भागः २५, अंशः ३ 

मैले सपनामा तल्लो तलाको लाउन्जमा फर्केर गएको देख्छु । डा. नवाजभित्र आउँछन्‌ र म उनलाई भेट्न उठ्छु । उनले त्यो कागजको मास्क फुकाल्छन्‌ । उनको हात अचानक मैले सम्झेभन्दा सेतो लाग्छ । उनका नङ्गहरू काटिएको छ, कपाल चिटिक्क सिउँदो कोरेको छ र म उनलाई डा. नवाज जस्तो कत्ति पनि देख्दिन, बरू
म उनलाई त्यही गमलाको गोलभेडा वाला राजदुतावासको त्यही सानो मान्छे, रेमन्ड आन्द्रूज जस्तो देख्छु । आन्द्रूज टाउको छड्के पार्छ र आँखा खुम्च्याउँछ ।

दिनको समयमा अस्पतालको हल वेका कुना काप्चा सबै मान्छेले ठेलम ठेल भरिन्छ भने टाउको माथि मर्करी बत्ती बल्दा टर्रै आवाज आउँछ । मैले अस्पताल भवनको बनावटको बारेमा थाहा पाएँ । थाहा भयो कि पूर्वी भागको एलिभेटरको चौथो तलाको बटनको बत्ती बल्दोरहेनछ । त्यही तलाको पुरूषहरू मात्र बस्ने कोठाको ढोका जाम भएको रहेछ र खोल्नलाई कुहिनोले जोडसँग ठेल्नपर्ने भएको रहेछ । मैले बुझ कि अस्पतालको जीवनमा एउटा लय रहेछ । जस्तो कि बिहानीको सिफ्ट फेरिँदा हुने हल्ला खल्ला र अबेर रातको सुनसानलाई चिर्दै कसैलाई बचाउनलाई यताउता सल्याङमल्याङ गर्ने डाक्टर र नर्सहरूको चटारो | म दिनमा चनाखो बनेर शोहरबकै ओछ्यान छेउ बस्थेँ भने रातमा अस्पतालका ती नागबेली कोरिडरहरूको टाइलमा हिल जुत्ता बजेको आवाज सुन्दै र शोहरब बिउँझियो भने म उसलाई के भनूँला भनेर सोच्दै यताउता चहार्थे । म लत्रक्क थाकेर त्यही आईसी.यू मा उसका बेड छेउको स्स्स्स गरिरहेको भेन्टिलेटर छेउमा आएर बस्थेँ । के हुँदै छ मलाई अलिकति पनि थाहा हुन्थेन ।

आईसि.यूमा तीन दिन राखेपछि उनीहरूले शोहरबको ब्रेथिङ्ग ट्युब निकालिदिए र उसलाई होचो बेडमा सारे | उसलाई सार्दा म त्यहाँ थिइन । अलिकति निद्रा पर्छ कि भनेर म त्यही होटेलको कोठामा सुत्न गएको थिएँ, तर घरि यता घरि उता कोल्टे फर्केरै झिमिक्क नगरी रात बित्यो । बिहान मैले त्यो बाथटबलाई देख्नै नपरे हुन्थ्यो
जस्तो गरेँ | कसैले रगत पुछिदिएको रहेछ । त्यसैले अहिले त्यो सफा थियो । भित्तामा पोचा लगाएको रहेछ र भुइँमा नयाँ चकटी ओछ्याएको रहेछ, तर मलाई त्यो  बाथटबको चिसो पोर्सलिनको छेउमा नबसिकन मनले मानेन | शोहरबले बाथटबमा तातो पानी भर्दै गरेको तस्विर मेरो आँखा सामु आयो । मैले उसले लुगा खोल्दै गरेको
देखेँ । उसले रेजरको हेन्डल घुमाएर खोलेर त्यसमा ब्लेड राखेर दुई औंलाले हेन्डल समातेको देखेँ । मेरो आँखा अगाडि ऊ बाथटबमा पसेर एक छिन आँखा चिम्लिएर पल्टिरहेको तस्विर आयो । उसले त्यो ब्लेड हातमा लिएर आफ्नो घाँटी रेट्यु अघि अन्तिम पटक उसले के सोचेको थियो होला भनेर आश्चर्य मान्दै सोचेँ ।

म लबीबाट बाहिर निस्कँदै गर्दा त्यो होटेल म्सानेजर मि. फैयाज मेरो छेउमा आयो । तपाईँको हालत देखेर म दुःखी छु उसले भन्यो । “तर कृपया तपाईंले मेरो कोठा छोडिदिनोस् भनेर म अनुरोध गर्छु । यसले मेरो व्यवसायमा ठूलो घाटा पार्छ, ठूलो घाटा ।’

मैले उसलाई आफूले उसको समस्या बुझेको कुरा सुनाएँ र कोठा छोडिदिएँ । मैले हस्पिटलमा बिताएको तीन रातको चाहिँ पैसा उसले लिएन । होटेलको लबी बाहिर उभिएर ट्याक्सी कुरिरहँदा मैले त्यस रात ऊ र म भएर शोहरबलाई खोज्न जाँदा मि. फैयाजले भनेको कुरा मैले सम्झै । उसले भनेको थियो- तपाईं अफगानीहरूको
एउटा बानी – अँ त्यो के भने तपाईंहरू अलि ज्यानको माया नमान्ने खाले हुनुहुन्छ । त्यो सुनेर म हाँसेको थिएँ तर अहिले म त्यो उसको भनाइ सही हो वा होइन भनेर आश्वर्य मानेर सोच्दै छु । के शोहरबलाई सबैभन्दा सुन्न डर लाग्ने खबर सुनाएपछि साँच्चिकै म सुत्न गएको थिएँ त ?

जब म ट्याक्सीमा चढेँ मैले ड्राइभरलाई कुनै पर्सियन बुकस्टोर देखेको छ कि छैन भनेर सोधेँ । उसले एउटा त दुई किलोमिटर जति दक्षिणमा छ भन्यो । अस्पताल जाँदा हामी त्यहाँ राकियौँ ।

शोहरबको नयाँ कोठाको भित्तो किम कलरको रहेछ । गाढा फुस्रो रङको टायलको बीट फुटेको र मैलो रङको टायल लगाएको थियो जुन पहिला पक्कै पनि सेतो रङको थियो होला ! उसको कोठामा अर्को एउटा भर्खरको पन्जाबी केटो पनि थियो जसको दौडिरहेको बसको छतबाट खसेर खुट्टा भाँचिएको रहेछ | जुन कुरा पछि मैले एउटा नर्सबाट थाहा पाएँ । उसको खुट्टामा प्लास्टर गरिएको थियो र माथि ठड्याएर टङले च्यापेर थुप्रै इँटाहरू झुन्ड्याएर तन्काएको थियो !

शोहरबको कोठा झ्यालकै छेउमा थियो । लाम्चो सिसाबाट छिरेको बिहानीको घाम परेर तल पट्टिको आधा भाग उज्यालो भएको थियो । एउटा युनिफर्म (पोशाक) लगाएको सुरक्षा गार्ड झ्यालमै उभिएर तर्बुजाको पकाएको बियाँ चपाउँदै थियो । शोहरबले फेरि आत्महत्याको प्रयास गर्ला कि भनेर चौबीसै घन्टाको कडा निगरानीमा
थियो । अस्पतालको नियम अनुसार उसमाथि परीक्षण गरिँदै छ भनेर मलाई डा. नवाजले भनेका थिए | गार्डले जब मलाई देख्यो ह्याट निकालेर नमस्ते गर्यो र बाहिर निस्क्यो ।

शोहरब हस्पिटलकै छोटो पाइजामामा छातीसम्म ब्ल्यांकेटले ढाकेर झ्यालतिर अनुहार फर्काएर उत्तानो सुतेको थियो | मैले सोचेँ कि ऊ निदाइरहेको छ, तर जब मैले एउटा कुर्ची घर्र तानेर उसको बेडको छेउमा लगैँ उसको आँखाको ढकनी भर्भरायो र आँखा खुल्यो । उसले एकपाली मलाई हेर्यो र अनि परतिर हेर्यो । त्यत्रो रगत दिँदा पनि उसको अनुहार पहेँलो थियो । र, दाहिने पाखुराको घारमा ठूलो रातो खोस्रिएको दाग थियो ।

“तँलाई कस्तो छ ?” मैले भनेँ ।

उसले जवाफ दिएन । उसले झ्यालबाहिर अस्पतालको बगैँचामा भएको काँडे तारले घेरेको स्यान्ड बक्स र पिङ्ग हेरिरहेको थियो । लहरै उभिएका हिबिस्कस (Hibicus) को छायाँमा त्यो खेल मैदानको नजिकै त्यहाँ एउटा अर्घ वृत्ताकार थाँको थियो | काठको जालिदार थाँकोमा केही हरिया झालहरू उक्लिएका थिए | दुई चार जना केटाकेटीहरू त्यो स्यान्ड बक्समा बाल्टी खेलाउँदै थिए | त्यस दिन आकास छर्लङ्ग सफा थियो । मैले एउटा सानो जेट बिमान दोहोरो सेतो पुच्छर छोड्दै उडिरहेको देखेँ । म शोहरबतिर फर्किएँ । “मैले दुई चार मिनेट अघि डा. नवाजसँग कुरा गरेको थिएँ । उनलाई लाग्छ कि अब तँलाई दुई दिन भित्र डिस्चार्ज गरिने छ |  त्यो राम्रो खबर हो, होइन त ?”

फेरि मलाई सुनसानले ढाक्यो | कोठाको पल्लो छेउको त्यो पन्जाबी केटो निद्रामै सलबलायो र भुत्भुतायो । “मलाई तेरो कोठा राम्रो लाग्यो,” शोहरबको पट्टि बाँधेको नाडी देख्न नपरोस्‌ भनेर बल गर्दै मैले भनेँ । “यो उज्यालो रहेछ र बाहिर पनि देखिने रहेछ ।” सुनसान | केही वाक्क लाग्ने मिनेटहरू बिते | मेरो निधार र माथिल्लो ओठमा हल्का पसिना आयो । मैले उसको नाइट स्ट्यान्डमा नखाइकन राखेको एक कचौरा हरियो केराउको आउस (Aush) र जुठो नपारेको चम्चातिर देखाएँ । “तैँले केही खानलाई बल गर्नुपर्छ | अनि तेरो कुवात (Quwat) तेरो बल आउँछ । के मैले ख्वाइदिउँ त ?

क्रमश….

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।