कविताः भित्तामा टाउको बजारेँ मैले 

सानी छँदा
आगामा औंलो झोसेँ मैले
योगी भै टोपल्नका लागि ।

किशोरी छँदा
दिनहूँ बजारेँ
भित्तामा टाउको ।

अन्ना स्विर

युवती छँदा
बुइँगलका झ्यालहरूबाट छिरेर उक्लिएँ छानामा
हाम्फाल्नका लागि ।

आइमाई भएपछि
मेरो जिउभरि जुम्रा परे ।
पट्पट् मर्थे ती
मैले सुइटरमा स्त्री लगाउँदा ।

साठी मिनेटसम्म पर्खिएँ मैले
मारिनका लागि ।
छ वर्षदेखि भोकी थिएँ म ।

छोराछोरी जन्माएँ त्यसपछि मैले
सुत्न नदिई कुँदिरहे
तिनीहरूले मलाई ।

त्यसपछि चट्याङले तीनपल्ट मार्यो मलाई
र मैले तीनपल्ट ज्यूँदिनुपर्यो
कसैको सहयोग बिना ।

थकाइ मार्दैछु म यसबेला
तीनपल्टको पुनर्जन्मपछि ।

सुमन पोखरेल