इच्छापत्र

आफ्नो पूरा होसहवासमा
लेखिरहेकी छु म आज
इच्छापत्र आफ्नै ।

म मरेपछि
खङ्ग्राल्नु मेरा कोठा
खोतल्नु हरेक चीज
घरभरि बिना ताल्चाका
मेरा सामान छरिएका छन्।

अमृता प्रीतम

दिनु मेरा सपना
ती तमाम स्त्रीहरूलाई
जो चुलो चौकादेखि ओछ्यानसम्म
खुम्चिएका छन् आफ्नै दुनियाँमा
हराएका छन् तिनीहरू
जो वर्षौँ पहिले भुलिसकेका छन् सपना देख्न ।

बाँडिदिनु मेरा हाँसोका खित्काहरू
बृद्धाआश्रमका ती बृद्धहरूमा
जसका सन्तानहरू
अमेरिकाका जग्मगाउँदा सहरमा हराएका छ्न् ।

टेबलमाथि हेर्नु
मेरा केही रङ्गहरू होलान्
ती रङ्गहरूले
रङ्गाइदिनु विधुवाको साडी
जसको श्रीमानको रगतले सीमाना रङ्गिएको छ
झण्डामा लट्पटिएर ऊ हिजो राति सुतेको छ !

आँसु मेरो दिनु
ती तमाम शायरहरूलाई
जसको हरेक थोपाहरूबाट हुनेछ गजलको जन्म
यो मेरो वचन भयो !

मेरो मान मेरो पवित्रता
त्यो वेश्याको नाममा गरिदिनू
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !

यो देशका एक-एक युवालाई समातेर
लगाई दिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ क्रान्तिका ती दिनहरूमा !

रिमा केसी

पागलपन मेरो
पर्नेछ्न् हिस्सामा ती सुफिहरूको
जो निस्किएका छन्
सबै छोडी ईश्वरको खोजिमा !

बस् !
बाँकी बच्यो
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
यसो गर्नु
यसलाई म सँगै जलाइदिनु !

लेखक : अमृता प्रीतम
अनुवाद : रिमा के सी