नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने र कलम चलाएका हरेक विधामा आफूलाई उत्तिकै अब्बल सावित गर्न सफल लेखकहरूको नाम लिनु पर्यो भने एउटा नाम महेश पौड्यालको पनि आउँछ । बाल साहित्य, उपन्यास, कथा, कविता, गीत, अनुवाद र समालोचनामा उहाँको कलम निक्कै सशक्त रुपमा चल्दै आएको छ । यीमध्ये गीतबाहेक हरेक विधामा पछिल्लो समय पौड्यालको एक किसिमको वर्चस्व कायम हुँदै गएको पाइन्छ । हुन त उहाँ आफैँ पनि आफूलाई असफल गीतकार भन्ने गर्नुहुन्छ बेला-बेला । गीतबाहेक अन्य विधामा भने पौड्यालले नेपाली साहित्यमा आफूलाई स्थापित गरिसक्नुभएको छ । पछिल्लो समय नेपाली साहित्यमा अनुवादको हकमा त पौड्याललाई “वान मेन आर्मी” नै भन्ने गरेको पनि पाइन्छ । सबैभन्दा धेरै नेपाली कवितालाई अङ्ग्रेजीमा अनुवाद गर्ने श्रेय उहाँलाई नै जान्छ । “डान्सिङ सोल अफ माउन्ट एभरेस्ट” अङ्ग्रेजीमा अनुवाद गरिएका नेपाली कविताहरूको अहिलेसम्मकै ठुलो सङ्ग्रह हो । उक्त पुस्तकमा नेपालका १ सय ५१ कविका ३ सय ५४ कविताहरू सङ्कलन गरिएको छ । नेपाली र अङ्ग्रेजी भाषामा बरोबर कलम चलाउन सक्ने थोरै नेपाली साहित्यकारहरूमध्ये एक पौड्याल पनि पर्नुहुन्छ । अङ्ग्रेजी भाषाको राम्रो ज्ञान हुँदा जीवनका अन्य पाटामा केकस्तो फाइदा पुग्छ त्यो आफ्नो ठाउँमा छँदै छ, एउटा साहित्यकारको हकमा पाश्चात्य साहित्यलाई आफ्नो हिसाबमा पढ्न र बुझ्न त्यसै गरी आफ्ना सिर्जनाहरूलाई त्यहाँसम्म पुऱ्याउन निकै उपयोगी हुँदै आएको कुरा लेखक पौड्यालको अनुभवले पनि बताउँछ ।
माता पुष्पकुमारी पौड्याल र पिता खुमप्रसाद पौड्यालका माहिलो सन्तानका रूपमा १५ फेब्रुअरी सन् १९८२ मा नेपालको पूर्वी जिल्ला इलाममा उहाँको जन्म भएको थियो । इलाममा जन्म भए पनि पौड्यालको बाल्यकाल र युवावस्था भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बितेको थियो । स्नातकसम्मको अध्ययन पनि उहाँले सोही ठाउँमा बसेर पूरा गर्नुभएको थियो । बुबाबाट प्रभावित भएर साहित्यलेखनको यात्रा सुरु गर्नुभएका पौड्यालको सन् १९९५ मा अङ्ग्रेजीमा लेखिएको कविता पहिलोपटक प्रकाशित भएको थियो । त्यति बेला उहाँ स्कुले जीवनमै हुनुहुन्थ्यो । सन् २००८ मा प्रकाशित “माई शेयर” नामक अङ्ग्रेजी भाषामा रहेको बालउपन्यास उहाँको पहिलो प्रकाशित कृति हो । योबाहेक अङ्ग्रेजी भाषामा लेखिएका उहाँका अन्य चारओटा बालउपन्यास पनि प्रकाशित भइसकेका छन् । बाल उपन्यासकारका रूपमा रुचाइएका लेखक पौड्यालले बाल नाटक सङ्ग्रह र बाल कथा सङ्ग्रह पनि प्रकाशित गर्नुभएको छ । यीबाहेक पौड्यालका अन्य तीनओटा कथासङ्ग्रह, एउटा उपन्यास र एउटा कवितासङ्ग्रह बजारमा आइसकेका छन् । “अनामिक यात्री”, “त्यसपछि फुलेन गोदावरी” र “अपरिचित अनुहार” उहाँका कथासङ्ग्रहहरू हुन् भने “तादी किनारको गीत” उपन्यास र “शून्य प्रहरको साक्षी” कवितासङ्ग्रह हो । पाठ्यक्रमका पुस्तकबाहेक यसअघि १२ ओटा साहित्यिक कृति बजारमा ल्याइसक्नुभएका लेखक पौड्यालको “अपरिचित अनुहार” पछिल्लो १३ औँ साहित्यिक कृति हो ।
साहित्यमा उहाँले पुऱ्याउनुभएको योगदानको कदर गर्दै नेपाली साहित्यमा महत्त्वपूर्ण मानिने “युवा वर्ष मोती पुरस्कार २०७७” बाटसमेत उहाँलाई सम्मान गरिएको छ । मणिपुर विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएका साहित्यकार पौड्याले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमै स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमफिल गर्नुभएको छ । स्कुले जीवनबाटै मेधावी विद्यार्थीका रूपमा रहनुभएका पौड्यालले स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालय सर्वोत्कृष्ट भएर “नेपाल विद्या भूषण” प्राप्त गर्नुभएको थियो । पोखरा विश्वविद्यालयबाट एमफिल गर्दा पनि उहाँले ४ मा ४ ल्याएर आफूलाई मेहनती विद्यार्थीको रूपमा उभ्याउनुभएको थियो । हाल त्रिभुवन विश्वविद्यालमा अङ्ग्रेजी विभागको उपप्राध्यापकका रूपमा सेवा गर्दै आउनुभएको छ ।
शिखा बुक्सले प्रकाशन गरेर गत असोज २ गते शनिबारका दिन लोकार्पण भएर बजारमा आएको “अपरिचित अनुहार” पहिलो दुई महिना पनि बित्न नपाउँदै सङ्ग्रहको पहिलो संस्करण सकिएको छ । त्यतिमात्रै नभई यसै साहित्यपोस्टले काठमाडौँ उपत्यकाका २०, काठमाडौँ बाहिरका १० र एक अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मानेर तयार पारेको एक सर्वेक्षणअनुसार “अपरिचित अनुहार” लगातार असोज र कार्तिक महिनामा सबैभन्दा धेरै बिक्री भएका साहित्यिक पुस्तकहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल भएको थियो । उक्त रिपोर्टमा उल्लेख छ, “कथाकार पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरूमध्ये पर्छन्, जसको प्रभाव उनको पुस्तक बिक्रीमा समेत देखिएको बताउँछन् बिक्रेताहरू” ।
यही कुरामा सहमती जनाउँदै अर्का लेखक वरिष्ठ नियात्राकार प्रतीक ढकाल भन्नुहुन्छ, “महेश पौड्यालमाथि बोल्न त्यति सजिलो छैन । किनभने यिनका व्यक्तित्त्वका पाटाहरू धेरै छन् । सारमा भन्ने हो भने अग्रज पुस्ताको विश्वास र अनुज पुस्ताको भरोसा बोकेका थोरै नेपाली साहित्यकारहरूमध्ये एक हुन महेश पौड्याल । यिनी स्रष्टा, संयोजक र समालोचक सबै हुन । त्यो भएकोले गर्दा सिर्जना, विवेचना र संयोजन गर्न असाध्दै खुबी भएका मान्छे हुन । भारतीय भूमिमा रहेका नेपाली साहित्यकार र नेपाल मूल भूमिमा रहेका साहित्यकारहरूलाई जोड्नका लागि धेरै स्रष्टाहरूले अहोरात्र तपस्या नै गरिरहनुभएको छ । उहाँहरूले जोडेर कृतिगत रूपमा ती साहित्यकारहरूलाई एक ठाउँमा राखिदिनुहुन्छ तर महेश चाहिँ यस्ता मान्छे हुन् ती साहित्यकारहरूलाई पनि फेरि सँगसँगै हिँडाउँछन् । उहाँहरूले जम्मा गरिदिनुहुन्छ र ती जम्मा गरिएकाहरूलाई एउटा सूत्रधार भएर सँगसँगै हिँडाउन सक्छन् महेशले । त्यो उनको खुबी चाहिँ बडो अचम्मको छ । त्यसैले महेश पौड्याल भनेको लामो रेसका घोडा हुन् । यी म्याराथुनका धावक हुन् । यी नोबेल पुरस्कासम्म पुग्नेछन् कुनै दिन । यिनी ठुलो छाती भएका स्रष्टा हुन् । यिनीसँग भाषा छ, चेत छ, दृष्टि छ, क्षमता छ, लगन छ र केही गर्नुपर्छ भन्ने सोच छ । अनि यस्ता मान्छे नोबेल पुरस्कारको मञ्चसम्म नपुगेर कहाँ पुग्छन् त ? धेरै मान्छेहरूमध्ये राजनीतिक भूगोल नागेर धेरै माथि पुगेका स्रष्टा हुन् यिनी” ।
अहिले बजारमा चर्चाको क्रममा रहेको “अपरिचित अनुहार” कथासङ्ग्रह र नेपाली साहित्यको कथा विधासँग सम्बन्धित विविध पाटामा केन्द्रित रहेर कुराकानी गर्नका लागि यसका लेखक पौड्याललाई “सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानलमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” को ८३ औँ शृङ्खलामा हामीले निमन्त्रणा गऱ्यौँ । हुन त यही कार्यक्रमको ३३ औँ शृङ्खलामा पनि उहाँ हामीसँग जोडिनुभएको थियो । त्यस बेला भने कवितामा केन्द्रित रहेर विशेष कुराकानी गरिएको थियो । यो पटकको बसाइलाई भने हामीले कथा विशेष बनाउने कोसिस गऱ्यौँ ।
हुन त हामीले निमन्त्रणा गर्नुअघि नै अन्य थुप्रै सञ्चार माध्यमहरूले यही कथासङ्ग्रहसँग केन्द्रित रहेर उहाँसँग कुराकानी गरिसकेका थिए । बजारमा आउनसाथ मिडियाले पनि राम्रै महत्त्व दिएकोमा लेखक पौड्याल खुसी हुनुहुन्छ । एउटा कृति प्रकाशित भइसकेपछि पाठकले पढेर त्यसको प्रतिक्रिया आउने समयको बिचमा एउटा ग्याप रहन्छ । तर “अपरिचित अनुहार” को हकमा भने कृति आउँदाआउँदै कृति बजारमा आएको केही हप्तामै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा धमाधम पाठक प्रतिक्रिया आउन थाले । पोखरा, देवदह, चितवन लगायतका स्थानमा त कृति विमर्शको कार्यक्रम नै आयोजना गरियो र प्रतिक्रिया लिने/दिने काम भयो । आफ्नो जीवनकालमै यति तीव्र गतिमा पाठक प्रतिक्रिया पाएको यो पहिलो घटना भएको लेखक पौड्यालको अनुभव रह्यो । म कति भाग्यमानी छु पछि थाहा होला तर यो कृति यसमानेमा भाग्यमानी ठहरियो ।
सामन्यतया एउटा पुस्तक बजारमा आएको लामो समयसम्म पनि पाठकको हातमा पुगेको हुँदैन । पुगे पनि त्यसलाई अध्ययन गरेर त्यसको प्रतिक्रिया आउन समय लाग्ने गर्छ । यसरी यो “अपरिचित अनुहार” तीव्र गतिमा पाठकको हातमा पुग्नुमा महेश पौड्याल पहिले नै नाम चलेको र स्थापित लेखक भइसकेको कारणले हो अथवा यसमा अरू पनि केही कारण छन् त ? मन्द मुस्कानकासाथ लेखक पौड्याल भन्नुहुन्छ, एउटा लेखकको स्थापना भन्ने कुरा बडो जटिल हुन्छ । पाठकहरूको मनमस्तिष्कमा बस्न सफल, एउटा मानक स्रष्टा भएर बस्नु, उसको लेखन धेरैका लागि मानक भएर आउनु, धेरैको मोडल लेखक बन्नु, यी सबै कुरा भएको खण्डमा मात्र एउटा लेखक स्थापित भएको ठहरिन्छ । यस अर्थमा म अहिले पनि साहित्य लेखनमा सङ्घर्ष गरिरहेको लेखक हो भन्दा ठिक होला । त्यसैले यस पुस्तकको तीव्र फैलावटमा आफ्नो नामभन्दा पनि यसमा प्रयोग गरिएको सरल लेखनशैली र भाषाका साथै यसले उठाएको विषय वस्तुहरू नै मुख्य कारण भएको हुन सक्ने पौड्यालको बुझाइ छ । सरल शैलीमा प्रस्तुत गरिएका कारण पनि हरेक पाठकले आफ्नो चेतना स्तरअनुसार यसलाई बुझ्ने मौका पाएका छन् । सबैका लागि सम्प्रेष्य भयो भने पनि किताबको फैलने गति बढ्दो रैछ भन्ने कुराको बोध भएको छ । भाषासाहित्यको प्राध्यापक भएका कारणले पनि यसअघिका कृतिहरूमा अलिक गम्भीर शैलीको लेखन, आधा आफूले नबुझ्ने, आधा पाठकलाई अलमलाउने गरी लेखेर एक किसिमले पण्डित्याइँ पनि गरियो । त्यही पण्डित्याइँ मेरो कला हो, मेरो शैली हो र मेरो ज्ञान हो भन्ने लाग्थ्यो र मैले यसैमा टेकेर अघि बढ्नुपर्छ भन्ने जुन भ्रम ममा थियो त्यो अहिले टुटेको छ । त्यसैले सरलताभन्दा अर्को कुनै कला हुन सक्दैन भन्ने उहाँको बुझाइ बन्न पुगेको छ अहिले ।
तेस्रो कथासङ्ग्रहका रूपमा प्रकाशित “अपरिचित अनुहार” लाई लेखक पौड्यालले मदन पुरस्कार विजेता अग्रज साहित्यकार भवानी भिक्षुमा समर्पित गर्नुभएको छ । पहाडी लेखकहरूको वर्चस्व रहने नेपाली साहित्यमा तराईका त्यसमा पनि अवधी भाषी साहित्यकार भिक्षुलाई यो भिडले समय क्रमसँगै कतै अपरिचित अनुहार बनाउँदै त लगेको छैन ? भन्ने लागेर उहाँमा आफ्नो कृति समर्पित गरिएको पौड्याल खुलाउनुहुन्छ । भिक्षुको परिवारमा उहाँको विरासतलाई संरक्षण गर्ने पछिल्लो पुस्ता नहुनाले पनि उहाँ नेपथ्यमा पर्दै गएको महसुस भयो । फेरि आफू भवानी भिक्षुको कथालेखन शैलीबाट प्रभावित भएर त्यही शैलीलाई आफूले पनि कहीँकतै प्रयोग गरिरहेका कारण पनि उहाँमा समर्पित गरिएको हो । यसले आफ्ना कृति पढ्ने नयाँ पुस्ताले पनि भवानी भिक्षुलाई खोजी गर्न सक्ने भएका कारण हरेक नयाँ पुस्ताले आफ्नो आइडल अग्रज लेखकमा आफ्नो कृति समर्पित गर्ने परिपाटीको विकास हुनु आवश्यक भएको लेखक पौड्यालको ठहर छ ।
नेपाली साहित्यमा कथालेखनको शैली र कथामा उठाइने विषयवस्तुको कुरा गर्दा धेरै परिवर्तन र धेरै “वादहरू” छिचोल्दै कथा अहिलेको समयमा आइपुगेको छ । कथ्य परम्परा र मिथकीय अथवा भनौँ तिलस्मिक कथाहरूबाट सुरु भएको नेपाली कथाको यात्रा गुरुप्रसाद मैनालीको समयबाट भने सामाजिक यथार्थवादी कथामा प्रवेश गऱ्यो । त्यसको करिब एक शताब्दीपछि अहिले भने हामी आधुनिक कथा यात्रामा आइपुगेका छौँ । यसबिचमा सयम समयमा केही भङ्गालाहरू पनि देखा परे । जस्तो गुरुप्रसाद मैनालीले सुरु गरेको सामाजिक यथार्थवाद कथाकार बीपी कोइरालमा आइपुग्दा मनोवैज्ञानिक यथार्थवादमा परिणत भयो । यो समयमा बाहिरी मान्छेका भन्दा पनि भित्री मान्छेका कथाहरू धेरै आए । त्यसैगरी बीपीले सुरु गरेको त्यो मनोवैज्ञानिक धारलाई पछि गएर गोविन्दबहादुर मल्ल गोठाले, पुष्कर लोहनी, पेमा शाह लगायत हुँदै आज पनि त्यो धार पाइन्छ नै । यसबिचमा पनि अन्य केही धारहरू देखा परे । विसङ्गतिवादी धार पनि आयो । जसको नेतृत्व मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम हुँदै अहिलेको समयमा पनि रोशन थापा लगायतले त्यो धारलाई अगाडि बढाइरहनुभएको छ । यी महत्त्वपूर्ण धारहरूसँगै पछिल्लो समय मदन पुरस्कार विजेता कृष्ण धराबासीहरूको पहलमा लीलावादी लेखनको अर्को धार सुरु भयो । जो भारतीय नेपाली साहित्यका अग्रज साहित्यकार इन्द्रबहादुर राईको लेखनबाट पनि अनुप्राणित थियो । अहिले पनि लीलालेखनको एउटा ठुलो धार हामीसँग कायमै छ तर अहिले पछिल्लो समयको कुरा गर्दा तीन प्रकारका धार कथामा देख्न सकिन्छ । पहिलो धार युवा लक्षित छन् । जसमा यौन मनोविज्ञानलाई प्राथमिकता दिइएको छ । दोस्रो धार, नेपथ्यमा रहेका मान्छेहरूको सशक्तीकरणका लागि लेखिएका छन् । यस धारमा कलम चलाउनेहरूले समाजले कहिल्यै पनि नायकत्व प्रदान नगरेका र विभिन्न कारणले पछि पारिएका पात्रहरूलाई अघि सारेर उनीहरूलाई नायक बनाएर लेखिरहेका छन् र तेस्रो धार, प्रयोगवादी धार जसको नेतृत्व कुमार नगरकोटी लगायतले गरिरहनुभएको छ तर “अपरिचित अनुहार” भने माथि उल्लिखित कुनै पनि धारलाई नसमाती अलग्गै धारमा लेखिएको कथासङ्ग्रह भएको लेखक पौड्याल दाबी गर्नुहुन्छ ।
हरेक कथाकारले आफूले बाँचेको समयलाई आधार बनाएर, आफूले देखेका, भोगेका, भएका घटना, परिस्थितिलाई नै सम्बोधन हुने गरी कथाहरू लेखिँदै आएका छन् । यसरी एउटा समय अथवा भनौँ एउटा कालखण्डमा लेखिएका कथाहरू समय परिवर्तनसँगै त्यसको महत्त्व अथवा त्यसको समय सान्दर्भिकता कम हुँदै जान पनि सक्छ । र कतिपय अवस्थामा पूर्ण रूपमा लोप भएर जाने अवस्था पनि आउँछ । एउटा समयमा लेखिएको कथा अर्को समयसम्म पनि बाँचिराख्नका लागि लेखकले कथालाई कसरी प्रस्तुत गरेको छ भन्ने कुराले मूख्य भूमिका खेलेको हुन्छ । कुनै समय अथवा सो समयको घटना र घटनासँग सम्बन्धित समाचारमा टेकेर मात्रै लेखिएको छ भने त्यो कथाको आयु लामो हुन सक्दैन । त्यस किसिमका कथाहरू घटना र समाचारहरू ताजा रहुन्जेल मात्रै ती पनि ताजा हुन्छन् । यस किसिमका घटना केन्द्रित कथाहरू भोलिका दिनमा त्यो समयमा के भएको थियो भनेर अनुसन्धानका लागि पढिने कुरा आफ्नो ठाउँमा छ तर कथाकै लागि चाहिँ ती कथाहरू पढिने सम्भावना रहँदैन । लेख्न त लेखकले आफूले बाँचेकै समय कालखण्डमै टेकेर लेख्ने हो तर अरूले देखेको सत्यभन्दा पर गएर सामन्य घटनालाई असामन्य ढङ्गले प्रस्तुत गर्न सकेको खण्डमा यसको आयु लामो रहन्छ । पत्रकारिता र साहित्यलेखनबिचको फरक भनेकै यही त हो । पत्रकारिताले घटना लेख्छ भने साहित्यले घटनालाई आधार बनाएर कथा लेख्ने हो । अथवा भनौँ सिर्जना गर्ने हो । यस अर्थमा यो भन्न सकिन्छ कि सर्जकले घटना नभई घटना भित्रको मूल सत्य त्यसलाई वैकल्पिक सत्य पनि भन्न सकिन्छ अथवा सामन्य घटनाको असामन्य सत्यको पहिचान गरेर लेख्नु आवश्यक हुन्छ र मात्रै ती कथाहरू समयसँगै सधैँ बाँचिरहन्छन् । कथाले लेखिएको समयको भँगालालाई चिरेर समाचार हुनबाट बचेर सार्विक सत्य अथवा सर्वकालिक चिज बन्ने क्षमता राख्न सक्नुपर्दछ । अर्का लेखक राजकुमार बानियाँको शब्द सापाटी लिँदै पौड्याल भन्नुहुन्छ, “घटनाहरूको मुचुल्का कथा होइन” । त्यसैले कथालाई लामो समयसम्म बचाइराख्नका लागि पहिले त कथालाई मुचुल्का हुनबाट जोगाउनुपर्छ । त्यसै गरी कथालाई कथाजस्तो बनाउनका लागि कथामा समस्या हुनु अति आवश्यक छ । लेखकले कथाको पात्रसामु समस्या सिर्जना गर्न सक्नुपर्छ । सिर्जित समस्यालाई पात्रले कसरी ट्याकल गर्छ, कसरी त्यो समस्याबाट पात्र बाहिर आउँछ भन्ने कुरा लेखकले लेख्न सक्नुपर्छ र पाठकसामु देखाउन सक्नुपर्छ । त्यसैबाट पाठकले पनि केही सिक्के अवसर पाउँछन् । कथामा द्वन्द्व हुनु पनि अति आवश्यक छ । द्वन्द्व र समस्याविनाको कथा केवल घटनाहरूको बयान मात्रै हुन पुग्छन् । कथामा द्वन्द्व र समस्या निर्माण गर्ने कुरामा आफूसहित अधिकांश अन्य लेखकहरू चुकिरहेको पौड्याल कमजोरी स्वीकार गर्नुहुन्छ ।
खासमा कथा भन्ने होइन, देखाउने हो । घटनाहरूको बनोटबाट आफूले भन्न खोजेको कुरा देखाउने हो, भन्ने होइन । त्यसको व्याख्या गर्ने होइन । कथा लेख्दै गर्दा लेखकले घुसपैठ गरेर भाषण गर्नु हुँदैन । पाठकले बुझ्दैनन् कि भनेर लेखकले व्याख्या गर्ने परम्परा छ । त्यो जरुरी छैन । यो लेखकीय घुसपैठबाट एउटा लेखक बच्नु आवश्यक हुन्छ । कहिलेकाहीँ लेखकहरूले ओभर राइटिङ गरिदिन्छन् र कथालाई लम्बेतान बनाइदिन्छन् । यो लम्बेतान पढ्नका लागि न त पाठकसँग समय छ, न त धैर्य छ, न त यो गर्नु जरुरी नै छ । साँच्चै कथा लेख्ने हो भने यसबाट पनि लेखक बच्न सक्नुपर्छ । एउटा घटना घट्नेबित्तिकै प्रतिक्रिया दिने काम कि पत्रकारिताको हो, कि राजनीतिको हो । साहित्यकारको होइन । साहित्यकारले त त्यो घटना सेलाउन दिनुपर्छ र त्यसबाट वैकल्पिक यथार्थ लेख्ने कोसिस गर्नुपर्छ । यो उसको काम पनि हो । आफ्नो ज्ञान र विचार फैलाउनका लागि लेखिने भएकाले आफ्नो लक्षित पाठक वर्गको भाषा ज्ञानको स्तर कस्तो छ भन्ने कुराको हेक्का पनि एउटा सर्जकले राख्नुपर्छ । पाठकको चेतना स्तरलाई ध्यानमा राखेर कहिले सरल त कहिले गम्भीर लेखन गर्नुपर्ने हुन्छ । यी माथि उल्लिखित कुराहरूमा ध्यान दिन सकेको खण्डमा मात्रै एउटा कथा-कथाजस्तो बन्न सक्छ भन्ने कुरामा लेखक पौड्याल जोडदिनुहुन्छ ।
पौड्यालको कथासङ्ग्रह “अपरिचित अनुहार” मा कवितामा प्रयोग हुने केही बिम्बहरू, केही कविताका सूक्तिहरू प्रयोग भएको छ भनेर केही पाठकले प्रतिक्रिया पनि दिन भ्याएका छन् । कथामा कविताको भाषा प्रयोग हुनुमा “म कवि पनि हो” भनेर बुझाउन खोज्नुभएको हो अथवा कथाले नै माग्यो ? भन्ने सवाल लेखक पौड्याललाई चित्त नबुझेझैँ भान हुन्छ । यो भाषा कविताको, यो भाषा कथाको भन्ने नै हुँदैन । जुन किसिमले यो कित्ताकाट हुने गर्छ बेला-बेला यो गलत हो । हामीसँग भाषा हुन्छ । त्यही भाषा कहिले कविता भएर आउँछ त कहिले कथा भएर । जुन विधामा कलम चलाउने हो त्यही विधामा मात्रै ध्यान केन्द्रित हुने भएकाले एउटा विधा लेखिरहँदा म अन्य विधालाई पूर्ण रूपमा बिर्सन्छु । साहित्यका अन्य जुनसुकै विधामा कलम चलाए पनि अन्ततः हामी कठै भनिरहेका हुन्छौँ । जे लेखे पनि त्यसभित्र कुनै न कुनै रूपमा कथा लुकेकै हुन्छ । फेरि जुन सिर्जनामा कथा हुन्छ त्यसलाई स्मरण गर्न पनि धेरै सजिलो हुन्छ । जुन सिर्जनामा कुरा मात्रै छ, पाठकलाई छुने खालका कथा छैनन् भने त्यसलाई पाठकले पढेको केही समयमै बिर्सन्छन् पनि । त्यसो हुँदा सिर्जनालाई जे-जे नाम दिए पनि मूलतः हामी आफ्ना कथा भनिरहेका छौँ त कहिले अरूका कथा भनिरहेका छौँ ।
“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक बिहीबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।