पारिवारिक सुख भागः १ अंशः २ 

“एहे ! तपाईं पो !”-उनले आफ्नै पाराले दुढता जनाउँदै र सामान्य तरीकाले हात पतिर लम्किँदै भने । यतिविध्न पनि फेरिनुहुन्छ र ! तपाईँ त हुर्किसक्नुभएको पो रहेछ लौ हेर हिमसुमनको चाला ! तपाईँ त पूरै गुलाफ पो बनिसक्नुभएको रहेछ ।”

उनले आफ्नो बलिष्ठ हातले मेरो हात समाते र बेसरी कसेर मिचे । सत्ते ! तर पीडाको अनुभव चाहिँ गरिनँ । उनले मेरो हातमा म्वाइँ खानेछन्‌ भन्ने मैले ठानेकी थिएँ र म उनीतर्फ झुक्नै आँटेकी थिएँ । तर उनले फेरि एकपल्ट जोडले मेरो हात मिचे र आफ्ना दृढ र प्रसन्त नजरले सोझै मेरा आँखामा नियालेर हेर्न थाले ।

उनलाई मैले नदेखेको छ वर्ष बितिसकेको थियो । उनमा निकै परिवर्तन रहेछ । उमेर पनि अलि ढल्किसकेको रहेछ र केही गहुँगोरो समेत भइसकेका रहेछन्‌ । अनि गालेजुंगा पनि प्रशस्तै बढिसकेको रहेछ र त्यो उनको अनुहारमा एकदमै सुहाउँदो खालको थिएन । परन्तु उनको चालढाल भने उस्तै थियो -खुला, निष्कपट र फरासिलो चेहरा, चनाखा र चम्किला तेज आँखा, बालसुलभ मृदुमुस्कान !

पाँच मिनेट पनि बित्न पाउँदा नपाउँदै उनी पाहुना रहन गएका थिएनन्‌, बरु हामी सबैको लागि, अझ नोकर-चाकरहरूको लागि समेत निकटतम आफन्त बनिसकेका थिए । सबका सब नै उनको आगमनले गर्दा प्रफुल्ल थिए भन्ने त उनीहरूको सेवाभावबाट नै छर्लङ्ग भइहालेको थियो ।

उनको बानीबेहोरा ती छिमेकीहरूको जस्तो पटक्कै थिएन जो आमा खस्नुभएपछि आएका थिए र हामीकहाँ बसेर मौन रहनु र रुनु नै औचित्य हो भन्ने ठान्थे । यसको विपरीत सेर्गेइ मिखाइलिच हँसमुख र प्रसन्नचित्त देखिन्थे, बाचाल पनि थिए, तर आमाको बारेमा चाहिँ उनले आफ्नो मुखबाट एक लवज पनि निकालेनन्‌ । शुरुमा त उनको यस्तो बेवास्ता मलाई ज्यादै अनौठो र अझ उनी जस्ता निकटतम व्यक्तिको तर्फबाट अलि अशिष्ट व्यवहार जस्तो पनि नलागेको होइन । किन्तु पछि मलाई के बोध भइहाल्यो भने यो उनको बेवास्ताको परिचायक थिएन, बरु सौहार्दताको द्योतक थियो । यसको लागि म धेरै धेरै आभारी पनि रहेँ ।

साँझपख कात्या बैठककोठाको पुरानै ठाउँमा चिया बाँड्ने काममा व्यस्त भइहाली । आमाको जीवनकालमा पनि यस्तै चियापान चल्थ्यो । सोन्या र म कात्याकौ बगलमा बसिरहेका थियौँ । बूढा ग्रिगोरीले चाहिँ बुबाको पालाको तमाखु खाने पाइप पनि कुन्नि कताबाट हो खोजखाज पारेर ल्याइदिइहाले । उनी पनि पहिले पहिले जस्तै कोठामा ओहोरदोहोर गर्दै पाइप तान्न लागे ।

“अहो ! यस घरमा कति परिवर्तन भइसकेछ ! सोच्नै पनि नसकिने हँ ।” टक्क रोकिएर उनले भने ।

“हो !” लामो सुस्केरा हालेर कात्याले सही थापी । अनि सामोभार ढकनीले छोपेर टुलुटुलु सेर्गेइ मिखाइलिचतर्फ हेर्न लागी । रुनै आँटिसकेकी थिई ऊ !

“बुबाको त तपाईंलाई सम्झना होला, हैन त ?”-मलाई सम्बोधन गर्दै उनले भने ।

“अलिअलि !” मैले उत्तर दिएँ ।

“अहिले उहाँ हुनुहुँदो हो त क्या राम्रो हुने थियो ।” आँखाभन्दा केही माथि मेरो टाउकोतर्फ नजर गाड्दै उनले सुस्त सुस्त भन्न सुरू गरे । “तपाईँको बुबालाई म असाध्यै मन पराउँथेँ ।” उनले अझै सानो स्वरमा थपे । उनका आँखा चम्किरहेको जस्तो मलाई लाग्थ्यो ।

“ईश्वरले उनलाई बोलाइहाले !”-कात्याले गुनगुनाउँदै भनी र चियादानीमाथि नैपकिन राखेर हाते रुमालले मुख छोपेर सुँक्क सुँक्क गर्न लागिहाली ।

“हो, यस घरमा भयंकर परिवर्तन भइसकेछ !”-मुख अर्कोतिर फर्काउँदै उनले दोहोर्याए । -“सोन्या, ल आफ्ना खेलौनाहरू देखाऊ त बा ! ” केही बेरपछि उनले फेरि भने । अर्को कोठामा पसे । उनी बैठककोठाबाट बाहिरिएपछि आँसुले रसाएका कात्यातर्फ पुलुक्क हेरेँ ।

“परम हितैषी मित्र हुन्‌ उनी !”-उसले मलाई भनी ।

सेर्गेइ मिखाइलिचसित कुनै रमाइलो नगर्ने भए तापनि यस्ता असल मान्छेको सहानुभूति पाएर वास्तवमा नै मलाई एक प्रकारले न्यानो हाइसन्चो अनुभव भयो ।

ठूलो कोठाबाट सोन्याको सुरिलो स्वर सेर्गेइ मिखाइलिचको हलमा र दगुरादगुरको आवाज आइरहेको थियो । मैले उनको निम्ति चिया पनि त्यसै कोठामा पठाइदिएँ। उनी पेनोबाजानेर बसेर सोन्याको हातले पर्दा थिच्न लागेको टड्कारै सुनिन्थ्यो ।

“मारिया अलेक्सान्द्रोभ्ना !”-उनको ध्वाँके स्वर घन्कियो ।-“एक फेरा यतातिर पनि आउनोस्‌ न ! कुनै धून सुनिहालौं !”

उनले एक मित्रले जस्तै सामान्य तवरले मलाई सम्बोधन गरेर यस्तो आग्रह गरेको सुन्दा म निकै रमाएँ । म उत्निखेरै उठेर उनी भएको ठाउँ पुगिहालेँ ।

“लौ त, यो चाहिँ बजाउनोस्‌ !”- उनले बेथोभेनको स्वर लिपिपुस्तिका खोलेर Guasi una fantasia सनेटबाट आदाजिओ तर्फ देखाउँदै भने । “हेरिहालौं, कत्तिको राम्रो बजाउनुहुँदो रहेछ !” -उनले फेरि यत्ति कुरा थापे, अनि चियाको कप बोकेर कोठाको एक कुनातर्फ लागे ।

किन हो कुन्नि, म उनको आदेशात्मक आग्रह अस्वीकार नै गर्न सक्तिनँ भने झैं मलाई लाग्यो, न त राम्ररी बजाउन आउँदैन भन्ने नै भूमिका बाँध्न सकें । आज्ञा शिरोपर गरेर म पेनोबाजाको अगिल्तिर मेचमा बसेँ र आफूले जाने झै बजाउन पनि थालिहालेँ । हुन त मलाई उनको आलोचनाको डर नलागेको होइन, किनभने उनी एक संगीतमर्मज्ञ हुन्‌ र संगीत मन पनि पराउँछन्‌ भन्ने मलाई राम्ररी नै थाहा थियो । सनेटको आदाजिओ संस्मरणको त्यस भावनाको अनुरुप नै थियो जुन चियापानको बेला भएको कुराकानीले उत्पन्न गरिदिएको थियो र मलाई के लाग्छ भने मैले राम्रै गरी पेनोबाजा बजाएँ पनि । तर उनले मलाई स्केर्चोर भने बजाउन दिएनन्‌ । भो, पर्दैन । यो तपाईं राम्रो बजाउन सक्नुहुन्न !”- मेरो नजिकै आएर उनले भने । “छोडिदिनोस्‌, यसलाई ! पहिलो चाहिँ नै उति नराम्रो छैन ! लाग्छ, तपाईं संगीतको मर्म बुझ्नुहुन्छ !” यस्तो संयमित प्रशंसाले गर्दा मलाई आनन्दित तुल्यायो र लाजले गर्दा मेरो अनुहार अलि रातो समेत भयो । मेरो निम्ति यो ज्यादै नौलो र रमाइलो अनुभव थियो । मेरा बुबाका समकालीन तथा अन्तरङ्ग मित्रले यसरी मसित एक निरीह बालकसित झै नभएर बरु एक उमेरदार मान्छेसित जस्तरी गम्भीरतापूर्वक कुरा गरेका थिए । सोन्यालाई सुताउन भनेर कात्या चोटाकोठामा गइहाली र बैठककोठामा चाहिं हामी दुई जना मात्र बाँकी रह्यौँ ।

मेरा बुबाको बारेमा मलाई बताउन शुरु गरे उनले । जुन बेला म किताब पढ्न र खेलौनाहरूसित खेल्नमा नै बढी तल्लीन रहने गर्थें त्यसताका मेरा बुबासित उनको भेट कसरी भएको र उनीहरू आनन्दसाथ कसरी समय बिताउँथे भन्ने पनि उनले बताएका थिए । उनको कथानबाट नै मैले सर्वप्रथम आफ्ना बुबाको सरल र सहृदय देख्न पाएँ । बुबाको त्यो रूप मैले अहिलेसम्म कल्पना गरेको भन्दा एकदमै भिन्नै थियो । त्यसपछि कसरी समय बिताइयो, कुन किताब पढियो, कुन कुरा मन पर्यो भन्ने मसित उनले सोधपुछ गरेर सरसल्लाह पनि लिए । अब उनी पहिलेजस्तो मलाई जिस्कायने र मेरो निम्ति खेलौनाहरू बनाइदिने ठट्टेउला र हँसिला रहन गएका थिएनन् । बरू गम्भीर, सरल, र स्नेहालु मान्छे मान्छे बनिसकेका थिए र उनलाई म उनलाई म अनायास कदर र माया गर्न लागिसकेकी थिएँ । उनीसँग कुरा गर्दा मलाई निकै रमाइलो समेत लागिरहेको थियो । तैपनि म एक किसिमको उत्तेजना र तनावको अनुभव गर्दैथिएँ । म हरेक शब्द तौलितौलिकन बोलिरहेकी थिएँ । किनभने म उनको स्नेह पाउन लालायित थिएँ । त्यसो त उनको स्नेह पाइ पनि सकेकी थिएँ । किनभने म बाबुकी छोरी न ठहरिएँ ।

क्रमश…