यो त्यो बेलाको कुरा हो, जुन बेला हिन्दीका प्रख्यात कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ले चौतर्फी वाहवाही पाएको थियो । बिहारका अर्का प्रख्यात साहित्यकार रामवृक्ष बेनीपुरीले आफ्नो गाउँठाउँका युवाहरू मधुशालाका प्रत्येक पद, प्रत्येक शब्दलाई गाउँदै रक्सीको महिमा अपरम्पार मान्दै पिउँदै गरेको देखेका थिए । साहित्यले त समाज र युवालाइ बाटो देखाउने हो, भ्रष्ट त बनाउने होइन नि ? भन्ने धारणा राख्ने बेनीपुरीलाइ बच्चनको मधुशाला बिल्कुलै मन परेन ।
कलमका जादुगर उपनाम पाएका बेनीपुरीले यसरी रक्सी खान प्रेरित गर्ने बच्चनलाई फेला पार्नेबित्तिकै गोलीले उडाइदिने घोषणा गरे ।
यस्तो सुनेपछि वचनका पक्का बेनीपुरीलाई भ्रम भयो भन्ने ठानी अर्का साहित्यकार प्रफुल्ल चन्द्र ओझा ‘मुक्त’ले बेनीपुरीलाई भने, ‘बच्चन त रक्सी छुँदा पनि छुँदैनन्, तपाईं चाहिँ उनीमाथि गलत धारणा पालेर बसिरहनु भएको छ ।’
तर उनी टसको मस भएनन् । ‘उनी खाँदैनन् होला तर खान त प्रेरित गरे नि !’ भेटका बेला बच्चनलाई अवश्य हायलकायल बनाउँछु भन्ने जवाफ दिइरहे ।
सोही अवधिताका हरिवंश राय बच्चनले विहारको मुजफ्फरपुरबाट काव्यवाचन समारोहका लागि निमन्त्रणा पाए ।
केही साथीले बेनीपुरीको घोषणा सम्झाउँदै त्यता नजान आग्रह गरे । कतिसम्म भने उनकी प्रथम पत्नी श्यामाले पनि बिहार नजाऊ, बेनीपुरीले गोली हानी दिए भने मेरो के होला भनेर रून थालिन् ।
पत्नी श्यामालाई हाँस्दै, सम्झाउँदै भने, ‘चिन्ता नगर । उसले गोली हानी मार्यो भने मधुशाला त अमर हुन्छ नै, कवितासँगै म पनि अमर हुन्छु । एउटा साहित्यकारका लागि अमर हुनुजस्तो ठूलो कुरा के हुन सक्छ ?’
विहारको मुजफ्फरपुर पुग्दा हरिवंश राय बच्चनलाई भेट्न आउनेमध्ये बेनीपुरी पनि एक थिए । बेनीपुरीले बच्चनलाई आफ्नो घरमा खानपिनको निम्ता मात्र होइन, उनकै कविता उनैलाई सुनाएर हैरान पारे ।
हरिवंश राय बच्चनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘बेनीपुरीको बाहिर जस्तो छवि छ, त्यस्ता रहेनछन् । र, उनी प्रचार गरिएजस्ता भए पनि म उनको डरले नजाने व्यक्तिमध्ये पनि त परिनँ !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।