असफलताको अर्थ अनावश्यक कुरालाई हटाउनु हो- जेके रोलिङ
सबै मान्छेले जन्मजातै केही अद्भुत प्रतिभा लिएर जन्मिएका हुन्छन् । तर हुर्कने क्रममा पारिवारिक, सामाजिक, शैक्षिक, धार्मिक र राजनैतिक पृष्ठभूमिका कारण कयौंले आफ्नो जन्मजात प्रतिभालाई भुल्दै जान्छन् र सामान्य नागरिक भएर बाँच्न बाध्य हुन्छन् । कतै नभएको जात्रा मानव समाजमा !
जे के रोलिङको जन्म ३१ जुलाई १९६५ येट्स इंग्ल्याण्डमा भएको थियो । उनका बुवा विमान इन्जिनियर थिए भने आमा विज्ञान प्राविधिक थिइन् । उनी जन्मेको ठाउँमा एउटा पढन्दास् छिमेकी थिए । उनी बेला बेलामा त्यस छिमेकीको घरमा जाने गर्थिन् र छिमेकीको छोरी एनीसँग मिलेर किताबहरू पढ्ने गर्थिन् । जहाँ उनले चाहेजस्तै प्रशस्तै किताबहरू थिए ।
सानो छँदा रोलिङलाई जनावरहरूबारे लेखिएको लेख रचना असाध्यै पढ्न मन लाग्थ्यो । उनी छानी छानी जनावरहरूबारे लेखिएको किताबहरू पढ्थिन् । यसैको प्रभावले उनले छ वर्षको उमेरमा “रेबिट” शीर्षकमा छोटो कथा लेखेकी थिइन् । कथा पढेपछि उनकी आमा निकै खुसी भएको थिइन् । “कथा धेरै राम्रो छ, अझै पनि यस्तै राम्रो राम्रो कथाहरू लेख्नू । यो कथालाई किताबको रूपमा छापनुपर्छ ल,” रोलिङको प्रशंसा गर्दै आमाले भनेकी थिइन् ।
आमाले दिएको सकारात्मक प्रेरणाले रोलिङ धेरै खुसी भएकी थिइन् । उनलाई सकारात्मक ऊर्जा प्राप्त भएको थियो । परिवारमा उनलाई माया गर्ने भनेकै उनकी आमा थिइन् । आमाले जति माया परिवारमा उनलाई अरु कसैले गर्दैनथ्यो । उनको बुवासँग भने कहिल्यै पनि कुरा मिल्दैनथ्यो । बाबु छोरीबीच खासै राम्रो सम्बन्ध थिएन । परिवारमा सधैं झैंझगडा परिरहन्थ्यो । आमा पहिल्यैदेखि रोगी थिइन् । बुवालाई भने परिवारप्रति खासै प्रेम थिएन ।
पछि स्कुल पढ्ने क्रममा उनले आफ्नो लेखन कला र पठन कार्यलाई भुल्दै जान थालिन् । सन् १९८२ मा अक्स्फोर्ड युनिभर्सिटीमा भर्ना हुनको लागि आवेदन दिएकी थिइन् । तर युनिभर्सिटीले उनको आवेदन अस्वीकार गरिदियो । उनी युनिभर्सिटीमा पढ्नबाट वञ्चित भइन् ।
सन् १९९० मा उच्च शिक्षा हासिल गरेपछि जागिरको सिलसिलामा उनी स्पेन पुगिन् । त्यहाँ उनको भेट एकजना टेलिभिजन पत्रकार जर्ज एरन्टेससँग हुन्छ र छोटो समयमै उनीहरू एकअर्कालाई प्रेम गर्न थाल्छन् । सन् १९९२ मा उनीहरूको विवाह भयो । पछि छोरीको जन्म भयो । विवाह भएको तेह्र महिनामै उनीहरूको सम्बन्ध विच्छेद भयो । त्यसपछि उनी साहाराविहीन र एक्ली भइन् । सम्बन्ध विच्छेद हुँदा उनकी छोरी भर्खर एक महिना पुगेकी थिइन् । साथमा उनको जागीर पनि छुटेको थियो ।
उनको वैवाहिक जीवन सधैं दुःखमय रह्यो । उनी सधैँ घरेलु हिंसामा परिरहिन् ।
आमाको भने सन् १९९० मा नै मल्टिपल क्लेरोसिस (शरीरका तन्तुहरू दुख्ने रोग) रोगको कारण मृत्यु भइसकेको थियो । आमाको मृत्युपछि उनले आफूलाई एक्लो र साह्रै कमजोर महसुस गर्न थालेकी थिइन् । किनकि उनको भरोसा भनेकै आमा थिइन् । आमा गुमाउँदाको पीडाले लामो समयसम्म उनी तनावमुक्त हुन सकिनन् । आमाको मृत्युपछि नै उनी जागिरको लागि स्पेन पुगेकी थिइन् । स्पेनको विद्यालयमा उनले अङ्ग्रेजी शिक्षिकाको रूपमा काम गरेकी थिइन् ।
घरबारविहीन र एक्ली भएपछि उनी स्कटल्याण्डमा आफ्नी बहिनीसँग बस्न आइन् । त्यहाँ पनि आफ्नो बहिनीको घरमा बेरोजगार भएर बस्नुपर्दा उनलाई साह्रै दुःख लागेको थियो । बिस्तारै उनी डिप्रेसनको सिकार बन्दै जान थालिन् । धन्न एकल महिला भत्ता चाहिँ पाएकी थिइन् र आफ्नो छोरीको हेरचाहमा केही मद्दत पुगेको थियो । तैपनि उनलाई डिप्रेसनले छोडेको थिएन । सन् १९९५ मा उनले आत्महत्याको बाटोसमेत रोजिसकेकी थिइन् । तर त्यही बेला उनले बाल्यकालमा आफूले कथा लेख्दा आमा खुसी भएको र अझ राम्रो लेख्दै जानुपर्छ, तिमी साह्रै राम्रो कथा लेख्छौ भनी आमाले प्रशंसा गरेको क्षण सम्झिन पुगिन् । अन्ततः आमाले दिएको उक्त प्रेरणाले उनले डिप्रेसनलाई जितिन् । उनी पुनः लेखनमा फर्किइन् ।
ह्यारी पोटरको कल्पना तथा यसको आइडिया भने उनलाई सन् १९९० मा म्येनचेस्टरबाट लन्डन तर्फको चार घण्टे लामो रेल यात्रामा फुरेको थियो । त्यसबेला आफ्नो साथमा लेख्नको लागि कुनै सामान नहुँदा आफ्नो वासस्थानमै पुगेर उनले आफ्नो “ह्यारी पोटर द फिलोसोफर स्टोन” लेख्न थालेकी थिइन् । तर उक्त उपन्यास सन् १९९७ मा मात्रै छापियो । उनको उक्त उपन्यास खासै राम्रो नभएको भन्दै १२ ओटा प्रकाशकले छाप्नको लागि अस्वीकार गरेका थिए । तर अन्ततः ब्लुम्सबरी प्रकाशकले भने उक्त उपन्यास बजारमा ल्यायो । त्यसपछि भने उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
ह्यारी पोटरको पहिलो श्रृङ्खला छापिएपछि क्रमैसँग अरु पाँच ओटा श्रृङ्खला छापिँदै गयो । सन् २००७ मा अन्तिम श्रृंखला ‘deathly hallows’ प्रकाशन भएको थियो । ह्यारी पोटर अन्तिम श्रृंखला प्रकाशन भएपछि भने बेलायतमा २४ घण्टाभित्र २.७ मिलियन बिक्री भएको थियो भने संयुक्त राज्य अमेरिकामा ८.३ मिलियन बिक्री भएर सबैभन्दा छोटो समयमा सबभन्दा धेरै बिक्री हुने पुस्तकको सूचीमा आफ्नो नाम दर्ता गराएको थियो । सन् २००८ मा नै फोर्ब्सले उनलाई विश्वकै सबैभन्दा धनी लेखिका भनी घोषणा गरेको थियो । साथै ह्यारी पोटरको सबै श्रृङ्खलाहरुको फिल्म पनि बनिसकेको छ । उपन्यास जस्तै फिल्म पनि निकै नै चर्चित भएको थियो ।
फेब्रुअरी २०२३ सम्म आइपुग्दा ह्यारी पोटर ६० करोड भन्दा बढी बिक्री भइसकेको तथ्यांकले जनाएको छ भने ८५ भन्दा बढी भाषामा अनुवाद पनि भइसकेको छ । यसरी आत्महत्याबाट बचेर लेखेरै संसारकै सबैभन्दा धनी महिला लेखिका बनिन् । सायद उनको लेखनको प्रसंशा गर्ने आमा हुन्थिनन् भने आज हामीमाझ जेके रोलिङ हुने थिइनन् । ह्यारी पोटर हुने थिएन ।
यो संसार सपना देख्नेहरूको लागि हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।