गोष्ठी ठूलै थियो, भलै मान्छे सोह्रजना जति मात्रै थिए ! खाजामा चिया–बिस्कुट । सुगर वालालाई काल !
सोह्रै जना भए पनि अगाडि माइक चैँ थियो । सभामा राम्रो देखाउँछ माइकले ।
एकजना वक्ताले भन्नुभो, ‘मौलिक ? केको मौलिक ? मौलिक केही पनि हुँदैन । हामीले लेख्ने भाषा सबै यताउतिबाट टिपेको होइन ? अनि त्यही भाषाले बोकेको होइन अर्थ ?’
झट्ट सुन्दा त कुरो हो !
भन्न त भनेकै हुन् जान्नेसुन्नेले — आदमको भाषामात्रै मौलिक । अरू सबै सिको ।
यता हेर्दा ब्रह्माको मौलिक होला । अरू सबैको सिको ।
यसरी त, बाँसुरीको सबै धून यही हावाबाट टिपेको होइन ?
हावा मौलिक ? होइन के कुरा गरेको ?
गाएको गीत पनि उही हावा त होला कति जनाले फेरिसकेको । उसो भए, मैले फेरेको सास पनि उधारो ।
हामीले मनमनै तर्क गर्यौँ— ‘विचारको कुरामा त हुन्छ नि त मौलिकता !’ भन्न चैँ भनेनौँ ।
अँ, विचारको तहमा मौलिकता — यो पनि जटिल कुरो भयो । विचार–समूहबाटै हो मौलिकताको सबैभन्दा बढी हत्या हुँदै आएको जगत्मा । नून बारिहालौँ केही दिन ! सिधेनुन खाँदा हुन्छ पनि भन्छन् । बाटो चैँ निकालिहाल्ने क्या ! नेपालीले पायो भने त…गर्छ पो त !
प्लेटो भएका भए पनि भन्थे होलान्— केको मौलिकता ? सब कपी हो, कपी । नक्कल क्या ! असली कुरो चाहिँ श्रृष्टिकर्ताको दिमागमा हुन्छ । उनले जे बनाए, त्यो असली कुराको प्रतिच्छाया बनाए ।
त्यसो हो भने, जगत् पनि कपी हो । सत्य चाहिँ त्यही भाव वा विचार हो, जो सृष्टिकर्ताको दिमागमा छ ।
‘ब्रह्म सत्यं जगत् मिथ्या ?’
भो, शास्त्रतिर लागिनँ । आए पो लाग्नु !
र यसलाई मानेर हिँड्न पनि सकिँदैन ।
शब्दै त वाङ्मय वा वाग्धारा — जे भने पनि, त्यहीँबाट टिप्ने त हो नि ! त्यसमा निजी सोच, अनुभव वा अनुभूति, अथवा भाषैको कुरा गर्दा पनि नयाँ समीकरण, नयाँ विन्यास आउँछ । त्यसले सिर्जनामा नवीनता भर्ने हो ।
त्यसैले, बजारमा भनिए जति, वा शास्त्रमा दाबी गरिए जति सबै कुरा मान्नु पनि जरुरी छैन । कतिपय त घातकै हुन्छन्, यद्यपि, आवरणमा ती सही पनि लाग्न सक्छन् ।
वरिपरि उपलब्ध कुरा, विचार, भाषा, शब्द, विम्ब, प्रतीक आदि–इत्यादिलाई प्रयोगमा ल्याइरहँदा एउटा लेखकले सचेत हुनुपर्ने एउटा कुरा छ । नेपालीमा खै के भन्छौँ हामी कुन्नी, तर अङ्ग्रेजीमा हेरोल्ड ब्लुमले त्यसलाई ‘एङ्जाइटी अफ इन्फ्लुएन्स’ भने । भन्दैखेर कति अप्ठ्यारो भनेछन् ! अलि सजिलो भनेका भए हुन्थ्यो नि, ‘सर्वोत्तम लिटो’ भनेजस्तो । यस्तै भन्छन् र कुरो बुझिँदैन । कुरो नबुझेपछि हो रुखले कार्बनडाइअक्साइड दिने !
कुरो सजिलो छ ।
कथातिर लागौँ ।
एकजना मित्र छन् । कवि हुन् । मभन्दा धेरै पाका । मेरो काइते भेजोले उनका कविता त्यति बुझ्दैन ।
भनिरहन्छन्, ‘ममा ईश्वरबल्लभको प्रभाव छ ।’
ईश्वरबल्लभ पनि अलि अलि त पढियो । नबुझे पनि एउटा मज्जा के थियो भने, एउटा मान्छे, अनेक क्षेत्रको विद्वान् — पूर्वीय, पाश्चात्य, संस्कृत, भारतीय, नेपाली दर्शन, संस्कृति र साहित्यको । नबुझिएकै कुरा निचोर्दा पनि केही नयाँ कुरा थाहा हुने ।
यहाँ उदाहरणमा चैँ – विद्वताका अन्य आयाम थाहा लागेन ती कविको ।
केवल एउटा भनाइ थाहा लाग्यो — ईश्वरबल्लभको प्रभाव ।
‘ममा ईश्वरबल्लभको प्रभाव छ’ भनिरहनलाई वा पुष्टि गरिहरनलाई दिनदिन क्लिष्ट हुँदै जानुपर्ने बाध्यता बुझ्न गाह्रो भएन । पाठकले बुझून् वा नबुझून् कुरा । तर ईश्वरबल्लभको प्रभाव सदैव देखिनुपर्यो ।
यो हो हेरोल्ड ब्लुमको गायत्री ।
यही हो ।
यस्तो अन्य प्रसङ्गमा पनि हुन्छ ।
हामी केही समयअगाडि झापा गएका थियौँ । एउटा घरमा बास बसियो । साँझ गफगाफ चल्यो ।
कसैले भन्यो, ‘यी भाइ त गायनमा पोख्त । विशेष हिन्दी गजल गाउँछन् ।’
नजिकै एकजना भाइ थिए । मक्ख परे । (कल्पना गर्नुस्, ल ?)
आतुर भइयो सुन्नलाई ।
भाइले गितार पनि ल्याए । सुरू गरे ।
नाके-नाके स्वरले ‘हो, एक लडकी को देखा तो ऐसा लगा…जैसे….’ होऽऽऽ यो चैँ निकै नै ताने । हामी त झण्डै…
प्रभू, मलाई भेडो बनाऊ !
मुर्छै पर्नुजस्तो । तर पाहुना परियो, सजिलो कहाँ हुनु ?
उनको जस्तो छ त्यस्तै आवाजमा गाएका भए बरु केही हुन्थ्यो कि !
थप गीत गाए । जिउँदो रहनुको सकस जीवनमा पहिलोपल्ट थाहा भयो ।
उदित नारायण र कुमार सानुको सिको गर्ने हुँदा लाइफ ड्यामेज ।
तैपनि मुटुमाथि ढुङ्गा राखेर मैले ‘वान्स मोर’ भनेँ ।
क्षितिजजीले अर्को गीत फर्माइस् गरे ।
जे होस्, भात र बास पचायौँ ।
ज्यान जोगाएर भाग्यौँ ।
अभिघात जारी छ ।
एङ्जाइटी अफ इन्फ्लुएन्स हो वा होइन, दैव जानून् । तर देवनारायण प्रधानले ‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्’ भनेर गाएको गीत धेरैले नारायण गोपालको भनेर सुने । मैले पनि ।
देवनारायण प्रधान कता हराए ?
किन चलेनन् पछि ?
कहाँ पुगे ?
के भयो ?
खोज खबर ?
समयले अर्को नारायण गोपाल होइन, एउटा ओरिजिनल गायक खोजेको थियो कि ?
सुमन कल्याणपुरलाई बिर्संदै लगे । लता मङ्गेश्करलाई शाश्वत सम्झना बनाए । स्वर सुनौँ न — डिट्टो ।
मुकेश लिजेन्ड । नितिन मुकेश — गीतका कीराले मात्रै थाहा पाउने नाम । अँ, ‘हो, नूरी, नूरी, आजा रे ! आजा रे ओ मेरे दिलबर आ जा…’ यो चाहिँ धेरैले गाउँछन् ।
म पनि गाउँछु, पाहुना भगाउनुपर्यो भने ।
कुरा कताको कता पुग्यो, कलकत्ता पुगेर बेपत्ता भयो ।
एङ्जाइटी अफ इन्फ्लुएन्सका अनेक तरिका हुन्छन् । देखिन्छन्— व्यवहारमा । गफगाफमा । लेखनमा ।
गफगाफबाटै सुरू गरौँ ।
‘ओखलढुङ्गा पुगेर आइयो नि सर !’
‘ए, कहिले ?’
‘अस्ति । जे होस् सिद्धिचरणले टेकेको माटो टेकियो । आफूलाई साह्रै मन पर्ने सिद्धिचरण । उनले ‘मेरो प्यारो ओखलढुङ्गा’ लेखेजस्तो मैले पनि ‘मेरो प्यारो पाँडेखोप’ लेख्या छु नि । सरलाई देखाउँछु है कुनै दिन ।’
‘हस्’ त भनेँ । तर मर्न आँटेका कुकुरको अन्तिम ‘क्वाँ’ जस्तो निस्कियो मेरो ‘हस्’ । आफैँले मधुरो सुनेँ । उनले सुने कि सुनेनन् । नसुनेका भए बेस !
कुनै सभामा थियौँ एक दिन ।
मञ्चमा नाम चलेका एकजना लेखक थिए, हाम्रै वयमा । अर्को आसनमा एकजना उदयीमान भाइ थिए । प्रतिभाशाली, तर कता कता बराल्लिएर साहित्य छुट्दै गएको ।
छेवैमा बसेका नाम चलेका लेखकलाई सङ्केत गर्दै भाइले भने, ‘उहाँजस्तो लेखकसँग बस्न पाएर ज्यादै खुसी छु । अँ, उहाँ र म एकै साल जागिरमा छिरेका नि ! एउटै नियुक्ति ।’
माने— हामी बराबर हौँ भन्ने उनको सङ्केत थियो ।
तिनी भाइ, तिनै दाइ, अर्को प्रसङ्गमा फेरि साथै देखिए ।
भाइले भने, ‘अँ, उहाँ र म एक्कै समयमा जागिरमा छिरेका नि !’ एकछिनपछि थपे, ‘हुन त उहाँहरूको नियुक्ति केही कारणले अलिदिन ढिलो भयो । त्यसरी हेर्दा म दाइ ।’
कामले उछिन्न नसकेका ती भाइ कहिले समकक्षी भएको, र कहिले आफू जेठो भएको जिकिर गरेर आफू कम हुइनँ भन्ने दलिल दिइरहे । अचेल पनि यो दलिल दोहोर्याइरहेको सुनिन्छन् कीर्तिपुरतिर । कम होइनन्, त्यो कुरो छँदैछ । तर तिनले आफैँ पटकपटक भन्नु भनेको ‘एङ्जाइटी अफ इन्फ्लुएन्स’ को सुन्दर नमुना हो ।
यो एउटा विशिष्ट मनोवैज्ञानिक अवस्था पनि हो ।
एङ्जाइटी अफ इन्फ्लुएन्सको एउटा कुरूप चरित्र पनि हुन्छ । यसले आफूले आदर्श मानेको लेखकलाई भित्रभित्रै प्रतिस्पर्धी पनि मानिरहेको हुन्छ । ऊसँग नयाँ लेखक भित्रभित्रै द्वन्द्वमा हुन्छ ।
एउटा साथी छ मेरो । ऊजत्तिको म जति कन्दा पनि हुन सक्दिनँ । मनमनमा रिस पनि उठ्छ । डाहा लाग्छ । भन्न पो भन्दिनँ !
साथीले बीमा गर्यो । मैले पनि अर्को हप्ता गरिहालेँ ।
साथीले बच्चालाई पिज्जा खुवाउन लग्यो । मैले भोलिपल्टै ।
साथीले प्रभु बैंकको क्रेडिट कार्ड बनायो । मैले पनि ।
साथीले पासपोर्ट बनायो । मैले पनि ।
शर्त के भने, साथी मभन्दा माथिल्लो दर्जाको छ । मलाई त्यो कुरा थाहा छ । मलाई उसको दर्जामा पुग्नु छ, तर सकेको छैन । म उसको गतिविधिको सिको गर्छु र ऊजस्तो हुने कोसिस गर्छु । तर उसको कौशल र सीपको रहस्य चैँ थाहै पाउँदिनँ ।
लेखनमा यो धेरै ठूलो समस्या हो ।
नपत्याए, बिना औचित्य लामो कपाल पाल्ने, माला लाउने, मूल सडकमै चुरोट उठाउँदै हिँड्ने ‘कवि’ लाई हेर्नू । एलेन गिन्सवर्गको जागित्र बोकेर शिवले सति बोकेजस्तो हिँड्न विवश ती दुःखी आत्मालाई गोरखा दक्षिणबाहु दिऔँ न !
म भारतमा पढ्दा एउटा कोठो भाडामा लिएको थिएँ, कलेजकै छेउ । अर्को कोठो अङ्ग्रेजीकै एकजना शिक्षकको थियो । तर अर्कै कलेजका शिक्षक । उनले अङ्ग्रेजी पढे र कलेजका शिक्षक बने — यो कुरा मेरा लागि तिलस्मीजस्तै थियो । सायद म उनी बन्न चाहन्थेँ ।
अनि म के गर्थेँ ?
उनी बेलाबेला आफ्नो कोठाको टेबलको दिशा परिवर्तन गर्थे । म पनि कोठामा फर्केर त्यसै गर्थेँ । जुन दिन उनी किताब मिलाउँथे, म पनि मिलाउँथेँ । उनले ‘म बिजी छु’ भनेका दिन म पनि अरूलाई ‘म बिजी छु’ भन्दिन्थेँ ।
कपी क्याट । मिमिक म्यान ।
रमाइलो कुरा त के भने, मेरो कोठाको अर्को छेउमा अर्का साथीको कोठो । उनीचाहिँ मैले जसो गरो त्यसै गर्थे ।
हाय रे, मुझे काटो तो खून नहीं !
‘म मिमिक म्यान’ थिएँ । मेरा साथी डबल मिमिक म्यान !
मिमिक म्यान । हो, यसै शीर्षकको एउटा उपन्यास छ भी.एस. नोयपलको । जहाँ इसाबेलाको पात्र राल्फ सिंह, बेलायतमा छ । बेलायतीहरू जसो गर्छन्, उसै गर्छ । जसरी लुगा लाउँछन्, उसरी नै लाउँछ । जसरी बोल्छन्, उसै गरी बोल्छ ।
यसको मनोवैज्ञानिक विश्लेषण पनि गरिएको छ । बिरानो ठाउँमा, बिरानो वातावरणमा घुलमिल हुनलाई त्यहीँको तरिका अपनाउनु, त्यहाँ जम्नका लागि चाहिने एउटा हतियार हो ।
यसो पनि भनियो । भनौँ न ‘सिको’ लाई, हतियार मानियो ।
यसको फ्रयडवादी व्याख्या पनि होला । जे छैन अथवा अप्राप्य छ त्यसैको मोह बढी । ‘ल्याक थ्योरी’ भन्न पनि सकिएला !
केटाकेटी छँदा लुकीलुकी चुरोटका ठुटा सल्काउनेले ‘मःमः’ भनौँ ।
छोरीले आमाको सिको किन गर्छन् ?
‘तादी किनारको गीत’ मा भर्खरकी जुखुरे किशोरी बुल्कीले स्तनमा कपास खाँदेर ठूला बनाई भनेर लेख्दा ‘सम्पादन’ गर्ने दबाव आयो तर टेरिएन ।
सिको गर्दा के भयो त ?
के हुनु ? केही भएन ।
कविता चोरिए । सुन चोरेको हो र ?
अचेल दिनहुँ सुन्छु— फेसबुकमा कविता चोरिए, कविता चोरिए, कविता चोरिए ।
‘यो पैसा भएको टपरो, दोबाटोमा लगेर मन्छाऊ है,’ भनेछन् पन्डितले । मनमनै थपेछन्, ‘अलि मैले देख्ने ठाउँमा ।’
दोबाटोमा कविता राखेपछि चोर्दैनन् त ?
तपाईंको जस्तै लेख्न मन छ, तर सकिँदैन । अनि नचोरेर के गर्नु ?
कथा चोरिए । रिडीबाट ल्याएको गुण चोरेको को र ?
भएको केके छ केके ।
केके छ ?
कुनै एउटा भव्य किताबले पुरस्कार पायो, वा लोकप्रिय भयो, मानौँ ।
त्यसपछिको लेखनको लहर त्यतै जान्छ ।
गुडुङगुङ आउँछन् सिर्जना, त्यही लाइनमा ।
यो अनुकरणको उत्कण्ठा हो ।
अनुकरणको उत्कण्ठा, ब्लुमको भनाइअनुसार ६ वटा तहमा देखिन्छन् रे !
१. क्लिनामेनः भनौँ न, व्यासले अलि कुरा बिगारे, अथवा आधामै छोडे । यसो भन्दै, महाभारतका नयाँ नयाँ संस्करण, सिङ वा पुच्छर आइरहेका छन् । व्यासलाई सञ्च्याइन्छ, भनौँ न !
२. टेस्सेरा — पुरानोलाई उल्टिङ–पुल्टिङ । यानि, रावण हिरो, राम भिलेन ।
३. केनोसिस — पुरानै, तर यहाँ यहाँ विमति भन्दै आफूलाई चुँडाउने उपक्रम । भनौँ, रामायणकै कथा, तर रामको नाम वा प्रसङ्गै कतै पनि उल्लेखै नगरी अगाडि बढेजस्तो । नारीवादी हुनुको नाममा भनौँ न ! अथवा युधिष्ठिर बिनाको महाभारत !
४. डेमोनिजेशन — जहाँ सारै उदात्त छ, त्यहीँ घुसपैठ गर्ने ! राम–भरत संवादकै ढाँचामा मानौँ कसैले प्रचण्ड–बाबुराम संवाद ल्यायो । नल्याउला भन्न सकिएला र ? अथवा, अघि माथिको ओखलढुङ्गा ।
५. अस्केसिस — कतै पनि प्रभाव जस्तो नदेखियोस् भनेर देखिने कुरा मेट्टाउँदै जानु र कञ्चन देखिने प्रयास गर्नु । तर पनि, आधारै कुनै अर्को स्रोत भएपछि जति मेटाए पनि छायाँ त देखिन्छ नै ! कि देखिँदैन ?
६. एपोफ्रेडिस — जागित्रको पुनरागमन भनौँ न ! लु, व्यासको र मेरो कथा दाँजेरै हेरौँ न, कहाँ कहाँ फरक छ भनेर खोल्दिने । अझ भनौँ — यी, यहाँ यहाँ सच्याएर राम्रो बनाएर लगेँ भनेजस्तो ।
एकजना साथीले राति २ बजेसम्म कविता सुनाए, मिराबेल रिजोर्टमा । कविता मात्रै सुनाएनन्, एकजना स्थापित कविको खोइरो पनि खन्दै लगे । जति कविता सुन्दै जान्छु, उति तिनै स्थापित कविताको छाया छ । कुरो बुझ्दै जाँदा एकै ठाउँका रहेछन् । ती अर्का कवि स्थापित भएछन् । यी गाविसमै पनि हराएछन् । दुश्मनी खरो रहेछ । हैट् !
सुनेको छु — ‘बीसे नगर्चीको बयानभन्दा धेरै अगाडि मैले त्यस्तै कविता लेखेको हुँ नि ! तर हेर्नुस् त, कसरी मलाई पछि पारियो ?’
यो बिमार हो । उपचार छैन ।
नवराज पराजुली भाइलाई सोध्नू— उनको कवितामा भाषाको प्रयोगमा जुन नवीनता छ नि, हो, उनको सङ्ग्रह आएपछि करिब हजार जनाले त्यसको सिको गरे । तर, ती हजार न बजार पुगे, न कतार ! फरार, फरार भए !
अस्ति रसियन कल्चर सेन्टरमा एकजना भन्दैथे, ‘के लत बस्यो मलाई’ जस्तै लेखूँ भनेको, छेउछेउ त आयो, तर भइसकेको छैन । भएपछि सरलाई देखाउँछु ।
शुभकामना भनेर उम्किएँ । चिया अड्डामा पुगेर एक कप मसला चिया खाएपछि बल्ल सन्चो भयो । म आफैँलाई आरोप छ कथा लेखनमा — ‘मैनालीको बाटो छोडेन यस पुँणेले ।’
थाहा छ । बाटो उही हो । कुरा हाम्रा होलान् भलै ।
क्यार्नु ? क्यार्नु त नि ? कस्तो मुयाँ लाउँच !
अनुकरणको उत्कण्ठाले उम्कनै दिँदैन । उठ्नै दिँदैन ।
मैनालीको आत्मा हामीले घिस्याएको जरुर हो ।
तर, मैनालीको जागित्रलाई धारे हात लाउनेले पनि नयाँ बाटो दिएका भने देखिँदैन ।
जागित्रै ल्याए । त्यो जागित्र मन्छाउनलाई फुर्लुङ बनाउनै सकिएको छैन । घुङ्रिङ–सेउली पाइँदैन । जिउँदो छेपारो चाहियो भन्छन् धामी । कहाँबाट ल्याउनु ?
— जागित्र, मार्खेजको ।
— जागित्र, ओह्रान पामुकको ।
— जागित्र, काफ्काको ।
— जागित्र, ओक्टोभियो पाजको ।
— जागित्र, लु–सुनको ।
— जागित्र, कामु वा सार्त्रको ।
— जागित्र, डिलन टोमसको ।
— जागित्र, हारुकी मुराकामीको । (मरेकै छैनन्, केको जागित्र ?)
— नाटकतिर हेर्छु, कथाबाट पात्र उठेर लेखकलाई र्याखर्याख्ती । पिरान्डेल्लोको जागित्र हो कि होइन ? ‘सिक्स क्यारेक्टर्स इन सर्च अफ एन अथर ।’ अन्ना–क्यारेनिना इफेक्ट भने पनि नमिल्ने चाहिँ होइन । पढ्नुभा छ, थाहै होला !
लेखकको नाम मात्रै नयाँ, तर लेखन पूरै ‘जागित्रहरूको चन्द्रलोक यात्रा’ भइरहेको छ अचेल । उहिले उहिले, केटाकेटी छँदा जुन कविता पढ्यो, त्यसैलाई मात दिने खालको भन्दै लेखिएकै हो । जुन कथा पढ्यो, ‘त्यो भन्दा अलि राम्रो’ भन्दै कागजको नाश गरेको पनि सत्य हो ।
जति ‘एक्सपेरिमेन्टल’ भनिए पनि कसै न कसैको लाशको गन्ध किन आइरहेको छ ?
एउटा बिमार भन्दैछ, ‘अनुकरणको उत्कण्ठा’ ।
मस्तिष्क बढी जोतिएको बुझिन्छ । नयाँ हुने नाममा पुरानो भइरहेको छ लेखन ।
किन कन्नु ? किन चाहिँ कन्नु हामीले ?
हामीले स्वाभाविक सिर्जनाको पक्षमा मतदान गर्नुमा कल्याण देख्छु । निजी मत, यद्यपि ।
स्वाभाविक सिर्जना कुन हो ? त्यसभित्र मौलिकता कसरी पोख्ने ? गाँठी प्रश्न त्यो हो सायद । त्यसो गर्दा अनुकरणको उत्कण्ठाबाट बचिने बढी सम्भावना हुन्छ ।
यो तर्क गरिरहँदा यहाँ विरोध हुने एउटा सम्भावना छ । ‘स्वाभाविक लेखन’ भन्दै सबैले उस्तै उस्तै लेखे भने फेरि सबै उस्तै उस्तै हुँदैन ?
हुँदैन ।
जुन विधा पो होस्, लेखनको एउटा जमिनी स्वभाव पनि हुन्छ ।
गद्यको कुरा गरौँ न । विशेषतः उपन्यासको ।
रुसी उपन्यासकारहरू कथामा भन्दा पनि परिवेशको चित्रणमा बढी ध्यान दिन्थे । साना, साना, साना, साना, साना कुराका लामा न लामा विवरण । लिखा केलाइ भनौँ न । यो रुसी आख्यानको स्वभाव हो । यही कारण हो, कथा सानै भए पनि टोल्स्टोय र दोस्तोव्सकीका उपन्यास भीमकाय भएका । कति हो कति ठूला, लामा ।
जापानीहरू भनेर भन्दा नभनेर बढी भन्नुपर्छ भन्ठान्छन् । त्यो सभ्यता नै नबोल्ने सभ्यता हो । रेलमा मूर्दाशान्ति । सडकमा हजारौँ मान्छे, तर मूर्दाशान्ति । यहाँ होस् त, हामी त पुस्तकालय नै हल्लाइदिन्छौँ गफेर, ‘चित्रबहादुर केसीले अस्ति, झण्डै….’
अझ बङ्गालतिर गइयो भने त मेडिटेशन हलमै भुइँचालो । हाम्रो त तैबरु अथवा भनौँ न ! त्यहाँको आख्यान पनि ‘लाउड’ नै छ ।
भूगोल–भूगोलका, मुलुक–मुलुकका सिर्जनाको ‘स्वाभाविक स्वभाव’ हुन्छ । त्यस स्वाभाविकताको निकट रहेर नयाँपन खोज्ने हो, प्रयोग खोज्ने हो ।
एउटा मुलुक वा क्षेत्रको स्वाभाविकतालाई बुझेर, त्यसै अनुरूप लेख्दा पनि सबै उस्तै हुन्छ भन्ने हुँदैन । उदाहरणका लागि ‘ब्ल्याक राइट्स मुभ्मेन्ट’ का सबै सिर्जना एउटै विश्वासधारमा उभिएका छन् । तर सबै पृथक् छन् । समान स्वाभाविकताभित्र लेखकले नयाँपनको अविष्कार गरेका छन् । त्यस स्वाभाविकताको साझा जगमा उभिएको पाठकले क्रमिक रूपले ट्याक्क ट्याक्क आइरहेको नयाँपनलाई स्वीकारे । अनुमोदन गरे । स्थापित गरिदिए ।
हार्लेममा पनि त्यही भयो १९२० को दशकमा । ध्येय एउटै । सभ्यताको जग एउटै । निजी प्रतिभा फरक । कति फ्रेस लाग्छन् त्यस बेलाका कविता । पढौँ न !
नेपाली कथाको स्वभाव मैनाली, बीपी, भिक्षु वा गोठाले हुँदै क्रमिक रूपमा आइरहेको छ । पाठक वा देश पनि यसै गरी शिक्षित भइरहेको छ । यो मूलबाटोमा हिँड्दै आफ्नो अनुहार खोज्नु कुनै एङ्जाइटी अफ इन्फ्ल्युएन्स होइन । तर आधुनिक वा उत्तरआधुनिक हुने नाममा काफ्काको कीरोलाई ‘उडुस’ बनाएर सुलुबुङको कुनै सेटिङमा देखाउनु एङ्जाइटी अफ इन्फ्ल्युएन्स हो । यो झनै भद्दा प्रकारको सिर्जना हो । भनौँ, सिर्जना नै होइन । मिमिक्री हो ।
तर स्वभाविक लेखनका नाममा क्रमिक रूपले इँटा थप्दै नजानु पनि पछाडि हिँड्नु हो ।
देवकोटाको ‘शाकुन्तल’ कै लाइनमा आइरहेका महाकाव्य दुर्घटित भइरहेका छन् ।
‘शिरीषको फूल’ कै लाइनमा आएका आख्यान हराइरहेका छन् । शिरीषकै फूल पनि अलि अलि जागित्र बोकेर नआएको होइन पश्चिमको । भाषा बेजोड छ । कथामा बहस गरौँला नि !
कामु र काफ्काका जागित्रले हिँड्नै दिन छोडे अचेल । कपीसम्म त ओके छ कि, यहाँ त कपीको कपी, त्यसको पनि कफी, र अझ त्यसको पनि कपी पो आइराछ त !
एङजाइटी अफ इन्फ्ल्युवेन्सले मार्छ मान्छे । नमरौँ है, नमरौँ !
‘आमाको सपना’ वा ‘मैनबत्तीको शिखा’ को लाइनले पनि उम्कन दिएको छैन अझै । उही मैनालीको लाइनले सास फेर्न नदिएको जस्तो हामीलाई ।
केही गर्दा सुख छैन, केही गर्दा सुख छैन ।
गर्नु चैँ के ?
सबभन्दा राम्रो चैँ केही पनि नगर्नु नै हो ! आनन्द… बडो आनन्द !
तर दिमागमा चुर्ना त परेकै छन् । मान्दैन केही नगरी ।
यसो भए यसो गरौँ—
१. स्वाभाविक लेखनको पहिचान गरौँ । यसो गरिरहँदा नेपाली लेखनको ‘स्वभाव’ को मूल कुरो खोजौँ ।
२. पाठकतिर हेरौँ । पाठक एउटा मूल्य विधानमा उभिएको हुन्छ । त्यो पुरानो वा अमानक छ भने त्यसलाई भत्काउनु त पर्छ, र डोजर लाएर होइन । मार्तलले ट्याक्क पारौँ । वा छिनोले अलिकति ताछौँ । खासै थाहा पनि पाएका हुँदैनन् तर परिवर्तन पनि आइरहेको हुन्छ । यो क्रम जोडिँदै जाँदा, कालान्तरमा, साहित्यले नयाँ मोड लिने हो । त्यो स्थापित हुन्छ । स्टन्टजस्तो ह्वात्त आउने, ह्वात्त जाने कुरो स्थापित हुँदैन । भएको पनि छैन ।
यसो गरिएन भने भोलि, ‘ईश्वरबल्लभ मेरो भाइ’ भन्ने स्कुले बालबालिका नभेटिएलान् भन्न सकिन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।