भारतीय नेपाली साहित्यले नयाँ मोड लिएको समय हो सन् पचास र साठीको दशक । सामर्थवाल साहित्यकारहरूको अभ्युदयदेखि स्तरीय साहित्यिक पत्रिका यही समयको उपज हो । नेपाली साहित्यको महत्त्वपूर्ण क्रान्तिकारी साहित्यिक आन्दोलन तेस्रो आयाम पनि यही समयले जन्माएको नवीनतम सोच, नयाँपनको खोज र गहन अध्ययनको उपज थियो । गोर्खा, प्रभात, उदय, भारती, हाम्रो कथा, दियालो, फूल, पात, पत्कर, मालिङ्गो जस्ता पत्रिकाले सङ्ख्यात्मक र गुणात्मक रूपमा साहित्यकारहरू नेपाली साहित्यमा दिए जसले कालान्तरमा एउटा नयाँ युगको सुरुवात गरे नेपाली साहित्यमा । यही कालखण्ड भारतीय महिला साहित्यका निम्ति निकै उर्वर रह्यो । विशेष गरी आख्यान र कवितामा महिलाको वर्चस्व त थिएन तरै पनि उनीहरू ओझेलमा पनि परेको थिएन । पत्रिका सम्पादन पनि नरा गुरुङ, माया ठटाल, अमृता छेत्री र देवकुमारी सिंहाले अग्रसरता देखाए भने लक्खीदेवी सुन्दास, कमला साङ्कृत्यायन, डा. सुशीला प्रधान, प्रभावति छेत्रिनी, हीरामाया थापा, मनु राई, चन्द्रकला गुरुङ, विष्णुमति गहतराज, मनकुमारी छेत्रिनी, कौशल्यादेवी, राधिया राया, अमृता छेत्री, मायादेवी छेत्री आदि सूक्ष्मरूपमा आफैँलाई गैरआख्यान र कथा लेखनमा दक्षता हासिल गरे । कविता लेख्नेको त होडबाजी नै भए तर आफैँलाई विशिष्ट केहीले मात्र बनाउन सके । तीमध्येमा सबैभन्दा सशक्त र अग्रज महिला हस्ताक्षर हो सानुमति राई । उनको प्रवेशपछि सावित्री सुन्दास र विनीता सिंह कवितालेखनमा देखा पर्छन् ।

विद्यार्थी-जीवनमा उनको कविता पढेर तर कालान्तरमा उनी मेरा लागि विस्मृति गए । यसको मुख्य कारण थियो त्यस वेला सानुमतिको कुनै कवितासङ्ग्रह प्रकाशित भइको थिएन र कविताहरू पनि सायदै प्रकाशित हुन्थे कुनै पत्र-पत्रिकामा । कुनै समयका यी सशक्त कवि त्यस बखत आमपाठकका निम्ति केवल एक विम्ब मात्र रह्यो ।

सानुमति राई

सानुमति राई

नेपाली साहित्यमा पुरुषहरूको वर्चस्व सुरुदेखि नै भएको हो । यस्तो समयमा पनि आफैँलाई अलग साबित गरेर केही छाप छोड्नु अत्यन्त गाह्रो थियो महिला साहित्यकारहरूलाई । त्यसमाथि नेपालबाट प्रकाशित हुने पद्यसङ्ग्रहमा स्थान पाउन त भारतीय महिला कविका निम्ति असम्भवप्रायः थियो तर यस्तो स्थितिमा पनि सानुमति राईको कविताले बद्रीनाथ भट्टराईले वि.सं. २०११( सन् १९५४) मा सम्पादित पद्यसङ्ग्रहमा स्थान पाउनु सम्पूर्ण भारतीय नेपाली साहित्यका निम्ति गौरवको कुरा थियो । यो पद्यसङ्ग्रहको तेस्रो भाग थियो- पहिलो वि.सं. १९९८ (सन् १९४१) र दोस्रो भाग वि.सं. १९९९ (सन् १९४२) मा प्रकाशित भएको थियो । करिब ५० जना जति कविहरूको उक्त कविताहरू समाहित उक्त सङ्ग्रहमा केवल ५ जना महिला कविहरूको कविता परेको थियो –ती कविहरू थिए लोकप्रिया, मञ्जरी, गोमा र सानुमति राई अनि उमेरमा सबैभन्दा उमेरका थिइन् सानुमति राई । उनी केवल २५ वर्षकी थिइन् र उनको कविता ‘त्यो माग्ने’ उक्त सङ्ग्रहको अन्तिम कविता थियो । नेपाली साहित्यको भानुभक्तदेखि देवकोटा, सम, लेखनाथ लगायत तत्कालीन भारतीय नेपाली साहित्यबाट धरणीधर कोइराला (पछि नेपाल प्रवेश गरे), पारसमणि प्रधान, गोपालसिंह नेपाली, कवि ध्रुव (पछि नेपाल प्रवेश गरे) र सानुमति राई मात्र परेका थिए । यस्ता कविलाई कमैले सम्झेका छन् अहिले ।

विलक्षण प्रतिभाका धनी सानुमति राई दुई युगको साँघु हुन- देवकोटा युगदेखि केवलचन्द्र लामासम्मको । भारतीय नेपाली नारी कविताकारहरू शीर्षक लेखमा समालोचक जय ‘क्याकट्स’ लेख्छन्, “आधुनिक कालखण्डमा भारतीय नेपाली नारी कविताकारहरूमा भने श्रीमती सानुमती राईको नाम रचनाक्रमको आधारमा पहिल्यै आउँछ । बिब्ल्याँटो सामाजिक परिस्थिति सीमित शैक्षिक वातावरण र पुरुषप्रधान पारिवारिक साङ्लो फुकाल्दै स्वच्छन्द काव्यसिर्जनमा हाम् फाल्नुहुने श्रीमती राईको काव्यिक सञ्चेतना र प्रवृत्ति निकै स्वच्छन्दवादी देख्छौँ । उहाँको गीति-कवितात्मक पद्य संरचनाले नारीसुलभ भय, प्रेम, अवसाद, निराशा, आँसु-हाँसो आदि समाहित गर्दै सौन्दर्य र हर्षातिरेक, रहस्य र रोमाञ्च अनिभावुकता र कल्पनाको अभिव्यक्तिलाई सुललित पदले समेटेको पाउँछौँ । जुन समय छोरीहरूलाई पढाए ‘दोस्ती’ (त्यो वेला प्रेमीप्रेमिकालाई सम्बोधन गर्ने शब्द) लाई चिट्ठी लेख्छ अनि पोइलो जान्छ भन्थे त्यो वेला पढेर सृजनात्मक कार्य गर्नु अहिलेको युवा पिँढीले कल्पना पनि गर्न सक्दैन ।

शरद् प्रधान

त्यो समय प्रखर कवि भएर आएकी सानुमतिको पहिलो कविता थियो ‘देख्न सकूँ या सुन्न सकूँ’ जून सन् १९४८ मा ‘गोर्खा’ मा प्रकाशित भएको थियो । त्यस बखत उनी केवल १९ वर्षकी थिइन् । यो समय गोर्खामा नियमित कविता लेख्नेहरूमा नरेन्द्रप्रसाद कुमाईँ र अच्छा राई ‘रसिक’ प्रमुख थिए । उक्त समय कवि अगमसिंह गिरी केही कविता लेखनबाहेक ‘गोर्खा’ मा पाठक प्रतिक्रिया प्रकाशित गर्नमा मात्रै सीमित थिए । उनका समकालीन कविहरूमा स्व. रूपनारायाण दाहाल, लक्खीदेवी सुन्दास, नरबहादुर दाहाल, कृष्ण गुरुङ प्रमुख थिए । भारती पत्रिका निस्किने तयारी र लैनसिंह बाङ्देलले कलकत्ताबाट सम्पादित प्रभात भरखरै प्रकाशित भएको थियो । अग्रज कविहरूमा वीरेन्द्र सुब्बा र दान खालिङ्गले संयुक्त लेखनमा पहिलो कविता सङ्ग्रह ‘एकान्त’ सन् १९५० मा प्रकाशित गरिसकेका थिए ।

सानुमति राई कवितालेखनमा होमिँदा भारत भर्खरै स्वतन्त्र भएका थिए । अधिकांश नेपालीहरू अशिक्षित मात्र होइन निम्न जीवनस्तर बाँच्न बाध्य थिए । नारीहरू साहित्यमा आउनु भनेको निकै चुनौतीपूर्ण काम थिए । यस्तो प्रतिकूल स्थितिमा सानुमतिको आगमन हुनु नेपाली साहित्यका निम्ति सुखद क्षण थियो । त्यो समय लेखेका उनका कविताहरूमा नैराश्य, दुःख, पीडा, वेदनाको प्रचुर मात्रामा पाउँछौँ । हिन्दी साहित्यमा त्यो वेला छायावादी र स्वच्छन्दतावादी कविहरूको बाहुल्य थियो । त्यही धाराका एक सशक्त कवि बनिन् सानुमति नेपाली साहित्यमा । त्यसको प्रतिविम्ब सानुमतिको कवितामा पाउँछौँ । धरणीधर कोइरालाको जनजागरण र समाज सुधारको कविता पढेर हुर्किएकी सानुमति दीनहीनको पीडालाई आफ्नो कविताद्वारा उतार्न खप्पिस थिइन् । “जल्न देऊ-बल्न देऊ !” कवितामा उनी लेख्छिन्,

‘शिथिलता तनको
निराशा प्राणको
पग-पगमा
ल्याउन देऊ – भर्न देऊ ।
व्यथित मनको
रोदन वज्रले
आँधी -अन्धड
ल्याए पनि
त्यो भतभत पोल्ने शिखालाई
निभ्न नदेऊ – मेट्न नदेऊ ।”

कवितामा भारतीय-नेपाली नारी : एक दृष्टि लेखमा समालोचक गीता त्रिपाठी सानुमतिलाई स्वच्छन्दतावादी काव्यस्वर दिने कविका रूपमा प्रस्तुत गरेकी छिन् र ‘स्वप्निल प्रभात’ कविताले जीवनलाई संसाथपूर्ण र सार्थक बनाउन प्रेरित गरेको छ भनेकी छिन् । कवितामा शब्दहरूको प्रयोग सुन्दर ढङ्गामा र प्रशस्त मात्रामा गर्न सकिन्छ भन्ने मान्यता राख्ने सानुमति एउटा भावनालाई समेटेर एउटा सिङ्गै कविता सृजना गर्न सकिन्छ भन्ने विचार व्यक्त गर्छिन् ।

परिवारमा प्रायः सबै नै साहित्यसाधनामा लागेकाले सानुमतिलाई अग्रजहरूले प्रेरणा दिए अनि अनुजहरूलाई उनले प्रेरणा दिए । साहित्यकार सम्पूर्णा राई उनको भदैनी हो भने उमेरले सानी भए पनि नाताले वरिष्ठ साहित्यकार नन्द हाङ्किम काका पर्छ ।

आधुनिक शिक्षा पाएर पि.यु.सी सम्म अध्ययन गरेकी सानुमति राई धेरै अङ्ग्रेजी, भारतीय र नेपाली साहित्यकारहरूसँग प्रभावित थिइन्, जसमध्ये वर्ड्सवर्थ, टेनिसन, देवकोटा, सम, भिक्षु, महादेवी वर्मा, सुमित्रानन्द पन्त, रवीन्द्रनाथ टेगोर, शरच्चन्द्र, अमृता प्रीतम, शिवानी आदि प्रमुख हुन् । शिक्षण पेसा अँगालेर अवकाशप्राप्त गर्नुभएका सानुमति एकताका महिलाहरूको साहित्यिक सङ्गठन ‘वसुधा’ को उपाध्यक्ष अनि त्यसै संस्थाद्वारा प्रदान गरिने आफ्नो पतिको नाममा स्थापित कविता विधाका सर्जकहरूलाई दिइने ‘भाइचन्द स्मृति पुरस्कार’ का प्रायोजक र संस्थापक थिइन् ।

१५ वर्षकै उमेरदेखि कविता लेख्न सुरु गरेकी सानुमतिले १८ वर्षको उमेरमा जागिरे जीवन सुरु गर्छिन् । दोस्रो विश्वयुद्ध सकिएपछि भारत स्वतन्त्र हुन केही समयअगाडि उनी सेनाको सिग्नलमा टेलिफोन अपेरेटरको पदमा २ वर्ष काम गरी अवकाश लिन्छे र पछि पनि कलकत्तामा टेलिफोन अपेरेटरका रूपमा काम गर्छिन् तर हिन्दू-मुस्लिम दङ्गाबाट त्रस्त भई कालेबुङ नै फर्किइन् सन् १९४९ मा । सानुमतिको जीवनमा पहिलो खुसी सन् १९४९ कविता प्रकाशनमा थियो भने दोस्रो भाइचन्द प्रधानसँग सन् १९५८ मा प्रेम विवाह गर्दा । राईकी छोरी नेवारको छोरासँग बिहे गर्नु आफैँमा क्रान्ति थियो त्यो पनि २९ वर्षको उमेरमा । साहित्यले सान्निध्य बढा यो। दुवै भारती पत्रिकाको कथाकार । त्यस बखत सानुमतिको ‘सानी कता गई’ र अदृश्य उपहार’ जस्ता कथाहरू भारतीमा प्रकाशित भइसकेको थियो । सङ्कुचित समाजलाई चुनौती दिदै ती दुई स्रष्टा एकअर्काको पूरक भए । मातृका गजमेरलाई दिएको एउटा अन्तर्वार्तामा उनी भन्छिन्, “नारी लेखिकाहरूले निरन्तरता दिन नसकेका कारणहरूमध्ये मुख्य कारण पारिवारिक समस्या हो भने मलाई लाग्छ । घर र बाहिर दुवैतिरको चटाराले समयको अभाव हुने गर्दछ । मूल कर्तव्य परिवारप्रति भाएकाले धेरैले लेख्न छोडेका होलान् र यसरी नै शिथिलता आएर बिलाएका होलान् ।” सायद यो भनाइ उसलाई पनि त्यत्तिकै लागु हुन्छ । पति साहित्यकार हुँदाहुँदै पनि सानुमति घर, परिवारप्रति विमुख भएर साहित्यलाई भनेजस्तो समय दिन नसकेको प्रस्ट देखिन्छ तर उनको जीवनसँग कुनै गुनासो छैन । उनी भन्छिन्, “जीवन त आफूले चाहेझैँ जीवन नपाइँदो रहेछ, नचाहेको जिउनु पनि; तर जीवन हो ।”

कुनै समयकी अत्यन्त प्रभावशाली कवि सानुमति कालान्तरमा पाद टिप्पणीमा (फुटनोट) सीमित रहिन् । बद्रीनाथको पद्यसङ्ग्रहमा गौरवमय स्थान पाएकी सानुमति चूडामणि बन्धुले सम्पादित गरेको साझा कवितामा पनि किनाराकृत भइन् । ईश्वर बरालले वि.सं. २०१२ (सन् १९५५) मा सम्पादित ‘हिमालचुली’ कवितासङ्ग्रहमा गोमा र प्रेमराजेश्वरी थापा मात्रै परे पनि वि.सं. २०३० (सन् १९७३) मा साझा प्रकाशनबाट यसको दोस्रो संस्करण निस्किँदा सानुमति ‘त्यो माग्ने’ कविता समाहित भएको थियो । लक्खीदेवी सुन्दासद्वारा सम्पादित सम्मेलन कवितासङ्ग्रह पनि उनको ‘एक निराश्रित’ कविता प्रकाशित भएको थियो । लक्खीदेवीकै सम्पादनमा भारतीय साहित्य अकादमीले प्रकाशित गरेको बिसौँ शताब्दीको भारतीय नेपाली नारीलेखममा उनको ‘स्वपनिल प्रभात’ कविताले प्राथमिकताको साथ स्थान पाएको थियो तर नेसनल बुकट्रस्ट इन्डियाले प्रकाशित गरेको तथा कवि मोहन ठकुरीले सम्पादन गर्नुभएको ‘स्वतन्त्रोत्तर नेपाली कविता– मा सानुमति राई अटाउँदैनन् ।

‘त्यो माग्ने’ उनको उत्कृष्ट कवितामध्येका एक हुन् । यसमा उनको जीवनदर्शन अभिव्यक्त भएको छ । यो कवितामा धेरैले सानुमतिको वास्ताविक जीवनको करुणामयी अवतार देखेका छन् ।

“बाजे ! कहाँ बस्छौ तिमी !”

यही थियो जिज्ञासा मेरो वृद्ध माग्नेप्रति,

जसका दुःखी निधार र अनुहारमा

दुःखैदुःखका अगणित रेखाङ्कनले दिइरहेथे सूचना

निकटभावी मृत्युको !

“भिखारीको पनि” भन्न थाल्यो त्यो, “घर हुन्छ, नानी !

जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,

जसको ढोकामा उभ्भिन्छु, त्यही हुन्छ मेरो द्वार,

सुत्छु राति तारा गन्दै खुला आँगनमा अर्काको आफ्नै घर ठानी

उभिन्छु यो पैट भर्नाखातिर अर्काको ढोकामा

आफ्नै घरको ढोका मानी !”

उनको कविको प्रवृत्तिलाई केलाउँदै ‘भारतीय नेपाली महिला साहित्यकार’ पुस्तकमा लीला लुइँटेल लेख्छिन्, “मानवीय प्रेम-प्रणयको प्रस्तुति पाइने यिनका कवितामा प्रकृतिप्रेम पनि प्रकट भएको छ । माग्ने एवं निमुखावर्गका भावनालाई कवितात्मक संरचना प्रदान गरिएका यिनका कवितामा त्यस्ता वर्गप्रति सहानुभूति प्रकट गरिएको छ । नेपाली नारीले भोग्नुपरेका पीडाको प्रस्तुति पाइने यिनका कवितामा नारीको त्याग र आत्मविश्वासलाई प्रत्यक्ष एवं परोक्ष दुवै रूपमा प्रस्तुत गरिएको छ । जीवनप्रति सकारात्मक दृष्टि राखेर कर्मशील भई अघि बढ्नुपर्ने सन्देश पनि यिनका कवितामा समेटिएका छन् ।”

गोर्खा, भारती, दियालो, साहित्य सङ्केतमा आफ्नो कविता प्रकाशित गर्ने सानुमति राईले चार अङ्कमात्र प्रकाशित भएको नवप्रभातको कुशलतासाथ सम्पादन गरेको जानकारी पाउँछौँ ।

कवितालेखनको आधा शताब्दीपछि मात्रै सन् २००१ उनको कवितासङ्ग्रह उद्गार प्रकाशित हुन्छ, बाइसओटा कविता समाहित भएर । अनि सन् २००३ मा पतिको वियोगपछि चालिसओटा कविता सहित निस्किन्छ मनपीडा सन् २०११ मा । जीवनमा केही नाम चलेका पुरस्कार त पाइन् उनले तर उनको कविताहरू समकालीन समालोचकहरूले दृष्टिमा नपर्नु आफैँमा बिडम्बनाको कुरा हो । सन् २०१७ मा उनको निधन भएपछि मुन्नु गौतमको सम्पादकत्वमा कालेबुङबाट प्रकाशित हुने ‘माया’ साहित्यिक पत्रिकाले सन् २०१९ मा ‘सानुमति राई स्मृति अङ्क’ प्रकाशित गर्छ । यो अङ्कमा संस्मरणात्मक लेखहरूदेखि उनको जीवनी र कृति समीक्षाहरू पनि छापिएको थियो । उनी बितेको चार वर्षपछि पनि भारतीय साहित्य अकादमीबाट उनको मनोग्रफ (जीवनी) भनिसक्नु अत्यन्त दुःख लाग्दो कुरा हो ।