(१३ जुलाई १९४४ देखि ९ अप्रिल १९४६ सम्म मास्टर मित्रसेन र १ अक्टोबर १९४४ देखि ९ अप्रिल १९४४ सम्म दिग्विजय सेनबाट लिखित डायरी । आज अर्थात् २९ डिसेम्बर, मित्रसेनकाे १२७ औँ जन्मजयन्ती मनाइँदै छ ।)
आफ्नो जीवनको धेरैजसो भाग देशी वा गोर्खाली जनताको सेवामा बिताएपछि १३ जुलाई १९४४ को दिन दाडी गाउँ, धर्मशाला (भाग्सू) जिल्ला काँगडामा मैले आफ्नो बाँकी जीवन “गोर्खा सत्सङ्ग प्रचारिणी सभा ” लाई समर्पित गर्ने फैसला गरेँ । यो सभाको स्थापना पनि आजै त्यहाँ गरियो । सभाका प्रमुख कार्यकर्ताहरूमध्ये कप्तान बहादुरसिंह बराल, मास्टर नत्थुराम बी.ए.बी.टी., पेन्सनर जम्दार रामकृष्ण, थानेदार दुर्गासिंह, पेन्सनर सुबेदार दयारामज्यू बैठकमा उपस्थित हुनुहुन्थ्यो ।
प्रतिज्ञा त भयो तर केटाकेटीले गरेको कुराझैँ पो हुने हो की भन्ने डर पनि मनमा उत्पन्न भयो । एकापट्टि परिवारको निर्वाह र अर्कापट्टि समाजसेवाको उत्कट अभिलाषाले मन विचलित हुन थाल्यो तर परमात्मामा मेरो अटल विश्वास रहेको हुँदा र निःस्वार्थ भावनाले समाजको सेवा गर्ने दृढ अठोटले गर्दा के खाउँला, के लाउँला भन्ने चिन्तालाई परित्याग गरी म समाजसेवाको सत्यमार्गतर्फ नै लागेँ । सभाका कार्यकर्ता भलादमीहरूलाई पनि यही नै चिन्ता रहेको रहेछ । अघि-अघि पनि धर्म प्रचारको काम गर्दै रहन्थे तर त्यस वेला त केही न केही आम्दानीको बाटो राखेकै थिए । एक सानो पसल (दोकान) गाउँ तातोरानी (भाग्सू) मा उहिले बाबुकै पालादेखि चलाउँथे र निर्वाह राम्रै गरी भएकै थियो तर आजभोलिको विश्वव्यापी युद्धले गर्दा रेलवेले माल बुक नगर्ने, खोजेको माल वेलामा नपाइने, कहिले कतै अलिकति माल पाए तापनि साह्रै महँगो पाइने, सरकारले भने यस दरभन्दा बढ्ता दाम कसैले लिने छैन भनी धेरै चिजको दरभाउ बाँधिदिएको, आफूलाई चैँ त्यो भाउमा नपुग्ने । साह्रै अप्ठ्यारो पर्न गयो अन्त पसलको काम बन्द गर्न बाध्य भएँ ।
कसैसँग केही नलिई आफ्नो भिन्दै सात्त्विक कमाइ गरी परिवार निर्वाह गर्ने अनि बाचेको समयमा जनताको सेवा गर्ने मेरो विचार तर यस विचारलाई पूरा हुन नदिने एउटा अर्को कारण पनि थियो- म सन् १९४० को श्रावण मासदेखि रोग ग्रस्त भएको बल्- बल्ल यस साल (सन् १९४४) मा बिरामीले अलिकति छोडेको छ तर पूर्ण रोग नाश नहुनाले शरीर साह्रै निर्बल छ । कुनै प्रकारको सात्त्विक कमाइ गर्न सक्ने बल शरीरमा छैन । अतः सभाको निर्णयअनुसार समाजकै माथि परिवारको भार थोपी, नाम मात्रको, ढाँट स्वयंसेवक हुन स्वीकार गरेँ । छिः छिः कति नसुहाउँदो कुरा गर्दै छु, कति ठुलो आत्मघात म गर्दै छु । यस्तो आत्मग्लानि लिएर मैले सभाको कारबाही बहीमा हस्ताक्षर गरिदिएँ । सभाको तर्फबाट मलाई सर्वप्रथम नौतुना गएर प्रचार गर्नू भन्ने हुकुम भयो । आदेश पाउनासाथ घरादिको बन्दोबस्त मिलाई परिवारसहित नौतुना जान तयार भएँ । घर अनि दोकान दुवै २२ रुपियाँ मासिक किरायामा दिएँ, त्यस किरायाबाट १५० रुपियाँ लिएँ, डेढ सयजति रुपियाँ मैले ऋण पनि तिर्नु थियो । अतः बाटो खर्च पुग्दैन कि भनी मैले १८ जुलाईमा एक पत्र कप्तान साहेब बहादुरसिंह बरालज्यूका हजुरमा पठाएँ । “पुग नपुग बाटो खर्चका लागि १०० रुपियाँको सहायता गर्नुहोस् ।” आश थियो कप्तान साहेबले अवश्य रुपियाँ पठाइदिनुहुनेछ तर २७-७-४४ को दुई बजेसम्म बाटो हेर्दा पनि रुपियाँ आइपुगेन । मनमा अनेक कुराहरू खेल्न थाल्यो । मैले भने १-८-४४ देखि घर अर्कैलाई किरायामा दिइसकेको, पहिला अगस्टको बिहानै घर अवश्य छोड्नु थियो तर बाटो खर्चलाई कसो गरूँ ? ऋण नदिऊँ भने पनि नहुने । ऋण दिऊँ भने बाटो खर्च नपुग्ने । केकति कारणले कप्तान साहेबले रुपियाँ पठाउनु भएन ? उहाँले त वचन दिनुभएको थियो – “जहिलेसम्म सत्सङ्ग प्रचारिणी सभामा धन एकत्र भएको छैन, म पूरा गरुँला ।” उनकै आशाभरोसामा मैले यो कार्यभार उठाउने निश्चय गरेको थिएँ; किनभने आज १५-२० वर्षदेखि ठाउँठाउँ गोर्खाली संसारमा प्रचार गरी हिँड्दा, अन्तरात्माले जातिको हित चिताउने अनि जातिका लागि तन-मन-धन सबै अर्पण गरी कर्तव्य क्षेत्रमा हामफाल्ने जातिप्रेमीहरू मैले कप्तान साहेब बहादुरसिंह बराललाई भेटाइको थिएँ ।
तर २८-७-४४ सम्म पनि न केही पत्र आयो न रुपियाँ । के कप्तान साहेबले आफ्नो विचार अर्कै गर्नु भएर हो कि ? तुरुन्तै एउटा एक्स्प्रेस तार २८ जुलाईको तीन बजेमा धर्मशाला छाउनीको तारघरबाट पठाएँ, “पहिला अगस्टमा हिँड्ने विचार छ हजुरको के आज्ञा छ ।” जसको उत्तर २९-७-४४ को तीन बजेमा “हुन्छ आऊ” भन्ने तारद्वारा पाएँ । त्यो तार नपाऊँदासम्म त अब अघिकै झैँ स्वतन्त्र प्रचार गर्नुपर्यो भनी ठाउँ-ठाउँको प्रोग्राम बनाउँदै थिएँ । सो तार हात पर्दा मन ढुक्क भयो; प्रोग्राम त नौतुनैको भयो, तर खर्च कसो गर्ने ? साहूको ऋणपछि तिरुँला भन्ने निश्चय गरी १ अगस्टको बिहान साढे आठ बजे डाकमोटरमा पानीले भिज्दै घर छाडी हिँड्यौ । गग्गल-शाहपुर-कोटला सबै ठाउँमा पानी झमाझम पर्दै थियो । मोटरको छानामा राखेको सामानमाथि त्रिपाल ओढाइएको थियो तर पूरा नछोपिएको हुनाले असबाब सब भिजिसकेको थियो । भाल्ली भन्ने ठाउँबाट कोटलासम्म त झन् मोटर पाँच माइल प्रतिघण्टाको हिसाबले हिँड्न लाग्यो । ठाउँ-ठाउँमा पहिरो गएर सडकै थुन्निएको, डाँडाहरूका खोल्चाखोल्चीको भल जम्मै सडकको माझमा बगिरहेको थियो; मानो सडक के थियो ? एक खासा ठुलो खोलाझैँ थियो । जसोतसो गरी चक्की नदी पार भयौँ; बल्ल पानी पनि थामियो । झन्डै दुई बजेतिर हामी पठानकोटको रेल स्टेसननेर आइपुग्यौँ । रेलैको बाटो जाऔँ भनी मैले स्टेसनैमा असबाब उतार्न लगाएँ । हत्तपत्त टिकेट बाबुकामा गएर टिकट मागेँ । टिकट दिने समय भएको छैन भनी भन्यो तर दुनियाँ लोभी छन्, दुई-चार पैसा अप्ठ्यारो परेका परदेशीबाट फुत्काउनका लागि पनि अहिले समय भएको छैन भनी भन्दछन् । सो कुरा विचार गरी तिनीहरूलाई पान-फुलका लागि भिन्दै भेटी चढाएँ र बल्ल चार टिकेट पठानकोटदेखि गोरखपुर सम्मको ८३ रुपियाँ १२ आना खर्च गरी इन्टर किलासको लिएँ । थर्ड किलासको टिकट लिएर मजस्तो रोगीले सफर गर्नु आजभोलि साह्रै कठिन छ । भित्र ठाउँ नपाएर झुन्डिएर मुसाफिरहरू सफल गर्छन् ।
रेलमा ठाउँ नपाएर तीन-चार दिनसम्म स्टेसनमा मानिसहरू थुप्रिएका देखिए । माराकुटी घुचेटा-घुचेटमा निर्बल मानिसहरू कसरी सफर गर्न सक्छ ? भएन भनेर सँगमा मेरी स्त्री अनि ८५ वर्ष पुगेकी वृद्ध महातारी पनि हुनुहुन्थ्यो । हुल त आजभोलि सबै किलासमा हुन्छ तर इन्टर किलासमा पढेलेखेका भलादमीहरू नै धेरै हुन्छन्; अलि मारकुट घुचेटा-घुचेट हुँदैन । बस्ने ठाउँ नपाए पनि उभिने ठाउँ त अवश्य पाइन्छ । यस्तो विचार गरी इन्टर किलासको टिकट लिन करै लाग्यो । टिकट लिएर माल बुक गराउन भनी गएँ । त्यहाँ पनि बाबुले आलेटाले कुरा गर्न थाल्यो । यसले खोजेकै हो भन्ने ठानी त्यसलाई पनि भेटी चढाएँ । भेटी पाउन साथ झट्टै माल जोखजाख पारी बिल्टी काटी हातमा थमायो । जम्मै कुरा ठिकठाक पार्दा मलाई रुपियाँ पाँच बेसी खर्च गर्नुपर्यो । यताउता सोधपुछ गर्दा थाहा भयो कि एक डब्बा (कोच) तीन बजेमा पठानकोटबाट अमृतसर जान्छ, पाँच बजे अमृतसर पुग्छ र सात बजेर चालिस मिनेटमा अर्को रेल अमृतसर-हावडा मेल छुट्छ तर त्यसमा साह्रै हुल हुन्छ । हुल भए पनि जसोतसो यसै डब्बामा जाऊँ भन्ने निश्चय भयो । डब्बा आइपुग्यो । कस्तो हुल थियो, मलाई यहाँ वर्णन गर्न पनि गाह्रै छ । एक खासा मल्ल युद्ध मचियो, वृद्ध महतारीलाई लिईकन त्यस घचारोमा कसरी पसूँ, म आफैँ कमजोर । कोही भित्रबाट बाहिर झर्ने, कोही बाहिरबाट भित्र चढ्न खोज्ने; रेल डब्बाको ढोकामा ठ्याम्मै बुजो लागेजस्तो भयो । न बाहिरको भित्र पस्न सक्ने न भित्रको बाहिर आउने सक्ने; यस्तै सङ्घर्षमा हामी पनि जुझ्दै थियौँ । यत्तिकैमा एउटा पुलिसको सिपाही आएर ढोकामा उभियो र पहिले भित्रका मुसाफिरहरूलाई बाहिर उतारेर, बाहिरकालाई भित्र चढायो । त्यस्ता गर्नाले घचारो भए तापनि मानिसहरूले ठाउँ पाइहाले । रेलगाडी पाँच बजे अमृतसर पुग्यो । वहाँ फेरि उस्तै धक्कापेल सुरु भयो । त्यस घचारोमा च्यापिएर प्राण निस्किन्छ क्यारे भनेझैँ भयो । बुढी माउलाई जोगाउनु कठिन पर्यो । बलिया मानिसहरू त टाउको-टाउकोमा टेक्नेझैँ गरी फाल काट्न लागे । न ओर्लिन सक्ने न आफ्नो ठाउँमा फर्किन सक्ने । बल्ल-बल्ल फर्किने बाटो पाएर आफ्नै ठाउँमा गएर बस्यौँ । आठ-दस मिनेटपछि घचारो अलि कम्ती भयो र घचेटघचाट पारेर बाहिर निस्क्यौँ ।
पहिले हाम्रो सल्लाह थियो लुक्सरसम्म यसै गाडी (कलकत्ता मेल) मा गएर त्यहाँदेखि हरिद्वार जाऊँ, आमालाई सँगमा ल्याउने मुख्य कारण पनि दुई-चार तीर्थ घुमाइदिऊँ भन्ने थियो तर त्यस घचाराले गर्दा आमाको मन फेरियो । भयो, पछि फर्कँदा सुबिस्ता पर्यो भने हरिद्वार स्नान गरुँला, अहिले चाहिँ सोझै जाऔँ, काशी जान पाइयो भने हरिद्वारको महात्म्य पनि भइहाल्छ । अन्त यही निर्णय भए र सोझै लखनऊ उत्रियौँ । राति दस बजे गोरखपुरको गाडी चढी ३ तारिखको बिहान ७ बजे गोरखपुर पुग्यौँ । कप्तान बराल साहेबको दर्शन भयो अनि थाहा भयो कि उहाँले १४-७-४४ मा १०० रुपियाँ मनि आर्डर गरेर पठाइदिनुभएको रहेछ । तर कुन्नि के कारण पर्यो पैसा चाहिँ मेरो हात परेन । माल असबाब नआइपुगेको हुनाले तीन दिन कप्तान साहबकै पाहुना भएर बस्यौँ । ५ तारिख साँझको गाडीमा बसी राति डेढ-दुई बजे नौतुना पुग्यौँ । कप्तान कालुकहाँ हाम्रो डेराको बन्दोबस्त रहेछ । त्यहाँ पुगी रात बितायौँ । बिहान भयो, सुबेदार साहेब गिरधारी विष्ट जो त्यहाँ एसिस्टेन्ट रैकरुटिङ अफिसरको काम गर्दै हुनुहुन्थ्यो, आउनु\भयो अनि उहाँले राशनपानी इत्यादिको बन्दोबस्त मिलाइदिनुभयो । १० अगस्ट १९४४ (बिहीबार) मा सत्सङ्गको पहिलो कार्यक्रम नौतुनामा राखियो । ११ अगस्ट (शुक्रबार) कृष्ण-जन्माष्टमीको उत्सवमा भाग लिनका लागि निम्त्याइएको हुनाले म र मेरो छोरो दिग्विजयसेन कुँडाघाट (गोरखपुर) मा गयौँ । राति नौ बजेदेखि साढे बाह्र बजेसम्म काली मन्दिरमा धुमधामसँगले कथा-वार्ता-भजन-गायन गर्ने अवसर पायौँ । बिहानैको गाडीमा नौतुना फर्किने विचार थियो तर कुँडाघाटका जनताहरू मानेनन् । १२ अगस्टको दिन दुई बजेदेखि साढे चार बजेसम्म स्कुल भवनमा अनि साँझ सात बजेदेखि नौ बजेसम्म हेडक्लर्क जमादर साहेबको घरमा सत्सङ्ग प्रचारको कार्यक्रम साजसङ्गीतको साथमा सम्पन्न गरियो । १३ अगस्ट (आइतबार) मा पनि यस्तै प्रकारको प्रोग्राम दिनभरि चलि नै रह्यो । मेरो भने आङको लुगा पसिनाले डुङडुङती गनाउन थाल्यो । कुँडाघाटका गोर्खाली जनताले पचास रुपियाँ सत्सङ्ग प्रचारिणी सभालाई दान गरे । १४ अगस्टको बिहानै रेलगाडीमा बसी डेढ बजे दिउँसो नौतुना फिर्ता पुग्यौँ । अति बिसन्चो हुनाले दुई दिन आराम गरी १६ अगस्टदेखि फेरि सत्सङ्ग प्रचार कार्यक्रम नियमित पाराले सुरु भयो । हर आइतबार अनि बिहीबारमा बिहान ८ बजेदेखि १० बजेसम्म सत्सङ्ग (ढोगभेट) प्रोग्राम हुन्थ्यो, बाँकी दिनको प्रचार कार्यक्रम बेलुकी पाँच बजेदेखि सात साढे सात बजेसम्म हुन्थ्यो ।
अब नौतुनाको अलिकति परिचय दिन जरुरी सम्झन्छु । विशेष गरी पश्चिम खण्डको गोर्खाली लाहुरे अनि पेन्सनेहरूको पहाड आउनेजाने ठुलो गौँडा नौतुना हो । हामीले यसलाई “नौतुना” भन्छौँ; यो अङ्ग्रेजी राज्यभित्र एउटा सानो सहरका रूपमा छ । त्यहाँ रेलको आखिरी स्टेसन छ । नौतुनाबाट झन्डै नौ कोस टाढामा बटौली भन्ने एउटा नगर पहाडको घ्याँचमा तिन्हुँ खोलाको छेउमा बसेको छ । त्यहाँबाट अङ्ग्रेजी राज्य सकिएर नेपाल राज्य सुरु हुन्छ । हुन त नौतुना अङ्ग्रेजी राज्यमा छ तर अङ्ग्रेजीले जस्तो अरू ठाउँमा बन्दोबस्त मिलाएर राखेको छ, त्यस्तो बन्दोबस्त नौतुनामा मिलाएको झैँ बुझिएन । यहाँ लाख रुपियाँको व्यापार हुन्छ । धनी-धनी मारवाडी सेठहरू यहाँ व्यापार गर्दछन्, नगर पनि ठुलै छ, तर कोही अड्डा अदालत अथवा थाना पुलिस यहाँ छैन । सिर्फ दुई-तीन जना पुलिसे सिपाही बस्दछन् । यो नौतुना शासक नभएको प्रदेशजस्तो छ । जसलाई जे मन पर्यो उही गर्दै छन् । केही दरभाउ निश्चित छैन । एक रुपियाँको माल छ सात रुपियाँको दरमा लाटोसुधो लाहुरेहरूलाई बिक्री गरेका छन् । दोकानदार (पसलेहरू) यति अहङ्कारी ठुला भएका छन् कि सितिमिती बाहिरका मानिसहरूसँग कुराकानी पनि गर्न मन पराउँदैनन् । लाहुरेहरूलाई मात्र आउनुहोस्, बस्नुहोस् भनी फस्ल्याङफुस्लुङ पारी अनीतिको कमाइले आफ्नो ढुकुटी भर्दै छन्, कसैको डर रत्तीभर छैन । यहाँ न सरकारको डर न परमात्माको भय । यस्ता आफूपन्थे नास्तिक, सुनचाँदीका पुजारीहरू मात्र नौतुनामा देखियो ।
अन्दाजी एक सय गोर्खालीहरू होटल खोली भट्टी थापी बसेका छन् । यिनीहरूले देशतर्फ जाने अनि छुट्टी पेन्शनमा पहाडतिर फर्कने गोर्खालीहरूलाई भातरोटी पकाएर ख्वाउँछन् । परदेशीलाई भात पकाएर ख्वाउनु अनि मुनासिब दाम लिनु असल कुरा हो; धर्मको धर्म हुने अनि धनको धन पाइहाल्ने । तर यहाँ अर्कै जंगली चाल देखियो । हरेक भट्टीमा डम्फु-मादल साथै तरुनी आइमाईहरूको चडक-भडक छ । उनैका हातबाट रक्सी ख्वाई लाहुरेहरूलाई जोशमा ल्याउँछन्, अनेक प्रकारको छाँट झिकी मखौल ठट्टा गर्दै गीतमा ताना बाना मार्दै मनलाई विषय वासना तिर तान्छन् र एकै रातमा एक लाहुरेबाट काफी ज्यादा रुपियाँ फुत्काउँछन् । प्रत्येक भट्टीमा दस पन्द्रह लाहुरेहरू त कम से कम बसेकै भेट्छौं । यश हिसाबले एक मामुली भन्दा मामुली भट्टीवालाले एक रातमा कम्ति भनेको तीन सयजति रुपियाँ लाहुरेहरूबाट खसाल्छन् । ओहो कस्तो अनीति, कस्तो अधर्म सय ठाउँमा चलेको छ ।
२४ अगस्ट १९४४ को राति साह्रै गर्मी हुनाले म राम्ररी निदाउन पाइनँ; अढाई बजे रातदेखिन् हरेक होटलवालाले आआफ्ना झोलामा पाँच-छ बोतल हाली हातमा टर्च बत्ती वा लाल्टिन लिएर गल्याङगुलुङ कुरा गर्दै बिहानसम्म रक्सी ओसारेको नजारा मैले कहिले पनि भुल्ने छैन । रातभरि भट्टी-भट्टीमा मादल बज्दै थियो । बिहानीपख मोटरभित्र लाहुरेहरू अटाई-नअटाई अनि छानामाथि पन्ध्र-बिस जना बसेका थिए । माल बोक्ने लारीले पनि लाहुरेहरूलाई धमाधम ओसार्दै थियो । विश्वयुद्धका वेला आजभोलि लाहुरेहरूको ओहोरदोहोर खुबै तेज भएको छ । रोजै इस्पेसल गाडीले पाँच सात सय गोर्खाली जवानलाई गोरखपुर पुर्याउने अनि त्यहाँबाट ठाउँ-ठाउँ पल्टनहरूमा लैजाने गर्दै छ । लाउरेहरूका पासमा रुपियाँ पैसाको कमी छैन । हजार-बाह्र सय त जाबो एउटा मामुली सिपाहीले छुट्टीमा जाँदा बोकेकै हुन्छ । कति तरुनीहरू त मोटर अड्डासम्म लाहुरेहरूका पछि-पछि गई कसैको लाज नमानी लाहुरेहरूसँग हात हाली चल्दछन् अनि पाँच दस फुत्काएर ल्याउँछन् । कति आइमाईले राति बिचेत भएका लाहुरेहरूका जम्मै रुपियाँ झिकेर लुकाइदिन्छन् र ती बरा घरमा पनि नगई त्यहाँबाट छाउनीतिर रित्तै फर्कन्छन् । बटौलीतिर त कति लाहुरेहरूलाई भट्टीवालाले लुटपिट गरी प्राण समेत हरेर राति जङ्गलमा फालेर आउँछन् भन्छन् । यस विषयमा कुनै नौतुना निवासी भलादमीसँग कुरा गर्यो भने यस्ता-यस्ता डरलाग्दा कुराहरू सुनाउँछन् कि यो आङ त्यसै जिरिङ्ग भएर आउँछ । हामी सर्वत्र नाम पाएका बहादुर र इमानदार गोर्खाली हौँ भन्ने कुरा त यहाँ छँदै छैन । जातिको गौरव भन्ने के हो कसैले बुझेको छैन । कति जना तरुनीहरू मधिसेसँग अँगालो मारी बजार-बजार डुल्छन् । कति जना गोर्खालीहरूले यहाँ आइमाई बेच्ने काम पनि गर्दछन् भनी थाहा भयो ।
पहाड घरतर्फ गई, रुपियाँ पैसाको लोभ र झिलिमिली लुगालत्ता देखाई लाटीसुधी केटीहरूलाई फस्ल्याङफुस्लुङ पारी साथमा लिएर आउँछन् अनि टाढा-टाढा मधेसमा लगेर बेचिदिन्छन् । उहिले-उहिले म पञ्जाबका जम्मै सहर गाउँमा धर्मप्रचार निमित्त डुल्ने गर्थेँ । प्रत्येक सानोभन्दा सानो नगर अनि गाउँमा पनि दुई चार जना गोर्खाली आइमाई पन्जाबिनी भएर बसेकी मैले आफ्नै आँखाले देखेँ । मनैमनमा साह्रै दुःखित भएर विचार गर्थेँ कि यतिका धेरै गोर्खाली आइमाईहरू कसरी यति टाढा यहाँ छापिनु आइपुगे ? आज नौतुनाको हालचाल देख्दा अनि सुन्दा नबुझेका कुराहरू बल्ल बुझेँ । नौतुना मात्र होइन यस प्रकार घिनलाग्दो व्यापारका अड्डा रक्सौल वीरगन्ज इत्यादि ठाउँहरूमा पनि रहेछन् भनी मैले चाल पाएको छु ।
नेपाल सरकारले कुनै तरुनी आइमाईलाई विनाजाँचको मधेसतर्फ जान नदिनु भन्ने कडा हुकुम जारी गरेको छ । सबै अड्डा चौकीहरूमा रोकथाम हुन्छ । तर पनि यी आइमाईहरूलाई कसरी कुन बाटो निस्काएर लैजान्छन् ? ती जातफाली दुःख पाएकी आइमाईहरूसँग मैले त्यहाँ (पञ्जाबमा) भेटेर कुरा गर्ने धेरैपटक कोसिस गरेँ तर ती आइमाईहरूलाई जसै थाहा हुन्थ्यो कि यो गोर्खाली हो, एकदम लुकी जान्थे, सामने पर्दैनथे । म दङ्ग पर्थेँ, म त झन् आफ्नै दिदीबहिनी भनेर मायाँले कुरा गर्न खोज्थेँ तर उनीहरू मलाई देखी भाग्ने किन ? धेरै वर्षपछि आज त्यसको अर्थ पनि बुझ्न सकेँ । तिनीहरूको श्रद्धा-विश्वास-मायाँ-प्रेम गोर्खालीप्रति रित्तिइसकेको थियो । तिनीहरूको हृदयले गोर्खालीलाई सायद यसरी धिक्कारिरहन्थ्यो होला “हे नीच पापी! स्वास्नीबेचुवा गोर्खाली जाति, हामी गरिब अवलालाई धोकामा पारी हाम्रो जीवनलाई सधैँका लागि नाश पारिदियौ- अब कौन मुखले हामीसँग कुरा गर्न आएको ? जाऊ, हामी दुःखी छौँ वा सुखी, हाम्रो सोधपुछ गर्नु पर्दैन । हाम्रो घर, इष्टमित्र, दिदीबहिनी, आमाबाबुसँग सधैँका लागि छुट्याई विदेशमा थुनुवा बनाउने नीच गोर्खाली हो, जाऊ हामी तिमीहरूको मुख हेर्दैनौं ।“
नौतुनामा गोर्खालीको यस्तो नजाती अवस्था देखेर जाति हितैषी कप्तान साहेब बहादुरसिंह बरालको मनमा साह्रै दुःख लाग्यो र उहाँले केही समय अघिदेखि नै यहाँ सत्सङ्ग (ढोग) को साप्ताहिक कार्यक्रमद्वारा समाज सुधारको काम थाल्नुभएको रहेछ । त्यस सत्सङ्गको प्रभावले गर्दा रुपियाँमा एक या दुई आना सुधार अवश्य भएको होला जस्तो लाग्छ । जहिलेसम्म कप्तान साहेबले नौतुनामा रेकरुटिङ अफिसरको काम गर्दै रहनुभयो उहिलेसम्म नौतुनामा काफी राम्रो सुधार हुँदै गयो । कप्तान साहेब यहाँबाट बदली भएर कुँडाघाट (गोरखपुर) जानुभएउप्रान्त आजभोलि सुबेदार साहब गिरधारी विष्टले कप्तान साहेबको पदभार सम्हाल्नुभएको छ । विष्ट साहेबले पनि सत्सङ्गको कार्यक्रमलाई झन् राम्रो ढङ्गले चलाइराख्नुभएको छ । यसै सत्सङ्ग प्रथालाई अझ बलियो बनाउन ससङ्गीत धर्मप्रचारको उद्देश्यले गोरखा सत्सङ्ग प्रचारिणी सभा धर्मशाला (भाग्सू) ले मलाई नौतुना खटाई पठाएको हो ।
सत्सङ्ग-भजनको नियमित कार्यक्रमबाहेक मैले यहाँ कथा पुराण-गायन गरेर सुनाउँदै अनेक प्रकारको धर्म उपदेश दृष्टान्त दिएर जनतालाई असल बाटोतार हिँडाउने कोसिस गर्दै छु तर संसारको एक छेउबाट अर्को छेउसम्म, पूर्वपश्चिम उत्तरदक्षिण कतै गएर हेरे पनि यस वर्तमान कालमा लोभ नभएको मानिस कहाँ-कता पाइएला ? सबैको मनमा एकैनासे लगन छ कि कुन सजिलोभन्दा सजिलो ढङ्गले म धेर भन्दा धेरै धन जम्मा पार्न सकूँ । अनपढ र दुष्ट भए तापनि यदि उसैको सँगमा धेरै धन छ भने उसले संसारमा मानप्रतिष्ठा पाएकै छ । समाज सुधारक विद्वान्हरूले पनि यस्तै उपदेश ठाउँ-ठाउँमा दिँदै हिँड्छन् । साँच्चै भनूँ भने उन्नतिको मूल जरो धनै रहेछ । धनले गर्दा युरोप र अमेरिकाका सम्पन्न जातिहरूले संसारमा कस्ता-कस्ता काम गरी देखाए अनि देखाउँदै छन् । धार्मिक गुरुहरूको पनि आजको समयमा यस्तै भनाइ छ, धन भएमा दान-पुण्य-तीर्थ-व्रत इत्यादि हुन सक्छ, परमात्माप्राप्तिका लागि पनि धनैको खाँचो छ । समस्त भूमण्डलमा पैसा खुबै कमाउने हो भन्ने प्रचार बढेको छ भने नौतुना निवासीले केही अर्घेलो काम गरेको त म देख्दैन । आआफ्ना योग्यताअनुसार यिनीहरूले पनि संसारको देखादेखीमा धन कमाउँदै छन् । रक्सी बेची कमाएको धन भनूँ भने रक्सी नबेच्ने जाति आज संसारमा को छ होला ? मैले पश्चिम एसिया र युरोपका सानाठुला धेरै सहरहरू घुमी राम्ररी देखेको छु । ती धनी देशहरूमा रक्सीको पसल गन्ती नगरी सक्नु छ । जता जाऊँ रक्सीकै पसल मात्रै छ, प्रत्येक पसलमा रक्सी बिक्री गर्ने तरुनी आइमाईहरू छन् । जस्तो हाम्रो नौतुनामा मादल डम्फु बजाएर गीत गाउँछन्, उस्तै प्रकार उहाँ पनि प्यानो-वायलिन साज बजाएर तरुनी तन्नेरीहरू सँगसँगै मिलेर नाचगान अनि खेल-ठट्टा-हाँसो गर्छन् ।
नौतुनामा केही अनौठो कुरा मैले देखिनँ, यदि धन कमाउँदामा केही पाप हुने रहेछ भने त्यसको उपाय पनि त हाम्रो समाजमा छँदै छ, सालमा एकपटक श्री सत्यनारायण भगवान्को पूजा गरेमा जम्मै पाप सजिलैसँगले पखालिन्छ ? जाऊ मित्रसेन नौतुना गएर सत्सङ्ग प्रचार गर भनी मलाई यहाँ खटाई पठाएको कुरा सत्य हो, तर नौतुनाको हालको अवस्थालाई देख्दा कस्तो प्रकारले समाजसुधारको कुरा यहाँको जनताको सामुन्ने राखूँ ? रक्सीको खण्डनमण्डन गर्ने कि नगर्ने ? लाहुरेहरूलाई लुटपिट नगर भन्ने कि चुपचाप लागी बस्ने ? मैले सुनाउँदै गरेको उपदेशको प्रभाव यहाँ असल पर्दै छ वा उल्टो ? मनमा अनेक प्रकारको चिन्ताशङ्का चली बस्छ । सबैमा धन जम्मा पार्ने इच्छा प्रबल छ- किनभने धनैमा शक्ति छ । हरेक मानिसले राम्रो लाऊँ, रेलमोटरमा सफर गरूँ, ठुलो घर बनाऊँ, जमिन जग्गा बढाऊँ, सन्तानलाई खुबै पढाऊँ, सभा समाजमा मान-इज्जत पाऊँ भन्ने चाहना गर्छ । यो प्रत्येक कुरा पूरा हुन सक्छ मात्र पैसाको शक्तिले । पैसा उपार्जनका निम्ति कसैले नोकरीचाकरी गर्दै छन्, कोही जमिनजग्गा कमाउँछन्, कति सौदाव्यापारपट्टि लागेका छन्, कोही चोरी डाँका गरेर अथवा धर्मकर्मका आडमा जीवन निर्वाह गर्नेछन् भने नौतुनावासीले आफ्नो धन उपार्जनको यस्तो सजिलो बाटो किन छोड्ने ? यो सत्सङ्ग (समाज सुधार) कार्यक्रमले केकति प्रभाव यहाँ पार्न सक्यो अथवा पार्न सक्छ अन्दाजा लगाउन अलिक गाह्रो छ तर हामी गोर्खाली हौँ भन्ने आत्मगौरव अब अलिअलि यहाँ जागेको जस्तो मलाई लाग्छ ।
३१ अगस्ट १९४४ (बिहीबार) मा नौतुनाको एक भागमा हाम्रो सत्सङ्ग प्रचार (जाति सुधार) कार्यक्रम समाप्त भयो । समाप्तिका दिन श्रद्धालु जनले सिदा लिएर आए । जम्मै सिदादि जम्मा पारेर अगिल्लो दिन हाम्रो डेरामा पुर्याइदिए । तीस-पैँतीस सेर चामल दुई छटाक मसला, बेसार, नुन र एक छटाक जति घिउ । यसबाहेक सत्सङ्ग प्रचारिणी सभालाई ३५० रुपियाँ दान प्राप्त भयो । हवलदार सेतु आलेले चाहिँ कुन्नि किन हो कति रोक्दा पनि सुरु दिनदेखिन् कहिले केही, कहिले केही सामान लिएर आउनुहुन्छ । मेरो आत्माभित्रको आवाजले भन्छ- मित्र सिदा लिने काम तैँले निको गरिनस् तर श्रद्धाले दिएको सिदापानीलाई निरादर गर्नु पनि त उचित ठहरिँदैन । हामी चार जना परिवारमा छौँ । बाहिरबाट हामीलाई कुनै प्रकारका आम्दानी छैन । दिनभरि जाति सुधारका कुराहरू कथा, कविता, निबन्ध, गीत, भजन आदि लेख्छु । साँझ प्रचारकार्यमा लागिरहन्छु । शरीर अझ राम्रो तङ्ग्रिएको छैन । यहाँ सौदा पत्ता साह्रै महँगो छ । मामुली मोटो चामल एक रुपियाँको एक सेर, घिउ रुपियाँको पाँच छटाक, तेल बाह्र छटाक, आँटो दुई सेर । गृहस्थमा सबै थोक चाहिँने । लुगाफाटा पनि सफा राख्नुपर्यो । सागतरकारी महँगो बेसाहमा मेरो पारिवारिक खर्च कम्तीमा भनेको ५० रुपियाँ मासिक त अवश्य होला । मेरा मित्र कप्तान बरालज्यू अनि सुबेदार विष्टज्यूले मेरो र मेरो परिवारका लागि सकेसम्म मदत गरि नै रहेका छन् ।
जातिसेवाले तप र त्यागको माग गर्छ तर यसभित्र एक अजिब किसिमको आनन्द पनि छ । यसै आनन्दको लोभले गर्दा राधा फिल्म कम्पनीको डाइरेक्टरको प्रलोभन-जालबाट म बाँच्न सकेँ । डेढ सय रुपियाँ मासिक र बस्ने घर फ्रि दिन्छौँ, कम्पनीमा काम गर भनी जोर हालेर भन्नुहुन्थ्यो । मैले चाहिँ मानिनँ । पोहोर साल लाहोर सनातन धर्म प्रतिनिधि सभाका मन्त्रीज्यूले, “सभामा आएर फेरि काम गर तपाईँलाई अघिभन्दा बढ्ता तलब दिनेछौँ” आग्रह गर्नुभो तर मैले “हुँदैन” भनी उत्तर दिएँ । यस्तै प्रकार मेरा कति जना धनीमानी देशी मित्रहरूले कतिपटक मलाई भनिसके, “तपाईँ हाम्रोमा आएर बस्नुहोस्, जमिनजग्गा, गाईभैँसी जम्मै गृहस्थका सरसरजाम मिलाइदिन्छौँ, आनन्द साथमा जीवन निर्वाह गर्नुहोस् र समय-समयमा धर्म प्रचार गरेर उपकारको काम पनि गर्नुहोस् ।” तर मैले त्यो सुझाउ पनि मानिनँ । मेरो लगन त आफ्नै जातितिर लागेको छ, कसरी म आफ्नो परिवारको सुखआनन्दको मात्र विचार गरूँ ? पैसा कमाउने इच्छा भएको भए म किन यो धर्मप्रचारको काम गरी हिँड्ने थिएँ ? आजभोलि यस महायुद्धमा खेर गएको लाटा-लुरे-लँगडे पनि जमदार-सुबदार भएका छन्, के म जाबो हवलदारसम्म पनि हुन सक्तिन थिएँ ? मेरा इष्टमित्रले पनि भनिरहन्छन्, “मास्टरले छोरालाई सपार्न सकेन । आफू धर्म प्रचारतिर लागे पनि छोरालाई त अङ्ग्रेजी तालिम पढाएर कतै जागिरे बनाउन पर्ने थियो । नभए पल्टनमा भर्ती गराइदिनुपर्ने थियो । यति समझदार मानिस भएर किन भूल गर्दै छन् ?” चारैतिरबाट आवाज उठ्दै छ । मैले छोरालाई `जस्तो तेरो विचारमा आउँछ उस्तै गर´ भनी स्वतन्त्र छोडेको छु तर उसले चाहिँ कसैको कुरा नसुनी, अनेक दुख अपमान सही, “म पनि जातिसेवा नै गर्छु” भनी अग्रसर भएको छ । भविष्यमा कहाँसम्म ऊ अड्न सक्छ । यस कुराको अड्कल गर्न गाह्रो छ किनभने यो धर्मप्रचारको बाटो साह्रै अप्ठ्यारो छ । यसमा अनेक प्रकारका कष्ट छन् । छोराको अहिले बुद्धि छिप्पिएको छैन, १९ वर्षको उमेर छ । अहिलेसम्म त ऊ आफ्नो योग्यताअनुसार काम गर्दै छ । यदि राम्रो सङ्गत रह्यो र जातिले उसको उत्साहलाई बढाउँदै गर्यो भने भविष्यमा राम्रै काम गर्ला ।
मैले जीवनभरि यात्रा नै गरेँ, ठाउँ-ठाउँमा धर्मप्रचार गरी हिँडेँ, तर यस्तो यात्रापुस्तक लेख्ने प्रयास अघि गरिनँ । १३ जुलाई १९४४ मा जुन दिन गोरखा सत्सङ्ग प्रचारिणी सभाको स्थापना भाग्सूमा भयो, श्रीमान् माननीय मास्टर नत्थूराम बी.ए.बी.टी. बाट मर्जी भयो कि, “तपाईँले एउटा डायरी लेख्नुपर्छ । ठाउँ-ठाउँ गएर के-के हुन्छ ? के-के काम गर्नुहुन्छ ? सबै कुराहरूको नोट गर्नुहोला ।” उहाँको आदेशअनुसार यो डायरी यस ढङ्गले लेख्दै छु । यो लेख्दा मनमा विचार उठ्छ कि पुरानो जीवनयात्रा वृत्तान्त पनि लेखूँ । सो भगवान्को इच्छा ।
१-९-४४ को बेलुकी विष्ट साहेबले मलाई २० रुपियाँ दिएर भन्नुभयो कि यो कप्तान साहेबले तपाईँहरूको खर्चका लागि पठाइदिनुभएको छ । ४-९-४४ देखि नौतुनाको अर्को भाग कप्तान टोलमा सत्सङ्ग प्रचार कार्य सुरु भयो । सत्सङ्गको कार्यक्रमबाहेक मैले यहाँ सुदामा भक्तको चरित्र भजन गाएर सुनाएँ । दस दिनसम्मको यो सङ्गीत-कथा सकिएपछि यहाँ पनि श्रद्धालु जनले सिदापानी दिए अनि सत्सङ्ग प्रचारिणी सभालाई ३२ रु. ८ आ. दान प्राप्त भयो । १४-९-४४ मा थाहा लाग्यो कि बराल साहेब ज्यादै बिसन्चो हुनाले लखनऊको ठुलो मिलिट्री अस्पतालमा दाखिल हुनुभएको छ । सो समाचारले हामी सबैलाई दुःखी गरायो ।
१९-९-४४ देखि नौतुनाको दसाईघरमा दुर्गाचरित्र सुनाउनू भनी विष्ट साहेबले अनुरोध गर्नुभयो । पाँच दिनसम्म दुर्गाचरित्र गायन गरी २३-९-४४ मा यो कार्यक्रम समाप्त गरियो । कप्तान साहेब बरालसँग सल्लाहविचार गरी मैले लेखेका भजन-कथा-गीत-उपदेशादि पुस्तक रूपमा गोरखपुरको कुनै प्रेसमा छापेर सत्सङ्ग सभा हुँदा बिक्री गर्दै जाउँला भनी विचार गरेको थिएँ तर वहाँको लामो बिमारीले गर्दा मेरो योजना बिग्रँदै गएको जस्तो लाग्छ । धर्मशालादेखि नौतुनासम्म आएको बाटाखर्च एक सय अठतीस रुपियाँ छ । पैसा सत्सङ्ग प्रचारिणी सभा भाग्सू (धर्मशाला) बाट अझ आइपुगेन । मेरो पासमा भए भरीको पैसा जम्मै सिद्धिसक्यो । बुढी आमालाई तीर्थ घुमाउन भनी ल्याएको रुपियाँ अब अलि-अलि गरी खर्च गर्नु पर्दै छ ।
भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नौतुनाको नजिकैमा पवित्र तीर्थस्थान छ । झन्डै-झन्डै दुई-अढाई कोस टाढा छ तर आजभोलि बाटो खराब छ, ठाउँ-ठाउँमा पानी छ भन्ने थाहा भयो र दर्शनका निमित्त केही दिनपछि जाने निश्चय गर्यौँ । जन्मभूमि भाग्सूदेखि टाढा नौतुनासम्म आएर मुख सामनेको गोरखा-पहाड पखेरालाई देखाउन पनि जरुरी थियो । सो विष्ट साहेबको अनुमतिले पहाडतर्फ रिढीसम्म गई गङ्गास्नान गरी नौतुना फर्की आउने चाँजो मिलायौँ । दसैँ टीकाको अगिल्लो दिन २९-९-४४ (बिहीबार) तदनुसार १३ असोज २००१ संवत्मा हिँड्ने पक्का ठहरियो । सिरिफ बाटामा चाहिने बिस्तारा, लुगा, पकाई खाने भाँडा, राशन इत्यादि अलिअलि गर्दा पनि एउटा भरियाको भारी भइहाल्यो । यदि भरिया पाइएन भने यो भारी हामीले आफैँ बोकेर हिडौँला भनी निर्णय गरियो । १३ असोजका दिन मोटरमा बसेर बटौलीतिर लाग्यौँ । नौतुनाबाट हिँड्दा मेरो गोजीमा जम्मा पच्चीस रुपियाँ थियो । पाँच रुपियाँ मोटर भाडा तिर्नुपर्यो । दस रुपियाँको मोहोर साटेँ । सो फर्किँदालाई दस रुपियाँ मात्र रह्यो । आफैँले भारी बोकेर हिँड्दा पनि रिढी यात्रा गरेर नौतुना फर्किनुसम्म मलाई पुग्छ वा पुग्दैन ! परमात्मामा भरोसा राखी हिँडे । ईश्वरले आमालाई बल प्रदान गर्नुभो । विस्तार-विस्तार ठाउँ-ठाउँमा बिसाउँदै बत्ती बाल्ने वेलामा नुवाकोटको चौकीमा पुग्यौँ । थाकेर हलाक भएको प्राण मात्र बाँकी थियो । चौकीको हवल्दारलाई भनी चौकीमा नै वास बस्ने इरादा थियो तर चौकीमा कोही पनि थिएन । त्यहाँ एउटी नेवार्नीको पसल रहेछ, सोधपुछ गर्दा चौकीको हवलदार त टीका लाउन भनी हिजो गाउँमा गएको भन्ने थाहा भयो । सरकारी बन्दुक, हातहतियार छोडेर आफ्नो डिउटीको पर्वाह नमानी जाने त्यो हवलदार कस्ता रहेछन् छक्क लाग्यो ।
चौकीमा रात काट्ने आस पनि टुट्यो-उता तिनी नेवार्नी बहिनीले पनि वास दिन मानिनन् । रात पर्नु लाग्यो । आमाले रातिमा आँखा न देख्ने । विवश भएर झेरदीतिर ओह्रालो झर्नुपर्यो । झेरदीको पहिलो भट्टीमा वास माग्यौँ- तर पाइएन । मन साह्रै दुख्यो । किन भट्टीवालाहरूले हामीलाई वास दिन मन गर्दैनन् ? यी लाहुरेहरूलाई मात्र खोज्दछन् ? कारण स्पष्टै छ- जसको पासमा पैसा छ, उसको कदर संसारमा हुन्छ- हामी चामल बोकी हिँड्नेहरूबाट भट्टीवालाहरूलाई केको आम्दानी हुने ? लाहुरेहरूले रक्सी खान्छन्, कुखुरा काट्न लाउँछन् । तिनीहरू वास बसे १५ वा २० रुपियाँ झर्ने भयो । हामीलाई वास दियो भने चार मानिसको बिचमा धेरैभन्दा धेरै एक सुका पैसा पाउने भयो । सर्वशक्तिमान्, सबै रोगव्याधि हटाउन सक्ने, जम्मै पापको नाश गराई स्वर्ग पुर्याउन सक्ने, मनको जम्मै इच्छा पूर्ण गर्न सक्ने साक्षात् पैसा रूपी भगवान्लाई प्राप्त गर्न छाडी, धर्मकर्मको पछि किन पो लाग्थ्यो ? संसारमा मझैँ मूर्ख कुन होला ? पैसाको चमत्कार देख्दा मेरो पनि पैसातिर मन तानिन्छ तर मनको भित्री कुनाबाट कसैले मलाई सावधान हो, भन्छ, रोक्छ । रात परि हाल्यो । आमा आत्तिन लागिन । एउटा भट्टीमा भारी चाकरी गरेर बल्लबल्ल वास पायौँ तर यो शर्तमा कि यदि लाहुरेहरू आएछन् भने पटाहमा वास बस्नु पर्ला । नभन्दै केही छिनपछि लाहुरेहरू आए अनि मुनि अर्को भट्टीमा वास बसे । यो देखेर हाम्री भट्टीवालनी रिसले भुतुक्क भईन । यिनीहरूलाई देखेर यी लाहुरेहरू याँह बसेनन्, मलाई नोक्सान पार्यो- इत्यादि अनेक कुराहरू हामी ननिँदाउन्जेलसम्म गन्गनाउँदै रहिन् ।
यसरी रात काटी १४ असोज (३० सितम्बर ४४) को बिहान त्यसै भट्टीमा भात खाएर आआफ्नो गुन्टा बोकी दीवान-खोलातर्फ ओह्रालो लाग्यौँ । आमाको एउटा घुँडा ज्यादै कमजोर हुनाले ओह्रालो झर्दा तकलिफ हुन्थ्यो । विस्तार-विस्तार हिँडी तीन घण्टामा बल्लबल्ल दोबान खोलामा पुग्यौँ । हिँड्दै बस्दै गर्दा बल्लबल्ल साँझ झिमझिम हुने वेलामा मनयाक भन्ने ठाउमा पुग्यौँ । त्यहाँ एउटी नेवारनी बुढी माउको घरमा वास बस्यौँ । यहाँ कुनै प्रकारको कष्ट हामीलाई भएन । राम्रो सत्कार भयो । १५ असोजको बिहान भातभान्सा गरेर सुसतोबिस्तो सिस्नेखोलातिर लाग्यौँ । डुमरे र नयाँपाटीको बिचमा पुग्दा सूर्य अस्तायो । नयाँपाटीसम्म पुग्दा झमक्क राति भइहाल्ने छ । आमाले आँखा देख्न छाडिन् भने डोर्याउनुपर्नेछ- बरु यस्तै वेलामा वास बस्न पाए हुने थियो, विचार गरेर नयाँपाटीको वरै खोलाको छेउमा एक भट्टीमा वास माँग्दा वास दिएनन् । विवश भई नयाँपाटीतर्फ बढ्दै गयौँ । बाटाबाटै दाउरा पनि खोज्दै गयौँ । नयाँपाटी पुग्दासम्म राति भइहाल्यो । एउटा थकाल्नी बहिनीले हामीलाई वास दिइन्- राम्रो आदरसत्कार गरिन् ।
१६ असोज (१ अक्टोवर ४४) को बिहान त्यसै भट्टीमा भात, भान्सा गरी, बाटामा मैलिएका लुगाहरू फुकाली सफा लुगा फेर्यौँ । भाँडाबिस्तरा पनि बाँधेर त्यहीँ छाड्यौँ । तानसिङ नयाँपाटीबाट एक कोस छ । मेरो मित्र मेजर भूपेन्द्रविक्रम तनासिङको जङ्गीअड्डामा हुनुहुन्छ । उनकै आस्रयमा गुन्टा त्यहीँ भट्टीमा…..
नोट :- श्री पूज्य पिताजी यहाँसम्म लेख्दै हुनुहुन्थ्यो, उहाँ अचानक बिसन्चो हुनुभयो, लेख्दालेख्दै चट्ट छोड्नुभयो- छाडेको छाड्यै पार्नुभो- अन्त १-१०-४४ देखिन् उहाँको मृत्युकाल (९-४-४६) सम्मको यात्राडायरी छोटकरीमा लेख्दै छु ।
– दिग्विजय सेन “प्रदेशी”
त्यहीँ भट्टीमा गुन्टा राखी हामीहरू नयाँपाटीको फाँटको बाटो, त्यहाँको हरियो सुन्दर दृश्यलाई हेर्दै तानसिङको उकालो चढ्यौँ । करिब चार बजे साँझ बाबुसाहेब मेजर भूपेन्द्र विक्रमज्यूका भवनमा पुग्यौँ । श्री भूपेन्द्र समेत उहाँको जहानपरिवारले हाम्रो स्वागत गरे । उहाँले हाम्रो गाँस र वासको असल व्यवस्था मिलाइदिनुभयो । चार दिनजति आराम गर्नाले बाबालाई निकै स्वास्थ्यलाभ पुग्यो । ५ अक्टोबर ४४ मा बिहानै ६ बजे हामीहरू रिढी जान भनी तयार भयौँ । बतासेडाँडा, चुतरा भन्ज्याङ, कुरुङ खोलाको बाटो हुँदै तीन बजे अर्घेली पुग्यौँ । अर्घेलीबाट ओह्रालो झरी साढे पाँच बजेतिर रिढीको प्रसिद्ध देवमन्दिर ऋषीश्वरको धर्मशालामा पुग्यौँ । रिढीको चारैतर्फ पहाड हुनाले यहाँ छिटै रात पर्छ । हामी पुग्दा साँझ परिसकेको थियो । त्यहीँ धर्मशालाको एक कुनामा डेरा जमायौँ । धर्मशाला ह्वाङह्वाङतै थियो; ढोका झ्याल नभएको । पास पसलबाट एकुन्टा गिलाँस चिया खाएर दिन भरी हिँडेको थकान मेट्यौँ । केही पछि तानसिङबाट नै पकाएर ल्याएको खानासाना खाएर ओछ्यान गरी त्यही भुईँमा लड्यौँ । कृष्णगण्डकीको सामुन्नेमा खल्लबल्ल गर्दै बगिरहेको मधुर आवाज तर मुटुसम्म छेड्ने चिसो बतास दुवैको आस्वादन गरी रात काट्यौँ । बिहानीपख घामले अलि न्यानो गराएपछि गण्डकी नुहाउने भनी गङ्गाछेउमा गयौँ । स्नानादि गरी फर्किँदा बाटामा एक जना मानिसले बाबालाई चिनेछन् । एकछिनमा सारा रिढीमा- लौ मास्टर मित्रसेन परिवार समेत यहाँ आउनुभएको छ भन्ने खबर फैलियो । धर्मशालामा पुगी हामीहरू चिया खाँदै थियौँ, त्यत्तिकैमा रिढीका प्रसिद्ध मानिस दुर्गा साह र त्यहाँका जनता स्वागतका निम्ति हामीनेर आइपुगे । गण्डकी नुहाएर आझै तानसिङ फर्किने विचार थियो तर रिढीका जनताको आग्रहले एक महिनासम्म त्यहाँ बस्नुपर्यो । कार्तिक एकादशीमा रिढीमा ठुलो जात्रा निस्किन्छ, त्यति वेला ऋषीश्वर तीर्थ माहात्म्यका विषयमा एउटा नाटक तयार पारिदिनुहोस् भनी सबैले बाबासँग अनुरोध गरे । बाबाले केही पौराणिक तथ्यको आधारमा एउटा नाटक लेख्नुभयो । रिहरसल सुरु भयो । नाटकको मुख्य रोल बाबाले आफैँ अदा गर्नुभयो । नाटकको पहिला सो रिढी बजारमा अनि दोस्रो सो ऋषीश्वर मन्दिरमा एकदमै राम्रो प्रकारले सम्पन्न भयो । जनताको फरमाइसलाई पूरा गर्नुका निम्ति अगिल्लो रोज पनि धुमधामसँगले ऋषीश्वर मन्दिरमा एक सो अझ भयो । नाटकको कार्यक्रम सकेपछि रिढीका जनतासँग बिदा माग्यौँ- यसरी एक महिनापछि तानसिङ फर्कियौँ । तानसिङमा एक हप्ताजति बसी नौतुना फर्की आयौँ । बाबु साहेब मेजर भूपेन्द्र विक्रमज्यूले हाम्रो सुबिस्ताका लागि दुई जना भरियाहरूको व्यवस्था मिलाइदिनुभयो ।
दिसम्बर ४४ को पहिलो सप्ताहमा नौतुना फर्की आएपछि तीन-चार दिन आराम गरेर बस्यौँ । त्यसपछि नौतुनाको रेकरुटिङ अफिसरको सामुन्ने फेरि सत्सङ्ग प्रचार कार्यक्रम साथसाथै बाबाले भक्त अम्बरीषको कथा गायन रूपमा सुन्दर प्रकारले जनतालाई सुनाउन सुरु गर्नुभयो । बिच-बिचमा उहाँले नैतिक र समाजिक विषयमा पनि व्याख्यान दिनुहुन्थ्यो । कहिले झ्याउरे लयमा हँसाउने खालका गीत गाएर घत लाग्ने कुराहरू सम्झाउने यत्न गर्नुहुन्थ्यो । यो कार्यक्रम गर्दागर्दै सन् ४४ बित्यो अनि ४५ लाग्यो । नयाँ सालको सुरु मासमा अल इण्डिया ब्रोडकास्टिङ रेडियो स्टेसन, दिल्लीबाट रेकर्डिङका लागि बाबालाई बोलाई पठाए । “आमा र बजैको ख्याल राख्नू अनि सत्सङ्गको कार्यक्रमलाई नियमित रूपले चलाउँदै रहनू” बाबाले मलाई आदेश दिनुभयो । बाबाको सेवा, सहायता र सुबिस्ताका लागि बाबु जसबहादुरज्यूले आफ्नो छोरालाई साथमा पठाउनुभयो । दिल्ली र लाहोरमा गई रेकर्डिङ आदिको काम सिद्धिएपछि बाबा तीन सप्ताहपछि नौतुना फर्की आउनुभयो अनि सत्सङ्ग प्रचार आदिको जिम्मेदारी उहाँले आफैँ सम्हाल्नुभयो । सन् १९४५ अगस्ट मासको आधासम्म नौतुना अनि कुँडाघाट (गोरखपुर) मा कथा-सङ्गीत, व्याख्यान-भजन, सत्सङ्ग कार्यक्रम सुचारु रूपले चलि नै रहेको थियो । बाबाले फुर्सद पाएमा निबन्ध-कविता, नाटक-गीत आदि पनि धमाधम लेखी बस्नुहुन्थ्यो । आमाजी सख्त बिमार हुनुभयो । गोरखपुरको नामी डाक्टरसँग जाँच गराउँदा उहाँले आमालाई दुई-चार महिनाका लागि हावापानी बदली गर्नका निमित्त पहाडतिर लिई जाऊ भनी सल्लाह दिए । बजैले भाग्सू फिर्ता हुन्छु भन्नुभयो । कप्तान साहेब बरालज्यू अनि सुबेदार साहेब विष्टज्यूका सरसल्लाहले बजैलाई भाग्सू फिर्ता पठाउने बन्दोबस्त गरियो अनि हामी तीन जना (बाबा, आमा, र म) शिलाङ जाने आँट भयो । भारतमा स्थित जम्मै गोर्खाली पल्टनहरूमा बाबाको उहिलेदेखि नै राम्रो चिनजानी र आनाजाना थियो । त्यसकारण शिलाङका सबै गोर्खालीहरूले बाबालाई राम्ररी चिन्दथे ।
१९ अगस्ट ४५ को साँझ हामीहरू रेलमा बसी गोरखपुरदेखि शिलाङतर्फ हिँड्यौँ । २२ अगस्टमा गोहाटी पुग्यौँ तर हाम्रो सामान असबाब ढिलो पुगिदिएकाले २५ अगस्टको साँझ मात्र हामीहरू मोटरद्वारा हिँड्यौँ । बिहान भात खाएर मौप्रेम गाउँमा गयौँ । श्री देवसिंह जोशी अनि श्री लोकनाथज्यूसँग हाम्रो भेटघाट भयो । उहाँहरूले हाम्रो वासगाँसको असल व्यवस्था मिलाइदिनुभयो । आमाको इलाजपट्टी विशेष ध्यान दिए तापनि बाबाले आफ्नो सत्सङ्ग प्रचार कार्यक्रम हामी पुगेको तीन-चार दिनपछि सुरु गरिहाल्नुभयो । पहिलो प्रोग्राम ठाकुर बाडीमा भयो, एक सप्ताहसम्म । त्यसपछि दुई सप्ताहको कार्यक्रम पाठशालामा राखियो । अब केही नाटक तयार पारी दिनुहोस् भनी त्यहाँका भलादमीहरूले बाबासँग अनुरोध गरे । प्रभु भक्ति नाटकको रिहर्सल बाबाको निर्देशनमा आरम्भ भयो । बाबाले आफैँ सिनसिनरी (पर्दाहरू) चित्रकारी गरी बनाई तयार पार्नुभयो । सबै तयारी पूरा भइसकेपछि दुई दिनसम्म खुबै धुमधामसँगले यो नाटक त्यहाँ देखाइयो । बाबाले हारमोनियम बजाउनुभयो अनि मैले तबला ।
शिलाङको ओसिलो हावापानी र नियमित इलाजले आमाको बिमारी काफी ठिक भयो । अतः ११ नभेम्बेर १९४४ मा शिलाङदेखि तेजपुर, शीलघाटतर्फ जाऊँ भनी गोहाटी आयौँ । राति आठ बजेमा हाम्रो स्टिमर हिँड्न थाल्यो । रातभरि-दिनभरि त्यसमा सफर गरी १२ नभेम्बरको साँझमा तेजपुर पुग्यौँ अनि राति एक बजेमा शीलघाट पुग्न सक्यौँ । त्यहाँ उत्रियौँ र बह्मपुत्रको किनारा जङ्गलको बिचमा रात काट्यौँ तर मन्जिल अझ टाढा छ । बिहानीपख एउटा डुङ्गामा बसी दिनभिरीको सफर तय गरी राति आठ बजे हामीहरू आफ्नो मन्जिलमा पुग्न सफल भयौँ । यो सफर अत्यन्तै कष्टदायक थियो । घोर जङ्गलभित्रको गाउँमा पुग्दा त्यहाँ बस्ने गोर्खालीहरूले हाम्रो खुब आदरसत्कार गरे । बाबाले सत्सङ्ग प्रचारको कुरा गर्दा “हामीहरू यहाँ बस्ने जम्मै गोर्खाली राधास्वामी मतका अनुयायी छौँ” भनी भने । अतः चार-पाँच दिन बसी तेजपुर फर्की आयौँ ।
तेजपुर पुग्दा बाबा अलि बिरामी हुनुभयो । तेजपुरमा दुई दिन बसी गोरखपुर फर्की आयौँ । केही दिन आराम गरी दिसम्बर ४५ को पहिलो सप्ताहदेखि बाबाले सत्सङ्ग प्रचार कार्यलाई खुब जोश र उत्साहका साथमा फेरि थाल्नुभयो । निभ्न लागेको बत्तीजस्तै एकछिन झल्ल उज्यालो पारी विस्तार-बिस्तारै प्रकाश मन्द हुँदै गयो । बाबाको शरीर दिनदिनै सुक्दै गयो । कप्तान साहेब बरालज्यू, सुबेदार साहेब विष्टज्यू अनि नौतुना र गोरखपुरका जम्मै भला आदमीहरू चिन्तामा परे । बाबाको असल इलाजका लागि उनीहरूले केही कसर बाँकी राखेनन् । गोरखपुरका नामी डाक्टर जसवाल साहेबले बाबाको राम्ररी जाँच गरे । खुन टेस्ट, थुक टेस्ट, छातीको एक्सरे आदि सबै थोक गरे तर रोगको पत्तै लाग्न सकेन । डाक्टर साहेब पनि छक्क परे । बाबाको हालत दिनप्रतिदिन झन्-झन् खराब हुँदै गयो । अन्ततः साह्रै हतास भएर भारी मुटुले बाबाले सत्सङ्गको कार्यक्रमलाई अब स्थगित गर्नुपर्यो भन्ने विचार प्रकट गर्नुभयो । कप्तान साहेब बरालज्यू अनि सुबेदार विष्टज्यूले पनि अब तपाईँहरू भाग्सू फर्किनुहोस् भन्ने सल्लाह दिनुभयो । २१ मार्च १९४६ का दिन बाबाआमा र म, नौतुना गोरखपुरको सत्सङ्ग-धर्म-प्रचार कार्यलाई बिचैमा छाडी, रेलद्वारा भाग्सूतर्फ हिँड्यौँ ।
२४-३-४६ मा हामी घर (भाग्सू) फिर्ता पुग्यौँ । बाबालाई ज्वरोले छाडेन । ज्वरो १०३ डिग्रीसम्म रोजै चढ्ने अनि बेलुकी उत्रने । पल्टनका सरकारी डक्टरलाई बोलाई-बोलाई इलाज गर्न लगायौँ तर केही लाभ पुगेन । अन्ततः ९ अप्रेल १९४६ बुधबार चैते दसैँ ताका राम-नवमीका दिन बाबाले यो नश्वर शरीरलाई त्याग गर्नुभयो । शरीर छाड्नुभन्दा केही छिनअघि मलाई भन्नुभयो, “तँ अब टाठोबाठो भइसकेको छस्, आमा र बजैको ख्याल राख्नू अनि सत्सङ्ग-धर्म-प्रचार कार्यलाई जहाँसम्म हुन्छ चलाइ नै राख्नु ।”
(‘मास्टर मित्रसेन र उनका सिर्जना’- पृष्ठ ९३-१११ बाट)
सन्दर्भ सामग्री-
थापा, मास्टर मित्रसेन, (सन् १९९४), मित्रसेनको डायरी, मास्टर मित्रसेन साहित्य सङ्गीत सभा, भाग्सु धर्मशाला
मगर प्रदीप थापा (सन् २०००) मित्रसेन र उनको देन, काठमाडौँ, जिल्ला मेमोरियल फाउन्डेसन
मगर, त्रिलोकसिंह थापा (सन् २०१३) मास्टर मित्रसेन एक परिचय, काठमाडौँ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान
मगर, त्रिलोकसिंह थापा र चन्द्रबहादुर श्रीस (सन् २०१३) मास्टर मित्रसेन र उनका सृजना, काठमाडौँ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।