मुल्ला नसरुद्धिन एकजना फकिरका शिष्य भर्खरै बनेको थियो। रात पर्न लागेको थियो । दुवै गुरू चेला सुत्ने तर्खरमा थिए । उनीहरू दुवै आ–आफ्नो ओछ्यानमा ढल्किएका थिए । मुल्ला नसरूद्दीनको गुरूले भन्यो, “नसरुद्दीन, पानी परिरहेको छ कि छैन, एक पटक हेरेर आऊ त ! ”

नसरुद्दीनले भन्यो, “गुरुदेव, सुखदुःखमा समभाव राख्नुपर्छ भन्नु भा हैन ? वर्षात् होस् कि नहोस्, यसले तपाईंलाई के फरक पर्छ ? सबै कुरा ठीक छ । तपाईं पनि यस्ता वाहियात कुरामा ध्यान दिनुहुन्छ । सबै अवस्थामा समभाव राख्नु पर्छ भनेर तपाईंले नै सम्झाएको होइन । बाहिर गएर पानी परेको छ छैन भनेर हेर्न के जरूरी छ र ? परिरहेको छ भने पनि ठीक, परिरहेको छैन भने पनि ठीक, हैन त ?”

गुरु मुल्ला नसरूद्दीनको जवाफ सुनेर मुस्कुराए । चित्त नबुझे पनि उनी चुप लागे ।

उनी बेचैन थिए । त्यसैले केही समयपछि गुरूले मुल्लालाई भने, ‘भाइ, यो कुनै ज्ञान बाँड्ने समय होइन । मेरा कपडा बाहिर छन् । ती भिजे भने बिहान फेरफार हुँदैन । म त फकिर, जम्मा दुई जोर कपडा छन् । तिमी छिटो हेरेर आऊ न !’

मुल्लाले भन्यो, ‘म बाहिर जानुको कुनै तुक छैन । यो बिरालो भर्खरै बाहिरबाट आएको छ । तपाईंले नै त्यसको शरीर छामेर पानी परेको हो कि होइन थाहा पाउन सक्नु हुन्छ । तपाईंकै सामु त्यो उभिएको छ । यदि त्यो रुझेको छ भने सम्झिनू पानी परिरहेको छ, रुझेको छैन भने सम्झिनू पानी परेको छैन । सजिलो छैन त ?’

गुरुले अब के भन्नु ? तापनि भने, ‘बिरालोका कारण मलाई एलर्जी हुन्छ । त्यसलाई भगाइदेऊ ।’

नसरुद्धिनले भने, ‘गुरुदेव, यस जगत्को स्वभाव नै आवागमन हो । आउनु जानु त भई नै हाल्छ । के भगाउनु ? किन भगाउनु ? त्यो जसरी आयो, उसरी नै जानेछ । जो आयो, त्यो सधैँ गएकै छ । यहाँ सधैँका लागि को बस्छ र ? तपाईं पनि कस्तो कुरा गरिरहनु भएको आज ?’

गुरुलाई बहुत रिस उठ्यो, यस्तो खालको बकवासीलाई के उत्तर दिने ? ‘ठीक छ, कम से कम त गरिदेऊ कि त्यो ढोका त बन्द गरिदेऊ, चिसोले मलाई गाह्रो भयो ।’

नसरुद्दीनले जवाफमा भन्यो, “गुरुदेव, तीनओटा काम त मैले गरिनैदिएँ । अब एउटा काम कम से कम तपाईं आफैँ त गर्नुस् ! मैले मात्र कति गरूँ ?”

(अभिनव धर्मबाट)