१३. मडारिने धरती अंशः १ 

काम्टे र केटाकेटी चाँडै नै इन्द्रजाली रूखको फेदमा पुगे । त्यहाँ भकुन्डे भाइको लोखर्के उनीहरूलाई पर्खेर बसिरहेको थियो । उनीहरूलाई देख्नासाथ उसले खुसी हुँदै भन्यो तिमीहरू आइपुग्यौ ? …लौ भकुन्डे भाइले तिमीहरूलाई रूख चढ्नै नपर्ने गरी बाल्टिन-गाडी पठाइदिएको छ । …त्यसैमा चढेर जाऔ ।’

नभन्दै त्यहाँ रूखमाथिबाट एउटा डोरीमा लुगा धुने केटीको बाल्टिन झुन्डिएको थियो । अमरहरूलाई त्यसैबाट रूखमाथि तान्ने भकुन्डे भाइले चाँजो मिलाएको थियो ।

‘क्या चलाख भकुन्डे भाइ ।’ गीताले खुसी हुँदै भनी ‘कति मजाको जुक्ति झिकेछ उसले । …यो बाल्टिनमा चढेर माथि जाँदा कति मजा हुन्छ होला । हवाईजहाजमा चढेर उडेजस्तै होला हगि दाइ ?’

त्यसपछि गीता सबैभन्दा पहिले बाल्टिनमा चढी । त्यसपछि आशिष र अमर पनि चढे । तर काम्टेलाई उसका काम्टाका झल्लरीमल्लरी मालासहित बाल्टिनमा चढाउन भने अलि गाह्रो भयो । बल्लतल्ल तीनैजना मिलेर उसलाई तानेर कोचकाच पारे । अनि अमरले डोरी झड्कार्यो । यो भकुन्डे भाइलाई डोरी तान्ने सङ्केत थियो ।

माथिबाट भकुन्डे भाइ र हिमानीले मिलेर डोरी तान्न थाले । रूखका हाँगाहरूका बीचबाट बाल्टिन माथिमाथि उठ्दै गयो । ‘…कति रमाइलो बाल्टिनको सवारी !…’ गीता खुसीले चिच्याउँदै उफ्रन थाली । त्यसो गर्दा ऊ झन्डै बाल्टिनबाट खसेकी ।

‘उत्ताउली नहोऊ गीता’ अमरले हकाय्यो ‘बाल्टिनबाट खसेर तल पुग्लिस्‌ । …अनि हामीलाई पनि खसाल्लिस्‌

गीता अब चुप लागी । …आखिर बाल्टिन भकुन्डे भाइको घरनजिकै गएर रोकियो । केटाकेटी र काम्टे बाल्टिनबाट निस्केर ठूलो हाँगामा उत्रे । भकुन्डे भाइ त्यही पर्खिरहेको थियो । उसले सबैलाई स्वागत गर्दै घरतिर लग्यो । हिमानी त्यही थिई ।

“उड्ने बाल्टिनको सवारी कस्तो लाग्यो त ?’ हिमानीले हाँस्तै सोधी ‘तिमीलाई कस्तो लाग्यो नि काम्टे बा ?’

“भाग्यो ?… को भाग्यो ?’ काम्टेले चारैतिर हेरेर भन्यो “के यहाँको बिरालो भाग्यो ?… ल, म त्यसलाई आफ्नो धरतीमा लान्थेँ नि । उहाँ आफूलाई मुसाले दु:ख दिएर कस्तो छ ।’

“अब यो काम्टे बिरालो खोज्न थाल्ला सके’ आशिषले गीताको कानमा भन्यो “कस्तो विचित्रको छ यो काम्टे ।’

नभन्दै काम्टे अब घरका कुनाकाप्चा बिरालो खोज्न थाल्यो । “सू…री आ, सू…री…’

“होइन, ए काम्टै बा !… तिमीले हामीलाई चिया खान बोलाएका होइनौँ ?’ अमरले कराएर भन्यो ‘तिमी त बिरालो खोज्न थाल्यौ ।’

‘ए, साँच्चै त । लौ हिँड जाऔँ” काम्टेले भन्यो । अनि सबैजना रूखको टुप्पातिर उक्ले ।… बादलको भ्वाङनिर पुगेपछि काम्टे भर्याङ चढेर माथिको धरतीमा उक्ल्यो ।… तर त्यहाँ खुट्टो राख्न नपाउँदै ऊ चिच्यायो ‘ए, रोक रोक !… ए मेरो धरती, ए मेरो धरती ।…’

“होइन, किन चिच्याउँछ यो काम्टे ?… कसैले हमला त गरेन ?’ अमरले बादलको भ्वाङबाट टाउको छिराएर हेर्यो । अनि ऊ भर्याङ चढ्दै माथि गयो । गीता, भकुन्डे भाइ र आशिष पनि उसैका पछि माथि पुगे । …त्यहाँ काम्टे आफ्ना काम्टाहरू बजाउँदै कराइरहेको थियो- “यो मेरो धरती होइन ।… यो धरती, …कहाँ गयो मेरो धरती ? .. कसले चोर्यो मेरो धरती… है भगवान्‌ !…’

मेरो धरती !…’

साँच्चै अहिले उनीहरू भएको धरती त काम्टेको धरती होइन रहेछ । …यो त बटारिने धरती पो रहेछ । …यो त थलथलेजस्तै कतै उठ्ने कतै भास्सिने रहेछ । हेर्दाहेर्दै काम्टे उभिएको धरती दूध उम्लेझैं उम्लेर ढिक्रो बन्यो । काम्टेले आफूलाई अड्याउन सकेन । ऊ त्यस ढिस्कोबाट गुल्टनबाजी खाँदै तलतिर झर्यो।

‘ए बटारिने धरती ।…’ भकुन्डे भाइले आत्तिँदै भन्यो ‘भाग भाग ।… झट्टै तल रूखमा ओर्ल ।… काम्टे !… ए काम्टे तिमी पनि भाग झट्ट ।’

“घट्ट ?’ काम्टे उठेर लुगाको धूलो झार्न थाल्यो ‘कहाँ पाउनु यहाँ घट्ट ?.., यो त मेरौ धरती नै होइन ।’

अब त्यो बटारिने धरती पनि घुम्दै बादलको भ्वाङबाट परपर खस्कँदै थियो । त्यो देखेर अमर पनि आत्तियौ। ऊ पनि भ्वाङतिर भाग्दै चिच्यायो ‘ए काम्टे बा ! झट्टै गर झट्टै, झट्टै रुखमा ओर्लनु पर्यो ।… नत्र…’

अब काम्टे पनि आत्तियो । …ऊ भ्वाङतिर दगुर्न थाल्यो । तर ऊ उभिएको धरती फेरि कोसीको छाल उठेझैं उठेर उसलाई फ्याँकिदियो । ऊ त्यहाँबाट गुल्टँदै एकातिर पुग्यो ।

‘अब के गर्ने ?…’ भकुन्डे भाइ आत्तियो । सबै आत्तिए । धरती भ्वाङबाट परपर हुँदै थियो । ‘अब हामी फेरि यहाँ कैद हुने भयौँ ।’

“के यो धरती सधैँ यसै गरी घुमिरहन्छ ?’ अमरले सोध्यो ‘यसलाई यसरी उचाल्ने-पछार्ने को छ ?’

‘यसको मुनि भूत छ क्यारे गीताले भनी । तर ऊ आफू फेरि यस बटारिने धरतीमा कैद हुने कुराले रुन थाली, ‘अब कसरी घर जाने !’ यो मडारिने धरती साँच्चै अनौठो र डरलाग्दो थियो । केटाकेटीहरू बल्लतल्ल उठ्थे । फेरि उनीहरूले टेकेको धरती छालजस्तै उठ्थ्यो, कि भुमरीझैं भासिन्ध्यो, कि त पहिरोजस्तै भिरालिन्थ्यो । केटाकेटीहरू पनि धरतीका साथै कहिले माथि उराल्लिन्थे, कहिले तल बजारिन्थे । अनि कहिले भिरालोमा गुल्टनबाजी खाँदै तल पुग्थे । यसरी गुल्टिँदा काम्टेका काम्टाहरू टाङटाङ र टुङटुङ गर्दै बज्न थाल्थे ।

भकुन्डे भाइ’ अमर करायो ‘अब हामी यहाँबाट कसरी उम्कने होला ?’

यहाँबाट उम्कन त त्यही भ्वाङ भेट्टाउनु पर्छ’ भकुन्डे भाइले जवाफ दियो डन्द्रजाली रूखमा ओर्लने त्यही मात्र बाटो छ ।’

भकुन्डे भाइ एउटा ढिस्कोबाट गुल्टनबाजी खाँदै तलतिर-तलतिर पुग्यो । भकुन्डे भाइको कुरा सुनेर केटाकेटीहरू डराए । अब कसरी भेट्ने त्यो बादलको भ्वाङ ? यही मडारिने धरतीमा थुनिएर बस्नु पर्यो भने के गर्ने ? उनीहरू भ्वाङको खोजीमा भौतारिन थाले ।

क्रमश…