वि.सं. २०३६ सालको सडक कविता क्रान्तिले भेटाइदिएको हो तीर्थ श्रेष्ठसँग, नामले चिने पनि, नामसँग भेटे पनि । सडक कविता क्रान्ति नभएको भए भेट हुँदैनथ्यो र तीर्थसँग ? यो प्रश्नको कुनै अर्थ छैन । तर भेट जुराएको सडक कविता क्रान्तिले हो, यो यथार्थ हो, सत्य घटना ।

काठमाडौंमा उपत्यकाका काठमाडौं, ललितपुर,भक्तपुर र बनेपाका विभिन्न स्थानमा एक महिना सडक कविता क्रान्ति सम्पन्न भएको थियो र लगभग विश्रामको स्थितिमा थियौँ । त्यति नै बेला सडक कविता क्रान्तिका नेता भवानी घिमिरेले भानु जयन्तीमा चुँदी रम्घा सडक कविता क्रान्तिका टोलीलाई नै लैजान निम्तोको चाँजो मिलाए र ठूलै टोली चुँदी रम्घा लागेका थियौँ । रम्घापछि हामी डुम्रे, दुलेगौंडा आदिमा सडक कविता क्रान्ति गर्दै पोखरा पुगेका थियौँ र भेट भएको थियो तीर्थसँग पहिलोपल्ट ।

पहिलो भेटमै हामी छिटै साथी भयौँ । सँगसँगै पोखराका विभिन्न ठाउँमा कविता पढ्यौँ । यसै क्रममा मेरो पेटमा समस्या भयो । मलाई छिनछिनमा शौचालय जानुपर्ने अवस्था भयो । अनि तीर्थले टोलटोलका विभिन्न घरहरुमा लगेर मलाई शौचालयको उपयोग गर्न मद्दत गरे । यसले गर्दा हामी झन् नजिकियौँ ।
मेरो पहिलो पोखरा यात्राको उपलब्धि तीर्थ श्रेष्ठ भए । यद्यपि त्यो भ्रमणमा विजय वजिमय, विश्व शाक्य, प्रकट पगेनी ‘शिव’, नन्दु , उषा भट्टचन पनि परिचित भएका हुन्, सबैसँग आज पर्यन्त मित्रवत् मिठो सम्बन्ध यथावत् छ, विजय वजिमयको देहान्त भएका बाहेक ।

तीर्थ श्रेष्ठका साथमा गोविन्द गिरी प्रेरणा

त्यतिबेला काठमाडौं बाहिरका साहित्यिक केन्द्रहरुमा पोखरा उत्साहित रुपले गतिबिधि गरिरहेको थियो । पोखरामा साहित्यिक गतिविधिका लागि पोयुसाप पोखरेली युवा साँस्कृतिक परिवारको ठूलो भूमिका थियो । नेपालमै पहिलोपल्ट टिकटमा मुक्तक कार्यक्रमको आयोजना गरेर लामो कालखण्डसम्म निरन्तरता यही संस्थाले दिएको थियो र औपचारिक रुपमा पोयुसापको पदमा रहे पनि नरहे पनि पोखरेलीको नाताले त्यो मुक्तक कार्यक्रमको वार्षिक उत्सवमा तीर्थ श्रेष्ठको सहभागिता, सहयोग र संलग्नता एक प्रकारले अनिवार्यजस्तै हुन्थ्यो ।
म पहिलोपल्ट मुक्तक कार्यक्रममा भाग लिन फेरि दोश्रोपल्ट पोखरा पुगेँ । त्यो बेला काठमाडौंबाट तुलसी दिवसको नेतृत्वमा गएको टोलीमा परेको थिएँ । पाल्पाबाट शुभ श्रेष्ठ आएकी थिइन् । मुक्तक कार्यक्रम सकिएपछि रुपा ताल र वेगनाश ताल घुमाउने कार्यक्रमको नेतृत्व तीर्थले गरेका थिए । अनि तीर्थले नै डुङ्गा खियाएका थिए । अनि डुङ्गा डाँडाको नाक पुगेपछि विश्रामका लागि रोकियो । अनि हामी डाँडाको नाक गयौँ, एकातिर रुपाताल, अर्कोतिर वेगनाश ताल । रुपा र वेगनाशको किम्बदन्ती पनि सुनियो । अनि एकाध हामीले त्यहाँको छाप्रोमा उपलब्ध तारेको मसिना माछा र कोदाको झोल हतारहतार उदरस्त गरेका थियौँ, भीडको आँखा छलेर ।

पोखराले साहित्यिक गतिविधि बढाइरहेको बेला यौटा विग्रह देखा पर्यो । खै कुन्नी के सन्तुलन नमिलेर हो पोखराकै साहित्यकार विजय बजिमयसँग तीर्थको दूरी बढ्यो र पोखरेली साहित्यको लागि यो शुभलक्षण थिएन । तर यो अप्रिय अवस्थाको छिनोफानो यौटा प्रिय घटनाले सदाको लागि समाप्त गरिदियो । तीर्थले विजयकी बहिनी मन पराएका रहेछन्, भनौं उनीहरुको प्रेम झाँगिदै रहेछ, त्यसको मूर्तरुप २०३८ सालमा बिहा भएपछि आपसी सम्बन्धको तनाव सदाका लागि समाप्त भयो ।

तीर्थ कविता पढ्न पाल्पा पुगे, विराटनगर पुगे, काठमाडौं पुगे । उनको रचनाकारिता मौलाउँदै गयो, विस्तारित हुँदै गयो । पोयुसापका गतिविधिमा पनि उनको यथेस्ट योगदान हुँदै गयो । विसं २०४० सालमा मैले पोखरालाई ससुराली बनाएपछि मेरो पोखरा गमन बढी हुन थाल्यो । पोखराका साहित्यिक गतिविधिहरुमा मेरो सहभागिता पनि विस्तारित भयो । यो विस्तारित सहभागिताले तीर्थसँगको निकटता त भयो नै, उनका लेखन र साहित्यिक गतिविधिलाई पनि नजिकबाट नियाल्ने संयोग सहज रुपमा जुर्यो ।

पोखरामा २०३८ ताक विन्ध्यवासिनी मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा “खुल्ला आकाश खुल्ला अभिव्यक्ति” नाम दिएर नियमित रुपमा रचना वाचनको सिलसिला सुरु गरिएको थियो । त्यो कार्यक्रममा तीर्थको सकृय संलग्नता थियो र मलाई पनि एक कार्यक्रममा तीर्थले नै निम्तो गरेका थिए र मैले भाग लिने अवसर पाएको थिएँ । त्यो रचना वाचनको लागि यौटा खुल्ला मञ्चको रुपमा चर्चामा रहेको थियो । पोखराका साहित्यकारहरु त त्यसमा भाग लिन्थे नै, बाहिरका साहित्यकार ती अवसरमा पोखरामा भए तिनीहरुलाई पनि निम्ता गरेर बोलाइने गरिन्थ्यो । यो करिब एक वर्ष चल्यो ।

अचानक २०४० सालमा नेपाली साहित्यमा तरलवाद आन्दोलनको घोषणा गरियो । यसमा तीन कविहरु सामेल थिए, फणिन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ । यी तीनको सामुहिक छोटो नाम फविति पनि लेख्न थालियो । यो घोषणापछि म झस्किएँ, फणिन्द्र नेपालले मसँग आयामेली आन्दोलन जस्तै केही नयाँ आन्दोलन गरौँ, तीनजना मिलौँ, एक जना अरु खोजौँ भनेका थिए । मैले त्यसमा खास चासो दिइन । फणिन्द्रले काठमाडौंमा विनय रावललाई राजी गराएछन् र विनय मार्फत् तीर्थलाई राजी गराउन पोखरा पुगेछन् ।

पोखराका चम्किला र चम्किरहेका कवि तीर्थले यो प्रस्ताव स्वीकारेपछि काठमाडौंबाट “तरलवादी आन्दोलन” को घोषणा भयो । त्यसको घोषणापत्र “पूर्वार्ध” पत्रिकामा छापियो । यौटा संयोग मान्नुपर्छ, त्यो “पूर्वार्ध” पत्रिका मसहित संलग्न र पछि भङ्ग भएको युसास अर्थात् युवा साहित्य समाजको मुखपत्रको रुपमा केही अङ्क गोजिकाका रुपमा निस्केपछि बन्द भएको पत्रिका थियो । कामको बाँडफाँडमा युसासका सदस्य अवि राई पत्रिका प्रकाशनका लागि तोकिएका थिए । पत्रिका युसासको मुखपत्र भए पनि उनकै नाममा दर्ता थियो । फणिन्द्रले अविसँग सो पत्रिका लिएर तरलवादको मुखपत्रको रुपमा प्रकाशित गरेका थिए ।

तरलवादको घोषणापछि चर्चा परिचर्चा भो । समर्थन र विरोधमा लेख रचनाहरु विभिन्न पत्रिकाका स्तम्भहरुमा प्रकाशित भए । तरलवादको विडम्बना भन्नुपर्छ, यो नामनै गलत भएको ठहर भएपछि तरलवादलाई “तरलतावाद” नामकरण गरियो । यो वादको मास्टरमाइण्ड फणिन्द्र थिए । नाम जुराउने, तरलवादी त्रय कवि फवितीको जोडजाम गर्ने र यावत् चाँजोपाँजो फणिन्द्रकै थियो । तरलतावादको व्याख्याता उनी एकल थिए । तरलतावाद अभियानमा विनय र तीर्थको रोल साथ समर्थन र ताली बजाउने मात्र थियो । यो स्थिति सहज सुपाच्य थिएन । साहित्य बजारमा “झोल कविता” भनेर व्यङ्ग्य गरिन्थ्यो । काठमाडौंको साहित्यिक बृत्तमा फवितिका कविता “तरल कविता “ भएपछि हाम्रा कविता “ठोस कविता “ हुन् कि “ग्यास कविता” भनेर ठट्टा समेत हुन्थ्यो ।
अन्ततः फणिन्द्रको एकल नेतृत्वले वाक्क भएर तीर्थले तरलतावादी आन्दोलनबाट राजिनामा दिए । उनी त्यस अभियानबाट अलग भए । स्वतन्त्र भए । उनी अलग भएको केहीपछि विनय रावल पनि अलग भए । अनि तरलतावादी आन्दोलन आफैं विघटित अवस्थामा पुग्यो । तरलतावादको चर्चामा वा इतिहासमा चाहिँ तीर्थ पनि सदाका लागि अङ्कित भए ।

राष्ट्रकविका साथमा तीर्थ श्रेष्ठ

पोयुसाले २०५० सालको बैशाखको पहिलो शनिबारदेखि पोखरामा सञ्चालन गरेको मासिक “समता काव्य सन्ध्या” को प्रस्तावक तीर्थ नै थिए । यो कार्यक्रममा कविता वाचन हुन्छ र एक कविलाई “सन्ध्या नायक” को रुपमा विषेश निम्ता गरिन्छ । सन्ध्या नायकले केही कविता र विचार प्रस्तुत गर्दछन् । यो कार्यक्रममा मैले पनि सन्ध्या नायकको रुपमा भाग लिने अवसर पाएको थिएँ र मलाई तीर्थले नै निमन्त्रणा गरेका थिए । यो कार्यक्रम अद्यापि चलिरहेको छ बिचमा अपरिहार्य कारणले तीनवटा कार्यक्रम भने भएन ।

पचासकै दशकमा तीर्थका साथी सोम बज्राचार्यले दान दिएको २ रोपनी जमिनमा पोयुसापले “सिर्जना ग्राम” निर्माण गर्ने परियोजना अघि सारेको थियो । यस परियोजनाका संयोजक तीर्थ नै थिए । एकपल्ट उनले त्यो निर्माणाधिन सिर्जना ग्राममा मलाई लिएर गएका थिए । त्यसमा २ वटा घर बनिसक्दै थियो, माओवादी द्वन्द्वको कारण बिथोलियो । झन् “सिर्जना ग्राम” जाने बाटोमा नै यौटा हत्या भएपछि त्यहाँ जाने आँट कसैले गरेनन् र त्यो योजना अझसम्म बिथोलिएकै छ । तर त्यो सिर्जना ग्रामको अवधारणा सफल भए, नेपालकै यौटा नमूना बन्ने थियो । सराङकोट जाने बाटोमा पर्ने पाखामा त्यो सिर्जना ग्रामबाट पोखराको दृष्यावलोकन गर्दै लेखक कलाकारले सिर्जना गर्ने अवसर पाउने छन् ।

तीर्थ राजनैतिक रुपमा नेपाली काँङ्ग्रेससँग आबद्ध थिए र अहिले पनि छन् । तन्नेरी उमेरदेखि नै उनको त्यो राजनैतिक आस्थामा थिए । वीपीप्रति उनको अगाध श्रद्धा थियो । सान्दाइको उपनामले बोलाइने वीपी भनेपछि यिनी हुरुक्कै हुन्थे । वीपीको निधनको घोषणा गरेको भोलिपल्ट पोखरावाट रात्री बसमा काठमाडौं पुगेका थिए । उनीसँग बिहानै मेरो भेट भएको थियो । “सान्दाइको मृत्युमा म निकै रोएँ गोविन्द । म बाउ मरेको बेलामा पनि रुन्न होला ।“ तीर्थले भनेका यी शब्द मेरा कानमा अझै गुञ्जिएको भान हुन्छ ।

वि.सं. २०४३ सालमा नेपाली काङ्ग्रेसले पञ्चायतको स्थानीय चुनावमा भाग लिएर विद्रोह गर्ने निति लिएको थियो र देशका विभिन्न स्थानमा काँग्रेसका कार्यकर्ताहरुले उम्मेदवारी दिएका थिए । काठमाडौंबाट हरिबोल भट्टराइले प्रधानपञ्चमा जितेका थिए भने पोखराबाट तीर्थ श्रेष्ठले । तर पञ्चायतको कार्यक्रम बहिष्कार गरेर विद्रोह गर्ने काँग्रेसको निर्णयअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएकाहरुलाई अवज्ञा गर्न सर्कुलर भयो । जजसले अवज्ञा गरे तिनलाई सरकारले निलम्बन गर्यो । तीर्थले पारिवारिक दबाबका कारण अवज्ञा गरेनन् र उनको उपप्रधानपञ्च पद जोगियो । तर काँग्रेसको कार्यवाहीमा परे । जसको फलस्वरुप २०४६ सालको परिवर्तनपछि लामै समयसम्म काँग्रेसमा फर्केर पुरानो निष्ठा निरन्तर गर्न उनलाई हम्मेहम्मे पर्यो । नत्र उनी पोखराबाट सांसदको टिकट पाएर मन्त्रीसम्म हुने पृष्ठभूमि बनाएका व्यक्ति थिए । उपप्रधानपञ्चको पदले ती सबलाई स्वाहा पार्यो ।

पोखरामा कपडा ब्यापार गर्ने परिवारका तीर्थ लेखनमा भने निरन्तर नै भए । साहित्यिक गतिविधिमा उनले ब्रेक लाएनन् । राजनीतिमा केही ब्रेक लागे पनि ।

राजा महेन्द्रको पालामा राजा आफैंले कुलपतित्व ग्रहण गरेर स्थापना भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले साहित्य कला र रङ्गमञ्च तीन क्षेत्रलाई नै राष्ट्रको प्रतिनिधित्व गर्थ्यो । तथापि साहित्यले नै प्रमुखता पाउँथ्यो । एकजना कलाकार प्राज्ञ हुन्थे, एकजना नाटक रङ्गमञ्चका प्राज्ञ हुन्थे, बाँकी सबै भाषा साहित्यकै हुने गर्थ्यो । कुलपतिदेखि प्राज्ञहरु सारा साहित्यकारहरुको नै बाहुल्य हुन्थ्यो र बेलाबेलामा कलाको छुट्टै र नाटक तथा रङ्गमञ्चको छुट्टै एकेडेमी हुनुपर्छ भनेर आवाज उठ्ने गरेको थियो ।

देशमा भएको राजनीतिक परिवर्तनले अन्तत्वोगत्वा तीन एकेडेमीको परिकल्पनालाई साकार रुप दियो र पहिलोपल्ट गठित संगीत नाट्य एकेडेमीको सदस्य सचिवमा कवि तीर्थ श्रेष्ठको नियुक्ति भयो । पोखराका दौँतरी सरुभक्तपछि तीर्थले पनि प्राज्ञ पद पाए । उनी सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भए । तर एकेडेमीको सदस्य सचिव पदमा रहँदा उनले गम्भीर अस्वस्थताको सामना गर्नुपर्यो । उपचारार्थ दिल्ली जानु पर्यो । अन्ततः उनलाई पदमा रहिरहन सहज लागेन र राजिनामा दिएर पोखरा फर्किए । उनको स्वास्थ्यमा सुधार भो । लेखनमा पनि निरन्तरता भो र पछिल्लो कृति “धर्सै धर्साका चक्रव्युह” त चर्चाको शिखरमै पुग्यो । वि.सं. २०७६ सालमा प्रकाशित सो कविता कृति मदन पुरस्कारको छनौट सूचिमा समेत पर्यो, यद्यपि पुरस्कृत भने भएन ।

जीवनको उत्तरार्धलाई सामाजिक काममा लगाउने मनसुवासहित अहिले उनको मुख्य समय विन्ध्यवासिनी मन्दिरको सञ्चालन व्यवस्थापनका काममा बित्ने गरेको छ, उनी त्यसैमा बढी रमाएको पनि देखिन्छन् । तर सबभन्दा महत्त्वपूर्ण कुरा उनी कविताको अनन्त प्रेममा छन्, कवितामा निरन्तर छन् ।