नारी दिवसको शुभकामना ! भर्खरै गयो, तर शुभकमाना भन्नलाई शुक्रबार पनि खासै बेठीक होइन नि !

यो दिन आयो कि एउटा कथा सम्झन्छु सधैँ — बोनी स्मिथ–याकेलको ‘माई मदर नेभर वर्क्ड’ । यानि, मेरी आमाले कहिल्यै काम गरिनन् ।

कथामा आमा कामै, कामै, कामै, कामै, कामै गर्दागर्दै ढलेकी हुन् । काम पनि कति — घरका, केटाकेटीका, लेग्नेको रेखदेखका, बाख्रापाठाका, गाईगोरुका, हाँसकुखुराका…।

मर्दा, सामाजिक सुरक्षा कोषमा सोधियो— केही रकम छ कि हजुर, आमाले पाउने?

उत्तर आयो— ‘छैन । तपाईंकी आमाले काम गर्नुभएको रहेनछ नि त !’

काम, यानि सरकारको खातामा देखिने जागिर । वा भनौँ, सरकारी काम ।

नदेखिने चौबीस घण्टे कामले डसेर मरेकी आमा ‘काम नगर्ने महिला’को सूचीमा परिन् ।

काम माने के? कामको परिभाषा के? कसले बनायो?

फेरि गाउँतिरको एउटा दृश्य सम्झिन्छु । गाउँको सिरानतिर थिए माल्दाइ । कहिलेकाहीँ गाउँघरतिर पस्थे । एकदिन निन्याउरो अनुहार लगाएर हाम्रो घरमा पनि आए ।

किन निन्याउरो? सोध्यौँ ।

भने— हजुर, मुडुलीले कुटी । कुटिरहन्छे मलाई ।

मुडुली — माने, श्रीमती ।

गरिब थिए । गरिब त मुडुली पनि थिई नै होली । तर, माइला सोझा थिए । सोझो हुनु कुटाइ खाइरहनुको आधार । हैट् !

अर्कातिर श्रीमती कुटेर राक्षसमा दर्रिएको ‘मोती’ सम्झन्छु । जाँड खाने, श्रीमती पिट्ने ।

कुन लिङ्ग बलवान्? कुन कमजोर? सेन्टिफ्ल्याट !

फेरि अर्को कुरो सम्झन्छु ।

कल्पना गरौँ— करिब हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएका बजारहरू छन्, एउटा दुइटा मात्रै होइन, प्रान्तैभरि । बजारमा सामान बेच्ने केवल र केवल महिला छन् । यसो सुराकी गर्दै जाऔँ — ती महिला सामान्य घर–घरानाका मात्रै छैनन् । मन्त्रीका आमा । डाक्टरका श्रीमती । ठूलाबडाका चेलीबेटी… भनौँ न, को छैन बजारमा ?

बेच्छन् केके ? केके बेच्दैनन् ? घरकै तानमा बुनेका लुगा । ताैलिया र लुङ्गी । सुकेका माछा । सिद्रा । अमिल्याएको तामा । भर्खरै तारेका पकौडा । गरगहना । सुकेका जडीबुटी । केराका बुङ्गा । शङ्खे कीरा । दाँत कोट्याउने छेस्का ।

तोरीकै साग खाएर त के कोट्याउनु हौ दाँत पनि, होइन प्रतीक दाइ?

थप्दै जाऔँ ।

टाइप गरेर हेरौँ न गुगलमा — ‘इमा कैथेल, मणिपुर ।’

यस्तै केही भेटिएन भने त…

भेटिएन भने गुगल बिग्रिएछ भनौँला । रवि लामिछानेले जिते भने देशै छोड्छु भन्ने त यहीँ छन् भने…हामी त, बिचरा !

घर–गृहस्थी चलाउन यी महिलाहरू कसैको मुख ताक्दैनन् ।

यो कस्तो कुरा ?

— अर्थव्यवस्था र संस्कृति जोडिएको ? अमर्त्य सेन पनि ट्वाँ !

— समाजमा वर्गहरू भत्किएर धुलिट्याम ? मार्क्स बेहोस ।

— काम नै धर्म ? मेक्स बेवरको काम सकियो ?

— आत्मनिर्भर हुनलाई आइतबार बार्नु पर्दैन ? माल्कोम केयरहरू पनि चकित भएर हिँडेछन् । गएछन् नि, नारान ।
यो कथाको एउटा पाटो हो । कथाको अर्को पाटो पनि छ ।

(क) छोरीहरू अलि तरुनी भएपछि आमाहरू आफैँले सिँगार–पटार गरेर, राम्री बनाएर पठाउँछन् काममा वा क्याम्पसमा । कसै न कसैले हे-यो वा हेरेन, सोध्यो वा सोधेन — साँझको सभामा चासोको विषय । ‘फलानाले बिहे ग-यो रे’ भनेको सुनिँदैन । ‘केटी भगाएछ’ भनेको मात्रै सुनिन्छ यो समाजमा । अथवा, ‘नुपी थिरब्रो?’ भनेर सोध्छन् केटालाई । भनेको, ‘केटी खोजिस् ?’ भनेको । ‘बिहे गर्नुभयो?’ भन्ने पदावली नै बनेको छैन त्यहाँको समाजमा ।

(ख) कसैले बिहे गरेर श्रीमती भित्र्याएपछि छरछिमेकको एउटा अनिवार्य प्रश्न— दाइजोमा केके ल्याएछ ? उफ्, महिला आफैँले खडा गरेको अर्थ– समाजमा पनि ज्वाइँ वा लोग्ने ‘किन्नुपर्ने’ ।

मलाई स्कुल छँदा भारतको केरल प्रान्तका केही शिक्षिकाले पढाएका थिए । घर छोडेर करिब २ हजार किलोमिटर टाढा पुगेर पढाउँथे । किन होला ?

भन्थे— के गर्नु? पैसा कमाउनै प-यो । बिहे गर्दा लोग्नेको ‘अन्डरवेयर’ समेत हामीले किन्दिनुपर्छ । उफ् !

प्रश्नका खात । मणिपुरमा समाज करिब करिब मातृसत्तात्मक भने पनि हुन्छ । घरगृहस्थ त पूरापूर महिलाकै जिम्मा । तैपनि बिहेका नाममा लोग्ने किन्नुपर्ने । ज्वाइँ किन्नुपर्ने ।

केरल भारतमा १०० प्रतिशत साक्षरता आर्जन गरेको पहिलो प्रान्त । तै पनि लोग्ने किन्नुपर्ने । ज्वाइँ किन्नुपर्ने ।

अमर्त्य सेन मात्रै किन? कुनै पनि अर्थशास्त्रीले सोच्नुपर्ने प्रश्न – शिक्षाले, अथवा आर्थिक स्वतन्त्रताले महिला–पुरुष समानता स्थापित गर्दो रहेनछ ।
जालो कहाँ छ ? कता छ ?

ठिमीमा मेरो कपाल काट्ने एउटा निश्चित ठाउँ छ । महिना–दुई महिनामा जान्छु । टुप्पो–टुप्पो मिलाउन पनि कम्तीमा एक घण्टा । घर फर्किंदा पैसा मात्रै खर्चेको, कपाल भने भुत्लोभाङ नकाटेको जस्तो पनि लाग्छ । कुरो के भने, त्यस हजामका कुरा मार्मिक छन् । मभन्दा पनि निकै सानो उमेरको हो, तर चार जना छोरी छन् । कान्छी भर्खरै जन्मेकी – सात महिनाकी होली ।

‘मास्टर, पछिल्लो त छोरा छ भनिहालेको थियो डाक्टरले । धोका दियो साला !’

कस्तो — त्यो धोका दिने डाक्टर पनि !

छोरी जन्मेको वा पाल्नु परेकोमा उसलाई दुःख छैन । उसलाई दुःख छ — ज्वाइँ किन्नुको !

मेरो ‘ठाकुर’ छठमा पनि घर जाँदैन । होलीमा पनि जाँदैन । उसको पसलमा बिदा नै छैन ।

मर्म बुझ्छु । एउटा कथा लेख्न सकिन्छ यहाँनिर । सकिन्न र ? लेखे सकिने हो केरे !

‘नामर्द मूला । बिहे गर्न पनि आफूलाई बेच्ने ? के काम भयो त यत्रो पढेको ? बिहेमा दाइजो लेलास्, मूला,’ भन्ने गरेको छु दाइजो प्रथा भएका समुदायबाट आउने विद्यार्थीलाई क्लासमा । बिहे नहुँदासम्म ‘सर, पाय लागे’ भन्दै आइरहन्छन् भेट्न । बिहे गरेपछि ती ‘पाय’ लाग्ने विद्यार्थी हराउँछन् । आउँदैनन् ।

म नयाँलाई उही पुरानो डाइलग सुनाइरहन्छु । थाहा छ— उमेर पुगेपछि ती पनि आउन छोड्छन् । (सानो सानो समाज सुधारक पो भइटोपलेँ कि क्या हो यहाँनिर? तर एउटा सुड्डो सुध्रेको भए त मरिजानु !)

‘छोरो कत्रो भयो ? बुहारी ल्यायो ?’ यो प्रश्नलाई नेपालमा ‘सामान्य’ मानिन्छ ।

‘छोरी कत्री भई ? ज्वाइँ ल्याई ?’ यो असामान्य । भारतको मेघालय प्रान्तमा, विशेष गरी खासी समुदायमा चैँ यो सामान्य । तर नि, खासी समुदायमै पनि महिला खासै अगाडि बढेको त देखिएन नि ?

मेघालयमा अहिलेसम्म कतिजना महिला मुख्यमन्त्री आए ? भो, नकुरा अरम् । सूची गुगलमै छ ।

मन्त्री नि? आक्कलझुक्कल, त्यो पनि बल्ल सुरु भाछ सिलसिला ।

अन्य उपल्ला पदमा कति महिला पुगे?

कुरो पितृसत्तामा अल्झेको छ भनौँ भने मातृसत्तामा पनि कथा–व्यथा उही ।

कुरो मातृसत्तामा सुध्रिन्छ भनौँ भने पनि कथा–व्यथा उही ।

कुरो कहाँ, कता, के गर्दा सुध्रिन्छ?

यो कुरो स्वयं सृष्टिकर्तालाई पनि थाहा छैन ।

‘ग्रिन बेल्ट मुभ्मेन्ट’ यानि, हरित क्षेत्र अभियानको नेतृत्व गरेर नोबेल पुरस्कार जितेकी केनियाली वातावरण संरक्षण अभियन्ता वाङ्गरी माथाईले आफ्नो एउटा निबन्धमा लेखेकी छिन्— ‘करेसा बारीमा रुख रोपौँ न भन्दा महिला जुटे, पुरुष फिट्टो जुटेनन् । महिलासँगै कुम जोडेर काम गर्नुलाई उनीहरूले तल्लो स्तरको काम माने । आक्कल झुक्कल तिनै पुरुष आए, जो अति गरिब भएकै कारण महिलासँगै उभिनुलाई पनि खासै ठूलो कुरो मान्दैनथे ।’ पढुङ् न उनको ‘फोरेस्टर्स विदाउट डिप्लोमा’ ।

अब केनियालीले पनि ‘फिट्टो’ भनिन् होला त? हाहा ।

होइन यो विभेदको जड छ चैँ कहाँ?

यो कुरा जान्नु र मुसाको सिङ पत्ता लाउनु एकै भयो ।

स्कुल–कलेजतिर हिँडिरहन्छु । के खोज्छु कुन्नि, आफैँलाई थाहा छैन । तर लखर लखर लखर लखर कुदेको कुद्यै । प्रतियोगिताहरूको साक्षी बस्न जान्छु । कहिलेकाहीँ भाषण पनि पो दिन्छु त । हेर्छु— स्कुलमा, अधिकांश ठाउँमा, पढाइमा पनि र अतिरिक्त क्रियाकलाप वा सिर्जनात्मक कार्यमा पनि छोरीहरू अगाडि छन् । निकै अगाडि पो छन् त !

कार्यक्षेत्रतिर यसो हेर्छु — छोरा अगाडि ।

देशको मन्त्रिमण्डल हेरौँ न ।

संसद हेरौँ न ।

पार्टीहरूका केन्द्रीय समितिहरू हेरौँ न ।

अरूलाई नभनौँ कि, तर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी विभाग हेरौँ न ! तीन दर्जन भाइकी एउटी चेली प्राध्यापिका —डा. अन्जु गुप्ता । एक मात्र । एक !!

सय भाइ कौरव । एक मात्र चेली — दुश्शला ।

कुरो त महाभारत कालदेखिकै हो कि क्या हो?

मेरै विभाग पो त ! म आफैँ भनिरहेको छु भने, यो कुरो झुटो हुँनै सक्दैन ।

दायाँबायाँ पनि हेरौँ ।

मलाई सोध्नुहुन्छ भने म विमर्शलाई दुईवटा नयाँ कोणतिर लानुपर्ने आवश्यकता देख्छु ।

१. शरीरको संरचनाले कसकसलाई केके कुरा सजिलो बनाएको छ? त्यसमै टाँसिन्छ मान्छे । कुरा बुझेको छ सबै, तर टाँसिँदा मजा आइरहन्छ मान्छेलाई । उही, रस सकिएको चुइगम पनि चपाइरहँदा मजा आइरहन्छ । मान्छे चपाइरहन्छ । केटाकेटी छँदा त सुत्ने बेलामा खाटका छेउतिर टाँसेर बिहान उठेर फेरि खाइयो । हैट्, बढेर कत्रा कत्रा मान्छे भइसकियो, यस्तो कुरालाई ‘हो’ कसरी भन्नु?

२. शरीरसँग बल र विवेक जोड्ने जुन भूल इतिहासमा भयो, त्यो भत्कनुपर्छ । भत्काइनुपर्छ । नत्र, जति थान संविधान लेखे पनि सोह्र दुना आठै हुन्छ । भएको पनि त छ !

मानौँ पितृसत्ता भत्कियो । मातृसत्ता पनि भत्कियो । कन्फुसियसले भनेजस्तो क्षमताको आधारमा चल्ने समाज आयो । लैङ्गिक विभेद हट्ला? अथवा, समतामूलक समाज आउला ?

चीनमा पो आयो कि? भाषा बुझिँदैन । ताडीको भाउ राति नै आयो, राति नै गयो भनेजस्तो आईवरी गयो पनि कि?

एउटा गाउँमा राति बाह्र बजे ताडीको भाउ ह्वात्तै बढेर आएछ । त्यसै बेला पनि आफ्नो ताडी बेच्न भ्याएछन् एकजना मामाले । अरूले थाहा पाउँदासम्म ताडीको भाउ फेरि रसातलमा !

चीनमा खासै देखिएन । सत्तरी करोडको हाराहारी होला भनिन्छ आजको मितिमा चीनमा महिलाको जनसङ्ख्या । आधुनिक चीनको जग बसेको १९४९ मा । त्यस समययता चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो समिति, ‘पोलिटब्युरो’ मा आजसम्म केवल ६ जना महिला परे रे ! तिनमा पनि तीन जना ठूला नेताका श्रीमती रे ! निवर्तमान पोलिटब्युरोमा ‘सुन चुनलान’ नाम गरेकी एक जना महिला थिइन् रे । हालको समितिमा त उनी पनि छैनन् भन्दा रहेछन् ।

कसो हो कसो हो ।

शिक्षा पनि पाए । संविधान पनि नयाँ नयाँ ल्याए । विभेद सिद्धान्ततः हट्यो भनियो । ‘महिला भनेका बन्दाबन्दै आधीमात्रै बनिभ्याएका पुरुष हुन्’ अथवा ‘महिलाका दाँत नै पुरुषका भन्दा कम हुन्छन्’ भन्ने जस्ता काइते वाणी बोल्ने एरिस्टोटललाई पनि ‘इस्’ भनिसक्यौँ । मान्छे स्वर्गबाट निर्वासित हुनुपरेको ‘इभ’ का कारणले हो, अथवा धरतीमा रोग, व्याधि वा मृत्यु आएको ठिस पेण्डोराले बाक्सा खोलेर हो भन्नेजस्ता शास्त्रका विभेदकारी कथालाई पनि ‘इस’ भनिसक्यौँ ।

सबै सबै गरिसक्यौँ । लेख्यौँ, बोल्यौँ । तर जालो त कायमै छ त, विभेदको ।

त्यसैले, विमर्शको नयाँ कोण जरुरी देखिन्छ ।

कस्तो कोण? कुन कोण?

थाहा छैन ।

मलाई कुनै सभामा गुरु सञ्जीव उप्रेतीले भनेको सम्झना छ— पुरुष शरीरमा महिला शरीरको तुलनामा कतिपय सहजता छन् । हामीले प्रकृतिले दिएको त्यस सहजतालाई दमनको हतियार बनाउनु हुँदैन तर बनायौँ ।

गाँठी कुरो यो हो ।

यसले तर्कका अनेक ढोका खोल्छ ।

— पुरुषले आफू पुरुष हुनुमा आफैँ कुनै योगदान गरेको हुँदैन । उसले नाक फुलाउनु जरुरी छैन । अँ, पुरुषको रूपमा कार्यव्यापार गर्न भने उसले समाजका सङ्कथनहरूबाट सिक्छ । तिनमा समस्या भए, उसमा पनि समस्या आउँछ । छैन भने नआउन पनि सक्छ ।

— महिला महिला हुनुमा उनको कुनै भूमिका हुँदैन । उनीहरूले महिला हुनुमा अभिमान गर्नु अथवा लघुताभास अनुभव गर्नुको कुनै तुक छैन ।

— पुरुषमा भएका प्रकृतिप्रदत्त स्वभाव (इन्सटिङ्क्ट)हरू विभेदका लागि बनेका होइनन् । प्रकृतिको विधानमा तिनको अर्कै प्रयोजन छ ।

— महिलामा भएका प्रकृतिप्रदत्त स्वभावहरू पनि विभेद गर्नका वा दमित हुनका लागि बनेका होइनन् । प्रकृतिको विधानमा तिनको अर्कै प्रयोजन छ ।

मान्छेलाई मान्छेका रूपमा हेर्नै सिकिएन । समस्या यहाँनेर छ ।

मुलायम सिंह यादवले एकचोटि भनेका थिए रे— ‘लडके हैं । लडकों से अक्सर गलतियाँ हो जाती है ।’

त्यो भनाइ, वर्षौंसम्म उनको गलपासो भयो ।

अब त उनी पनि बितिसके । जाँदाजाँदै पनि पछुतो भयो होला !

विद्वान् वा ठूलाबडाले बलात्कारको अनुमतिपत्र बाँड्दै हिँड्ने हो यसरी ? यो सोचको स्रोत के हो ?

लेखकहरूले लैङ्गिक सम्बन्धहरूलाई विविध कोणबाट नहेरेका पनि होइनन् । तर कुरो दिमागको बाहिरी सहतमा ठोक्किएर कता पुग्छ कता । यो पहिलो कुरो । दोस्रो, मान्छेको कमजोरी भनौँ — जुन तर्कले आफूलाई अलिकति भए पनि फाइदामा पार्छ, मान्छे त्यस तर्कमा टाँसिएर बस्न खोज्छ । बाहिर जेजे भने पनि भित्री मनले मान्छे सजिलो खोज्छ ।

पुरुष शरीरको संरचनाले केके सजिलो पा-यो? पुरुष त्यसैमा टाँसियो । त्यसरी टाँसिँदा कसकसलाई अप्ठ्यारो पा-यो त्यसको हेक्का राखेन सायद । महिलाको कुरा पनि उही उही — सजिलोको प्रश्नमा ।

सजिलो खोज्ने पुरुषको चपेटामा महिला बढी परे । धेरैले दुःख पाए । कारण, प्रकृतिप्रदत्त संरचनामै पनि महिलाको शरीरमा केही अनिवार्य जटिलता हुन्छन् । त्यसलाई ‘कमजोरी’ को रूपमा अपव्याख्या गरियो । हो, विचारको यस्तो दुष्टता लैङ्गिक विभेदको मूल कारण हुनुपर्छ ।

त्यस दुष्टतामाथि हामीले प्रश्न गरेकै छैनौँ सायद । सत्तोसरापतिरै बढी लागियो । ठोक्वा ।

ठोक्वै गर्दिने?

हाम्रो देशमा, समाचारमा ‘प्रधानमन्त्रीले….ठोक्वा गर्नुभएको छ…’ भन्ने चलन छ । पत्रकारिताको भाषामा के कसो हुँदा ‘ठोक्वा’ हुन्छ थाहा छैन । कुनै बेला बनाएको सूचना विभागको कार्ड नवीकरण नै गरिएन । कारण बुझिहाल्नुभयो होला ।

कुरा लेखनको ।

समताको पक्षमा र विभेदको विपक्षमा लेखिनु त नयाँ कुरो भएन । मेरी विल्सेनक्राफ्टकै बेलादेखिको अभियान हो ।

यो शृङ्खलाको चर्चा नगरौँ । नेपालमा अझै पनि नारीवादमा मेरी विल्सेनक्राफ्टकै सास भेटिन्छ । एक शताब्दीमा पनि कुरो खासै अगाडि बढेको छैन ।
यसो भन्नुको जोखिम थाहा हुँदाहुँदै भनेको हुँ ।

नारीवादलाई बौद्धिक स्तरमा निकै, निकै नै अगाडि बढाएको चैँ आह्वान समूहले हो । यस समूहका काम, विमर्श र प्रकाशनमा नवीन दृष्टि छ । यस अभियानकी नेतृत्वकर्ता डा. अर्चना थापाले सम्पादन गरेका कतिपय कृतिमा महिला हुनुको विशिष्ट अनुभव सँगालिएका छन् । तिनले शरीरलाई हेर्ने नयाँ कोणहरू पस्केका छन् ।

अरू समूह अझै पनि मेरी विल्सेनक्राफ्टमै छन् । तिनका एजेण्डा अलि पुराना लाग्न थालेका छन् । भनिसकिएको, बुझिसकिएको, मानिसकिएको कुरो नै भनिरहन्छन् । अलि रेडिमेड टाइपका कुरा ।

त्यहाँ विमर्श अगाडि बढिरहेको देख्दिनँ । कतिपय वक्ताको त ठेक्का नै भएको छ — ‘अन्य विषय अरूले बोल्ने, नारीवादी कोण मैले बोल्ने’ टाइपको ।

यसले खुम्च्याउँछ नि बौद्धिकहरूलाई ? सधैँ प्रेडिक्टिबल हुनु पनि समस्या हो । नारीवादमा पनि उही पुरानै डम्फुले त काम नगरेकै हो नि !

समाज जहाँ छ, बौद्धिकहरूले विमर्शलाई त्यहाँभन्दा एक तह माथि र एक कदम अगाडि त लानैपर्ने हो नि, होइन र ?

गति कहाँ कहाँ अल्झियो । राहु ग्रहसित पो भयौँ कि?

लेख्नकै लागि पनि — शरीरमा, हो, यहाँ (यहीँनिर) भएको कुरा लेख्न त धेरै सोच्नै परेन । तर, आँट चैँ गर्नुपर्छ है ! बोल्न पनि । आँटलाई सलाम तर कसिएको मुठ्ठीलाई सलाम भनिहाल्न अलि सकिँदैन । महिला–पुरुष दुवैले आफैँमा टाँसिएका कुरा लेखिरहँदा त्यसमा नयाँ वा विशिष्ट के आयो — त्यो प्रश्न राख्ने अधिकार राख्छन् पाठकले ।

टाढाटाढा र माथिमाथिको लेख्न पो जोतिनुप-यो र अध्ययन र चिन्तनमा दिनरात? यहीँ भएको, सजिलो कुरो लेख्यो, सक्यो । बढी दुःख कसले पो गरोस् !

महिलालाई नारीवादी हुन र पुरुषलाई पुरुषवादी हुन निकै सजिलो छ । आधार खोज्नै पर्दैन । रेडिमेड छ । यहीँ छ, शरीरमै । दायाँबायाँ मारो गोली ।

यो पनि एउटा कोण हुन पुग्छ ।

तर कोण अर्को पनि हुन सक्छ ।

चर्चा केको भने, विभेदकारी पुरुष र दमित नारी — यो द्विचरबाट दिक्क भएका लेखकले सीमाभन्दा निकै पर र माथि पुगेर सोचे । असम्भव पनि सोचे । आदर्श पनि सोचे । हावा पनि सोचे । तर, तिनको अन्तर्यमा एउटा मनोविज्ञान छ । सो के भने, मौजूदा व्यवस्था विभेदकारी छ भने त्यसलाई ढाल्ने तीन तरिका हुन्छन् — व्यवस्था परिवर्तन गर्नु, निषेध गर्नु, वा विनिर्माण गर्नु ।

परिवर्तन निकै कठिन भएको छ । कारण गरिबी वा अशिक्षा पनि हो जस्तो देखिएन । कारण ‘यहीँ मज्जा आइराछ, फाइदा भइराछ’ भन्ने काइते धारणा हो जस्तो देखियो । यानि आफ्नो शरीरले दिएको ‘कम्फोर्ट जोन’ मा बसिरहने, कुम कन्याइरहने । मज्जा लिइरहने ।

अर्काको कुम कन्याइदिनुप-यो भने कि झ्याउ लाग्ने, कि पातो दुख्ने !

नढाँटी भन्दा आफ्नै कुम कन्याउँदा जत्तिको मज्जा अर्काको कुम कन्याइदिँदा आउँछ त? लु न, बाज्जी थापौँ ।

लैङ्गिक विभेदको निर्मूलीकरणका लागि ‘विनिर्माण’ एउटा पद्धति हुन सक्छ भन्ने कुरो जुडिथ बट्लरले भनेकै हुन् ।

हैट्, कस्तो वाक्य फु-यो फु-यो, गाजेमाजे !

विनिर्माण भन्नाले मौजूद व्यवस्थालाई भताभुङ्ग पार्दिनु भनेर बुझ्नेहरू पनि भेटिए तर कुरो त्यसो पनि होइन । कुरो के भने, विभेदलाई जुन जुन विश्वास वा ‘सत्य’ ले जोडेको छ, ती विश्वास वा ‘सत्य’लाई रणनीति हुन्, अथवा असत्य हुन्, अथवा विभेद गरिरहनका लागि निर्माण गरिएका हतकण्डा हुन् भन्ने धारणाका साथ तिनको असत्यतालाई सहतमा ल्याइदिनु । फुस्काइदिनु । खोल्दिनु । तिनको असत्यता प्रमाणित गर्दिनु ।

वाह, यह हुई न बात !

तर यो जटिल भइदियो ।

अर्को कुरो — निषेधको ।

हुन त न पुरुषले महिलालाई निषेध गरेर जीवनचक्र चल्छ, न महिलाले पुरुषलाई । तर, आन्दोलनको एउटा अस्त्रको रूपमा त्यस प्रकारको लेखन पनि गरे लेखकहरूले । नगरेका होइनन् । तर, त्यसलाई, ‘इस्, यस्तो पनि हुन्छ र?’ भन्नुभन्दा एउटा विद्रोहको रूपमा लिनुपर्छ भन्ने लाग्छ । हेरौँ न केही सिर्जना, विश्वसाहित्यमाः

— भर्जिनिया वुल्फको ‘ओर्ल्यान्डो’ । एउट थप कुरा — यस उपन्यासमा वुल्फले ओर्ल्यान्डोको शारीरिक सुन्दरताको चर्चा जसरी गरेकी छन्, राम्रो अङ्ग्रेजी सिक्छु भन्नेले त्यसलाई जरुर एकचोटि हेरौँ ।

— एन्जेला कार्टरको ‘द प्यासन आफ न्यु इभ’ । यसको चर्चा अगाडि पनि गरिएको हो ।

— पोल एन्डर्सनको ‘भर्जिन प्लानेट’ । महिला मात्रै भएको ग्रहको कल्पना । आमाजस्तै छोरीहरू, ठ्याक्कै ।

— फिमेल युटोपिया भनेने कतिपय उपन्यासहरू ।

अरू दुई तर्क गरेर बिट मारौँ ।

१. प्रकृति पनि पीडित, महिला पनि पीडित । पीडक चैँ पुरुष । यो तर्क आयो ‘महिलावादी वातावरणशास्त्री’ हरूको ।

२. प्रकृतिको स्याहार, सुसार, सेवा–सुश्रुसा गर्ने कार्यमा पुरुषभन्दा महिला बढी संवेदनशील हुन्छन् । यस्तो तर्क गरे कतिपय लेखकहरूले ।

तर्क जेजे पो भएका हुन्, मान्छेले लैङ्गिक विभेद हटाउनु छ भने, पुरुषले पुरुषको कम्फोर्ट जोनबाट आफैँ बाहिर निस्कनुपर्छ । शरीरमा प्रकृतिले दिएका सहजताहरूलाई दमनका अस्त्र बनाउनु हुँदैन । महिलामा पनि यही लागु हुन्छ । शरीरमै श्रेष्ठता वा लघुताको कुनै आधार हुँदैन, छैन । शरीर त प्रकृतिले आफ्नै कार्ययोजनाअनुसार बनाएको हो । प्रकृतिको उक्त कार्ययोजनाअनुरूप हामीले आफूलाई सञ्चालन गर्न सिक्ने हो । त्यति हुँदासम्म विभेदको प्रश्नै हुँदैन ।

कहीँ नभएको श्रेष्ठता वा लघुताको व्यापार गरेर हामीले समाजलाई कुरूप बनाएका हौँ । हाम्रा हात हामीले नै मैल्याएका हौँ ।

यसलाई धुने साबुन हामीभित्रै छ ।

अब मयल धुने कि कुम कन्याइरहने ? सोचौँ ।