“हामी श्रेष्ठ कथा जीवनबाट लिन नजानेर अक्सर कल्पनाबाट बुनेर अर्धप्रकृत अवस्थामा विश्वास पार्ने किसिमका बनाउँछौँ । तर जीवनभन्दा राम्रो उपन्यास केही छैन र दैनिक घटनाभन्दा औपन्यासिक र रुचिकर भईकन सत्यको यथार्थ चेत दिन सक्ने कुरा केही छैन ।”

यो पङ्क्ति तिनै कविका हुन् जसले नेपाली काव्यसाहित्यमा कल्पनालाई उनेर बुनेर स्वच्छन्दतावादका अजस्र र अविरल पाताकाहरु फहराए । त्यस्तै यी पङ्क्ति तिनै निबन्धकार हुन् जसले नेपाली निबन्ध-साहित्यमा आत्मापरक स्वच्छन्द शैलीको झण्डा उठाए । स्वच्छन्दतावादको रङ्गीन स्वप्निलता र उन्मुक्त उडानका चिल-प्वाँखे प्रतिभाले ‘श्रेष्ठ कथा जीवनबाट लिन नजानेर अक्सर कल्पनाबाट उनेर बुनेर’ लिएको मन नपराउनु एक प्रकारको विरोधाभाष हो । ‘मेरो विचारमा मानवकलाहरु काल्पनिक सत्यमा निर्भर रहन्छन्’ भन्नेले ‘दैनिक घटनाभन्दा औपन्यासीक र रुचिकर भईकन सत्यको यथार्थ चेत दिन सक्ने कुरा केही छैन’ भन्नु पनि कम विरोधाभास होइन । तर सैद्धान्तिक वा वैचारिक दृष्टिमा विरोधाभासी देखिए पनि सिर्जनामा स्रष्टाले प्रायः आफ्नो स्वरुप प्रकट गरिहाल्छ । त्यसैले कविता, निबन्ध वा कथाबारे लक्ष्मीप्रसाद देवकोटा आफू जेसुकै भनिरहुन् – लेख्न बस्दा तिनोटै विधामा उनका केही समान वैशिष्टयहरु मिसिइहाल्छन् ।

१. जीवनलाई केही मानवीय आदर्शहरुको अपेक्षासाथ केलाउने, २. विकृति विभेद र बीभत्सताप्रति व्यङ्ग्य गर्ने, ३. भावुकताका झल्कादार जलपहरुले तीव्र संवेद्यता दिने, ४. भाव गहिर्‍याउँदै नयाँ नयाँ दार्शनिक झलकद्वारा प्रभाव छाड्दै जाने, र ५. हास्य विनोदका छिपछिपेहरु छर्दै जाने । यद्यपि महाकविको विशाल वटवृक्षको ओझेलमा उनको निबन्धकार अलि गौण मानिन्ध र आधुनिक निबन्धकारको निद्र्वन्द्व व्यक्तित्वका कथाकार अझ गौण ठानिन्छ । तापनि उनका केही कथाहरुलाई उनैका कतिपय अग्रज र कतिपय दौँतरी कथाकारका कथासित दाँजेर हेर्दा देवकोटाको कथाकारितालाई पनि बेवास्ता गरिहाल्न मिल्दैन ।भनूँ भने माथिका पाँच वैशिष्ट्यले उनका केही कथालाई अरुको अपेक्षा विशेष उत्कृष्टता र पृथक व्यक्तित्व दिएको देखिन्छ । गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, बालकृष्ण सम, विश्वेश्वर, भवानी भिक्षु प्रवृति नेपाली आधुनिक लघुकथाका उठानकर्ता मानिएकाहरु ज्ुान दशकमा झुल्किएर नेपाली लघुकथाको उत्थान विकासमा प्रवृत्त भए त्यसै दशकमा देवकोटाले पनि कथामा कलर्मापण गरेको भेटिन्छ । संवत १९९६ सालमा उनको मने जस्तो बाल-मनोवैज्ञानिक कथा लिएर शारदामा टुप्लुक्किएका देवकोटालाई कवि र निबन्धकार हुनकै नाताले माथि उल्लिखित कथाकारहरुको पङ्क्तिबाट पङ्क्तिभेद गर्नु अन्याय नहोला र ?

उनको मने बाल मनोवैज्ञानिकमा आधारित सामाजिक कथा हो । त्यतिन्जेल बालमनोविश्लेषणमा बालकृष्ण समको तलतबाहेक उत्कृष्ट कथा निस्किसकेको बुझिन्न । पशुपक्षीलाई पनि पात्र बनाउने प्रवृत्ति पछि पूणर्प्रसाद ब्राम्हणले विकसित गरेको देखिन्छ । उनको मनेमा मने (बोको)ले पात्रै भई बोलचाल नगरे पनि पात्र जस्तै छ, जसप्रतिको करुणाले कथाकार स्वयं द्रवीभूत भई कविता बोल्छन् । त्यसैले देवकोटाको कथाकारिता बालसंसारको कोमलता र निरीह प्राणीप्रतिको करुणाबाट सुरु भएको छ । ईश्वर बरालले देवकोटाको कथाकारलाई चिनाउँदै झ्यालबाटमा लेखेका छन् । देवकोटाको प्राथमिक कथामा विशेषतः बालबालिकाको कोमल चित्रण पाइन्छ, जस्तै ‘उनको मने’ र ‘तारा’मा । यी कथाका विशेषता हुन्, कोमल भावाभिव्यक्ति, करुणोत्पादक रससृष्टि र ललित सङ्गीतमय शब्दयोजना ।”

भैरव अर्याल

नभन्दै नचुँड्नु हेर कोपिला………… पाप लाग्दछ का कवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना कथाहरुमा बालबालिकालाई कोपिलाकै रुपमा हेरेका छन् र तिनको कमलो दिलमा आर्थिक, सामाजिक किचिमिचिले पुर्‍याएको चोटले उनको कथाकार यति आद्र्र बन्छ कि त्यो आद्र्रता पाठकमा सहज-संवेद्य भई करुणरसको परिपाक गर्न थाल्दछ । घरेलु धर्मको कृष्ण, तन र मनको माग्नेको पोल्टोको शिशु। ऋजिमाको मुकुन्द, उपकारको बाटोमाको चिँगाने यसका उदाहरणहरु हुन् । बालकप्रति मात्र होइन, मानिसको कुनै पनि विपद्, विपन्नता, वियोग र विघटनप्रति कथाकार साह्रै वेदनाग्रस्त हुन्छन् र आफूले अनुभव गरेको वेदनालाई पाठकसम्म संवेदित गर्न उनी सफल हुन्छन् । यस तथ्यको साक्षी तीजका रमाकान्त उनको मनेका स्थिरदेव, मस्र्याङ्दीकी मस्र्याङ्दी, तन र मनकी बुढी इत्यादि विभिन्न पात्रले बकेका छन् ।

आडम्बरी भक्ति, अनमेल विवाहा, बालविवाहा, अन्धविश्वास इत्यादि नेपाली सामाजिक जीवनमा पाइने कुरीतिहरुप्रति उनको घोर घृणा छ भन्ने कुरा घरेलु धर्म, मस्र्याङ्दी, आजिमा, तीज इत्यादी कथाबाट बुझ्न सकिन्छ । सामाजिक चित्रणको स्वभाविकता र सुधारवादिताको सङ्केत इत्यादिका दृष्टिले उनले मैनालीलाई माथ गरेका छन् । तर मैनालीमा पाइने ग्रामसुलभ सरलता, चरित्रगठन र कथोपकथनका स्वाभाविकतामा भने देवकोटालाई आफैँभित्रका कवि र निबन्धकारले बिचबिचमा अल्मल्याइदिन्छन् ।

देवकोटाले आफ्नो कथाहरुमा नारीका विभिन्न अवतारहरु प्रदर्शित गरेका छन् । काफ्लिनी बज्यैको व्यावहार, छट्टु अवतार, मस्र्याङ्दीको सरल शोषित अवतार, भक्तिनीको अवतार र शिशिलीको विद्रोही अवतार यसका केही नमुना हुन् । काम अतृप्तहरुको नृशंसतालाई उनले ‘घरेलु धर्म’की भक्तिनी बज्यै र ‘मस्र्याङ्दी’का पण्डितबाजेका व्यवहारबाट बुझाएका छन् भने शिशिलीलाई घोर विद्रोही गराएर पनि नारीका कामपक्षको प्रचण्डता दर्साएका छन् । देवकोटा कथाको शिशिली देवकोटाकै महाकाव्यकी सुलाचनाभन्दा कम कडा छैन । काम अतृप्तिजन्य नारीको क्रूर, कठोर र बदला लिने भाव शिशिलीमा पाइन्छ । पारिवारिक विघटन र चारित्रिक विसङ्गतीको अन्तरमा कामको महत्वपूणर् भूमिका हुन्छ भन्ने उनले ‘घरेलु धर्मॅ, ‘शिशिली आफ्नो बिहा आफैँ गर्छिन’, ‘मस्र्याङ्दी’, ‘आजिमा’, ‘व्यक्तित्व’ आदि विभिन्न कथामा देखाएका छन् ।

अझ एक ठाउँमा त उनी भन्छन्- “स्त्रीको निमित्त प्रकृतिले दिएको पुरुषशक्ति भालेले बदमासी गरेर साहित्ष्, कलामा खर्च गरिदिन्छ र जति ज्यादा विद्वता र सभ्यता बढेको देखिन्छ उति प्रकृतिको प्रजाउत्पादक नैसर्गिक कार्यमा बाधा परेजस्तो देखिन्छ …….” यसो भन्दै उनले विद्वताको साटो कोरा पौरुषको पक्ष लिनुपर्ने गरी पण्डित अणिमानाथको सन्तानविहिनताको कारणमा एउटा कटु दलिल पेस गरेका छन् । यी सबै कोट्याउनुको मतलब के हो भने जसरी समाजचित्रण र सुधार सङ्केतमा उनले मैनालीलाई माथ गर्न खोजेका छन् त्यसै गरी यौन मनोविश्लेषणमा विश्वेश्वर र भिक्षुको सन्निकट आफूलाई पुर्‍याएका छन् । अझ भनूँ भने उनकी एउटी पात्र शिशिला, गोठाले, विजय र पारिजातले खडा गर्ने गरेका विद्रोहिणी केटीकै पङ्तिमा उभिन आइपुग्छे । तर मनोविश्लेषणमा विश्वेश्वर, भिक्षु र गोठालेलाई जति जस देवकोटालाई दिन सकिन्न, कारण उनी पात्रपात्राको आकार इङ्गित गति भाषणको मनोवैज्ञानिक प्रतिबिम्बन कुँदनुको साट्टो आफैँ छासछुस भाषण गर्दै कुद्छन् । जे भए पनि शिशिली आफ्नो बिहा आफै गर्छिन्मा उनी गतिला यौन कथाकार देखिएका छन् । तर यति भनेर उनको मानव-अध्ययन, मनोविश्लेषण वा जीवन-परिप्रेक्षणको प्रक्रिया यौनकेन्द्रित मात्र थियो भन्न खोजेको होइन । गुरु ज्ञानसिंह भन्ने कथामा मानवीय अहम्पूर्तिको लागि उब्जने प्रतिशोधलाई उनले राम्ररी देखेका छन् । त्यस्तै सम्पत्ति, सन्तति र सम्मानसम्बन्धी मानवीय पिपासा एवं तिनको अभाव र अतृप्तिले उब्जाउने क्षोभ, लिप्सा, प्रतिशोध, भ्रान्ति र क्रान्तिलाई समेत उनका ‘तीज’, ‘उपकारको काटोमा’, ‘अजिमा’, ‘घरेलु धर्मॅ इत्यादिका पात्रपात्राहरुका भाव-भङ्गिमाहरुले छर्लङ्याएका छन् । त्यसैले न उनलाई मैनालीलाई जस्तो सामाजिक कथाकार भन्ने विशेषणले मात्र भ्याउँछ न विश्वेश्वरलाई जस्तो यौनकथाकार भन्ने विशेषणले मात्र । मैले भन्नुपरे भन्छु -उनी विविधाङ्गी जीवनका बेढङ्गी कथाकार हुन् ।

बेढङ्गीभन्दा देवकोटालाई होच्याएजस्तो देखिन्छ । तर बेढङ्गी विशेषण रोज्नुमा मैले तिन ओटा कारण लिएको छु :

१. प्रथमतः देवकोटाका कथामा प्रेमकाभन्दा प्रतिशोध र घृणाका, तृप्तिभन्दा दारिद्रय र विपन्नताका, सामान्यताभन्दा भावुकता र हीनताका प्रसङ्गहरु धेरै पाइन्छन् । पं. रमाकान्तको न पैसा कमाउने ढङ्ग छ न स्वास्नीलाई वशमा राख्ने । सन्तानको लागि हुरुक्क हुने पं. अणिमानाथको छारो बिरामी हुँदा ओखती गर्ने ढङ्ग पनि छैन । ‘घरेलु धर्मॅका पण्डितबाजे घरेलु धर्मैमा पूणर्तः असफल छन् । मस्र्याङ्दीको पोइला जाने ढङ्ग छैन भने उसको रिस गर्ने मालिक्नीको पोइ रिझाउने ढङ्ग छैन । त्यसैले देवकोटाको कथामा पारिवारिक विघटन, चारित्रिक विघटन र सामान्यताको विघटन भई कारुणिकताको उद्वेलन भएको घटनाहरु यत्रतत्र पाइन्छन् ।

२. दोस्रो र मुख्य रुपले उनलाई बेढङ्गी भनेको कथाको शिल्पपक्षलाई लिएर हो । कथाप्रवाहलाई कतै उनको कविले काव्यात्मक बनाइदिन्छ त कतै उनको निबन्धकारले बिचबिचमा निबन्ध तेस्र्याएर छेकिदिन्छ । उदाहरणको निम्ति लिऊँ- “बिचरा जीव ! दुवै मिनेटपछिको कुरा तँलाई याद हुँदो हो त ! ईश्वरले अज्ञानको आनन्द दिएको छ । तेरो निर्दोष नजरले अलिकती अगाडि हेर्न सके तेरा हरेक शरीरका टुकडामा खुकुरीको थुम्क्याइँ र चुलेसीका धार साथसाथै निष्ठुरताको बत्तीस दन्तको थिचाइ चुम्ने थिए । हुनभन्दा ‘हुन्छ कि ?’ को त्रास कडा छ । हामी अगाडिको बाटो हेरी कुँडिन्छौँ, तँलाई अगाडि सुनसान छ, पछाडि दुध चुसेर उफ्रेको निर्मिर छ । भाग्यको किताबमा भोलिको पाना पल्टाउन नसके पनि ! अन्दाजी होसले हाम्रो दिलको फूल सिकुडिन्छ । अघि र पछि हेर्न सक्नु हामीमाथिको सराप पनि हो, वरदान पनि हो ।”

यो उद्धरण लक्ष्मी कवितासङ्ग्रह वा लक्ष्मी निबन्धसङ्ग्रहबाट लिएको हो कि जस्तो लाग्छ, तर होइन, लिइएको हो लक्ष्मी कथासङ्ग्रहबाट नै । उनको मने कथाको बिचबाट लिइएको यो निबन्धात्मक अनुच्छेद जस्तै अनुच्छेदहरु – बङ्गाली बाबु, अजिमा, घरेलु धर्म, गुरु ज्ञानसिंह इत्यादि धेरै कथामा पाइन्छ । यस्ताले कथाको प्रभावान्वितिमा प्रतिकूल असर पारी कथालाई बेढङ्गी बनाउन सहयोग पुर्‍याउँछन् ।

३. भाष कत्तै सरल सहज, संम्वेद्य र कतै क्लिष्ट छ । कतै पदलालित्य सुशोभित र कतै व्यङ्ग्य- विनोदी । उदाहरणको लागि हेरौँ :

क) यसै त प्रकृतिको नित्य हरियो नेपाली नन्दन, त्यस उपर कुसुमाकारको रमणीय प्रभाले फुल्दो, मजुराउँदो पुनर्जाग्रित नेपाल सच्चा तबरको तुषार तपस्याको वार्षिक अन्तपछि पार्वतीको कुमारी छटाको कदर गर्न आँखा खोलेको यस तरफका प्रेमपिपासु लहडी भोलाको भावानुसारी कुसुमभूमि बन्न जान्छ । ( बङ्गाली बाबु)

ख) उहुँ हुँ हुँ हुँ ! अहहह ! कत्रो माग ! ठाँडो बजारेजस्तो ! पित्तलको गाग्री घन्ट्याएजस्तो ! चटकी बाँदरले स्वास्नी तह लगाएजस्तो ! लाटो लफन्दर दुनियाँ ! भाले टकैती कति सजिलैसँग स्वाधिकारको भालु आसन चडेर थुतुनो पसारेर आँखा तर्छ । बिसौँ शताब्दीका छोरीहरुलाई प्रेट्सियोको तालिम । सेक्सपियरन प्रतिभाजस्तो वायुले डाँडाको चुली !

ग) मुकुलाई बोकेकी थिई वसुन्धराले तर हुरी घनघोरको आउँदा छाताको डाँठ कुनै दोस्रो धर्मका छायावादी कविले दस दिशाको डन्डीमा रहस्यले अन्धकारको चँदुवा ओढाएर लेखिएकी कविता झैँ समालोचनाको तुफानले कमजोर भएर छाला कक्रिएर बिकम्बा बनेको करङ झैँ देखियो । (अजिमाबाट)

देवकोटाको भाषा कथामा पनि निबन्धको जस्तै कहिले गहिरिँदै कहिले उत्रिँदै विविधतासाथ बगेको पाइन्छ । यो अस्वभाविकता होइन तर कत्तिपय कथानकमा अस्वाभाविक पनि हुन गएको छ ।

यस्तै अस्वाभाविकता घटनाहरुमा पनि भनूँ कथानकमै पाइन्छन् । बङ्गाली बाबु उत्तम पुरुषमा लेखिएको निबन्ध भएको छ – कथाभन्दा बढी । लक्ष्मी निबन्धसङ्ग्रहको ‘कविराजको च्याङ्रे खच्चर’ लाई कथा र बङ्गाली बाबुलाई निबन्धमा सटिदिए पनि त्यती अप्ठयारो पर्दैन भन्ने अनुभव हुन्छ । मेमसाहेबले एउटा प्रहसनमात्र प्रस्तुत गरेको छ । उपकारको बाटोमाको कथानक कृत्रिमताले भरिएजस्तो लाग्छ पछि गएर । मानौँ यो गरिब र धनीको ठुलो अन्तराल देखाउन, धनमै प्रतिष्ठा रहेको आडम्बरी सामाजिकता कोट्याउन र धन कमाउन जुनसुकै बाटो समाए पनि धनी भइसकेपछि कसले त्यसले त्यसको पुर्पच्छे गरिरहन्छे र ? भन्ने देखाउन बलात् बनाइएको कथा जस्तो लाग्छ यो । केही कथ्य सोचेर त्यसलाई कथाको माध्यममा भन्ने पुष्करशमशेरको प्रवृत्ति यसमा देखिन्छ ।

कुनै कथाको सुरु ‘एकादेशमा’ भने झैँ पुरानो ढङ्गबाट गरिएको छ । उदाहरणको निम्ति गुरु ज्ञानसिंह नै लिऊँ । तर कुनै भने बडो आकर्षक र कुतूहलपूणर् ढङ्गमा सुरु भएको छ । मन र तन यसको उदाहरण हुन सक्छ ।

लक्ष्मीप्रसाद देवकोटाले आफ्ना कथाको परिवेशमा नेपाली स्वभाव र सामाजिकतालाई छाडेका छैनन् । नेपाली समाजमा रुढिबुढी, आर्थिक वैषम्य, शैक्षिक न्यूनता र वैवाहिक विषमताहरुलाई करुणा र हास्य, सहानुभूति र व्यङ्ग्यका साथ उधिनेका छन् । यति भएर पनि कवितामा बाढी ल्याउने र निबन्धमा पैयाँ छाड्ने देवकोटाको गति कथामा कछुवाको जस्तै देखिन्छ । वनारस बसेर युगवाणीको सम्पादन गर्दा उनले धेरै कथा लेखेका थिए । जसमध्ये केहि तत्कालीन शासनव्यवस्थाको विरुद्ध प्रहार गरिएका राजनीतिक कथा पनि थिए भनिन्छ । त्यसको उदाहरणमा ईश्वर बरालले ‘डायमन कुकुर र झिङ्गाको झोपडी’ आदि केही कथाको चर्चा गरेका छन् । ताना शर्माले नेपाली साहित्यको इतिहास भन्ने पुस्तकमा भनेका छन्- “उनका कथा त्यति महत्वपूणर् छैनन् तापनि ‘हत्याको डाहा’ को यौन मनोविश्लेषण र ‘तारा’ र ‘मने’ को बालमनोविश्लेषणलाई भने प्रशंसा नगरी रहन सकिन्न ।” तर हाम्रो अगाडि देवकोटाका कथाहरु सुन्ने एउटै सुनको माला उनका १३ कथाको सँगालो लक्ष्मी कथासङ्ग्रह छ । यसको सङ्कलन चूडामणि बन्धु र प्रकाशक साझा प्रकाशनलाई धन्यवाद दिँदै अब सारांशमा देवकोटाको कथाहरुको विशेषता हेरौँ :

१. जसरी गरुप्रसाद मैनालीलाई शरद्चन्द र प्रेमचन्दको प्रभाव परेको भनिन्छ , त्यस्तै गरी विश्वेश्वरलाई चेखव र मोपासाको । स्वयं देवकोटालाई पनि कवितामा कतिपय अग्रेजी रोमान्टिक कविहरुको छाया परेको टीकाटिप्पणी गरिन्छ । तर कथामा शायद उनलाई बाह्य प्र्रभावले भेटेको छैन, न त समसामयिक कुनै कथाकारको स्कुलमा उनलाई कोच्न सकिन्छ । देवकोटाका कथा देवकोटैका जस्ता हुन् ।

२. देवकोटाका कथामा सुधार र क्रान्तिका चेतनाहरु पाइन्छन् । आर्थिक वैषम्य, सामाजिक शोषण,मानवीय सङ्कीणर्ताहरुलाई अतिरञ्जित रुपमा चित्रित गर्दै तिनबाट मुक्तिको लागि प्रत्यक्ष र परोक्ष रुपमा छटपटाएका मानवका विविध रुप देवकोटाका कथामा पाइन्छन् । अझ ॅयुगवाणी्’ का कतिपय कथा राजनीतिक परिवर्तनको निम्ति उक्साउने खालका रहेको चाल पाइन्छ । तर एउटा कुरा के भने जुन कथालाई उनले राजनीतिक आर्थिक विद्रोहको प्रत्यक्ष प्रेरणाको माध्यम बनाउन खोजेका छन् तिनमा कृत्रिमता बढी पाइन्छ । ‘उपकारको वाटोमा’ को गनेलाई आर्थिक र सामाजिक हैसियत बदल्न उनले चोर्न लगाइदिएका छन् र चोरेरै वर्ग परिवर्तन गराइदिएका छन्, यो एउटा तीव्र व्यङ्ग्यात्मक त भएको छ, तर कथा कृत्रिम हुन पुगेको छ-झोक पोख्न नै बनाएजस्तो ।

३. देवकोटाको कथामा कतै काव्यात्मक भमवुकता, कतै निबन्धात्मक व्याख्यान पाइन्छ भने यत्रतत्र हास्यव्यङ्ग्यका राम्रा छापछायाहरु पनि पाइन्छन् ।

४.देवकोटा वातावरणका चित्रण कुशल छन् । अझ स्थिति र व्यक्तिको हास्यव्यङ्यात्मक शब्द-कार्टुन उतार्ने शिल्प उनको बेजोड छ । बङ्गाली बाबुको व्यक्तिचित्र, पं. अजिमानाथको सन्तति वत्सल-स्वरुप, मस्र्याङ्दीका घरको वातावरण-चित्र इत्यादिलाई यसको उदाहरण रुपमा लिन सकिन्छ ।

हास्यात्मक चित्रणमा जति प्रवीणता पाइन्छ कारुणिक चित्रणमा कम पाइन्न । घरेलु धर्मका नायक र बालकको, मस्र्याङ्दी र उनको बालकको चित्रणमा उनले देखाएको कुशलताले पाठकलाई द्रवीभूत पार्दछ । हास्य र करुणा, करुणागर्भित हास्य र हास्यगर्भित करुणा यी विभिन्न आस्वादहरु देवकोटाका कथामा बराबर पाइन्छन् ।

५. देवकोटाका कतिपय कथा कथात्मक प्रभावान्विति र प्रभावैक्यमा जोडदार पाइनन् । कथानक बुन्ने, चरित्र कुँद्ने र भाषालाई तलदेखि माथिसम्म एकरुपता दिने कलामा देवकोटालाई कमैमात्र सफलता मिलेको छ । यस दृष्टिले मस्र्याङ्दी, घरेलु धर्म, गुरु ज्ञानसिंह, तारा, अजिमा, शिलिली आफ्नो बिहा आफैँ गर्छिन्’लाई अपेक्षाकृत सफलता मिलेको छ । यिनै कथाहरुले देवकोटालाई कथाकार बनाएको भनेमा पनि अत्युक्ति परोइन ।

उनको आफ्नौ वैयक्तिक भोलाभालापन, घरेलु स्थिति र विपद् विसङ्गतिहरुले मुछिएको छ । त्यसैले सम्पन्न पक्षभन्दा विपन्न पक्षमा उनको ध्यान एकोहोरिएको छ । शृङ्खलितभन्दा विच्छृङ्खलित जीवन कथामा पोखिएको छ ।

अन्त्यमा, समालोचक श्री वासुदेव त्रिपाठीले देवकोटाका कथाबारे उल्लेख गरेको एक दुई वाक्य लिएर यो गथासो टुङ्ग्याऊँ । त्रिपाठीज्यू भन्नुहुन्छ- “किन देवकोटाले कथा ज्यादा लेखेनन् ? देवकोटाको आत्मापरक भावावेगका प्राधान्यमा आख्यानीकरणको वस्तुमयताका साथै संयम र साधनाद्वारा प्राप्त संरचनातत्वको प्रतिष्ठापन हुन नसक्नु देवकोटाका कथा परिपक्क नहुनुको कारण प्रतीत हुन्छ ।”