साहित्यकारहरू आफूले नजानेको विषयमा गरेको टिप्पणीले सयौँ वर्षपछि पनि कसरी पिरोल्छ भन्ने उदाहरण हालै देख्न पाइएको छ ।
लिंकन विश्वविद्यालयका केही विद्यार्थीहरूले सो विश्वविद्यालयमा गर्वका साथ उभ्याइएका कवि अल्फ्रेड लर्ड टेनिसनको मूर्ति हटाइनुपर्ने माग राख्न थालेका छन् ।
१५० जना विद्यार्थीहरूको एउटा समूहले विश्वविद्यालयमा गई ती कविको समस्यामूलक धारणाका कारण उनको मूर्ति हटाइनुपर्ने धारणा राखेका हुन् ।
सन् १८९२ मा देहान्त भएका टेनिसन, लिंकनसायरको सोमर्सबाईमा जन्मिएका थिए । उनी महारानी भिक्टोरियाका बेलाको पोएट लरेटजस्तो सम्मानित पदमा परेका थिए ।
उनले एसियाली तथा अफ्रिकीहरूमाथि चित्त दुख्ने टिप्पणी गरेका थिए । उनले एसियाली र अफ्रिकीहरू इतिहास र सभ्यताबिनाका केटाकेटी हुन् भन्ने विश्वास गर्थे । सन् १८६० ताका जमैकाका कोलोनियल गभर्नर रहेका एडवार्ड आयरले काला जमैकाबासीहरूलाई नराम्रो व्यवहार गर्ने, तिनलाई झूटो मुद्दामा फँसाउने जस्ता कुकृत्य गरेका भए पनि उनका कार्यलाई समर्थन गरेको अनुसन्धानबाट खुलेसँगै विद्यार्थीहरूले उनको मूर्ति विश्वविद्यालयबाट हटाइनुपर्ने बताएका हुन् ।
कतिपयले विद्यार्थीहरूको सो आग्रह सुनिनुपर्ने धारणा राखेका छन् । विश्वविद्यालयका प्रवक्ताले विद्यार्थीहरूको धारणा सही भएको र पाठ्यक्रमलाई औपनिवेशीकरणरहित बनाउनु भनेको इतिहासका कतिपय कुरालाई पुनः जाँच गर्नु भएको धारणा राखेका छन् ।
गोराहरूबाहेक अरूको सभ्यता नै छैन भन्ने जस्ता धारणा पाल्नु निश्चय पनि अरूको सभ्यताको खिल्ली उडाउनु भएको भन्दै विद्यार्थीहरूको सो मागमा दम रहेको प्रवक्ताको धारणा छ । यस्ता मागले अरूको सभ्यतालाई मान्यता दिनुपर्ने भएकाले यसमा सुनुवाई हुनुपर्ने प्रवक्ताको भनाइ छ ।
‘सबैको इतिहास, संस्कृति र सभ्यता उत्तिकै महत्त्वपूर्ण हुन्छ, कसैको महान् र कसैको तुच्छ हुँदैन,’ प्रवक्ताको भनाइ छ, ‘जसरी बेलायतीहरू आफ्नो संस्कृति र सभ्यतामा गर्व गर्छन्, अरूका लागि उनीहरूको संस्कृति पनि उत्तिकै गर्विलो हुन्छ ।’
यसअघि किउमा रहेको रोयल बोटानिक गार्डेनका संस्थापक जोसेफ बैंक्स र सर आइज्याक न्युटनको मूर्ति पनि हटाइनुपर्ने माग राखिएको थियो । जोसेफको कम्पनीले दासहरूको व्यापार गर्ने गर्थ्यो र उनको कम्पनी साउथ सी कम्पनीमा न्युटनले लगानी गर्ने गर्थे । त्यो बेलामा करोडपति रहेका न्युटनले थप पैसा कमाउने लोभमा दासहरूको बेचविखन गर्ने कम्पनीमा लगानी गरेको आरोपमा उनको मूर्ति हटाउने र महान् वैज्ञानिकको पगरी हटाइनुपर्ने माग केही समययता उठाइँदै आएको छ ।
त्यो बेला स्पेनको अधिनस्थ अमेरिका (दक्षिण अमेरिकी भेग)मा दासहरूको बिक्री गरी थुप्रै कम्पनीहरूले नाफा कमाउने गर्थे र त्यसमा लगानी गरी नाफा कमाइन्थ्यो ।
न्युटनको योगदानका कारण उनको नाम मेट्न असम्भव रहेको, बरू उनले जीवनमा यस्तो नकाम पनि गरेको भन्ने टिप्पणी गर्दै विद्यार्थीहरूलाई पढाइनुपर्ने केहीले माग राख्दै आइरहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

