालेको थियो । सायद उसलाई आफ्नो मुस्कान नभेट्दा केही हराइरहेको जस्तो लाग्दो हो भन्ने सोच्ने गर्थ्यो ।

केटाकेटीहरू झगडा गरिरहेका थिए र रीता उनीहरूलाई अर्को कोठामा सुताउने तयारी गरिरहेकी थिई । राजनले आज रतिको मुस्कान पाउन सकेको थिएन । यही कारण ऊ विचलित भैरहेको थियो । उसलाई आज अफिसमा पनि काम गर्न मन लागेन । यस्तो कसरी हुन सक्छ ? रति र मेरो बीचमा कुनै सम्बन्ध छैन । हामीले एकअर्काको नजिक आउने वा कुरा गर्ने प्रयास पनि गरेनौं । मौका पाए पनि हामी दुवै जना बसमा कहिल्यै नजिक बसेका छैनौं । हामी दुई ताराहरू जस्तै एकअर्काबाट नजिक भएर पनि टाढा छौं । राजनले आफैंलाई सोध्यो, ‘के यो साँचो हुन सक्छ कि त्यो मुस्कानले मलाई दिनभर ऊर्जाशील र उत्साही बनाइराखेको छ ? त्यसको प्रभाव दिनभरि मेरो वरिपरि परिरहन्छ ?’

रीता त्यतिबेला मात्र कोठामा आइपुग्छे र भन्छे, “ओछ्यान बनाएकी छु ।” दुवैजना कोठाभित्र प्रवेश गर्छन् । आज राजनले सदाझैँ खाटमा बस्नेबित्तिकै टेबल ल्याम्प बालेको छैन ।

रीताले अचम्म मान्दै सोधी, “आज किताप पढ्नु छैन ?” सुत्नुअघि केही बेर राजनको किताप वा पत्रिका पढ्ने बानी थियो ।

‘छैन,’ उसले सुस्तरी भन्यो र सिरानीमा टाउको राखेर सुत्यो ।

बत्ती निभाएर रीता राजनको छेउमा सुती । उसले भनी, “रतिलाई डाक्टरले एक साता अफिस नजान भनेको छ ।”

अँध्यारोमा छततिर हेर्दै राजनले “यो हप्ता रतिको मुस्कानबिना अफिसमा कसरी काम गर्ने” भनेर सोच्यो ।

——-समाप्त——-

गीताञ्जली श्री (जन्म १२ जुन १९५७) एक प्रसिद्ध हिन्दी कथाकार उपन्यासकार । अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२२ प्राप्त । उत्तर प्रदेशको मैनपुरी जिल्लामा जन्मिएकी गीताञ्जलीको प्रारम्भिक शिक्षा उत्तर प्रदेशका विभिन्न सहरमा भएको थियो।
***