ग्राण्ड महफिल, सिजन – २ को सातौँ शृङ्खला फाल्गुन २० गते शनिबार हुँदैछ । गजल शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठिक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय नकुल पौडेल, कृष्णप्रसाद अर्याल र हेमन्त हेमलकले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।
गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने कार्यक्रममा शीतल कादम्बिनीको पुस्तक सिन्का पाउँरूमाथि चर्चासमेत हुनेछ । महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ ।
गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, गजलकारत्रय नकुल पौडेल, कृष्णप्रसाद अर्याल र हेमन्त हेमलकसँग गरिएको संवादको सम्पादित अंश;
===
१. ग्राण्ड महफिलमा गजलकारका रूपमा उभिन पाउनु हरेक गजलकारको सपना हुन्छ । तपाईंले चाहिँ यसलाई कसरी हेर्नुभएको छ ?
नकुल पौडेल – सर्वप्रथम त प्रश्नका लागि यहाँलाई आभार । ‘महफिल’ आफैँमा एक ब्राण्ड हो यसमा दुईमत रहेन । तथापि मैले कहिल्यै मञ्चका लागि अथवा कुनै कार्यक्रममा गजल सुनाउनका लागि, अझ भनौं आफूलाई कसैले गजलकार भनिदियोस् भन्नका लागि गजल लेख्ने गरेको छैन । म गजलको हल्लाभन्दा पछाडि बसेर गजलमा साधना गर्न रुचाउने सामान्य गजलसाधक हुँ । मलाई कानले गजल सुन्ने सयौं स्रोताहरुभन्दा मनले गजल सुनिदिने एउटै स्रोता बढी प्रिय लाग्छ ।
हेमन्त हेमलक – सर्वप्रथम त यो अवसरका लागि हजुरलगायत साहित्यपोस्ट टिमलाइ हार्दिक धन्यवाद । साथै, ग्राण्ड महफिलका आदरणीय दाइ बाबु त्रिपाठी र महफिल टिमलाई हार्दिक धन्यवाद । जहाँसम्म प्रश्नको विषय छ, यसमा मेरो विचार के छ भने एउटा कर्म (गजल लेखन) गर्दै जाँदा पाएको अवसर (खुसी) र म (हेमन्त हेमलक) प्रतिको एउटा विश्वास जस्तो लाग्छ । पक्कै पनि देशको राजधानीमा सञ्चालन हुने महफिल (ग्राण्ड) नेपाली गजलको इतिहासमा एउटा ठुलो (महत्त्वपूर्ण) प्लाटफर्म हो । त्यसैले मलाई पनि खुसी लागेको छ । महफिललाई कति न्याय दिन सकिन्छ, त्यो हेर्न बाँकी नै छ ।
कृष्णप्रसाद अर्याल – सपना नै त होइन । मेरा गजलहरू सबैले पढ्ने सुन्ने गरेकै हुनुहुन्छ । आयोजकको नजरमा परेको दिन मेहफिलमा गइएला भन्ने थियो । ढिलो र चाँडोको कुरा मात्रै हो । र त्यो दिन, फागुन २० गते शनिबार निस्कियो ।
===
२. नेपालको परिप्रेक्ष्यमा, तपाईंले बुझेको गजल के हो ? व्यक्तिगत रुपमा, तपाईं चाहिँ गजल किन लेख्नुहुन्छ ?
नकुल पौडेल – म गजलबारे अहिले नै आफ्नो धारणा राख्न सक्ने भइसकेको छैन । तथापी मेरो बुझाइमा – गजल यति नरम हुनुपर्छ कि त्योभन्दा नरम चिज संसारमा अरु हुनुहुँदैन । अब अर्को प्रश्नतर्फ लाग्छु, गजल किन लेख्नुहुन्छ भन्ने यहाँको प्रश्नको चित्त बुझ्दो जवाफ मसँग छैन । गजल लेख्छु भनेर गजल लेख्न सकिन्छ जस्तो मलाई लाग्दैन । मैले आजसम्म कुनै पनि त्यस्तो साहित्यकार भेटेको छैन जो साहित्यकार बन्छु भनेर साहित्यकार बन्नुभएको छ । यसकारण पनि मैले कहिल्यै ‘म किन गजल लेख्छु?’ भन्नेतर्फ फर्किएर हेरेको छैन ।
हेमन्त हेमलक – मेरो बुझाइमा गजल साहित्यको एउटा सुन्दर विधा हो जसको आफ्नो छुट्टै इतिहास, संरचना, महत्त्व र रस छ । व्यक्तिगत रुपमा गजलचाहिँ आत्मसन्तुष्टिका लागि लेख्छु । त्यो भनेको चाहिँ आफ्ना विचार र अनुभूति व्यक्त गर्दा हुने आत्मसन्तुष्टिलाई भन्न खोजेको हुँ ।
कृष्णप्रसाद अर्याल – भाव र कलाको सुन्दर संयोजन गजल हो । कुनै कुरालाई छोटोमा भन्न मन लाग्छ मलाई । त्यसैले म शेर लेख्छु ।
===
३. नेपाली साहित्यको परिप्रेक्ष्यमा गजल विधा सर्वाधिक विवादमा रहँदै आएको छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?
हेमन्त हेमलक – यो प्रश्न महत्वपूर्ण हो तर स्पष्ट लागेन । गजलमा विवाद भन्नाले कस्तो खाले विवाद भन्न खोज्नुभएको हो ? तर जहाँसम्म लाग्छ बहर र गैरबहरबीचकै विवाद भन्न खोज्नुभएको होला । यदि त्यो हो भने यसको कारण एकअर्कालाई स्वीकार गर्न नसक्नु नै मुख्य कारण हो । बहर र गैरबहर जुन संरचनामा गजल लेखे पनि गजलको भाव, स्तरीयता र बौद्धिकताको पक्षलाइ मूल्यांकन गर्नुपर्छ । अनि विवाद आफैँ दूर हुन्छ ।
कृष्णप्रसाद अर्याल – गजल सिकारुका लागि सहज र सिकिसकेका मान्छेका लागि अफ्ठेरो विषय हो । गजल सिकेर जसले गजलमा वाद गर्न सक्दैन, ऊसँग विवाद नगर्नुको विकल्प हुँदैन ।
===
४. महफिलजस्ता ठुला मञ्चहरुमा सुनिने गजकारहरुलाई आरोप लाग्छ – उही गजल जहीँ पनि सुनाउँछन् । ग्राण्ड महफिलमा नयाँ गजलहरु सुनाउँदै हुनुहुन्छ कि अन्य मञ्चहरुमा सुनाइसकिएका उही पुरानै ?
नकुल पौडेल – दर्शकस्रोताको अपेक्षा अनुसारको प्रस्तुति दिनु नै हरेक कलाकारको धर्म हो । गजलकारले पनि आफ्नो धर्म निभाउनै पर्छ । तथापी एकपटक सुनाइएका रचनाहरु पुरानो हुन्छन् भन्ने कुरामा मेरो चाहिँ विमति छ । रचनाहरु कहिल्यै पुरानो हुँदैनन् । म भने यसपटकको महफिलमा सकेसम्म नयाँ र फरक स्वादका गजलहरु सुनाउने तयारीमा छु ।
हेमन्त हेमलक – हाहाहा । भनिन्छ, रचना पुरानो हुँदैन । यद्यपि, सकेसम्म नयाँ लेख्नु राम्रो पक्ष हो । ग्राण्ड महफिलमा केही नयाँ केही पुरा गजल सुनाउने कोसिस गर्नेछु ।
कृष्णप्रसाद अर्याल – वैष्णवको घरमा साँझमा उब्रिएको खाना त हैन गजल, भोलि बासी हुने , पर्सि गन्ध आइहाल्ने । रचना नयाँ पुरानो हुँदैन , केवल रचना हुन्छ । मञ्चअनुसार श्रोता फरक हुन्छन् । श्रोताको मनोविज्ञान अनुसार गजल सुनाउन मन पराउँछु म ।
अँ, नयाँ गजल छन् मसँग । तर सबै नयाँ सुनाउन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।