साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

Chovar Blues Mobile Size
  • विषयप्रवेश-

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनेक कृतिहरू अझै पनि अप्रकाशित र अप्राप्य छन्। हालसालै नइ प्रकाशनले प्रकाशित गरेको परी कवितासङ्ग्रहले यस कुराको पुष्टि गर्दछ। महाकवि देवकोटाका आधिकारिक कृति विशेषज्ञ र अनुसन्धाताद्वय डा कुमारबहादुर जोशी र डा महादेव अवस्थीका विचारअनुसार यो कवितासङ्ग्रह महाकवि देवकोटाले वि.सं. १९९०-९१ मा रचेका हुन्। यस कवितासङ्ग्रहको पाण्डुलिपि नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। यसलाई महाकवि स्वयम्‌ले उत्ति महत्त्व नदिएको प्रतीत हुन्छ।

नवीन पौड्याल (कालिम्पोङ)

वि.सं. २०६६ सालमा महाकवि देवकोटा जन्मशताब्दी समारोहको अवसरमा नइ प्रकाशनले प्रकाशित गरेको परी कविता सङ्ग्रहमा जम्मा सत्रवटा रूमानी भावधाराका छोटा छोटा कविता सङ्ग्रहीत छन्। भिखारी कविता सङ्ग्रहभन्दा अघि लेखिएको अनुमान गर्न सकिन्छ। यसमा पनि भिखारीका कविताहरूकै भावधारा र शैल्पिक परिपाटी पाइन्छ। यसकारण यस कविता सङ्ग्रहमा रहेका कविताहरू हेर्दा कविले आफ्नो लेखनको आभ्यासिक चरण र भिखारीकै पृष्ठभूमि र भावभूमि पाइन्छ। कविले पनि यसलाई आफ्नो प्रारम्भिक र अभ्यासकालीन लेखनको प्रचेष्टा मात्र ठानेर यसलाई प्रकाशित गर्न चासो नदिएको हुनसक्छ। हुन पनि उनकै पछिल्ला अन्य कविताहरूको भावगत-सघनताका तुलनामा परी-का कविताहरू केही सिकारू र आभ्यासिक जस्ता प्रतीत हुन्छन्। यद्यपि यसमा रहेका कविताहरू त्यति कमजोर र फ्यातुला भने छैन्। यसभित्रका कविताहरूका पनि विशेषता र महत्त्व छन्।

  • ‘परी’ कवितासङ्ग्रहको सामान्य अध्ययन

भिखारी कवितासङ्ग्रहका कविताहरूमा स्वच्छन्दतावादभित्रका जे जे तत्वहरू पाइन्छन्, तिनै तत्वहरू नै यस परी कवितासङ्र्हमा पाइन्छन्। यस कृतिका भूमिकाकार डा. महादेव अवस्थीले यसको पारिचायिक भूमिकामा नै यस कृतिबारे सम्यक् चर्चा गरेका छन्। यद्यपि यसलाई अझ केलाउन सकिने आधारहरू छन्। सङ्ग्रहका सत्रवटा कविताहरू प्रायः नै रूमानी भावधारा र शैलीमा आवद्ध छन्। कविताहरू प्रायः छोटा छोटा छन् र ती उस्तै उस्तै भावधारा, प्रकृति चित्रण, जीवन दर्शनले आवेष्ठित छन्। कल्पनाको प्राचुर्य, अतीत प्रेम, वर्तमानप्रति वितृष्णा, भविष्यप्रति मोह, इन्द्रियजन्य संवेदनशीलता, जीवन र जगत्‌का यथार्थिक कटुतादेखि पलायन, नवनिर्माणको आग्रह र परम्पारागत भाव-शैली-विचारधाराप्रति विद्रोह र सत्यको अन्वेषण जस्ता स्वच्छन्दवादी प्रवृत्ति नै यस कविता-सङ्ग्रहका मूल प्रवृत्ति हुन्। यसमा प्रकृतिलाई नै अधिक महत्त्व दिएर यसका विभिन्न स्वरूपको वर्णन गरेका छन्। प्रकृति नै मानव-जीवन र सभ्यताको मुख्य आधार हो। मानिस प्रकृतिसित जति नजिकमा रह्यो उत्ति सुखी रहन्छ औ जति टाड़ा भयो उत्ति दुःखी रहन्छ भन्ने उनको मूलभूत मान्यता नै यस सङ्ग्रहका कविताहरूमा पनि पाइन्छ। कविका निति प्रकृति अचल, अबोला, मूक, जड़, भौतिक वस्तु नभएर सचल, गतिशील, वाचाल, चेतन र सक्रिय छ । प्रकृतिका विभिन्न हावभाव, गतिविधि र स्वरूपलाई कविले अविदितदेखि विदिततर्फ, उपमानदेखि उपमेयतर्फ, साधारणदेखि असाधारणतर्फ, अगोचरदेखि गोचरतर्फ, अबोधगम्यदेखि बोधगम्यतिर, जड़तादेखि चैतन्यतर्फ, इन्द्रियेतरदेखि इन्द्रियेयतर्फ लगी प्रकृतिको अतीव महिमा गाएका छन्। उनले प्रकृतिको शान्त, सुन्दर र सौम्य रूपलाई मानवीकरण गरी केही काव्य-कविता सिर्जना गरेका छन्।

sagarmani mobile size

सङ्ग्रहको पहिलो कविता ‘जीवनको ध्वनि’ मा मानव जीवनबारे एक दार्शनिक चिन्तन गरिएको छ। यसमा मानव जीवनको महत्त्वलाई अघि बढाई कविले विदित, गोचर र बोधगम्यतालाई अविदित र अबोधगम्य दुनियाँतर्फ लगेका छन्। यो कविता उनकै भिखारी सङ्ग्रहभित्रको “बादल” कविताको भावभूमिसित मेल खाँदछ। जीवनलाई कविले हार्दिकताले समेटेका छन् र “हृदय डुलाउँछ हृदयैलाई” भनी आफ्नो जीवन दर्शन अभिव्यक्त गरेका छन्। जम्मा चार श्लोकमा रहेको यस कवितामा कोमल लयदार मात्रिक छन्द प्रयोग भएको छ भने भावतरङ्ग र कल्पनालाई सन्तुलित राखी कतै कतै मिठासपूर्ण अभिव्यक्ति दिएका छन्।

“पछिको सपना अघिको विपना

नजर खुल्ला र उज्याला” – भनी जीवनको रहस्य खोतल्ने प्रयास गरेका छन्।

“प्रभाती गान” कवितामा प्रभातको वर्णन र प्रकृतिको मानवीकृत रूप प्रस्तुत गरेका छन्। उनका निम्ति बिहान अनन्त सौन्दर्य प्राकृतिक छटा र सिर्जनाको अनन्त स्रोत हो । यसमा कविले –

तारा हाँस्छ उषाको शिरमा

गर्न जगत्‌को आह्वान

चिडिया उड्छ सुनौला नभमा

गर्न प्रभाती गान।

भन्दै प्रभातको सिर्जनात्मक प्रेरणास्रोतको सङ्केत गरेका छन्। यसमा प्रयुक्त बादल, शीत, घामहवा, ज्योति, पृथ्वी, सागर, तारा, उषा, चिड़िया, सुनौला, नभ जस्ता शब्द-शब्दावलीले प्रकृतिको सौन्दर्यात्मक बिम्ब-प्रतिबिम्ब र प्रतीकको प्रयोग गरेका छन्।

‘रजनी’ कवितामा रातलाई महाशान्ति र विश्रामको रूपमा लिई मानिस दिनको दौडधूप र हाहाकारीबाट मुक्त हुने र नवनिर्माणको मूलस्रोत खोलिने वस्तुको रूपमा लिएका छन्। रातको सपना नै नवनिर्माणको प्रथम खुड्किलो र प्रेरणास्रोत हो। उनले रातको रहस्यलाई सृष्टिको प्रारम्भदेखि मानिसलाई कल्पना र सपना प्रदान गर्ने वस्तुका रूपमा लिएका छन्।  उनका निम्ति त रात घोर अन्धकार निराशा नभएर नौलो आशा सञ्चार गर्न, मानिसलाई सुखमय नन्द र विश्राम दिने अलौकिक समय हो। यो कविता पनि उनकै सनध्या कविताको समभावको छ। कविले यसमा आफ्नो भावसघनतालाई सन्तुलित र स्वप्रष्फुटित रूपमा प्रकट गरेका छन्।

‘जादूको वाग’ कवितामा जीवन जगतको वर्तमान धूलिधूसर विकृतिजन्य हिलोमय छ। विसङ्गति छ भन्ने ठान्दै बरू नौलो अलौकिक सुन्दर विकृति शून्य संसारको नव सिर्जना गरी एउटा सुखद जीवन जिउने परिकल्पना गर्दछन्। उनी “अपारे काव्यसंसारे कवि……… तथेदम परिवर्तते” भन्ने झैं कविले यो दुःख कष्ट र विकृतिमय यथार्तथिक संसारको जञ्जालबाट मुक्ति पाउन एउटा सुन्दर काल्पनिक मनोसंसारको निर्माण गर्न चाहन्छन्।  कविको निम्ति उक्तसिर्जित संसार जादूमय बगैंचा जस्तो छ जहाँ परीहरू झरनाको मृदु झन्झनामा सुन्दर नृत्य गर्छन्। त्यहाँ मनचिन्ते चराको मिठो गान हुनेछ, फुक्का पखेटा लिई निर्विघ्न चारैतिर विचरण हुनेछ। त्यो उपवन सुन्दर र  मधुर छ जहाँ यथार्थिक संसारको जस्तो याञ्त्रिकता, कुरूपता, विकृति, विसंगतिपन, धुलो-मैलो र कञ्टकमय छैन। यसमा पलायनवादी यथार्थ संसारदेखि विमुक्त कल्पनाशीलता, नवसिर्जनाप्रति आग्रह र प्रकृति प्रेम जल जस्ता रूमानी भावहरू पाइन्छन्। वर्तमान र यथार्थ, संसारको विकृति र कुरूपतालाई हटाइ कविले वास्तवमा एउटा सर्वसुन्दर संसारको परिकल्पना गरी जिउले लालसा राखेका छन्। यस्तो भावना हुनु कविको नैसर्गिक इच्छा र अधिकारको कुरा हो। प्रस्तुत कवितामा कतै सुक्तिमय अभिव्यक्ति कोमल लयदार भावगुच्छा र बिम्बात्मक प्रस्तुति रहेको पाइन्छ।

देवदूत झैं एकान्तमा उडी उडी गर्दछु गान

स्वप्नाभित्र म पस्छु, जगतको गर्न नयाँ जग निर्माण” भनी नव निर्माणको वकालती गरेका छन्।

अर्को कविता ‘नव प्रभात’लाई  अघिल्लो कविता ‘प्रभाती गान’ कै सम्पूरक मान्न सकिन्छ। यद्यपि बिहानको स्वर्णिम छटा र सौन्दर्यपान गर्ने अभावलाई बेग्लाबेग्लै रूपमा यी दुई कवितामार्फत् अभिव्यक्ति गरिएको छ। नवप्रभात कवितामा पनि नवसिर्जनाको नवजागृतिको सन्देश दिएका छन्। बिहानको विचित्र अलौकिक शोभामय प्राकृतिक छटाको सजीव वर्णन चित्रण गर्दै कविताले हार्दिक उद्गार व्यक्त गरेका छन्।

‘वनकी छोरी’ कवितामा प्रकृतिलाई मानवीकरण गरी एउटी सुन्दरी कन्याको परिकल्पना गरेका छन्। अगोचर अगम प्रकृतिको यौवनयुक्त हराभरा स्वरूप सौन्दर्यलाई एउटी प्रकृति कन्याको सादृश रूपाधान गरी प्रकृतिलाई प्रियसी रूप प्रदान गरेका छन्। तिनको घँसिया गीत कवितामा झैं यस कवितामा पनि कविले वन पखेरामा बस्ने र स्वचछन्द जीवन गुजार्ने एउटी अनुपम सुन्दरी कन्याको कल्पना गरेका छन्। “स्वप्न जस्ता भेँडा चर्छन्, चिडियाहरूको सुरिला गान हृदय भरिभरि गुञ्जी उठदछ। जब तिनी गर्छिन वनमा गान” भन्दै आफ्नो रूमानी भावलाई सशक्त रूपमा पुष्टि गरेका छन्। कविले चाहेको जीवन नै त्यस वन कन्याको जस्तै हो। जहाँ कुनै कृतिमता याञ्त्रिकता विरुपता छलकपट जञ्जाल दुःख कष्ट नहोस बरू प्राकृतिक स्वच्छन्द र फुक्का जीवन यापन होस भन्ने देखिन्छ।

सङ्ग्रहकै नाममा रहेको ‘परी’ राखेको मूलआधार यसमा रहेको अपसरा कविता हो। यद्यपि सङ्ग्रहका अन्य कविताहरूमा नि प्रकृतिलाई मानवीकरण गर्ने क्रममा अपसराको रूपमा प्रस्तुतरेकाछन्। शाब्दिक माधुर्य र कविको रूचि र छनोट अनुसार प्रस्तुत कवितासङ्ग्रहको नाम ‘अपसरा’ राख्नु उचित हुनेथियो भन्ने लाग्छ। भिखारी कवितासङ्ग्रहमा रहेको सन्ध्या कविताकै समानान्तर भाव र शैली चयन गरिएको ‘अपसरा’ कवितामा प्रकृतिको आन्तरिक स्वरूपको चित्रण वर्णन गर्दै मानवीकरण गरिएको छ। यसमा पनि सन्ध्या आगमनकै भावचित्रलाई सम्यक सादृश रूप प्रस्तुत गरेका छन्। एउटी अपूर्व सुन्दरी अपसरा सुरपुरबाट पृथ्वीतलमा ओर्लिरहेकी छन्, जसको पङ्ख फिजाएको, नजर झुकेको, छाती फुकेको, हाँसिरहेकी, पुष्ट ललाट भएको, गुलाबी केश, स्वर्ण मुहार भएकी छन्। उनी सन्ध्या बनी जगत्‌लाई एक मिठो झल्का दिई अल्पि जान्छिन्। जम्मा पाँच भावगुच्छा भएको यस कवितामा प्रकृतिको अन्तर्तम स्वरूप र संसारको सर्वश्वताको भाव अभिव्यक्त भएको पाइन्छ।

‘सन्ध्या’ कविता कै भावभूमि र ढाँचाको अर्को कविता ‘दिन र निशाको नीलो ढकनी छ’ रहेको छ। जसमा सन्ध्यालाई दिन र रातको ढकनी भनी अमूर्ततालाई मूर्तता प्रदान गरिएको छ। एकापट्टि दिनको चहकिलो प्रकाश र अर्कापट्टि रातको कालो घेराबिच बसी सन्ध्याले मिठो सन्तुलन कायम गर्छिन्। रातको अन्धकारको त्रासद् स्थितिको निराशा र दिनको उज्यालोले आशाको भाव जगाई यी दुई आशा र निराशाबिचको जीवनलाई दर्शाएका छन्। यसमा जीवन भन्नु नै आशा र निराशाको उभय स्थिति हो भन्ने दार्शनिक भावधारा अंगालिएको पाइन्छ। चलचित्रको खले झैं सन्ध्याका विभिन्न दृश्यावली झैं जीवन र जगत्‌का विभिन्न दृश्यावली इँगित गरेका छन्। यसरी जीवन र जगत्‌को विचित्रतालाई कविले प्राकृतिक सान्ध्य-बिम्बको प्रयोग गरेका छन्। यसमा भौतिक पक्षभन्दा अगोचर निराकार सृष्टिकर्ताको आध्यात्मिक रहस्यवादी मूलभाव पाइन्छ। यसमा दसवटा भावभुल्का (श्लोक) छन् भने मुक्त लयवद्ध पंक्तिगुच्छा रहेको छ।

‘आखिर’ कवितामा जीवनको क्षणभङ्गुरतालाई विभिन्न प्रतीक र बिम्बको प्रयोग गरेका छन्। फूल फुलेसरि रहेको हाम्रो हाम्रो मानव चोला बाँचुञ्जेल भने आशा, मोहनी, सुन्दरतामा मन्त्रमुग्ध भई सांसारिकतामा भुल्दछ तर उसे आफ्नो क्षणभङ्गुर जीवनको रहस्यलाई बुझ्न सकेको हुँदैन भन्ने गम्भीर भाव र चिन्तन प्रकट गरेका छन्। संसारका हरेक वस्तुको त अन्त हुन्छ भने यो मानव चोला त झन एकदिन फुल्ने फूल झैं अति क्षणिक छ भन्ने सत्यतालाई अभिव्यक्ति दिएका छन्।

धैर्य कविता आध्यात्मक भावधारालाई आत्मसात गरी उपदेशात्मक परिपाटीमा रहेको छ। जीवन र जगत भन्नुनै दुःख झरी बादल हुनरी हानि छलकपटको पर्याय हो। यस संसारमा आपछि यस्तो सांसारिक प्रपञ्च बझी मानिसले धैर्य भई ईश्वर प्राप्तिका निम्ति सदैव तत्पर रहनु पर्छ। मान्छेका जीवनमा आँधी री बतास आइरहन्छन्, त्यसलाई डटेर सामना गर्नुपर्दछ भन्ने आदर्श र नैतिकक भाव व्यक्त गरेका छन् । पाँच पंक्तिगुच्छा श्लोक भएको यस कवितामा नैतिक र आध्यात्मिक उपदेश र सन्देश दिई कविले  आफ्नो आदर्शत्व  चेतनाको प्रकाशन रगरेका छन्।

‘भिखारी’ कवितासङ्गर्हमा रहेको प्रश्नोत्तर कविताको झल्को दिन र त्यही परिपाटी र भाव भएको जीवन छाँया कवितामा पनि जीवन कै रहस्यहू खोतल्ने प्रयास गरिएको पाइन्छ। मानिसको अनतरार्तामा र जीवनको सार बुझी मानिसले सत्कार्य गर्नुपर्दछ। मानिस मानिस मनको कल्मष हटाइ सत्यता,पवित्रता अपनाउऩु पर्दछ। भावना कल्पना ज्ञान अन्तरात्मा जस्ता शब्दहरूको प्रयोग गरी जीवनगत, आध्याम्क रहस्याक्मकता र ज्ञानमार्गोदिग्दर्शन गराएकाछन्। सुन्दरताको अन्वेषणा कविले हृदयको पवित्रतालाई बढी महत्तव दिई उपदेशात्मक ऐदर्शवादी धारणी व्यक्त गरेका छन्। यही संसारभित्र जीवन र जगतको सार छ, तर त्यसलाई खोज्नु छान्नु र पर्गेल्नु नै मानिसको वास्तिविकअभिभारा र कर्तव्य हो।

अर्को कविता ‘अन्धेरी पारावार’ मा पनि यस संसारको कटु वास्तविकता दर्शाइ अनन्त यात्राको रहस्यबारे संकेत गरेका छन्। यस संसारको विकटिलो अवस्थालाई कविले निराशामा आशा, अन्धकारमा उज्यालो पक्षको उद्घाटन गरेका छन्। यो संसार कष्टमय छ,उजाड छ र चारैतिर घोर अन्धकार छ। मान्छे कहाँबाट आयो, कहाँ जानेछ?  त्यो पनि अज्ञात छ तर पनि जीवनको सार आशा हो। कवि भन्छन्

काँपिरहेको जीवन बुदबुद

फुट्न तयार तयार

घोर विपदमा हाँसिरहेको

खाइ मनमा मार

कविले घोर विपदमा हाँस्नु नै जीवनको उद्देश्य हो भन्दै आध्यात्मिक सुखलाई नै सर्वोपरी ठानेका छन्। कविता मुक्त लयदार पंक्ति राखिएका छन् र यसमा कविको स्वप्रष्फुटन भाव, दार्शनिक र वैचारिक बन्नपुगेको छ । यस संग्रहको एउटा प्रमुख र महत्त्वपूर्ण कविता शिला हो जोकविको खास विचारधारा र दर्शनलाई प्रतिनिधित्व र आत्मसात गरेको छ। शिला अचल जड, शान्त निष्प्राण वस्तु हो औ निष्क्रिय र अचल रहनु नै पत्थर समान हुन हो। जीव त त्यस्तो हुँदैन औ हुनुहुँदैन। जीवन बरू दुःख कष्ट आँधी बेरी आवोस तर गतिशील हुनुपर्छ ।

गुलाब बन्नु दिनभरलाई

बरू होस साँझ प्रहर

देवताको आकृति पाउन

बरू बोक्नु गरी भार

जीवन गुलाबको फुलसरह छोटै भए पनि चारैतिर मगमगाउने होस्। यो सतयताको अन्वेषण गर्ने चलायमान गतिशील र कर्तव्यले लादिएको होस, यही नै जीवनको सार हो। यसरी कविले मानिसलाई सक्रिय तिशील कर्तव्यशील र उदार बन्ने अभिप्रेरणा दिन्छन्। जम्मा उन्नाइवटा श्लोक रहेको यो कविता अरूभन्दा केही लामो छ। पंक्तिहरू सहज स्वाभाविक रूपमा सिर्जित छन्। उपवन कवितामा स्वप्नको प्रयोग कविले आफ्नो पलायनवादी रूमानी भावलाई  सरल सहत  र सरस रूपमा अभिव्यकित दिएका छन्य़ कविले यो वास्तिविक सारको दुःख कष्ट र भासलाई पन्छाइ सुन्दर सुखमय शान्त नवसंसारको निर्माण गर्न चाहन्छन्। साधु कवितामा धुँवा- खरानी धसी घर-संसार त्यागेर हिँड्ने जगी होइन बरू उ त सफा हृदयको पाप नचिताउने उज्यालो विचार भएको भाव र भाषा कोमल भएको सुख-दुःखमा समान उन्नति आकाङ्क्षी आशावादी सन्तोकी जगतको होस राख्ने विवेकी मानिस नै वास्तविक साधु । यस्ता साधु समानको व्यवहार गर्ने संसारका मानिसरहरूबाट अपेक्षा राख्दै आफ्न आदर्श अभिव्यक्ति गरा छन्।

‘स्वदेश’ र “क्षण’ दुई ससाना अन्तिम कविता हुन्। ‘स्वदेश’ कवितामा स्वेदश महिमा गाउँदै स्वदेश हरियो उज्यालो र खुशीयाली हुनुपर्छ आनन्दमयी हुनुपर्छ भन्ने आफ्नो रूमानी चेत र भाव अभिव्यक्त गरेका छन्। ‘क्षण’ कवितामा पनि क्षणिक जीवनमा मानिसले कर्तव्य गरिराखे मात्र जीवन सफल हुन्छ नत्र त्यसै बिलाएर जानेछ भन्दै कविले मानिसलाई कर्तव्यशील बन्ने आह्वान गर्दछन्। समयमा गरिएको एउटै शुभकार्य नै पछिबाट महान र मूल्यवान बन्नसक्छ। यसमा कणमा विशालता, व्यष्टिमा समष्टि, सानोमा ठुलो भाव दर्शन प्रस्तुत गरिएको छ। यसरी हेर्दा सङ्रग्रहका सत्रवटा कविता नै मुक्त लयमा संरचित भई प्रायः उस्तैउस्तै भाव धारा र शिल्पमा आवद्ध छन्। रजनी, प्रभात, चारू, बादल, सन्ध्या, झल्काझल्की, तारबुट्टे, स्वप्ना, विशाल, सागर, जगत, चिँडिया, कल्पना, उपवन, जादू, वसन्त, अपसरा, प्रकृति, वन, गुलाबी, गगन, अन्तरात्मा, आकृति, हरियाली, स्वप्निल इत्यादि जस्ता प्राकृतिक बिम्बजन्य शब्दको प्रयोगले नै कविको रूमानी भाव र शैलीको छनक पाइन्छ। प्रस्तुत कवितासङ्ग्रहमा कवि देवकोटाको प्रारम्भिक लेखनको भुल्भुलावट हो जसमा कविले आफ्नो भावभिव्यक्तिलाई मार्गनिर्देशन गर्ने प्रयत्न गरेका छन् औ सफल पनि बनेका छन्।

  • उपसंहार

महाकवि लक्ष्मीप्रसाद देवकोटाकोको सबैभन्दा पछिल्लो कवितासङ्ग्रह परी रोमान्सेली भावमा रहेको पाइन्छ। उनको भिखारी कविताङ्ग्रहकै भाव र भाषाकै परिपाटीमा रहेको छ। यसमा रहेका जम्मा सत्रवटा रूमानी भावधाराका छोटा छोटा कविता सङ्ग्रहीत छन्। यी प्रायः जसो कविताहरूमा प्रकृतिलाई केन्द्रमा राखेर आफ्नो रूमानी भाव राखिएको छ। प्रकृतिका विभिन्न अवस्थालाई विभिन्न भावविम्बमा उतारिएको पाइन्छ। भावको भुलभुलावटलाई छन्दको स्वच्छन्द प्रयोग कविता लेखिएको पाइन्छ महाकविको प्रारम्भिक अवस्थामा सिर्जना गरिएकाले कतै भाव र शैलीगत परिपक्वता, विशिष्टता र उच्चस्तरीय नलागे पनि त्यति यसमा रहेका कविता रोमान्सेली भाव, चिन्तन र शैलीगत पक्षमा कमजोर कविता भने छैनन्। यसको आफ्नै वैशिष्ट्य र बान्की छन्, मूल्य छ ।

लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...