साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राष्ट्रकवि घिमिरे : गागरमा सागर अटाउन सक्ने साहित्यका सेतु

उमेरले शतक पुगेर दिवङ्गत हुनुभएका राष्ट्रकविज्यू सिर्जनका माध्यमबाट हजारौँ वर्ष बाँच्नुहुनेछ । भावी पिँढीले उहाँको सुकर्मको सुवास लिइरहनेछन् । भाषा, साहित्य, संस्कृति र कलाको पारख गर्नेहरूका लागि उहाँ सधैँ प्रेरणाको स्रोत हुनुहुनेछ ।

Chovar Blues Mobile Size

राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका जाज्वल्यमान नक्षेत्र हुनुहुन्छ । उहाँका रचनाको आस्वादन गर्ने जनमानसले भावनाको अथाह सागर भएको बोध गर्दछन् भने मेरा लागि त प्रेरणाको स्रोत नै । बाल्यकालीन समयदेखि नै उहाँसँगको आत्मिक प्रेम मनले सिर्जनामार्फत भइ नै रह्यो । उहाँ मेरो मानसपटलमा बाल्यकालीन समयदेखि गहिराइमा डुबुल्की मारिरहनुभयो । विद्यालयदेखि महाविद्यालयसम्म अध्ययनको यात्रा गर्दा कहीँ कतै नछोडीकन यात्रामा हिँडाइरहनुभयो । उहाँ नेपाली साहित्याकाशमा ध्रुवताराका रूपमा विराजमान हुनुहुन्छ । नेपाली भाषा र संस्कृतिका पक्षपोषक कविवर घिमिरे राष्ट्रियता, देशप्रेम र जातीय एकताका प्रतिमूर्ति नै बन्नुभएको छ । मानवीय भावनाका गीत र कविता लेखेर सांस्कृतिक एकतामा जोड दिने कविवर स्वच्छन्दतावाद र परिष्कारवादका मध्यविन्दु अर्थात् सेतु नै हुनुहुन्छ ।

“माधव घिमिरे स्वच्छन्दतावाद र परिष्कारवादवादका सेतु हुन्” शिक्षकले भन्ने गर्नुहुन्थ्यो । के होला त्यो भनेको मनमा खुल्दुली लाग्दा लाग्दै स्कुल जीवन सकिएर विश्वविद्यालयको आँगनमा पढ्ने अवसर प्राप्त भयो । उहाँका बारेमा व्यापक पढ्ने मौका महाविद्यालयको यात्रामा निस्केपछि नै मिल्यो । अझ पृथ्वीनारायण क्याम्पस, पोखरामा भएको पुस्तकालपयबाट पुस्तक खोज्दै पढ्ने सत्प्रयास गरियो पनि । पाठ्यक्रममा उल्लेख भएअनुसारका पुस्तक पापिनी आमा, राजेश्वरी, धर्तीमाताजस्ता कृति पढ्दा आँखाको डिलबाट आँसुका थोपा चुहेको पत्तै पाइनँ । कुरा हो स्नातक पढ्दाको । तेस्रो वर्षमा पढ्दा नेपाली समालोचक र समालोचना भन्ने खण्ड पढ्नुपर्थ्यो । त्यहाँ समालोचक वासुदेव त्रिपाठीका बारेमा चर्चा गर्दा कालीगण्डकी कविताको बारेमा गरिएको समालोचना एक उल्लेख्य उदाहरणीय समीक्षाका रूपमा लिइएको कुरा प्राध्यापक गर्नुहुन्थ्यो । तर त्यस समालोचना पढ्ने मौका भने कीर्तिपुरको बसाइमा मात्रै मिल्यो । गहिराइमा डुबेर गरिएको समीक्षा रहेछ, कालीमा डुबेर मणि निकाल्ने गरिएको प्रयत्न । अनि रहेछ गागरमा सागर अटेको ।

माधवप्रसाद घिमिरे

पृ.ना.क्या. पोखरामा स्नातकोत्तर पढ्न छोडेर केन्द्रीय क्याम्पस कीर्तिपुरको यात्रा तय गरियो । “त्यहाँ त पढाउने, पुस्तक लेख्ने, प्रश्न निकाल्ने अनि कापी परीक्षण गर्ने पनि तिनै प्राध्यापकहरू हुन्” भन्ने कथनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नै पढ्ने उत्कट चाहनासहित विशाल मैदानमा प्रवेश गरियो । विश्वविद्यालयको इतिहास रच्ने पनि तिनै मनिषी छहराबाट खसेको झरना जसरी कविता लेख्ने महाकवि हुन्भन्दा गर्वले छाती ढक्क फुल्थ्यो । संयोगले जुराइदियो पनि महान् मन्दिरको आँगनमा लम्पसार परेर गुरुभिक्षा लिन । नाम सुनेका विद्वान्हरूको मुखारविन्दबाट सुनिने आप्तवाक्यले जीवन दर्शनको आभास मिल्ने भयो भनी कक्षाकोठा प्रवेश गरियो । पहिले सुनेका कहिल्यै नदेखिएका दिग्गजहरूबाट उच्च शिक्षा आरम्भ भयो । सुनियो व्याख्यान पनि ।

पुस्तक लेख्ने विद्वान्रले पढाउने रे भन्दा कम्ता खुसी हुन्थेन मन । कस्ता होलान् उनीहरू । उनीहरूको छत्रछायामा बसेर उनीहरूकै मुखारवृन्दाबाट सुललित अनि बौद्धिकताले खारिएका आवाजले पवित्र ग्रन्थको व्याख्यान गरेजस्तो प्रतीत हुने भयो भन्दै लागियो सरस्वती मन्दिर । तीर्थस्थल जानुभन्दा यहाँ बसी पुण्य कमाइने रहेछ भन्ने बोधले मन फुरुङ्ग ।

sagarmani mobile size

कोही साँच्चैका विद्वान् पो हुनुहुँदो रहेछ भने कोही … । मैले आजसम्म पनि वासुदेव त्रिपाठीजस्ता ज्ञानसागर व्यक्ति भेटेको छैन । उहाँका आप्तवाक्यले वेदका ऋचाको झलक दिन्थ्यो । उहाँले राष्ट्रकविका बारेमा बताउँदै गर्दा शरीरबाट काँडा उम्रन्थे । उहाँका कृतिले दिने भाव र लेखनीगत शैलीले म कविताप्रति अझै आकर्षित भएको हुँ भन्दा सम्मानले शिर झुक्थ्यो । यसैले पनि पोखराको सुन्दर नगरी अनि माछापुच्छ्रेको काखमा रहेको पृथ्वीनारायण क्याम्पस छोडी केन्द्रीय क्याम्पस कीर्तिपुरका लागि प्रस्थान गरेको सार्थकता झल्काउँदै थियो ।

कुरा हो वि.सं. २०५९ तिरको । नेपाली केन्द्रीय विभागमा भर्ना भई पढ्न थाल्दा नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यिक कार्यक्रम जाने क्रम बढ्न थाल्यो । पुस्तक विमोचन छ, किताब पनि बाड्छन् रे नि त, सुन्दा आफूलाई पनि जाऊँजाऊँ लाग्ने । साथीहरूसहित कीर्तिपुर यातायात (लाउडा) चढी रत्नपार्क झर्दै त्यही कार्यक्रममा पुगियो । साहित्य प्रेमीहरूको जमघट बाक्लो थियो । मञ्चमा आसीन व्यक्तित्वहरूमा राष्ट्रकवि माधव घिमिरे पनि हुनुहुन्थ्यो । उहाँ त त्यस कार्यक्रमको प्रमुख अतिथि नै । उहाँको वक्तव्यको पालो अन्तिमतिर आउँदो रहेछ । तैपनि धैर्यपूर्वक कार्यक्रमभर बसियो । उहाँलाई प्रत्यक्ष देखिएको पहिलोपटक थियो मेरा लागि । खाजा पनि दिँदा रहेछन् खाइयो पनि । समय धेरै बितिसकेको थियो । बेलुकी पख क्षितिजबाट घामले बिदाइ हात हल्लाउँदै थिए । हतारहतार गर्दै कीर्तिपुर जाने गाडी चढियो । बसमा मानिसहरू कोचाकोच खचाखच थिए । मुस्किलले एक खुट्टाको सहारामा कीर्तिपुरको यात्रा सुरु गरियो ।

बाबुराम लम्साल

ट्याङ्लाफाँटको बसाइ । दिनभरिको क्रियाकलाप बेलुकी नियाल्ने प्रयत्न गरेँ । अन्य दिनभन्दा त्यस दिन पृथक् थियो नै । कहिल्यै नभेटेका, प्रत्यक्ष नदेखेका माधव घिमिर कार्यक्रमका प्रमुख अतिथि । उमेरका कारणले गर्दा होला बोली खासै नबुझिने । सानो कदका तर सर्वदर्शनमा शास्त्री । उहाँका वाक्यहरू लाग्थे कवितावाचन गरे जस्ता । म निकै प्रभावित र लाभान्वित भएँ । मानिस शारीरिक हिसाबले विशाल होइन, ज्ञान चक्षुका दृष्टिले विशाल हुनुपर्छ, त्यो कुरा कविवरको कद अनि कथनले बताइरहन्थ्यो ।

त्यसमा पनि नेपाली केन्द्रीय विभागमा नेपाली साहित्य पढ्ने विद्यार्थीहरूले साहित्य कुञ्जमार्फत कार्यक्रम गर्ने प्रचलन पनि रहेछ ।

विभागका विद्यार्थीहरूले साहित्य कुञ्जका नामबाट विभिन्न साहित्यिक गतिविधिहरू गर्ने र साहित्यकारहरूलाई सम्मान गर्ने कार्यक्रम गर्दथे । यही क्रममा साहित्य कुञ्जमार्फत डा.कृष्णहरि बरालको दुईओटा गीति एल्बम विमोचन गर्ने र १० जना गायककार (सत्य, स्वरूप, सपनाश्री … र सङ्गीतकारहरूलाई सम्मान गर्ने कार्यक्रम राखियो । कार्यक्रमका प्रमुख अतिथि माधव घिमिरे हुनुहन्थ्यो । उहाँसँग प्रत्यक्ष बसेर बातचित गर्ने अवसर त्यहीँ मिल्यो । यो क्षण मेरा लागि गौरवको कुरा थियो । कार्यक्रम अडिटोरियममा भएको थियो । कार्यक्रम निकै सभ्य र भव्य थियो । तर उहाँको स्वास्थ्यमा केही खराबी र स्वर स्पष्ट नबुझिने भइसकेको थियो । कार्यक्रम सकिएर नेपाली विभागमा आएर खाजा खाने, तस्बिर लिने कार्यक्रम रह्यो । त्यस क्रममा उहाँसँग केही तस्बिर लिई सन्ध्याकालीन समय भएकाले बिदावादी भइयो ।

हाँस्दै खेल्दै समय धेरै बितिसकेको थियो । निरन्तर कक्षा जानुपर्ने काम क्रमशः सकिँदै थियो तर एम.ए. को शोधपत्र लेख्ने कार्य भने बाँकी नै थियो । शीर्षक छनोट गरी शोधखोज गर्ने कार्यले निरन्तरता पाउन थाल्यो । यस्तै क्रममा धेरैतिर भौँतारिँदा सोह्रखुट्टेस्थित नेपाली शिक्षा परिषद्सँग मेरो परिचय हुन पुग्यो । मेरो अनुसन्धानको शीर्षक पनि परिषद्की सदस्य सचिव रमा शर्मासँग मिल्दोजुल्दो थियो । उहाँसँगको सामीप्यले शोधकार्यले निरन्तरता पाउन थाल्यो । म पटकपटक नेपाली शिक्षा परिषद्, सोह्रखुट्टे, काठमाडौँ जान थालेँ । त्यहाँको पुस्तकालयबाट मैले धेरै सामग्री प्राप्त गरेँ भने स्वयम् रमा शर्माले आफ्नो निवास डल्लु बोलाएर थप सामग्री उपलब्ध गराइदिनुभएको कुरा हिजो जस्तै लाग्छ । त्यही परिवेशमा नेपाली शिक्षा परिषद् र त्यहाँका पदाधिकारीहरूबिच मेरो निकटता बढ्दै गयो । परिषद्ले आयोजना गरेका हरेक कार्यक्रममा मेरो उपस्थिति हुने गर्थ्यो । कविवर माधव घिमिरे त्यस संस्थाको अध्यक्ष पनि हुनुहुन्थ्यो । प्रा.रमा शर्मासँग मेरो नियमित भेटघाट बढ्दै गयो । परिषद्का कार्यक्रममा नियमित जान थालेँ ।

विशेष गरी राष्ट्रकविसँगको मेरो उठबस त्यही हुन थाल्यो । मलाई साहित्यप्रेमीहरूको जमघटले आकर्षित गर्दै गयो, लगाब बढ्न थाल्यो । त्यहाँ उपस्थित हुने सम्पूर्ण साहित्य अनुरागी कुनै न कुनै विधामा सिद्धहस्त नै थिए भने कोही संस्थाका माध्यमबाट साहित्यसेवा गरिरहेका पनि भेटिन्थे । मेरा लागि ती ऋषिमुनिहरूजस्ता लाग्थे । प्रेरणाका स्रोत पनि । वर्षैपिच्छे भव्यताका साथ भानुजयन्ती, मोतीजयन्ती, लेखनाथ जयन्ती, बालकृष्ण सम जयन्ती, गोपाल पाँडे असीम जयन्ती र पुरस्कार वितरणमा प्रायः म छुट्दिनथेँ । मलाई साहित्य परिषद्बाट निम्तो आइरहन्थ्यो भने संस्थाका कोषाध्यक्ष भीमबहादुर अधिकारी (हाल स्वर्गीय) ले निकै माया पनि गर्नुहुन्थ्यो । कविवरले कार्यक्रमको अध्यक्षता गरिसकेपछि कार्यक्रमले औपचारिकता प्राप्त गर्दै छोटो समयमा समापनको सङ्घारमा कार्यक्रम परिणत हुन्थ्यो । भाषा, साहित्य, कला, संस्कृति भनेपछि हुरुक्क हुनुहुने कविवरले साहित्यिक मन हुनेहरूलाई विशेष चेष्टा दिनुहुन्थ्यो । हिजोजस्तै लाग्ने यस किसिमको गतिविधिले उहाँबाट धेरै कुरा लिन सक्नुपर्थ्यो तर पेटको समस्याले कामको खोजीमा चारैतिर नभौँतारीकन धरै थिएन ।

जागिरको खोजीमा हिँड्दै गर्दा ललितपुर स्थित एक संस्थागत स्कुलमा अध्यापन गर्न पुगेँ तर पनि मैले विद्यालयको कार्यलाई बिट मार्दै नेपाली शिक्षा परिषद्को कार्यक्रममा आइपुग्ने हर प्रयत्न गरिरहन्थेँ । ने.शि.प.को गतिविधिमा विराजमान भएर बस्नुभएका कविवरलाई देखेपछि मेरो दिनभरिको थकाइ मेटिन्थ्यो पनि । प्रायः दुई बजे सुरु हुने कार्यक्रम मेरा लागि उपयुक्त समय लाग्थ्यो र त सहभागी हुन पाइरहन्थेँ । म असार २९ गतेको प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कार वितरण कार्यक्रममा प्रायः उपस्थिति जनाइ नै रहन्थे । त्यहाँ राष्ट्रकवि माधव घिमिरेलगायत राष्ट्राध्यक्षको उपस्थित पनि हुने गर्थ्यो । राज्य सञ्चालकको जिम्मेवारी पाएका व्यक्ति नै त्यस कार्यक्रमका अतिथि बन्थे । यस कार्य पद्धतिले पनि राष्ट्रकविको गरिमा अझै उच्च देखिन्थ्यो । शोभायमान भएर बस्नुभएका राष्ट्रकविको आप्तवाक्यमार्फत कार्यक्रम समापन भई तस्बिर खिच्ने कार्यले प्रश्रय पाउँथ्यो । आज यी कार्यहरू कथाजस्तो लाग्न थालिसकेको छ ।

वि.सं. २०६१ सालमा स्नातकोत्तर सकेर जागिरको खोजीमा लाग्दा न्यु मिलेनियम स्कुल, ललितपुरमा पढाउने अवसर प्राप्त गरेँ । विद्यालयले मनाउने अभिभावक दिवस वा विद्यालयले वार्षिकोत्सव मनाउने क्रममा प्रमुख अतिथि भइदिनुहुन अनुरोध गर्दै राष्ट्रकविको घर लैनचौर जाने सौभाग्य मिल्यो । यो मेरा लागि गर्वको कुरा थियो । विद्यालयको पत्र लिएर उहाँको घरमा गइयो । उहाँसँग भलाकुसारी लामै चत्यो । उहाँले निकै रुचिपूर्वक हाम्रा कुरा सुन्नुभयो । स्वास्थ्यको कारणले उहाँ गरिमामय सभामा उपस्थित हुन नसक्ने बताइसकेपछि बिदावादी भएर पुनः स्कुल फर्कने काम गरियो । उहाँ र उहाँकी धर्मपत्नी महाकाली घिमिरेले हामीलाई कविवरले प्राप्त गर्नुभएको पुरस्कार देखाउन लैजानुभयो । पुरस्कार राख्नका लागि छुट्टै कोठाको व्यवस्था गरिएको थियो । म उहाँले प्राप्त गर्नुभएको हजारौँ सम्मान र पुरस्कार प्राप्त गरेको देखेर आश्चर्य चकित भएँ । मैले पसलहरूमा राखेका चिजबिजभन्दा बढी पुरस्कार र प्रमाणपत्रहरू देखेँ । मानिसको जन्म होस् त यस प्रकारको होस्, मेरो मनले भनिरह्यो । जीवनकालमा नै यति धेरै पुरस्कार पाउने सायद राष्ट्रकवि नै पहिलो हुनुपर्छ, हुनुहुन्छ । साँघुरो भएर पनि पुरस्कारहरू यति व्यवस्थित तरिकाले सजाएर राखिएका थिए, त्यतिको त पुस्तकालयका पुस्तक पनि व्यवस्थित रूपमा राखिएका हुँदैनन् । मानिस छिर्न मुस्किलले मिल्ने तरिकाले र्याकहरूमा पुरस्कार र प्रमाणपत्रहरूले स्थान जमाइरहेका थिए । यस किसिमको दृश्यावलोकनले म निकै प्रभावित भएँ र जुन उद्देश्यले म आएको थिएँ, त्यो भन्दा पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेजस्तो भयो । यसले सरस्वतीका वरद पुत्रसँगको सामीप्यले साक्षात् भगवान्सित भेट भएको प्रतीति भयो । अतः काम पूरा नभए पनि उज्यालो अनुहार लिएर पुनः विद्यालय फर्केँ ।

प्रत्येक वर्ष विद्यालयबाट शैक्षिक भ्रमण (साहित्यसँग सम्बन्धित) लैजाने गरिन्थ्यो । प्रायः गरेर विद्यालयका विद्यार्थीहरूलाई, कीर्तिपुरस्थित ‘केन्द्रीय पुस्तकालय’ शैक्षिक भ्रमणको गन्तव्य हुने गर्थ्यो । मैले यसपटक साहित्यकारको घरमा लगी उनीहरूलाई साहित्यप्रति अभिरुचि जगाउन सकिन्छ कि भनी साहित्यकार नाम विद्यालयका प्राचार्यलाई दिएँ । विद्यालयले केही साहित्यकारको घरमा जान सकिने स्वीकृति दियो । त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर जाने कि भनी उहाँ जन्मेको डिल्लीबजारस्थित घरमा अनुमति लिन गइयो । त्यहाँ उहाँका छोरा पद्मप्रसाद देवकोटाले विद्यार्थी लिएर आउने कुरामा त्यति रुचि देखाउनुभएन र हामीलाई देवकोटा जन्मेको घर देखाएर बिदा गर्नुभयो ।

जमर्को राष्ट्रकवि घर जाने रह्यो । मैले पटकपटक देखेका, सुनेका र कार्यक्रममा हिँड्दा भोगेका माधव घिमिरेको घरमा जाने प्रस्ताव विद्यालय व्यवस्थापन सामु राखेँ । स्वीकृति पनि भयो । अब राष्ट्रकविको घर कसरी जाने । समय कसरी लिने । सारा मानिसहरूले साहित्यिक कार्यक्रम, कृति विमोचनलगायतका राष्ट्रियस्तरका कार्यक्रममा प्रमुख अतिथि भएर जाने मानिसलाई मैले कसरी उहाँबाट समय पाउँछु । उहाँको घरमा फोन गरेँ । पहिलो उहाँलाई भेटेर मात्रै समय लिई विद्यार्थीसहित जाने निधो गरेँ । मैले अब राष्ट्रकविको घर जाने भनी विद्यालय व्यवस्थापनलाई अनुरोध गरेँ । उहाँसँग पहिले पनि गएर भेटेकाले, हार्दिकतापूर्वक स्वागत गर्नुभयो । यसपटकको एक दिने शैक्षिक भ्रमण उहाँको घरमा जाने निधो गरी पुनः कविवरलाई निवेदन गरेँ । उहाँले अलि बुझ्ने थोरै विद्यार्थी लिएर आउने स्वीकृति दिनुभयो । उहाँले हार्दिकतापूर्वक गर्नुभएको सहर्ष स्वीकारले मेरो मन पुलकित भयो र पछिल्लो दिन सम्पर्क गरेर आउने भनी उहाँको घरबाट निस्केँ ।

वि.सं. २०६५ सालको कुरा । राष्ट्रकविलाई नै फोन गरेर भ्रमणका लागि आउने सूचना दिएको थिएँ । राष्ट्रकविको अनुमतिअनुसार विद्यार्थीहरूलाई ललितपुरदेखि लैनचौरको यात्रा गराइयो । मैले विद्यार्थीहरूलाई लैनचौरस्थित बेलायती राजदूतावासको गल्लीमा गाडीभित्रै राखेर कविज्यूको निवास पुगेँ । राष्ट्रकविको घरसम्म गाडी ल्याउन नमिल्ने हुनाले विद्यार्थीहरूलाई भारतीय वा बेलायती दूतावास हुँदै लैजानु पर्ने रहेछ । गाडी बेलायती दूतावासको ठुलो पर्खालनिर रोकेर विद्यार्थीहरूलाई हिँडाउँदै राष्ट्रकविको घरमा ल्याएँ । साथमा विद्यालयका प्राचार्य र सहप्राचार्य पनि हुनुहुन्थ्यो । राष्ट्रकविले हार्दिकताका साथ समय उपलब्ध गराउनुभयो । मैले आफ्ना विद्यार्थी र जाने कर्मचारीहरूको परिचय गराएँ । शिक्षा परिषद्सितको सान्ध्यिता र उहाँसँगको आउजाउले चाँडै उहाँसँग घुलमिल भइयो पनि । धेरै जना भित्र नअटिने भएकाले चौरमा रुखको छियालपारि बसियो  । राष्ट्रकवि पनि सामान्य वत्रमा उपस्थित हुनुभयो । विद्यार्थीसहित घरछेउको चौरमा राष्ट्रकविसहित बसियो । भलाकुसारी भए । विद्यार्थीहरूसितको कुराकानीबाट उहाँ निकै खुसी हुनुभयो । कुरा गराइको लवजले खुसी भई धाप मार्दै स्यावासी दिनुभयो । विद्यार्थीहरूले आपूm खुसी अन्तरङ्ग प्रश्न गर्न थाले । उहाँ विद्यार्थीहरूको प्रश्न सोधाइ र शैलीबाट प्रभावित भई अझै गफिन थाल्नुभयो । कतिपय स्कुलका विद्यार्थीहरू बनावटी प्रश्न सोधेर हैरानै पार्छन् । “तपाईँका विद्यार्थीहरू त साँच्चै मौलिक र स्वाभाविक प्रश्न गर्छन् । म कहाँ आउनेहरू त पहिल्यै स्कुलमा प्रश्न घोकेर र टिपेर आउँछन् । यी बालबालिकाहरू कति ज्ञानी, कति शिष्ट अनि कति अनुशासित एकले प्रश्न गर्दा अर्कोले धैर्यपूर्वक सुन्ने, विद्यार्थीहरू हुने बिरुवाका चिल्ला पात नै रहेछन्” उहाँ भन्दै हुनुहन्थ्यो । विद्यार्थीहरू मख्ख परेर सुनिरहेका थिए, आफ्नो प्रशंसा सुन्दा । मध्य दिन भएकाले हात अनि कापीको पाली लगाएर घामबाट बँच्न बच्चाहरु प्रयत्न गरिरहेका थिए अनि मन्त्रमुग्ध भएर राष्ट्रकविका अमृत वाणी पान गरिरहेका थिए । विद्यार्थीहरूको सवालको उत्तर राष्ट्रकवि दिँदै हुनुहुन्थ्यो । विद्यार्थीहरूको जिज्ञासालाई समन गर्ने प्रयत्न गर्नुभएका राष्ट्रकविले रवीन्द्रनाथ टैगोरका प्रसङ्गहरू पनि उल्लेख गर्दै स्वच्छन्दतावाद र परिष्कारवादको बारेमा विद्यार्थीहरूका कौतुहलतालाई शान्त पार्ने सत्प्रयास गरिरहनुभएको थियो । राष्ट्रकविको मार्मिक र जीवनोपयोगी कुराबाट विद्यार्थीहरू निकै खुसी थिए । भाषा र साहित्यप्रति विद्यार्थीहरूमा केही रुचि भएको आभास पछिल्लो समयमा हुँदै गयो ।

राष्ट्रकवि निकै व्यस्त हुनुहुन्थ्यो । बैठक कक्षमा पर्खिराखेका आगन्तुकहरूलाई समय उपलब्ध गराउन थाल्नुभयो भने हामीहरू उहाँको सहयोगी मार्फत उहाँले प्राप्त गर्नुभएका पुरस्कार र अभिनन्दन राखेको कक्षमा विद्यार्थीहरूलाई पालैपालो गरी लग्यौँ । सयौँको सङ्ख्यामा उहाँले प्राप्त गरेका पुरस्कार र प्रमाणपत्रहरू लहरै राखिएको देखेर छात्रछात्राहरू कानेखुसी गर्दै थिए । छुट्टै कक्षको व्यवस्था गरी व्यवस्थित रूपमा सजाइएका पुरस्कारहरू राखिएको देख्दा मेरो मनले यो पवित्रपुण्य धाममा साक्षात परम भगवान्को भेट भएको आभास गर्यो । यस्तो मौका मिल्यो कि आजसम्म साहित्यिक विद्वान्को घरमा गएर यस्तो पुनित कर्मको फल हेर्न पाएकोमा मन हर्षले पुलकित भएको । बाहिरबाटै हात हल्लाउँदै उहाँबाट बिदा भई त्यहाँबाट पुनः विद्यालय फर्कियो ।

उमेरले शतक पुगेर दिवङ्गत हुनुभएका राष्ट्रकविज्यू सिर्जनका माध्यमबाट हजारौँ वर्ष बाँच्नुहुनेछ । भावी पिँढीले उहाँको सुकर्मको सुवास लिइरहनेछन् । भाषा, साहित्य, संस्कृति र कलाको पारख गर्नेहरूका लागि उहाँ सधैँ प्रेरणाको स्रोत हुनुहुनेछ । स्वर्गीय राष्ट्रकवि माधव घिमिरेज्यूप्रति हार्दिक श्रद्धासुमनसहित इति !

आएर कैल्यै ऋतु सिद्धिँदैन
लाएर माया मुटु रित्तिँदैन
स्वीकार मात्रै गर एकबार
संसार तिम्रै अनि बारबार !
– माधव घिमिरे

प्रतिक्रिया
Loading...