दार्जीलिङको आफ्नो एउटा परिवेश छ । चाहे त्यो सामाजिक होस् या राजनीतिक र त्यहाँको समाज नेपालको भन्दा अलिक बेग्लै खालको पनि छ । नेपालमा जुन जाति भनिन्छ ती जातिहरू त्यहाँ जातका रूपमा मात्रै छन् । ती सबै जातिहरू मिलेर त्यहाँ एउटा सिङ्गो जाति बनेको छ र त्यसको नाम हो “नेपाली” जाति । कुन जातिको हो भन्नेबित्तिकै नेपाली जाति भन्ने बुझिन्छ अनि मात्रै जातको कुरो आउँछ । सबै जातिहरू घुलमिल भएर बसेको एउटा समाज छ त्यो नै त्यहाँको नेपाली समाज हो । तर नेपालको हकमा भने त्यसो हुँदैन । नेपालमा नेपाली भन्नेबित्तिकै राष्ट्रियता बुझिन्छ, यहाँको नागरिकता बुझिन्छ र यहाँ भएका विभिन्न जाति बुझिन्छ । यसले गर्दा दार्जीलिङ र नेपालको जातिगत संरचनामा केही भिन्नता पाइन्छ । दार्जीलिङमा करिब दुई सय वर्षदेखिको आर्थिक र राजनीतिक रूपमा जुन प्रकारको संरचना अथवा व्यवस्था छ त्यसको प्रभाव पनि त्यहाँका आम मानिसमा गहिरो गरी मनमा गडेर बसेको छ । तिनै कुराहरू दार्जीलिङको नेपाली साहित्यमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लामो समयदेखि लेखिँदै आएको पाइन्छ । यसले गर्दा त्यहाँको लेखनको स्वाद र लेखनको परिपाटि अलिक फरक भएका कारण पनि हुन सक्छ ।
दार्जीलिङमा बसेर “मनप्रसाद सुब्बा” हरूले कलम चलाउँदा नेपाली साहित्यको राजधानी मानिँदै आएको काठमाडौँ पनि तरङ्गित हुने गर्छ । एक किसिमले हल्लिने गर्छ । दार्जीलिङमा बसेर काठमाडौँ हल्लाउन सक्ने तिनै भारतीय नेपाली साहित्यको मात्रै नभई सिङ्गो नेपाली भाषी साहित्यका एक अग्लो शिखर व्यक्तित्व वरिष्ठ कवि तथा समालोचक मनप्रसाद सुब्बालाई सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रममा जोड्ने एउटा ठुलो अवसर जुऱ्यो । मनप्रसाद सुब्बा जस्ता कविताका हस्तीहरूसँग बसेर कार्यक्रम गर्नु र कविताका कुरा गर्न पाउनु कवितामा कलम चलाउँदै गरेको मजस्तो नयाँ पुस्ताका लागि एउटा ठुलो मौका हो भन्ने लागेको छ । त्यसैले यति सुन्दर अवसर जुराइदिने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरलाई धन्यवाद भनिएन भने यो लेख अधुरै रहनेछ । हुन त भारतीय नेपाली साहित्यका अन्य सर्जकसँग पनि कार्यक्रममा जोडिएर कुराकानी गरिएकै थियो । तर कार्यक्रममा अहिलेसम्म जोडिनुभएका भारतीय नेपाली साहित्यका स्रष्टामध्ये सुब्बा पहिलो पाहुना हुनुहुन्छ जसले बहुप्रतिष्ठित साहित्य अकादमी पुरस्कार (अग्रजतर्फ) प्राप्त गर्नुभएको छ । यसकारण पनि उहाँसँगको बसाइ हाम्रा लागि खास बन्न पुग्यो । सन् १९९५ मा प्रकाशित उहाँको चौथो कवितासङ्ग्रह “आदिम बस्ती” का लागि सन् १९९८ मा उहाँलाई सो पुरस्कार दिइएको थियो । साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल सो कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरेर केन्द्रीय सिक्किम युनिभर्सिटीमा अङ्ग्रेजी पाठ्यक्रममा समेत समावेश गरिएको छ । त्यसको अनुवाद सुब्बा आफैँले गर्नुभएको थियो ।
विगत ५ दशकदेखि भारतीय नेपाली साहित्यमा सशक्त रूपमा कलम चलाउँदै आउनुभएका वरिष्ठ कवि सुब्बाले अन्य साहित्यकारहरूको कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरेर आफूलाई अनुवादकको रूपमा समेत स्थापित गर्नुभएको छ । समालोचनाको क्षेत्रमा पनि उहाँको कलम निकै सशक्त रूपमा चल्दै आएको पाइन्छ । सन् १९५२ सेक्टेम्बर ०३ तारिखका दिन दार्जीलिङको बिजनबारी गाउँमा जन्मनुभएका कवि सुब्बाले सन् १९७० को दशकबाट साहित्यलेखनको यात्रा सुरु गर्नुभएको थियो । ९ कक्षामै छँदा विद्यालयबाट वार्षिक रूपमा प्रकाशित हुने पत्रिकामा उहाँको कविता “बनाउनु छ” र “साँझको यात्रा” नामक कथा पहिलोपटक प्रकाशित भएको थियो । ७० को दशकबाट लेखन यात्रा सुरु गर्नुभएका कवि सुब्बाले सन् १९७९ मा पहिलो कृतिका रूपमा “बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू” नामक कवितासङ्ग्रह प्रकाशित गर्नुभएको थियो । त्यसपछि उहाँका, बुख्याँचाहरूको देशमा, उष्मा, आदिम बस्ती, ऋतु क्यानभासमा रेखाहरू, अक्षर-अर्केस्ट्रा, किनाराका आवाजहरू, भुईँफुट्टा शब्दहरू, नेत्तिफुङ्को बास्ना र मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरू गरी अन्य ९ ओटा कवितासङ्ग्रह प्रकाशित छन् भने एउटा लघु उपन्यास “त्यो मोडसम्म पुगेको मान्छे” पनि बजारमा आइसकेको छ ।
कवि सुब्बाका केही कृतिहरू नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी, हिन्दी, मैथिली, असमी, बङ्गलासहित अन्य भाषामासमेत प्रकाशित भएका छन् । पश्चिमा सिद्धान्तहरूको पनि गहन अध्येता कवि सुब्बाको कवितामाथि अध्ययन तथा समालोचनात्मक लेखहरूको सङ्ग्रह “काव्यास्था” प्रकाशोन्मुख कृति हो । साहित्यलेखनसँगै प्राध्यापन पेसामा समेत आबद्ध रहनुभएका कवि सुब्बा एक कुशल चित्रकार पनि हुनुहुन्छ । यिनै बहुआयामिक व्यक्तित्वका धनी सुब्बासँग हामीले समग्र भारतीय नेपाली साहित्यका विविध पाटालाई केलाउने कोसिस गऱ्यौँ कार्यक्रममा ।
इन्द्र सुन्दास, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, पारसमणी प्रधान, मच्छिन्द्र प्रधान, शिवकुमार राई, स्वयं मनप्रसाद सुब्बा लगायत अग्रज पुस्ताले निर्माण गरेको भारतीय नेपाली साहित्यको विरासत र त्यो उचाइलाई पछिल्लो नयाँ पुस्ताले कसरी धानिरहेको होला अथवा त्यसलाई संरक्षण गरेर नयाँ पुस्ता कसरी अघि बढिरहेको होला भन्ने जिज्ञासा हुनु स्वाभाविक पनि हो । मनप्रसाद सुब्बा जस्ता अग्ला कवि भोलिका दिनमा भारतीय नेपाली साहित्यले पाउला कि नपाउला भन्ने चिन्तासँगै चासो पनि हुँदो रहेछ । त्यसैले होला कार्यक्रमको सुरुमै मैले प्रश्न गरेँ, “नयाँ पुस्ता कसरी अघि बढिरहेको छ त ?” अग्रज पुस्ताले निर्माण गरेको भारतीय नेपाली साहित्यको जुन घडेरी छ त्यो घडेरी अत्यन्त मजबुद रहेको कवि सुब्बा ढुक्कका साथ भन्नुहुन्छ । साहित्यको त्यही घडेरीमाथि अहिलेका नयाँ पुस्ताले आआफ्नै प्रकारले अझै विस्तारित गरेर लैजाने, त्यसलाई अझै मजबुद बनाएर लाने, त्यसमा आफ्ना केही थप्ने र उहाँहरूबाट प्रेरणा लिएर ती कुराहरूमा आफ्नो केही छाप छोड्ने प्रयास हरेकले गरिरहेका नै छन् ।
अग्रज पुस्ताबाट प्रेरित भएर नै पछिल्लो पुस्ताले फेरि आफ्नै ढङ्गमा उहाँहरूलाई सोझै अनुकरण नगरी आफ्नै प्रकारले लेखन गर्ने र साहित्यमा आफ्नै प्रकारको रूप देखाउने प्रयास निरन्तर भइरहेकै छ । अहिले वर्तमानमा कलम चलाइरहेकाहरूले पनि आफूभन्दा अघिल्लो पुस्ताबाट प्रेरणा लिएर तर अघिल्लो पुस्ताभन्दा अलिक पर हटेर आफ्नै पहिचान देखाउन सक्ने किसिमले केही नयाँ गरौँ भन्ने उदेश्य लिएर उनीहरू लागिरहेका छन् । जसले गर्दा भारतीय नेपाली साहित्य अत्यन्त सिर्जनशील, उत्साहप्रद र चलायामान नै छ भन्न सकिन्छ । यसले गर्दा नयाँ पुस्ताप्रति खासै असन्तुष्ट व्यक्त गरिहाल्नुपर्ने अवस्था नभएको सुब्बाको बुझाइ छ तर सिर्जनाको क्षेत्रमा जति काम भएका छन्, सिर्जनशील लेखन जति भएका छन्, ती सिर्जनशील रचनाहरूलाई हेर्ने, परख गर्ने, त्यसलाई विशेष प्रकारले पठन गरिदिने त्यो प्रकारको समालोचनात्मक काम जति हुनुपर्ने हो त्यति भएको चाहिँ अवश्य छैन ।
भारतीय नेपाली साहित्यमा अत्यन्त दह्रो समालोचनाको सुरुवात रामकृष्ण शर्माबाट भएकै हो । उहाँपछि पनि अन्य थुप्रै समालोचकहरू आए तर सिर्जनात्मक क्रियाकलापलाई जुन प्रकारले हेर्नु पर्ने, जति हेरिनुपर्ने त्यो हुन सकेको छैन । अहिले पनि सिर्जनाका कुराहरू चाहे त्यो कवितामा होस् अथवा कथामा होस् अथवा अन्य विधामा नै किन नहोस् यतिविघ्न भइरहेका छन् तर ती सबै विधाका सिर्जनाहरूलाई उत्खनन गर्ने र त्यसको समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्ने कुराको भने अभाव नै छ । यस हिसाबले हेर्दा भारतीय नेपाली साहित्यमा सिर्जनाको अनुपातमा समालोचना धेरै नै पछि परेको छ भनेर भन्नुपर्ने अवस्था छ ।
यसरी लेखनको तुलनामा समालोचना किन कम भए होलान् भन्ने सवाल पनि मनमा खडा हुनु स्वाभाविक हो । समालोचनका लागि अलिकति गम्भीर किसिमको अध्ययन, अलिक गम्भीर किसिमको चेतना, गम्भीर नै किसिमको पठन र सिर्जनालाई हेर्ने दृष्टिकोण पनि अलिक फरक र विशिष्ट किसिमको हुनुपर्ने भएको र भारतीय नेपाली साहित्यमा त्यो नदेखिएका कारण पनि समालोचना कम हुन गएको हो भन्ने कुरामा कवि सुब्बा सहमति जनाउनुहुन्छ । यसको अर्थ समालोचना हुँदै नभएको अथवा समालोचक नै छैनन् भन्ने पनि पक्कै होइन । केही समालोचकहरू हुनुहुन्छ, केही युवा पुस्तका पनि हुनुहुन्छ जसलाई हेर्दा मात्रै पनि भारतीय नेपाली साहित्यमा केही आशा गर्ने ठाउँ पनि पक्कै छ नै । उहाँहरूले निकै राम्रोसँग आशा लाग्दो ढङ्गमा काम गरिरहनुभएको छ । पछिल्लो समयका युवा समालोचकहरूले पनि अलिकति नयाँपन, अलिक फरक प्रकारले, अलिकति ताजा किसिमले हेर्ने कोसिस गरिरहनुभएको छ । त्यसो हुँदा समालोचनाको भविष्य त्यति निराशाजनक पनि पक्कै छैन र यो विधा त्यति पछाडि छोडिन्छ भन्ने पनि लाग्दैन कवि सुब्बालाई । यति हो सिर्जनाको तुलना गर्दा समालोचना त्यति भएको छैन भन्ने उहाँको गुनासो मात्र हो ।
नेपाल र भारतीय नेपाली साहित्यबिचमा एउटा राजनीतिक पर्खाल छ । जसले गर्दा नेपाली साहित्य र भारतीय नेपाली साहित्यका बिचमा एक किसिमको दूरी पनि भोग्दै आउनुपरेको छ । चाहे त्यो कृति आदनप्रदान गर्ने कुरामा होस् अथवा अन्य कुरामा र यो लामो समयदेखि भोग्दै आएको समस्या हो । नेपालमा प्रकाशित चर्चित पुस्तकहरू जसोतसो भारतीय नेपाली साहित्यको भूमिका पुग्ने गरेको छ तर त्यता प्रकाशित पुस्तक भने तुलनात्मक रूपमा एकदमै कम मात्रामा नेपाल भित्रिने गरेका छन् । त्यहाँ प्रकाशित पुस्तकहरू नेपालका अधिकांश पाठकहरूले पढेकै हुँदैनन् । यसो हुनुमा राजनीतिक सिमानाले त काम गरेको छ नै साथमा प्रकाशकहरूले पनि त्यसमा खासै ध्यान नदिएको गुनासो गर्नुहुन्छ कवि सुब्बा । यो कुरा दुई देशको वाणिज्य नीति भएका कारण पनि कि त प्रकाशकहरूले कुनै माध्यम लगाएर कि त राजनीतिक माध्यममार्फत अथवा कुनै सरकारी निकायहरूमार्फत पुस्तक आदनप्रदानको काम गरिनुपर्ने सुझाब पनि उहाँ दिनुहुन्छ । हुन त पछिल्लो समय साङ्ग्रिला बुक्स, फाइन प्रिन्ट, सम्बोधन प्रकाशन लगायतले एक अर्कासँग सहकार्य गरेर आआफ्ना प्रकाशन हाउसबाट प्राकाशित कृतिहरूलाई दुई देशका पाठकसमक्ष पुऱ्याउने काम गर्दै आएका छन् । यसले लेखक तथा पाठकहरूमा केही आशा जगाउने काम पक्कै पनि गरेको छ र यसमा अन्य प्रकाशकहरूको पनि ध्यान पुग्नु जरुरी देखिन्छ ।
कवितालाई सधैँ रहस्यको विधाका रूपमा लिने कवि सुब्बा कविताले आफूलाई सधैँ थिचिरहेको र आफू पनि कवितामै खिचिएको महसुस गर्नुहुन्छ । उहाँको जीवनमा कविता ढुकढुकी भएर छातीमा सधैँ स्पन्दित भइरहन्छ । न त कविताले उहाँलाई छोड्यो न त उहाँले नै कवितलाई छोड्न सक्नुभयो । यसकारण पनि उहाँका कविताका मात्रै १० ओटा कृति बजारमा आइसकेका छन् । त्यसमा एउटा कवितासङ्ग्रह भने उहाँका अन्य सङ्ग्रहमा प्रकाशित कविताहरूमध्ये प्रतिनिधि कविताहरूको सङ्ग्रह हो । यति हुँदा पनि कविता के हो भनेर एक वाक्यमा भन्न नसकिने अथवा कवितालाई कुनै परिभषामा बाँध्न भने नसकिने उहाँको लामो अनुभवले बताउँछ । यति हो जे अनुभूति गरिन्छ त्यो अनुभूतिलाई हाम्रो चेतनाले कसरी प्रस्तुत गर्छ भन्ने कुरामा कविता बन्ने नबन्ने निर्भर रहन्छ । हाम्रो चेतनामा जुन कुरा झिलिक्क बलिरहेको हुन्छ अथवा कहिलेकाहीँ बल्छ त्यो झिलिक्क बलेको कुराले मनमा जुन किसिमको एउटा तरङ्ग उत्पन्न गराउँछ र त्यो तरङ्गित भएको कुरालाई जुन किसिमले अभिव्यक्ति दिइन्छ त्यो नै कविताको मूल प्राण हो भन्ने उहाँलाई लाग्दछ । एउटा निबन्धकारले पनि कविताको अनुभूति गरेको हुन सक्छ तर उसले त्यो अनुभूतिलाई कवितामा नलेखेर निबन्धको रूप दिन्छ । त्यसै गरी एउटा कथाकारले पनि त्यही अनुभूतिलाई कथाको रूपमा व्यक्त गर्ला । त्यति वेला त्यो कविता हुन सक्दैन । त्यहाँभित्र कवितात्मक केही तत्त्वहरू झल्याकझुलुक अवश्य देखिन सक्छ, कविताको तत्त्व पसेको हुन सक्छ तर कविता नै भएर प्रस्तुत हुनु त्यो अर्कै कुरा हो । यसले गर्दा कविताको सबैभन्दा ठुलो कुरो भनेको शाब्दिक कला अर्थात् कलाको एउटा विशिष्ट रूप हो भन्ने कवि सुब्बाको बुझाइ छ ।
नौ ओटा कवितासङ्ग्रहसम्म आइपुग्दा कवि सुब्बा हरेक सङ्ग्रहमा हरेक पटक नयाँ ढङ्गले प्रस्तुत हुनुभएको पाइन्छ । उहाँ एउटै शैलीमा अडिएर बस्ने कवि होइनन् भनेर समालोचकहरू बताउँछन् । हरेक पटक उहाँले पाठकलाई नयाँ खुराक पस्कने कोसिस मात्रै गर्नु भएन त्यो गरेर पनि देखाउनुभएको छ । एउटा कवितासङ्ग्रह पढिसक्दा लेखकप्रति पाठकहरूको जुन किसिमको धारणा बनिसकेको हुन्छ त्यो धारणालाई भत्काउने गरी कवि सुब्बा अर्को सङ्ग्रहमा प्रस्तुत हुँदै आउनुभएको छ र यो प्रयास उहाँको जारी पनि छ । एउटा कविले अघिल्लो सङ्ग्रहकै प्रकारमा, त्यही परिपाटि र त्यही शैलीमा त्यही किसिमका कुराहरूलाई अर्को सङ्ग्रहमा पनि निरन्तरता दिन्छ भने अर्को सङ्ग्रह निकाल्नुको औचित्य नभएको उहाँको भनाइ छ । नयाँ सङ्ग्रह लिएर आउँदा स्वाद पनि नयाँ हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । कवि मात्रै नभएर हरेक विधाका सर्जकले समयको पदचापलाई सुन्न सक्नुपर्छ । समय कसरी हिँडिरहेको छ र समयको रफ्तार कस्तो किसिमको छ त्यसलाई पहिल्याउन सकेको खण्डमा हरेक पटक नयाँ कुरा पस्किन सम्भव हुन्छ ।
कवि सुब्बा हरेक पटक नयाँ खुराक दिने मामलामा माहिर छन् भन्ने कुरामा सहमति जनाउँदै अर्का कवि, प्राध्यापक तथा समालोचक महेश पौड्याल भन्नुहुन्छ, “मनप्रसाद सुब्बा कथ्य र शिल्प दुवै हिसाबले एक प्रयोगधर्मी कवि हुन् । उनी आफ्नै पनि कुनै कथ्य र शिल्पमा दोहोऱ्याएर प्रस्तुत भएनन् । पश्चिमा सिद्धान्तहरूका पनि राम्रा जानकार कवि सुब्बाले कुनै पनि नयाँ प्रयोगलाई यहाँ भित्रनुपूर्व नै महसुस गरे र आफ्ना समकक्षीहरूभन्दा एक कदम अगाडि रहेरै सोचे । उत्तरआधुनिक चिन्तनको प्रयोग पक्ष होस् अथवा किनाराकृतहरूको अधिकारलाई नेपाली कविताको मूल प्रवाहमा समेट्ने पक्षमा होस्, कवि सुब्बा सधैँ अगाडि नै रहे । नौओटा कवितासङ्ग्रहमा आएका उनका विविध र प्रयोगशील कवितालाई जोडिराख्ने उनको विश्वदृष्टि भनेको मान्छेको संवेदना, अधिकार र मूल्य नै हो । जसको ह्रास सम्पूर्ण मानव सभ्यताका लागि एउटा गम्भीर चुनौती बनेको छ” । आफ्नो लेखनमा यस किसिमको स्वभाव देख्ने समालोचकहरूको त्यो दृष्टिलाई कवि सुब्बा सराहना गर्नुहुन्छ ।
एउटा कविले जुन किसिमको कविता लेखिरहेको छ, जुन शैलीका कविता लेखिरहेको छ र कुनै एउटा स्थान हासिल गरेको छ भने यदि कसैले त्यही बाटो र त्यही शैली अपनाएर कविता लेख्यो भने ऊ त्यो कविजस्तै अग्लो बन्ने सम्भावना रहन्छ कि रहँदैन होला भन्ने मेरो एउटा जिज्ञासा रहन्छ मनमा वेला-वेला । कतिपय अवस्थामा आफू कसैबाट प्रभावित भएका वेला उसकै जस्तो शैलीमा अरूले पनि सिर्जना गर्ने परिपाटि पनि नभएको पक्कै होइन । कवितामा पछिल्लो पुस्ताका धेरैले कवि नवराज पराजुलीलाई पछ्याएजस्तो । तर कवि सुब्बा मुस्कुराउँदै भन्नुहुन्छ, अनुकरण भनेको अनुकरण नै हुन्छ । जति गरे पनि त्यो कहिल्यै मौलिक हुन सक्दैन । त्यसकारण अरूको प्रभावबाट सकेसम्म बचेर कलम चलाउनुपर्छ । हरेक व्यक्तिको आफ्नो अनुहार हुन्छ, आफ्नै स्वर हुन्छ । यसकारण उसको अभिव्यक्ति पनि आफ्नो निजी अनुहार र निजी स्वरजस्तो हुनुपर्छ । कसैको प्रभावमा पर्नु त्यो एउटा कुरा हो । त्यसलाई केवल प्रेरणाका रूपमा लिनुपर्छ भन्ने उहाँको सुझाव पनि छ । फेरि अग्रज पुस्ताबाट मात्रै प्रभावित भइन्छ भन्ने हुँदैन । कहिलेकाहीँ समकालीन त कहिले अनुज पुस्ताबाट पनि प्रभावित भएका थुप्रै घटनाहरू छन् । ती सबै प्रभावलाई प्रेरणाको स्रोतको रूपमा लिएर नयाँ केही दिने कोसिस गरिएको खण्डमा पक्कै पनि आफ्नो पनि र साहित्यको पनि गति अगाडि बढ्ला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।