भूपि शेरचन

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर पिउन झन् गाह्रो छ
मरेर सहिद हुनेहरू
जिएर त हेर जिउन झन गाह्रो छ ।

साँच्चै मानव भएर जन्मिसकेपछि र मानव भइरहेर बँंच्न गाह्रो छ । आज विश्वभरका मान्छेहरू केही प्रतिशत मेसिन भएर, केही प्रतिशत मानवरुपी खोल ओडेर भित्र दानव भएर बाँचिरहेका छन् । थोरै प्रतिशत मान्छे मात्रै मानव भएर बाँचेका छन् । भूपि, तिमी जति बाँच्यौ मानव भएर बाँच्यौ । कविताको जवानी बाँच्यौ । आज तिमी शरीर बुढ्यौलीमा बाँच्नु परेको भए ८६ वर्षको उमेरमा पनि कविता लेखिरहेका हुने थियौ । किन कि, तिम्रो रगतको प्रत्येक थोपाबाट कविता निस्कन्थे । र, लेख्ने थियौ होला ।

मर्न चाहेर पनि मर्न नसकिने
कस्तो चोला दियौ
मर्ने दिन गनेर बस्नु पर्ने
मर्न झन गाह्रो छ ।

तर मरेर पनि जीवित छौ, र त आज पनि चोक चोकमा तिम्रो सम्झना भैरहन्छ ।

आधुनिक नेपाली कविताका सर्वाधिक लोकप्रिय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अङ्गीकार गरे । उनले जनवादी नारालाई कलात्मक रूप दिए र रिमालले कोरेको गद्यकविताको राजमार्गलाई पक्की बनाए । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रूपले समृद्ध पारे । जसका कविताले नेपाली कविताको धार नै परिवर्तन गरिदियो ।

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्

भूपिले देखेको चोक अहिले झन् साँघुरो भएको छ । चोकभन्दा पनि यहाँ मान्छेको मन साँघुरो हुँदै गएको छ । मान्छेले मान्छेलाई कुल्चिरहेको छ पाइला पाइलामा । कहिले जातको चप्पलले कुल्चेको छ कुजात भनेर । आखिर ऊ पनि त मान्छे नै हो ।

मोती भुजेल

मोती भुजेल

पवित्र मुक्ति क्षेत्रको कालीगण्डकीको दाहिने किनारमा अवस्थित टुकुचे बजार । जहाँ १९९२ साल पुस १० गते भाग्यमान शेरचनको जन्म एउटा सम्पन्न परिवारमा भयो । छोरा, छोरी ठुला भएपछि बाबुआमाको इच्छा चाहना हुन्छ छोरा, छोरी यो बनुन, त्यो बनुन् भन्ने । भूपी ५ वर्षको हुँदा आमाको मृत्यु भयो । उनका बाबा व्यापारी थिए । उनको चहना छोरा पनि एउटा असल व्यापारी बनोस् भन्ने थियो । तर, भूपी जतिबेला राम्रो शिक्षाको लागि बनारस गए, त्यहाँ उनले अध्यनसंँगै आफू प्रगतिशील विचार बोकेको भूपेन्द्रमान शेरचन बने । सर्बहाराप्रतिको झुकावले कलेज जीवनमा तिनै भूपेन्द्रमान बने सशक्त कवि भूपि शेरचन । आफ्ना केही पुराना त केही समकालीन कविताहरुको संकलन गरेर ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ छाप्न दिँदा भूपि तन्नेरी , प्रखर, तीक्ष्ण, उग्र तर मनको निष्पापी थिए । उनी आफैंलाई थाहा थिएन ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’को न्वारन आफ्नै लागि हुन्छ ।

२०३६ सालमा वीरेन्द्र राजाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य चयन गरेपश्चात जे जति परिवर्तन भए, भूपि शेरचनमा नेपाली जनता र नेपाली साहित्यकै लागि भएको मानिन्छ । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान जस्तोे गरिमा बोकेको संस्था र अहिलेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट उच्च प्राज्ञिक पुस्तकहरु पाए । संगीत क्षेत्रमा गीतहरु लेखे, निस्क्यो । तर, त्यसपछि जति अनमोल ग्रन्थहरु निस्कनुपथ्र्याे त्यो निस्कन सकेको छैन । यो देशमा पहिला राजसंस्था र राजमुकुटको सक्रियतामा जे भयो भयो, अहिले जे जति हुनुथ्र्यो हुन सकेको छैन । महान् कवि भूपि शेरचनलाई यतिखेर देशले सम्झिरहेको छ ।

नेपाली काव्यमा भूपि शेरचनका नामले प्रख्यात मात्र भएनन्, असाध्यै लोकप्रिय कविका रूपमा समेत उनले आफ्नो स्थान सुरक्षित बनाए । युवावस्थामा माक्र्सवादी दर्शनबाट प्रेरित रहेका उनले नेपाली काव्यमा आफ्नो विशिष्ठ पहिचान स्थापित गरेको कुराको इतिहास साक्षी छ । सरल भाषा र तीखो व्यङ्ग्यले भूपिका कविता निकै लोकप्रिय र सशक्त बनेका छन् । उनका कवितामा अन्याय, अत्याचार, सामाजिक विषमता, आर्थिक शोषण र राजनीतिक अवसरवाददेखि त्रस्त र कम्पित मानवीय भावहरु प्रभावित पाइन्छन् । सर्वसाधारणका नाममा माथि उठ्ने र उनीहरुकै पसिनामा रजाइँ गर्ने मनोवृत्ति कवि शेरचन रत्तिभर मन पराउँदैनथे ।

नेपाली काव्यमा उनी आजसम्मका केही उल्लेख्य स्रष्टाहरूभित्र पर्दछन । आर्थिक रूपमा सम्पन्नशाली घरमा भूपिको जन्म भए पनि उनले नेपाली साहित्यकै लागि आफ्नो जीवनकालभरि नै सङ्घर्ष गरेको देखिन्छ । पूँजीपति वर्गको युवा अवस्थादेखि नै विरोध गरेका कारण उनमा विद्रोही चेतना पछिसम्म नै रहेको पाइन्छ, जसले उनका रचनाहरूमा प्रमुख भूमिका खेलेको पनि छ । मूलतः विद्रोही चेतना उनका अजम्बरी कविताहरूमा सग्लो रूपमा प्रतिबिम्बित पनि छन् ।

जीवनका अनेकौं उतारचढाव झेल्न पुगेका भूपि शेरचन २०३६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यसमेत बन्न पुगेका थिए । उनको कविताहरूले साहित्यमा विद्रोहको नूतन चेतना मात्र उद्घाटित गरेनन्, अझ कलात्मकता र वैचारिकताको उत्कृष्ट उदाहरण बनेर समेत देखाए । भूपि शेरचन आफू प्राज्ञ सदस्य हुँदा नेपाली साहित्यको एउटा बृहत शब्दकोस ५ हजारप्रति छपाउने जमर्को गरे । श्री ५ को सरकारसँग सहयोगको लागि बिन्ती बिसाउँदा तत्कालीन प्रज्ञा प्रतिष्ठानको जेथा बैंकमा राख्नु त्यसको जिम्मेवार श्री ५ को सरकार बस्ने छ भन्ने जबाफ आयो । राष्ट्रको गहना अर्बौँ, खर्बौँको लागि पनि धितो राख्न नसकिने जबाफ पठाएर भूपिहरुले राष्ट्रको गहना प्रज्ञा प्रतिष्ठान बचाइदिएर अहिलेका स्वकीय कविहरुको हालीमुहालि गर्न पाएका छन् । फगत शासक बदलिए पनि शासन बदलिएन । शासन बदल्ने स्रष्टा जन्मेनन् । अहिले पनि हामी कलमभन्दा तलवार बलियो भन्दै छौं । जसले चर्को दबाब र मुटभेट गर्न सक्छ उसको कुरा मात्र सुन्छ । मिल्न नसक्ने हामी अनि दोष अरुलाई ।

भूपीको ‘हामी’ कविता जस्तैः

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनु पर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याई दिनुपर्ने
आफूखुसी कहिल्यै आगाडी बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनु पर्ने
हामी टुटे फुटेका
एउटा स्ट्राइकरद्वारा सञ्चालित
पुराना क्यारिम बोर्डका गोटी हौं

आज देशलाइ प्रदेशको नाममा टुक्रयाइएको छ । नेता भनाउँदाहरुले संघियताको नाममा देश टुक्राउन खोजिरहेछन् ।  सरकार जनतालाई महँगीको जाँतोमा पिसिइरहेको छ । हामी पिसिइरहेका छौं घुनजस्तै । हामी अन्न कम, ज्यादा घुन भएका छाैँ । हाम्रो देशका स्रष्टा, कवि, कलाकारमा भूपिको जति पनि खुबी देखिएन । योबेला आफूलाई देशको सच्चा स्रष्टा सम्झने हो भने कवि, लेखक, कलाकार आफ्नो भावनालाई मायाप्रिती, प्रेम–बिछोड, कामवासना, अँगाल्ने र अँगालेको विषयमा कलम थन्क्याएर कलमरुपी तलवार चलाउने बेला भएको छ । ढिला न गरिकनै अहिलेको अवस्थामा जसले जनताको र देशको बारेमा नलेखी, मात्र चुम्बनको बारेमा सुरा सुन्दरीका कुरा मात्र लेख्छ त्यो राष्ट्रको कवि हुनै सक्दैन । गोपालप्रसाद रिमालको ‘आमा’ कविता पढेका हामी आम पाठकलाई अहिले ६ लाइनमा कविता सुनाउँछन् आधुनिक कविहरू । भूपिको हामी कवितामा पानीको फोकाजस्ता कविता लेखेर कवि बनेका छन्, अहिलेका कविहरु । पानीको फोकामा घाम परेपछि क्षणिक राम्रो दृश्य देखिन्छ । केहीछिनमा माटोमा मिलेपछि कुनै अस्तित्व छैन । पछिल्लो पुस्तामा अनुकरणीय प्रभाव छोड्न सक्ने विशिष्ठ कविको स्मरण गर्दा भूपिलाई नै अघि सार्नुपर्ने हुन्छ ।

खासगरी, कवितामा देखिने सुन्दरताको कलात्मक तथा बिम्बात्मक प्रयोगका कारण भूपिलाई अरूभन्दा निकै पृथक् बनाएको कुरामा शङ्का गर्नुपर्दैन । उनका ‘हामी’, ‘यो हल्लैहल्लाको देश हो’, ‘मैनबत्तीको शिखा’ जस्ता असङ्ख्य कविताहरू अजर र अमर छन् । वि.स. २०१२ सालमा नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शेरचनले वि.स. २०२६ सालमा पहिलो साझा पुरस्कार प्राप्त गरे । आज शनिबार यो साताको अन्तिम दिन, भूपि स्मृति कार्यक्रममा साहित्यमा ह्रास आएको चर्चा हुनेगरेको छ । तर भूपि यो कुरामा असहमती जनाउथे । कुनै पनि देशको साहित्य सिर्जना भैसकेपछि सिर्जनाको ह्रासपछिका लेखकहरुले चाहेर पनि गर्न सक्तैनन् । ती शाश्वत क्लासिक भैसकेर त्यस देशको सम्पत्ति बनिसकेका हुन्छन् । साहित्य बाबुबाजेले छोडेर जाने सम्पत्ति होइन जसलाइ छोरानातिले हृास गर्न सकुन् ।

भूपि शेरचन रोमान्टिक खालका थिए । बोलीमै मिठास । बिम्बमा बोल्थे । ‘एकपटक नारायण गोपाल र रत्नशमशेर थापा बसिरहेका बेला भूपिले बाहिरबाट बोलाए –  सानुबाबु । नारायणलाई सानुबाबु भन्थे ।

नारायणले भने– आइये आइये ।

भूपि कोठामा आएपछि ठट्यौली पारामा भने– मैलै आइएमात्रै पढेको भन्ने यिनले कसरी थाहा पाए हँ !

यसरी ठट्टा गरिरहन्थे भूपि । एकपटक भुपिका आफ्ना फ्यानहरुले अटोग्राफ माग्दा सहजै दिए । एक जनाले कवि जिउ घर पनि लेखिदिनु, भन्ने तात्पर्य नाम मिति र घरको पनि उल्लेख गर्ने आशयमा कविले जबाफमा भाइ तपाईँलाईँ घर लेखेर मेरा दुई श्रीमति ८ सन्तान कहाँ राख्ने ? ल घर लेख्दिन ठेगाना लेख्छु भन्दै ठट्यौली गर्थे । अर्को किस्सा भुपिका महिला फ्यान पनि उत्तिकै थिए ।

एक पटक भुपिलाई भेट्न् दिल्ली बसेर पढ्ने छात्रा नेपाली मन्जु थापा काठमाडौँ आइन् । र भूपिलाई भेट्न भूपिको घर नक्साल जाँदा भूपि शोकमा थिए । बरखी बारेर बसेका, कपाल खौरेका, सेतो कपडा टाउकोमा बेरेर बसेका बेला ती छात्राले ‘म मन्जु थापा’ भन्दा भूपिले म ‘गन्जु थापा’ भनेर ठट्यौली गरेका थिए रे ।

भूपि विलक्षण थिए । आफ्ना रचनाका पछि कहिल्यै नहिँड्ने, प्रचारबाजीप्रति कुनै अनुराग नभएका, हल्लाखल्ला र गुटबन्दी चापलुसीजस्ता प्रवृत्ति अनि चारित्रिक छुद्रताले कतैबाट छुन नसकेका सायद आजका साहित्यकारहरुको छविको सर्वथा विपरित । नेपाली साहित्यका यस्ता विशिष्ठ साधक भूपि शेरचनको निधन वि.सं. २०४६ साल जेठ १ गते भएको थियो ।