

डा. मुकुन्द पथिक
राष्ट्रकवि माधव घिमिरेज्यूको १०१ औँ शुभजन्मोत्सवको अवसरमा ‘राष्ट्रकवि माधव घिमिरे जन्मशताब्दी विशेषङ्क लोकार्पण समारोह तथा विशेष सांस्कृतिक कार्यक्रम’ मिति २०७६ साल असोज ७ गते मङ्गलबार काठमाडौँ, जमलस्थित सांस्कृतिक संस्थानमा भव्य तरिकाले सम्पन्न भएको थियो । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित उक्त गरिमामय कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । राष्ट्रकविको १०१ औँ शुभजन्मोत्सवको अवसरमा सर्वप्रथम नेपाली परम्परागत शैलीमा १०१ वटा दीप प्रज्वलन गरिएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
राष्ट्रिकवि माधव घिमिरे र उहाँकी श्रीमती महाकाली घिमिरे स्वयम्बरको शैलीमा एकआपसमा दुबो र जरीको माला लगाइरहेको हर्षोल्लासपूर्ण अवस्था हामी देख्न सक्छौँ । एकातिर नौमती बाजा घन्कनु, अर्कोतर्फ उपस्थित सबैबाट तालीको गडगडाहट हुनुले पनि कार्यक्रमलाई रोचकता प्रदान गरेको थियो । ।
त्यस अवसरमा राष्ट्रकविद्वारा रचित राष्ट्रिय गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ लाई नेपाली सेनाका साङ्गितिक टोलीद्वारा नौमती बाजा बजाइरहँदा कार्यक्रमको माहोल ज्यादै उल्लासमय देखिन्थ्यो ।
उक्त ऐतिहासिक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेद्वारा सम्बोधन गर्नेक्रममा आफूले १०१ वर्षको अवस्थासम्म आइपुग्दासम्म नेपाली भाषा र साहित्यको सेवा गर्न पाएकामा हर्ष व्यक्त गर्नुभयो । उमेर र अवस्थाको कारणले आफू धेरै समयसम्म बस्न सक्दिनँ कि भन्ने लागेको थियो तर तीन घण्टासम्म यहाँहरूकै स्नेह र श्रद्धाका कारण म बस्न सकेकोले सबैलाई धन्यवाद दिनुभयो । त्यस अवसरमा उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेती, भूतपूर्व उपकुलपति डा. बासुदेव त्रिपाठी, ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, आयोजक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका पदाधिकारीहरू, साहित्यकारहरू, समाजसेवी र उपस्थित सबैलाई हार्दिक धन्यवाद अर्पण गर्नुभयो । यो उमेरमा एउटा साहित्यकारले यस किसिमको सम्मान पाउनु ज्यादै सराहनीय कार्य र अवसर भएको कुरा पनि उहाँले हर्षित मुद्रामा व्यक्त गर्नुभयो । उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा हामी सबै मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यको सेवामा राष्ट्रकविको योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्यको कामना गर्नुभयो । उहाँले राष्ट्रकविले नेपाल प्रज्ञा-प्रतिष्ठानको उन्नयनमा स्थापनाकालदेखि नै महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको र उपकुलपति र कुलपति भएर उहाँले प्रदान गर्नुभएको उल्लेखनीय योगदान पछिसम्म स्मरणीय रहने कुरा व्यक्त गर्नुभयो । गरिमामय कार्यक्रम आयोजना गरेकामा उहाँले मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई बधाई अर्पण गर्नुभयो । स्मरणीय छ राष्ट्रकवि माधव घिमिरे मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका प्रमुख संरक्षक हुनुहुन्छ ।
उक्त समारोहको विशेष मञ्चमा बिचमा राष्ट्रकवि माधव घिमिरे र उहाँकी धर्मपत्नी महाकाली घिमिरे, दायाँतर्फ नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेती, नेपाल प्रज्ञा-प्रतिष्ठानका भूतपूर्व उपकुलपति प्रा.डा. बासुदेव त्रिपाठी, ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्य र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्द पथिक, बायाँतर्फ नेपाली सेनाका विशिष्ट प्रतिनिधि, वरिष्ठ पत्रकार श्री भैरव रिसाल र गण्डकी सामाजिक गुठीका अध्यक्ष श्री दामोदर गैरे उपस्थित हुनुहुन्छ ।
विशिष्ट व्यक्तित्वहरूद्वारा राष्ट्रकवि माधव घिमिरे जन्मशताब्दी विशेषङ्क लोकार्पण गर्दै हुनुहुन्छ ।
उक्त गरिमामय कार्यक्रममा कवि प्रह्लाद पोखरेलले राष्ट्रकविद्वारा रचित विभिन्न विषयका कविताहरू मिठो लयमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रकविका परिवारजनको पनि उल्लेख्य उपस्थिति रहेको थियो । राष्ट्रकविकै विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका विद्वान्हरूको पनि त्यस अवसरमा उपस्थिति देखिन्थ्यो ।
ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यले राष्ट्रकविको योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्यको कामना गर्नुभयो । नेपाल प्रज्ञा-तिष्ठानका भूतपूर्व उपकुलपति प्रा.डा. बासुदेव त्रिपाठीले राष्ट्रकविको साहित्यिक यात्राको उल्लेख गर्दै राष्ट्रकवि जस्तो व्यक्तित्व नेपालले पाउनु हामी सबैका लागि गौरवको कुरा हो भन्नुभयो । उहाँले राष्ट्रकविको १०० औँ वर्षको समभिनन्दन कार्यक्रम प्रज्ञा-प्रतिष्ठानमा रथारोहणसहित भव्य कार्यक्रद्वारा सुभारम्भ भएको कार्यक्रम आज १०१ औँ जन्मोत्सव कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न गर्न लागेको देख्न पाउँदा आफूलाई हर्षको अनुभूति भएको कुरा प्रस्ट पार्नुभयो । त्यस अवसरमा उहाँले राष्ट्रकविको साहित्यिक उचाइ धेरै माथि रहेको कुरा पनि व्यक्त गर्नुभएको थियो । वरिष्ठ पत्रकार श्री भैरव रिसालले यस्तो गरिमामय कार्यक्रममा बोल्ने अवसर प्राप्त भएकामा धेरै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रकविसँगको आफ्नो पुरानो भेटघाटको प्रसङ्ग उल्लेख गर्दै उहाँको रचना जति पढ्यो उति पढिरहूँ जस्तो लाग्ने र गौरी खण्डकाव्य मात्र नभएर अन्य राष्ट्रभक्तिले ओतप्रोत रचनाहरू कालजयी रहेको चर्चा गर्दै राष्ट्रकवि नेपालका लागि अझै धेरै वर्ष बाँच्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो ।
त्यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्द पथिकले राष्ट्रकविको ९४ औँ जन्मोत्सवदेखि नै नियमित रूपमा हरेक वर्ष असोज ७ गते कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्नुभएकोमा राष्ट्रकविलाई धन्यवाद अर्पण गर्नुभयो । उहाँले राष्ट्रकविद्वारा रचित ऋतम्भरा महाकाव्य उहाँकै उपस्थितिमा लोकार्पण भएको दृश्य हेर्न चाहेको कुरा व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले नेपाल र नेपालीहरू रहेसम्म राष्ट्रकविका रचना अमर भएर रहने कुरा पनि उल्लेख गर्नुभयो । त्यस अवसरमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएका थिए । प्रसिद्ध लोक गायिका बीमाकुमारी दुराले मिठो स्वरमा लोकगीतहरू प्रस्तुत गरिरहँदा प्रतीक्षालय गुञ्जायमान भएको थियो । अन्य कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका बिचमा उपस्थित सबैलाई रोमाञ्चित बनाउने किसिमले राष्ट्रकविको १०१ औँ जन्मोत्सवका अवसरमा टेबुलभरिको ठुलो केक प्रस्तुत गरिएको थियो । उक्त केकलाई राष्ट्रकवि माधव घिमिरे र श्रीमती महाकाली घिमिरेले संयुक्त रूपमा केक काटेर एकआपसमा केक खुवाएको दृश्यलाई समेत टेलिभिजन च्यानलहरूले प्रत्यक्ष रूपमा प्रसारण गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

