अध्यायः बाइस

त्यसपछि राजकुमारको रेलको बाटो बदल्ने मान्छेसित भेट भयो |

“के गर्छौ तिमी यहाँ ?” राजकुमारले सोध्यो ।

“म रेलगाडी पठाउँछु, कहिले दाहिनेतिर त कहिले देब्रेतिर । यसरी म यात्रीहरूलाई समूह समूहमा छुट्याउँछु ।“

तेज गतिको एउटा रेलगाडी आइपुग्यो त्यति नै खेर |

“ज्यादै हतारमा देखिन्छन्‌ यी मान्छेहरू । के खोज्दै छन्‌ यिनीहरू ?” फुच्चे राजकुमारले सोध्यो ।

‘खै के खोजेको हो के ? थाहा भएन ।’ उसले भन्यो |

अर्को तेज रेलगाडी विपरीत दिशाबाट निस्क्यो |

“फेरि पनि आए यिनीहरू ?” फुच्चे राजकुमारले सोध्यो ।

उसले भन्यो, “मान्छेहरू आउने-जाने गरिरहन्छन्‌ नि ।”

यी मान्छेहरू जहाँ बस्थे त्यहाँ खुसी छैन कि क्या हो ?” फुच्चे राजकुमारले सोध्यो ।

‘आफू बसेको ठाउँमा को पो खुसी हुन्छ र ?” उसले भन्यो |

तेस्रो रेलगाडी पनि तेज गतिमा निस्क्यो त्यहाँबाट |

“अघि हिँडेका यात्रीलाई पछ्याउँदै छन्‌ कि क्या हो यिनीहरू ?” फुच्चे राजकुमारले सोध्यो ।

उसले जवाफ दियो, ‘केको पछ्याउनु । कसैलाई पछ्याउँदैनन्‌ यिनीहरू | कि सुत्छन्‌, कि हाई काढ्छन्‌ | बच्चाहरूले मात्रै झ्यालबाट बाहिर हेर्छन्‌ ।”

“के बच्चाहरूलाई थाहा छ, उनीहरू केको खोजी गर्दै छन्‌ भनेर ?” फुच्चे राजकुमारले भन्यो ।

“ठूलालाई भन्दा बच्चाहरुलाई म के को खोजी गर्दे छु भन्ने थाहा छ । त्यसैले ठूलाभन्दा बच्चाहरु निकै भाग्यमानी छन्‌ ।” उसले भन्यो ।

फुच्चे राजकुमारलाई उक्त व्यक्तिले भनेको कुरा ज्यादै मर्मस्पर्शी लाग्यो |

उसलाई पनि अलविदा भन्दै फुच्चे राजकुमार अन्तै लाग्यो ।