“यो सम्झिने मन छ म बिर्सूँ कसोरी,
तिमी नै भनिदेऊ ए जाने निठुरी”…..

पहिले-पहिले त यो गीत सुनियो मात्रै । यस गीतभित्रको भावलाई केलाउन सक्ने न क्षमता थियो न त त्यो जरुरी नै परेको थियो । जब प्रेममा परियो र प्रेम गर्छु भनेकाहरूले प्रेम गरेजस्तो मात्रै गरेर गए तब यो गीतको खास अर्थ र गहिराइबोध हुँदै गयो । कसैलाई प्रेम गर्नु, कसैको प्रेममा पर्नु, दोहोरो रूपमा प्रेम हुनु अनि कुनै कारण देखाएर प्रेम सम्बन्ध भत्काउनु समयक्रमसँगै सामन्य बन्दै गइरहेको छ । जब सम्बन्ध भत्किने तरखर हुन्छ तब दुई प्रेमिल जोडीमध्ये एकले प्रायः भन्ने गर्छन्, “अब मलाई बिर्सिदेऊ” अथवा “हिजो जे भयो सकियो, मलाई अब भुलिदेऊ” । यस्तै केही फिल्मी डाइलग सुन्न पाइन्छतर के आफूले प्रेम गरेको मान्छेले छोडेर गयो भन्दैमा उसलाई भुल्न त्यति सजिलो छ होला र उसले भने जस्तै गरी ? हो, यही प्रश्नले वेला-वेला कवि तथा गीतकार दिनेश अधिकारीको मन बिथोलिरहन्थ्यो । मन बिथोलिने क्रममै जन्मिएको हो एउटा कालजयी गीत ।

दिनेश अधिकारी

“यो सम्झिने मन छ म बिर्सूँ कसोरी “….. म्युजिक नेपालमा रेकर्ड भएर वि.सं. २०४४ सालमा बजारमा आएको यो गीत गीतकार अधिकारीको जीवनसँग भने कतै मेल खाँदैन तर त्यो वेलादेखि अहिलेसम्म र भोलिका दिनमा पनि लाखौँ प्रेमिल मुटुहरूको धड्कन बनेर नारायण गोपाल यो गीतमार्फत गुन्जिरहनेछन् र नारायण गोपालसँगै गीतकार अधिकारी पनि बाँचिरहनेछन् ।

जानकारीमा आएसम्म र गीतसङ्गीतका जानकारहरूको भनाइलाई आधार मानेर मान्ने हो भने नारायण गोपालले जम्माजम्मी १ सय २९ ओटा मात्रै नेपाली गीत गाउनुभयो । यिनै गीतहरूले उहाँलाई नेपाली साङ्गीतिक आकाशको स्वरसम्राट् बनायो । ती १ सय २९ मध्ये दुई गीत गीतकार दिनेश अधिकारीको पनि परेको छ ।

“यो सम्झिने मन छ” र “तिमी जुन रहरले ममा फुल्न आयौ”  नारायण गोपालका सार्वाधिक लोकप्रिय गीतहरूमध्ये यी दुई पनि पर्छन् । गीतका शब्दले नछोएसम्म गीत गाउन तयार नहुने नारायण गोपालको रोजाइमा आफ्ना पनि दुई गीत पर्नुले गीतकार  आधिकारी आफूलाई भाग्यमानी ठान्नुहुन्छ उहाँसँग कालजयी सहकार्य गर्न पाएकोमा ।

डिजी शर्मा (युएई)

नारायण गोपालको सङ्गीत रहेको “यो सम्झिने मन छ” भन्दा पहिल्यै अर्थात् २०४१ साल पुसमै “तिमी जुन रहरले” बोलको गीत दिव्य खालिङको सङ्गीतमा रत्न रेकर्डिङ संस्थानले बजारमा ल्याएको थियो । हालसम्म ८ सयको हाराहारीमा गीत लेखिसक्नुभएका गीतकार अधिकारीका २०७८ साल मङ्सिरसम्ममा ४ सय ५६ ओटा गीत रेकर्ड भएर बजारमा आइसकेका छन् । माथि उल्लिखित दुई गीतका अलवा “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ”, “लैजा चरी मेरो खबर”, “तिमी यसै लजायौ म उसै धकाएँ” जस्ता अधिकारीद्वारा रचित अन्य दर्जनौँ गीतहरू सर्वाधिक लोकप्रिय पनि छन् । वि.सं. २०३९ साल साउनदेखि गायिका मीरा राणाको आवाज र  सङ्गीतकार राम थापाको सङ्गीत रहेको “निश्वास ए ! चाँडै थाकी नजा” बोलको गीतबाट सुरु भएको गीतकार अधिकारीको साङ्गीतिक सहकार्य २०७८ साल मङ्सिरमा आइपुग्दा पछिल्लो समयका चर्चित गायक पुष्पन प्रधानको आवाज र उहाँकै सङ्गीत रहेको “उठ्न सकिन्छ हिम्मत नहारे” बोलको गीतसम्म आइपुगेको छ । यो गीत गत मङ्सिर २१ गते सार्वजनिक भएको थियो । २०३९ देखि २०७८ सम्मको अवधिमा २ सय ३३ जना गायक गायिकाले गीतकार अधिकारीको शब्दमा आफ्नो आवाज दिइसक्नुभएको छ भने ८८ जना सङ्गीतकारले सङ्गीत भरिसक्नुभएको छ । सामन्यतया कुनै गीतकार, गायक, गायिका अथवा सङ्गीतकारलाई “तपाईँका कति गीत बजारमा आएका छ्न ?”  भनेर सोध्ने हो भने ठ्याक्कै भन्ने अवस्था रहन्न तर गीतकार अधिकारीको हकमा त्यो अलिक लागु हुँदैन । उहाँले सकेसम्म आफ्ना सिर्जनाहरूको व्यवस्थित अभिलेख राख्दै आउनुभएको छ ।

माता शारदादेवी अधिकारी र पिता नन्दनहरी अधिकारीका सन्तानका रूपमा वि.सं. २०१६ साल मङ्सिर २२ गते सोमबारका दिन काठमाडौँको वानेश्वरमा गीतकार अधिकारीको जन्म भएको थियो । १० वर्षकै उमेरबाट कवितामार्फत साहित्यलेखनको यात्रा सुरु गर्नुभएका गीतकार अधिकारीको “इच्छा” र “सम्झे पुग्छ” भन्ने दुई गीतिकविता पहिलोपटक २०३२ सालमा रत्नश्रीमा प्रकाशित भएको थियो । २०३७ सालमा प्रकाशित “अन्तरका छिटाहरू” उहाँको पहिलो कवितासङ्ग्रह हो । यो सहित कविता, गीत र काव्य गरेर उहाँका एक दर्जन कृति बजारमा आइसकेका छन् । गीतकार अधिकारी बहुप्रतिष्ठित  मदन पुरस्कार प्राप्त गर्न सफल सर्जक पनि हुनुहुन्छ । २०५६ सालमा प्रकाशित उहाँको “अतिरिक्त अभिलेख” कवितासङ्ग्रहका लागि उहाँलाई सो पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरी २०५१ सालमा प्रकाशित उहाँको “इन्द्रजात्रा” नामक काव्यले साझा पुरस्कार प्राप्त गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्‌का विभिन्न तहका पाठ्यक्रममा समेत उहाँका कविता तथा गीतहरू समावेश गरिएका छन् । त्यसै गरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहका लागि उहाँको जीवनी, कविता र गीतमाथि करिब १० ओटा शोध अनुसन्धान पनि भएका छन् । उता अमेरिकास्थित विश्वकै सबैभन्दा ठुलो पुस्तकालय “लाइब्रेरी अफ कङ्ग्रेस” को वेवसाइटमा समेत उहाँका दुई दर्जन बढी कविताहरू राखिएका छन् । उहाँले ५ दर्जनभन्दा धेरै नेपाली चलचित्रका लागि गीतलेखन गरिसक्नुभएको छ । मदन पुरस्कार र  साझा पुरस्कारका  अलवा युवा वर्ष मोती पुरस्कार, छिन्नलता गीत पुरस्कार, विन्दवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड, नारायण गोपाल स्मृति सम्मान, रेडियो नेपालबाट सर्वश्रेष्ठ गीतकार सम्मान लगायत गरी दर्जनौँ सम्मान तथा पुरस्कार उहाँले प्राप्त गरिसक्नुभएको छ ।

सरकारको निजामती सेवामा रहेर न्याय सेवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यलय, स्वास्थ्य मन्त्रालय लगायत विभिन्न विभागको विभिन्न पदमा रहेर तीन दशक सरकारी सेवा गरी कवि/गीतकार अधिकारीले सरकारको सचिव पदबाट अवकाश प्राप्त गर्नुभएको छ । २०४१ साल माघ २५ गते उषा आचार्यसँग विवाह बन्धनमा बाँधिनुभएका कवि/गीतकार अधिकारीका एक छोरी लिपि र एक छोरा शब्द अधिकारी रहेका छन् । कविता र गीतबाहेक अन्य केही विधामा पनि कहिलेकाहीँ कलम चलाउने कवि/गीतकार अधिकारीले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।

विगत ५ दशकदेखि कविता र गीतलेखनमा सक्रिय रहँदै आउनुभएका वरिष्ठ गीतकार अधिकारी आजभोलिको गीतलेखनमा तुकबन्दी बढी भएको आरोप लगाउनुहुन्छ र यो आरोप मात्रै पनि होइन, सत्य पनि यही हो । सैद्धान्तिक रूपमा हेर्ने हो भने गीतको स्थायी हुन्छ । त्यसपछि अन्तरा । त्यो स्थायी र अन्तराबिचको सम्बन्ध के हो ? यो लाइन मात्रै भएर पुग्छ कि तिनीहरूको बिचमा कुनै सम्बन्ध पनि छ ? भन्ने पाटोमा पछिल्लो समय गीतकारहरूले नै ख्याल गरिरहेका छैनन् । जसरी घरको छानाले त्यो घर कुन शैलीमा बनेको छ भनेर प्रस्ट रूपमा भन्न सक्छ त्यसै गरी गीतको स्थायीले पनि यो गीत कुन भावमा बगेको छ अथवा यो गीत कुन प्रकारको गीत हो भन्ने मूल कुरा बताउँदछ । घरको छानालाई जग र गाराले सपोर्ट गरेजस्तै गरी गीतको स्थायीलाई अर्थपूर्ण बनाउनका लागि यसको अन्तराको महत्त्वपूर्ण भूमिका रहन्छ ।

यसरी हेर्दा एउटा गीत अर्थपूर्ण हुनको लागि स्थायी र अन्तराबिच गहिरो सम्बन्ध हुनु आवश्यक छ । जुन अहिलेका भाइरल भनिएका प्रायः गीतमा भेटिँदैन । यसरी सैद्धान्तिक रूपमा मिहिन ढङ्गले केलाउँदै जाने हो भने यति वेलाको नेपाली गीतलेखनको एउटा ठुलो हिस्सा छरपस्ट छ । यसरी छरपस्ट भएकै कारण अहिलेका प्रायः गीतमा गम्भीर भाव, गम्भीर साहित्य भेटिँदैन । सकेसम्म स्टेजमा गाउन मिल्ने र अलिक हल्का स्वभावका गीतहरू खोज्ने गायक, गायिका र सङ्गीतकारहरूको बाहुल्यता बढ्दै जानुले पनि गीतको भाव फितलो बन्दै गएको हो भनेर भन्न सकिने अवस्था निर्माण हुँदै गएको छ । कसैलाई गीत चाहिए उसलाई घरमै बोलाउने र आफूसँग भएका गीतमध्ये मन परेका गीतहरू छानेर लैजान अनुरोध गर्दा गम्भीर प्रकृतिका गीतहरू कम रोजाइमा पर्ने गरेको गीतकार अधिकारीको अनुभव छ ।

पछिल्लो समय गीत सङ्गीत क्षेत्रमा लाग्नेहरूले साहित्यलाई बुझ्न छोडेको अथवा भनौँ कम बुझ्न थालेको आरोप एकातिर लाग्ने गर्छ भने यो आरोपसँगै उहाँहरू बजारमुखी हुँदै गएका कारण पनि बजारमा कमसल गीतको बाढी आएको हो भनेर ढुक्कसाथ भन्न सकिन्छ । बजारको पछि लागेकै कारण बजारले जे माग्छ त्यही दिने परिपाटि मौलाउँदै गएको छ । हुन त श्रोता दर्शकले पनि सस्तो लोकप्रियताका लागि बनाइएका गीत सङ्गीतलाई नै प्राथमिकता दिने गरेका कारण पनि  यो स्थिति आएको हो भनेर भन्न सकिन्छ । श्रोता दर्शकलाई विकल्प दिएर त्यतातर्फ आकर्षित गर्न सकिने बाटो हुँदाहुँदै पनि त्यो विकल्प दिने र उनीहरूको टेस्टलाई बदल्ने कोसिस कसैले गरेनन् र बजारको पछि लागिरहे । जसरी परम्परागत रूपमा आइरहेको स्वादलाई नारायण गोपालले परिवर्तन गरिदिनुभएको थियो । त्यस्तै किसिमको हिम्मत सबैमा हुनु जरुरी देखिन्छ । बजारलाई बिर्सिदिनुस् भन्ने पनि होइन । श्रोता दर्शकले यस्तै रुचाउनु हुन्छ भनेर हामीले भनिरहँदा कतै हामीले उहाँहरूको क्षमतामाथि प्रश्न त गरिरहेका छैनौँ ? गीतकार अधिकारी प्रश्न गर्नुहुन्छ । श्रोता दर्शक सर्जकभन्दा धेरै पारखी हुनुहुन्छ । विकल्प नभएपछि उहाँहरूले पनि के गर्ने ? हातो छ हातमा, जाँतो घुमाउने बाहेक अर्को विकल्प छैन । गीतसङ्गीतका गम्भीर श्रोता दर्शकको अवस्था अहिले यस्तै भइरहेको छ । यसरी बजार अथवा भनौँ श्रोता दर्शकको रुचिलाई “म बदल्न सक्छु” भनेर हिम्मत लिएर आउने गायक, गायिका र सङ्गीतकारको नेपाली साङ्गीतिक क्षेत्रमा सर्वथा अभाव रहेको गीतकार अधिकारी बताउनुहुन्छ ।

एउटा गीतलाई सुन्दर र अर्थपूर्ण बनाउनका लागि गीतकार, सङ्गीतकार र गायक/गायिका यी तिनै पक्षको उत्तिकै भूमिका रहन्छ । यो ओदानजस्तै हो । जसरी ओदान सन्तुलनमा रह्यो भने मात्रै त्योमाथि धेरै परिकार पाक्न सक्छ ।  अलग-अलग भएको खण्डमा ओदान रहँदैन र केही पनि पाक्दैन । त्यसैले यी तिनै पक्षको भूमिका समान रूपमा छ । यति हुँदाहुँदै पनि साहित्यको नजिक भएर भाषालाई नबिग्रिने गरी सामाजिक जिम्मेवारीबोधका हिसाबले हेर्ने हो भने गीतकारको भूमिका सबैभन्दा बढी देखिन आउँछ । सर्जक आफैँले लगानी गरेर गीत बजारमा ल्याउने चलन बढ्दै गएको भए पनि यो परिपाटि आफैँमा ठिक नभएको गीतकार अधिकारीको बुझाइ छ ।  आफ्नो गीतप्रति कुनै शङ्का लाग्छ भने कसैको सहयोग लिएर भए पनि कम्तीमा शुद्ध  र राम्रो गीत सङ्गीतकारकोमा पुऱ्याउने पहिलो कर्तव्य गीतकारको नै हो । गीतकारले राम्रो गीत लिएर जाने हो, पैसा होइन । पैसा त त्यसपछिको सन्दर्भ हो ।

गीत दिने र पैसा दिने अनि एउटा एल्बम निकालेर पठाइदिनेले कतिपय गायक/गायिका र सङ्गीतकारलाई पाँच वर्षपछि सोधियो भने त्यो गीतकारको नाम पनि थाहा हुँदैन । यो सुखद परिस्थिति होइन । गीतसङ्गीतकै माध्यमबाट भावी सन्ततिले भाषा सिक्ने भएका कारण हामी जिम्मेवार भएनौँ भने भाषा बिग्रिँदै र मर्दै जान्छ । त्यसै गरी गीतको आकृतिलाई जीवन दिने अर्थमा त्यसलाई सुन्दर बनाउने सवालमा गीतको भावलाई जस्ताको त्यस्तै उतार्ने अर्थमा सङ्गीतकारको भूमिका पनि कम महत्त्वपूर्ण छैन । यसमा गायकगायिकाले त प्रस्तुतिको मात्रै जिम्मेवारी लिने हो । हामी दाल-भात-तरकारी एकसाथ मुछेर नै खान्छौँ तर कसैले मुछेर दियो भने पक्कै पनि खाँदैनौँ अपवादको अवस्थालाई छोड्ने हो भने । यसरी गीतलाई सजाएर प्रस्तुत गर्ने कुरामा गायकगायिकाको भूमिका अहम रहन्छ तर यी तिनै पक्षसँग हुनै पर्ने महत्त्वपूर्ण कुरा भनेको सामाजिक जिम्मेवारीको बोध नै हो । जसले सङ्गीत क्षेत्रलाई मर्यादित बनाउन सहयोग गर्दछ । नेपाली साङ्गीतिक आकाशलाई फराकिलो बनाउने मात्रै होइन त्यसलाई सम्पन्न देखिने पनि बनाउनु छ र सम्पन देखिनका लागि बजार सबथोक होइन ।

सबै जनाले सामाजिक जिम्मेवारीका साथ काम गर्नुपर्ने अवस्था भए पनि अहिलेको नेपाली गीतसङ्गीतको बजार मियोविनाको दाइँजस्तै भइरहेको छ । गीत सङ्गीतमा सेन्सरसिपको आवश्यकता नभए पनि यसमा संलग्न सबैले आत्मा अनुशासित भएर काम गर्नुपर्ने टट्कारो आवश्यकता देखिएको छ । भाषा नबिग्रियोस् भन्ने कुरा त देशको नागरिक भएको नाताले पनि सोच्नुपर्ने कुरा हो । बजारमा सबै कुरा पाइन्छ तर समाजका लागि उपयोगी भएको, उपयोगी नभए पनि कम्तीमा समाजका लागि हानिकारक नभएको/नहुने गीतहरूलाई मात्रै मिडियाले ग्रहण गर्ने हो भने मात्रै पनि यो बर्गेल्ती, यो खजमज, यो अन्योलता, यो अराजकताको अन्त्य हुने थियो । अनि मात्रै श्रोता दर्शकहरूको पनि अर्थपूर्ण गीततर्फ रुचि जाग्न थाल्थ्यो । एउटा राम्रो गीतले प्रश्रय पाउनासाथ अर्को राम्रो गीतको जन्म हुन पुग्छ । कमसल गीतले प्रश्रय पाउनासाथ त्यस किसिमका गीतहरूको ओइरो लाग्ने गरेको दृष्टान्त हामीसँग प्रशस्तै छन् । यसरी घटोत्तरीका लागि गरिने प्रतिस्पर्धाले हाम्रो सङ्गीत क्षेत्रको विकास हुन्छ भन्ने पटक्कै लाग्दैन ।

एउटा गीत गाएर गायकगायिका सुपरहिट बन्छन्, सेलेब्रेटी बन्छन् तर उनीहरूलाई सेलिब्रेटी बनाउने त्यही गीत लेख्ने गीतकार र त्यसमा धुन भरेर सुमधुर बनाउने सङ्गीतकारलाई भने सीमित व्यक्तिले मात्रै चिन्छन् । स्टेजमा गीत गाउँदै गर्दा अधिकांश गायकगायिकाले गीतकार र सङ्गीतकारको नाम उच्चारण गरेको पाइँदैन । जुन गीतले ऊ हिट छ त्यही गीतको सर्जकको नाम लिन गायकगायिकालाई किन अप्ठेरो हुन्छ ? एउटा गीत बोकेर  गायकगायिका देश तथा विदेशका थुप्रै कार्यक्रमहरूमा जान्छन् । लाखौँ रुपैयाँ आम्दानी गर्छन तर जसको गीत गाएर लाखौँ कमाउँछन् त्यसबापत त्यही गीत लेख्ने गीतकारले एक रुपैयाँ पाउँदैन । स्टेज कार्यक्रममा अरूको गीत गाइसकेपछि त्यसबापत गायक गायिकाले पाउने पारिश्रमिकको केही प्रतिशत रकम गीतकार र सङ्गीतकारलाई पनि दिनुपर्छ भन्ने न ज्ञान छ न त नैतिकता नै । सबैलाई यो विषयमा जानकारी छ भन्ने अवस्था छैन तर कानुनको अज्ञानता क्षम्य हुँदैन । त्यसैले “मलाई थाहा थिएन” भन्ने कुरो सधैँभरिका लागि उन्मुक्तिको माध्यम चाहिँ हुन सक्दैन ।

गीतको सन्दर्भमा गीतकारसँग आफ्नो श्वास हुँदैन । गीतकार भनेको गायकगायिकाको घाँटीमा सास फेर्ने मान्छे हो । गीतकारले त्यति विश्वास गरेर आफ्नो सास गायकगायिकाको घाँटीमा राखिदिएपछि उहाँहरूले पनि कुनै गीत गाउँदै गर्दा गीतकार र सङ्गीतकारलाई पनि बिर्सनु हुँदैन भन्ने कुरालाई आत्मासात् गरिदिएको भए, यो मेरो नैतिक जिम्मेवारी हो भन्ने बोध भइदिएको भए माथि उल्लिखित परिस्थिति अलिकति भए पनि घटेर जाने थियो होला तर उहाँहरूले त्यसलाई आत्मासात् गरिदिनु भएन अपवादबाहेक । यसरी हामीले नैतिकता गुमाइरहेका छौँ । हामीले गलत अभ्यास गरिरहेका छौँ । आज हामीले अरूलाई सद्व्यवहार गरेनौँ भने भोलि हामीले भोग्ने व्यवहार पनि त्यही हो । त्यसैले यसमा हामी आफैँ सजग हुनुको विकल्प छैन । मसँग सामाजिक जिम्मेवारी छ भन्ने बोधका साथ लागियो भने नेपाली गीतसङ्गीतको भण्डार सङ्ख्या सँगसँगै गुणस्तरका दृष्टिकोणले पनि गौरव गर्न लायकको हुनेछ र त्यो बनाउने जिम्मा पनि अबको नयाँ पुस्तकै हातमा छ । जति नकारात्मक टिप्पणी गरे पनि कुनै न कुनै रूपमा नेपाली गीतसङ्गीत अघि बढिरहेको छ । सीमित सङ्ख्यामै भए पनि अत्यन्त लोभलाग्दा स्रष्टाहरू रहनुभएकाले भोलिको नेपाली सङ्गीत अझै समृद्ध हुँदै जानेछ भन्नेमा गीतकार अधिकारी विश्वास व्यक्त गर्नुहुन्छ ।