धेरैले मलाई सोध्ने गर्छन्- मैले तपाईंजस्तो किन लेख्न सक्दिनँ ? वा, हामीमध्ये कोही देवकोटा, सम वा पौड्यालजस्तो फेरि जन्मेला ?

यो प्रश्नको उत्तर निकै कठिन छ । कठिन किन छ भने एक त ती कुरा लेखिसकिएका छन्, अर्को चाहिँ- हामीले नयाँ शैली बनाउन सकेका छैनौँ ।

नयाँ शैली र शिल्प सिकाउने कुनै ठोस चिजबिज नेपाली भाषामा उपलब्ध छैन । विदेशी भाषामा छ तर सान्दर्भिकता नमिलेर खै के खै के जस्तो भइरहेको छ ।

लेखनकला सिकाउने अनेक गुरूहरू नभएका होइनन्, तिनको विधि पनि गज्जबकै छन् तर जसरी आफूलाई निखार्न हरेक दिन नुहाउनु जरूरी छ, उसरी नै उम्दा लेखक बन्नका लागि निरन्तर प्रशिक्षण र अभ्यास जरूरी हुन्छ ।

कुनै एक लेखकलाई निरन्तर पढ्यो भने हामी पनि उसको प्रभावमा पर्छौं, उसकैजस्तो शैली र शिल्प अपनाउन सक्छौँ ।

यसको शुरूवात बाल्जाकबाट गराैं ।

 

महान् फ्रान्सेली लेखक ओनरे डि बाल्जाक बेढंगले लेख्थे । उनका अनुच्छेदहरू पनि मिलेका हुन्थेनन् । उनको लेखनशैली पनि अनाकर्षक हुन्थे । तथापि उनी फ्रान्सकै सफलतम् लेखकमध्येमा गनिए ।

यदि उनी बेढंगको लेख्थे भने, उनका अनुच्छेदहरू मिलेका हुन्थेनन् र लेखनशैली पनि अनाकर्षक हुन्थे भने उनी कसरी फ्रान्सकै महानतम् लेखकमा गनिए त ? किनभने उनका पात्रहरू वास्तविक थिए । उनका पात्रहरू किसान हुन्थे भने तिनले बोलीचालीमा किसानकै भाषा, बोली र शब्दहरू हुन्थे । ती सुन्दा बेढंगका हुन्थे, अनौठो सुनिन्थे । फ्रान्सेली साहित्यमा त्यसअघि त्यस्ता भाषा, भाषिका र बोली सुनिएका थिएनन् ।

युजिन डि रास्टिग्नाक, पेरे गोरिअट, युजिन ग्रान्डेट, लगायत सर्कसका अन्य चरित्रहरू उनका पृष्ठहरूमा जीवन्त भएर आउँथे ।

युद्धलाई भव्यतम रूपमा प्रस्तुत गर्न युद्ध र शान्तिमा लियो टोल्सटोयले जुन शैली अपनाएका थिए, फ्रान्सेली साहित्यमा त्यही विराटताका साथ पस्किन सफल भएका थिए । त्यसैले पनि उनी त्यसबखतका सबैभन्दा बढी रोयल्टी लिने लेखकका रूपमा गनिन पुगे । उनलाई युरोपेली साहित्यमा रियलिस्ट विधाका उम्दा लेखकका रूपमा चिनिन्छ ।

आफूभन्दा उमेरमा पाका महिलाहरूको संगतका कारण कुख्याति कमाए पनि प्रायः उनी एक्लै एक्लै बस्थे र दिनका १६ घण्टासम्म लेखिरहन्थे । आफैँमा मुग्ध रहने उनको बानी थियो ।

सन् १७९९ मे २० मा फ्रान्सको टुर्समा जन्मिएका उनको ५१ वर्षको उमेरमा १८ अगस्त १८५० मा पेरिसमा निधन भएको थियो । उनले जीवनमा लेखकबाहेक साहित्य समीक्षक, पत्रकार, पुस्तक प्रकाशकसमेत बने ।

परिवारका उनी जेठा थिए । कानुन पढ्न उनलाई जोड दिइएको थियो । कानुन पढेर केही समय उनले लेखापढीका कामहरू पनि गरे तर उनलाई त्यसमा मन अडिएन । उनलाई पैसा कमाउनु थियो । त्यसैले जागिरमा भन्दा व्यापारमा बढी पैसा आउँछ भनेर अनेक धन्दा गरे तर सबैमा उनी असफल भए । खासगरी उनी प्रकाशक भएर आफ्नो र अरूको रहर पूरा गर्न चाहन्थे तर त्यसैले उनलाई सबैभन्दा बढी डुबायो ।

उनलाई सबैभन्दा बढी पैसा भने लेखेर नै आउँथ्यो । उनले कमाएको अधिकांश रकम महँगा लुगा, गरगहनामा खर्च गर्थे । उनी लेख्ने मुड चलेका बेला महँगा लुगा लगाएर बस्थे र घण्टौँ लेखिरहन्थे । नलेखेका बेला आफूभन्दा बढी उमेरका महिलाहरूसँग रसरङमा व्यस्त रहन्थे ।  रसरङमा कति खर्च गर्थे भने उनले त्यो बेलाको चर्चित महिला, जो परपुरूषहरूलाई रिझाएर पैसा लिन माहिर थिइन्, उनको नाम थियो, ओलिम्पो पेलिसिएर, उनीसँग धेरै समय बिताउँथे । उनी रसरङका लागि मात्र होइन, उपन्यासका लागि चाहिने खेस्राका लागि संगत गर्थे । तिनीहरूलाई गरिने खर्चका कारण नै उनी प्रायः बेखर्ची भइरहन्थे र खर्च निकाल्नका लागि दिनदिनभर १६ घण्टासम्म लेखिरहन्थे ।

बेहुदा लेखनशैलीलाई कसरी जित्ने ?

तपाईंलाई लेख्न मन छ । लेखेरै जीवनयापन गर्न मन छ, जस्तो बाल्जाकले गरे तर तपाईंलाई लाग्छ- मेरो लेखनशैली वाहियात छ, रोचक छैन, बेढंगको र रूचिकर छैन भन्ने लाग्छ भने चिन्ता नगर्नुस् । तपाईंले बाल्जाकको शैली भित्र्याउनुस् । यस्तो शैलीमा लेख्नुस् कि त्यसअघि त्यस्तो प्रयोग कसैले नगरेको होस् ।

यसले तपाईंलाई धेरै अर्थमा गाह्रो पनि पार्न सक्छ किनभने तपाईंको बेहुदा लेखनशैलीका कारण लेखाइ बुझिएन, गतिलो लेखनी भएन वा लेखाइमा खास दम छैन भन्ने आलोचना नआउने होइन । मोहन कोइरालाको कविता मैले बुझेको छु भनेर हात उठाउने विज्ञ कति होलान् ? बुद्धिसागर वा अमर न्यौपाने पढ्न रूचाउने वा सुविन भट्टराईका भयङ्कर प्रशंसकले कुमार नगरकोटीलाई रूचाउलान् त ? पक्कै पनि रूचाउँदैनन् तर नगरकोटीले आफूलाई लेखनीको पृथक् शैलीका कारण भिन्नै बनाए ।

कहिलेकाहीँ के हुनसक्छ भने मान्छेले अप्ठेरोपन नै रूचाइदिन सक्छन्, लेखनीमा बेहुदापन नै मन पराइदिन सक्छन् । अँ, त्यसमा गहिराई चाहिँ हुनुपर्छ नि, जस्तो बाल्जाकले मानवीय भोगाइको तिक्तता उदाङ्गो पारिदिएका थिए ।

बेढंगको लेख्छु भनेर जान्नेहरूमा जहिले पनि सचेतनापूर्वक शब्दहरू छान्नुपर्छ । वाक्य गठनका ट्रिकहरू जान्नुपर्छ । लेखिएका कुरालाई सम्पादन गर्ने वा सम्पादनका लागि राजी हुनुपर्छ । भरसक लेखनीमा काव्यात्मक लयात्मक कुरा ल्याउनुपर्छ। फलस्वरूप, तपाईंको लेखनी पाठकहरूको कानमा संगीतको झन्कारजस्तो गुञ्जनु पर्छ । कथाले तानेन भने पनि लयात्मकताले पाठकलाई अवश्य तान्नेछ ।

बाल्जाकका लेखनी जब छापिन थाल्यो, त्यो बेला उनको बेहुदा लेखनीको मजाकको विषय बन्यो । धेरैले जिस्क्याउँथे, मुखेञ्जी नै तर बिक्थ्यो ।

पैसाको ज्यादै आवश्यक परेका बेला उनले अरूका लागि किताब लेखिदिए । ती किताबहरू धमाधम बिक्री भएको देखेपछि उनले गोस्ट राइटिङ छाडेर आफैँले लेख्न थाले । उनले यसरी लेखे कि दिनरात नभनी लेखे ।

उनको लेखन गति निकै द्रूत थियो । एक जना जीवनीकारले उनको गति कस्तो थियो भनी टिप्पणी गर्दै लेखेका छन्ः उनी बोल्नुको गतिमा लेख्न सक्थे । कोही फटाफट बोल्थ्यो भने उनी त्यही बोलेको गतिमा कापीमा लेख्न सक्थे । दुई या तीन सातामा उनले सातातिना उपन्यासिका लेखिभ्याउँथे । उनको लेखाइको गतिका कारण प्वाँखहरू चाँडै भाँचिन्थे । त्यसैले उनी एकसाथ दस वटा कागको प्वाँखे कलम हरदम लिई हिँड्थे । ती दस वटा प्वाँखे कलम उनका लागि तीन दिन मात्र काम लाग्थे । उनको गति यति तीव्र हुन्थ्यो कि उनका अक्षरहरू लगभग नबुझिने किसिमका हुन्थे । तिनलाई सुन्दर बनाउनुपर्छ भन्ने उनी ठान्दैनथे ।

उनले तीव्र गतिमा लेखेको देखेर बाउ मख्ख पर्थे, आमा भने आतङ्कित हुन्थिन् । तर जब उनको त्यही लेखनीका कारण बाल्जाक लोकप्रिय भए, उनकी आमा उति खुसी भइनन् किनभने गतिलो अक्षर बिनाको सफलता दिगो हुँदैन भन्ने उनको मान्यता थियो ।

शताब्दीपछि उनलाई चिन्नेले अक्षर कस्तो थियो भनेर चिन्दैनन् । उनी कति तीव्र गतिमा लेख्थे, त्यो पनि ठट्टाका लागि मात्र काम लाग्ला । कस्तो लेखे, त्यो चाहिँ महत्त्वको कुरा बन्न पुग्यो ।

फ्रान्सेलीले त जसोतसो उनको लेखनीलाई झेले तर सबैभन्दा अप्ठेरो झेले, अनुवादकहरूले । जब उनका कृतिहरू अंग्रेजी भाषामा अनुदित भए, अनुवादकहरूको सबैभन्दा ठूलो गुनासो भनेको उनको वाहियात वाक्य गठन थियो । त्यस्तो वाक्य गठनलाई अनुवाद गर्नु र सान्दर्भिक बनाउनु अनुवादकका लागि निकै ठूलो चुनौती बन्न पुग्यो । सम्भवतः खतरनाक लेखकको एउटा यो गुण पनि हुँदो हो- अनुवादकका लागि चुनौती थुपारिदिनु ।

के उसो भए अप्ठेरो वाक्य गठनले बाल्जाकलाई सफल तुल्याएको हो त ? पक्कै पनि होइन । उनलाई आफ्ना कुरा भन्नु थियो, वाक्यगठन उनका लागि महत्वको थिएन, भनिनुपर्ने कुरा महत्वको थियो ।

त्यसैले लेख्नेहरूले शुरूमा लेख्नुपर्छ, बाँकी तपसिलका कुरा हुन् । सबैभन्दा अप्ठेरो कुरा के हो थाहा छ ? उपन्यासको पहिलो ड्राफ्ट पूरा गर्नु, सबैभन्दा अप्ठेरो हो । म राम्रो साहित्यकार हुन सक्छु कि सक्दिनँ भन्ने कुरा थाहा नहुँदा पनि दिनको ६ देखि ८ घण्टा निरन्तर लेख्न सक्नु बाल्जाकको सफलताको कारक थियो । उनलाई गन्तव्य थाहा थिएन तर बाटो थाहा थियो । लेख्नु नै मेरो एक मात्र बाटो हो भन्ने थाहा पाएपछि उनलाई लाग्थ्यो- लेख्न थालेपछि टुङ्गोमा कसो नपुगिएला ।

एक पटक मेरा गुरूले भन्थेः धेरैजसो लेखकहरू मार खाने भनेको उनीहरूको लेखनीमा सङ्गीत झङ्कृत नहुनु नै हो । प्रत्येक शब्दमा जब सङ्गीत झङ्कृत हुन थाल्यो, सुन्दर लेखनी त्यही हो ।

समस्या कहाँनेर हुन्छ भने यो सङ्गीत झङ्कृत गराउने कला स्वःस्फुर्त आउनुपर्छ, भनेर वा सिकाएर हुँदैन । यो सहज रूपमा प्रकट पनि हुँदैन कठिन मिहिनेतबाट मात्र यो प्राप्त हुन्छ । जसले लेखनीमा आफूलाई केन्द्रित गरेको हुन्छ, उसले यो प्राप्त नगर्ने भन्ने पनि हुँदैन । निरन्तरको प्रयासबाट नै बाल्जाकले पनि त्यो बाटो फेला पारेका थिए ।

प्रायः निरन्तर लेख्ने कार्यले हरेक पटक शैली वा शिल्प सुध्रन्छ । हरेक दिन छ वा सात घण्टा कुनै काम गर्ने तर नसुध्रने भन्ने सवालै हुन्न । तपाईंले पनि आफूले लेखेको कुरा कस्तो छ भन्ने जान्नका लागि फेसबुकलाई नै सदुपयोग गर्न सक्नुहुन्छ । अचेल फेसबुकले मिडिया क्रिएटर भन्ने एउटा पद दिएको छ । मिडिया क्रिएटर हुनु भएको छ भने त्यहाँ तपाईंलाई नोटबुक पनि दिने गर्छ । त्यो नोटबुकमा तपाईं दिनहुँ लेख्न सक्नुहुन्छ । त्यहाँ यसरी फर्म्याट बनाइदिएको छ कि, सजिलै आफूले लेखेका कुराहरू कस्तो भयो देख्न सक्नुहुन्छ ।

भावुकता प्रयोग गर्नुहोस्
बाल्जाकको लेखनीमा धेरै समस्याहरू थिए होलान् तर उनले भावनासँग धेरै नै खेलवाड गरे । भावनामाथि उनले यति मजाले खेले कि उनको कमजोरीतिर धेरैको ध्यान नै गएन । गए पनि त्यसलाई समीक्षकहरूले कम नै महत्त्व दिए । उनका चरित्रहरू कति भावुक र कसरी भावनामा बहन्छन्, त्यतातिर बग्न थालेपछि पाठकले लेखनीको कमजोरी नै बिर्सिए । उदाहरणका लागि पेरे गोरिअट (१८३४) उपन्यासमा मूल पात्र युजिनको भावना किन तिक्ततापूर्ण छ, ऊ किन त्यस्तो छ भनेर यसरी व्याख्या गरिदिन्छन् कि पाठकहरू त्यही व्याख्यामा हराउँदै उसप्रति सहानुभूति राख्न थाल्छन् । यस किसिमको शैलीलाई समीक्षकहरूले इमोसनल ट्याग भन्ने गरेका छन् । जहाँ जे कुरा कमजोर छ, त्यहाँ इमोसनल ट्याग यसरी हालिदिने कि त्यो ट्यागले काम गरोस् । यसले सानातिना कमजोरी छोपिदिने काम गर्छ ।

बाल्जाकझैँ पेरे गोरिअट (१८३४) उपन्यासको मूल पात्र युजिन हतोभागी भए पनि कसरी सामाजिक सम्मानको ढोका खोल्छ, यसका लागि उसले कुलीन महिलाहरूलाई कसरी प्रयोग गर्छ र कतिपय ठाउँमा गलतै काम गरे पनि पात्रप्रति कसरी सहानुभूति बटुल्छ भन्ने कुरा लेखनीकै प्रभावमा हुने हुन् । यो पात्र कहिलेकाहीँ ज्यादै सतही देखिन्छ, कहिलेकाहीँ प्रभावहीन, अनिश्चित र कहिलेकाहीँ गोबर गणेश नै प्रमाणित हुन्छ तर पनि ऊ प्यारो नै हुन्छ । पाठक उसप्रति टाँस्सिइरहन्छन् । कहिलेकाहीँ उसलाई एक अर्को अपराधी भोट्रिनले दिन सुझावलाई पनि ऊ लत्याइरहन्छ ।

त्यसो त सधैँ इमोसनल ट्यागले सारा कमजोरी छोप्ने होइन तर अधिकांश अवस्थामा यसले काम गर्न सक्छ । बाल्जाकलाई लाग्यो, म यसमा राम्रोसँग काम गर्न सक्छु, त्यसैले उनले त्यसमा बढी मिहिनेत गरे । गर्न नसक्ने चिजलाई उनले आँखा चिम्लिदिए ।

बाल्जाकको गोप्य लेखन सूत्र

बाल्जाकसँग लेख्ने कुरा धेरै थिए । आइडियाको भरमार थियो । त्यो भन्दा बढी उनी लेख्ने लतबाट ग्रसित थिए । लेख्नकै लागि उनले यस्तो बानी विकसित गरेका थिए र सोही बानीले उनलाई सफल तुल्यायो । उनले सारा संसारसँगको संगतलाई लात मारे र मात्र लेख्नका लागि चाहिने कच्चा पदार्थका लागि सरसंगत गरे । दोस्रो चाहिँ जब राति सबै जना सुत्थे, उनी काममा मग्न हुन्थे । कहिलेकाहीँ उनी बसेको घरमा कोही आयो भने उनी आफू छैन भन्ने नाटक गर्थे । कहिलेकाहीँ केही साथीहरूलाई विशेष पासवर्ड दिएका हुन्थे । उनको नोकरले पासवर्ड सोध्थ्यो र उत्तर दिएका खण्डमा मात्र त्यो व्यक्तिले बाल्जाकलाई भेट्ने अवसर पाउँथ्यो ।

यो कुनै नयाँ कुरा पनि होइन । गम्भीर लेखनलाई एकान्त चाहिन्छ । कोही भीडमै पनि लेख्न सक्ने हुन्छन् तर सबैजना उस्तै हुन्छन् भन्ने छैन । बाल्जाक मात्र होइन, प्रख्यात लेखक जोसेफ कनराड लेख्ने बेलामा बाहिरबाट चाबी लगाइदिन भन्थे । वा, घरमा आफू नभएजस्तो चालचुल नगरी एउटा कोठामा गजधुम्म परेर बस्थे । जब मूड चल्थ्यो, तब लेख्न थाल्थे । जेडी सेलिङ्गर, जसको क्याचर इन द राई उपन्यास प्रख्यात भयो, उनी पनि लेख्नका लागि एउटा कंक्रिटको बङ्करभित्र छिर्थे । लेख्नैका लागि भनेर उनले बङ्कर बनाएका थिए । प्रख्यात जासुसी उपन्यासकार इयान फ्लेमिङले जब जब जेम्स बोन्डको उपन्यास लेख्नु पर्थ्यो, उनी बेलायतबाट टाढा जमैका पुग्थे र त्यहाँको एकान्तिकता उपयोग गर्थे । उनका प्रायः सबै उपन्यास जमैकामा जन्मेका हुन् ।

केही उपन्यासकारका लागि एकान्तिक क्षण सबैभन्दा महत्त्वपूर्ण हुन्छन् । बाल्जाकको एकान्तिकता एउटा महत्त्वपूर्ण पाटो त हो तर सँगैमा उनीसँग गाँसिने अर्को पाटो कफी पनि हो । उनी धेरै कफी खान्थे । आज लेख्नु छ भने बिहानदेखि उनी बाक्लो कफी आफैँले बनाउँथे । एउटा ठूलो भाँडोमा त्यसलाई तयारी अवस्थामा राख्थे । उनी लेखनीलाई उत्सव बनाउन चाहन्थे । उनको कफी प्रेम कति थियो भने कफीमाथि उनको निकै लामो टिप्पणी नै प्रकाशित छ । उनले भनेका छन्, कफी मेरो जीवनको मूलशक्ति हो । जब यो पिउँछु, त्यसले मलाई ऊर्जा दिन्छ कि त्यो लेखाइबाट पनि प्रस्टिन्छ । कफीका कारण उत्पन्न हुने वैचारिकी र भावनाको उद्वेलनामाथि लामो टिप्पणी गरेको देखेर पछि उपन्यासकार एन् रयान्डले सोही कुराको नक्कल गरेकी थिइन् ।

के उसो भए लेखक बन्न बाल्जाक वा एन् रयान्डले झैँ कफी घुट्क्याउनु त ? कुरा त्यसो होइन । केले तपाईंको विचार प्रवाहलाई नियन्त्रणबाहिर लैजान्छ र लेख्न बाध्य बनाउँछ, त्यसलाई हौस्याउनु हो । कफीका कारण पछि बाल्जाकलाई पेटको समस्या भएको थियो । उनका चिकित्सकले कफी पिउनलाई नै प्रतिबन्ध लगाएका थिए । केही समीक्षकहरूले त बाल्जाकको चाँडै मृत्यु हुनुमा कफी नै एउटा कारण हो समेत भनेका छन् ।

यो कुरा त पक्का हो, कफीले उनलाई लेख्न बाध्य बनाउँथ्यो, कुनै पनि कुरा सोच्न थाल्दा उनलाई गहिराईमा पुर्याउँथ्यो, ध्यानको अवस्थामा पुर्याउँथ्यो । अचेलका कयौँ लेखकले त गाँजा खाएर आफ्नो कल्पनाशीलतालाई फराकिलो बनाउने गरेका उदाहरण पनि पर्याप्त छन् ।

के फरक दिनसक्छु, त्यो सोच्ने

तपाईंसँग लेखक इगो छ ? लेखक बन्न एक किसिमको अहं चाहिन्छ । अहं छैन भने राम्रो लेख्नु होला तर प्रख्यात लेखक बन्न गाह्रो हुन्छ । प्रायः लेखक अलि अडियल हुन्छन्, कहिलेकाहीँ बाङ्गोसम्म देखिन्छन्, व्यवहारगत हिसाबले । यी सबै म के हिसाबले फरक छु र फरक दिनसक्छु लेखनीमा भन्ने सोचले निम्त्याएको व्यवहार वा त्यस्तो व्यवहारले निम्त्याएको लेखनी हो ।

बाल्जाकभन्दा अगाडिका महान् सर्जकको मूल विषय इमान्दारी, नैतिकता र नायकत्व हुन्थे । यस कुरालाई चाहे ग्रिसेली साहित्य हुन् या ल्याटिनी साहित्य, तिनले मज्जाले हुर्काएका थिए । तिनै विषयलाई फरक तरिकाले दाँते, सेक्सपियर लगायतका महान् साहित्यकारहरूले भजाएका थिए । बाल्जाकले भने नैतिकतालाई साहित्यमा तिलाञ्जलि दिए । उनले भने, भाडमा जाओस् नैतिकता ! नैतिकताभन्दा कडा चिज त मान्छेको अस्तित्व हो । अस्तित्वका लागि, बाँच्नका लागि मान्छेले जे जति गर्नुपर्छ, त्यो देखाउने हो शब्दमा । त्यसका लागि नायक नैतिक हुनुपर्छ भन्ने छैन । अनैतिक भएरै पनि नायक रहन सकिन्छ, बाँच्नका खातिर । अब ऊ बाँच्दाबाँच्दै ऊ नायक बन्यो भने उसको भाग्य !

क्रिस्टोफर बुकरले आफ्नो पुस्तक द सेभेन बेसिक प्लट्स (२००४) मा बाल्जाकको त्यही युजिन पात्रको समीक्षा गरेका छन् । सत्रौँ शताब्दीसम्म आइपुग्दा जसरी नैतिकता साहित्यको मूलमा थियो, यी फ्रान्सेलीले नैतिकतालाई तिलाञ्जलि दिए । म नयाँ नायक कथ्छु भनेर उनले युजिन जन्माए र पाठकले त्यो रूचाए ।

युजिन भन्ने पात्र नायक होइन, मुख्य पात्र हो । नायक होइन, सामान्य व्यक्ति हो । उसलाई महान् बन्नु छैन, अस्तित्ववान् रहनु छ । युजिन गम्भीर पात्र होइन, उमेर बढेको छ तर गम्भीरता बढेको छैन । ऊ सफलताको सिँढी उक्लन जे पनि नाजायज काम गर्न सक्छ । ऊ जिन्दगीको असफलताबाट पाठ सिक्दैन । दिमागमा उठेका कुराबाट प्रभावित छ । हावामा महल बनाउने र त्यसमा उक्लने उसको ताल देखेर पाठक उदेक मान्छन् तर प्रेम गर्छन् । गाली गर्छन् तर पनि पढ्छन् । कतिसम्म भने युजिन सिँढी चढ्न प्रेमलाई प्रयोग गर्छ, अरूको भावनासँग खेलवाड गर्छ ।

यस्तै भावनासँग खेलवाड त बाल्जाकले पनि गरे । उनले आफ्नो फेन्टासी युजिनमार्फत उपयोग गरे । राम्रो लेखनीको सबैभन्दा उत्तम सूत्र भन्नु आफ्नो फेन्टासीलाई सदुपयोग गर्नु हो । फेन्टासीलाई डोर्याउन दिनुस्, अहंलाई बहन दिनुस् । तर यसो गर्दै रहँदा अरूले त्यही काम कसरी गरेका छन् भनेर अध्ययन गर्नु भने जरूरी हुन्छ । बाल्जाकले तपाईंलाई उपन्यास लेख्नका लागि ऊर्जा दिन सक्छन् । बाल्जाक पनि त्यो बेलाका अर्का लेखक स्टेन्डलबाट प्रभावित थिए । प्रभावित त के, पूरै उनको नक्कल गरेका थिए तर स्टेन्डलभन्दा उनी चर्चित भए किनभने उनले प्रभावित भएका कुरालाई अझ परिष्कृत रूपमा पस्कन सफल भए ।

तपाईंले प्राचीन मानव समुदायका व्यवहारहरूलाई उपन्यासमा ढालिरहनु भएको छ । उसको मनोविज्ञान र व्यवहार यति प्राचीन छ कि ऊ त्यो किन गरिरहेको छ र के कारणले गरिरहेको छ भन्ने कुरा लेखिएको हजारौँ वर्ष भइसके । अब तपाईंले आफ्नो पात्रलाई अनप्रेडिक्टेबल (आँकलन गर्न नसकिने) बनाउनु भएन भने पाठकले उपन्यासलाई थन्क्याइदिन्छ । तपाईंका पात्रहरू समयसँग सान्दर्भिक देखिनुपर्छ । उपन्यासमा वर्णित समयको सान्दर्भिक बनाउनुस् ।