१. आमुख
कोही लेखक विज्ञापन र बडप्पनदेखि टाड़ा रही आफू निरन्तर रूपमा लेखिरहेका हुन्छन्। तिनलाई न त पुरस्कार र सम्मान प्राप्त हुन्छ न त तिनका कृतिहरूको समुचित मूल्याङ्कन गरिएको समीक्षा नै गरिएको हुन्छ। यस्ता लेखकहरू प्रतिभा भएर पनि ओझेल भई आमपाठकका निम्ति अनसुना प्रतीत हुन्छन्। नेपाली साहित्यमा पनि यस्ता ओझेलमा परेका साहित्यिक लेखकहरू अवश्यै छन्। यस्ता ओझेल परेका तर प्रतिभाशाली साहित्यिक लेखक हुन् कमल चामलिङ। उनी पनि आफ्नै धूनमा निर्लिप्त रूपमा लेखनधर्मितालाई अघि बढाउने एक सर्जक हुन्। चार दशकदेखि उनी साहित्यमा देखा परेका छन् यद्द्यपि उनको समुचित मूल्याङ्कन भएको देखिन्न।
२. विषयप्रवेश-
सर्जक कमल चामलिङको जन्म ५ जून १९४५ मा दार्जीलिङको पोखरेबुङ क्षेत्र अन्तर्गत टर्जम चियाबारीमा भएको हो। उनका माता-पिताको नाम स्वº पञ्चमाया चामलिङ र स्वº जितू चामलिङ हो। उनी आजीवन शिक्षण क्षेत्रमा संलग्न रही वर्तमान समयमा अवकाश जीवन बिताउँदै स्वतन्त्र लेखनमा सक्रीय छन्। हालसम्म उनका तीनवटा कथा संग्रह ‘दुइ मुटु एक धड़्कन’(१९७७), ’प्रीतिको फूल’(२००७), ‘जीवनको नयाँ मोड़’(२०१३) दुइवटा उपन्यासहरूमा ‘निभेको जवानी’(१९९१) र ‘प्रेमलता’(२००५) एउटा कवितासंग्रह ’कलियुगको तमासा’(२०१०) गरी जम्मा ६ वटा पुस्तक प्रकाशित छन्। यसैगरी उनले ‘ज्योति’, ‘झोपड़ी’ र ‘स्पन्दन’ गरी तीनवटा पत्रिकाको सम्पादन गरेका छन्। उनको प्रथम रचना जनदूत पत्रिकामा १९३७ मा प्रकाशित ‘सेकेण्ड’ भन्ने हास्यकथा हो।
३. कथाकार चामलिङ-
कमल चामलिङका तीन कथासङ्ग्रहमा जम्मा त्रिचालीसवटा कथाहरू सङ्ग्रहित छन्। पहिलो कथासङ्ग्रह ‘दुइ मुटु एक धड़्कन’-मा दशवटा,दोस्रो ‘प्रीतिको फूल’-मा बाह्रवटा र तेस्रो सङ्ग्रह ‘जीवनको नयाँ मोड़’-मा एक्काइसवटा रहेका छन्। यसरी उनका त्रिचालीसवटा कथाहरूका आलोकमा उनलाई एक सफल,सबल कथाकारका रूपमा दह्राउन सकिन्छ। उनी उपन्यासकार र कविका रूपमा देखिए तापनि कथा क्षेत्रमा नै उनले बढ़ी सफलता पाएका छन्।
कथाकार चामलिङको पहिलो कथासङ्ग्रह ‘दुइ मुटु एक धड़्कन’-का दशवटा कथाहरूमा ‘लोग्ने स्वास्नी’,’गरीबी’, ‘जिन्दगीको तमासा’, ‘जोड़ा सहाराहीन युवती’,’दुइ मुटु एक धड़्कन’, ‘जमाना यस्तै रहेछ’, ’सेकेण्ड’,’पश्चाताप’,’गुप्तीकुरा’ हुन्। यी कथाहरूका शीर्षकले नै यी प्रत्येक कथाहरूको प्रवृत्ति, विषयवस्तु र कथ्य दर्शिन्छन्। लोग्नेस्वास्नी कथामा लोग्नेस्वास्नीबीचमा कहिले काँही हुने मनमुटावको वर्णन छ। लोग्ने मानिसको निम्ति आफू कुनै कामबाट बेलुकी घर आउँदा स्वास्नीको अनुहार कालो (अँध्यारो) भए सबैभन्दा विषाद् ठहरिन्छ। पहिले प्रेमी-प्रेमिका हुँदा प्रेमिकाले पठाएको प्रेमाशक्तिले भरिपूर्ण लेखिएका प्रेम-पत्र पाउँदा पछिबाट त त्यो एउटा व्यङ्ग्य जस्तो मात्र हुन्छ। लोग्नेले घरको गाग्रो फ्याँकेर कुच्याउँछ अनि फेरि सोझ्याउँछ। लोग्ने स्वास्नीको सम्बन्ध पनि त्यही सिलभरे गाग्रो झैं कुच्चिदै सोझिदै चल्छ।
‘गरीबी’, ‘जिन्दगीको तमासा’, ‘सहाराहीन युवती’, ‘पश्चाताप’ आदि कथामा सामान्य गरीबीको चित्रण,गरीबीले जन्माएको विसङ्गति,बेरोजगारी समस्या र त्यसबाट उब्जेको प्रतिफल परिस्थितिको चित्रण, नैतिकमा आएको ह्रास र अनैतिकताले जन्माएको विकृति र परिणामलाई दर्शाइएको छ। यी कथाहरूका पात्र-पात्रा विभिन्न आर्थिक, नैतिक कारणले दुर्घटित छन् र पाठकमा करूणा जगाउँछन्। ‘दुइ मुटु एक धड़्कन’, ‘जोड़ा’, ‘गुप्ती कुरा’ आदि कथामा प्रेमका केही पाटाहरूको वर्णन छ। दुइ मुटु नामकै शीर्षक रहेको कथामा भने प्रेमको सुखद पक्ष पाइन्छ भने ‘गुप्ती कुरा’ कथामा प्रेम पीड़ा, विछोड़को भाव पाइन्छ।
‘प्रीतिको फूल’ कथासङ्ग्रहमा बाह्रवटा कथाहरू सङ्ग्रहीत छन्। २००७ मा प्रकाशित यस सङ्ग्रहले पनि चामलिङभित्रको कथाकार व्यक्तित्वलाई प्रस्फुटित गरेको छ। ‘बन्धन’ कथामा सोह्र-सत्र वर्षको उमेरमा यौवनको प्रभावले बुद्धि-विवेक नपुर्याई बिहे गर्न तम्सिने युवा-युवतीको कथा छ। यही कारणले गर्दा पढ़्ने उमेरका युवा-युवतीको भविष्य बर्बाद हुन्छ। कथाको मूल पात्र मदनको बिहे गर्ने ठीक उमेरसम्ममा त तीनजना सन्तान भइसक्छन् औ परिवार धान्ने उमेरमा शिर उठाउन पाउँदैन। उसले घरि-घरि गिटार बजाउनु उसको आदर्श युवावस्थाको कल्पना हो र त्यहीबेला स्वास्नीले उसलाई दाउरा ल्याइमाग्नु, गाई सुङ्गुरलाई घाँस-चारो खोज्न पठाउनु यथार्थको पराकाष्ठ रूप हो। यो कथा अघिल्लो कथासङ्ग्रहको लोग्ने-स्वास्नी कथासँग मिल्दछ। यी दुवै कथाका मदन र धीरेन जस्ता पात्रहरू गृहस्थी जीवनका रापले पिरोलिएका छन् तथा छिटो बिहे गरेमा पश्चाताप गर्छन्। दुवै सम्झौताको मार्ग अपनाइ चित्त बुझाउँछन्।
‘भोट’ कथामा वर्तमानको विकृत राजनैतिक अवस्थाको चित्रण छ। गाउँ-घर कमानतिर सत्तासीन र चल्ती राजनैतिक दलबाहेक अन्य दलमा कुनै व्यक्ति गयो भने तथा गणतन्त्रको महत्व बुझेर वक्तव्य र अन्य राजनैतिक क्रियाकलाप गर्यो भने हत्यासमेत हुने अलोकतान्त्रिक प्रणाली नै हाम्रो सत्यता छ। यस कथामा प्रजातान्त्रिक विचारधारा भएको धनवीर र रहरसिंहको हत्या भएको छ। देशमा संवैधानिक तवरमा गणतन्त्र भए पनि स्थानीय क्षेत्रमा चाँहि स्वार्थी र अपराधी राजनैतिक नेताहरूको अराजकता, संत्रास-आतङ्कपूर्ण भएको यथार्थलाई अभिव्यक्ति दिइएको छ।
‘आँसु’, ‘अङ्कल के चाहियो’?, ‘तीन तरेली’ कथाहरूमा वर्तमान पीढ़ीका युवाहरूको चारित्रिक पतनको यथार्थ पाइन्छ। अघिल्लो पिँढी र पछिल्लो पिँढीबिचमा रहेको मानसिकता वा चिन्तनगत अन्तराल देखाइएको छ। घरको आर्थिक अवस्थाको ख्याल नगर्ने, आफ्नो अध्ययन पूरा नगर्ने, सोचाइमा दारिद्र्यपनले गर्दा समाजका एकांश युवा-पिँढी पथभ्रष्ट देखिन्छन्। तिनलाई सचेत व्यक्ति र समाजले अर्ती-उपदेश दिनु निरर्थक सावित हुन्छ औ समाजमा यस्तै बिग्रेका युवाहरूको बिगबिगी छ भन्ने तथ्य प्रकट गरिएको छ। यस्तैगरी राजनैतिक कुव्यवस्थाबारे बाध्यता कथामा पनि प्रकाश पारिएको छ। ‘प्रीतिको फूल’ कथामा चाँहि प्रेमको मीठो वर्णन पाइन्छ। समग्रमा यसमा रहेका कथाहरूमा पनि प्रेमको तीतो र मीठो दुवै पक्ष, राजनैतिक विकृति, सामाजिक विकृति इत्यादि कुराहरू कथ्यको रूपमा देखिन्छन्।
श्री चामलिङको सबैभन्दा पछिल्लो कथासङ्ग्रह ‘जीवनको नयाँ मोड़’(२०१३) मा जम्मा एक्काइसवटा कथाहरू समावेश छन्। यसमा पनि समाजमा घट्ने गरेका साना-ठूला, ख्याल गरिएका र नगरिएका घट्नाहरूको रेखाङ्कन गरिएको छ। यसमा पनि समाजका युवा-पुस्ताको बिग्रँदो अवस्था, राजनैतिक विद्रपता र प्रेम प्रीतिका विभिन्न पाटाहरूलाई अभिव्यक्ति प्रदान गरिएको छ। यसमा धेरै कथाहरू भएकाले यसले धेरैवटा विषयवस्तु, कथ्य, तथ्य, दृश्यहरूको यथार्थ अङ्कन गरेको छ। यस सङ्ग्रहभित्रका अधिकांश कथाहरूमा पनि सामाजिक विकृति, युवावर्गको बिग्रँदो अवस्था, वैचारिक दीवालियापन, राजनैतिक अराजकता र सन्त्रास, चारित्रिक पतन, बृद्धावस्थाको लाचारीपन, स्वार्थी विचारधारा, दुई पुस्ताबिचको वैचारिक अन्तराल, प्रेमका विभिन्न स्वरूप इत्यादि मुख्य विषयवस्तुका रूपमा पाइन्छन्।
४. चामलिङको कथागत प्रवृत्तिको सर्वेक्षण-
समाजमा जानिदो र नजानिदो पाराले केही घटना घटिरहेको हुन्छ। त्यस्ता घटना चाहे सार्वजनिक होस् वा व्यक्तिगत होस्, कथाकारका लागि कथा बुन्ने ठाउँ प्रशस्त हुन्छ। सानोभन्दा सानो घटनालाई पनि कुशल र संवेदनशील कथाकारले कथ्यगत सामल वा सामग्री तुल्याई रोचक र सुन्दर कथा बुन्न सक्छ। कथा बुनाइको तरिका र कुशलतामा कथाकार सचेत रहेका छन्। हाम्रा कथाकार चामलिङ पनि कथागत विषयवस्तुको चयन गर्नु, समाज केलाउनु, समस्याको पहिचान गर्नु, साना-ठूला घटनालाई स्वर प्रदान गर्न दक्ष देखिन्छन्। कथाकारले आफ्नै घरमा किवा आफ्नै वरिपरिको छिमेकमा घट्ने घटनाहरूलाई फोकस दिएर लेखेका छन्, समस्या पहिचान गरेका छन्। घट्दो मानवमूल्य, नैतिकता, विवेकशीलता तथा आदर्शतालाई कथाकारले यति नजिकबाट हेरेका छन् कि पाठक वास्तविकता र काल्पनिकताको भ्रममा पर्दछ। अत: समाजमा बढ़्दो अनाचार, नैराश्य, अनैतिकता, हिंसा, आतङ्क, विसङ्गति, वेरोजगारी, मानसिक चाप आदिले जर्जरित मानवीय अवस्थाको सन्धआन नै चामलिङको कथागत प्रवृत्ति हो।
अत: चामलिङका तीनवटा कथासङ्ग्रहका कथाहरूको समग्र अध्ययन गर्दा हामी स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, विसङ्गतिवाद, आलोचनात्मक यथार्थवाद, कारूणिकता, मानवीय चरित्रको अन्वेषण, आञ्चलिकता, कथ्य भाषाको प्रभाव र प्रयोग आदि पहिचान गर्नसक्छौं।
४:१. स्वच्छन्दतावाद-
चामलिङका कथाहरूमा स्वच्छन्दतावादी भावधारा टड्कारो रूपमा देख्न सकिन्छ। युवा- युवतीका स्वाभाविक प्रेमका झल्का-झिल्की, उनीहरू कतै भेट हुनु र बोलीचाली भई प्रेम परिहाल्नु, प्रेमको सहज रूपमा तारतम्य मिल्नु आदि रोमान्टिक भावधारा हुन्। ‘समाजको चित्त बुझोस्’, ‘फिटि म के गरूँ’, ‘प्रीतिको फूल’, ‘दुई मुटु एक धड्कन’ आदि कथाहरूमा सुखान्तता रही प्रेमको मीठो पक्ष देखाइएको छ।
‘समाजको चित्त बुझोस्’ कथामा मुख्य पात्र-पात्रा अमर र दीपा एक समयका सहपाठी, दुवै स्थायी नोकरी पाएर पनि बिहे नगरेका, पछिबाट दुईमा प्रेमाङ्कुर भई विवाहमा परिणत हुन्छ। समय आएपछि सठिक समयमा बिहे हुँदा गाउँ-घर र समाज खुशी हुन्छ। उनीहरू दुइजनाको आदर्श प्रेम र बिहे गाउँ-घरका लागि असल उदाहरण बनेको छ। ‘फोटो म के गरूँ’ भन्ने कथामा वनभोज खान गएको भिन्नाभिन्नै टोलीको युवा-युवतीमा प्रेमाङ्कुर हुनु, अपरिचित युवकहरूको समूहमा एउटी युवती मिरिक झिलमा नाऊँमा चढ़्नु, त्यहाँ फोटो खिँच्दा अङ्कमाल गरेजस्तो फोटो निस्कनु, त्यो फोटो युवकले युवतीलाई पठाइदिनु र उनीहरूमा प्रेम हुनु मुख्य कथावस्तु रहेको छ। त्यहाँको प्रेमको अनौठो तारतम्य मिलाइएको छ।
‘प्रीतिको फूल’ कथामा पनि प्रेमको अनौठो संयोग गरिएको च। दार्जीलिङमा बीͦ टीͦ गरिरहेको शिक्षक रमेश र अनेय दुईजनाको टाइगरहिल पैदल भ्रमणका बेला भेट भएकी एउटी युवतीसित हाँस-खेल र मन चाराइपूर्ण सम्वादले प्रेम हुन्छ औ बिहेमा पुगेर टुंगिन्छ। मन मिल्यो भने प्रेम भइहाल्छ। युवा-युवतीमा स्वाभाविक रूपमा प्रेम तत्व प्रबल रहन्छ र कुनै घटना, संयोग, प्रसङ्ग, तारतम्य आदि मिलेर एकार्कामा प्रेम हुन्छ।
४:२. यथार्थवाद-
चामलिङको कथागत मूल प्रवृत्ति नै सामाजिक यथार्थवाद हो। यसमा कथाकारले आफ्नै गाउँ-घरतिर घट्ने गरेका साना-ठूला घटना र प्रसङ्लाई राम्ररी केलाएका छन्। उनले यथार्थका पक्षमा सबैभन्दा टड्कारो चाँहि दार्जीलिङको सामाजिक, आर्थिक, चारित्रिक, राजनैतिक अवस्ताको स्वाभाविक अङ्कन गरेका छन्। चालबाजीले गर्दा कथामा दुइवटा भिन्नाभिन्नै राजनैतिक दलको आपस्तको झगड़ामा सम्धी-सम्धी घाइते भई अस्पतालमा भर्ती हुनपुग्छन्। समाजमा सत्ता पक्षको चल्ती पार्टीको मात्र बोलबाला र दादागिरी हुनु, अनेक दलमा कोही लाग्मै नपाउनु वा लागे उनीहरूमाथि कुटपीट-हत्या हुनु, सत्ता पक्षको चल्ती पार्टीको सिद्धान्त मन नपरे पनि बाध्यतावस् अपनाउनै पर्ने, नेताहरूले साधारण कार्यकर्ताको प्रयोग गरी आफ्नो दुनो सोझ्याउनु इत्यादि जस्ता अगणतान्त्रिक राजनैतिक व्यवस्थाको यथार्थ चित्रण गरेका छन्। विरोध होइन बाधयता कथामा पनि घरका नारीहरू आफ्ना घरेलु काम धन्दा र कर्तव्य भुलेर जाति र माटाको नाममा रमाइलाका लागि जुलुसमा जाने गरेको तथ्य प्रकाशित छ। एउटा कुनै राजनैतिक दलको कार्यक्रम र माटाको आन्दोलनको नाममा भएको राजनैतिक वितण्डामा कतिपय नारीहरु त्यसै होहोरीमा लागेर जुलुसमा हिड़ेने चलनमाथि पुरूष वर्गलाई पर्ने घरेलु कामको बोझको मर्मलाई अभिव्यक्त गरिएको छ। जुलुस र सभातिर भाग लिएन भने जाति र माटो विरोधी होइन्छ भन्ने राजनैतिक दलले छरेको विष र भ्रमक सन्देशमाथि प्रकाश पारिएको छ। कतिपय घरमा त लोग्ने-स्वास्नीसमेत यस कुराले गर्दा मनमुटाव भएको झल्काइएको छ। ‘भोट’, ‘बाध्यता’ इत्यादि कथाहरूमा पनि विकृत राजनितीको पीरो धुँवाले कथाका पात्रहरूलाई आँसु झारेको छ। ‘बाध्यता’ कथाको भेना भन्ने पात्र एउटा पार्टीको प्रचार र सदस्यता लिने अभियान चलाउनुका पछाड़ि त्यस दलले उसलाई त्यसो गर्न बाध्य तुल्याएको तथ्य प्रकट गरिएको छ। हाम्रो दार्जीलिङको परिवेशमा राजनिती कहिले पनि फलिफाप सिद्ध भएन। यहाँको राजनिती त समाजका एक मुठी स्वार्थी मानिसहरूको खेलौना र स्वार्थको हतियार बनेको छ। नेता र तिनका मतियारहरूको तिगडमबाजी अनुशासनहीनता, अविवेकी क्रियाकलाप, दादागिरी, अराजकता इत्यादिलाई नै राजनिती ठान्नुपर्ने बाध्यताको ज्वलन्त नमूना बनेका छन् चामलिङका केही कथा। झन कमान-बस्तीतिरको साँघुरो र स्वार्थप्रेरिता राजनैतिक अभ्यासलाई नजिकबाट हेरिएको छ।
४:३. विसङ्गतिवाद-
चामलिङका कथाहरू पूर्णतया सचेत विसङ्गतिवादी नभए तापनि यसको प्रभाव देखिन्छ। जीवनमा कहिलेकाँही नचाहेको र विसङ्गत कुराहरू आइपर्छन्। उनका कथाका पात्रहरूको जिन्दगी सोचेजस्तो, योजना गरेजस्तो, ठिक्क ठिक्क मिलेजस्तो छैन। प्राय: पात्रहरू दुर्नियतिको शिकार बनेका छन्। बिचरा ‘बले भाइ’ कथाको मूल पात्र बलबहादुर सोझो र इमानदार छ। उसले पैंतालिस वर्षको उमेरसम्म बिहे गरेको छैन तर बिहा गर्ने रहर र इच्छा चाँहि पालेको छ। उलाहा र फटाहा केटाहरूले केटी देखाउँदा उ पत्याइहाल्छ। अब बिहा पक्का हुनेभयो भन्ने स्थितिमा चाँहि उ खँजाहा भई थन्किन्छ। सहाराहीन युवती कथामा पनि एउटी शिक्षित युवती घर-परिवार र नोकरी आदिबाट बञ्चित भई, एउटा अफिसरको कुदृष्टि पर्ने जस्ता बाध्यताबस आत्महत्या गर्छे। ‘जिन्दगीको तमासा’ कथामा पनि लासमाथि बसेर शिशुले स्तनपान गर्न खोजेको हृदयविदारक र विसङ्गतिपूर्ण घटना-विवरण छ।
४:४. आलोचनात्मक यथार्थवाद-
कथाकार चामलिङले वर्तमान समाज कुन दिशातिर जाँदैछ? मानिसको मानसिकता कस्तो बन्दैछ? मान्छे के कसो गरी जिउँछ? इत्यादि कुराको चिन्तन र अन्वेषण गरेका छन्। एक आदर्श विचारधारा बोक्ने बोक्ने सचेत पुरूषले आफ्नो वरिपरिको समाजमा के के भइरहेको देख्छ, के के पाउँछ आदिको सर्वेक्षणात्मक अध्ययन गरिएको छ। यस प्ररिप्रेक्षमा कथाकारले –(१) राजनैतिक दुरावस्थाप्रति आलोचना, (२) युवाहरू कुबाटोतिर उन्मुख, (३) युवापिँढीको मानसिक दिवालीयापन, (४) बढ़ी भौतिकवादी वस्तु र विचार (५) मानिसहरूको व्यक्तिगत स्वार्थप्रेरित मानसिकता इत्यादि कुराहरूको आलोचना गरी शिक्षाको माध्यमबाट हुने आत्मोत्थानप्रति आग्रह देखाएका छन्।
कथाकारले समाजका विशेषगरी युवा-युवतीको विकृत मानसिकता र आचार-व्यवहार, छोटो बुद्धि, भविष्यको चिन्ताबाट विमुख आदि कुरा देखेर क्षोभ व्यक्त गरेका छन्। उनका केही कथाहरूमा एकजना गुरूबाबु(सर) पात्र छ जसले समाज चारैतिरबाट बिग्रेको देख्दा साह्रै दु:ख मान्छ। केही युवकहरू मदपानदेखि लिएर सबै पक्षबाट पथभ्रष्ट र युवतीहरू पनि अनैतिक र मतिभ्रष्ट आचरण देखेर गुरूबाबु पात्रभित्रको ‘आदर्शस्व’ पीड़ित छ। ‘ज्वाई साहेब’ कथाको पात्र सहदेव रातदिन जाँड़-रक्सी र जुवा-तासमा लागेर आफ्नी स्वास्नी र शिशुलाई समात लत्याउँछ। छोरीको बाबु-आमालाई जुन पीर परेको छ, यो यस्तै अलेक भुक्तभोगी अभिभावकहरूको कथा हो। ‘सलमाकी ममी’ कथाकी ललिता बुहारी पनि आफ्नो घर-गृहस्थीको कर्त्तव्य पालन नगरी लोग्ने र छोरीलाई छाड़ेर पर-पुरूषसित पोइल जान्छे। उसको चालचलन नै घरका निम्ति अलच्छिन खालको थियो। ललिताको सोंचाई ने दारिद्रय किसिमको छ। एक त उ आफ्नो नानीलाई आमदानी नभइ पनि सरकारी स्कूल लगाउन मान्दिन अनि अँग्रेजी स्कूलमा छोरी पुर्याउन के गर्छे, कहाँ जान्छे कसैलाई थाहा हुँदैन। लोग्नेलाई समेत पत्तो नदिई दाजु बनाएकी भन्ने एउटा परपुरूषसित लहसिएर अन्तमा उ पोइल जान्छे। हाम्रो समाजमा मुखले दाजु र बहिनी बनाउने चलनमा कहिलेकाँही अनैतिकता देखिन्छ। ‘चेली माइती’ कथामा पनि यही विषयवस्तु छ। कथाकी मूल पात्रा रीता र दाजु मानेको अमितको बिहे हुन्छ। यता आफ्नै दाजुलाई चाँहि हेला गरेर परपुरूषलाई दाजु भन्दै अन्तमा बिहे गर्छन्। यसरी समाज भाँड़िएको एउटा पक्षको यहाँ राम्रो अध्ययन गरिएको छ।
‘प्रीतिको फूल’ कथासङ्ग्रभित्र रहेको तीन तरेली कथामा पनि वर्तमान पिँढीका युवावर्ग तीन प्रकारले भाँड़िएको देख्न पाइन्छ। एउटा वर्ग परीक्षार्थी विद्धार्थीवर्ग छ जो आफ्नो परीक्षा र भविष्यको चिन्ता नलिई जाँड़ रक्सी खाने, अर्को वर्ग छ केटा केती जोड़ी जोड़ी भई लठारिएर एकान्त कुनातिर जाने र तेस्रो वर्ग छ मदपान-ड्रग्स सेवन गरी सज्जन व्यक्तिहरूले सम्झाउँदा समेत दुर्व्यवहार गर्छन्।
‘बैंस निख्रिएपछि’ कथाकी रोशनी पनि पहिले आफै खुशीमा चल्नु, सिंगार-पटार र टडक-भडक देखाउँछे तर पछिबाट कुरूपा भई लोग्नेबाट समेत परित्यक्त हुन्छे। घरको आमाहरूले नै राम्रो संस्कार नसिकाए छोरा-छोरी बिग्रन्छन् भन्ने सन्देश दिएका छन्। साह्रै घतमा गयो कथामा पनि बनभोजतिर मदपान गर्ने चलनको उल्लेख गरिएको छ बने मनमा चिसो पस्यो कथामा घरमा बिरामी ससुराको स्याहार-सुसार नगर्ने तर मर्दा शोकको ढोंग गर्ने छोरा-बुहारीप्रति व्यङ्ग्य वरण गरिएको छ। ‘बिल्लीबाठ हुने रहेछौं’ भन्ने कथामा पनि कमाइ नहुने पनि अनावश्यक रूपमा मोबाइल किनीमाग्नु, किन्ने रूपियाँ छैन भन्दा पनि नमान्नु, अर्की नातिनीले पनि किनीमाग्नु अनि आमाले चाँहि उनीहरूलाई किन्न उक्साउनु जस्ता तथ्यलाई नजिकैबाट निरीक्षण गरिएको छ।
४:५. मनोवैज्ञानिकता-
चामलिङ मूलत: मनोवैज्ञानिक कथाकार नभए तापनि उनका कुनै कुनै कथामा मनोविज्ञानको प्रयोग पाइन्छ। विशेषगरी जीवनको नयाँ मोड़ कथासङ्ग्रहमा रहेको पहिलो कता कस्तो मजा आयो मा बालमनोविज्ञानको सफल प्रयोग छ। एउटा गरीब परिवारका ससाना छोरा-छोरी दार्जीलिङ शहर घुम्ने इच्छा र कर गरेपछि उनीहरूका बाबु-आमाले एकदिन ऋण खोजेर भएपनि लान्छन्। उनीहरू दार्जीलिङको बिगबजारभित्र घुम्छन् तर लोभ लाग्दा लाग्दै पनि केही सामान किन्दैनन्। त्यहाँ घुम्न पाएकामा मात्र पनि खुशी भई बेलुकी घरमा आई मासु-भात खाएर सन्तोकले सुत्छन्। त्यहाँ घुमेपछि ती बाल-बालिकाको मनमा पढ़ाइप्रति आकर्षित भई पछि ठूलो र धनी मान्छे हुन्छौं भनी धारणा व्यक्त गर्छन्। ‘सलमाकी ममी’ कथामा ललिता पोइल जानुभन्दा अगाड़िको चारित्रिक चित्रणमा मनोवैज्ञानिकता झल्कन्छ। परपुरूषसित सल्किएकी ललिता जसरी भए पनि नानीलाई स्कूल पुर्याउन आफै जानुपर्ने, घरको हेरविचार नगर्ने, श्रृङ्गार पटारमा बढ़ी ध्यान दिने, लोग्नेलाई वास्ता नगर्ने, ससुरालाई नटेर्ने स्वभाव देखाउँछे। अन्य केही कथाहरूमा पनि मनोविज्ञानको सामान्य प्रवृत्ति देखिन्छ।
४:६. विविध विषयक कथाहरू-
माथिका सामान्य प्रवृत्तिहरूका अतिरिक्त चामलिङका कथाहरूमा अन्य केही प्रवृत्तिहरू पनि पाइन्छन्। जस्तै स्थानीय रङ्गको प्रयोग, संवाद योजना, नाटकीयता, मनोवैज्ञानिकता, आदर्शवाद, करूण स्वर, स्वभिमानी आस्था इत्यादि पाइन्छन्। गरीबीबाट जन्मेको बाध्यताको चित्रण, आत्महत्या गर्ने व्यक्तित्वको पृष्ठभूमि, बृद्धावस्थाको दुर्गति, मानवतावादी चेतना, सुधारवादी चेतना जस्ता कथ्यहरू पनि उनले कथागत सामग्री बनाएका छन्। देउसीको भाग कथामा सरकारी कर्मचारी र पुलिस आफै नै अनैतिक कार्यमा लिप्त भएको देखाइएको छ बने विज्ञापन कथामा दुइ छाक टार्नलाई गर्नुपरेको सङ्घर्ष छ। ‘मोती’ कथामा जोसुकै परस्त्री वा परपुरूषसित सम्बन्ध राख्नुहुँदैन भन्ने सन्देश पाइन्छ बीͦ एमͦ पीͦ बी कथामा समाजका कतिपय परोपकारी व्यक्तिहरूको चरित्र चित्रण गरिएको छ। ‘दुइ बुढ़ाका कुराहरू’ कथामा दार्जीलिङ र यहाँको राजनिती, सामाजिक व्यवस्था, अन्न-बाली आदिको तुलना विषयमा दुइ बुढ़ाहरूको गफको माध्यमबाट व्यक्त गरिएको छ। यसरी विविध विषय र प्रवृत्तिमा लेखिएका चामलिङका कथाहरू आमपाठकका निम्ति स्वादिला र रमाइला लाग्छन्।
४:७. चामलिङको कथाकारिताबारे समीक्षकहरूको मन्तव्य–
चामलिङको कथाकारिताबारे प्रा. तेजमान बराइलीको टिप्पणी निकै गहकिलो छ। उनका अनुसार एउटा सामान्य विषयलाई टिपेर असामान्य घटनाक्रम बुनेर कल्पनाको मोहलाई खिल्दै यथार्थको इन्द्रेणी रंग-रागनमा ढालेर सौन्दर्यात्मक उत्कर्षमा लगेर पाठकलाई आफ्नो परिवेशको चारित्रिक वैशिष्ट्य पर्गेल्न र सोंच्न लगाउने कलामा कथाकार चामलिङ कुशल शिल्पी रहेको देखिन्छ। (विचार विनिमयको गतिशील आधार: कतासङ्ग्रह ‘प्रीतिको फूल’ भूमिका प्रीतिको फूल-प्रा. तेजमान बराइली)। यसैगरी ‘जीवनको नयाँ मोड़’ कथासङ्ग्रहको भूमिकामा समालोचक डा. राजकुमार छेत्रीले पनि “सङ्ग्रहका अधिकांश कथाहरू समाजका हाम्रै आँखाका दृष्टिबाट टिपिएका घटनास्थिति, व्यथापीड़ामा आधारित रहेका देखिन्छन्। यसर्थ यी कथाहरू हिँड़्ने गोरेटो हाम्रै वरिपरिको दृश्यसमाज भइदिएको छ, सामाजिक पर्यवेक्षण गर्नमा चामलिङका कथाहरू रमाएका छन्…….।“(डा. राजकुमार छेत्री; सामाजिक आख्यानात्मकता : जीवनको नयाँ मोड़ कथाकृतिको प्रवृत्तिगत शिल्प वैशिष्ट्य ; भूमिका,जीवनको नयाँ मोड़,पृष्ठ ञ) डा. छेत्रीका अनुसार चामलिङका कथाहरूमा मानिसको हर्ष-अमर्ष, संयोग-वियोग, हाँसो-रोदन, शोक-भोग, सपना-विपना, कल्पना-जल्पना, आशा-निराशाको यथार्थ अङ्कन छ।समीक्षक देवराज शर्माका अनुसार चामलिङका अधिकांश कथाहरू मनोवैज्ञानिक धरातलमा कोरिएका छन् भने कथाकारले आफ्नो परिपक्व जीवनमा भोगेका सम्पूर्ण अनुभवलाई यथावत राख्ने प्रचेष्टा गरेका छन्। कथाहरू समाजकै केन्द्रविन्दु भएर फनफनी घुमेका छन्। भनौं सामाजिक यथार्थवादी विचारधारालाई अँगालेर आञ्चलिकताको छाप पार्दै कथाहरू कोरिएका छन्।“ ( देवराज शर्मा; सामाजिक यथार्थसँगै आञ्चलिक धरातलमा रचिएको कथासङ्ग्रह जीवनको नयाँ मोड़; दैनिक स्वर्णभूमि,२८ जुलाई,२०१३)। स्वयम् कथाकार चामलिङका अनुसार जीवन गोरेटोमा यस्तै निम्न एवम् मध्यमवर्गीय जनमानसका जीवन भोगाईका क्रमहरू पारिवारिक समस्या, उत्पीड़न, अपुग-अभाव, शोषण-दमन, घृणा र तिरस्कारका घटनाहरूलाई कथाहरूमा उतारी समय-समयमा पत्र-पत्रिकामा प्रकाशित गर्दै आएका छन्। (आफ्नो कुरा; प्रीतिको फूल; पृष्ठ ज)। गाउँ-घर, चियाबारी, बजार र समाजमा भएका क्रियाकलाप, शोषण, अन्याय र दु:ख सुखको जीवन भोगाईहरूलाई टिपन-टापन गरी नयाँ कथा लेखेको स्वीकारोक्ति पाइन्छ (कमल चामलिङ; आफ्नो कुरा; जीवनको नयाँ मोड़; पृष्ठ न)।
५. चामलिङका कथामा पाइने पात्र-योजना-
चामलिङका अधिकांश कथाहरू वस्तुप्रधान भए तापनि चरित्रलाई पनि उत्तिकै महत्त्व दिइएको देखिन्छ। प्राय: प्रत्येक कथामा तीन-चारजना मुख्य पात्र हुन्छन् भने तिनीहरू कुनै न कुनै समस्यामा ग्रसित छन्। ती पात्रहरूको चरित्रको चित्रण नाटकीय ढङ्गबाट परोक्ष रूपमा गरिएको पाइन्छ। उनका अधिकांश पात्र-पात्रा बहिर्मुखी चरित्रका छन् र उनीहरूको संवादबाट नै घटनावस्तु प्रकाश हुन्छ। समाजको हरेक वर्गबाट पात्र-पात्रा टिपिएका छन्। समाजको गुरूबाबु, ड्राइभर ,कुल्ली, भरिया, लफङ्गा, बाल-बालिका, युवा, बृद्ध सबै नै प्रतिनिधि बनेका छन्। यद्द्यपि यी कथाहरूभित्र एउटा सचेत पात्र जो घरि राजीव सर,किरण सर, घरि विन्दुको बाबु,सर (म पात्रलाई सम्बोधन), शिसिर सर, कृष्णप्रकाश सरका रूपमा देखापर्छ। उ ‘सर’ पात्र सचेत छ। समाज भाँड़िएको,बिग्रिएको,राजनैतिक व्यवस्था भत्किएको देखेर कुण्ठित,आक्रोशित र दुखित छ। कथाहरू प्राय:तृतीय पुरूष दृष्टिविन्दु वा परिप्रेक्ष्यमा रहेका छन्। यद्द्यपि केही कथाहरूमा प्रथम पुरूष परिप्रेक्ष्य नपाइने होइन। बिचरा बले भाइ, मलाई खुसुक्क भन्छ, अङ्कल के चाहियो?, बाध्यता आदि कथाहरूमा म पात्रको प्रयोग पाइन्छ। कुनै मुख्य पात्र वा पात्रालाई अघि सारेर उसले देखेको,भोगेको र बुझेको घटना वर्णन गर्न लगाई दृष्टिकोण पात्र बनाइएको पाइन्छ। कथामा वैचारिक पक्ष बढ़ी र सहभागी पात्रको न्यूनता कथाकारको पात्र-योजनागत सचेतता देखिन्छ।
६. आञ्चलिकता र परिवेश-योजना-
कमल चामलिङलाई आञ्चलिक कताकार मान्न सकिन्छ। विशेषगरी कथाकारको आफ्नो ठाउँ पोखरेबुङ नजिकको टर्जम, त्यहाँको शान्तिटोल, पोखरेबुङ बजार, दार्जीलिङ तथा वरिपरि कै परिदृश्यलाई आञ्चलिक परिवेश प्रदान गरिएको छ। ती ठाउँको रिती-रिवाज, भाषा, खान-पीन, भेष-भूषा, घरेलु वातावरणको यथावत् वर्णन गरिएको पाइन्छ। गाउँ-घर कमानतिर बिहे गर्दाका बर बन्दोबस्त, केटी भगाउँदाका रीति-रिवाज इत्यादिको चित्रण पाइन्छ। मान्छेको जातै यस्तै कथामा एउटा ठाउँमा पात्र वीरबलको घरभित्रको भान्साकोठाको वर्णन यसरी गरिएको छ “…….. रातो माटोले आजै लिपेको घरको भूइँ भित्ता र चुल्हा चौका। चुल्हामा पानीको कितली टेकाको। बल्दै गरेको साना साना दाउराको ठुटाहरू। चुल्हा डिलमा चिम्टा सोते। छेउमा पीराहरू खप्टाएर राखेको। चुल्हामाथि सानो बार। झिटिमिटी दाउराहरू सुकाएको। मुनिपट्टि मासुको सीला सुकाउनुलाई तार बाँधेको। देब्रे भित्तामा मसिना ताकहरू। ताकमा दाल, नुन, हर्दी, मसला र सोडाको बट्टाहरू……….।“ कथाकारले मिरिक झिलको वरिपरि जनवरी महिनाको पहिलो दिनमा वनभोज र घुम्न आउनेहरूको नजिकैबाट चित्रण गर्छन् त घरि पोखरेबुङका भण्डारी बाबुको घरमा दुइजना कलिया जाँदा त्यहाँ बैठक कोठाको हरेक वस्तुको वर्णन गरिएको छ। पात्रहरूको लुगाको समेत वर्णन छ। अत: कमल चामलिङको कथामा आञ्चलिक परिवेशले पनि विशिष्ट स्थान बनाएको छ। उनले सूक्ष्म विषय-वस्तुलाई प्रष्ट्याउँदा स्थानीय विषयलाई नजिकबाट अध्ययन गरेका छन्।
७. उपसंहार-
यसरी हेर्दा कथाकार कमल चामलिङ एक सफल कथाकारका रूपमा देखापर्छन्। उनका कथामा कथावस्तुको प्राधान्य, पात्रगत सुनियोजित विधान, आञ्चलिकता, मनोवैज्ञानिकता, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, विसङ्गतिवाद, स्वच्छन्दताजस्ता प्रवृत्तिहरू पाइन्छन्। यसैगरी संवाद योजना, वैचारिकता, कथा संकेतात्मक शीर्षक चयन जस्ता पक्षहरू पनि पाइन्छन्।
चामलिङ मूलत: करूणाका कथाकार हुन्। उनका प्राय: जसो पात्रहरू नै दुर्नियतिका शिकार भई भग्न र रूग्न छन्, उत्पीड़ित छन्। कथाकारको आँखाले समाज भाँड़िएको, सड़िएको देख्छन्, नैतिकताको पतन देख्छन्, राजनैतिक वितण्डा देख्छन्। यद्यपि चामलिङका तीनवटा कथासङ्ग्रह प्रकाशनको क्रम र समयावधि विचार्दा उनमा कथा निर्माणगत क्रमिक विकास देखिन्न। प्राय: एउटै एउटै प्रवृत्ति, प्रस्तुति र ढाँचा देखिन्छ। कतिपय कथा सुन्दर भए पनि कतिपय कथा बुनोट, बनोट र शिल्पका दृष्टिले कमजोर पनि छन्। यद्यपि समग्रमा उनी सफल कथाकार हुन्। नेपाली कथा साहित्यमा उनको नाम पनि जोड़्नु पर्छ र कथामा हुनुपर्ने जे जे तत्व, गुण र विशेषता चाहिन्छन् ती सबै उनका कथामा परिलक्षित छन्। अत: उनको कथागत योगदान अविष्मरणीय, उल्लेखनीय, अतुल्य र साहित्येतिहासमा स्थान ओगट्न सक्ने विशिष्ट रहेको छ।
प्रमुख सन्दर्भ ग्रन्थ-
- दयाराम श्रेष्ठ र अन्य, नेपाली कथा (भाग-४), काठमाडौं, साझा प्रकाशन, २०५०।
- डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र नेपाली कथा, काठमाडौं, साझा प्रकाशन,२०५२।
- दयाराम श्रेष्ठ, नेपाली साहित्य केही पृष्ठ, काठमाडौं, साझा प्रकाशन, २०४२।
- भैरव अर्याल (सम्पा.) साझा कथा, काठमाडौं, साझा प्रकाशन, एघारौं सं. २०६४।
- अङ्गद गौतम, परशु प्रधानको कथाशिल्प, विराटनगर, वाणी प्रकाशन, २०५३।
- डा.कृष्णप्रसाद दाहाल, परशु प्रधानको कथायात्रा, काठमाडौ, पाँचपोखरी प्रकाशन, २०६८।
- राजकुमार छेत्री, सिर्जनाको समावलोकन, दार्जिलिङ, गामा प्रकाशन, २००९।
- नवीन पौड्याल, आख्यान अनुशीलन, चन्दननगर, ओरियन इन्ट प्रेस. २०११।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।