Chovar Blues Mobile Size

 

भागः २ अंशः १ 

आखिर वसन्त पनि लागिहाल्यो । मेरो पुरानो खिन्नताको ठाउँ सम्भ्रान्त आशा र आकांक्षाको स्वप्निल खिन्नताले लियो । वसन्तयाममा अक्सर यस्तो हुनेगर्छ । मेरो जीवन हिउँदको प्रारम्भमा जस्तो रहन गएको थिएन, बरु मैले आफूलाई सोन्याको साथमा, संगीत र पढाइमा व्यस्त राखेकी थिएँ । अक्सर म बगैँचामा जानेगर्थे र घण्टौंसम्म एक्लै उद्यानपथमा यताउति टहलिरहन्थे वा बेन्चमा बसेर कुन्नि के के हो के के विचार गरिरहन्थे । म के चाहन्थे र के कस्तो आशा राख्थे त्यो त दैव नै जानोस्‌ ! कहिलेकाही, खास गरी जूनेली रातमा आफ्नो कोठाको झ्यालनेरै
बसेर म पूरै रात छर्लङ्ग काट्नेगर्थे । अनि कहिले चाहिँ कात्याले थाहापत्तो नै नपाउने गरी न्यानो कोट समेत नलगाएर बगैचातिर डुल्न निस्कन्थे र शीतका थोपाले भिजेको घाँसमा कुल्चँदै तल तलाउसम्म नै दगुरेर जानेगर्थें । एकपल्ट खेतमा समेत टहल्न निस्केकी थिएँ भने अर्कोपल्ट चाहिँ मध्य रातमा हाम्रै बगैंचाको एक छेउबाट अर्को छेउसम्म नै चक्कर लगाउन पुगेकी थिएँ ।

मेरो मथिंगलमा ती दिनहरूमा कस्ता कस्ता कल्पना र विचारहरू उब्जन्थे तिनको अहिले सम्झना गर्न र तिनलाई बुझ्न समेत अब त मलाई निकै गाह्रो पर्छ । सम्झना नै गर्न पुगे तापनि ती वास्तवमा मेरै कल्पना थिए भनेर विश्वास गर्न चाहिँ निकै कठिन हुनजान्छ । ती कल्पनाहरू यस किसिमले वास्तविकताबाट ज्यादै टाढा र अनौठा पनि थिए ।

आफूले दिएको वचन पूरा गर्दै मई महिनाको अन्त्यतिर सेर्गेइ मिखाइलिच पनि आफ्नो यात्रा-भ्रमण सकेर टुप्लुक्क आइपुगे ।

पहिलोचोटि उनी साँझपख हामीलाई भेट्न आएका थिए । त्यसबेला उनको आगमनको हामीले कुनै प्रतीक्षा नै गरेका थिएनौ । बरण्डामा बसेर हामी चियापान गर्ने तरखरमा थियौं । बगैंचा हराभरा भइसकेको थियो र नछाँटिएको झ्याङभित्र जुरेलीहरू पनि फुर्र फुर्र उडिरहेका देखिन्थे । पूरै ग्रीष्मक्रतुभरि नै ती चराहरू त्यही बास बस्न आएका थिए । कोपिलाहरू पट्टपट्ट फुल्नै आँटेको हुँदा हसिनाका झ्याङहरूमा यत्रतत्र सेता र गुलाफी रङका छिरबिरे बुट्टा देख्न सकिन्थ्यो” । उद्यान-पथमा उभिएका भोजपत्रका पातहरू सूर्यास्तको प्रकाश परेर पारदर्शक प्रतीत भइरहेका थिए । बरण्डामा शीतल छहारी परिरहेको थियो । छिटै नै साँझको शीत झरेर घाँस पनि निथ्रुक्क भिज्नेछ । बगैँचा पछाडिको आगनबाट दिनको अन्तिम आवाज आइरहेको थियो भने पर गोरेटोमा गाईवस्तुको बथान धपाएर ल्याइएको स्वर पनि सुनिदै थियो । बरण्डा अगाडिको बाटोमा पानीको ढ्वाङ बोकेर अर्धसिल्ली निकोन फटाफट जाँदैथियो । ऊ डलिया फूलको बोटमा पानी हाल्दै थियो र पानी छर्कने भाँडोबाट चिसो पानीको फोहरा छुटेर फूलका झ्याडहरू र तिनलाई अड्याउन ठड्याइएका घोचाका थाँक्रोहरूको वरिपरि खोसिएको माटोमा काला चक्काहरू देखा परिरहेका थिए ।

हाम्रो बरण्डमा राखिएको टेबुल निख्खर सेतो टेबुलपोशले ढाकिएको थियो । त्यसमाथि टलक्क टल्कने गरी माझिएको सेतो सामोभारमा बाफ निकाल्दै पानी उम्लिरहेको थियो । त्यही नै क्रेदेल्की र बिस्कुटहरूले सजाइएका रिकापिहरू पनि थिए । साथै एउटा भाँडोमा चाहिँ सिकर्नी पनि राखिएको थियो । आफ्ना थसुल्ला हातहरूले कात्या लगनशिलताका साथले ढाकिएको थियो ।

कपहरू माझ्दै थिई । नुहाइ-धुवाइ गरेपछि म लस्तसँग थाकेकी थिएँ र चिया पाकुञ्जेल पर्खेर बस्नै समेत धैर्य नभएकोले बाक्लो सिकर्नीमा चोपेर क्वाप्प रोटी चपाउँदै थिएँ । आङमा मैले हवालङ्गै बाहुला भएको एकसरो सूती ब्लाउज लगाइराखेकी थिएँ भने टाउकोमा चाहिँ भिजेका कपाल समेटेर जुरो पारी एउटा रुमालले बाँधिराखेकी थिएँ । झ्यालबाटै सबभन्दा पहिले कात्याले नै उनलाई देखी ।

‘ए, सेर्गेइ मिखाइलिच पो !”- उसले उद्गार पोख्दै भनी । – “हामी पनि तपाईंकै विषयमा कुरा गर्दै थियौं त ।”

म लुगा फेर्न जाने बिचारले हतपत उठेँ, तर ढोकाका संघार नाघ्न नपाउँदै उनले मलाई देखिहाले ।

“गाउँघरतिर पनि यस्तो ठस्सा किन र !” रूमाल बेरिएको मेरो टाउकोमा निहार्दै मुसुमुसु हाँसेर उनले भने ।-“बूढा ग्रिगोरीको अगाडि त तपाईं लजाइरहनुभएको छैन भने म पनि त तपाईंको लागि ग्रिगोरी सरह नै त हुँ नि !”

तर उनले मलाई ग्रिगोरीको नजरले नहेरेर एकदमै अर्कै पाराले निहारिरहेका थिए र यो चाल पाउँदा मलाई कसो कसो ज्यादै नै अप्ठ्यारो लाग्यो ।

“म छिटै आइहाल्छु ल !”-मैले पाइला अगाडि सार्दै उनलाई जवाफ दिएँ ।

“यस पहिरनमा नसुहाएको नै के छ र ? अलि चर्को स्वरले उनले भनेको सुनियो ।-“हूबहु किसान केटी जस्ती पो देखिनुहुन्छ त !”

“कस्तो अनौठा किसिमले उनले मलाई हेरेको त हँ !’-माथि चोटाकोठामा हतपत लुगा फेर्दै मैले विचार गरेँ ।-‘जे होस्‌, भगवानको कृपाले उनी आइपुगिहाले । अब नियास्रो हराउने भो नाइँ !’ ऐनातर्फ एक नजर फिराएर म रमाउँदै भरेङबाट तल ओर्लिहालें । अनि आफ्नो हतपतलाई लुकाउनेसम्म पनि प्रयत्न नगरेर स्याँस्याँ र फ्याँफ्याँ गर्दै म सरासर बरण्डामा दाखिल भइहाले । टेबुलको एक छेउमा बसेर उनी कात्यासँग हाम्रो घर-व्यवहारबारे कुराकानी गर्दैथिए । मतर्फ एक नजर दौडाएर उनी मुस्कुराए, अनि उनले कुराको मेसो फेरि अगाडि बढाउँदै लगे । उनको भनाइअनुसार त हाम्रो कामकुरा सबै नै निकै राम्ररी चलिरहेको थियो । एउटा ग्रीष्मयाम मात्र हामीले सोन्याको पढाइ-सढाइको लागि या त पिटर्सबर्गतर्फ लाग्नेभयौं, या त विदेशतर्फ नै प्रस्थान गर्ने भयौं ।

“अँ, तपाईंसँगै विदेशतर्फ जान पाइए त हो ! नत्र त हामी बनमा बाटो बिराउने बच्चाहरू झैँ बडो बिचल्लीमा पर्नेछौँ !”-कात्याले तर्क झिकी ।

“तपाईंहरूको साथमा विश्वभ्रमण नै गर्न पनि म तयार छु !”-अलि गम्भीरता झल्काउँदै त अलि ठट्टा गर्दै उनले भने ।

“विश्वभ्रमण भने विश्वभ्रमण नै सही !”-मैले भनें ।

उनले मुसुमुसु हाँस्दै टाउको हल्लाए ।

“मेरी मुमाको साथमा को रहला ? घर-व्यवहार कसल्ने चलाउला ?”-उनले प्रश्न तेर्सयाए ।-“तर अहिले यो गन्थनको कुनै प्रयोजन छैन । बरु बताउनुहोस्‌, तपाईंहरूको समय कसरी बित्यो ? कतै फेरि पहिले झैँ खिन्नताले त छोपेन ?”

उनको अनुपस्थितिमा लेखपढ गर्नमा नै आफूलाई व्यस्त राखेको र कत्ति पनि दिक्दार नभएको कुरा उनलाई मैले बताएँ । कात्याले पनि मेरो कुरामा सही थापी । त्यतिखेर उनले मेरो खुब प्रशंसा गरे, एक सानो बालकलाई जसरी नै मीठा मीठा कुराले र मधुर नजरले

क्रमश…..