भागः २५ अंशः ६
हामी सुत्न गयौँ । शोरायाले मेरो छातीमाथि टाउको राखेरै निदाइन् । हाम्रो आफ्नै कोठाको अँध्यारोमा म फेरि एक पटक इनसोमिन्याक भएर आँखै नजोरी पल्टेर बसेँ बिउँझेँ र मेरा आफ्नै राक्षसहरूसँग एक्लै ।
कहिले काहीँ मध्यरातमा म मेरो खाटबाट फुत्त झरेर शोहरबको कोठामा जान्थेँ । म ऊ सुतिरहेको हेर्दै उसकै छेउमा उभिएर हेरिरहँदा केही चीज उसको तकिया मुनिबाट बाहिर छुस्स निस्केको देखेँ । मैले त्यसलाई टिपेँ । त्यो त्यही रहिम खानको पोलारोइड फोटो रहेछ जुन मैले उसलाई हामी शाह फैसल मस्जिदको छेउमा बसेको रात दिएको थिएँ । फोटोमा हसन र शोहरब घामको उज्यालो छल्नलाई आँखा कुच्चुक्क पार्दै, संसार एउटा असल र न्याय पाइने ठाउँ हो भनी ठाने जस्तो गरेर मुसुक्क हाँस्दै सँगै उभिएका छन् । शोहरबले ओछ्यानमै पल्टिएर कति बेरसम्म त्यो फोटोलाई वल्टाइपल्टाइ गरेर हेरिबस्यो होला भनेर छक्क परेर सोचिरहेँ ।
मैले फोटो हेरेँ । तिम्रो डुबा डुईतिर आधा आधा बाँडिएका मान्छे थिए, रहिम खानले आफ्नो चिठीमा भनेको थिए । म समाजले स्वीकारेको, बैद्य, थाहै नपाइकन बाबाको दोशानुभूतिको प्रतिमूर्ति, एउटा अधिकारबाला, आधा भाग थिएँ ! मैले मुखमा छड्के घाम परेको, अगाडिका दुईवटा दाँत थोते भएको हसनलाई हेरेँ । बाबाको अर्को आधा भाग । गुमनाम र बिना अधिकारको आधा । त्यही आधा जसले बाबाको पवित्र र राम्रो गुण विरासतमा लिएर आएको थियो । त्यो आधा जसलाई सायद बाबाको मुटुको अति गोप्य कुनै कुनोले आफ्नो सच्चा छोरो ठानेको थियो ।
मैले त्यो फोटोलाई जहाँ भेट्टाएको थिएँ त्यही खुसुक्क राखिदिएँ । अनि मैले केही कुरा महसुस गरेँ : त्यो मेरो अन्तिम बिचारले यसै सँग पोल्ने कुरा लिएर आएको रहेनछ । शोहरबको कोठाको ढोका लगाउँदै गर्दा मैले आश्चर्य मान्दे सोचेँ कि ‘क्षमा’ भन्ने कुरो टुसाउने त यसै गरी पो रहेछ कि ? त्यो बुद्धत्व प्राप्तिको रमाइलो मेला जस्तो गरी होइन, त्यो त पीडाले छट्पटाएर सामान जम्मा पार्ने, कुम्लो पार्ने र थाहै नदिइकन मध्य रातमा लुसुक्क हिँड्ने कामले पो टुसाउने रहेछ त ।
पर्सिपल्ट राती जर्नेल साहब र खाला जमिला डिनरका लागि आए । कपाल काटेर छोटो पारेकी र सदाभन्दा कपालमा अलि गाढा रङ पारेकी खाला जमीलाले खानापछि मुख मीठो पार्न भनेर ल्याएको त्यो एलमन्ड-टप्ट माघौत (Maghaut) को प्लेट शोरायालाई दिइन् । उनले शोहरबलाई देखिन् र हँसिलो अनुहार पारिन् । “मासाल्लाह ! शोराया जानले तिमी कति खोशतिप (Khoshteep) छौ भनेर बताइसकेकी थिइन्, तर तिमी त त्योभन्दा पनि सुन्दर रहेछौ, शोहरब जान । उनले शोहरबलाई गोल-गला भएको स्वीटर दिइन् । “यो मैले तिम्रै लागि भनेर बुनिदिएको हो, उनले भनिन् | ‘अर्को जाडोका लागि । ईन्साल्लाह, यो तिमीलाई ठिक्क मिल्छ ।
शोहरबले उनको हातबाट स्वीटर लियो ।
जर्नेलले दुवै हातले समातेर लौरोको भर परेर शोहरबलाई यसरी हेरे कसैले अर्काको घरमा अनौठो सजावटको सामान हेर्छ, र मात्र ‘हेलो योङ्ग म्यान भने ।
मेरो घाउ चोटको बारेमा मैले खाला जमिलालाई उत्तर दे को देई गर्नु पर्यो । मैले शोरायालाई मैले पिटाई खाएको कुरा नभन्नु है भनेर भनिसकेको थिएँ । मैले खालालाई चोट ठूलो छैन, केही हप्तापछि तार निकाल्न सकिन्छ अनि मैले उहाँले पकाएको खाना खान सक्ने छु, अनि चाँडै दाग मेटाउनलाई रबार्बको जुस र चिनी मालिस गर्ने छु भनेर आश्वस्त पार्नु पर्यो ।
जर्नेल र म बैठक कोठामा बसेर वाइनको चुस्की लि शोराया र उनकी आमाले टेबल मिलाउँदै थिए । मैले उनलाई काबुल र तालिबानको बारेमा बताएँ । उनले लौरो आफ्नै काखमा राखेर मेरो कुरा सुन्दै टाउको हल्लाए । मैले त्यो आफ्नो नक्कली खुट्टा बेचिरहेको मान्छेको कुरा गर्दा उनले च्व च्व च्व गरे । मैले गाजी स्टेडियममा भएको हत्या र असिफको बारेमा कुरै कोट्याइन । उनले रहिम खानको बारेमा सोधे । जसलाई उनले काबुलमा दुई चार पटक भेटेका रहेछन् । मैले रहिम खानको बिमारीको बारेमा बताएपछि उनले बडो गम्भीर मुद्रामा टाउको हल्लाए, तर जब हामी बोल्दै थियौँ उनको नजर पटक पटक सोफामा सुतिरहेको शोहरबमाथि पर्यो । लाग्थ्यो हामीले उनले
जान्न खोजेको विषयमा प्रवेश नै नगरी कुरो टारेर जाँदै थियौँ ।
फिसल्ने कुराको डिनरसँगै अन्त्य भयो जति बेला जर्नेलले आफ्नो चम्चा र काँटा राखेर भने, “ए त्यसो भए अमीर जान तिमीले हामीलाई भन्नुपर्छ कि तिमीले । यो केटोलाई किन लिएर आएको हो ।”
‘इकवाल जान ! तपाईंले किन यो नचाहिने कुरा सोधेको ?” खाला जमिलाले भनिन् ।
“जब तिमी स्वीटर बुन्नुमै व्यस्त हुन्छ्यौ मैयाँ मैले हाम्रो समाजले हाम्रो परिवारलाई कसरी हेरेको छ भन्ने कुरा अरूलाई बुझाइरहनु पर्छ । मान्छेले सोध्ने छन् । मान्छेले हाम्रो छोरीसँग बसेको त्यो हजारा केटो को हो भनेर जान्न खोज्ने छन् । अनि मैले के जवाफ दिने त ?”
शोरायाको हातबाट चम्चा खस्यो । उनी आफ्नो बाउतिर फर्किइन् ।
‘कुरा के हो तपाईंले भनिदिए भैगो नि ___ ।’
‘ल भयो शोराया, चुप लाग त,” उनको हात समात्दै मैले भनेँ ।
‘कुरा ठीकै हो । जर्नेल साहबले भनेको ठीकै हो । मान्छेले पक्कै पनि सोध्ने छन् ।”
‘अमीर __ ” उनले फेरि पनि कुरा झिकिन् ।
‘तिमी चुप लाग त ।’ म जर्नेल साहबतिर फर्किएँ । “कुरा के भने जर्नेल साहेब मेरो बुबाले आफ्नै नोकरको श्रीमतीसँग सुतेर उनलाई पेट बोकाइदिनु भाको थियो ।
उनले हसन नाम गरेको छोरो पाइदिइन् । अहिले हसन छैन । त्यो सोफामा सुतेको त्यो हसनको छोरो हो । र ऊ मेरो भतिज हौ । मान्छेले सोधे भने तपाईंले यै कुरा मज्जाले भनिदिए हुन्छ ।
सबै जनाले क्वारक्वार्ती मलाई नै हेरिरहेका थिए ।
र अर्को एउटा कुरा पनि छ, जर्नेल साहेब,” मैले भनेँ ।
“तपाईंले मेरो अगाडि उसलाई कहिल्यै पनि “हजारा” भन्ने शब्द प्रयोग गर्नु हुने छैन । उसको नाम छ र त्यो ‘शोहरब’ हो । ”
बाँकी खाना खाउन्जेलसम्म कोही केही बोलेन ।
शोहरब केही पनि नबोल्ने सन्त थियो भन्नु गल्ती हुने छ । चुपचाप बस्नु भनेको शान्ति हो । आनन्द शान्ति । शान्तपनले जीवनको सार घटाउँदै छ । चुपचाप बस्ने बानीले बटन घुमाएर बन्द गर्दै छ । बन्द नै गर्दै छ । सबै कुरा बन्द गर्दै छ ।
जसरी कुनै कुरामाथि अटल विश्वास गरेका वा विद्रोहीहरूले आफ्नो अडान नबोलेरै चाख खोज्छन् त्यसै गरी शोहरबको “चुपचाप’ उसले आफैँलाई सजाय दिएको होइन
रहेछ । त्यो ‘चुपचाप’ यस्तो मान्छेको थियो जसले जीवनमा बाउन्न लात त्रिपन्न घुस्सा, हन्डर र ठक्कर के हो भन्ने बेहोरीसकेको थियो र त्यसलाई सजिलै पचाएको थियो ।
उ त्यति धेरै हाम्रो छेउमा बस्थेन, एकदम कम । एकदम आक्कल झुक्कल मात्र । कहिले काहीँ बजारमा वा पार्कमा मैले थाहा पाउँथँ कि अरू मान्छेले त उसलाई देखेको जस्तो पनि गर्दैन थे । लाग्थ्यो र त्यहाँ थिँदै थिएन । मैले पढिरहँदा महसुस गर्थे कि शोहरब कोठामा आएको थियो, मेरै सामुन्ने पारिपट्टि बसेको थियो, तर पनि मैले उसको उपस्थितिको महसुस नै गरेको थिइनँ । ऊ यसरी हिँड्थ्यो कि लाग्थ्यो ऊ सोच्दै छ उसको कतै पाइलाको छाप नदेखियोस् । ऊ हिँडेको साँइँ सुइँ थाहै हुन्थेन । धेरै जसो ऊ सुत्थ्यो ।
शोहरबको केही पनि नबोल्ने बानीले शोरायालाई पनि गाह्रो भएको थियो । म पाकिस्तानमै छँदा फोनमा कुरा गर्दा पनि उनले शोहरबका लागि केके योजना गरेकी थिइन्, मलाई सुनाएकी थिइन् | स्वीमिङ्ग क्लास, सकर, बाउलिङ्ग लिग । उनी अहिले शोहरको कोठा भएर जाँदा देख्थिन कि बेतको व्याकको किताब खोलेकै छैन, ग्रोथ चार्टमा चिन्ह लगाएकै छैन, जिग स पजल मिलाएकै छैन र प्रत्येक चीज हेर्दा जीवन जस्तो हुनुपर्ने थियो त्यस्तो भएको जस्तै लाग्दैनथ्यो । आशाको टुसा पलाउँदै गर्दा पनि सपना अधुरो पो हुने हो कि भनेर झल्को दिने तर उनी एक्ली भएकी थिइनन् । शोहरबको लागि मैले पनि सपना देखिसकेको थिएँ ।
शोहरब चुपचाप बसे पनि संसार चुपचाप थिएन | गत बर्षको सेप्टेम्बरको एक मंगलबार बिहानै ट्वीन टावर ढल्यो र रातारात संसारै परिवर्तन भयो । तुरून्तै….
क्रमश…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।