फरोघ फरोख्जाद

एक झ्याल हेर्नको लागि-
एक झ्याल सुन्नको लागि-

अन्त्यहीन कुवा जस्तै एक गोलो झ्याल:
जो पुग्नुपर्छ पृथ्वीको प्रज्ज्वलित अन्तर्भागसम्म।
र, उन्मुक्त हुनुपर्छ-
आफ्नै मन्द, र सौम्य हावामा।

एक झ्याल जसले लाद्छ निर्जन, साना हातहरु-
उदार ताराहरुको रात्री गन्धसंगै।
एक झ्याल जसले निम्तो दिन्छ सूर्यलाई-
यौवनको हिम अवकाशमा।

एक झ्याल,
एक झ्याल प्रयाप्त छ मेरो लागि।

म आउँदै छु कठपुतलाहरुको भूमिबाट,
र रङ्गाइएका रुखहरूको छहारी मुनिबाट-
फिक्सन किताबहरूमा छापिएको बगैचाहरुमा।

म आउँदैछु-
रोमाञ्चको बन्जर ऋतुबाट-
र प्रेम लीलाको उसर वर्षहरुबाट-
अबोधताको मरुभूमि गल्लीहरुबाट-
हुलाकी चिठीहरुको जमानाबाट।

मोहित जोशी

म आउँदैछु-
थाकेको कक्षाको अन्तिम तिरको बेन्चहरुबाट।
र, त्यो भ्रामक समयबाट-
जब मैले पाटीमा ‘कङ्क्रिट’को हिज्जे मिलाएर लेखे-
र, त्रसित चराहरू- उड्थे रुखका नाङ्गो हाँगोबाट।

मांसाहारी रुखको जरा मुनिबाट म यता पुगेको छु,
र, मेरो मस्तिष्क अहिले पनि भरिएको छ -शुष्क पुतलीहरुको भयानक रोदनले-
फिका र वृद्ध ग्रन्थहरूको कुपोषित आयतनले।

जब मेरो विश्वासलाई झुन्ड्याएको थियो-
यो शहरको अनैतिक न्यायालयले,
र सडकहरूमा, उनीहरूले काटिरहेका थिए मेरो मशालको टाउको,
जब उनीहरूले पट्टी बाधिरहेको थिए मेरो प्रेमको अबोध आँखाहरूमा,
जब मेरो कापीरहेका सपनाहरुका सबै शिरामा ताजा रगतको ज्वाला फुट्यो,
र जब मेरो जिन्दगी केही पनि थिएन-
केवल एक बुढो घडीको नियमित जप सिवाय,
मैले थाहा पाएँ कि मैले प्रेम गर्नुपर्थ्यो,
आफू पागल हुनेगरी प्रेम गर्नुपर्थ्यो।

एक झ्याल प्रयाप्त छ मेरो लागि।
एक झ्याल प्रकाशको झोक्का, अन्तर्दृष्टि र शान्तिको लागि।

अहिले,
त्यो सानो ओखरको बोट-
जुन तिमीले कुनैबेला चिनेको थियौ-
विशाल, यति विशाल भइसकेको छ,
कि त्यसले वर्णन गर्नसक्छ प्रखालहरुको कथा-
आफ्ना साना पातहरुलाई।

ऐनाहरुबाट सोध त्यो उद्धारकको नाम!

के तिमी देख्दैनौ?
यो कापिरहेको जमीन-
तिम्रो खाली खुट्टा मुनी-
तिमीभन्दा एक्लो छ।

यो बर्बादीको फैसला पुगेको छ भविष्यसूचक, मोहर बन्दी शब्दहरूमा;
र यी संक्रमित बादलहरू र निरन्तर विस्फोटहरु,
सायद,
पलाउँछन् तिनै पवित्र शब्दहरुबाट।

मेरो यार!
नबिर्सनु!
जब तिमी चन्द्रमामा पाइला टेक्ने छौ,
कुद्नु हत्याकाण्डको गते-
पृथ्वीका कलिला फूलहरूको-
त्यसको निराश, कोमल, चाउरिएको अनुहारमा।

सपनाहरु सधैँ झर्छन् आफ्नै सरल उचाइबाट र मर्छन्।
र माटोमा, जहाँ पुरातन मान्यताहरू चुपचाप आराम गर्छन्,
एक सानो विरुवा, चार वटा अति सानो पात सहित,
निरन्तर पलाउँछ।
म यही विरुवा सुँघ्छु।

एक युवतीलाई गाडिएको थियो उसकै आशाको पवित्र शव बाकसमा।
के ऊ मेरो यौवनको अवशेष हो?

एक शालीन भगवान हिँडिरहेको थियो राती-
छतको स्वच्छ हावामा।
के म फेरी चढ्नेछु, फेरी चढ्नेछु-
सिँढीको कौतुहल उकालीमा-
उसको स्वागत गर्न?

मेरो समय सकिएको म महसुस गरिरहेछु।
मेरो हिस्साको पल अतीतमा उम्रिएको म महसुस गरिरहेछु।

म महसुस गरिरहेछु म जहाँ उभिएको छु,
त्यहाँ केवल काल्पनिक शून्यता छ, जसले मेरो कपाललाई टाढा गरिरहेछ-
एक निराश, अजनबी पाहुनाको हातहरूबाट।

बोल मसंग!
र, म इनाम दिनेछु-
ज्वलन्त प्रेमसंग-
एक पूर्ण जीवन।

र, म केही आशा राख्दिन तिमीसंग-
तर त्यसको जन्मको परावर्तन-
तिम्रो आँखाको झलकमा।

मसंग बोल!
के तिमी देख्दैनौ?

मेरो झ्यालको आश्रयमा,
म सूर्यसंग जोडिएको छु।