अध्यायः पच्चीस

कस्तो अचम्म ! त्यो जलाशय त गाउँकै जलाशय जस्तो पो देखियो । सबै कुरा ठीकठाक, बाल्टीन, डोरी र घिर्नी ।

फुच्चे राजकुमारले बाल्टीन जलाशयमा डुबाउँदै भन्यो, “तिमीले सुन्यौ ? हामी यस जलाशयलाई जगाउँदै छौँ ।”

मैले पानीले भरिएको बाल्टीन जलाशयबाट तान्न थालेँ । राजकुमार यति तिर्खाएको रहेछ कि बाल्टीनभरिको सबै पानी पियो । मैले पनि पिएँ । मलाई त्यो पानी ज्यादै स्वादिलो लाग्यो ।

फुच्चे राजकुमारले भन्यो, “मेरो भेडाको चित्र कहाँ छ ? त्यसपछि गोरक्षीवृक्ष र फ्याउरोको बारेमा समीक्षा गर्नतिर लाग्यौँ हामी ।

फुच्चे राजकुमारले भन्यो, “तपाईँ बस्ने ठाउँका मानिसहरूले आफ्नो बगैँचामा पाँच हजार गुलाब फुलाए पनि आफूले खोजेको कुरा भेट्टाउदैनन् ।

मैले भने, “अँ, भेट्टाउँदैनन्‌ उनीहरूले ।

फुच्चे राजकुमारले भन्यो, “खासमा मानिसहरूले आफूले खोजेका कुरा एउटै फूलमा पनि पाउन सकिन्छ । हृदयले हेर्न सक्नुपर्छ ।”

मलाई फुच्चे राजकुमारको कुराले रोमाञ्चक बनाइरहेको थियो ।

उसले भन्यो, “मेरो भेडालाई मुखमा लगाउने ठेडी बनाइदिऔं । मैले भने, “आउँदैन म बनाउन्न ।”

उसले भन्यो, “जस्तो आउँछ बनाई दिनोस्‌ तपाईंले वाचा गर्नुभएको छ । मैले ठेडीको चित्र बनाईदिँदा मेरो मन ज्यादै दुखेको थियो ।

“तिमीलाई थाहा छ, पृथ्वीमा मेरो अवतरण भएको कति भयो ? भोलि त्यसको वार्षिकोत्सव हुनेछ ।” फुच्चे राजकुमारले भन्यो ।

अलिबेर चुप लागेपछि फुच्चे राजकुमारले फेरि भन्यो, “म पृथ्वीमा अवतरण हुँदा यहीँ कतै ओर्लेको थिएँ ।

फुच्चे राजकुमारले भन्यो, “किन हो किन मलाई फेरि एकचोटि निराशाले छोप्यो ।”

मैले सोधेँ, ‘आठ दिन अघिको, जुन दिन बिहान तिमीसित मेरो भेट भएको थियो, तिमी यो बस्तीबाट हजारौँ माईल टाढा यसैगरी एक्लै हिँडिरहेका थियौँ । तिमी आफू ओर्लेको ठाउँतिरै फर्केर जाँदै थियौ, किन ?”

फुच्चे राजकुमारले मेरो प्रश्नको जवाफ दिएन । उसको अनुहार रातो भयो ।

मलाई डर लाग्न थाल्यो ।

फुच्चे राजकुमारले भन्यो, “अब तिमी आफ्नो कामतिर लाग । हवाइजहाजको मेशिन मर्मत गर । भोलि बेलुका आउनु । म पर्खीबस्छु तिमीलाई ।”

फुच्चे राजकुमार जलाशय छेउँकै पुरानो पर्खालमा अडेस लागेर बस्यो । “ल ठीक छ, तिमी आराम गर्नू” भन्दै म आफ्नो जहाजको मेशिन मर्मत गर्न हिँडे ।