अपराध र सजाय

सहरको न्यायाधीश अगाडि सरेर सोध्यो : अपराध र सजायका बारेमा हामीलाई बताउनुहोस्‌ ।

उसले भन्यो :

तिम्रो आत्मा हावासँगै निरुद्देश्य घुम्न थाल्दा, तिमी एक्लो र असंरक्षित रहँदा तिमीले अरूप्रति र स्वयंप्रति अपराध गर्छौ ।

सो अपराधका कारण स्वर्गको ढोका नखुल्दासम्म उपेक्षित हुँदै तिमीले प्रतीक्षा गर्नुपर्नेछ ।

समुद्रजस्तै छ तिम्रो दिव्य स्वरूप । यो सदा अदूषित रहन्छ ।

आकाशले जस्तै यसले पनि पखेटाधारीहरूलाई मात्र माथि उठाउँछ ।

सूर्यजस्तै छ तिम्रो दिव्य स्वरूप ।

यसलाई छुचुन्द्राको गति थाहा हुँदैन न त यसले सर्पको दुलो खोज्छ ।

तर तिम्रो अस्तित्वमा तिम्रो दिव्य स्वरूप एक्लै रहँदैन । अझै तिम्रो अन्तष्करणमा मानव धेरै अंशमा छ, अझै धेरै अंश मानव बन्न सकेको छैन ।

तर एउटा निराकार प्राणी नीदमै जागृतिको खोजमा धमिलो उज्यालोमा हिँडिरहन्छ ।

अब तिमीभित्र रहेको मानिसको सम्बन्धमा म बोल्छु । किनभने तिम्रो दिव्य-स्वरूप वा निराकार रूप होइन, तिमीभित्र रहेको त्यही मानिसले अपराध र अपराधको सजायसम्बन्धी, समझ राख्दछ ।

अपराधकर्ताका सम्बन्धमा त्यो तिमीमध्ये कोही नभएर तिम्रो दुनियामा अनधिकार घुस्ने कोही अपरिचित हो भनी तिमीले भन्ने गरेको मैले सुनेको छु ।

तर मेरो भनाइ के हो भने कोही साधु-महात्मा त्यो सर्वोच्च उचाइभन्दा माथि उठ्न सक्दैन जुन उचाइमा तिमीहरू सबै पुग्न सक्छौ ।

कुनै दुष्ट र दुर्बल व्यक्ति त्यसभन्दा निकृष्ट हुन सक्दैन जुन निकृ्‌ष्टता तिमी स्वयंभित्र छिपेको छ ।

जसरी वृक्षको एउटै पात सम्पूर्ण रुखको मौन स्वीकृति विना पहेँलिदैन ।

उसैगरी एउटा अपराधीले तिमीहरू सबैभित्रको प्रच्छन्न आकांक्षा बेगर कुनै अपराध गर्न सक्तैन ।

एउटा जुलूसजस्तै तिमी आफ्नो दिव्य स्वरूपतर्फ अग्रसर रहन्छौ ।

तिमी मार्ग हौ र यात्री पनि ।

तिमीहरूमध्ये कोही लड्यो भने उसले पछिका सबै यात्रीहरूलाई सावधान बनाउँछ । ठेसलाग्ने ढुङ्गोप्रति सबै सतर्क रहन्छन्‌ ।

अँ, ऊ अघि जानेहरूका कारण लडेको हो जो ऊ भन्दा पहिला गए । तिनीहरू द्रुत गतिमा हिँड्दै थिए र आफ्ना गोडाहरूप्रति निश्चिन्त थिए तर बाटोको ठेस लाग्ने ढुङ्गो तिनीहरूले हटाएनन्‌ ।

यो पनि सुन, यद्यपि शब्दहरू तिम्रो हृदयमा गहौँ बन्छन्‌ :

मारिने मानिस स्वयं पनि हत्याको आरोपदेखि मुक्त छैन ।

लुटिएको मानिस स्वयं पनि निर्दोष हुँदैन ।

दुर्जनको कुकर्ममा सज्जन पनि निर्दोष हुँदैन ।

पाप गरेर हात रङ्ग्याउनेका सम्मुख सफा हात हुने स्वच्छ हुँदैन ।

अपराधी पनि अक्सर घाइते हुने मानिसद्वारा सताइएको हुन्छ ।

अझ धेरैजसो त दण्डित व्यक्ति निर्दोष वा निष्कलंक व्यक्तिको बोझ बोक्नेवाला हुन्छ ।

तिमी न्यायलाई अन्यायबाट र असललाई खराबबाट अलग गर्न सक्तैनौ ।

किनभने ती दुवै सूर्यको सम्मुख एकसाथ उभिन्छन्‌ । जसरी कालो र सेतो धागो एकसाथ बुनिन्छन्‌ ।

जब कालो चाहिँ धागो चुँडिन्छ, सूचीकारले सम्पूर्ण वस्त्र नियाल्छ र तानलाई समेत परीक्षण गर्छ ।

यदि तिमीहरूमध्ये कसैले सतित्त्वहीन पत्नीलाई न्यायको कठघरामा ल्याउँछौ भने,

उसको पतिको हृदयलाई पनि न्यायको तराजुमा राख र मापदण्डअनुसार मापन गर ।

अपराधीलाई कोर्रा लगाउनेले जसप्रति अपराध गरिएको थियो उसको आत्मालाई पनि नियालोस्‌ ।

तिमीमध्ये कसैले सत्कर्मको नाममा खराब वृक्षमाथि बन्चरो चलाउँछ भने उसले त्यसका जडहरू पनि हेरोस्‌ ।

निश्चय नै उसले असल र खराब, फलयुक्त र फलहीन जडहरू पृथ्वीको नि: शब्द हृदयमा साथ-साथ जोल्टिएर रहेको पाउनेछ ।

न्यायकामी न्यायाधीशहरूहो,

जो बाहिरी रूप इमान्दार तर भित्री स्वरूपमा चोर छ उसलाई के सजाय दिन्छौ ?

जसले मानव शरीरको हत्या गर्छ तर जसको आफ्नै आत्माको हत्या गरिएको छ, उसलाई के सजाय दिन्छौ ?

जो कर्ममा धोकेबाज र परपीडक छ तर स्वयं अत्याचारबाट पीडित र थिचोमिचोमा परेको छ, उसमाथि कसरी मुद्दा चलाउँछौ ?

जसको पश्चात्ताप पहिले नै उसको दुष्कर्मभन्दा अधिक छ उसलाई कसरी तिमीहरूले दण्डित गर्छौ ?

के यही पश्चात्ताप नै कानुनले दिएको न्याय होइन जसको पालना गर्ने प्रयास तिमीहरू सबै गरिरहन्छौ !

आखिर निर्दोषमाथि पश्चात्ताप थोपर्न तिमीहरू सक्दैनौ न त दोषीको हृदयबाट यसलाई उतार्न सक्छौ ।

मानिसहरू जागून्‌ र आत्मा निरीक्षण गरून्‌ भनी रातमा अनायासै यो तिमीलाई भेट्न आउँछ ।

समग्र क्रियाकलापलाई सम्पूर्णताको प्रकाशमा नहेरी जान्न चाहनेले न्यायलाई कसरी जान्नेछौ ?

सदाचारी र पतितहरू भनेका रातका निस्पट्टता र दिनको देदिप्यमान आकृतिबीच गोधूलीमा उभिएको एउटै मानिस हो भन्ने तबमात्र तिमीले बुझ्नेछौ ।

मन्दिर चोसे ढुङ्गा जग खन्दा गाडिएको ढुङ्गाभन्दा उच्च हुन सक्दैन ।