साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘बाआमा’को बिक्रीले ‘ऐना’ले दिलाएको ऊर्जा फर्काएको छ – रामलाल जोशी

जब हामी बाआमाको काख छोड्छौ तब श्रीमतीको प्रेमभन्दा ठुलो केही लाग्दैन । जब हामी बाआमा बन्छौं, तब सन्तानभन्दा ठुलो सुख अर्को केही हुँदैन । अनि हाम्रो पहिलो प्राथमिकता सन्तान, दोस्रोमा श्रीमती र तेस्रोमा बाआमा पर्छन् ।

Chovar Blues Mobile Size

कुरो नेपाली साहित्यको सनसनीपूर्ण समाचारबाट सुरु गरौं । प्रकाशकका अनुसार भर्खरै प्रकाशनमा आएको कथाकृति “बाआमा” १० दिनमै १० हजार प्रति बिकिसकेको छ । नेपाली साहित्यको बजार त्यस्तै पनि सानो छ, त्यसमाथि कोरोनासँगै डामाडोल बनेको पुस्तक बजार उठ्न नसकेको जिकिर प्रकाशकहरूले बेलाबेला गरिरहेका हुन्छन् । यस्तो अवस्था कुनै कृति १० हजार प्रति बिक्री हुनु सानो कुरो होइन । उसो त नेपालका प्रकाशन गृहहरू स्टन्टबाजीमा माहिर छन् । पाठकहरू पनि प्रकाशकका स्टन्टबाजी नबुझ्ने छैनन् । तर पनि, प्रकाशकलाई विश्वास गर्ने हो भने बाआमा १० दिनमै १० हजार बिक्नु भनेको सम्बन्धित लेखक र प्रकाशकका लागि मात्र नभएर पूरै नेपाली साहित्यको सफलता हो ।

थोरै पृष्ठभूमिमा जाऔं । “बाआमा”का लेखक रामलाल जोशीसँग मैतीदेवी मन्दिर छेवैको क्याफेमा बसेर स्तम्भकारले २ घण्टा लामो संवाद गरेको ठ्याक्कै १० दिन पुगिसकेको थियो । उक्त संवाद प्रकाशनका लागि तयारी अवस्थामै रहेको समयमा प्रकाशकले १० दिनमै १० हजार प्रति बिक्री भइसकेको घोषणा गरे । र, स्तम्भकारको काम बढ्यो ।

रामलाल जोशीको सम्पर्कसूत्र दूरसंवादयन्त्रमा सुरक्षित थियो । सेड्युलमा बसिसकेको जोशीसँगको संवादलाई एक दिन पछि ठेल्नु बाध्यता बन्यो । सम्पर्क स्थापित गर्नु आवश्यकता बन्यो ।

१० दिनमै १० हजार प्रति बिक्री हुनुको मानक कायम गरेकामा जोशीलाई बधाई दिँदै सोधेँ, “कस्तो महसुस गरिरहनुभएको छ त !”

– साह्रै खुसी लागेको छ । कोरोनाकालपछि नेपाली साहित्यको बजार सुस्ताएको थियो । ‘ऐना’ तीन वर्षको हाराहारीमा करिब ४० हजार प्रति बिक्री भएको थियो । ‘सखी’ भने ४ वर्षको अवधिमा २० हजारमै खुम्चनु पर्यो, विभिन्न कारणले । यसले मलाई भित्र कतै अलिकति डर वा संकोच उत्पन्न गराएको थियो । तर मैले जुन विषयवस्तु उठान गरेको थिएँ, त्यसले गर्दा म ढुक्क थिएँ, पाठकको हातमा परेपछि यो पुस्तकको मैले कुनै प्रचार गर्नु पर्ने छैन । पाठक स्वयंले नै एकले अर्कालाई भनेर ‘बाआमा’लाई सफल कृतिका रुपमा उभ्याउनु हुनेछ ।

sagarmani mobile size

प्रकाशनमा आइसकेपछि जुन माया पाएँ, ‘बाआमा’लाई पाठकहरूले प्रतीक्षाका साथ पढिदिनुभयो । पढिसकेका पाठकले राम्रो प्रतिक्रिया व्यक्त गर्नुभयो । जसले गर्दा पाठकहरूका बीचमा राम्रो प्रचार भयो, र १० दिनमै १० हजार प्रति बिक्री भएको प्रकाशक भूपेन्द्र खडकाजीबाट थाहा पाउँदा म आफैं पनि आश्चर्यचकित भएँ । अब यसले नेपाली साहित्यको बजार पनि उठ्छ, पाठकहरुका पढ्ने रुचि जागेकाले अन्य लेखकहरूलाई पनि राम्रो हुन्छ । र, मेरै लागि पनि ‘बाआमा’ले ‘ऐना’ले जुन ऊर्जा दिएको थियो, त्यो फर्काइदिएको छ । लेखनमा नयाँ ऊर्जा र उत्साह जागेको छ ।

शंका गर्नु मेरो धर्म हो । हो, मैले शंका गरेँ । र, सोधेँ – “१० दिनमै १० हजार बिक्री भएको समाचारलाई साहित्यिक वृत्तले पत्याइरहेको छैन, बरु प्रकाशकको मार्केटिङ फण्डाका रुपमा बुझिरहेको छ । यसमा के भन्नुहुन्छ ?”

– बजारमा अलिअलि त होला । त्यसैले बजारै खाली भएको त अहिले नभनौं । तर जो पसलवालाले एकपटक किताब लगे फेरि माग्न आउनुभनेको त बिकेर आउने होला । म अहिले धनगढी आएको छु । यहाँ पनि पहिलो लट मगाएकाले दोस्रो लट मगाइसक्नुभएको छ । सुदूरपश्चिम क्षेत्रमा २ हजारको हाराहारी पुस्तक बिक्री भइसकेको मैले बुझेको छु ।

अर्को कुरा, यो कुरोको घोषणा प्रकाशकले सार्वजनिक रुपमै गर्नुभएको छ । सार्वजनिक रुपमै भनिसकेपछि लेखकको लेखस्वको कुरा आउँछ । कर तिर्ने कुरा हुन्छ । फेरि नेपाली साहित्यमा काम गर्ने बुकहिलमात्र छैन, यसलाई जज गर्ने अन्य मिडियाहरू पनि छन् । प्रकाशकले झुटा कुरा गरेर लेखक तथा पाठकलाई ठग्न मिल्दैन । त्यसैले “स्टन्ट” हो भन्नेजस्तो मलाई लाग्दैन ।

यो भयाे दूरसंवादयन्त्रमा भएका कुरा । अब भौतिक कुराकानीमा फर्किऔं । त्यहीँ के, मैतीदेवी मन्दिर छेवैकाे क्याफे ।

===

… कफीको अन्तिम घुट्की निलेपछि उनलाई मैले आरोप लगाएँ – सुदूरपश्चिममा साहित्यिक कार्यक्रम गर्दा प्रगतिशील धारका लेखक कविहरूलाई समेट्नु हुन्न । किन ?

कस्तो उल्टो सुरुवात ? पहिलो घुट्की खोइ ? कस्तो नकरात्मक सुरुवात ? संवादकारको सकरात्मकता खोइ ? खोज्दै पर्छ जस्तो छ !  

आरोप लगाउँदा पनि उनी प्रशन्न देखिए, र सुरिलो आवाजमा बोल्न सुरु गरे –

आरोप लाग्ने कुरा हो । आरोपलाई पूर्णत: गलत या असत्य हो भन्न सकिँदैन, केही न केही लागेर भन्नुभएको होला । मेरो पृष्ठभूमि सबैलाई थाहा भइसकेको कुरा हो, विद्यार्थीकालमा लामो समय मैले नेवि संघको राजनीति गरेँ । गगन थापा सँगसँगै मैले पनि काम गरेको हुँ । पछि लेखक संघको उपाध्यक्ष भएर पनि काम गरेँ । त्यसकारणले यो कांग्रेसी हो, यसले कहीँ न कहीँ बायस गर्छ भन्ने पर्यो । यदि मेरो पृष्ठभूमि कसैलाई थाहा नभएको भए सायदै यो कुरा उठ्थ्यो । त्यसैले यो आरोप लाग्नुको पहिलो कारण मैले विगतमा काम गरेको सैद्धान्तिक धरातल हो ।
अर्को, ठूलो महोत्सव तथा साहित्यिक कार्यक्रममा हामीहरू लेखनका फिगरहरू चाहन्छौं । त्यो फिगरको कुरा गर्दा हामी समावेशितामा छुटेका छैनौं, तर देखिनचाहिँ बढी मात्रामा प्रजातान्त्रिक लेखकहरु नै फिगरका रुपमा देखिए । अर्थात् देशमा प्रजातान्त्रिक धारका साहित्यिक फिगरहरू बढी भएकाले पनि तपाईंको आरोपलाई बल पुग्यो ।

अर्कोचाहिँ, हामीले बोलाएका व्यक्तिहरू उपस्थित नभइदिँदा पनि आरोपले थप बल पायो । अनुपस्थित व्यक्तिहरूका बारेमा आममान्छेलाई थाहा भयो । प्रजातान्त्रिक धारका लेखकहरू उपस्थित भएकाले देखिए भने प्रगतिशील धारका लेखकहरू बोलाएर पनि अनुपस्थित भएकाले देखिएनन् । जस्तो, जीवेन्द्रदेव गिरीलाई हामीले दुईपटक हामीले यति धेरै अनुरोध गरेर पनि अन्त्यमा टिकट क्यान्सिल गरेका छौं, जो प्रगतिशीलका अध्यक्ष भइसकेका छन् । सरिता तिवारीले पहिलोपटक विश्व साहित्य महोत्सवमा जाँदा कति राम्रो स्टाटस लेख्नुभयो, तर यो पाला केही कारणले उहाँलाई हामीले बोलाउन सकेनौं र आरोप लगाउनुभयो । तर, समग्रमा कुरा के हो भने, मैले हिजो जुन धरातलमा काम गरे पनि अहिले नैतिकताका धारमा खुलारुपमा भन्दिन्छु – कुनै पनि पक्षपात गर्ने पक्षमा छैन । सबै धारका लेखकहरूलाई सम्मान गर्छु । सबैलाई समेट्नु पर्ने धारणा राख्छु ।

अर्को कुरा पुरस्कारको छ – यहाँ पनि हामीले कुनै धार छुट्याउने गरेका छैनौं, लेखकहरुलाई पुरस्कार दिने गरेका छौं । साहित्य समाज मेरो नेतृत्वमा हुँदाखेरि त्यहाँ पनि प्रगतिशील धारमा साथीहरू हुनुहुन्थ्यो । मैले विगतमा सैद्धान्तिक रुपमा प्रजातान्त्रिक धारमा काम गरे पनि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार हुँदा दुइटा ठूला कार्यक्रम उहाँहरुकै सहयोगमा भए । यसर्थ तपाईंले आरोप लगाएजस्तो मैले कुनै भेदभाव गरेको छैन, तर विविध कारणले, अनुमानका कारणले कुनै व्यक्तिलाई लागेको हुनसक्छ । लाग्नु नै सत्यचाहिँ होइन ।

===

रामलाल जोशी

“ऐना” कथासङ्ग्रहको पहिलो संस्करण बजारमा ल्याउन हतारमा थिए रामलाल जोशी । हतारका दुई कारण थिएँ । पहिलो, छिटोछिटो पुस्तक प्रकाशन गरेर उनलाई जागिरमा फर्किनु थियो । एक महिनाको बिदा लिएर काठमाडौं आएका उनलाई सुदूरपश्चिमले बोलाउन थालिसकेको थियो ।

रामलाल नेपाली भाषाका शिक्षक थिए । धनगढीलाई कर्मभूमि बनाएर विद्यालय र कलेज पढाउँथे । पहिलो कृतिका रुपमा वि.स. २०५७ सालमै “हत्केलामा आकाश” प्रकाशनमा आइसकेको थियाो ।

अँ, उनी हतारमा थिए तर पाठकलाई ऐना देखाउनु थियो । जागिरमा छिटो फर्किनु पर्ने थियो । त्यसैले, उनले प्रकाशन गृहहरू चहार्ने फुर्सदै थिएन । त्यसैले आफैं प्रकाशन गर्ने भए । उनी भन्छन्, “प्रकाशकहरुले मेरो कृति हेरेनन्, चासो देखाएनन् भनेर म कसैलाई पनि दोष दिन चाहन्नँ । किनकि मैले कसैलाई अप्रोच नै गरेको थिएनँ । खालि नाम राख्ने कुरामा चाहिँ एउटा राम्रो प्रकाशन गृहको नाम राख्न पाए हुने भन्ने थियो ।”

अन्तत: हतारकै कारणले “ऐनामा” उनले ब्रदर्श बुक्सको नाम राखे, र आफ्नै लगानीमा पहिलो संस्करण निकाले । र, धनगढी फर्किए जहाँ उनलाई पर्खिएर बसिरहेको थियो जागिर ।

पहिलो संस्करणमा रामलालले १२ सय प्रति पुस्तक छपाएका थिए, जुन १ महिना नपुग्दै बिक्री भयो । दोस्रो संस्करणका लागि पुन: काठमाडौं आए उनी, र प्रकाशकलाई भने, “पहिलो संस्करण सकियो, अब दोस्रो तपाईं नै छाप्नुहोस् न त ।”, तर प्रकाशकले चासो नदेखाएपछि दोस्रो संस्करण पनि रामलालले आफ्नै लगानीमा छापे, २ हजार प्रति । र, पुन: धनगढी फर्किए ।

पुस्तक बैशाख ५ गते राष्ट्रकविबाट विमोचन गराएका थिए । असारमा मदन पुरस्कारको सर्टलिस्ट आयो, जहाँ ऐनाले उपस्थिति जनायो । यता ऐना भने दोस्रो संस्करणमा पाठकका मन–मनको यात्रा गर्दै थियो । सर्टलिस्टमा परिसक्दा दोस्रो संस्करण पनि बजारबाट हराइगयो । तेस्रो संस्करण छाप्नै पर्ने भयो । रामलाल भन्छन्, “ऐना मदन पुरस्कारको सर्टलिस्ट परिसकेपछि मलाई १० वटा पब्लिकेसनले अप्रोच गरे । म धनगढीमै थिएँ । मलाई सबैभन्दा राम्रो प्रकाशक छान्नु थियो । भूपेन्द्रजीसँग कुरा गर्दा सर्तलगायत सबै कुरा ठीक लागेपछि तेस्रो संस्करण बुकहिलबाट आउने भयो ।”

यो त भयो “ऐना”को छोटोमिठो नियात्रा । मदन पुरस्कार पाएको कुरा त भन्नै परेन ।

ऐनाको सफलतासँगै उनले प्राध्यापन छोडे, र लेखना पूर्णरुपमा होमिए । “प्राध्यपन छोडेर पूर्णरुपमा लेखनमा होमिएकामा अहिलेसम्म पछुतो भएको छ कि छैन ?” भन्ने प्रश्नमा उनी भन्छन्, “कहिल्यै लागेन । ०७४ सालमा म धेरैतिर पढाउँथेँ, ७०–८० हजार कमाउँथेँ । लेखनका लागि त्यो सब छोड्नु ठूलो जोखिमचाहिँ थियो । तर मलाई ऐनाबाट आएको रोयल्टी र श्रीमतीको साथले हिम्मत दियो । श्रीमती पनि टिचिङ नै गर्थिन् । छोरोछोरी सानै थिए । उनले भनिन् – ‘बच्चाहरु सानै छन्, खर्च पनि कमै छ । बस्नलाई घर छँदैछ, खानका लागि अन्न गाउँबाट आइहाल्छ । अरु म धानिहाल्छु, तपाईंले हिम्मत गर्नुहोस् दुईचार वर्ष, नभए त्यसपछि अर्को बाटो सोचौंला ।’ र, म सम्पूर्ण रुपमा लेखनमा होमिएँ ।”

तर बुकहिल गएपछि के भयो ?

‘ऐना’को आठौं–नवौं संस्करण आइसकेको कुरा नगरौं । ‘ऐना’पछि उपन्यास ‘सखी’ आएको कुरा पनि पुरानो भइहाल्यो । ‘बाआमा’ दस दिनमै दस हजार प्रति बिक्री भइसकेकाे छ । अब ताजाताजा कथासङ्ग्रह “बाआमा”कै कुरा गरौं ।  त्योभन्दा बढी “बाआमा”का सृष्टिकर्ता रामलाल जोशीका कुरा सुनौं :

===

नेपाली साहित्यबजारको ट्रेन्डअनुसार उपन्यासमा उक्लिएको मान्छे हत्तपत्त कथासङ्ग्रहमा फर्किदैन । तपाईं चाहिँ उपन्यास “सखी”बाट पुन: कथासङ्ग्रहमै फर्किनुभयो । किन ?

मेरो आख्यान क्षेत्रमा लेखनको सुरुवात कथामार्फत भयो । म जे कुराहरु संक्षिप्तमा भन्न, बुझाउन वा प्रकट गर्न सक्छु ती कथाका रुपमा अभिव्यक्त भए । जति कथाहरू मैले भनें, प्रकट गरें, तिनीहरूले समेट्न नसकेका केही विस्तृत कुराहरू मसँग बाँकी थिए, त्यो उपन्यास (सखी) का माध्यमबाट प्रकट भयो । यसर्थ, कथा र उपन्यास दुवै आख्यान विधा हुन् । केही संक्षिप्तमा भन्न सकिने कथा र विस्तृतमा भन्नु पर्ने विषयलाई उपन्यासको माध्यमबाट प्रकट गरौं भन्ने मेरो अभिप्राय हो । त्यसो हुनाले, कथा र उपन्यासलाई म विधागत रुपमा अलग्गै मान्दिनँ । पछिल्लो कथासङ्ग्रह “बाआमा”लाई पनि मैले औपन्यासिक बनाउन खोजेको छु ।

नेपाली साहित्यमा एक उत्कृष्ट कृति दिइसकेका लेखकहरूका त्यसपछिको कृतिले पाठकको अपेक्षाको उचाइ हासिल नगरेको देखिन्छ । तपाईंको उपन्यास “सखी”ले पनि “ऐना” बनाएको उचाइलाई भेटाउन नसकेन । यस्तो कि हुन्छ ?

पाठकले जुन लेखकलाई पहिलोपटक चिन्छन् र ऊबाट नयाँ कुरा प्राप्त गर्छन् । यस्तो अवस्थामा लेखकसँग पाठक मनबाटै गाँसिन पुग्छन्, र आफ्नो मन गाँसिएको लेखकबाट पहिलेभन्दा ज्यादा अपेक्षा गर्छन् । कुनै पनि कुरा एकपटकका लागि मात्र नयाँ हुन्छ, त्यसैले फेरि पनि पाठकहरू आफ्नो प्रिय लेखकमार्फत् नयाँ कुराको अपेक्षा गर्छन् । कहिलेकहीँ के हुन्छ भने, लेखकलाई उही कुरा भन्न बाँकी रहेको हुन्छ । अघिल्लो पुस्तकमा भनेकै कुराहरूमा पनि अन्तरकुन्तरका कुराहरू सुनाउन बाँकी हुन्छ । तर मैले यो कुरा पढिसकेको छु, अब यो लेखकबाट थप नयाँ कुरा चाहन्छु भन्ने पाठकको मत हुन्छ । लेखकलाई पाठकले सिकाइरहेका हुन्छन्, यो मैले पछिल्लोपटक महसुस गरेको कुरा हो । त्यसैले मलाई लाग्छ, लेखकले पाठकहरूबाट सिक्नुपर्ने हुन्छ । पछिल्लो समय हामी लेखकहरू पाठकको अपेक्षाअनुसार आफूलाई प्रस्तुत गर्न सचेत नभएका हौं कि भन्ने लाग्छ ।

मानिसको स्वभाव नै विविधता खोज्ने हो । हामीहरू फूलहरुमा, जीवनमा, यात्रामा, खानामा, यत्रतत्र विविधता खोज्छौं । हामीलाई जसरी एउटै खाना, एउटै दृश्य, एकै प्रकारको दैनिकीले हामीलाई वाक्क बनाउँछ, एउटै कथाले पनि हामीलाई वाक्कदिक्क बनाउँछ । सखीको कुरा गर्दाचाहिँ, ऐनामा मैले प्राय: सुदूरपश्चिमको कथा ल्याएँ जुन नेपाली साहित्यमा छुटिरहेको थियो । पाठकबीच अनकन्टार भूगोल र समाजका रुपमा रहेको थियो सुदूरपश्चिम, त्यसैले पाठकले मेरा कथा मन पराए र मनमा बसाए । ऐनापछि पाठकले मबाट अर्को नयाँ कुरा खोजेका थिए । तर मैले सखीमा त्यही भूगोल ल्याएँ । हुनचाहिँ सखीमा प्रस्तुत थारुका कुराहरू भिन्न थिए, तर ऐनामा थारु परिवेशका केही कथाहरू भने आइसकेका थिए । त्यसो हुँदा पाठकले परिवेशको पुनरावृत्ति भएको आभास गरे । यद्यपि शैली, विषय र प्रस्तुतिमा भने पाठकहरुले केही परिपक्कता र नयाँ कुरा भेट्टाए । पाठकहरूले धेरै गुनासो गरेको मैले महसुस गरिनँ । यसर्थ सखी पाठकले अस्वीकृतै गरेको पुस्तक होइन, तर पाठकको अपेक्षाअनुसार प्रस्तुत हुन नसकेको महसुसचाहिँ मैले पनि गरेको हुँ ।

बेलामैका अन्तर्वार्ताहरूमा लेखक तथा समालोचकहरूले भन्ने गरेको सुनिन्छ – हाम्रा लेखकहरू पढ्दैनन्, त्यसैले पढाकु पाठकहरुको अपेक्षाअनुसार लेख्न सक्दैनन् । यहाँ समग्र देशको पठन संस्कृतिलाई अलग्गै राख्दा, नेपालका लेखकहरूको पठन संस्कृति चाहिँ कस्तो बुझ्नुभएको छ तपाईंले ?

मलाई लाग्छ, लेखकहरुले दुइटा कुरा पढ्न आवश्यक हुन्छ । एउटा, आफ्नो कुरा भन्ने शैली निर्माण, भाषिक दक्षता आदिका लागि । किनकि, लेखनमा सबैभन्दा ठूलो कुरो लेखकको निजत्व हो । जबसम्म पाठकले लेखनमा लेखकको निजत्व पाउँदैनन्, तबसम्म त्यो लेखक भिडबाट अलग्ग छुटिन्न । र, लेखकले आफ्नो निजत्व कायम गर्ने भनेको प्रस्तुतिको शैली, विशेषताले हो । त्यसैले लेखकले आफूलाई अरु लेखकभन्दा पृथक् तुल्याउन धेरैभन्दा धेरै लेखकका किताब पढ्नुपर्छ ।

दोस्रो, लेखकले पढ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा समाज हो । लेखकले किताब मात्र पढेर पुग्दैन, समाज र संस्कृतिका पात्रहरुलाई पनि पढ्नु पर्छ । जबसम्म हामी समाज, संस्कृति, पात्रका मनोदशाहरू पढ्न सक्दैनौं तबसम्म पाठकको मनमा स्थापित हुन सकिँदैन । कोठामा बसेर कल्पनाको भरमा कृति आउला, लेखकमा दरिएला पनि तर पाठकको सत्ताले स्वीकार्दैन । यसर्थ, आफ्नो कुरा पाठकका मनसम्म पुग्ने गरी भन्नका लागि पुस्तक मात्र पढेर पुग्दैन । त्यसका लागि समाजै पढ्नुपर्छ ।

हाम्रा कतिपय प्रतिष्ठित लेखकहरू “भाषा बनाउने काम सम्पादक हो, किताबमा भाषिक त्रुटि हुनुको दोषी सम्पादक हो” जस्ता धारणाहरू बेलामौका सार्वजनिक रुपमा व्यक्त गर्नुहुन्छ । यो तर्क सही छ ?

होइन । मलाई लाग्छ, यो त नबुझेर भनिएको कुरा हो । सम्पादक त आज पो भए, देवकोटाको समयमा को थिए सम्पादक ? यदि देवकोटाले सम्पादक खोज्दै हिँडेको भए आज देवकोटा हुन्थे ? लेखक भनेको समाजको गुरु पनि हो । लेखकले यो बुझ्न जरुरी छ कि पाठकले केवल आनन्द वा मनोरन्जनका लागि मात्र पढिरहेका हुँदैनन् । उनीहरूले त समाज बुझ्न, भाषिक तथा ज्ञानका कुरा सिक्न आदिका लागि पढिरहेका हुन्छन् ।

सम्पादक लेखक जत्तिकै सक्षम हुन्छ नै भन्ने पनि हुँदैन । लेखकले लेखेको कुरालाई पाठकसम्म सही रुपमा कसरी पुर्याउने भन्ने कुरा पनि सम्पादकलाई ज्ञान नहुन सक्छ । त्यसो हुनाले केही ह्रस्व–दीर्घको कुरा फरक छ, तर शुद्धाशुद्धी हेर्नु र सम्पादन गर्नु बिल्कुलै फरक कुरा हुन् । लेखकलाई जब सम्पादकले सम्पादन गर्नपर्छ भने त्यो लेखक आलोकाँचो हुन्छ । फेरि एउटा लेखकलाई काटछाँट गर्नु सानो कुरो पनि होइन । कि त लेखकले आफू आलोकाँचो भएको स्वीकार गर्नुपर्यो, होइन भने सम्पादक लेखकभन्दा धेरै स्तरीय भएको मान्नु पर्यो । यसर्थ, योचाहिँ लेखकहरूले भन्न हुने कुरा होइन ।

यसैमा जोडेँ, सम्बन्धित भाषामा पकड नभइकन लेखकले लेखनका अन्य तत्त्वहरूलाई सहीसँग समाउन सक्छ ?

सबैभन्दा ठूलो कुराचाहिँ प्रकट गर्ने शैली वा प्रस्तुति नै हो । प्रकट कसरी गर्ने भन्दा त्यसका लागि भाषा चाहिन्छ । र, पाठकसामु प्रभावकारी रुपमा प्रकट गर्न सम्बन्धित भाषाको राम्रो ज्ञान चाहिन्छ । भनेपछि त, भाषाको राम्रोसँग ज्ञान नभई आफूले सम्प्रेषण गर्न खोजेको दृश्यलाई सही रुपमा पाठकसामु राख्नै सकिँदैन । संसार हरेक मान्छेसँग कथा–व्यथा छन् । भन्नुपर्ने कुराहरु छन् । मैले कुरा भोगेको छु, त्यो आममान्छेले पनि भोगेका छन् । तर उनीहरू त्यसलाई व्यक्त गर्ने शब्द र शैली छैन । अब लेखकले चाहिँ भाषा तथा शैलीको ज्ञान कहाँबाट ल्याउँछ भन्दा फेरि पठनको कुरा जोडिने हो । यसर्थ, भाषाको राम्रो ज्ञान नभई लेखकले लेखनका सम्पूर्ण तत्त्वहरू समाउन सक्दैन ।

तर अब यहाँ प्रश्न आउन सक्छ – त्यसो भए नेपाली विषय वा भाषा पढेका मात्रै लेखक हुन्छन् त ? अर्थशास्त्र वा विज्ञान पढेका हुन सक्दैनन् ? उत्तर हुन्छ – हुन्छन् । किनकि, लेखन भनेर स्वाद र रुचिको कुरा हो । कोर्षकै किताबमा मात्र ज्ञान हुन्छ भन्ने अवधारणा गलत हो । विषय पढ्नु र साहित्य पढ्नु फरक कुरा हो । जुनसुकै विषय पढेको वा क्षेत्रमा काम गरेको मान्छेले पनि आफ्नो स्वाद र रुचिअनुसारको साहित्य पढिरहेकै हुन्छ । तर जुनसुकै विषय पढेको र क्षेत्रमा काम गरेको भए पनि एउटा लेखक आफ्नो कुरा भन्न दक्षचाहिँ हुनैपर्छ ।

सिनेमामा “फेमेली ड्रामा” प्रचलित शब्दावली हो । तपाईंको नयाँ पुस्तक “बाआमा”लाई पनि यो शब्दावलीले न्याय गर्न सक्छ ?

फेमेली ड्रामा होइन “बाआमा”, सम्बन्धहरूको कथाचाहिँ हो । एउटा मान्छे जब आमाको पेटबाट जन्मिन्छ, जन्मेदेखि उसले आफ्नो बाआमाबाट गर्न अपेक्षा, बाआमाले सन्तानबाट गर्ने अपेक्षाको कथा हो । ती अपेक्षाहरूसँग हुर्किदै जाँदा आमसमाज र संसारलाई उसले कसरी बुझ्छ – जब ऊ आफ्ना बाआमासँगको संलग्नताबाट मुक्त हुन्छ त्यतिबेला ऊ पनि बाआमा बन्छ । समग्रमा भन्दा जब एउटा छोरा बा बन्छ तब मात्र उसले संसार बुझ्छ । र, यही सन्तानले संसार बुझ्ने यात्राको कथा हो बाआमा ।

हामी कसैका छोरा, कसैका छोरी भएर जन्मिन्छौं । बाआमाको लाडप्यारमा हुर्किन्छौं । एउटा सन्तानलाई बाआमाको काखभन्दा ठूलो स्वर्ग अर्को केही लाग्दैन । जब हामी बाआमाको काख छोड्छौ, तब श्रीमतीको प्रेमभन्दा ठूलो केही लाग्दैन । जब हामी बाआमा बन्छौं, तब सन्तानभन्दा ठूलो सुख अर्को केही हुँदैन । अनि हाम्रो पहिलो प्राथमिकता सन्तान, दोस्रोमा श्रीमती र तेस्रोमा बाआमा पर्छन् । जब आफैं बुढेसकालमा प्रवेश गरिन्छ, तब आफू पनि छोराछोरीको तेस्रो प्राथमिकमा परिन्छ । अनि बुझिन्छ – मैले मेरा बाआमालाई तेस्रो प्राथमिकतामा राखेर भुल गरेछु । त्यसैले, बाआमा संसारको यही सम्बन्धको रीत (चक्र) मा आधारित कथाहरूको सङ्ग्रह हो ।

सन्तान उत्पादन वा यौनका लागि विवाह हुनै पर्ने जरुरी हुँदैन । तर परिवार र समाज निर्माणका खातिर विवाह आवश्यक छ ।

त्यसबाहेक यसमा अन्य विविधता पनि छन् । जस्तो, आजभोलिको विज्ञान, आविष्कार र प्रविधिले विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको छ । नेपालको परिप्रेक्ष्यमा गरिबी तथा बेरोजगारीको समस्याले पारिवारिक विखण्डन ल्याइरहेको छ, जसको मुख्य कारणका रुपमा यौन देखिएको छ । तर यसमा एउटा आग्रह के छ भने, यौनका कारणले परिवार विघटन हुनुहुन्न । कथामा बाआमाबीच आएको विखण्डन छोराछोरीले मिलाएको प्रसंग छ जुन आजको पुस्ताले बुझ्छन् । बुझ्न जरुरी छ कि, परिवार संस्थाको स्थापना समाजलाई सिस्टममा राख्न बनाइएको हो, यौनलाई नियन्त्रण गर्न होइन । तर हामी यौनलाई सिस्टममा राख्न वा यौनइच्छा पूर्तिका लागि बनाइएको संस्थाका रुपमा परिवारलाई बुझिरहेका छौं । जुन बिल्कुलै गलत छ । सन्तान उत्पादन वा यौनका लागि विवाह हुनै पर्ने जरुरी हुँदैन । तर परिवार र समाज निर्माणका खातिर विवाह आवश्यक छ । यसर्थ यौनका कारणले श्रीमान्ले श्रीमती वा श्रीमतीले श्रीमान्लाई छोड्नु अत्यन्तै संकुचित धार हो । यौनका कारण जोडिएर बाआमा बनेका होइनन् । यो कथाको अर्को पाटो हो ।

कृतिकै कुरा गर्दा, यो कृतिको नाम “बाआमा” नै किन रहन गयो ?

“बाआमा” अलि कमन नाम थियो । सुरुमा मलाई पनि अलि सकस लागेको थियो । तर सबै कोणबाट हेर्दा लाग्यो – यो भनेको सृष्टिकर्ताको कथा हो । बाआमाकै कथा हो । हिजो हामीलाई सृष्टि गर्ने बाआमा हुन् र सृष्टि गरेपश्चात् हामी पनि बाआमा हौं । हाम्रा छोरी भने एकपटक बाआमा हुने नै हुन् । यसरी हेर्दा बाआमाबाट सुरु भएको चक्र बाआमामै आएर टुंगिन्छ । यस हिसाबले यो संसारको रीत टुंगिने अवस्थाको कथा हो । त्यसैले “बाआमा” नै उपयुक्त हुन्छ जस्तो लाग्यो । आस्था, प्रेम, समर्पण, विषयवस्तुको गम्भीरता तथा शब्दको गरिमा पनि “बाआमा”ले जति अरुले बोक्न सक्छ जस्तो लागेन, र किताबको नाम “बाआमा” नै रह्यो ।

तपाईंको पहिलो प्रकाशित कृति गजलसङ्ग्रह । तर गजलकारहरू आख्यान लेखनमा आइसकेपछि गजललाई चटक्कै माया मारेका उदाहरण धेरै छन्, त्यसमध्ये तपाईं पनि एक हुनुहुन्छ । यस्तो किन हुन्छ ?

होइन, चटक्कै छोड्न त छोड्दैनन् बरु स्थगितचाहिँ भएको हो । मैले पनि लेख्नै छोडेको होइन, स्थगितचाहिँ भएको हो । किनभने अहिले मेरो एक किसिमको जोश, जाँगर, ऊर्जा र उत्साह आख्यानमा छ, फेरि गजलमा ढल्किएँ भने पाठकहरूको मप्रति जुन अपेक्षा छ, त्यसमाथि अन्याय हुनसक्छ । मोहभङ्ग हुनसक्छ । यसर्थ, गजल पनि लेख्नचाहिँ लेखिरहेकै छु, बाहिरचाहिँ नआएको हो ।

त्यसोभए, तपाईंको आख्यान व्यक्तित्वको भार गजलले थाम्न सक्दैन भन्न खोज्नुभएको हो ?

हो, सक्दैन । बोक्न मात्र होइन, अहिले म जुन कुरा आख्यानका माध्यमबाट अभिव्यक्त गरिरहेको छु, त्यो गजलले सही रुपमा सम्प्रेषण गर्न पनि सक्दैन । जुन अहिले मैले भन्नुपर्ने कुरा छ – आफ्नो समयको, उमेरको – त्यसलाई म गजलका माध्यमबाट भन्न सक्दिनँ । अहिले मेरा पाठक र देशदुनियाँलाई मैले आफ्नो र समाजको कथा सुनाउनु छ, त्यो अहिले म गजलमार्फत सही रुपमा सुनाउन सक्दिनँ । यसकारणले, केही समय मैले आख्यानबाट भन्नुपर्ने कुरा भन्नुपर्छ भन्ने मलाई लाग्छ । जब आख्यानबाट धेरै कुराहरू सुनाइसक्छु, तब आफ्नो भावना, पूर्वस्मृति, जवानी, दु:ख–सुख र अभावका भावनाहरू पुन: गजलमार्फत आउलान् ।

लेखक परिचय

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका केन्द्रीय संयोजक हुन् । आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका ढुङ्गेलको मौलिक कृति “मिराज” उपन्यास प्रकाशित छ । गैरआख्यान विधाको उनको दोस्रो कृति प्रकाशनको तयारीमा छ ।

प्रतिक्रिया
Loading...