विजयी हुने कुरामा विश्वस्त छु – सुरेन उप्रेती

संसारभर ३ हजारभन्दा धेरै आजीवन सदस्य रहेको नेपाली भाषा साहित्यकै सबैभन्दा ठूलो सञ्जाल भएको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)’ को निर्वाचन नजिकिँदैछ । आगामी जुलाई ७ देखि ९ तारिख हुन गइरहेको अधिवेशनले अनेसासको १८ औँ केन्द्रीय अध्यक्ष चयन गर्नेछ । दुई वर्षे कार्यकाल (सन् २०२६-२०२८) का लागि हुन गइरहेको अधिवेशनमा अनलाइन भोटिङमार्फत विश्वभर रहेका अनेसासका आजीवन सदस्यहरूले मतदानमा सहभागी हुन पाउनेछन् । सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरिमा ८० भन्दा धेरै यसका शाखहरू रहेको र त्यसमार्फत ३ हजार जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरू अनेसासमा आबद्ध रहेको बताइन्छ ।

यस पटकको अधिवेशनमा साहित्यकारद्वय लालगोपाल सुवेदी र सुरेन उप्रेतीले अध्यक्ष पदका लागि उम्मेद्बारी घोषणा गर्नुभएको छ । साहित्यकार सुवेदी लामो समयदेखि अमेरिकामा रहँदै आउनुभएको छ भने साहित्यकार उप्रेती क्यानडामा बस्दै आउनुभएको छ । यिनै दुई उम्मेद्वारमध्ये हामीले साहित्यकार उप्रेतीसँग नजिकिँदै गरेको अनेसासको निर्वाचनमा केन्द्रित रहेर केही कुराकानी गर्ने कोशिश गरेका छौँ ।

साहित्यकार उप्रेती अनेसास क्यानडाको संस्थापक अध्यक्ष (सन् २००४) हुनुहुन्छ भने लगातार तीन कार्यकाल उहाँ अध्यक्षमा रहनुभयो । सन् २०१० देखि हालसम्म उहाँ अनेसास क्यानडाको सल्लाहकार हुनुहुन्छ । त्यसैगरी उहाँले अनेसासको केन्द्रीय कार्यसमितिमा महासचिव (सन् २००६-२००८) को जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । अन्य विभिन्न संघसंस्थामा आबद्ध रहेर सक्रिय जीवन बाँचिरहनु भएका उप्रेती साहित्यिक र सामाजिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । थुप्रै साहित्यिक कृति प्रकाशित गरिसक्नुभएका साहित्यकार उप्रेतीको जन्म भने पाँचथरमा भएको थियो ।

अब प्रस्तुत छ साहित्यकार उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश….

 

१) अनेसासको केन्द्रीय अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ । अनेसासमा तपाईंको उम्मेद्वारी किन ?

– अनेसासको स्थापना भएको पनि ३५ वर्ष भइसक्यो । यति लामो अवधिसम्म पनि अनेसासको आफ्नो भवन छैन । संस्थाको ठेगाना स्थापनाकालमा जुन थियो, अहिले पनि त्यहीँ नै छ । आफ्नो भवन नहुँदा हाम्रा कृतिहरू, प्राप्त पुरस्कार र सम्मानहरू यावत कुरालाई व्यवस्थित गर्न सकिएको छैन । अनेसासको भवन बनाउन अपरिहार्य बनेको छ । अनेसासको केन्द्रमा र नेपालमा भवन बनाउनका लागि मेरो पहिलो प्राथमिकता हुनेछ । अनेसासको वेवसाइडलाई व्यवस्थित गर्न सकिएको छैन । आजीवन सदस्यहरूको फोटोसहितको अपडेड गर्न सकिएको छैन । जसले गर्दा प्रत्येक जसो निर्वाचनमा मतदाता सर्जकहरूको गुनासाहरू आउने गरेका छन् । नेपाल बाहिर रहेका नयाँ पिँडीलाई नेपाली भाषा सिकाउन सकिएन भने हाम्रो भाषा साहित्य र संस्कृति हराउने छ । हाम्रो पहिचान हराउनेछ । अत: नेपाली भाषा कक्षाहरू हरेक देश र शहरमा शुरू गर्नु जरूरी छ । त्यसका लागि अभिभावकलाई समेत उत्प्रेरित गर्नु आवश्यक छ । अरू उस्तै प्रकृतिका संघसंस्थाहरूसँग सहकार्य गरेर प्रशिक्षणमा एकरूपता ल्याउनु पर्ने छ । पाठ्यपुस्तक र पाठ्यसामाग्री उत्पादन गर्नु छ । नेपाली साहित्यलाई अन्य भाषीसम्म पुर्‍याउन अनुवाद गर्नु छ । पठन संस्कृति हराएको छ । त्यसलाई बढाउन र गुणस्तरीय लेखन संस्कृतिको विकाश गर्नु छ । अनेसासलाई एकताको सूत्रमा बाँधेर सशक्त बनाउँदै नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि मेरो उम्मेदवारी हो ।

२) तपाईंसँगै साहित्यकार लालगोपाल सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेद्बारी दिनुभएको छ । आफ्नो जीतको सम्भावना कति देख्नुहुन्छ ?

– म साहित्य लेखनका साथसाथ एक कुशल सङ्गठक पनि हुँ । मैले अनेसास, एनआरएन र अन्य सामाजिक संघसंस्थामा रहेर महत्त्वपूर्ण कामहरू सहजताका साथ सम्मन्न गरेको छु । सामूहिक प्रयासमा हामीले ठूलाठूला सम्मेलन, सभाहरू सम्पन्न गरेका छौँ । ती कार्यक्रमहरूमा मेरो महत्वपूर्ण भूमिका रहेको थियो । ती कुरा अनेसासका आजीवन सदस्य र विद्वान साहित्यकारहरूलाई थाहा छ । प्रत्येक सम्मेलनमा मैले गरेका जिम्वेवारीपूर्ण गतिविधिबाट सहभागी साहित्यकारहरू परिचित हुनुहुन्छ । सन् २०२२ सालदेखि अनेसास क्यानडाले ‘हजुरबा हजुरआमा’ दिवस र नेपाली राष्ट्रिय पोशाक दिवस मनाउन सुरू गरेको छ । नेपाल सरकारसँग समेत अनुरोध गरेर नेपालीको पहिचान जोगाउने कार्यको थालनी मेरै सक्रियतामा सुरूवात भएको कुरा सबै मतदाताहरूलाई थाहा छ । यिनै कुराहरूले गर्दा विजय हुने कुरामा म विश्वस्त छु ।

३) तपाईंको चुनावी घोषणापत्रको पहिलो नम्बरमै ‘अनेसासको भवन निर्माण’लाई प्राथमिकतामा राखिएको छ । साहित्यको विकासमा भवनको सम्बन्ध के छ ?

– हो, मेरो घोषणापत्रको पहिलो नम्बरमा नै अनेसासको भवन निर्माणलाई प्राथमिकताकासाथ राखिएको छ । जबसम्म बस्ने थातथलो हुँदैन, तबसम्म सुरक्षित बसोबास हुँदैन । कार्यालयलाई कहिले कता र कहिले कहाँ सारिरहनु पर्ने भएको हुँदा अनेसासका भौतिक आर्जनहरूलाई व्यवस्थित राख्न सकिएको छैन । डेरा बस्नेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरेपछि धेरै समयसम्म सामान नभेटिएको म पनि भुक्तभोगी नै हुँ । जब आफ्नै भवन हुन्छ, तबमात्र संस्थागत विकासमा ध्यान पुर्याउन सकिन्छ । हाम्रा सम्पति भनेका सिर्जनाहरू हुन् । हामी हरेक दुई वर्षमा उत्कृष्ट कृतिलाई पुरस्कृत गर्छौँ । हामीसँग हजारौँ पुस्तक सङ्कलित हुनु पर्ने हो । तर घर नभएपछि पुस्तकहरू पनि छैनन् । हरेक सम्मेलनमा लाखौँको सामान ल्याउँछौ । तर कार्यक्रम समाप्त हुँदा राख्ने ठाउँ नभएर सामानहरू कसैका बेसमेन्टमा शरणार्थी बन्न बाध्य छन् । बैठक बस्नलाई रेस्टुरेन्टमा जानु पर्छ । हामी ३५ वर्षसम्म पनि घरविहीन छौँ । घर नभएसम्म संस्था र संस्थासँग आबद्धहरूले सुरक्षित महसूस गर्न सकिँदैन । यिनै कारणहरूले अनेसासको भवन निर्माण पहिलो प्राथमिकतामा परेको हो ।

४) अनेसासको एउटा उद्देश्य, नेपाली भाषा साहित्यलाई विश्वबजारमा पुर्‍याउनु पनि हो । भोलिका दिनमा यसलाई कसरी अगाडी बढाउने योजना छ ?

– अनेसासले नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि काम गर्ने संघसंस्थाहरूसँग समन्वय गरी अनुवादलाई प्राथमिकतामा राखेर अगाडि बढाउने योजना छ । नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपालभित्र रहेका सबै विश्वविद्यालयहरू, गैरआवसीय नेपाली संघको भाषा साहित्य विभाग, विश्वसाहित्य महासंघ र भारत तथा अन्य मुलुकमा रहेका नेपाली भाषा पढाउने विश्वविद्यालयसँग सहकार्य गरी अनुवाद गरेर विश्वव्यापी बनाउने । साहित्यमा नोवेल पुरस्कार र त्यस्तै प्रकृतिका ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित व्यक्तिहरूलाई नेपालमा ल्याएर नेपाली साहित्यकारहरूसँग कार्यशाला गोष्ठी गर्ने । सहप्रकाशनहरू गर्ने, जसले नेपाली साहित्यलाई अन्य भाषाभाषी समक्ष पुर्याउने छ । अनेसासले अङ्ग्रेजी  भाषामा अन्तर्राष्ट्रिय स्तरमा जर्नल प्रकाशन गर्ने । यी कार्यले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास गर्दछु ।

५) मैले पहिले पनि बेलाबेला उठाउने सवाल के हो भने – नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा फाल्टै विभाग होस्, जसले नेपालभन्दा बाहिरको नेपाली साहित्यका लागि मात्र काम गरोस् । तपाईंको चुनावी घोषणापत्रमा पनि यो कुरा उल्लेख गर्नुभएको रहेछ । यसलाई कसरी  कार्यन्वयन गर्न सकिएला ?

– महत्त्वपूर्ण प्रश्नका लागि धन्यवाद ! नेपाल बाहिर रहने नेपालीहरूको सङ्ख्या लाखौँ पुगिसकेको छ । अब नेपाल संसारका धेरै देशहरूमा पुगेको छ । अब प्रज्ञा प्रतिष्ठान पनि पुरातन शैलीमा मात्र सीमित रहनु हुँदैन । अब कसरी नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने भन्नेमा पहल थाल्नु पर्छ । नेपालभित्रका जातजातिहरूका भाषा, साहित्य, संस्कृतिको उन्नयनका लागि धेरै संघसंस्थाहरूले काम थालनी गरेका छन् । अब नेपाल भित्रकालाई समन्वय गर्ने र प्रोत्साहन गर्ने शाखाहरूमा मात्र सिमित नरही, संसारका प्रमुख भाषाहरूमा अनुवाद गर्ने शाखाहरू खोल्नु आवश्यक छ । अब प्रज्ञा परिषद, प्राज्ञ सभा गठन गर्दा नेपालभन्दा बाहिरका सर्जकहरूलाई अवैतनिक रूपमा भए पनि प्राज्ञको रूपमा राख्नु पर्दछ । उहाँहरूको विद्वतालाई नेपाल प्रज्ञा प्रतिष्ठानले उपयोग गर्न सक्नु पर्दछ । सरकारलाई भाषा साहित्य संस्कृति पाठ्यपुस्तक आदिको गुणस्तर र उन्नयनका लागि सल्लाह सुझाव दिन सक्नु पर्दछ ।

६) नेपालभन्दा बाहिर (भारत बाहेक) रहेको नेपाली समुदायको दोस्रो पुस्तामा नेपाली भाषा साहित्यको हस्तान्तरणलाई लिएर ठूलो बहस हुने गरेको छ । यो एउटा चिन्ताको विषय पनि मानिन थालिएको छ । अनेसासले भोलिका दिनमा यसबारेमा के कस्ता काम गर्ने योजना बनाएको छ ?

– हामीहरू समयमै सचेत नहुने हो भने अबको दुई पुस्तापछि नै नेपालभन्दा बाहिर रहेका नेपाली भाषीहरूको पहिचान गुम्नेछ । भाषा केवल भावना विनिमय गर्ने साधन मात्र हैन । भाषाभित्र साहित्य, संस्कृति, संस्कार, सम्पदा जस्ता सम्पत्तिहरू अव्यक्त रूपमा रहेका हुन्छन् । ती नै हाम्रा पहिचानका श्रोतहरू हुन् । रूप रङमा साउथ एशियनहरू र दक्षिण अमेरिकनहरूमा खासै भिन्नता छैन । हामीलाई पहिचान गराउने, अलग गराउने भनेकै भाषाले गर्दा हो । भाषा जोगाउनका लागि हरेक नेपालीका घरमा नेपाली भाषा बोल्न प्रोत्साहित गर्ने । नेपाली चाडपर्व रितिरिवाजलाई पालना गर्ने । नेपाली भाषा कक्षाहरू सञ्चालन गरी सहज ढङ्गले भाषा सिकाउने । हरेक महादेशमा अर्थात एउटै समय हुने ठाउँमा अनलाइनबाट भाषा कक्षा सञ्चालन गर्ने ।

७) एउटा कुरा नि – छोराछोरीकै सुखद भविष्यको खोजी गर्दै हामी आफ्नो देश छोडेर अन्य देशमा ‘सेटल’ हुन जान्छौँ । फेरि तिनै सन्तानले आफ्नो देशको भाषा बिर्सिए/बिर्सिएलान् भनेर चिन्ता गर्नु कतिको सान्दर्भिक होला ?

– गम्भीर कुरा हो यो । हामी सुखद भविष्यको खोजीमा भौँंतारिएका अवश्य हो । तर मानिसलाई आत्मसम्मान भएन भने बाँच्न सक्दैन । पहिचान भएन भने मानिसको आत्मसम्मानमा चोट पुग्दछ। अवहेलना सहेर दीर्घकाल चल्दैन । स्थानान्तर हुने बित्तिकै हाम्रो शारीरिक बनावट, कपालको र अनुहारको रङ फेरिँदैन । नयाँ भाषा बोल्दैमा मानिसको पहिचान फेरिँदैन । “तिमी कुन देशबाट आएको हो ?” भनेर कसैले सोध्दा, गर्वकासाथ उत्तर दिन पनि आफ्नो पहिचान जोगाएर राख्न सक्नु पर्छ । अमेरिका या बेलायतमा बसेका नेपाली मूलका बालबालिकाले त्यहीँ जन्मिए पनि त्यहाँको जस्तो भाषा र संस्कृति जानेका हुँदैनन् । यो भाषा साहित्य र संस्कृति पनि पुस्तान्तरण हुँदै गएको हुन्छ । स्ल्याङ शब्दहरू स्थानीय बोलिचालीका भाषाहरू ठेट शब्दहरू हाम्रा नानीबाबुहरूले सुनेकै हुँदैनन् । भाषा गुम्यो भने लटाईबाट छुटेको चङ्गाजस्तै बन्ने छौँ हामी ।

८) प्रवासको नेपाली साहित्यको वर्तमान अवस्था चाहिँ कस्तो देख्नुहुन्छ ? र हाम्रा चुनौतीहरू के के हुन् ?

– प्रवासका नेपाली साहित्यहरू अधिकांश प्रवासका पीडा, कुण्ठा, आक्रोश, राजनितिक विभेद, राजनीतिक विकृति विसङ्गति, हिंसा अनुभूति, यात्रा, वियोग, पारिवारिक विखण्डनमा केन्द्रित भएर लेखिएका पाइन्छन् । खोजमूलक तथ्यमा आधारित भएर कमैमात्र सिर्जना भएका पाइन्छन् । यीभन्दा माथि उठेर लेख्न सक्नु नै हाम्रो चुनौती हो ।

९) विश्वभरि रहेका नेपाली सर्जकहरूलाई एउटै मालामा उन्ने काम त अनेसासले गर्दै आइरहेको छ । लेखनको गुणस्तर मापन गर्ने र त्यसको सुधारको लागि के कस्ता कदमहरू चाल्दै आएको छ अनेसासले ? र भोलिको अवस्था के रहला ?

– पठन संस्कृति हराएर गएको छ । आफ्नो किताब पढेर राम्रो रहेछ भनेर लेखिदिऊन् भन्ने आग्रहबाट पीडित छन् साहित्यकारहरू । कतिखेर लेखिसकेर प्रकाशन गर्ने भन्ने हतारमा सर्जक बाँचेका छन् । तारे होटलमा लगेर केही पत्रकारलाई तैर्‍याउन पाएदेखि छापा रङ्गिनेछ भन्ने बुझेकाहरूले राम्रै जुक्ति लगाएको देखिन्छ । पुरस्कार पाउन सोर्सफोर्सका बुट्टा समातेर सर्जकहरू पुरस्कार थाप्छन् । यो प्रवृतिले पुरस्कार नै लजाएर रातोपिरो भएको कुरा बग्रेल्ती देखिन्छन् । लेखकलाई निर्मम भएर स्वास्थकर सल्लाह दिने संकाय पनि छैन । प्रशिक्षण, कार्यशाला, मेन्टरशिपको व्यवस्था गर्ने हो भने सिद्धान्त अनुरूपको सिर्जना हुने छ भन्ने मलाई लाग्दछ ।

१०) जाँदाजाँदै अन्त्यमा केही ?

– साहित्यपोस्टले नेपाली भाषा र साहित्यलाई उचाइमा लैजानका लागि कुनै वाद, विचार आदिबाट विचलित नभई विशुद्ध साहित्यको उन्नयनमा लागेकोमा बधाई छ । यसले श्रव्य पुस्तकहरू पनि प्रकाशन गरेको थाहा पाएर सुन्न पाउँदा समयसापेक्ष बगेको अनुभूति भयो । नेपाली भाषासाहित्यको गाम्भीर्यतालाई बुझेर गहन प्रश्न गर्नु भएकोमा तपाईंप्रति म नतमस्तक छु । चुनावको समीपमा पुगेको हुनाले अनेसास  सन् २०२६-०२८ को निर्वाचनमा अध्यक्ष पदमा विजय गराएर माथि प्रस्तुत कार्यलाई पूरा गर्नका लागि सबै अनेसासका आजीवन सदस्यहरूलाई अपील पनि गर्दछु । धन्यवाद !

१०/१० ब्याडीको सङ्गत (निबन्ध/नवपुस्ता)

तिमीले मलाई भनेको सम्झन्छु, “प्रेम हिँउमा लिखिएको नाम हो तर नाम पग्लिनलाई एक युग लाग्छ ! त्यो पुरिनलाई अर्को युग ! किनकि ती नाम प्रकृतिमै हराएर जान्छन्, प्रकृतिकै अज्ञात गर्भमा मिसिन !”

भैरव अर्यालले महापुरुषको सङ्गत निबन्ध लेखेका थिए । उनीप्रति मेरो उच्च सम्मान छ । लामिछानेले भने जस्तै मेरा लागि पनि लेखक देउता हो । देवकोटा हो ! तर म मान्छे हुँ । मान्छे आडम्बरी छ । दुःसाहसी छ । उस्तै परे देउताकै विरोध गर्न पछि पर्दैन । मानौँ प्रश्न र असहमतिले मान्छेलाई मान्छे बनाउँछ ।

त्यो निबन्धको शीर्षक नै मलाई चित्त बुझेन ‘महापुरुषको सङ्गत’ ! किनभने पुरुषका अघि ‘महा’ आउनै सक्दैन । जति जेसुकै भए पनि पुरुष केवल पुरुष मात्र हो । मे हो । सस हो । मिड हो !

कुरा केही समय अघिको हो, मेरा साथीहरू रिल देखेर ट्रेक जान मोटिभेटेड भए । म अल्छी मानिरहेको थिएँ, साथीका नाममा अब त्यही तीनचार जना बाँकी छन् । तिनले पनि छाडे भने रिल पठाउन पनि कोही बाँकी रहँदैनन् भन्ने डरले शुरुमा एकछिन मैले भाउ खाएजस्तो गरेँ । उनीहरूले पनि भाउ दिएजस्तो गरे । फाल्न त मैले पैसा छैन भन्ने ब्रह्यास्त्र फालेको थिएँ तर झुक्केर साथीहरू परे आफू भन्दा धनी । पैसाको टेन्सन गर्नुपर्दैन हाल्दिहाल्छु भन्दिए । हाल्दिन त हाल्देलान् । तिर्ने कसरी हो ? तनाब ! यो शहरमा भात खान गाह्रो छ । घुम्नु त लक्जरीमा पो पर्छ । जागिर खोजेको कति भो कतै पाइएकै छैन । हुन त देशमा जान्नेहरूको सुशासनपूर्ण, साम्यवादी सरकार आको छ रे, आफू भने कसरी भात खाने र भाडा तिर्नेभन्दा माथि उठ्न सकिएन । भो भो राजनीतिका कुरा कुनै अर्कै निबन्धमा गरौँला !

अँ, म के भन्दै थिए पुरुषका अघि महा हुनै सक्दैन जसरी वुमनका अघि इम्परफेक्ट लाग्नै सक्दैन !

खै कसरी कसरी हो आजभोलि ६ महिना, वर्ष दिनमा ट्रेक जाने बानी परेको छ । शहर छाडेर, सडक छाडेर हिमालतिर साँघुरा गोरेटातिर ! मलाई ट्रेक गर्दा ट्रेक मन पर्दैन ! अझ म अस्तित्ववादी र घोर निराशावादी बनिदिन्छु । जीवनको दुःख ! खराब बाटा । चिसो मौसम । कष्टकर जीवन । मानौँ मानिस किन हिमाल पुग्छ ! हिमाल फोटोमा औधी सुन्दर देखिन्छ । पन्ध्र सेकेण्डको रिलमा एस्थेटिक लाग्छ ! जब कि वास्तवमा हिमाल क्रूर छ, खुट्टा पोल्ने चिसो छ । दुःखको भारी ती भरिया दाजुभाइले बोक्ने भारी जस्तै गरुङ्गो छ । केका लागि ? एउटा पैसा भएको मान्छेले हिमालमा कोक खान सकोस् ? पिजा हसुर्न सकोस् ! ताकि आफूभन्दा माथि भएकाहरूले पैसाले क्षणिक आनन्द किन्न सकुन् ?

त्यो बाटो जो कतिले कष्टकर रूपमा हिँडिसके म पनि अहिले त्यही बाटो हिँड्दैछु । त्यही ठाउँ जहाँ कैय्यन्‌ मान्छेले फोटो खिचिसके म पनि त्यही फोटो खिच्दैछु । यो जो म महसूस गर्दैछु कैय्यनले महसूस गरिसकेका थिए । के यो अनुभव ओरिजिनल हो ? के भावनाहरू ओरिजिनल हुन्छन् ? त्यहाँ फोटो खिच्न नमिल्ने भए कति मान्छे जान्थे ? किन म इन्स्टाग्रामको एउटा स्टोरीका लागि यति दुःख गर्दैछु ? यो साँघुरो गोरेटो हिँड्दैछु । यो थकान महसूस गर्दैछु, ताकि उनले यो स्टोरीमा लाइक गरुन् । रिप्लाई त परको कुरा हो !

टोल्सटोय भन्थे एक जवान युवालाई अर्की प्रबुद्ध जवान युवतीको आवश्यकता पर्छ वा यस्तै केही ! ट्रेक शुरू गरेको आधा दिनमा एक सुन्दर पर्यटकसँग भेट भयो ! मैले अङ्ग्रेजीमा आफ्नो परिचय दिएँ र उनका बारे सोधेँ ! उनी स्वीडेनबाट नेपाल घुम्न आएकी रैछन् ! र मास्टर्स गर्दै रैछन् ! स्वीडेन भन्ने बितिकै मैले बर्गम्यानका बारे सोधेँ र उनले धेरै पहिले सेभेन्थ सिल हेरेको कुरा बताइन् । उनको प्रकृतिमोह देख्दा मलाई सरुभक्त सम्झनामा आए “हामीसँग प्रकति छ, सौन्दर्यचेत छैन !”

उसका कुरा सुन्दा लाग्थ्यो पश्चिमको सागर पूर्वको हिमाल भेट्न आएको छ । वा ज्याज रोधीभित्र पसेको छ ! प्रत्येक मान्छेको सोच फरक हुन्छ, उसको समाज, वातावरण, ज्ञान, हुर्काइ आदि इत्यादिले उसका विचारहरू निर्देशन गर्छ शायद, मेरा विचारहरू मेरा मात्रै त कहाँ होलान् यसमा परिवार, साथी, समाज, सङ्गत के कतिको विचार मिसिएको छ । उनले जीवनबाट एकछिन विरक्त भएर घुम्न निस्केको भनिन् ! साँच्चै घुम्नु कति ठूलो प्रिभिलेज हो । कोही मानिस जीवनबाट विरक्त भएर घुम्न निस्कनु र घुम्न सक्नु । हामी कतिलाई अझै खान बस्नमै धौधौ छ । देश यति सुन्दर भएर के गर्नु घरबाट निस्कनलाई फुर्सद, पैसा, स्वस्थ्य र स्वतन्त्रता नभए पछि ! एकछिन आफ्नै प्रिभिलेजलाई आत्मसात गरेँ, धन्य भएँ र थकान पूर्ण बाटो भए पनि उनीसँग जीवन जगत्‌का कुरा गर्दै अघि बढेँ ! विदेशी सिनेमा हेरेको फाइदा त्यो देश नगएर पनि त्यस देशका रीतिरिवाज परम्परा जीवन शैली बारे अलिकति भए पनि ज्ञान हुने रैछ र कुरा गर्न सजिलो हुने रैछ !

उनले आफ्नो बाल्यकालका कुरा सुनाइन् र भनिन्, “हाइस्कुल, हाइस्कुल जस्तै थियो । हलिउड मुभीमा देखिने जस्तो थिएन !”

उनले भनिन्, मैले आफ्नो मास्टर्सको क्लास लिँदै गर्दा मनमा एउटा प्रश्न आयो म जिन्दगीमा के गर्दैछु ? मलाई पछि बुढेसकालमा मैले जीवन नै बाँचिनँ कि भन्ने पछुतो त हुने होइन भनेर ग्याप लिएँ र घुम्न निस्किएँ र अहिले यिनै हिमाल आसपास जीवन खोजिरहेछु । आफैँलाई खोजिरहेछु ।

त्यो कुराले मलाई लाग्यो जीवनलाई खोज्न र आफूलाई भेटाउन प्रथमत: जीवनका आधारभूत समस्याहरूबाट माथि उठ्नु पर्छ र जसलाई हातमुख जोड्नकै धौधौ छ उसलाई आफूलाई खोज्ने सुविधा पनि छैन ।

यस्तै कुरै कुराका बीच उनले ओशोका कुरा निकालिन् ! शायद ओशो पूर्वलाई भन्दा पश्चिमलाई बढी फ्यासिनेट गर्छन् । उनका मुखारवृन्दबाट ओशोका शब्द पोखिए । पुरुषले सम्पूर्ण रूपमा स्त्रीलाई कहिल्यै प्रेम गर्न सक्दैन । यदि पुरुषले साँच्चि नै स्त्रीलाई प्रेम गरेको भए संसारमा यति धेरै जनसङ्ख्या हुने थिएन र मलाई एन्टीन्याटलिज्म बारे बुझाइन्  । आफूले कहिल्यै बिहे नगर्ने र बिहे गरे पनि सन्तान नजन्माउने बताइन् । संसारमा यति समस्या छन् , घृणा , युद्ध, गरिबी , बेरोजगारी , डिप्रेसन आदि आदि ! यो दुःखको सागरमा म एक थोपा अर्को दुःख थप्न चाहन्नँ ।

मैले उनीतिर हेरेर भनेँ, “जीवनमा सौन्दर्य पनि त छ !”

“धेरै कम, अझ त्यो खोज्न पनि नेपाल आउनुपर्छ !” उनको जवाफ मतर्फ फर्कियो । मलाई लाग्यो उनीहरू सौन्दर्य देख्छन् । गरिबी भोग्दैनन् ! हामी गरिबी भोग्छौँ सौन्दर्य देख्दैनौँ ।

जीवन यस्तो पनि हुन्छ जहाँ एउटा मान्छेका कुराले अरु मान्छेको सम्झना दिलाउँछ ! एउटा ब्याडीको सङ्गतले अरु ब्याडीसँगका सङ्गत सम्झाउँछ ! मान्छे बुद्धि भएर नि बुद्धु प्राणी हो । शायद त्यो मान्छे मै हो । धेरै ढिला बुद्धि पलाउने । गरेका गल्तीहरूको अवगत पछि हुने । छुटेका हातका स्पर्श औँलाहरू बीच खोज्ने ! दुखाएका दिलहरूको पहुतो पछि लाग्ने । प्रेममा हुँदा प्रेमबाट पर भाग्ने ! एक्लो हुँदा प्रेमको खोजी गर्ने ! मानौँ म ज्वलन्त उदाहरण हो हेजहॉग्स डिलेमाको !

तिमीले मलाई भनेको सम्झन्छु, “प्रेम हिँउमा लिखिएको नाम हो तर नाम पग्लिनलाई एक युग लाग्छ ! त्यो पुरिनलाई अर्को युग ! किनकि ती नाम प्रकृतिमै हराएर जान्छन्, प्रकृतिकै अज्ञात गर्भमा मिसिन !”

जीवन किन यस्तो हुन्छ जहाँ हुँदा के भइरहेछ थाह हुँदैन र थाह हुँदा सम्म धेरै ढिला भइसकेको हुन्छ ! कृकेगार्ड दाजु यस्तै केही भन्थे,

“जीवन बुझिन्छ पछाडि फर्केर तर बाँच्नु पर्छ अगाडि हिँडेर !” जीवन ब्रह्माण्डको विशाल ठट्टा जस्तै लाग्छ । कुरा हुँदा कुराको महत्त्व नबुझिने । जे छैन त्यही चाहिने ! मैले यसो किन गरिनँ भन्ने लाग्ने ! मैले त्यो किन भनेँ हुने ।

महसूस हुने कथा प्रारम्भबाट शुरू गर्न पाए ? यसपालि म के त्यही गर्थेँ जे गरेँ ! के म बाँधिएको छु जीवनको एल्गोगोरिदमले ? तर म चाहन्छु केही फरक गर्न ! बढी हिम्मत गर्न ! एउटा परिवर्तित मान्छे बन्न, जो जीवनमा हराएको म्यान चाइल्ड नहोस् रिजोलुसन भेटाएको मान्छे होस् ! तर क्यारेक्टर आर्कको लागि, जीवनको फिडको लागि जीवनकै एल्गोरिदमले कता कता पुऱ्याउँदो रहेछ । के के गराउँदो रहेछ । एउटा नबुझिने फिल्ममा सुनेको कुरा “तँ आफ्नो जीवनको लागि आफ्नो वाएरिङ र दिमागलाई दोष दिन्छस् जबकि तँ नै तेरो दिमाग हो  !”

अब यहाँ आफ्नो दिमागलाई पनि कसरी दोष लगाउनु बरु आफैँलाई  दोष लगाउने । आफ्नो दुःखको जवाफदेहिता आफूलाई बनाउने !

त्यो रात खोला किनारको होटलमा निदाउनुअघि यस्तै कुरा सोचिरहेँ ! घडीले बाह्र बजाएछ । झ्याल खोलेर बाहिर हेर्छु । रात, नदी र हिमाल सँगै सँगै लम्पसार छन् । निल्न एक अर्काको अस्तित्व । माथि जून प्रदीप्त छ यो सौन्दर्यको आभामा ! राति भूत देखिनु पर्ने कतै केही देखिएन ! देखियो त केवल असीम सौन्दर्य । जब साधारणपन मर्दछ तब शायद यो असीम सौन्दर्यको भूत बन्दछ ! र म जसलाई पर्सी फेरि फर्कनु छ यथार्थमा त्रसित छु यो सौन्दर्यको भूतबाट !

बिहान उज्यालो नहुँदै हामी हिँड्न शुरू गऱ्यौँ, उनलाई तिलिचो अनि फर्किएर फेरि थोराङ्ला पास जानु थियो अनि हामीलाई तिलिचो पुगेर फेरि काठमाडौँ ! त्यसैले उनले हामीलाई बाई भनिन् , र उनका पाइलाले थोराङ्ला खोज्न थाले !

हिमालतिर डुलेर आएँ ! केही समयलाई नयाँ अनुभव ! केही समयलाई इन्स्टालाई नयाँ रिल ! अब के गर्ने ? कतै घुमेर आएपछिको यो रित्तोपन ! मानौँ सब उजाड ।  निरस । विरक्त र आत्मविहीन ! अब अफ क्यापस हेर्न शुरू गर्नु पर्ला ! तर जीवन जस्तो जो भए पनि १०/१० ब्याडीको सङ्गत गर्नुपर्ने रहेछ । ध्यान रहोस् , ब्याडीहरू १०/१० नै हुन्छन् !

उनीहरूको सङ्गतले जीवनलाई हेर्ने नयाँ दृष्टिकोण मिल्छ । थाह नभएका तर थाह हुनुपर्ने धेरै कुरा थाह हुन्छ ! नसिकेका तर सिक्नुपर्ने धेरै कुरा सिकिन्छ । तर सिकेका नसिक्नुपर्ने कुराहरू पनि थाह पाइन्छ । भाग्यले जीवनमा केही १०/१० ब्याडीको सङ्गत गर्ने मौका मिल्यो र ती सबै ब्याडीहरू म कृतज्ञ छु ! र यो निबन्ध उनीहरूलाई समर्पित गर्न चाहन्छु ।

टंक दाइको पुरुषार्थ (कथा/नवपुस्ता)

माघको महिना भए पनि घामको राम्रै कृपा परेको थियो । म भने आफ्नै कोठामा थिएँ । किताबमा एकटकले हेर्दा हेर्दै कुन बेला झपक्क भएको रैछु पत्तै पाइनँ । राति निदाएको भए पनि सुहाउँथ्यो, तर मलाई दिउँसै भाते निन्द्राले छोपेको रैछ । बाहिर कसैको गुनगुन गरेको आवाजले पो झसंग भएँ । ओहो ! अझै पढ्नुपर्ने धेरै बाँकी छ । यसरी हुन्न भनेर एक झापड आफैँले आफ्नो गालामा हानेँ । पानी खाएँ । भोलीको परीक्षा, यता मेरो भने सिलेबस हेरेर समेत सकिएको थिएन । फेरि आखा तानेर प्रोफेसरबाट प्राप्त नोट हेर्न थालेँ । एकैछिनमा बाहिर कोही रिसमा कराएको आवाज आयो । आवाज उही थियो तर पहिले भन्दा चर्को अनि आवेग मिश्रित सुनिन्थ्यो । नपढ्नेको ध्यान सियो खस्दा नि भंग हुन्छ भन्छन् । झन् त्यत्रो स्वर सुनेपछि म के पढिरहन सक्थेँ र ! जुरूक्क उठेँ अनि ढोकाको चुक्कुल खोलेर बाहिर कुलियामा निस्किएको मात्र के थिएँ मीरा दिदी मलाई देखेर केही संयमित भइन् तर झर्किन भने छाडिनन् ।

म बस्ने कोठाको छेवैको कोठामा मीरा दिदी उनका श्रीमान् टंक दाइ अनि ८ वर्षे छोरी रूबी डेरा गरेर बस्छन् । सानो अनि सुखी परिवार । तराईबाट मज्दुरी गर्न उपत्यका छिरेका । श्रीमान्-श्रीमती दुईजना नै घरभवन बनाउने ठाउँ इट्टा सिमेन्ट बोक्ने काम गर्छन् । बिहानै ५ बजे उठेर भात तरकारी बसाल्छिन् मीरा दिदी । टंक दाइ भने छोरीसित गफ गर्छन्, छोरीलाई किताब खोलेर बस्न लगाउँछन् अनि छोरीले पढेको आनन्द मानेर हेरिरहन्छन् । छोरीले पढ्दा शायद उनी आफ्नो पसिनाको सदुपयोग भएको पाउँछन् । छोरीले आफूलाई स्कुलका कुरा सुनाउँदा उनलाई आफ्नो विश्वासले अझ विश्वास जितेको भान हुन्छ । टंक दाइ चाहन्छन्, रुबीले परिवारको मात्र होइन सम्पूर्ण समुदायका लागि केही गरोस् अनि केही गरोस् देशका लागि ।

मीरा दिदी, छोरीले आफूलाई नसघाएको भन्दै बेला बेला श्रीमान्सँग गुनासो पनि गर्छिन् । मीरा दिदीले “महीन रिस नालगाऊ का” भनेर आँखा तरेपछि टंक दाइ खाटबाट उठ्छन् । श्रीमतीलाई सघाउन थाल्छन् । आखिर खानासँगै अर्नी पनि त तयार गर्नुपर्छ काममा जानुअघि । आफूलाई त उही भात तरकारी बढाएर अर्नी हाल्छन् तर छोरीलाई भने छोरीकै रोजाईमा कहिले भात भुटिदिने, कहिले परौठा बनाइदिने त कहिले भुजा दालमोठ एउटा प्लाष्टिकमा हालेर राखिदिने गर्छन् । मानिस सबैभन्दा बढी नि:स्वार्थ आफ्नो सन्तानका लागि त हुन्छ । समाजले बहिष्कार गरेको मान्छे पनि आफ्नो सन्तानका लागि हिरो हुन्छ । सन्तानको सबै रहर पूरा गरिदिने जादूगर हुन्छ । पहिलो डाक्टर हुन्छ ।

रूबीको भने पढाइमा त्यति धेरै रुचि छैन । उसलाई गणितको हिसाबभन्दा बाबामम्मी बेलुका घर फर्किने समयको हिसाब गर्न रमाइलो लाग्छ । उसलाई नेपाली विषयभन्दा बढी आफ्नो मातृभाषामा बोल्न अनि गीत गाउन औधी रमाइलो लाग्छ । सामाजिक विषय त उसलाई कहिल्यै मन परेन तर डेरा वरिपरि आफ्नो उमेरका साथीसित घुलमिल हुन, मिलेर खेल्न उसलाई खुबै आउँछ । स्कुल जान, गृहकार्य गर्न, पढ्न, एक एक अक्षर याद गर्न उसलाई कहिल्यै मन परेन । रूबीकी आमालाई भने आफूले नपढेर दु:ख पाएकोमा कुनै सन्देह छैन । उनी चाहन्छिन् रुबी खुब पढोस् । यति पढोस् कि बाबुआमा दुवैको सपना ऊ एक्लैले पूरा गरोस् । उनी चाहन्छिन्, छोरी पढेर कुर्सीमा बसेर काम गर्न सक्षम होस् । शायद कहिल्यै विद्यालय नटेकेका बाबुआमालाई लाग्दो हो, पढाइको सम्बन्ध कुर्सीसित मात्र हुन्छ । आखिर त्यही कुर्सी हो जसले मान सम्मान बढाउँछ । चिसो जमीनमा बसेर तान बुन्ने मजदुर, बिना अपराध पनि बहिष्कार भएका छन् यो समाजबाट । अनि भ्रष्टाचारमा टेकेर उभिएको मानिसलाई त्यही कुर्सी पद हो, जसले इज्जत दिने गरेको छ समाजमा ।

टंक दाइ भने छोरीलाई स्नेह बढी प्रेसर कम दिन्छन् । मीरा दिदीले पिट्दा रुबी बाबाको ढाड पछाडि लुक्छे । आमाको डर हुँदा त बाबाको ढाडले आड दिन्छ तर बाबाको रक्सीको मातको डर, बेल्टको डर, फोहोरी शब्दको डरबाट यतिका युगसम्म आमाहरूले आफ्नो सास र सन्तानलाई कसरी बचाउँदै आए होलान् ! मीरा दिदीले हात उठाउँलाझैँ गर्दा टंक दाइले रोक्छन्, र रुबीलाई काखमा राखेर सम्झाउँछन् हरेक पटक ।

कामबाट फर्कँदा कहिल्यै खाली हात आउँदैनन टंक दाइ । छोरीका लागि केही न केही खानेकुरा लिएरै आउँछन् । टंक दाइका आँखाले छोरी देख्छन् । मीरा दिदीले भने देख्छिन् लथालिंग परेको बिस्तारा, यस्सै फोहोर भएका भाँडाहरू, बिस्तारैमा फ्याँकिएको स्कुल ड्रेस । साँच्ची, आमाले किन नकारात्मक धेरै देखेको ? वास्तवमा तिनले नकारात्मक देखेका होइनन् । आमाहरूले सदियौंदेखि आफ्नो टाउकोमा खन्याएको घरधन्दा बढेको देखेका हुन् जुन उनको एकल दायित्व हो ।

मीरा दिदी कामबाट आउनासाथ सधैँ कराउन थाल्छिन् । खाटमा उफ्रेर बिस्तारा बिगारेकोमा । उनी कराउँछिन् खाजा खाएको भाँडा नमाझेकोमा । कहिले त यसरी पिट्छिन् मानौँ रुबीले उनको विश्वास तोडी । मलाई उनको रुबीप्रतिको स्वभाव सधैँ अस्वभाविक लागिरह्यो । माखो जस्तो रुबीको गल्तीमा पनि पहाड खसेजसरी आखिर किन रिसाउँछिन् उनी ?

त्यस दिन पनि कोठा बाहिर निस्किएर बुझ्दा थाहा भयो, रुबी आज पनि स्कुल नगई कोठामै बसेकी रहिछ । छोरीलाई स्कुल जानु भनेर काममा गएका आमाबुबाले छोरीलाई स्कुल जानुपर्ने समयमा घरमै देख्दा शायद यस्तै प्रतिक्रिया आउँछ । त्यही भएर पो मीरा दिदी झर्केकी रैछिन् । रुबी स्कुल नगई कोठामै बसेको कुरा खै कसले सुनाइदिएछ उनलाई, उनी त खाना‌ खाने छुट्टीमा कोठामै आइपुगिछन् । उनी भन्दै थिइन्, “यी कब्बो महिन सन्तोष निडि की का ! पहर्ना ओहर्ना एक मन निलगइना खाली हमहन टेनसन खाली । जा चल जा आपन नानीक् घर ।” म बर्दियामा जन्मिएको मान्छे दिदीको कुरा बुझ्न गारो भएन । उनी छोरीलाई यस्तै हो भने मामाघर पठाइदिन्छु भन्दै थिइन् ।

छोरीलाई रीस नमरुन्जेल गाली गरिन् अनि फर्किइन् काममा । आखिर काम नगरे गालीले पेट भरिन्थ्यो क्यारे ! उता छोरीलाई कतै पिटी पो हाल्छे कि भनेर रुबीका बुवाले घरबेटीलाई फोन लगाए । मीरा दिदी फर्किएको कुरा सुनेपछि ढुक्कले फोन काटे ।

मेरो परीक्षा सकिएको साँझ रुबीलाई मेरो कोठामा पढ्न पठाएकी थिइन् उसकी मम्मीले । मसित भने अलि मायालु पल्टेर बोल्थी ऊ । नेपाली भाषा पनि निकै मीठो बोल्न जानेकी छे । तर नेपालीमा पढ्न र लेख्न भने बडो अफ्ठ्यारो पर्थ्यो उसलाई । नेपालका अधिकांश विद्यार्थी जसको पहिलो भाषा नेपाली होइन, ती विद्यार्थीको पहिलो समस्या पाठ्यक्रम होइन भाषा हो । भाषै नबुझिएको बेला विषयवस्तु कसरी बुझ्ने ? उता अंग्रेजीको छुट्टै तनाव । नेपाली मातृभाषा भएका विद्यार्थीले विषयवस्तु पढेर बुझ्दासम्म अरु विद्यार्थी नेपाली उच्चारण र अर्थ बुझ्नमै संघर्ष गरिरहेका हुन्छन् । अनि यिनै फरक पृष्ठभूमिका विद्यार्थीलाई परीक्षाको प्रतिस्पर्धामा उतारिन्छ । हामी कस्तो शिक्षा चाहन्छौँ, भाषा केन्द्रित कि विषयवस्तु केन्द्रित ? सोलार सिस्टम बुझाउन खोजेको कि नेपाली वा अंग्रेजीमै सोलार सिस्टम रटाउन खोजेको हो हामीले यो प्रष्ट हुनुपर्छ ।

रुबी लेख्दा लेख्दै चित्र कोर्न पो थालिछ । भात बसालेर यस्सो हेरेको त ऊ कापी कोरेर बसेकी । “रुबीलाई मामाघर जान मन लायो क्या पढाइ छोडेर !” मैले जिस्किँदै भने । उसले कोर्न छोडेर पुनः लेख्न थाली र सोधी, डिडि टुहिन पता बा ? छुटीमा (सानोमा) बाबाले लिएर आएको थियो हामीलाई मामाघरबाट ‌ ।

“ए हो, पहिला खुब मामाघर जान्थ्यौ क्या हो तिमीहरू !” मैले तरकारी काट्दै भनेँ ।

“नाइँ हामी पहिले नानीको घर बस्थ्यौं अनि एकदिन बाबा गएर मम्मी र मलाई घर लगेको हो ।” उसले खुशी हुँदै सुनाउँदै थिई ।

‘ए बाबा विदेशमा हुनुहुन्थ्यो होला हैन त्यसैले तिमी मामाघर बसेको हो ?’, मैले सामान्य रुपमै सोधेँ ।

“नाई दिदी, मेरो पहिलाको बाबा म सानो हुँदा मरेको अनि मम्मी र मलाई नानाले आफ्नो घरमा राखेको अनि यो बाबा गएर हामीलाई घरमा लगेको !”, उसले एक सासमा जवाफ दिई । उसको अप्रत्यासित कुराले म भने अवाक् भएँ । उसको आँखामा हेर्न सकिनँ । हैन होला भनेर भन्न मन थियो तर थप कुरा कोट्याउने आँट भएन । टंक दाइको अनुहार झलझली आँखामा आयो ।

हामीले जुन समाज र प्रवृत्ति भोग्दै/देख्दै आएका छौं त्यसको बाछिटाले मेरो मनोविज्ञानलाई समेत रुबीको कुरा पत्याउन गाह्रो मानिरहेको थियो । मैले देखेको टंक दाइभित्र त यति विधि महासागर रहेछ, यति अथाह प्रेम रहेछ । मैले अर्को कोखबाट जन्मेका सन्तानलाई आफ्नो मानेर नि:स्वार्थ प्रेम गरेका आमाहरू देखेको छु । महिलाले महानताको चरम बिन्दु छोएको देखेको छु । तर यूगौंदेखि महिलालाई तल्लो दर्जामा राख्ने परिचय बनाएको पुरुष जातिले महिलामा पनि छोरीसहितको एकल महिला र उसको सन्तानलाई यति प्रेम साथ आफ्नो जीवनमा सजाएको मेरो लागि निकै नौलो तर अत्यन्तै क्रान्तिकारी दृष्य थियो । उनले मीरा दिदीलाई स्वीकार गरेका हुन भनेर उनको प्रेमको, आदर्श चरित्रको कद होचो बनाउन म चाहान्नँ । उनले पुस्तकका आदर्शलाई आफ्नो जिवनमा कोरे अनि यस्तो जीवन्त चित्र बनाए जुन अरुलाई सार्न रहर त लाग्छ तर हुबहु सार्न उच्च कोटीको सोच चाहिन्छ ।

टंक दाइले बिना बन्दुक पितृसत्ता ढालेका रहेछन्, उनले बिना हल्लाखल्ला देखावटी आदर्शवादी विद्वानलाई ठहरै पराजित गरेका रहेछन् । उनले त समाजको एउटा गौण पात्र भएर पनि उच्चस्तरीय दायित्व पूरा गरेका रहेछन् । उनले नारी पुज्नु भनेको के हो बाँचेर देखाएका रहेछन् । टंक दाइ पुरुषार्थ भएका पुरुष रहेछन् । उनले गरेको विद्रोहबारे उनी आफैँलाई थाहा छैन । प्रेम, समानता, मर्यादा सामान्य कुरा हुनुपर्ने हो तर जुन कुराको अभाव हुन्छ, जुन कुराबाट मानिसलाई वञ्चित गराइन्छ, त्यसको आवश्यकता र महत्त्व बढ्छ नै । डेटमा बिर्यानी खुवाएर बिस्तारामा पैसा असुल्ने मनशाय बोक्ने २१ औं शताब्दीमा टंकजस्ता पात्र त्यो झिल्को हुन् जसले आज पनि महिला र पुरुषबीच उहीँ सौहार्द कायम राखेका छन् ।

मलाई एकाएक उनी प्रति सम्मान ह्वात्तै बढेर आयो । आखिर कोही केटा मान्छे यति उदार यति माया गर्ने कसरी हुन सक्छ ? पुरुष प्रतिको मेरो पुर्वाग्रही सोचलाई चुनौती दिएको थियो रुबीको सत्यले ।

टंक दाइले मीरा दिदीलाई यति मन पराए कि मीराकी छोरी रुबीलाई पनि त्यति नै माया, स्नेह र अभिभावकत्व दिन सके । उनले मीरालाई मात्र होइन मीराको ठूलो जिम्मेवारीलाई पनि आफ्नो बनाएका रैछन् । सिनेमामा पुरुषको शारीरिक तन्दुरुस्तीलाई लिएर अनेक पुरुषार्थ देखाइन्छ । तर टंक दाइको पुरुषार्थ मलाई दन्त्य कथाका राजाभन्दा उँचो लाग्यो ।

रुबीलाई हेरें । ऊ फेरि चित्र कोर्न थालिसकेकी थिई । उसको भाग्य देखेर न सन्ताप गर्न सकेँ न खुशी हुन । एकातिर उसले आफ्नो बाबु चिन्न नपाउँदै बाबु अलप भएका थिए । बाबुको तस्वीर आँखामा कैद गर्न नसक्दै बाबु गुमाई । तर भाग्यको चर्खा घुमेर फेरि रुबीको साथमा अडियो । उसले टंकलाई बाबुको रूपमा मात्र पाइन, बाबुबाट पाउने सबै माया, साथ पाएकी छ । कोही मानिस एकैपटक यति अभागी अनि यति भाग्यमानी कसरी हुन सक्छ ? हुन त रुबीको गुमेको सत्यको पूर्ति संसारको कुनै कुराले गर्न सक्दैन तर हरेक रित्तो ठाउँमा नयाँ कुरा प्रवेश गर्छ नै । तर रुबीको जीवनमा बाबुको रूपमा टंक दाइको सुन्दर प्रवेश भयो ।

मीरा दिदी बढी रिसाउनु, छोरीलाई लिएर अलि बढी ससंकित हुनुको कारण मैले बल्ल भेउ पाएँ । मीरा दिदिले आफ्नो होइन टंक दाइको विश्वास नटुटोस् भन्ने चाहेकी रहिछन् । आखिर उनी रुबीकी आमा मात्र नभई टंककी पत्नी पनि हुन् । सम्बन्धको सुमधुर सन्तुलन मिलाउन मीरा पुल हुन् । टंक दाइले जुन माया, साथ, रुबीलाई दिएका छन्, रुबीले त्यसको महत्त्व बुझुन् । उनी रुबीका कारण टंक दाइलाई असहज नहोस् भन्ने चाहन्छिन् शायद । रुबीलाई सधैँ माया प्राप्त होस्, उसलाई टंकले बोझ नसोचुन् भन्ने मीराको ध्येय हुनुपर्छ ।

यस्तै अनेक तर्कना मनमा खेले । रुबीले पानी मागेपछि पो म झसंग भएँ । उसलाई ग्लासमा पानी दिएँ । उसका अबोध आँखा नियालेँ । त्यसमा कुनै डर देखिनँ । न देखें कुनै अभाव । शायद टंक दाइको स्नेहको प्रतिबिम्ब थियो त्यो । रुबीको सत्य जानेर मलाई समाजमा लुकेका तमाम् टंकप्रति अथाह सदभाव जाग्यो जसले मीराहरूलाई सिन्दुर मात्र दिएका छैनन् माया अनि साथ जीवनभरलाई दिएका छन् । टंकहरू रुबीहरूको परिचय मात्र होइन संसार बनेका छन् । यस्ता पात्र लेखिँदैनन् । एउटा एकल महिलाले पाएको माया लेखिँदैन । यो समाज अझै चाहँदैन महिलाले दोस्रो अवसर पाएको हेर्न । तर समाज एकनास रहने संस्था पनि होइन, टंक मानसिकताले समाजलाई पनि आदर्श लेख्न होइन जिउन सिकाउनेछ बिस्तारै ।

मानवीय संवेदनाको कथा बोकेको ‘स्याल सिंह’ आजबाट मञ्चन

काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ असार ११ गतेदेखि मञ्चन हुने भएको छ।

कक्षा ८ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश रहेको कथामा आधारित यस नाटकको निर्देशन तथा परिकल्पना तिर्थराज विश्वकर्माले गर्नुभएको हो ।

एक थिएटर नेपालका अनुसार नाटकले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, संवेदना र सामाजिक सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश काक्री र स्काई राईको अभिनय रहनेछ ।

आयोजकका अनुसार ‘स्याल सिंह’ले मानवीय सम्बन्ध, सहअस्तित्व र सामाजिक संवेदनाको महत्वलाई नाट्य माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछ ।

हामीलाई प्राप्त साताका पुस्तक

पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार पुस्तक प्राप्त भएका छन् ।

====

 

१. विषालु वामपन्थ – डा. राजीव मिश्रा

२. दिनभरि पानी परिरहन्छ – तुलसी आचार्य

३. समयका पाइला – कमलप्रसाद तिमल्सिना

४. कालो आँधी – डा. दामोदर पुडासैनी ‘किशोर’

अलिकति छन्दका कुरा (निबन्ध/नवपुस्ता)

हितेन सह सहितः तस्य भावः साहित्यम् । अर्थात् हितले सहित भएको चिज नै साहित्य हो । सामान्य अर्थमा भन्दा मानिसले बोलेका वा लेखेका सबैभन्दा मीठा अभिव्यक्तिलाई साहित्य भनिन्छ भन्दा फरक नपर्ला । फेरि विरोध, उत्थान, सङ्घर्ष आदि पनि साहित्यका विषय बन्छन् । खैर, जे भए पनि भावना वा मस्तिष्कबाट निःसृत सर्वोत्कृष्ट अभिव्यक्ति साहित्य हो भन्न सकिन्छ ।

‎साहित्यको इतिहास हेर्दा पूर्वीय तथा पाश्चात्य दुवैतिर निकै अभ्यास र प्रयोग भएको देखिन्छ । वैदिक साहित्य, पौराणिक साहित्य हुँदै काव्यसाहित्यमा आइपुगेको इतिहास केलाउँदा समाजको हितका निम्ति लेखिएको अथवा बोलिएको मीठो अभिव्यक्ति नै काव्य हो । जीवनको कल्याण चाहने शास्त्र नै साहित्य हो । यसमा व्यापकताको चाहना राखेर नयाँ भाव, विचार वा वस्तुको नयाँ–नयाँ स्वरूप भित्री हृदयबाट स्फुरण हुन्छ । स्फुरित भाव शब्द र अर्थको सामञ्जस्यबाट आत्मानुभूतिको सरस अभिव्यक्ति बन्दछ, त्यो नै साहित्य हो । नेपाली साहित्यको कालक्रम त्यति लामो त छैन, तर पनि अन्य साहित्यका दृष्टिमा निकै समृद्ध देखिन्छ । मानव सभ्यतासँगै साहित्य पनि विकसित भएकाले नेपाली साहित्य नेपाली भाषाको विकाससँगै पल्लवित भएको बुझ्न सकिन्छ । हजार वर्षको नेपाली भाषाको इतिहासमा साहित्यको औपचारिक लिखित प्रमाण करिब सात सय वर्षपछि मात्रै देखिए पनि लोकसाहित्यका रूपमा जनमानसमा मौखिक तथा श्रव्य परम्पराद्वारा पहिलेदेखि नै प्रसारित भएको देखिन्छ ।

‎नेपाली साहित्यमा कविताको स्थान सर्वोपरि छ । लोकगीतलाई छाडेर हेर्दा नेपाली कविताको प्रारम्भ र विकास छन्दकवितामै भएको देखिन्छ । प्राथमिक कालदेखि आधुनिक कालको पूर्वार्धसम्म नेपाली कवितामा छन्दकविताले नै काव्यिक गौरवलाई संवहन गर्दै आएको देखिन्छ । आधुनिक कालको दोस्रो चरणमा गद्यकविताको विकाससँगै छन्दप्रतिको चासो कम भएको देखिए पनि छन्दकविता लेखनशून्य अवस्थामा भने पुगेको देखिँदैन । वि.सं. २०५० सालपछि ओझेलमा परेको छन्दकविताको पुनर्जागरण भएको देखिन्छ । अन्य भाषामा छन्दमा कविता लेख्ने परम्परा लगभग बन्द भइसकेको अवस्थामा नेपाली भाषामा भने सशक्त रूपमा लेखिएको अवस्था छ ।

‎नेपाली कविताका पर्याय लक्ष्मीप्रसाद देवकोटाले १० वर्षको उमेरदेखि कविता लेख्न शुरु गरे, जसले शास्त्रीयतावादी–परिष्कारवादी धारामा बगेको काव्यपरम्परालाई स्वच्छन्दतावाद हुँदै प्रगतिवादसम्म पुर्‍याए । नयाँ पुस्तालाई पत्याइहाल्ने परिपाटी आजसम्म पनि नबनेको अवस्थामा तत्कालीन समयमा कविताको धार परिवर्तन गर्न सक्ने खुबी चानचुने भने होइन । कवितालाई नयाँ मोड दिने काम नयाँ पुस्ताबाट नै भएको देखिन्छ । लेखनाथ पौड्यालको समयमा होस् वा मनोज, सुदेशहरूको लेखनकालसम्म आइपुग्दा, कवितामा नयाँ चेतना, नयाँ दृष्टिकोण र नयाँ आयाम थप्ने श्रेय नयाँ पुस्ता, विशेषगरी युवावर्गलाई नै दिन सकिन्छ ।

‎छन्दकविता केवल भाव भएर मात्रै बन्न सक्दैन । छन्दकविताको आफ्नै नियम हुन्छ । सोही नियमभित्र रहेर कविता लेख्न भाषिक ज्ञान आवश्यक पर्छ । छन्दमा अभ्यास नहुनेहरूका लागि कविता लेख्न गाह्रो हुन्छ । केवल श्लोक भएर मात्रै कविता बन्दैन । प्रतिभा, व्युत्पत्ति र अभ्यास—यी तीनै कुरा भएमा उत्कृष्ट छन्दकविता रचिन्छ । त्यसैले केही क्लिष्टता भए पनि छन्दकविता पढ्दा वा सुन्दा सौन्दर्यको अपरिमित परिधिमा व्यापकताको अनुभूति गर्न सकिन्छ ।

‎धेरै समकालीन साथीहरू ‘छन्दकविता सुन्न त मजा हुन्छ, तर लेख्न सकिँदैन’ भन्नुहुन्छ । उहाँहरूको कुरा बेठीक भने होइन । छन्दकविता प्रतिभा भएर मात्रै बन्न सक्दैन । नियमबद्ध हुने भएकाले यसको निश्चित परिधि हुन्छ । छन्दको परिधिभित्र केवल शब्द थुपारेर मात्रै कविता बन्दैन । लयको अभ्यासद्वारा स्वस्फूर्त आएका अर्थपूर्ण शब्दहरूले मात्रै कविता बन्ने सामर्थ्य राख्छन् । त्यसका लागि मस्तिष्कभित्र यथेष्ट शब्दभण्डार र त्यसलाई प्रस्तुत गर्ने काव्यशिल्प चाहिन्छ । कसैमा त्यस किसिमको सहज प्रतिभा हुन सक्छ भने कसैमा नहुन पनि सक्छ । छन्दकविता लेखनको रहरलाई अध्ययन र अभ्यासद्वारा अझ निखार्न सकिन्छ ।

‎अब एउटा आरोपको कुरा । केही अग्रजहरूले छन्दमा नवीनता खासै देखिएको छैन पनि भन्ने गर्नुभएको छ । हुन पनि लेखनाथले अथवा माधवप्रसादले लेखेजस्तै कविता लेख्नुको अर्थ रहँदैन । अलिअलि नीतिचेतनाले भरिएका, राष्ट्रप्रेम, प्रकृतिचित्रण आदि विषयबाहेक अरू नलेख्ने, अनि त्यस्ता कविताका आधाजसो शब्द सबैका साझा हुने प्रवृत्ति पनि देखिएका छन् । यसले छन्दको अभ्यास त अवश्यमेव हुन सक्ला, तर कविता भने बन्न सक्दैन । यसको अर्थ छन्दमा कविता लेख्ने अग्रज एवं समकालीन साथीहरूप्रति खोट देखाउन खोजिएको होइन । उहाँहरूप्रति धेरै सम्मान छ । केवल त्यस्ता प्रवृत्ति पनि छन् भन्न खोजिएको हो । म आफैँ छन्दको परिवेशमा हुर्किएकाले छन्दकविताको शक्तिसँग परिचित छु ।

‎हाम्रो समाजमा प्रायः सबैले पहिलोचोटि सुनेको कविता छन्दमै हो भन्दा फरक नपर्ला । वार्णिक छन्द नभए पनि लय मिलेका अथवा मात्रा मिलेका मात्रिक कविता नै हुन् । अझ हरेकले कोर्ने पहिलो कविता पनि त्यस्तै किसिमको हुन्छ । शब्दहरू (अनुप्रास) मिलेका, लयमा गाउन मिल्ने कविता नै पहिलोचोटि कोरिन्छन् । अझ शिशु जन्मेदेखि नै लोरी सुनेर वा लयमा ‘हो…’ भन्दै थपथपाएर निदाएको हुन्छ । मान्छेले आफूलाई सहज बनाउन लयमा अथवा छन्दमा स्वतः ढालेको हुन्छ ।

‎छन्दकविताप्रति जति हुनुपर्ने हो, त्यति चासो भएको देखिँदैन । सङ्ख्यात्मक रूपमा निश्चित परिधिका व्यक्तिहरू मात्रै छन्दतर्फ अग्रसर भएको देखिन्छ । यद्यपि सङ्ख्या ठूलो हुनुले मात्रै छन्दकवितालाई न्याय गर्न सक्दैन । गुणात्मक रूपमा लेखिएका सीमित कविताहरू नै वर्तमानका लागि पर्याप्त छन् । नेपाली भाषाको एकीकरणमा पनि छन्दको महत्त्वपूर्ण भूमिका रहेको छ । भानुभक्तीय रामायणजस्ता कृतिले त्यसमा उल्लेखनीय योगदान दिएका छन् । भाषाको व्यापकतालाई अरू विधाभन्दा छन्दकविताले अलि बढी नै न्याय गर्छ भन्ने मेरो बुझाइ छ  ।

‎अस्तु  ।‎

क्लासिक निबन्ध : गोरेटोको खोजीमा

‘तिम्रा पर्खालमै तिम्रो बाटो छ !’

यो कसको महान् वाणी ? नित्सेको ? अहिले ट्याक्क सम्झिन सकिनँ !

‘बाटो नभएको ठाउँमै गोरेटो छ !’

यो कसको महान् वाणी ? थाहा छैन !

‘लेख्न असमर्थ भएकै बेला, लेख्ने प्रयास गर !’

यो कसको महान् वाणी ? थाहा छैन !

तर, अहिलेको क्षणमा म यो तीनै आयाममा सङ्कुचित भएको स्वयंलाई अनुभव गर्दै छु । बाटो छैन, गोरेटो छैन, लेख्ने सामर्थ्य छैन !!!!

* * *

मलाई सम्झना आइरहेछ, कसरी म प्रेमपत्रहरू पन्ध्र-बीस पेजको लेख्थेँ । न हात थाक्दथ्यो, न मन ! र त्यत्ति लेखिसक्दा पनि लाग्दथ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन !

र आज ?

व्यक्त गर्ने कुरा नै पाउँदिनँ !

लाग्दछ, के मेरो भण्डार रित्तियो ? वा मेरो Sensitivity मा ठेला पर्यो ? होइन, यी कुनै पनि कुरा होइनन्, म यथावत् नै छु भन्ने धारणालाई कुम्लोझैँ बोकी मेरो अन्तर्मन विद्रोह गर्न खोज्दछ । म कलम हातमा लिन्छु र कामना गर्न थाल्दछु – यसबाट उच्च साहित्य नै निस्कोस् !

यहीँ, यस चाहनामै, मेरो कमजोरी छिपेको छ । के मैले नै ठेक्का लिएको छु, उच्च साहित्य लेख्ने ? के अरूले उच्च लेखेको उच्च साहित्य होइन ?

र उच्च साहित्य भनेको के हो ?

अब, भो ? शङ्कर लामिछाने परास्त हुन्छ ।

कारण उसले आजसम्मन् उच्चताको परिभाषा बुझ्न सकेको छैन । सेक्सपियर टाइममा आफ्नी प्रेमिकालाई अर्कोले दृष्टिपात गरेको झझल्कामै Dual लडिन्थ्यो । आजचाहिँ स्वास्नीलाई अर्कोले हेरिदिँदा उसको दृष्टिमा फ्रायड देखा परे लोग्नेलाई भरेको लागि खुराक मिल्दछ ? यो दुई उच्चतामा, यी दुई महानतामा कत्तिको फरक छ ? २००७ सालको क्रान्ति नभएको भए विजयबहादुर मल्लबाट ‘कालो चश्मा’ सृजना हुन सक्थ्यो ? र, २००७ सालको क्रान्ति भइदिएको भए, अघिबाटै ‘दोषी चश्मा’ बन्थ्यो ?

एउटाले पर्खालमा बाटो खोज्यो ।

अर्कोले त्यसैमा गोरेटो पहिल्यायो ।

* * *

र, मैले बाटो नपाउनुको अर्थ हो, मेरो लागि क्षितिज खुला छ । मेरो लागि अङ्कमालमा हात फैलिएको छ । आफ्नो सामर्थ्यभन्दा बढी प्रतिष्ठा पाएकोले नै आज म असहाय भएको छु । अब त, कस्तो हुन लाग्यो भने एउटा पङ्क्तिमै ‘वाह, वाह’, एउटा लेखमै ‘वाह, वाह’ । मानौँ पाठकलाई मेरो सफलताको नशा लाग्यो, मानौँ मेरो नामको Hyphotism वशीकरणले उनीहरूलाई पो छोयो ।

र म ? मचाहिँ विदेशी साहित्य चोर्दछु । विलियम सारोयान पढ़ेँ, मेरो शैली परिमार्जित भयो । हेनरी मिलर पढ़ेँ, लेख्ने कुरामा सत्यवादिताको पुट बढ्यो । एनास निन् पढ़ेँ, गद्य काव्यात्मक रूपमा ढाल्न मन लाग्यो । सार्त्र र कामु पढ़ेँ, शून्यवादको अध्ययन गर्न पुगेँ । जेम्स ज्वायस र वाल्डविन पढ़ेँ, ‘के भो के भो, हिजोआज तिम्रै माया लाग्छ !’

* * *

शून्यवादले मलाई अन्यवादको भोक बढायो । साङ्ख्यदर्शनदेखि प्रज्ञापारमिता पनि पढ्न पुगेँ । पाएँ, सब माया हो । स्वयंलाई छल्ने उपाय मात्र हो । ईश्वरले हुन सक्छ, सोखको लागि मानिस बनायो; तर, विडम्बना त के भने मानिसले पूजाको लागि ईश्वर बनाइदियो । सोखको लागि केही गर्नु र श्रद्धाका लागि केही गर्नुमा निकै अन्तर छ । सोखको लागि गरिएका कुरामा आनन्द हामीलाई स्वतः प्राप्त हुन्छः श्रद्धाको लागि गरिएको कुरामा आनन्द Retailer बाट मात्र पुग्न आउँछ हामीकहाँसम्मन् ।

* * *

यस कुराको बोध भएपछि सास फेर्दा पनि कफ अड्केजस्तो घ्यार्र-घ्यार्र हुँदो रहेछ । त्यस अवस्थामा कसले भाषण गर्न सक्छ ? कसले कविता गाउन सक्छ ?

कसले कविता लेख्न सक्छ ?

कसले गोरेटो पहिल्याउन सक्छ ?

तर ‘पर्खालमै तिम्रो बाटो छ !’

कसले भनेको हँ, यो ? नित्सेले ?

* * *

म जान्दिनँ, मैले लेखेको यो साहित्य भयो भएन ! तर, असलमा, साहित्यको परिभाषा नै मलाई थाहा छैन । साहित्य केको लागि ? जनताको लागि ? समाजको लागि ? धर्तीको लागि ? स्वयंको लागि ? पैसा कमाउनको लागि ? प्रतिष्ठा कमाउनको लागि ? वा, आफू मरेर कताकता हिँडिसकेपछि एउटा लाइब्रेरीका दराजबाट धूलोमा बेरिएर एउटा इच्छुकका आँखाको लागि ? वा, कोर्सबुकको लागि ?

यिनै प्रश्नहरूका पर्खालमा म बाटो खोज्दै छु !

* * *

सोखको लागि साहित्य अँगालेको थिएँ, अब यो श्रद्धा हुन गयो । आफ्नो लागि लेख्न आरम्भ गरेको थिएँ- प्रेमपत्रबाट, हृदयको व्याकुलताबाट, विदेशी-देशी विद्वान्‌को प्रभाव जो परेको थियो आफूउपर त्यसलाई देशवासीउपर दर्साउने अभिलाषाबाट, डायरीबाट, अनुभवबाट, ‘वाहवाह’ बाट र प्रतिष्ठाको लोभबाट । आजचाहिँ, म अर्काको लागि लेख्दै छु (रूपरेखा सम्पादकको लागि !), जनताको लागि ?, समाजको लागि ?, भविष्यको लागि ?, एक पाठिकाको अस्पष्ट अनुहारको लागि ?

तर, आज साहित्य मेरो लागि सोख रहेन । श्रद्धा हुन गयो । यसैको माध्यमद्वारा म ‘बाँच्छु’ कि भन्ने भावनाले घर बनायो मुटुमा ! (मानौँ रोजै पशुपतिनाथ धाइदिँदा, मोक्ष पाइन्छ कि भन्ने भावना !)

र, पर्खालको एक अर्को घेरा हो यो, जसमा म बाटो खोज्दै छु । र, जनताको लागि मैले जीवनमा कहिले पनि लेखिनँ !

आमालाई रिझाउन क ख ग लेखेँ ।

मास्टरलाई रिझाउन प्रबन्ध लेखेँ ।

प्रेमिकालाई रिझाउन प्रेमपत्र लेखेँ ।

साहूलाई खुसी पार्न तमसुक लेखेँ ।

जागिर बढाउन रिपोर्ट लेखेँ ।

नाम कमाउन कथा लेखेँ ।

प्रतिष्ठा कमाउन, भविष्यमा बाँच्न, यो गोरेटो लेख्दै छु ।

र प्रत्येक लाइन लेख्दा, मेरा आँखामा प्रबुद्ध अनुहार नै आए । यस्ता अनुहार जसलाई म रुचाउँछु, वा जस्तो अनुहार वृद्धि होस् भन्ने कल्पना गर्छु । आमाको अनुहार, मास्टरको अनुहार, प्रेमिकाको अनुहार, साहूको अनुहार, जागिरको अनुहार, इज्जतको अनुहार, प्रतिष्ठाको अनुहार । ‘हेर, हेर, कान्छा, बाख्री !’ भन्ने अनुहार होइन जो उत्तर दुई नम्बरबाट काठमाडौँ ओर्लेर नयाँसडकमा, नेपाल आर्ट एन्ड हैन्डिक्राफ्ट सेन्टरको सो-विन्डोमा राखेको सानो याक देखेर कराउँछ ।

हो, ती जनता हुन् । र तिनलाई मैले माया नगरेको, घृणा गरेको होइन ! (दैव जान्दछ, म अर्को जुनीमा यहीँ जन्मूँ- यो मेरो आन्तरिक अभिलाषा छ !) तापनि म तिनको लागि साहित्य लेख्दिनँ । तिनको लागि लेखिएको कुरा शिक्षा-सामग्री हो- साहित्य होइन । (र शिक्षा-सामग्री मैले नलेखेको पनि होइन र नछापेको पनि होइनन्, र तिनको नामकरण ‘हाम्रो साहित्य’ नभएको पनि होइन !!)

तथापि, म बालमुकुन्द र उत्तमको लागि लेख्छु, भूपी शेरचनको लागि लेख्छु, पारिजातको लागि लेख्छु, भीमदर्शन रोकाको लागि लेख्छु, कैयन् नजन्मिएका अनुहारको लागि लेख्छु- यस्ता अनुहार जो शून्यवाद बुज्दछन्, जो याक र भेडाको अन्तर थाहा पाउँछन्, जो होनोलुलु सम्मेलनको विश्वव्यापी प्रतिक्रिया अठोट गर्ने दुस्साहस राख्दछन् ।

मैले रचना गरेका साहित्यमा स्वदेशीपन छैन । त्यसमा अन्तर्राष्ट्रिय बीज अङ्कुरित भएको छ । त्यसमा सार्त्र र सारोयान, ज्वायस र जिल्ड, मिलर र मोराक, जेनेट र दजाइको वीर्य मिसिएको छ । त्यो वर्णसङ्कर हो । तापनि, म गर्वसाथ भन्ने साहस गर्छु त्यो नेपाली हो, कारण त्यो मेरो गर्भमा अङ्कुरित भएको छ ।

र मेरो गर्भको रूप विश्वरूपको रूप हो ।

त्यसमा करोडौँ ओभम् छन् ।

त्यसमा करोडौँ स्पर्माटोजोआ छन् ।

कहिले कसैको ओभम्-शैलीसँग कसैको स्पर्म-विचार जोल्टिन पुग्छ । कहिले कसैको स्पर्म-शैलीसँग अर्कोको दर्शन ओभम् । यही गर्भको पाठेघर बीचमा म जन्मिने उपाय खोज्दै छु ।

त्यही पर्खालभित्र मेरो ढोका छ ।

त्यही बाटो नभएको अन्योलमा मेरो गोरेटो छ ।

र त्यही गोरेटोमा मेरो भविष्यको राजमार्ग छ ।

(लामिछानेको मदन पुरस्कार विजेता कृति ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’बाट । पूरा पुस्तक साहित्यपोस्ट एपमा उपलब्ध छ ।)

‘गुलजार ठूला विद्रोही कवि हुन्’ – सुदीप पाख्रिन

सुदीप पाख्रिन नाम सुन्नेबित्तिकै कविताको मीठो सुगन्ध हृदयको बगैंचामा मगमगाउँछ । उनका कविता कुनै बगैंचा जस्तो सुन्दर छन् । उनका कविता कुनै झरना झैँ पाठकको मानसपटलमा हाम फाल्छन् । उनका कविता सल्लेरी वनका रूखले एकैपटक कोरस गाए झैँ सुसाउँछन् ।  यी  सबै कुराको महसूस उनको कवितासङ्ग्रह`दगुरिहिँड्ने चौबाटो´ पढ्ने सबै पाठकले पक्कै गरेका छन् ।

उनको फेसबुकवाल कुनै कविताको वाटिका जस्तो लाग्छ्न् जुन अन्तर्राष्ट्रिय कविताले सुसज्जित छ । उनी विभिन्न भाषाका कवितालाई भावानुवाद गरेर नेपाली कविताप्रेमीलाई स्वाद चखाउन तल्लिन देखिन्छन् ।

भारतीय उच्चस्तरीय कवि  गुलजार जसका कविता काव्यको पाठशाला हुन् । कोमल विम्ब र संवेदनाको नरम भावनालाई कलाको इन्द्रेणी रंग भर्न खप्पिस गुलजारका कवितालाई सुदीप पाख्रिनले  नेपालीमा भावानुवाद गरेर पुस्तक प्रकाशन गरेका छन् । आजको पुस्तक वार्तामा उनै कवि सुदीप पाख्रिनसँग गुलजारका बारेमा संवाद गरेका छौं ।

सर्वप्रथम त नेपाली भाषामा गुलजारका कवितालाई अनुवाद गर्नुभएकोमा बधाई छ । कविताप्रेमीका लागि यो एउटा प्रसाद नै हो । गुलजारलाई यहाँले आफ्ना शब्दमा बयान गर्नपर्यो भने कसरी गर्नुहुन्छ ?

गुलजारका बारेमा केही भन्नुअघि म एउटा कथा भन्न चाहन्छु । म निश्चिन्त छु, यो कथाले सबैथोक भन्नेछ । कुरा अकबरका नौरत्नमध्ये एक तानसेनको हो । तानसेन भारतका महान् शास्त्रीय संगीतकारमध्ये एक हुन् । भनिन्छ, तानसेनसँग त्यो स्तरको संगीतको ज्ञान थियो, जसले बाजा बजाएरै र गाएरै पानी पार्न सक्थ्यो । दीप बालिदिन सक्थ्यो । त्यस्तो खूबी भएको गायक सङ्गीतकार एकदिन जङ्गल विचरणका लागि एक्लै गएका थिए । कलाकार मान्छे एक्लोपनको खोजीमा पनि थिए, शायद । उनी जङ्गलभित्र पस्दापस्दै निकै टाढा पुगे । साँझ पर्नपर्न लागेको थियो । चरा घर फर्कंदै थिए । जनावर आफ्नो बासस्थानतिर लागिरहेका थिए । उनले सोचे, ‘अबेर भयो । मैले पनि अब घर फर्कनु पर्छ ।’

उनी जसै घर फर्कन लागेका थिए, पर कतैबाट कसैले गाइरहेको आवाज आयो । त्यो गीत यति सूरमा र यति सुमधुर आवाजमा गाइएको थियो कि घरको बाटो फर्किन आँटेका तानसेन आवाजको बाटो भएर एउटा कुटीमा पुगे । त्यो कुटीमा एउटा साधुजस्तो मान्छे आँखा चिम्म गरेर एकधूनमा गाइरहेको थियो । तानसेन त्यहाँ पुगेर केही नबोली चुपचाप बसेर सुनिरहे । त्यो आवाजमा यति जादू थियो, जसलाई सुनेर तानसेनका रौं ठाडो भएको थिए । अतिरेक आनन्दले विभुत भएर तानसेनका आँखाबाट आँशुको धारा बगेको बगेकै थियो । गीत गाउँदा गाउँदै रात पर्यो । मध्य रात भयो । न गाइरहेको साधुले आँखा खोलेर गीत रोक्यो, न तानसेन नै त्यहाँबाट गीतबाट अघाएर उठे । बिहान हुनेबेला उसले गीत रोक्यो र आँखा खोल्यो । अगाडि उसले अश्रुपुरित आँखा लिएका तानसेनलाई देख्यो । तानसेनले बहुतै अधैर्य भई साधुको खुट्टा ढोगे र ग्वाम्म अङ्गालो हालेर भन्यो, ‘गुरु, तपाईंको स्थान यहाँ जङ्गलमा होइन । बरु, दरबारमा हो । जाऊ उतै । तपाईंले गाएर जुन परमआनन्दको झलक मलाई दिनुभयो, यो दुनियाँलाई दिनु पर्दछ । हजुरको ठाउँ यहाँ होइन । म हजुरको शिष्य भएर काम गर्न चाहन्छु ।’

उत्तरमा उक्त साधुले तानसेनको आग्रहलाई नकार्दै भन्यो, “हेर तानसेन । म अरु कसैका लागि गाउने होइन । आफ्नो लागि गाउने मान्छे हो । स्व–आनन्दको लागि गाउने मान्छे हो । जसरी चराहरू गाउँछन् । जसरी कीराहरू किर्किराउँदछ । जसरी बतासले सुसेल्दछ । जसरी झरनाले गुन्गुनाउँदछ । हो, म त्यसरी नै गीत गाउन चाहन्छु । मलाई बनावटीपनको त्यो दुनियाँमा जानु छैन । मलाई नबोलाउ ।”

मलाई गुलजार जङ्गलको त्यही साधु लाग्दछ । र, उसका कविताहरू साधुले गाएका त्यही गीत ।

गुलजारका कवितामा यहाँले भेटाउने सुगन्ध कस्तो हो ?

जङ्गलको शून्यता उनको कवितामा झन धेरै शून्य हुन्छ । उपवनको मोहकता अझ मोहक हुन्छ । प्रकृतिमा प्राकृतिकता झनै थपिए झैं हुन्छ । अहिले आएको एउटा निकै प्रचलित शब्द छ, अर्ग्यानिक । हो त्यही अर्ग्यानिकपन । अनुभूतिको अर्ग्यानिकपन । अझ यसरी भन्दा हुन्छ, गहिरो अनुभूतिको अर्ग्यानिकपन । यसरी, उनले शब्दहरूले कवितामा पेन्टिङ गर्दछ ।

उनको कवितामा जब झरना झर्दछ, हामीलाई कपडासहित पुरै शरीर भिजाउँद छ । बतास चल्छ, हाम्रो कपाल सुम्सुम्याएर जान्छ । घाम झुल्कन्छ, मनको कुना कुना उज्यालो बनाउँछ । विरोधका स्वरले नै पनि उनका कवितामा फूलजस्तै मुलायम छुने भएर आउँछ । अनुभूतिको यी अनुभवलाई सुदीपले अलिक बढी नै फ्यान्टेसाइज गर्यो भनेर सम्झिनुहुन्छ भने त्यही सही । म त त्यस्तै अनुभव गर्छु । र, त्यस्तै लेखें पनि ।

कविता चयन गर्दा के कुरालाई आधार बनाउनुभयो ?

मैले यी कविताको अनुवाद गर्ने काम किताबको रूपमा निकाल्छु भन्ने उदेश्यका साथमा गरेको थिइनँ । खासमा भन्ने हो भने गुलजारका कविताको प्रेममा थिएँ । प्रेमले नै उनका कविता अनुवाद गरिरहेका थिएँ । गर्दै गएँ । भाग्यवशः किताबको रूप दिने कविता तयार भएछन् । जब तयार भए, किताब किन ननिकाल्ने ? – भन्ने कुरा भयो । साँच्चै नै योजनागत रूपमा चयन गरिएका कविताको सङ्गालो होइन यो । किताबभन्दा बाहिर पनि अझैं मैले अनुवाद गरिसकेका थुप्रै कविता छन् । अँ, किताबको रूपमा आउने भएपछि कन्टेन्टका हिसाबले विविधता दिने प्रयासका साथ छानिएका कविता चाहिँ जरुर छन्- सङ्ग्रहमा ।

गुलजारलाई पढियो भने के पाइन्छ ? पढिएन भने के गुमाइन्छ

अनुभूतिका उपल्लो तहसम्म पुगेर गहिरो दर्शनजस्तै लाग्ने कविता रुमीका पनि छन् । अभिव्यक्तिमा प्रेमका वैशिष्ठ्यता अनुभूत गराउने पाब्लो नेरुदाहरू पनि छन् । समाजका तमाम कुरीति, विकृतिलाई दह्रो झापड हान्ने र नरम फूलले छोएझैं गर्ने तर विकृतिलाई उसैगरी सम्हालिन र सही हुन शक्तिशालीपूर्वक दबाव दिने ढङ्गका कविता लेख्ने पाश, सक्सेना, गिन्जवर्ग लगायतका संसारभरि थुप्रै कवि छन् । जसरी संसारभरि मान्छे छन् । सबै मान्छेका नाक मुख र शरीरका अन्य अरु अवयव छन् । र, ती सम्पूर्ण अवयव जुन जुन ठाउँमा हुनु पर्ने हो, त्यही त्यही ठाउँमै हुन्छन् । सबैका । र पनि, संसारभरिका मानिस एकै लाग्दैनन् । केही न केही हुन्छ । जसले सबलाई अरु सबैभन्दा पृथक् बनाएको हुन्छ । मलाई लाग्दछ, कविता पनि त्यस्तै हुन् । र, कवि पनि । अब तपाईंले गुलजारलाई भेट्न चाहनुहुन्छ भने गुलजारलाई नै भेट्न आवश्यक हुन्छ । किनकि, गुलजार त एकमात्रै छ ।

सिर्जनात्मक अनुवाद भनेको पुनर्सिजना पनि हो भन्छन् । यहाँले कविता अनुवाद गरिहँदा यो कुरा कत्तिको महसूस गर्नुभयो ?

वास्तवमै म आफूले आफैंलाई अनुवादक भन्नुभन्दा बढी लहडी अनुवादक भन्न रुचाउँछु । साँच्चै भन्ने हो भने शुरु शुरुमा, मैले पढेका र मलाई असाध्यै मन परेका, मलाई मनमा गहिरोगरी छोएका, मलाई भित्रैदेखि हल्लाएका अन्य अरु भाषाका कवितालाई, जसले ‘मलाई यसरी यति धेरै आनन्द दिएका कविता अन्य अरुलाई पनि पढाउन पाए ?’ भन्ने हुटहुटी चलिरहन्थ्यो । र, त्यही हुटहुटीले यो रहर र रहरले मलाई अनुवाद गर्न लगायो । सबैभन्दा धेरै गुलजार । झण्डै झण्डै उति नै अनुपातमा केदारनाथ सिंह । सर्वेश्वर दयाल सक्सेना, अमृता प्रीतम, आलोक धन्वा, अशोक बाजपेयी, नरेश सक्सेना, राजेश जोशी, अज्ञेय जस्ता भारतीय कवि र त्यस्तै केही अन्य देशका कविका कविता पनि अनुवाद गरेको छु ।

अझै धेरै अनुवादको काम मैले ‘लकडाउन’ को समयमा गरेको छु । प्रायः अनुवादको काम मैले त्यो बेला गरेको छु जुन बेला सिर्जनागत रूपमा शून्य भएको हुन्छु । जुन बेला आफैंले कुनै सिर्जना गर्न नसकिरहेको हुन्छु। त्यो बेला लेख्न नसक्नुको फ्रस्टेशनलाई आफूलाई मन परेका कविता अनुवाद गरेर फुलफिल गरेको हुन्छु । यति कुरा मैले बताउनै पर्ने हुन्छ कि आफूलाई मन परेका ती कवितालाई अनुवाद गरिसकेपछि र ती अनुवादित कविताबाट आफूलाई चित्त बुझेपछि त्यही तहमा आनन्दित भएको छु । जुन तहको आनन्द आफ्नै कविता सिर्जना गरिरहेको समयमा भएको छु ।

गुलजारका कविता अनुवाद गरिरहँदा यहाँलाई कविता लेख्ने प्रेरणा कत्तिको मिल्यो ?

कुनै पनि सिर्जनाको शक्ति तब पनि देखिन्छ, जब त्यसले अर्को कुनै सिर्जनाको लागि उत्प्रेरणा जगाउँदछ । गुलजारका कविता अनुवाद गरिरहँदाभन्दा बढी चाहिँ मैले पढिरहँदा ती कविताको उत्प्रेरणाले केही कविता लेखेको छु ।

गुलजारले आफ्ना कवितामा विचार र कलामा कुन पक्षलाई बढी प्राथमिकता दिएको पाउनुभयो ?

गुलजारका कवितामा विचार र कलाको सन्तुलन बडो गज्जबको लाग्छ, व्यक्तिगत रूपमा । वैचारिकीका हिसाबले उनी प्रेमका प्रखर विचारक हुन् । यो सम्पूर्ण अस्तित्वलाई, प्रकृतिलाई, मानवीयतालाई, छुटेर गएको समयलाई, वर्तमानलाई, भविष्यलाई, स्वयंलाई, आफ्नो प्रेमलाई र त्योभन्दा पनि बढी प्रेमलाई प्रेम गरिरहनु नै कविको वैचारिकी पक्ष हो । र, यो वैचारिकता गुलजारका प्रत्येक कवितामा कलासँगसँगै अटेसमटेस गरी भरिएको छ ।

र, मलाई अर्को गज्जबको कुरा, एकअर्कालाई दुश्मन देखिरहेको यो समाजमा, लडाइँमा उद्धत र त्यसैमा रमाइरहेका यो संसारमा कोही मान्छेले यी सबै कुरासँग यसरी कसरी एकोहोरो प्रेम गरिरहन सक्दछ ? यति धेरै प्रेम कहाँबाट ल्याउँछ होला कवितामा, गीतमा, सिर्जनामा ? साँच्चै भन्ने हो भने घृणाले भरिएको यो दुनियाँमा प्रेम गर्नु र गरिरहनुभन्दा ठूलो विद्रोह अरु केही हुन सक्दैन । यही अर्थमा भन्ने हो भने गुलजार ठूला विद्रोही कवि हुन् ।

पुस्तक प्रकाशन गर्नु भनेको प्राविधिक कुरा पनि हो । अनुवाद गर्नका लागि अनुमति लिनेदेखि प्रकाशकसम्मको खोजको कथा सुनाउनोस् न ?

यो किताब आजभन्दा ७ वर्षअघि नै आइसक्नु पर्ने थियो खासमा । त्यसयता यो निकाल्न कति पापड बेल्यौं । अनुमतिका लागि गुलजारसम्म पुग्न, उहाँको एजेण्टसम्म पुग्न वास्तवमै फलाम चपाउनुजस्तै थियो । यो दुःख मेरो आफ्नै सङ्ग्रह ‘दगुरिहिँड्ने चौबाटो’ को दोस्रो संस्करणका प्रकाशक दार्जिलिङको ‘हाम्रो किताबघर’ को साथी छेवाङ योन्जन र उनको टीमलाई थाहा छ । किताब प्रकाशन गर्ने अनुमति पाउन गुलजार र उहाँको टीमसम्म पुग्न नसक्नुको दुःख मैलेभन्दा बढी त उहाँहरूले बताउन सक्नुहुन्छ । त्यसपछि यो किताब प्रकाशन गरिदिने जिम्मा उठाउनुभएको थियो फाइनप्रिन्टका मेरो मित्र अजित बराल र उहाँको टीमले । अझ बढी त उहाँलाई थाहा छ । उहाँहरूले पनि करिब दुई वर्षको कोशिशपछि मात्रै करीब–करीब हार खाइसकेपछि एकदिन अजितज्यूले म्यासेज गर्नुभएको म कहिले बिर्सन सक्दिनँ । उहाँको म्यासेज थियो, ‘सुदीपजी, हामीले प्रकाशनको अनुमति पायौं । अब काम गर्नुपर्छ ।’

कविता : चिया मजदुर

ऊ एक मजदुर हो
चिया बगानको
जो सदियौंदेखि सिँचेर पसिना माटोमा
उमार्छ हरियो बोट
र, पिलाउँछ देशका नागरिकलाई
आफ्‌नै मेहनतको गाढा रङ्गको चिया

तर, बिलकुल खुसी छैन ऊ
वञ्चित छ नागरिकताबाट पुस्तौंदेखि
‘क’, ‘ख’, ‘ग’ पढ्ने मुनाहरू गन्दै छन् चियाका पात
तिनै पातसँगै चुँडाइरहेछन् आफ्‌नै भविष्य
सुकाइरहेछन् आफ्‌नो पहिचान र नाम
आदिमकालदेखि नै

सरकार,
केही त सोच
उनीहरूले आफ्‌नै जिन्दगीको रङ्ग
चढाएका छन् चियाका पातमा
उनीहरू पनि नागरिक हुन् यही देशका !

 

पर्या कविता : परिवेश विज्ञानको एक समाचार: वैश्विक तापमान वृद्धि हुँदैछ

एउटै मात्र आकाश— सुन्दर
नीलो, कति विशाल !

नदीहरू धेरै, पहाड–पर्वत–मरुभूमि
असङ्ख्य जङ्गलहरू…
तर अन्धा, अहङ्कारी गणदेवताको
हातौडाले
आज बलात्कृत नदी, बलात्कृत कुमारी
प्रकृति ।

तप्त गलित लोहा जस्तो खाऊँ–खाऊँ
गर्ने साइमुम¹,
मरुभूमिले छाएको छ पृथ्वीको
भूगोल र आत्मा ।

(विज्ञानको पछिल्लो
समाचार— वैश्विक तापमान बढ्दैछ यो जाडो मौसममा पनि
हिमनदीहरू पग्लिरहेका छन्
सूर्यहीन ध्रुव क्षेत्रमा ।)

हामीले बिर्सियौँ, रुख–बिरुवामा पनि
जीवन हुन्छ ।
हामीले बिर्सियौँ, रुखले पश्वास
लिन्छ
प्रश्वासमा हामीलाई जीवन
दिन्छ ।

हामी जान्दैनौँ भोलि के हुनेछ, हामी जान्दैनौँ मृत नदी, मेघहीन
श्वेत आकाशले छाती पिटीपिटी
वरुण देवताको ढुङ्गे चरणमा रुनेछ ।
नक्षत्र र नक्षत्रहरूको
बिचमा अचानक तानातान हुनेछ
एक थोपा अक्सिजनको
लागि ।

वैज्ञानिकहरूले अचानक
बिर्सनेछन् जलहीन नदीको नाम
पंक्षीहीन, गीतहीन जङ्गलको बाटो
कार्बन–डाइ–अक्साइडका दुई
अदृश्य अणुका लागि
बेमौसममा रुखहरूको इच्छामृत्यु ।

हाहाकार गर्दै मर्नेछ कविताभन्दा
पनि सुन्दर
चन्द्रमा जस्तै मोहक, कलात्मक यो
दुर्लभ
जीवन ।

¹साइमुम = तातो, सुक्खा, धुलो लादेको हावा ।

मूल असमिया पर्या कविता: रुद्र सिंह मटक

अनुवाद: डा. देवेन सापकोटा

गजल : सदा सिर्जनाको

सदा सिर्जनाको समाएर औँला
म हामी बनौँला, यो सागर तरौँला ।

तिमी साफ कञ्चन बनी बस्नू गङ्गा
सुनौला लहरले म बुट्टा भरौँला ।

रहेसम्म जीवन सकेसम्म सुन्दर
रहरका सितारा सजाई रहौँला ।

उषाकाल फुल्ने तिमी शीत बन्दा
म वातावरणको पुजारी बनौँला ।

सलेदो म बन्दा तिमी दीप बन्नू
सधैँ यो जगत्‌मा उज्यालो छरौँला ।

कविता : भेरी अभिशप्त बगिरहेछ

थाहा छैन,
कति हजार वर्षदेखि यो सुसाइरहेछ यसरी ।

भेरीको यो भावुक सुसाइ
कर्नालको दारुण रोदनजस्तो होइन
बैंकिनीको आँसुले भिजेको
देउडाको विरहजस्तो पनि होइन
र होइन, दुर्गम देउरालीमा
भारी टेकाएका हटारुहरूको सुस्केराजस्तो ।

यो,
आदिम सुखको कष्टपूर्ण अवतरण हुनुपर्छ
सुक्खा पाटनबाट अर्धजीवित
यार्सासँगै उखेलिएको माँगलको मूर्छित आलाप हुनुपर्छ ।

पत्थरको कार्पेट भएर
बगिरहने कुनै आदियोगीको अविराम तीर्थाटनजस्तो
कसका आसुहरू हुन् यी कहिल्यै नसुक्ने !
माथि त्यो दुर्गम आकाशमुनि
को हो त्यो सिङ्गो युगभर रोएर कहिल्यै नथाक्ने ?

भेरीकै औंला छोपेर रुँदै किनारै किनार
छोरेट्टाहरूले गाउँ छोडे
छोरेट्टीहरूले छाउ छोडे
देहात पुगे कि दिल्ली
कारगिल छिरे कि कालापहाड !

सरायँ नाच्ने यी गहिरा छाल लहरहरू ।
घरदेशले पानीकै पन्नामा
अलिना आँसुले लेखेको चिठ्ठी हुनुपर्छ ।

भोकमरीको भुङ्ग्रोबाट सल्किँदै सल्किँदै
भेरीको अँगालोमा हाम फालेका सुत्केरी आमाहरू,
लोग्नेले छोडेको
बम्बैया बिमारले गलेका श्रीमतीहरू
बहावभित्रै ढुङ्गा भएर धस्सिएको हुनुपर्छ ।

माछाका भूरा छोप्दाछोप्दै किनारमा
पानीकै पासोले अठ्याएर
पानीकै ओछ्यानमा निदाएका कुपोषित नानीहरू
बग्दै बग्दै
बालुवाकै विस्तारामा नर्कट भएर सडेको हुनुपर्छ ।

कहिले कसो यो धमिलो बग्ने भेरी
भाका बस्ने सुन्दरीको
अभिशप्त जीवनमा खसेको पर्यटक पहिरो हुनुपर्छ
कुहिएर पाठेघर, बगेको पिप हुनुपर्छ ।

सुनेको हुनुपर्छ धेरैले भेरी रातो बगेको
सदियौंदेखि जात बोकेर अग्लिएका यी किनारहरू
आपसमा टकराएर रगताम्मे भएको हुनुपर्छ समाज
सभ्यताकै उन्नत समयमा न्याय मरेको हुनुपर्छ
र बगेको हुनुपर्छ – मानवताको आलो लास ।
थाहा छैन,
कति हजार वर्षदेखि यो
बगिरहेछ यसरी नै ।

चरक्क चिरेर सिमाना
विद्रुप बगेको भेरीका भयानक घाटहरूमा
प्रेम बोकेर फेरीहरू नचलेका होइनन्
वार-पार नगरेका होइनन् सम्बन्धका काठे डु‌ङ्गाहरू ।

तुइनमा झुन्डिएरै पनि
आगो नसाटेका होइनन् मलामीले विपत्तिमा
झोलुङ्गे तरेर
जन्ती ननाचेका पनि होइनन् मानिसहरूले ।

तर,
आँसुको भोक खाने बानी परेको भेरीलाई
कहिलेसम्म चढाइरहनु
क्षतिग्रस्त घडीका विषादमय पलाहरू

यो भेरी,
अब निख्खर सलो भएर बगे हुँदैन ?

बैकिनी : महिला, आइमाई ।
माँगल : कर्णाली क्षेत्रमा महिलाले गाउने गीत ।
छोरेट्ट : छोरा ।
छोरेट्टी : छोरी ।
अलिना : नुन नभएको, बित्याइनो ।
भाका बस्ने भेरी किनारका बादी महिलाले शारीरिक सम्बन्धका लागि प्रयोग गर्ने कोडभाषा ।
फेरी : नदीमा मानिस र सामान वारपार गराउने एक प्रकारको डु‌ङ्गा ।