डा. शालिकराम पौड्याल
लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ मा सौरमानअनुसार कार्तिक २७ गते शुक्रबार तथा चन्द्रमानअनुसार कार्तिक कृष्णपक्षको अमावास्या तिथि लक्ष्मीपूजाको राति ९:५८ बजे काठमाडौँ धोबीधाराको टोल ब्लक नं. २१/५४१ का घरमा तिलमाधव देवकोटाकी कान्छी धर्मपत्नी अमरराज्यलक्ष्मी देवीका कोखबाट भएको हो (जेठी पत्नी टीकादेवीको मृत्युपश्चात्) । जन्म नक्षत्र विशाखाको पहिलो पाउ ती बाट तीर्थमाधव भएपनि लक्ष्मीको पूजा गरिसकेपछि जन्मेकाले उनको नाम लक्ष्मीप्रसाद राखिएको हो । राष्ट्रिय रूपमा जहाँनिया राणाशासन, अन्तर्राष्ट्रिय रूपमा प्रथम विश्वयुद्ध सुरु हुनुपूर्व ५ वर्षअगाडि, भारतमा बेलायती औपनिवेशिक शासन व्यवस्था, चीनमा डा.सन यात्सेनको नेतृत्वमा राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलन चलिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समयगत परिवेशमा देवकोटाको जन्म भएको हो ।
देवकोटाका पूर्वजहरू भारतको उत्तर प्रदेशको कन्नौजबाट गढवाल कुमाऊँ हुँदै नेपाल प्रवेश गरेका हुन् । देवकोटा ब्राह्मणहरूको मूलथलो अछाम जिल्लाको देवकोटागढी हो । पछि देवकोटागढीका देवकोटाहरू बझाङमा सरेका र देवकोटाका पूर्वज दानु पाध्या बझाङका मन्त्रीसमेत रहेका थिए । देवकोटा २०१४ सालमा ४ महिना मन्त्री हुनु आनुवंशिक प्रभाव हो भन्न सकिन्छ । यही अछाम, बझाङ हुँदै जुम्ला, गोर्खासम्म आइपुगेका देवकोटा खलकमा अग्निधर र गङ्गाधर नामका कवि भएको जानकारी पाइन्छ । गोर्खाबाट काठमाडौँ राजधानी सरेपछि गोर्खा दरबारका देवकोटा वंशका पण्डित लक्ष्मीधर र विद्याधर दाजुभाइ काठमाडौँ आएका थिए । यिनैमध्येका विद्याधरका पुत्र जगन्मणि र जगन्मणिका पुत्र पण्डित षड्शास्त्री चन्द्रदत्त र चन्द्रदत्तका पुत्र तिलमाधव साहिँला सुपुत्र हुन् लक्ष्मीप्रसाद देवकोटा ।
देवकोटाका पूर्वजहरू राजकीय परिपाठसँग सम्बन्धित हुनुले पाण्डित्यपूर्ण परम्पराको प्रभाव देवकोटामा देखिनु, कविपुर्खा हुनुले देवकोटामा कवित्व देखिनु, षड्शास्त्रीका नाति र पुराणवाचक पण्डित कविका पुत्र हुनुजस्ता पितृवंशानुगत संस्कार एवम् मावलीतर्फबाट नेपाल थरका पण्डित तेजप्रसाद उपाध्यायका नाति हुनुजस्ता मातृवंशानुगत संस्कारको भूमिका रहेको देखिन्छ ।
देवकोटाका बाबु तिलमाधवको पाण्डित्यको आर्जन र अंग्रेजी पढेका जेठा छोरा लेखनाथको कमाइ देखेर आमाले देवकोटालाई बा र दाजुजस्तो हुने गरी पढ्नुपर्छ भन्ने अर्ती दिन्थिन् । यही अर्तीबमोजिम पिताजस्तै संस्कृत भाषाका ज्ञाता र दाजुभन्दा बढ्ता अंग्रेजीका ज्ञाता बने । यसरी बाबुको जस्तो परम्परागत संस्कृत शिक्षा र दाजुको जस्तो आधुनिक शिक्षादीक्षा दुबै संस्कारको सम्मिश्रणबाट निस्केको ज्ञानको धपक्क बल्दो सृजनशील ज्योतिले देवकोटा महाकवि बने । उनका रचनामा पूर्वीय तथा पाश्चात्य दुवैतर्फको चेतनाको अभिव्यक्ति हुनुमा यही बाबु र दाजुअनुसार हुनुपर्ने आमाको चाहना नै हो ।
बाबुका कविता साफी गर्दा, अमरकोश, रघुवंश तथा अन्य श्लोक तथा स्तोत्र घोक्दाघोक्दै छन्दको मिठास र लयको टकसमेत बस्न गई बाल्यकालमै देवकोटामा कवित्वको बीजारोपण भइसकेको थियो । उनले भगवत्गीताको संस्कृत भाषामा व्याकरणहीन गरिब अनुकरण गरी केही कविता लेखेर संशोधन गर्न बाबुलाई दिँदा बाबुले यस्ता बेकम्मा र नमिलेका चीज लेख्नु व्यर्थ छ भनेर देवकोटाका कविता फ्याँकिदिएका थिए । देवकोटाले दस वर्षको उमेरमा जेठी भाउजूबाट प्रेरणा पाई म त अभागिनी पो भएँ भन्ने कविता लेखेका थिए । पछि दस वर्षकै उमेरमा लेखेको प्राप्य कविता यस्तो रहेको छः
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।
यस कवितामा व्यक्त संसारको दुःखमयता र जीवनको मरणशीलतासम्बन्धी जुन आध्यात्मिक जीवनदृष्टि व्यक्त भएको छ उनका कवितामा यही जीवनदृष्टि नै मुख्य रूपमा अभिव्यक्त भएको छ ।
देवकोटाको कवित्वका सन्दर्भमा देवकोटाकै धारणाअनुसार एकपटक सपनामा सरस्वती आएर उनलाई कविता लेख्न भनेकी, देवकोटाले जान्दिनँ भनेपछि सरस्वतीले देवकोटाका पिताकै जस्ता हस्ताक्षरमा रातो मसीले एक श्लोक लेखेर सुनाएकी र देवकोटालाई त्यो श्लोक कण्ठ भएको अनि विपनामा त्यही कविता वाचन गरेका थिए । स्वपनमनोविज्ञानका दृष्टिबाट हेर्दा सरस्वतीको मिथकले उनको अवचेतनमा सृजनात्मक चाहना रहेको तथ्य स्पष्ट हुन्छ ।
हालसम्म ८४ पुस्तक प्रकाशित भइसकेका र ४५ पुस्तक छाप्न बाँकी रहेका देवकोटाले ३६ खण्डकाव्य, ६ महाकाव्य, २१ कवितासङ्ग्रह तथा नाटक, निबन्ध, प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखेका छन् ।
एउटा खसीको टाउको खाएर एकै रातमा खण्डकाव्य लेख्न सक्ने देवकोटाले एक रातमा कुञ्जिनी, ८ घण्टामा मुनामदन, एक बसाइँमा म्हेन्दु, ६० घण्टामा सुलोचना, तीन महिनामा शाकुन्तल महाकाव्य लेखेर आफ्नो आशुकवित्व देखाएका छन् । बनारसमा आर्थिक अभावका कारण सौभाग्य पुस्तकालयका टीकादत्त धिताललाई देवकोटाले प्रतिश्लोक चार आना दिने शर्तमा कविता दिन थाले । पहिलो दिन २५ श्लोक, दोस्रो दिन ५० श्लोक, तेस्रो दिन २०० श्लोक, चौथो दिन ५०० श्लोक र त्यसको पर्सिपल्ट २००० श्लोक दिएपछि टीकादत्तले हजुर नेपाली भाषाका साक्षात् व्यास हुनुहुँदो रहेछ माफ गर्नुहोस् मैले चिन्न सकिनँ भन्दै शर्त तोडेका थिए ।
जीवनका ४० वर्ष साहित्यसृजनामा खर्चेका देवकोटाको अन्तिम नेपाली कविता २०१६ भाद्र १९ मा रचित म शून्यमा शून्यसरी हो भने अन्तिम अंग्रेजी कविता २१ गते रचित प्रमोथियन पेन आइ विअर हो । यी दुबै कवितामध्ये नेपाली कवितामा पूर्वीय आध्यात्मिक चिन्तन र अंग्रेजी कवितामा पाश्चात्य रुमानी चेत पाइनुले उनको बाबु र दाजुको प्रभाव अन्तिमसम्म रहेको थियो भन्ने स्पष्ट हुन्छ ।
२००४ सालमा बनारसबाट प्रकाशित हुने उदय पत्रिकामा ईश्वर बरालले देवकोटालाई महाकवि लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालियो । त्यसभन्दा अघि उनलाई युगकवि भनिन्थ्यो । देवकोटालाई महाकवि भन्न थालिएपछि सिद्धिचरण श्रेष्ठले देवकोटासँग युगकवि उपाधि मागेर २०१२ सालमा आफ्नो नाम अघि युगकवि लेख्न थालेका हुन् । त्रिचन्द्र कलेजमा प्रोफेसर भएका देवकोटा बीए पास गरेर प्रोफेसर हुने पहिलो नेपाली हुन् ।
शान्तभवन अस्पतालमा डा. मिलरबाट मृत्युको सङ्केत पाएपछि आफूलाई रक्तदान गर्नेलाई चिरायुको कामना गर्दै मानवरक्त लिएर आयु लम्बाएर पीडा भोग्नुभन्दा मृत्यु उत्तम ठाने र २०१६ साल भाद्र २७ गते उनको इच्छाबमोजिम पशुपति आर्यघाटमा ब्रह्मनालमा राखियो । २०१६ साल भाद्र २९ गते भेट्न आएका लेखनाथ पौड्यालसँग अश्रुधारा बगाउँदै अन्तिम विदा मागे, मन्त्री गणेशमान सिंहप्रति नयाँ नेपालको निर्माण र प्रजातन्त्रको विकासको भावना व्यक्त गरे र रुसले छाडेको रकेट चन्द्र धरातलमा ओर्लेकै दिन १९९६ सालमा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेर कविता रचेका देवकोटा २०१६ भाद्र २९ गते साँझ ६ः१० बजे परमधाम भए ।
देवकोटा प्रारम्भकालीन कवितामा प्रकृतिकेन्द्रित चिन्तन, पूर्वीय संसारको प्राचीनताप्रतिको मोह, मानवतावाद, ईश्वर तथा धार्मिक रहस्यवादको दृढ पक्षपोषण, कल्पनामा बढी जोड, विचारभन्दा भावमा बढी जोड र आदर्शवादी सौन्दर्यचेतजस्ता स्वच्छन्दतावादी प्रवृत्तिहरू पाइन्छन् । मुनामदन, शाकुन्तल, सुलोचना, सीताहरण, वनकुसुम, गाइन् तिनले घँसिया गीत, चारु, गरिब, किसान, भिखारी, सुन्दरी जल, लूनी आदिमा यिनै प्रवृत्ति पाइन्छन् । १९९७ सालको सहिदपर्वपछिको परिवर्तित विद्रोही परिवेशले देवकोटालाई झकझकाएको छ र २००३ सालपछि राणाशासनका विरुद्ध बाघले बच्चा किन खान्छ ?, साँढेजस्ता कविता लेखेर विद्रोहात्मक बन्न पुग्छन् । यस समयका देवकोटा उत्पीडित जनसमुदायप्रति सहानुभूति व्यक्त गर्दछन् ।
२००४ देखि २००७ सालको अवधिमा देवकोटा क्रान्तिकारी स्वच्छन्दतावादी देखिन्छन् । २००४ मा नेपाली साहित्य परिषद्द्वारा आयोजित विराट् साहित्यसम्मेलनमा उनी सशक्त भाषण दिन्छन् । त्यसै साल साउनमा उनी त्रिचन्द्र कलेजको अध्यापकीय जीवन त्यागेर भूमिगत रूपमा बनारस जान्छन् र युगवाणीमा सम्पादक बन्दछन् । उनी २००६ असोजसम्म दशैँसम्म त्यहीँ बस्छन् र त्यसपछि काठमाडौँ फर्कन्छन् । यस समयमा उनका सशक्त रचनाहरू सिर्जना गरेका छन् । यस समयमा उनका राणाशासन विरोधी तथा सशक्त मानवतावादी कविताहरूमा प्रभुजी भेडो बनाऊ, भाँचूँ कि मेरो कलम, झञ्झावीर, मायाविनी सर्सी, पहाडी पुकार, युद्ध स्वागत आदि रहेका छन् । यस अवधिमा उनले राणाशासन विरोधी मात्र होइनन्, साम्राज्यवादविरोधी देशभक्तिपूर्ण कविताहरू पनि रच्न पुगेका छन् । मायाविनी सर्सी काव्यमा बनारसप्रवासमा रही प्रजातन्त्र प्राप्तिको क्रान्तिमा होमिएका बेला प्रलोभनमा फसेर क्रान्तिकर्मबाट पछि हटेका व्यक्तिहरूलाई देवकोटाले सर्सीको मोहनी जालमा फसेका युलिसिसका दूतहरू ठानेका छन् र आफूलाई अविजेय युलिसिसका रूपमा उपस्थित गराएका छन् ।
देवकोटाको बनारसप्रवासको आर्थिक सङ्कट र राणा सरकारबाट तलब रोक्का हुनु तथा त्रिचन्द्र कलेजको प्राध्यापकबाट हटाइनु, औषधीको अभावमा माहिलो छोराको टाइफाइडको ज्वरोले निधन हुनु, देवकोटाका परिवार बनारस जानु, आर्थिक सङ्कट बढ्नु र कविता बेच्न बाध्य हुनु, नेपाली काङ्ग्रेसले सहयोग नगर्नुजस्ता उनका जीवनका दुखद घटनाहरू हुन् । २००७ सालमा राणाशासन ढले पनि देवकोटालाई प्रजातन्त्र आएको महसुस भएन । त्यसैले २००८ र २००९ सालका कवितामा यिनै असन्तुष्टिका स्वरहरू प्रकट गरेका छन् । २००४ साल साउन ६ गते आफ्ना दस्तावेज लेखाउन कांग्रेसले अनेक प्रलोभन देखाएर देवकोटालाई बनारस लगेका थिए । पछि भोकभोकै बस्नु परेपछि कांग्रेसलाई सराप्दै नेपाल फर्केका थिए ।
२०१० देखि २०१६ मा देवकोटामा वैज्ञानिक समाजवाद प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति देखिएको छ । यस समयमा देवकोटा माक्र्सवादी सौन्दर्य चिन्तनबाट अत्यधिक प्रभावित रहेको देखिन्छ । लक्ष्मी कवितासङ्ग्रहका कविताहरू तथा प्रमिथस महाकाव्य, कृषिबाला गीति नाटकजस्ता ओजस्वी रचनाहरू यस समयमा लेखिएका छन् । प्रमिथस देवकोटाको प्रिय पात्र हो । उनले आफूलाई नेपाली प्रमिथसका रूपमा उभ्याएका छन् । तत्कालीन राजनीतिक अवस्थाबाट असन्तुष्ट देवकोटाले
एक आवाज गर किसान ! एक डल्लो बनी
हजार गरिब एकातिर अर्कातिर धनी
हातमा लाठी लेऊ सबै !
बोल ! बोल ! किसान भाइ हो ! धर्ती पुत्र जिन्दावाद !
धर्तीपुत्र जिन्दावाद ! धर्तीपुत्र जिन्दावाद !
भन्दै त्यसबेलाको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पन्न सङ्घर्षशील किसान आन्दोलनका आवाज, सामन्तविरोधी वर्गसङ्घर्षका भावहरू अभिव्यक्त गरेका छन् । देवकोटाका उक्त विचारहरू एक अर्थमा नेपाली जनवादी सशस्त्र किसान क्रान्तिका ओजमय उद्घोष पनि हुन् ।
पाश्चात्य साहित्यमा देखापरेका स्वच्छन्दतावादी धारालाई नेपाली साहित्यमा भित्र्याई त्यसैको चौतर्फी विकासका लागि आफ्नो सम्पूर्ण काव्यिक जीवन अर्पण गर्ने उल्लेख्य प्रतिभाका रूपमा देवकोटालाई चिन्न सकिन्छ । देवकोटा त्यसैले स्वच्छन्दतावादका प्रवर्तक, सम्वर्धक, विस्तारक र यस धारामा कलम चलाउने कविहरूको प्रतिनिधित्व गर्ने केन्द्रीय प्रतिभा हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।