नेपाली संसारमा विश्वेश्वरप्रसाद कोइरालाको नाम एउटा विशिष्ट स्थानमा छाइएको पाइन्छ । उनी एक जना राजनीतिक व्यक्तित्व र एक जना विशिष्ट आख्यानकारका रूपमा चिनिन्छन् । यी दुई पक्षमध्ये कुन पक्षले उनलाई बढी अमरत्व प्रदान गर्ने सम्भावना रहला? भन्ने जिज्ञासा पनि पलाउन थालेको छ । दुवै पक्ष नै दरा छन् । नेपालको राजनीतिक परिप्रेक्ष्यमा विपीले एउटा छुट्टै सम्मानित स्थान बनाएका छन् । उनको राजनीतिक सोच, नेपाल र नेपालीको चिन्ता, नेपालको राजनीतिक गतिधारा र भविष्य दूरदर्शिता स्पष्ट देखा पर्छ । नेपालको एक सय चार वर्षीय कठोर जहानियाँ, निरङ्कुश राणाशासनलाई जरैदेखि उखेल्नका लागि सञ्चालित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, प्रजातन्त्र प्राप्तिपछि देशका सक्षम गृहमन्त्री र प्रधानमन्त्रीसम्म बनेका विपीको स्थान सधैँभरिलाई सुरक्षित रहला । एक जना राजनीतिक र साहित्यिक व्यक्तिका बिचमा उनी नेपाली साहित्यिक लेखकका चिनिरहन सक्ने विश्वका केही सीमित नेताहरूमध्ये उनी एक हुन् । विश्वमा प्रधानमन्त्रीको तहसम्म पुग्ने लेखक, इतिहासकार, दार्शनिक, साहित्यिक चिन्तक धेरै हुन्छन् तर राम्रा र सफल उपन्यासकार र कथाकार थोरै हुन्छन् । यसभित्र विपी कोइराला पर्दछन् ।

विश्वेश्वरप्रसाद कोइराला

विपी यता साहित्यिक फाँटमा पनि नबिर्सिने नाम हुन् । उनका छओटा उम्दा-उम्दा उपन्यास, दुईओटा कथासङ्ग्रह, दुईओटा जीवनीका ग्रन्थ लेख्ने सशक्त आख्यानकार हुन् । नेपाली साहित्यमा उनका कृति धेरै अर्थमा जाज्वल्य छन् । एक त उनले आफ्ना आख्यान कृतिहरूमा नेपाली साहित्यको सुरु-सुरुमा मनोविज्ञान दिएर नौलो प्रयोग गरेका छन् । उनले केही कविता लेखेको पनि पाइन्छ तर कविका रूपमा उनी त्यति सफल छैनन् ।

  • अहिले आएर गहिरिएर विचार गर्दा विपीले साहित्य र राजनीतिलाई सँगसँगै लगेका छन् । उनले यी दुई पक्षलाई एउटै सिक्काको दुईओटा पाटाझैँ अक्षुण्ण रूपमा सन्तुलित राखेका छन् । उनले मुलुकको अवस्था गरिबी, रोग, भोक, शोक, अन्याय, अत्याचार, अन्धकार, आधारभूत आवश्यकताको अभाव आदिका विरुद्ध राजनीति गरेका छन् । यता साहित्यमा पनि उनका पात्रपात्राको चयन पनि यस्तै निम्नवर्गबाट लिएका छन् । खान र लाउन नपाई बिदेसिनुपरेको, अपाङ्ग, विधवा, गरिब, पागल, दुःखी, पीडित, सर्वहारावर्गका मानिसहरूलाई पात्र चयन गरेका छन् । यसो हुँदा, मन, वचन र कर्मले नै उनी आमजनताप्रेमी थिए । उनको जनताप्रेमलाई सैद्धान्तिक रूपमा साहित्यमा व्यक्त गरेका छन् भने त्यसमा राजनीतिक रूप दिएर व्यवहारमा उतारेका थिए । यसकारण उनको सन्दर्भमा साहित्यिक र राजनीतिक व्यक्तित्व एकार्काका पूरक रूपमा देखिन्छ ।
  • दोस्रो कुरा, विपीको आफ्ना साहित्यलेखन र राजनीतिक प्रतिबद्धतालाई समन्वित रूपमा जोड्ने मुक्तिको कामना हो । जसरी उनले नेपाल र नेपाली जनतालाई राणाशासनबाट मुक्ति, राजाको प्रत्यक्ष शासनबाट मुक्ति, मुलुकको जनतालाई गरिबीबाट मुक्तिको कामना गरेर राजनीति गरेका छन् । यता लेखनमा पनि मुक्तिबोध नै प्रमुख रूपमा पाइन्छ । उनका कथा र उपन्यासका पात्रले विभिन्न तहबाट मुक्तिका निम्ति चाहना र प्रयास गरेका छन् । ‘रिक्सा तान्ने’ कथामा एउटा गरिबले कसरी रिक्सा तान्ने गरेको मालिकबाट मुक्ति पाएर खुसी भएको छ । अरू कथामा पनि मुक्तिको चाहना गरिएको पाइन्छ । ‘तीन घुम्ती’ उपन्यासकी इन्द्रमायाले पनि मुक्तिकै निम्ति आफ्ना तीनओटा महत्त्वपूर्ण निर्णय लिएको देखिन्छ ।

    नवीन पौड्याल (कालिम्पोङ)

  • विपीको राजनीतिक व्यक्तित्व निर्माणको जगमा साहित्य र साहित्यिक व्यक्तित्व निर्माणमा राजनीतिको भूमिका खेलेको देखिन्छ । साहित्यमा पनि राजनीतिक चिन्तन प्रत्यक्ष र परोक्ष रूपमा हालेका छन् । ‘महाराजको सवारी’, ‘दोषी चस्मा’, ‘एक रात’ आदि कथाको मूल अभिप्रायः नै नेपाली जनताको राणाशासनबाट मुक्तिको चाहना छ । यता उनी राजनीतिक व्यक्तित्व भएर पनि उनको साहित्य बढी प्रचारप्रसार हुन पाएको हो । नेपालका प्रमुख दुई राजनीतिक दलहरूमा नेपाली काङ्ग्रेसको सिद्धान्तमा हिँड्ने समालोचकहरूले उनलाई निकै बढाइ-चडाइ गरी लेखेका छन् भने उनका हरेक पक्ष केलाइ-कुलाइ पनि गरेका छन् । अर्कातिर कम्युनिस्ट खेमाका समालोचकहरूले उनका कृतिहरूबारे बढी कमजोरी पक्ष केलाएका छन् । यसो हुँदा दुवै पक्षबाट उनी लक्षित कृतिकार बनेका छन् । यसबाट पनि उनकै कृतिहरू बढी प्रज्वलित भएका हुन् । यद्यपि उनको साहित्यिक योगदानलाई कुनै राजनीतिक दलगत चस्माले नहेरे पनि कसैले नकार्न भने सक्दैन ।
  • उनको राजनीतिक प्रतिबद्धतालाई जाँच्न उनकै कृतिहरू साक्षी छन् । उनी एक प्रखर प्रजातन्त्रवादी, जनताको मुक्तिका चिन्तक र पक्षधर थिए । तीन घुम्ती उपन्यासकी इन्द्रमायाले आफ्नो माइतीको सङ्कुचित कज्याइँमा नपरी पतिका रूपमा पीताम्बरलाई स्वेच्छाले वरण गरी । लोग्ने पीताम्बरको सतीत्वकै कज्याइँको प्रतिवाद र शारीरिक चाहना र मातृत्वका लागि रमेशलाई कायादान दिएकी हो । यता फेरि लोग्ने पीताम्बरको अनुचित प्रस्तावलाई लत्याएर लोग्ने र छोरीमध्ये एउटा चयन गर्नुपर्ने अवसरमा लोग्नेलाई छाडी छोरीलाई अपनाई । एक प्रकारले भन्नु हो भने इन्द्रमायाको माइती, लोग्ने, आफ्नो शरीर देखेर लोभिन आउनेहरू एकेकओटा व्यवस्था हुन् । उसले ती ती व्यवस्थालाई विकल्पहरूका रूपमा अपनाएकी हो । देशका जनताले पनि त्यस्ता राजनीतिक आस्थाका विकल्प अपनाउन सक्छन् । जनताले आफूलाई जता अनुकूल पर्छ, सुविधा पर्छ, त्यस्ता विकल्पहरू चुन्न सक्छन् । एउटै व्यवस्थामा कुँजिएर बसिरहनु आवश्यक छैन भन्ने पनि सङ्केत दिएका हुन् । यसरी उनका प्रायः आख्यान कृतिहरूमा व्यक्ति स्वतन्त्रताको वकालत गरिएको पाइन्छ ।
  • विपीको आख्यानात्मक कृतिहरूमा मनोविज्ञानको प्रयोगलाई निकै सफल मानिन्छ । नेपाली मनोविश्लेषणात्मक समालोचकको फाँटमा उनका कथा र उपन्यासहरू नै बढी मनोविज्ञानको नमुना र प्रायोगिक ठहर्दछन् र सबैभन्दा बेसी समालोचना गरिएको पाइन्छ । उनका यस्ता कृतिहरूमा विशेषगरी फ्रायडीय मनोविश्लेषणका विभिन्न पक्ष र सिद्धान्तहरूमाथि केन्द्रित भई लेखिएका पाइन्छन् । यद्यपि उनका कृतिमा एडलर, युङ्ग, केरेन हर्नी, एरिक फ्राम आदिका मनोवैज्ञानिक सिद्धान्तहरू पनि विद्यामान हुन सक्छन्, यसबारे त्यति चर्चा भएको पाइन्न ।
  • जसरी विपीका कृतिहरूमा आधार गरी नयाँ-नयाँ किसिमका पेन्टिङहरू चित्रकार र रङ्गकर्मीहरूले तयार पारेका चित्रहरूझैँ उनका कृतिभित्रबाट नयाँ-नयाँ क्षितिज उघ्रिँदै जान सक्छ, नयाँ-नयाँ साहित्यिक, राजनीतिक वा अन्य कुनै किसिमका सिद्धान्तहरूका आधारमा व्याख्या-विवेचना गरिने सम्भावना देखिन्छ ।
  • विपीका कृतिहरूको मनोवैज्ञानिक चिन्तनका अतिरिक्त समाजशास्त्रीय, अर्थशास्त्रीय, राजनीतिशास्त्रीय अध्ययन पनि हुन सक्छन् । यता साहित्यशास्त्रका अस्तित्ववादी, विसङ्गतिवादी, शैलीवैज्ञानिक, संरचनावादी, भयवादी, रूपवादी, सङ्केतवैज्ञानिक, अन्तःपाठात्मक, नाभिकीय इत्यादि दृष्टिकोणका आधारमा पनि व्याख्या गरिने सम्भावना प्रशस्तै छन् । यस दिशातर्फ केही काम नभएका पनि होइनन् ।
  • विपीलाई नेपालको विराटनगरले हाम्रो विराटनगरको विपी भन्छ । भारतको बनारसले हाम्रा विपी भन्ला, विहारले पनि हाम्रो विहारमा बाल्यकाललगायत धेरै वर्ष बिताएका, र हाम्रो विहारमा पनि घर भएका हाम्रा विपी भन्ने गरेका हुन सक्छ । यता दार्जीलिङमा पनि विपीले लगभग दस महिना बसेर दार्जीलिङ जिल्ला अदालतमा वकालती गरेका हुन् । उनी दार्जीलिङको जजबजारमा कुनै कार्कीको घरमा बस्ने गर्थे । दार्जीलिङका उनका घनिष्ठ साथी भवानीराज प्रधान थिए । साथीको कालिम्पोङ र सिक्किमको तुरुक भन्ने ठाउँको घरमा विपी गइरहन्थे भन्ने बुझिन्छ । उनले हरिप्रसाद प्रधानको मातहतमा रही सन् १९४८-४९ मा वकालती गरेका थिए । उनले आफ्नो एलएलबीको औपचारिक अध्ययनलाई दार्जीलिङमा मात्र अभ्यास गरेका थिए । उनी दार्जीलिङमा नै बस्ता नेपाली साहित्य सम्मेलनको प्रकाशकत्वमा उनको कथासङ्ग्रह दोषी चस्माको पहिलो संस्करण प्रकाशित भएको थियो । त्यति बेला दार्जीलिङमा गोर्खा लिग दलको बोलबाला थियो । विपीको काङ्ग्रेस र भारतको गोर्खा लिगको पानी बाराबारको सम्बन्ध थियो । यद्यपि सन् १९४९ तिर गोर्खा लिगका संस्थापक अध्यक्ष डम्बरसिंह गुरुङको भर्खरै मात्र निधन भई उक्त दलमा एक प्रकारको अन्योल र शून्यकालजस्तो थियो ।
  • विपी मध्यमार्गी साहित्यकार हुन् । उनका कृतिहरूमा समाजवादी र समाजवादेतर चिन्तन पाइन्छ । उनी अतिवादको विरोधी थिए । मुलुकमा विद्यमान तत्कालीन धार्मिक कट्टरवादको उनले परोक्ष रूपमा खण्डन गरेका हुन् । तीन घुम्तीकी इन्द्रमाया र पीताम्बरले आआफ्ना कुलको उल्लङ्घन गरी अन्तर्जातीय बिहे गरेका छन् । सुम्निमा उपन्यासको सोमदत्त र उसको सन्तान आफ्नो कठोर ब्राह्मणोचित संस्कारबाट च्युत भई मिश्रित संस्कारका भएका छन्, नरेन्द्र दाइ उपन्यासको नरेन्द्र दाइले पनि आफ्नो कुल घराना सुहाउँदिली गोरीलाई लत्याएर केवटकी छोरी मुनरिया लिएर हिँडेको छ । ‘कथा’ कथाको तपसी मुनि पनि तापसी जीवनबाट च्युत भई अति सामान्य मान्छे भएको छ ।
  • विपीले सामाजिक परिवर्तनको पक्षलाई आफ्ना साहित्यिक कृतिहरूमा समर्थन गरेका छन् । समाज कहिले पनि जड भएर अपरिवर्तित रहन सक्दैन । नयाँ-नयाँ विचार, चिन्तन र व्यवस्था, संस्कार, सभ्यता आदिलाई समयानुकूल अद्यावधिक पार्दै लगे मात्र मान्छेले आफूलाई बाँच्न अनुकूल पाउँछ ।
  • विपीका केही उपन्यास र कथाहरू उत्तर बङ्गाल विश्वविद्यालयको तीन बर्से बीए नेपाली साधारण, बीए नेपाली अनर्स र स्नातकोत्तर तहका निम्ति पाठ्यक्रममा समाविष्ट छन् । तीन घुम्ती र सुम्निमा उपन्यास तथा कथा कुसुमका तीनओटा कथाहरू पवित्रा आदि कथाहरू पढाइन्छन् । यसरी यता बीए र एम.ए तहका विद्यार्थीहरूलाई विश्वेश्वरप्रसाद कोइराला एक जना आख्यानकार मात्र नभई एक जना राजनीतिक नेता, नेपालमा एक सय चार बर्से राणाशासन हटाउन गरिएको आन्दोलनका नायक थिए, क्रान्तिकारी नेता थिए, नेपालमा प्रजातन्त्र आएपछि त्यहाँको गृहमन्त्री र पछि नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री रहेका थिए, भारतको स्वाधीनता सङ्ग्राममा पनि नेतृत्व पङ्क्तिमा नै रही सक्रिय रूपमा भाग लिएका थिए इत्यादि कुराको प्रसङ्ग झिक्दा उनीहरू आश्चर्य मान्ने गर्छन् । अबका यतातिरका विद्यार्थीका लागि विपी राजनीतिक व्यक्ति थिए भन्ने कुरा हराउँदै जान सक्छ । यसका साथै नेपालतिर पनि पछि-पछिका पुस्ताले उनको राजनीतिक व्यक्तित्वलाई बिर्सन सक्छन् । अतः उनको राजनीतिकभन्दा साहित्यिक योगदानले मात्र उनलाई अमरत्व प्रदान गर्ने देखिन्छ ।
  • विपीले कथा कुसुमका निम्ति पहिले ‘महाराजको सवारी’ भन्ने कथा दार्जीलिङ पठाएका थिए । यस कथामा प्रत्यक्ष रूपमा राणाशासनसम्बन्धी केही प्रतिकूल विचार हुनाले स्वीकृत भएन । पछिबाट मात्र उनका बिहा, शत्रु र सिपाही गी तीनओटा कथा पठाएर त्यसमा समावेश गरिएको थियो ।
  • विपीले आम मानिसको धुकधुकीलाई नजिकबाट नियालेर हेरेका थिए । नेपाल आम जनताको बाहिरी विभिन्न तहमा राजनीतिक कुव्यवस्था, अस्तव्यस्तता, शोषित, पीडित मात्र नभई मानसिक संसारको पनि दुर्दशा देखाउने प्रयत्न गरेका हुन् । समष्टिले व्यष्टिलाई पारेको प्रभावलाई नियालेर हेरेका छन् । मान्छेको मानस संसार पनि ठुलो तत्त्व हो । यसलाई लत्याएर मान्छेको बाह्य संसारको विचरण मात्र गरे अधुरो र अपुरो हुन्छ । उनका निरीह पात्रहरूको मानसिक संसारमा पाइने पीडा, चिन्ता, औडाहा, चाहना, छटपटी, पिरमर्का आदिलाई देखाउने प्रयास गरेका छन् । विधवीलाई दामभन्दा शारीरिक कामको पीडा छ, बुढो, भोटे, गोरे आदिलाई काम, दाम र मामको पीडा छ, केशवराजलाई चाकरीको पीडा छ, पवित्रालाई पत्नीत्व नहुनुको पीडा छ, कर्नेल्नीलाई पनि अतृप्तिको पीडा छ । सबैलाई एकेक कुराको पीडा छ । यसरी विपीले मान्छेको बाहिरी मात्र होइन, मानसिक अवस्थाको पनि विचरण गरेका छन् । यसैमा उनको विशेषता, महानता र मानवतावादी धारणा पाइन्छ ।
  • विपीले आफ्ना आख्यानहरूमा व्यक्ति स्वतन्त्रता, देहवादको समर्थन, वर्तमानप्रति आस्था र भविष्यप्रति आशा आदि देखाउनु पनि नेपाली जनतामा स्वतन्त्रता र क्रान्तिको सन्देश फैलाउनु थियो । ‘ब्रह्मसत्य जगन्मिथ्या’ भन्ने मान्यताहरू पनि नेपालको क्रान्तिमार्गमा बाधा हुन सक्थे । यो वर्तमान भ्रम हो, हामीले त मोक्षप्राप्तिका निम्ति कर्म गर्नुपर्छ, यो शरीर र जुनीलाई नहेरेर परलोकको बाटो सुधार्नुपर्छ भन्ने सन्देश प्रसारित भइरहन्थे । नेपालको प्रजातन्त्रको बहालीका निम्ति ठुलो आम जमातको आवश्याकता थियो । मुलुकमा चलेको आन्दोलनका लागि यस्तो मान्यतालाई भत्काउनु आवश्यकता थियो । यस्तो मान्यता तोड्नका निम्ति राजनीतिक भाषणले मात्र काम दिँदैन थियो । यसका लागि त ठुलो सांस्कृतिक र बौद्धिक सचेतताको आवश्यकता थियो । अतः विपीले आफ्ना कृतिहरूका माध्यमले जनतामा आफ्नो शरीरको मायाँ, वर्तमान र भविष्यप्रति आस्था, पलायनवादी र यथास्थितिवादी भाग्यवादप्रति अनास्था जगाई क्रान्तिको मार्गमा ल्याउने सन्देश र आह्वान गर्नु थियो ।