सम्झौता

हरिशंकर परसाई

बाटोमा दुईवटा साइकल एक आपसमा ठोक्किएमा लाजलाग्दो हुन्छ । र उठेर पहिले झगडा गर्नुपर्छ, त्यसपछि धूलो फाल्नु पर्छ । यो विधिले यति धेरै मान्यता पाएको छ कि तल लड्ने साइकल चालकलाई क्षमाशील सन्त होइन, बुद्धिमान् मानिन्छ ।

एक दिन बीचको बाटोमा दुईवटा साइकल ठोक्किए । जब तिनीहरूका सवारहरू उठे, तिनीहरूले एकअर्कालाई चुनौती दिए, ‘अन्धो होस् कि क्या हो ? देख्दा पनि नदेख्ने ?’

अर्कोले जवाफ दियो, ‘साले गलत तर्फबाट हिँड्छ, उल्टो आँखा देखाउँछ ।’

पहिलोले धेरै गाली गरेको गालीको बदला लियो र चुनौती दियो, ‘मुख सम्हालेर कुरा गर, ऐले टाउको फोरिदिन्छु ।’

अर्कोले टाउको उचाल्दै जवाफ दियो, ‘अरे, तैंले के टाउको फोर्छस्, मैले हात लाएँ भने उल्टै तेरो कनपारो फुट्छ ।’

अनि दुवैजना एकअर्काको टाउको फोर्न तम्सिएकै बेलामा एक्कासि एकजना मानिस उनीहरूको बीचमा आयो र भन्यो, ‘हे भाइ, एउटा कुरा सुन त, त्यसपछि झगडा गर । हेर, तिमी उसको टाउको भाँच्न चाहन्छौ, र तिमी उसको ! अर्थात् दुवैको टाउको फुट्यो भने दुवै सन्तुष्ट हुन पुग्छौ । त्यसोभए दुवैजना गएर त्यो बिजुलीको पोलमा टाउको फोर र झगडा बन्द गर ।’

यो कुराले यस्तो असर गर्‍यो कि भीड हाँस्न थाल्यो र दुवैले हाँसो थाम्न सकेनन् । उनीहरूबीच केही नगर्ने सहमति भयो ।

 

आफ्नो-पराई

‘तपाईं कुन विद्यालयमा शिक्षक हुनुहुन्छ ?’

‘म लोक लोकहितकारी विद्यालयमा छु । किन, केही काम छ ?’

‘हो, मेरो केटालाई स्कूलमा भर्ती गर्नु छ ।’

‘त्यसो भए हाम्रो स्कुलमा नै भर्ना गरिदिनुहोस् ।’

‘पढाइ-सढाइ कस्तो छ ?’

‘एक नम्बर ! धेरै राम्रा शिक्षकहरू छन् । धेरै राम्रो वातावरण छ । धेरै राम्रो स्कुल हो ।’

‘तपाईंको नानी पनि त्यहीँ पढ्छ होला ?’

‘होइन हजुर, मेरो नानी ‘आदर्श विद्यालय’ मा पढ्छ ।’

 

चन्दाको डर

एउटा सानो समितिको बैठक बोलाउने योजना थियो । त्यहाँ एक सज्जन समितिको सदस्य थिए, तर केही काम गर्दैन थिए । गडबडी गर्नका एक नम्बर थिए । उनी खाली ताली चाहन्थिए । तिनले लामो भाषण दिन्थे ।

ती समितिको बैठकमा नआऊन भन्ने धेरैले चाहेका थिए । तर सदस्य भएका कारण निम्तो त पठाउनै पर्थ्यो ।

एकजनाले भने, ‘एउटा उपाय छ । सर्प मर्ने, लौरो पनि नभाँचिने । समितिको बैठकको सूचनामा तल लेखियोस् कि बैठकमा बाढीपीडितका लागि पनि रकम संकलन गरिने छ ।’

नभन्दै ती कञ्जुस, बैठकमा पहिलो पटक अनुपस्थित देखिए ।

 

भान्सा घर र पाइखाना

गरीब केटो । जसरी होस्, हाई स्कूलको परीक्षा पास गरेर ऊ कलेज पढ्न चाहन्छ । आमाबुबा छैनन् । ब्राह्मण हो ।

सहरमा उसलाई सजातका घरमा बस्ने र खाने व्यवस्था भयो । मैले यसमा अलिकति सहयोग गरेको थिएँ । त्यसैले केटो प्रायः मलाई भेट्न आउँछ । ऊ एकदमै सरल, विनम्र र सीधा केटो हो । तीखो बुद्धिको ।

एक दिन मैले सोधेँ, ‘तिम्रो सबै काम राम्रै भयो नि, हैन ? ती सज्जनकामा कुनै समस्या त छैन नि ?’

उसले फिस्स हाँस्दै भन्न थाल्यो, ‘समस्या त छैन तर एउटा कुरा एकदमै अनौठो र रमाइलो छ ।’

‘के कुरा हो त्यस्तो ?’ मैले सोधेँ ।

उसले भन्यो, ‘सबैसँग उनीहरूको चुलोमा बसेर खाना त खान्छु तर घरकी ती वृद्धाले बाहिरको पाइखाना प्रयोग गर्नू भनेकी छन् । घरमा एउटा ठूलो र प्रमुख पाइखाना त छ, घरका मानिसहरू त्यहीँ जान्छन् । अर्को एउटामा नोकरचाकरहरू जान्छन् । उनले मेरा लागि चाहिँ ती दुवै प्रयोग गर्न दिन्नन् । चुलोमा त प्रवेश पाएँ तर पाइखानामा प्रवेश निषेध छ ।

यदि तिम्रो झुटो प्रतिष्ठा खानामा देखाउन सक्दैनौ भने, तिमी मल-मूत्रमा प्रदर्शित गरिरहनेछौ । मेरो भान्साकोठामा कोही उच्च र नीच छैन भने बालुवामा अग्लो बनेर अरूलाई तल्लो बनाउछौ । स्याबास !

दानी

बाढीपीडितका लागि चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगीत समारोह आयोजना गरे । यसैबाट पैसा जम्मा गर्ने योजना बनाइयो । उनीहरू सेठकोमा पुगे । उनीहरूले भने, ‘यतिबेला देशमा संकट छ । लाखौं दाजुभाइ दिदीबहिनीहरू घरबारविहीन छन्, तपाईंले पीडितहरूका लागि खाना र लुगा जुटाउन सहयोग रकम दिनुपर्यो । यो संगीत समारोहमा मनोरञ्जन लिन पनि आउनुपर्छ ।’

उसले भन्यो, ‘भगवानको इच्छामा कसले बाधा पुर्‍याउन सक्छ? जहाँ हरिको इच्छा छ, हामी कसैलाई कसरी मद्दत गर्न सक्छौं? फेरि भाइ, हामी दिनहुँ दुई चार प्रकारको दान दिन्छौं र यतिबेला त व्यापार पनि खासै भइरहेको छैन ।’

एक जना जनसेवकले भने, ‘खाद्यमन्त्री पनि कार्यक्रममा आउँदै हुनुहुन्छ, पैसा उहाँ आफैँले उठाउने हो ।’

सेठजीको अनुहार उज्यालो भयो । उनले भने, ‘हो, गरीबलाई समस्या छ ! के गर्नुपर्छ? हामी जहिले पनि सकेसम्म मद्दत गर्छौं । आखिर हामी पनि देशबासी नै हौं । मन्त्रीज्यू आउनु हुन्छ भने म तिमीलाई खाली हात जान दिन्नँ । म तिमीलाई एक हजार रुपियाँ दिन्छु । मन्त्रीले नै लिने हुन् ? उनैले अपील गर्छन् ? उनको हातैमा दिनुपर्छ, होइन र ?’

उनले भने, ‘हजुर हो, मन्त्रीज्यूले नै पैसा लिनेछन् ।’

सेठजीले भने, ‘हस् हस्, ठिकै छ । म ठीक समयमा आउँछु।’

सेठजी एक हजार रुपैयाँ लिएर कार्यक्रममा पुगे तर संयोगले मन्त्री अलि पहिले उठेर अत्यावश्यक काममा गैसकेका थिए । मन्त्रीले अपील गर्न सकेनन्, चन्दा लिन सकेनन् ।

आयोजकले अपिल गरे । पैसा आउन थाल्यो । सेठजीको नजिक पुगे ।

सेठजीले भने, ‘मलाई मूर्ख बनाउँछौ ! तिमीले नै त भनेका थियौ, मन्त्री आफैंले लैजान्छन्, र मन्त्री त हिँडिसकेछन् ।’

***

हरिशंकर परसाई (२२ अगस्त, १९२४-१० अगस्त, १९९५) हिन्दीका प्रसिद्ध लेखक थिए । उनको जन्म होशंगाबाद, मध्य प्रदेश, भारतमा भएको थियो । व्यंग्य विधालाई विधागत दर्जा दिलाउने उनी पहिलो व्यङ्ग्यकार थिए ।