
‘गुड अर्थ’को नेपाली अनुवाद हो ‘कल्याणी धरती’ । अनुवादक टीकाराम शर्माले पर्ल एस. बकको भावनालाई दुरुस्त उतारेको आभास भयो, जब अगाध गाम्भीर्य ओगटेको विषयवस्तुले जब मेरो मस्तिष्कलाई रननन पार्दै लग्यो।
हो, अङ्ग्रेजीको वैतरणी तर्न नसकेर टीकाराम शर्माको ‘कल्याणी धर्ती’ नामक डुंगा चढेर ‘कल्याणी धर्ती’ भित्रको गहिराईमा प्रवेश गरें।
विषयवस्तुको असीम सागर जतिजति छिचोल्दै गएँ। म अधैर्य, अस्थिर र अवाक् हुँदै गएँ।
कथाले यति लठ्ठ पार्यो कि वाङ्लुङलाई आफ्नै वरपर देख्न थालें । गरिबी र भोकमरीले आक्रान्त भएको एउटा गरिब किसानको अतुलनीय श्रम र संघर्षको यात्रामा म पनि सँगसँगै सामेल भएँ। निकै सोझो कर्मवीर किसान वाङलुङ धर्तीको पुजारी थियो। निःस्वार्थ, निष्कलङ्क र निर्मल वाङ्लुङको जीवनका अनेकन् कथाहरूले मलाई हैरान पार्दै लग्यो।
चाम्रो, फुस्रो र कडा माटोलाई चरर चिरेर धर्तीको शक्तिलाई प्रकट गर्ने वाङ्लुङको आँगनमा ओलान रूपी अर्की कल्याणी धर्ती आएर मुस्कुराएको चालै पाएन वाङ्लुङले ।
कल्याणी धर्तीको काखमा आफूले ल्याएको ओलान रूपी कल्याणी धर्तीको पहिचान वाङ्लुङ्ले समयमा गर्नै सकेन । ओलान त धर्ती थिई त्यसैले धुस्री, फुस्री, फुङ्ग उडेकी थिई । ओलानको निजी स्वार्थ केही थिएन । ऊ त वाङ्लुङ्लाई सुख मात्र दिन आएकी थिई कल्याणी धर्ती बनेर।
मान्छेले किन आफूलाई मात्र चिन्न सक्दैन भन्ने प्रश्नले मलाई लखेटी रह्यो ।

अव्यवस्थित वाङ्लुङ्ले ओलानलाई ठूलो घरबाट झुपडीमा लिएर आएपछि हो वाङ्लुङ्को जीवनमा समृद्ध छाएको। छुट्टाछुट्टै अस्तित्व बोकेका कल्याणी धर्तीहरूले वाङ्लुङ्लाई सुखी, सम्पन्न र सुव्यवस्थित पार्दै लग्यो । धर्तीलाई जीवनको अन्तिम समयसम्म अँगाल्न खोज्यो तर ओलानलाई मानसिक पीडा कुन हदसम्म दियो । ओलानले गरेको सेवा, त्याग, समर्पणको कारण हो वाङ्लुङ्लाई कयौं गुणा समृद्ध प्राप्त भएको । धुलोमा लटपटिएकी फोहोरी ओलान वास्तवमा चम्किलो हीरा थिई । गुनासोरहित ओलानले वाङ्लुङ्लाई तीन छोरा र दुई छोरीले परिपूर्ण पारी । प्रशव पीडाको कठिन समयमा जब ओलान पहाड भएर वाङ्लुङको अगाडि ठिङ्ग उभिएर सम्पूर्ण परिस्थितिको सामना एक्लै गरेको डरलाग्दो वर्णनले मेरो जीउमा जुरुङ्ग काँडा उम्रिएको थियो ।
तर ओलानले वाङ्लुङबाट स्याबासी कहिले पाइन । गरिबीको त्यो बिकराल अवस्थामा ओलानले गरेको संघर्ष, दु:ख, अभाव र अनिकालको खडेरीमा हरेकचोटी ओलान आकाश भएर वाङ्लुङ्को जीवनमा फैलिरही।
धर्तीले आफ्नो छातीमा अन्नको भण्डार लुकाएझैँ ओलानले आफ्नो छातीमा दक्षिणतिरबाट आउँदा असंख्य खजाना लिएर आएकी थिई तर ओलानको खजाना लिएर वाङ्लुङ सम्पन्न भयो ओलान कमजोर कमारी नै भइरही । जब ओलानको अस्तित्व समाप्त भएपछि मात्र वाङ्लुङ आफ्नो छुट्टै अस्तित्व खोज्न थाल्यो।
वाङ्लुङ गरिब किसानबाट धनी जमिन्दार मात्र भ,एन एक सौखिन रइस हुँदै गयो । हिजो कमारीलाई स्वास्नी बनाएर घरको इज्जत् दिने वाङ्लुङ कालान्तरमा स्वास्नीका अगाडि कमलालाई सजाउने कामी पनि भयो ।
विषम परिस्थितिमा आफ्नी छोरीलाई बेच्न नचाहने पिता वाङ्लुङ कालान्तरमा अरूले बेच्न ल्याएका छोरीहरू किन्न सक्ने महाजन भयो । आफैँले किनेको सानी कमारीको तातो स्पर्श पनि वाङ्लुङलाई आनन्ददायी भयो ।
जबजब सम्पत्तिको थुप्रो लाग्न थाल्यो, ऊ भोगविलासमा रत्तिँदै गयो। जब गरिब मान्छे सम्पन्न हुँदै जान्छ, अनि धनीजस्तै व्यवहार गर्दै जान्छ । अरूले गरेको भोगविलासबाट पाठ सिक्ने किसान उन्माद, उमङ्ग र उत्साहमा रुमलिन्छ । श्रम गर्ने हातमा जब आवश्यकता भन्दा बढी सिक्काहरू जम्म थाल्छ तब श्रमिकका हातहरू पनि बासनामय बनिदिन्छ ।
ओलानको गुण बिर्सिएर एउटा मिहिनेती किसानले कसरी अर्की आइमाई भित्र्याउन सक्छ ? मेरो मनले बारम्बार यही प्रश्न दोहोर्याइरह्यो ।
मान्छे अस्तु भएपछि आँखा खोलेर के काम ! जब ओलान थला परी तब मात्र ओलानको महत्त्वबोध परिवारलाई भयो । आज पनि त्यही नै छ । ओलान थला पर्दा केका लागि ओलानलाई वाङ्लुङ्ले सम्झियो, आफ्नो लागि या ओलानको लागि ? मेरो गिदी फनफनी घुम्न थाल्यो ।
अमेरिकी लेखकले लेखेको यो कृति पढ्दै जाँदा भागवतमा भनेको कथा मस्तिष्कमा झुलुक्क झुल्कियो, ‘सुनमा कलि बस्छ’ । जब परिक्षित राजाले सुनको मुकुट लगाए, तिनको मति भ्रष्ट भएर परासर ॠषिको घाँटीमा मरेको सर्प बेरिदिए । यहाँ पनि त वाङ्लुङले दक्षिणबाट ल्याएको बहुमूल्य रत्न पाएदेखि मति भ्रष्ट हुन थालेको हो !
एउटा गरिब र इमानदार मान्छे धनी हुनेबित्तिक्कै आफ्नो अतीत कति सजिलै भुल्न सक्छ ! जनयुद्ध गरेर गरिबदु:खीको सहारा बन्न आएका चप्पलहरू हेर्दाहेर्दै गोल्डेन बुट भएर तिनै नागरिकका छातीमा गरम्म गरम्म कुल्चिदैँ हिँडेको सम्झेर मन व्याकुल भयो । व्याकुल हुँदै गर्दा कल्याणी धर्ती वर्तमान समयको कथा पो हो कि भनेर धेरैचोटी झस्किएँ । आफू गरिब हुँदा धनी मान्छेले गरेका अव्यावहारिक र विलासिताका कामहरूलाई थाहै नपाई आफू त्यो ठाउँमा आएपछि कसरी भुल्न सक्छ ? हिजो जुन मार्ग गलत लाग्थ्यो, पछि त्यही मार्गमा आफूलाई होमिदिनु कस्तो परिवर्तन हो त ? किन मान्छे आफ्नो विचार र सिद्धान्तमा अटल रहन सक्दैन ? के धनी हुनु नराम्रो नै हो त ?
किसान वाङ्लुङ र जमिन्दार वाङ्लुङ दुई फरक व्यक्ति मात्र हुन् ? अस्तिको भर्खर राष्ट्रपतिको सवारीले गर्दा सडक जाम भएर तरङ्ग ल्याएको थियो । त्यो जाममा म पनि करिब एक घण्टा जमेर बसेँ । हिजो जनताका लागि राजा फाल्ने समूह आज आफैँ राजा भएको देखेर डाँको छोडेर रुन मन थियो । त्यो बेला मेरो हातमा कल्याणी धर्तीको अन्तिम पन्ना पल्टिरहेको थियो । आखिर वाङ्लुङले जस्तै एकपछि अर्को कर्महरू समापन गरेर शान्ति प्राप्त हुन्छ भन्ने अभीप्सा पूरा होला ? शान्तिको स्थान कहाँ छ ? के प्राप्त भयो भने मात्र शाश्वत शान्ति वाङ्लुङ जस्ता हामीलाई मिल्ला ? कर्महरू आनन्दले पूरा गरेपछि ढुक्कको श्वास फेर्छु भन्न सकिन्छ ? समस्या त एकपछि अर्को नबोलाई टुप्लुक्क आइपुग्छन् । आखिर शान्ति पाउने आशमा मान्छे अशान्तिको कुहिरोमा हरपल हराउने रहेछ भन्ने अनुभूत भयो ।
जीवनको अन्तिम प्रहरमा पनि मान्छे शान्त हुन सक्दैन । शान्तिको खोजीमा आखिर जीवन नै समाप्त पार्नु पर्ला त मान्छेले !!
म सोच्न बाध्य भएँ‑ जति जति कल्याणी धर्तीलाई जोत्दै गएँ, उतिउत्ति ९० वर्ष अगाडि लेखिएको यो विषय इतिहास मात्र हो त ?
वर्तमानमा यसको अस्तित्व छैन ? भन्ने लागिरह्यो । कल्याणी धर्तीलाई हाम्रै समाज, वर्ग, विचार, वाद र राजनीतिभित्र पो झलझली देख्न थालें । हे भगवान् ! ओलानलाई त झन् छरपस्ट आँखैअगाडि भिन्न भिन्न परिवेश र स्वरूपमा भेट्न थालेँ । वाङ्लुङको काका होस् या भतिज, क्रान्तिको बिगुल फुक्ने काकाको चरित्र । ठूलो घरको कथा होस् या झुप्रोको समयले मानिसलाई फनफनी घुमाएको देखेँ ।
धर्तीलाई मात्र शाश्वत ठान्ने वाङ्लुङको किसानदेखि जमिनदारसम्मको चरित्र देखेँ । माटोको स्पर्शदेखि वाङ्को ठूलो घरसम्मको उतारचढावले सोच्न बाध्य भएँ, आखिर के हो कल्याणी धर्ती ?
बीउ र गोरु किन्नका लागि गाईबाख्रा जसरी छोरीलाई बेचबिखन गर्ने त्यो समय सम्झेर निसास्सिएँ । के आजको वर्तमान समयमा चेलीको बजार त्यो समयको भन्दा बढी लागेको छैन ? चेली बेच्ने परम्परा पूर्णरूपमा निमिट्यान भएको छ त समाजमा ? नारीहरू भोगविलासका साधन भएको त्यो घिनलाग्दो समय आज सक्कियो ?
छोराछोरी बीचको त्यो पर्खाल भत्कियो ? कमारीहरूको जीवन समाप्त भयो ?
३६२ पृष्ठको यो कृति पैरवी बुक हाउसले प्रकाशन गरेको रहेछ । कथाको विषयवस्तु, परिवेश, भूगोल, समाज, सम्बन्ध, संस्कृति, मनोवैज्ञान, संस्कार, वर्ग र त्यो समय अब मेरो मस्तिष्कमा जीवन्त रहने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

