नियात्रा : मनमौजी मोन्टेनेग्रोइयनहरू
मोन्टेनेग्रो जाने कुरा पक्का हुनासाथ मलाई अचानक मेरो एक पुरानो साथीको याद आयो । म्यासेन्जरमा कुरा हुँदा थाहा भयो, उनी अहिले टान्जानियामा व्यापारमा निकै व्यस्त रहेछन् । केही वर्षअघिसम्म हाम्रो रेस्टुरेन्ट नजिकै उनको गाडी धुने ग्यारेज थियो । उनले केही नेपालीहरूलाई पनि काममा राख्ने गर्थे । आफ्ना हुर्किसकेका चार छोराहरूसँग उनी प्रायः लन्चको लागि हाम्रो रेस्टुरेन्ट आउँथे भने कहिलेकाहीँ त पूरै परिवार र साथीभाइ मिलेर डिनर गर्न पनि आउने गर्थे । देश आउँदा-जाँदा उनी जिस्कँदै भन्थे, “तिम्रो जस्तो राम्रो रेस्टुरेन्ट यदि मोन्टेनेग्रोमा चलाउन पाए त कति मज्जा हुन्थ्यो!”
कोसोभो पार गर्दै हाम्रो बस मोन्टेनेग्रोतर्फ अघि बढ्दै गर्दा बाहिरको दृश्य बिस्तारै बदलिँदै गयो । पहाडहरू नजिक आउँदै थिए, सडकहरू साँघुरा र घुमाउरा बन्दै गए, अनि कता–कता टाढाबाट एड्रियाटिक समुद्रको एउटा मधुरो झलक देखिन थाल्यो । त्यही बेला गाइडले अचानक मोन्टेनेग्रोका मानिसहरूको स्वभावबारे कुरा चलाए । उनको शैलीमा ठट्टा र अनुभव दुवै मिसिएको थियो । उनले भन्न थाले, “यहाँ समय घडीले होइन, मान्छेको मनले चलाउँछ । काम त सुरु हुन्छ, तर कहिले सकिन्छ भन्ने कुरा कुनै योजनाले होइन, परिस्थिति र मान्छेको मुडले तय गर्छ ।”
शुरूमा हामी सबैले सामान्य रूपमा सुनिरहेका थियौँ, तर गाइडले कथा सुनाउने शैली बदल्दै जाँदा माहोल नै रमाइलो भयो । उनले ठट्टा गर्दै भने, “यहाँ घर बनाउने कुरा गर्नु भनेको भविष्यको काल्पनिक कथा सुनाउनु जस्तै हो ।” बाहिर
ठूला-ठूला भवनहरू निर्माण भइरहेका थिए । कतिपय अधुरा थिए, कतिपय आधा मात्र बनेका, त कतिपय त यति धेरै समयदेखि बनिरहेका थिए कि स्थानीयहरूले त त्यसलाई जिस्क्याउने विषय नै बनाइसकेका रहेछन् । गाइडले हाँस्दै भने, “यो घर बनाउन सुरु भएको कति वर्ष भइसक्यो, तर अहिलेसम्म यसलाई ‘लगभग सकिन लागेको’ नै भनिन्छ ।” यो सुनेपछि बसभित्र सबैजना गलल हाँसे ।
अर्को ठाउँमा सडक मर्मत भइरहेको थियो, जहाँ काम निकै सुस्त गतिमा भइरहेको देखिन्थ्यो । गाइडले फेरि चुटकिला हाल्दै भने, “यहाँ सडक बनाउनु भनेको योजना बनाउनु होइन, बरु सम्बन्ध गाँस्नु हो । काम कहिले सुरु हुन्छ भन्ने त थाहा हुन्छ, तर कहिले सकिन्छ भन्ने कुरा त इतिहासले मात्र थाहा पाउँछ ।” हामी हाँसिरहेका थियौँ, तर त्यो हाँसोभित्र एउटा गहिरो सत्य पनि लुकेको थियो । यो देशको जीवनको गति नै बेग्लै छ, जहाँ दौडिनुभन्दा पनि धैर्य गर्न सिक्नुपर्छ ।
बस अझै अगाडि बढ्दै जाँदा गाइडले मोन्टेनेग्रोको जीवनशैली बुझाउन केही रमाइला कुराहरू सुनाउन थाले । उनले यसलाई ‘दस अटल नियम’ भने, तर ती कुनै कानूनी नियमभन्दा पनि जीवनलाई सहज बनाउने एउटा सामाजिक दर्शन जस्तो सुनियो । उनले भने, “मान्छे थकित भएर जन्मिन्छ, त्यसैले जीवनको मुख्य उद्देश्य नै आराम गर्नु हो । दिनभरी आराम गर ताकि राती मजाले सुत्न सकियोस्, काम जीवनको केन्द्र होइन, जीवन त एउटा लामो विश्राम हो । यदि कोही आराम गरिरहेको छ भने उसलाई बाधा पुऱ्याउनु त अपराध नै हो । यदि कसैलाई अचानक काम गर्ने इच्छा जाग्यो भने पनि त्यसलाई तुरुन्तै गम्भीरतापूर्वक नलिनु किनकि केही बेर पर्खियो भने त्यो भावना आफैँ हराएर जान्छ ।”
उनले थप्दै गए, “अरूले खाँदै-पिउँदै गरेको देखियो भने नजिक जानु तर कोही काम गरिरहेको छ भने बाधा नपुग्ने गरी टाढै बस्नु, आफ्नो ओछ्यानलाई आफ्नै शरीर जस्तै माया गर्नु, धेरै काम गर्दा मान्छे बिरामी हुन्छ, चाँडै मर्नु त राम्रो होइन, तर आराम गर्दा अहिलेसम्म त कसैको मृत्यु भएको छैन !”
कोसोभो काटेर मोन्टेनेग्रो प्रवेश गर्दा सडक किनारमा साना-साना गाउँहरू देखिन थाले । कतै मानिसहरू कफी पसलमा बसिरहेका थिए त कतै सडक छेउमा चुपचाप गफ गरिरहेका । त्यहाँ कुनै हतारो थिएन, कुनै दौडधुप थिएन, जीवन आफ्नै शान्त लयमा चलिरहेको थियो । गाइडले भने, “यहाँ मान्छेहरू समय बचाउन होइन, समयसँगै रमाउन सिक्छन् । यहाँ कफी पिउनु भनेको केवल कफी पिउनु मात्र होइन, जीवनलाई केही बेर रोकेर नियाल्नु पनि हो ।”
बस अगाडि बढ्दै जाँदा सडक किनारमा हिँडिरहेका केही युवाहरू देखिए । उनीहरू असाध्यै अग्ला देखिन्थे । मैले गाइडलाई जिज्ञासापूर्वक सोधें । उनी हल्का मुस्कुराउँदै भने, “बाल्कानका मानिसहरू स्वभावैले अग्ला हुन्छन्, तर मोन्टेनेग्रोका पुरुषहरू त युरोपमै सबैभन्दा अग्लामध्ये पर्छन् ।” गाइडले थपे, यसबारे विभिन्न अध्ययनहरू पनि भएका रहेछन् । डिनारिक आल्प्स क्षेत्रमा बसोबास गर्ने मानिसहरूको औसत उचाइ युरोपकै शीर्ष स्थानमा पर्छ भन्ने निष्कर्ष धेरै अनुसन्धानहरूले देखाएका रहेछन् ।
केही बेरपछि बस फेरि पहाडको मोडतर्फ मोडिँदै जाँदा गाइडको स्वर फेरि रमाइलो बन्यो । उनले हाँस्दै भने, “तपाईंहरूले दौड प्रतियोगिता, पौडी प्रतियोगिता वा साइकल दौड त सुन्नुभएको होला, तर मोन्टेनेग्रोमा त सुत्ने प्रतियोगिता पनि हुन्छ ।”
उनले थपे, “यहाँ जो सबैभन्दा लामो समयसम्म पल्टिएर बस्न सक्छ, उसैले जित्छ ।” शुरूमा यो मजाक जस्तो लाग्यो, तर पछि थाहा भयो यो साँच्चै हुने एउटा अनौठो प्रतियोगिता रहेछ, जसलाई यहाँको आरामप्रेमी जीवनशैलीको प्रतीकको रूपमा पनि हेरिन्छ । गाइडको कुरा सुन्दा लाग्थ्यो, मोन्टेनेग्रोमा जीवनलाई दौड होइन, विश्रामको रूपमा बुझिन्छ । यहाँ सफलता हतारमा होइन, धैर्यमा खोजिन्छ । र सायद यही कारणले यहाँका मानिसहरूलाई संसारले “आरामप्रेमी” भनेर चिन्ने गरेको रहेछ ।
उक्त दिन यात्राको अन्त्यमा बास बस्ने ठाउँमा पुग्नुअघि गाइडले बिदा माग्दै भने, “मोन्टेनेग्रो एउटा सानो देश हो, तर यसको वास्तविक जीवन बुझ्न भने निकै ठूलो धैर्य चाहिन्छ ।”
ऐतिहासिक रूपमा हेर्दा, मोन्टेनेग्रोले सदियौँसम्म ओटोमन साम्राज्यको दबाब र प्रभावका बीच पनि आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक अस्तित्व जोगाइराख्ने संघर्ष गर्दै आएको देखिन्छ । यहाँको कठिन पहाडी भू–भागका कारण बाहिरी शक्तिहरूले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकेनन् र जनताले आफ्नो स्वतन्त्र चेतना कहिल्यै डगमगाउन दिएनन् ।
यही पृष्ठभूमिमा लामो समयसम्म धार्मिक नेतृत्व र राज्यशक्तिको मेलबाट बनेको ‘थियोक्रेटिक’ शासन प्रणाली विकसित भयो । यही ऐतिहासिक कालखण्डमा पेटार द्वितीय पेट्रोभिच-न्येगोस जस्ता प्रभावशाली व्यक्तित्वहरू देखा परे, जसले शासन मात्र होइन, साहित्य र दर्शनमार्फत राष्ट्रिय चेतनालाई पनि गहिरो रूपमा आकार दिए । उनको कृति ‘The Mountain Wreath’ आज पनि मोन्टेनेग्रोको राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवको प्रमुख प्रतीक मानिन्छ ।
आधुनिक राजनीतिक इतिहासमा मोन्टेनेग्रोको यात्रा उतारचढावपूर्ण रह्यो । सन् १९१८ मा यो सर्बियासँग मिलेर युगोस्लाभियाको हिस्सा बनेपछि यसको छुट्टै राष्ट्रिय पहिचान ठूलो संघीय संरचनाभित्र केही हदसम्म ओझेलमा पर्यो । यद्यपि, स्वतन्त्रताको चाहना कहिल्यै कम भएन ।
अन्ततः सन् २००६ को जनमतसंग्रहमार्फत देशले निकै कम अन्तरले शान्तिपूर्ण रूपमा पुनः पूर्ण स्वतन्त्रता प्राप्त गर्यो । बाल्कान क्षेत्रका अन्य धेरै देशहरूमा देखिएको हिंसात्मक विघटनको तुलनामा मोन्टेनेग्रोको यो प्रक्रिया निकै शान्त र व्यवस्थित भएकाले अन्तर्राष्ट्रिय जगतले यसलाई एउटा सकारात्मक उदाहरणका रूपमा हेरेको थियो ।
स्वतन्त्रता प्राप्त गरेदेखि नै मोन्टेनेग्रो युरोपेली संस्थाहरूसँग नजिकिँदै आएको छ । अहिले यो देश युरोपेली संघको सदस्यता पाउन उत्सुक उम्मेदवार राष्ट्र हो भने सन् २०१७ देखि ‘नेटो’को पूर्ण सदस्य पनि बनिसकेको छ । सन् २०११ मा युरोलाई आधिकारिक मुद्राको रूपमा अपनाएपछि यहाँको आर्थिक स्थिरता बढेको छ र युरोपेली बजारसँगको सम्बन्ध पनि निकै बलियो भएको छ । यद्यपि, आन्तरिक राजनीतिमा युरोपेली एकीकरण र राष्ट्रिय पहिचानको सन्तुलनलाई लिएर बहस अझै कायमै छ, जसले गर्दा यहाँको राजनीतिक वातावरण जटिल भए पनि निकै गतिशील छ । हामीले भ्रमण गरेका चार बाल्कान राज्यहरूमध्ये सम्भवतः यसले सबैभन्दा पहिला नै ईयू (EU) मा प्रवेश गर्नेछ ।
भौगोलिक हिसाबले हेर्दा मोन्टेनेग्रो एकदमै रोचक र विविध देश हो, जहाँ एकैतिर समुद्रको किनार त अर्कोतिर अग्ला पहाडका शृङ्खलाहरू भेटिन्छन् । ‘मोन्टेनेग्रो’ नामको अर्थ ‘कालो पहाड’ हो । यो नाम इटालियन भाषाबाट आएको हो, जहाँ ‘मोंटे’ भन्नाले पहाड र ‘नेग्रो’ भन्नाले कालो भन्ने बुझिन्छ । स्थानीय भाषामा यसलाई “Crna Gora” भनिन्छ, जसको अर्थ पनि त्यही हो । समुद्रबाट हेर्दा यहाँका घना जङ्गलले ढाकिएका पहाडहरू कालो देखिने हुनाले यो नाम राखिएको मानिन्छ ।
एड्रियाटिक तटमा रहेको ‘बे अफ कोटोर’ विश्वकै सुन्दर प्राकृतिक खाडीहरूमध्ये एक हो, जसलाई युनेस्कोले पनि विश्व सम्पदा सूचीमा राखेको छ । कोटर र बुड्भा जस्ता ऐतिहासिक तटीय शहरहरूमा मध्ययुगीन वास्तुकला र आधुनिक पर्यटनको एउटा अद्भुत संगम देख्न सकिन्छ । यहाँका पुराना बस्तीहरूलाई अझै पनि ऐतिहासिक किल्लाहरूले घेरेर राखिएको छ, जसले गर्दा यी ठाउँहरू आज पनि पुरानै स्वरूपमा झल्किन्छन् । साथै, यहाँका सडकहरूमा यताउता दौडिने असंख्य बिरालाहरू पनि पर्यटकका लागि एउटा छुट्टै आकर्षण बनेका छन् ।
आर्थिक रूपमा मोन्टेनेग्रो मुख्यतया पर्यटन र सेवा क्षेत्रमा आधारित छ । यहाँका मनमोहक दृश्य, समुद्री तट र ऐतिहासिक सम्पदाले हरेक वर्ष लाखौँ पर्यटकलाई आकर्षित गर्छन् । विशेषगरी गर्मी महिनामा यहाँ स्थानीय भन्दा बाहिरका पर्यटकहरूको चहलपहल बढी हुन्छ । पर्यटनका साथै ऊर्जा, रियल इस्टेट र साना–मझौला व्यवसायहरू पनि अर्थतन्त्रका बलिया आधार बनेका छन् । तर, औद्योगिक उत्पादनको कमी, बेरोजगारी र पर्यटनमा मात्रै धेरै निर्भर हुनु जस्ता चुनौतीहरू अझै बाँकी छन्, जसले गर्दा अर्थतन्त्रमा मौसम अनुसार उतारचढाव आउने गर्छ ।
करिब ६ लाखको जनसंख्या भएको यो देश जातीय रूपमा निकै विविधतापूर्ण छ । यहाँ मोंटेनेग्रिन, सर्ब, बोस्नियाक, अल्बानियन र क्रोएसियन समुदायका मानिसहरू मिलेर बसेका छन् । यो सांस्कृतिक विविधताले यहाँको सामाजिक संरचना र राजनीतिलाई निरन्तर प्रभाव पारिरहेको छ ।
राजधानी पोडगोरिका देशको प्रशासनिक र आर्थिक केन्द्र हो, जहाँ शहरीकरण निकै तीव्र गतिमा भइरहेको छ । १३,८१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मोन्टेनेग्रो युरोपकै साना देशहरूमध्ये एक भए पनि यसको प्राकृतिक सुन्दरता भने निकै विशाल छ । युनेस्को सूचीमा परेको डर्मिटर क्षेत्रका अग्ला हिमालहरू र तारा नदीको गहिरो गल्छीले यो देशलाई प्रकृतिको वरदान दिएको छ । विशेषगरी तारा नदीको क्यान्यन युरोपकै सबैभन्दा गहिरा क्यान्यनहरूमध्ये एक हो, जसको गहिराइ करिब १,३०० मिटरसम्म पुग्छ ।
खानपान र पाहुना सत्कारको कुरा गर्दा मोन्टेनेग्रोको आफ्नै मौलिक शैली छ । नेगुश्की प्र्शुत (सुकाइएको ह्याम) र स्थानीय पेय राकिया (रक्सी) यहाँका परम्परागत स्वाद हुन् । यहाँको सामाजिक संस्कृतिमा पाहुनालाई आदर गर्नु निकै महत्त्वपूर्ण मानिन्छ; आगन्तुकलाई भोजन र पेय पदार्थ दिएर स्वागत गर्नु यहाँको एउटा अनिवार्य परम्परा जस्तै हो ।
सांस्कृतिक रूपमा बाल्कान क्षेत्रमा प्रचलित ‘स्लाभा’ परम्परा यहाँ निकै महत्त्वपूर्ण छ । यसमा परिवारहरूले आफ्ना संरक्षक सन्तको सम्मानमा वार्षिक रूपमा पूजा र भोजको आयोजना गर्छन् । यो केवल धार्मिक अनुष्ठान मात्र नभई पारिवारिक एकता र आफ्नो पहिचान जोगाउने एउटा माध्यम पनि हो ।
वर्तमान समयमा राम्रो अवसर र कमाइको खोजीमा धेरै युवाहरू निर्माण, सेवा र पर्यटन क्षेत्रमा काम गर्न जर्मनी, इटाली र स्लोभेनिया जस्ता युरोपेली देशतर्फ पलायन भइरहेका छन् ।
अर्कोतर्फ, गर्मीयाममा पर्यटन बढ्ने भएकाले होटल र रेस्टुरेन्टहरूमा काम गर्न अल्बानिया, सर्बिया र बोस्नियाबाट कामदारहरू यहाँ आउँछन् । केही मात्रामा भारत, नेपाल, फिलिपिन्स र उत्तर अफ्रिकाबाट पनि सिजनल कामदारहरू आउने गर्छन्, तर उनीहरूको संख्या खासै ठूलो भने छैन । यहाँको बेरोजगारी दर युरोपेली संघका अन्य देशको तुलनामा मध्यमदेखि उच्च (करिब १२-१५%) छ ।
मोन्टेनेग्रोको यात्रा गर्दै गर्दा मलाई बारम्बार एउटा कुरा महसुस भयो । यो देशलाई तथ्याङ्क, नक्सा वा इतिहासका पुस्तकबाट मात्र बुझ्न सकिँदैन । यसलाई साँच्चै बुझ्न यहाँका पहाडहरू, समुद्र, पुराना गल्लीहरू, कफी पसलहरू र मानिसहरूको जीवनलाई नजिकबाट महसुस गर्नुपर्छ । सायद यही कारणले गर्दा बाल्कानको यो सानो देश संसारका धेरै पर्यटकहरूका लागि एउटा अचम्मको गन्तव्य बनेको छ ।
सुसेली साहित्यिक प्रतिष्ठानद्वारा दयाराम श्रेष्ठ सम्मानित
काठमाडौं । समालोचक, आख्यानकार तथा साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ प्रदान गरिएको छ ।
सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीद्वारा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सभापति रामराजा केसीको सभापतित्वमा प्रा. डा. श्रेष्ठलाई नगद ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र, दोसल्ला, टीका तथा मालासहित सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोहन बस्नेतले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । प्रतिष्ठानकाे उपाध्यक्ष रजनी खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा केदारनाथ आचार्य र पुष्कर पराजुलीले स्वस्तिवाचन गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वको परिचय चन्द्रलाल तामाङले गराउनुभएको थियो भने सम्मानपत्र बद्री कार्कीले वाचन गर्नुभएको थियो । साहित्यकार किशोर पहाडीले सम्मानित स्रष्टालाई टीका लगाइदिनुभएको थियो भने नगरप्रमुख बस्नेतले माला अर्पण गर्नुभएको थियो । प्रतिष्ठानका सभापति रामराजा केसीले नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्याउने शशि शर्मा अर्याल, केदारनाथ आचार्य, रामकुमार बस्नेत, बद्री कार्की, राजकुमार केसी तथा सरोज बलामीलाई कदरपत्र प्रदान गरिएको थियो । साथै दक्षिणकाली नगरपालिका क्षेत्रभित्र पुस्तक प्रकाशन गरी साहित्यिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न स्रष्टाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
यस अवसरमा दक्षिणकाली नगरपालिका तथा वडा नम्बर ४ र ५ लाई साहित्यिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शशि शर्मा अर्याल, केदारनाथ आचार्य, साहित्यकार किशोर पहाडी, सम्मानित स्रष्टा प्रा. डा. दयाराम श्रेष्ठ तथा प्रमुख अतिथि मोहन बस्नेतले मन्तव्य व्यक्त गर्दै साहित्य, शिक्षा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
कार्यक्रमको पहिलो चरण रीता बलामीले सञ्चालन गर्नुभएको थियो । सभापति रामराजा केसीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा साहित्यिक कार्यक्रमसँगै प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो चरणमा सविता केसीको सञ्चालनमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी तथा साहित्यकारहरूले कविता, गजल, मुक्तक, सुसेली, खोरिया तथा अन्य सिर्जनात्मक रचनाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
रचना वाचनमा सहभागी विद्यार्थी तथा स्रष्टाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा दक्षिणकाली क्षेत्रका जनप्रतिनिधि, शिक्षक–शिक्षिका, साहित्यकार, विद्यार्थी तथा साहित्यप्रेमी गरी १२० भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
राजेशको ‘मुटु फलामको भएर’ सार्वजनिक
काठमाडौं । अग्रज कवि राजेश ढुंगानाको नवीनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, कृष्ण धारावासी, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक तथा कवि राजेश ढुंगाना दम्पतिले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै विगतका साहित्यिक तथा राजनीतिक योगदानको स्मरण गर्नुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका पक्षमा ढुंगानाले लेखनमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ढुंगानालाई मितव्ययी भाषामा गहिरा भाव व्यक्त गर्न सक्ने कविका रूपमा चित्रित गर्नुभयो । उहाँका अनुसार कवितामा विद्रोह, असन्तुष्टि, प्रेम, मृत्युचिन्तन, देशचिन्तन तथा समयचेतनाका विविध स्वर अभिव्यक्त भएका छन् ।
साहित्यकार कृष्ण धारावासीले कवि ढुंगानासँग बिताएका बाल्यकालीन स्मृति साझा गर्दै उहाँलाई लोकतान्त्रिक चेतनाले सम्पन्न, दृढ अडान भएका स्रष्टाका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले पत्रकारिता, मुक्तक, गीत र कविताका क्षेत्रमा ढुंगानाको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक तथा कवि मीना ढुंगानाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सार्वजनिक कृतिबाट सुधा शर्मा, राजेश खनाललगायतले कविता वाचन गर्नुभएको थियो ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले छोटा कवितामा पनि गहिरो शक्ति र प्रभाव रहने तथ्य ढुंगानाका कविताले प्रमाणित गरेको बताउनुभयो । उहाँले साहित्य क्षेत्रमा पुरस्कार र सम्मानका नाममा देखिएको अस्वस्थ प्रतिस्पर्धाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।
मधु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘अभियान चिबाखं’ लघुकथासङ्ग्रह सार्वजनिक
काठमाडौं । सिर्जना अभियान समाज र नेपालभाषा चिबाखं साहित्यको संयुक्त आयोजनामा सामूहिक लघुकथासङ्ग्रह ‘अभियान चिबाखं’ सार्वजनिक गरिएको छ ।
पाटनको बखुम्बहास्थित लोकसाहित्य परिषद्को सभाकक्षमा आयोजित समारोहमा स्रष्टाहरू केदार सितु, नरेश अमात्य, राजीतबहादुर श्रेष्ठ तथा कृतिका सम्पादक ध्रुव मधिकर्मीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कथाकार केदार सितुले पछिल्लो समय लघुकथालेखनप्रति देखिएको उत्साह सकारात्मक रहेको उल्लेख गर्दै स्रष्टाहरूले कथा र लघुकथाबीचको विधागत भिन्नतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले लघुकथा लेखनलाई थप सशक्त र उपलब्धिमूलक बनाउन विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कृतिका सम्पादक ध्रुव मधिकर्मीले सामूहिक प्रकाशनले स्रष्टाहरूबीच पठन, चिन्तन र संवादको वातावरण निर्माण गर्ने भएकाले यसले लेखनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, अमृतरत्न शाक्य, बद्री बेदना, रीता महर्जन ‘ऋतु’ तथा किशोर धुसःले आफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।
सिर्जना अभियान समाजबाट प्रकाशित ‘अभियान चिबाखं’ लघुकथासङ्ग्रहमा देशभित्र तथा विदेशमा रहेका ७८ जना स्रष्टाका विभिन्न विषयमा आधारित लघुकथाहरू सङ्कलित छन् ।
भरतपुर प्रज्ञा प्रतिष्ठानको पाँचौँ प्राज्ञ सभाले पारित गर्यो नयाँ कार्यक्रम
भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको पाँचौँ प्राज्ञ सभा सम्पन्न भएको छ । सभाले आगामी वर्षका नीति तथा कार्यक्रम पारित गर्दै साहित्य, कला, भाषा र संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रतिष्ठानका संरक्षक तथा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सभाको उद्घाटन गर्दै प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले प्रतिष्ठानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कार्यपालिका सदस्यहरू विष्णुराज महतो, विष्णुबहादुर भुजेल, सिर्जना अधिकारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख उपसचिव सुभाषचन्द्र आचार्यलगायत प्राज्ञसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
सभामा प्रतिष्ठानका सदस्य–सचिव बालकृष्ण थपलियाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । साथै आगामी वर्ष सञ्चालन गरिने नीति तथा कार्यक्रमहरू पनि पारित गरिएको छ ।
सभाले ‘महानगर साहित्य दर्पण’ तथा ‘भरतपुर प्रज्ञा जर्नल’ प्रकाशन, पाण्डुलिपि प्रोत्साहन, प्रज्ञा सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी महानगरभित्र सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने, साहित्यिक तथा सांस्कृतिक संस्थासँग समन्वय गरी विविध साहित्यिक, सांस्कृतिक तथा सङ्गीतिक कार्यक्रम सञ्चालन गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्रतिभाहरूको पहिचान तथा सम्मान गर्ने निर्णय पनि सभाले गरेको छ ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानद्वारा तीन स्रष्टाको कदर
स्याङ्जा । पुतलीबजार प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा सङ्गीत क्षेत्रमा योगदान पुर्याएका तीन स्रष्टालाई ‘पुतलीबजार प्रज्ञा–सम्मान’ प्रदान गरेको छ ।
प्रतिष्ठानले कवि अनन्त श्रेष्ठ, समालोचक असफल गौतम तथा लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनही २० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ तथा सदस्य–सचिव बाबुराम बरालले सम्मान अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले प्रज्ञा–प्रतिष्ठान स्थापना भएदेखि नै नगरपालिका स्रष्टा र सिर्जनाको सम्मानमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्दै अनन्त श्रेष्ठले पुतलीबजारको साहित्यिक तथा पर्यटकीय प्रवर्द्धनमा योगदान पुर्याएको, लक्ष्मी रेग्मी खनालले लघुकथा विधा र नारी लेखनलाई सशक्त बनाएको तथा असफल गौतमले समालोचनाका माध्यमबाट सिर्जनशीलताको विकासमा योगदान दिएको उल्लेख गर्नुभयो ।
धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले स्रष्टाको सम्मान गर्नु भनेको नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नु भएको बताउनुभयो ।
आनन्द आश्रम स्याङ्जाका संस्थापक तथा पूर्वमन्त्री त्रिलोचन ढकालले यस्ता कार्यक्रमले नेपाली साहित्यको विकास र स्रष्टाको सिर्जनशीलतालाई थप ऊर्जा प्रदान गर्ने धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्य–सचिव बाबुराम बरालले हरेक वर्ष कला, साहित्य तथा सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने फरक–फरक विधाका स्रष्टालाई सम्मान गर्ने परम्पराअनुसार यस वर्ष कवि, समालोचक र लघुकथाकारलाई छनोट गरिएको जानकारी दिनुभयो ।
उपकुलपति दुर्गाबहादुर शाहले प्रतिष्ठानले स्थापनाकालदेखि नेपाली साहित्यको श्रीवृद्धिका लागि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
सम्मानित समालोचक असफल गौतमले प्रतिष्ठानले आफूहरूमाथि राखेको विश्वासलाई जोगाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कवि अनन्त श्रेष्ठले सम्मानले थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो भने लघुकथाकार लक्ष्मी रेग्मी खनालले माइतीभूमिमा प्राप्त सम्मानलाई अविस्मरणीय क्षणका रूपमा स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू हिमलाल पुरी, रामबहादुर परियार, मञ्जु थापा, राजेन्द्र श्रेष्ठलगायतले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।
सो अवसरमा चिन्तु गिरी, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी काफ्ले, सूर्यप्रसाद खनाल, मोतीप्रसाद अधिकारी, राजेन्द्र थापा, चण्डीप्रसाद सुवेदी, पुष्पराज अधिकारी, अदिती गैरे, सुशान्त रेग्मी, भेनाज बेगम तथा प्रकाश खनाललगायतले रचनावाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा बस्यालले गर्नुभएको थियो ।
कमला प्रसाईँका तीन कृतिको संयुक्त लोकार्पण
न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँका तीन कृति लोकार्पण गरिएको छ ।
न्युयोर्कस्थित नेपाली भान्छाघरमा आयोजित कार्यक्रममा प्रसाईँका ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।
अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका वस्ती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत प्रेमबहादुर बुढाथापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै शुरू भएको थियोख ।
कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सचिव सन्ध्या पहाडी, अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राम खत्रीलगायतको उपस्थिति रहेको थियो ।
अनेसास न्युयोर्क च्याप्टरकी उपाध्यक्ष नदिया लिबाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका सचिव विष्णुहरि भण्डारीले साहित्यकार कमला प्रसाईँको जीवनयात्रा, साहित्यिक योगदान तथा सिर्जनात्मक गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।
लोकार्पणपछि साहित्यकार आनन्द श्रेष्ठ, किशनसिंह धामी, किशोर सुब्बा तथा प्रा. डा. गोविन्द कोइरालाले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । वक्ताहरूले कृतिहरूमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक यथार्थ र भाषिक सौन्दर्यको प्रशंसा गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै कृतिकार कमला प्रसाईँले आफ्ना सिर्जनामा जीवनका यथार्थ भोगाइ, अनुभूति, सङ्घर्ष र संवेदनालाई कविता, गीत तथा नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले कृतिको प्रकाशनदेखि लोकार्पणसम्मको यात्राबारे पनि जानकारी दिनुभएको थियो ।
सो अवसरमा कलाकार वीरेन्द्र हमाल, समाजसेवी सोमनाथ घिमिरे, शकुन ज्ञवाली, सीता खरेल, लक्ष्मी श्रेष्ठ, पूनम काफ्ले, कृष्ण आचार्य, गोविन्द लामा, पुरुषोत्तम बजगाईँलगायतले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
करिब चार घण्टा चलेको कार्यक्रमको अन्त्यमा अध्यक्ष जानुका वस्ती ढकालले सहभागी सम्पूर्ण अतिथि, साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा अनेसास न्युयोर्क च्याप्टरले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए ।
‘सांस्कृतिक दर्पण’ लोकार्पणसँगै साहित्यिक कार्यक्रम सम्पन्न
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको सभा हलमा साहित्य, कला र संस्कृतिको उत्सवस्थल मनाइएकाे छ । कार्यक्रममा साहित्यिक विमर्श, कविता वाचन, पुस्तक लोकार्पण तथा कार्यशालाका कार्यक्रम सम्पन्न भएका हुन् ।
कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा साहित्यिक विमर्शसँगै ‘कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठान’को वार्षिक मुखपत्रको तेस्रो अङ्क तथा ‘कोन्ज्योसोम गाउँपालिकाको सांस्कृतिक दर्पण’ पुस्तक सार्वजनिक गरिएको थियो ।
स्थानीय संस्कृति, इतिहास र पहिचानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले प्रकाशित ‘सांस्कृतिक दर्पण’ शिक्षकद्वय राजेश घिमिरे र बेलबहादुर लामा घिसिङले लेख्नुभएको हो भने रमेशप्रसाद तिमल्सिना र रोशन दाहालले सम्पादन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. देवी नेपालले भौतिक विकाससँगै बौद्धिक विकासलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भाषा, साहित्य, शिक्षा र सिर्जनशीलताको विकासलाई दीर्घकालीन समृद्धिको आधार मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले साहित्यिक सिर्जनाले समाजको संस्कृति र पहिचानलाई जीवन्त राख्ने बताउँदै कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले आगामी वर्ष प्रतिष्ठानसँग सहकार्य गरेर साहित्यिक पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । साहित्य, संस्कृति र पर्यटनलाई एकसाथ जोडेर स्थानीय विकासका नयाँ सम्भावना खोज्न सकिने उहाँको भनाइ थियो ।
प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले इतिहास र संस्कृतिको अभिलेखीकरणका लागि पुस्तक प्रकाशनको महत्व औँल्याउँदै आगामी वर्ष अझ रचनात्मक र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत स्थानीय पाठ्यक्रम, नेपाली भाषा शिक्षण र सिर्जनात्मक लेखनसम्बन्धी दुईदिने कार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा २८ जना नेपाली विषयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
साहित्यिक रचनावाचनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो । महाङ्काल प्रज्ञा प्रतिष्ठानका सदस्य कवि रत्न विरही, कवि कमलप्रसाद तिमल्सिना, मधुसूदन उपाध्याय, विना न्यासुर, हिरामाया घिसिङलगायतले कविता वाचन गर्नुभएको थियो । तामाङ भाषामा प्रस्तुत गरिएका सिर्जनाहरूले स्थानीय भाषिक पहिचान र सांस्कृतिक गौरवलाई थप उजागर गरेका थिए ।
आयोजकका अनुसार कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमार्फत समुदायको आत्मा जोगाउने सन्देश प्रवाह गरेको छ ।
तेजप्रकाशको ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक
काठमाडौं । साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पण गरिएको छ ।
शुक्रबार ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा तथा कृतिकार श्रेष्ठले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भुवनहरि सिग्देलले नेपाली साहित्यमा तेजप्रकाश श्रेष्ठको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँको सिर्जनात्मक सक्रियता प्रेरणादायी भएको धारणा व्यक्त गर्नुभयो । नियात्रा र संस्कृतिका क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएका श्रेष्ठको साहित्यिक समर्पण प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा, साहित्य र संस्कृतिका क्षेत्रमा तेजप्रकाश श्रेष्ठले पुर्याउनुभएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँको कविताप्रतिको लगाव पनि उत्तिकै सशक्त रहेको धारणा राख्नुभयो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै प्रा. डा. कपिल लामिछानेले सङ्ग्रहका कवितामा द्वन्द्व, सन्त्रास, कोरोना महामारी, दिवङ्गत आफन्तप्रतिको श्रद्धा तथा सांस्कृतिक चेतनाजस्ता विषयहरू समेटिएको बताउनुभयो । उहाँले कविका संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानको प्रभाव कवितामा पनि देखिएको उल्लेख गर्नुभयो ।
समालोचक प्रदीप सापकोटाले सशस्त्र द्वन्द्वकालीन त्रासदी, सर्वसाधारणको मनोदशा, नेपाली राजनीतिका विकृति, जनताका निराशा, प्राकृतिक विपत्ति, मानवीय संवेदना, प्रकृतिप्रेम, पर्यावरणीय चेतना तथा ह्रासोन्मुख संस्कृतिलाई कविले प्रभावकारी रूपमा प्रस्तुत गरेको धारणा राख्नुभयो । उहाँका अनुसार सङ्ग्रहका कतिपय कवितामा बिम्ब, प्रतीक र अलङ्कारको सशक्त प्रयोग गरिएको छ ।
कृतिकार तेजप्रकाश श्रेष्ठले आफ्ना कविताबारे विनम्र टिप्पणी गर्दै साथीभाइको प्रोत्साहनका कारण कविताहरू पुस्तकका रूपमा प्रकाशित भएको बताउनुभयो ।
कार्यक्रममा कविहरू सुमन थापा, सङ्गम, विश्व सिग्देल तथा अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गर्नुभएको थियो । कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘जाँगरको कल्पवृक्ष’ सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो ।
अविराम गुन्जिरहने सिम्फोनीको एउटा मधुर धुन ‘शरण प्रधान’
१. विषय प्रवेश:
सङ्गीत विश्वको प्राण हो, विश्वलाई प्राणमय तुल्याउने सङ्गीतको सृजना प्रकृतिबाटै भएको हो। अरस्तुले भने झैं मानिस अनुकरण गर्दछ, कला प्रकृतिकै अनुकरणको उत्कृष्ट रूप हो। अरस्तुले अनुकरण तीन प्रकारले गर्न सकिने मानेका छन्- प्रथम जे-जस्तो छ, त्यसलाई त्यस्तै रूपमा प्रस्तुत गर्नु, दोस्रो- जे जस्तो त्यसलाई भनिने वा मानिने गरिन्छ अनि तेस्रो- त्यो जस्तो हुनपर्छ। यो तेस्रो रूप कुनै पनि कलाको आदर्श रूप हुन्छ। कलाकारले आफ्नो अप्रतिम प्रतिभाले कलाको यस रूपलाई पुनर्सृजना गरेर आफ्नो कल्पनाशीलताको जादु देखाउँछ। जब हामी उत्कृष्ट गीत अथवा सङ्गीत श्रवण गर्ने गर्दछौं, तब हामी कलाको यही आदर्श रूपलाई साक्षात्कार गरिरहेका हुन्छौं।
कला सभ्यताको एउटा शीर्ष प्राप्ति हो। जब कुनै युगलाई हामी स्वर्णिम युग भन्छौं, त्यसबेला कलाको उच्चतम विकासको मानदण्डलाई नै अघि राखेर यसो गर्ने गर्दछौं। विविध कलाको विकासले नै भारतको गुप्त काललाई स्वर्णिम कालमा स्थापित गरेको हो। यसरी सभ्यताको एउटा महत्त्वपूर्ण अङ्ग कला हुने गर्दो रहेछ। दार्जिलिङको इतिहासमा साठी अनि सत्तरको दशकलाई स्वर्णिम युग भनेर चिनिने गरिन्छ। कलाको विकासले उत्कृष्टता चुमेको ती दिनहरूलाई यसो भनिनु युक्तिसंगत पनि लाग्दछ। यही स्वर्णिम युगको एक उत्कृष्ट प्राप्ति थिए शरण प्रधान।
२. दार्जिलिङमा सांस्कृतिक नव जागरण
दार्जिलिङमा उन्नाइसौँ शताब्दीको उत्तरार्द्धदेखि शिक्षाको प्रचार प्रसार हुन थालेको हो। साधारण मानिसहरूका छोरा-छोरी पनि पढ्न सक्ने एउटै उच्च विद्यालयको रूपमा सन् १८५६ मा दार्जिलिङ स्कूल पछि त्यसैलाई १८९१ मा दार्जिलिङ सरकारी विद्यालयको रूपमा नामकरण गरिएपछि, अनि सन् १८९० मा गर्ल्स् बोर्डिङ स्कूल खोलिएपछि प्राथमिक पाठशाला छिचोलेका साधारण विद्यार्थीहरूले पनि उच्च विद्यालयमा टेक्ने सौभाग्य पाए। त्यसबेलाका आदर्श, इमान्दार, अनुशासित शिक्षकहरूले ती विद्यार्थीहरूलाई शिक्षा मात्र प्रदान गरेनन्, सभ्यता, कला, जातीयता, राष्ट्रियता, नैतिकता अनि अनुशासनको पाठ पनि पढाए। त्यसबेला बङ्गाल नवजागरणको उत्कर्षमा थियो। कलकत्ता आधुनिक शिक्षाको मक्का मानिन्थ्यो। उच्च शिक्षाको ढोका ढक्ढकाउन पुगेका केही विद्यार्थीहरू सौभाग्यवश आधुनिक शिक्षाको त्यस केन्द्रमा पुग्न सक्षम बन्ने गर्थे। त्यहाँ खुट्टा टेकेपछि उनीहरूले पुस्तकीय ज्ञान मात्र होइन त्यहाँ फले-फुलेका साहित्य-कलाको ढकमक्क उपवनमा विचरण पनि गर्ने अवसर प्राप्त गरे। उनीहरूबाट नै आफ्नो जाति भाषा-कला संस्कृतिको विकास गर्ने हौसला पनि उनीहरूमा जाग्यो। जब यी उच्च शिक्षितहरूले दार्जिलिङलाई आफ्ना योग्य हातहरूले डोर्याउन थाले, नव जागरणको स्वर्णिम किरणको आभाले यो कञ्चनजङ्घा प्रदेश झलमल्ल बन्न थाल्यो। गीत-सङ्गीतको क्षेत्रमा, नाट्य मञ्चनको क्षेत्रमा, शिक्षाको क्षेत्रमा मानिसहरूले अघि बढ्ने प्रेरणा प्राप्त गरे।
बिस्तारै सामाजिक, साहित्यिक संस्थाहरूको निर्माण हुन थाल्यो। मानिसहरूले सङ्गठनको महत्त्व बुझ्न थाले। राजनैतिक सचेतता देखा पर्न थाल्यो। विभिन्न प्रकारका खेलहरूमा मानिसहरूका भागीदारी बढ्न थाल्यो। विविध पत्र पत्रिकाको प्रकाशनले यो नव जागरणको गतिलाई अझ तीव्र बनायो। पादरी गङ्गा प्रसाद प्रधान जस्ता सचेत, शिक्षित व्यक्तिको पत्रकारिता, भाषी प्रेमी पारसमणि प्रधान, धरणीधर कोइराला, आदिका जन-जागरणमूलक कविताहरू, रूपनारायण सिंह, सूर्यविक्रम ज्ञवालीजस्ता विद्वानहरूका तार्किक अनि बौद्धिक लेखहरू, दलबहादुर गिरी, डम्बरसिंह गुरुङ जस्ता विद्वान व्यक्तित्वहरूका राजनीति, धनबीर मुखिया जस्ता नाटककार/अभिनेता आदिका रचनात्मक क्रियाकलापहरू आदिले मानिसहरूका परम्परागत सोच्ने ढङ्गमा परिवर्तन आउन थाल्यो। यसै समय दार्जिलिङमा गोर्खा लाइब्रेरी, गोर्खा नेशनल थियटर, चिल्ड्रेन्स एमुज्मेन्ट एशोसिएसन, गोर्खा समिति, नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, आदि जातीय कल्याणका संस्थाहरू यी संस्थाहरूसँग सङ्लग्न भई त्यसबेलाका सचेत युवा जमातले साहित्य-कला-सङ्गीतको क्षेत्रमा अभूतपूर्व उन्नति गरे। यसका अघि नै दार्जिलिङमा ब्रह्म समाज, आर्य समाज, रामकृष्ण मिसन आदि धार्मिक अनि सामाजिक सुधारका संस्थाहरू आइसकेका थिए। यिनै नूतन परिवर्तन अनि जागरणलाई दार्जिलिङको नवजागरणको रूपमा मान्न सकिन्छ। सन् १९२० देखि यता दार्जिलिङका अनेक सुदूरवर्ती स्थानहरूमा पनि प्राथमिक स्कूल, मिडल प्राइमेरी स्कूल अनि हाइस्कूलहरू खोलिन थालेको देखिन्छ। सन १९४०को दशकमा आएपछि यसमा अझ बढोत्तरी भएको देखिन्छ। स्कूलहरूमा नेपाली भाषा साहित्यको पठनपाठन सुरु भएपछि विद्यार्थीहरूको सङ्ख्या पनि व्यापक रूपमा बढेको देखिन्छ। दार्जिलिङमा यसरी बिस्तारै शिक्षित जमातको निर्माणले कला-सङ्गीतको क्षेत्रमा पनि ठूलो परिवर्तन अनि गम्भीरता देखा पर्यो।
३. गीत सङ्गीतको स्वर्णिम युग
यही नवजागरणले दार्जिलिङ दिएको एउटा सुन्दर उपहार थियो आधुनिक नेपाली गीत-सङ्गीत। यस अघि दार्जिलिङमा गाइने गीतहरूमा लोक भाकाका गीतहरू अनि पुराना प्रकारका भजनहरू प्रमुख हुने गर्दथे। युरोपेली बाजागाजासँग परिचित हुने मौका पनि यसै समय जुरेको हो दार्जिलिङका युवाहरूलाई।
दार्जिलिङमा आधुनिक गीत सङ्गीतको उत्थानमा अमेरिकेली सङ्गीतकार, सङ्गीत-अभियन्ता अनि ग्रामोफोन निर्माता फ्रेडरिक विलियम गेइसबर्गको योगदान अनि प्रभावको चर्चा नगरे नेपाली आधुनिक गीत-सङ्गीतको एउटा पाटो नै ओझेलमा पर्न जान्छ। गेइसवर्ग प्रथम चोटि सन् १९०२ को दिसम्बर महिनाको ६ तारिक दार्जिलिङ आइपुगेका थिए। उनले आफ्नो दैनिकीमा दार्जिलिङको मनोहर दृश्यको मुग्ध कण्ठले प्रशंसा गरेका छन्। तत्कालीन नर्थबेङ्गल स्टेट रेलवेमा चढेर सिलगढी आएको अनि त्यसपछि न्यारो गज हिमालयन रेलवेमा चढेर दार्जिलिङ पुगेको वर्णन गरेका छन्। चियाका बुट्टा, घुमाउरो बाटो, हरियो जङ्गल देखेर उनी आह्लादित बनेको कुरो पनि उनले उल्लेख गरेका छन्। ८ दिसम्बरमा उनी टाइगर हिल घुम्न जाँदा त्यहाँबाट सूर्योदयको मनोरम दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्छन्। दार्जिलिङमा बौद्ध गुम्बाहरूको परिदर्शन गरेको कुरा पनि उनले आफ्नो डायरीमा उल्लेख गरेका छन्।
गेइसवर्ग पूर्वका गीत-सङ्गीतलाई अन्वेषण गरेर विश्व सङ्गीतको मञ्चमा ल्याउने प्रथम साउन्ड इन्जिनियर मानिन्छन्। उनी भारत मात्र होइन चीन, जापान, वर्मा, श्रीलङ्का, सिंगापुर, मलाया, इन्डोनेसशिया जस्ता देशहरूमा गएर त्यहाँ स्थानीय लोक कलाकारहरूलाई खोजी गरेर उनीहरूका स्वरलाई रेकर्ड गर्ने काम गरेका थिए। गेइसवर्ग तिनै व्यक्ति हुन् जसले भारतमा सर्वप्रथम १९०२ मा गौहर खानको गीतलाई रेकर्ड गरेका थिए। भारतमा एच एम भीको अन्तर्राष्ट्रिय कलाकार विभागका उनले कला निर्देशककोरूपमा पनि काम गरेका थिए। यिनै गेइसवर्गको बीसौं शताब्दीको पूर्वार्द्धमा दार्जिलिङको साङ्गीतिक क्षेत्रमा के कति अवदान थियो त्यसको स्पष्ट ऐतिहासिक विवरण पाउन नसकिएता पनि आधुनिक गीत-सङ्गीतको प्रभाव यसै समयदेखि दार्जिलिङमा नै पर्नुमा यस्ता संयोगहरूको भूमिका परेन भन्न सकिन्न। अझ गेइसवर्ग कलकत्ताबाट घरीघरी दार्जिलिङ आइरहनुको पछि कुनै स्थानीय साङ्गीतिक स्वार्थ त निश्चय नै थियो होला।
४. आधुनिक गीत बनाम शास्त्रीय अनि लोक गीत
अनेकौं घराना, प्रकार, गायकी, शैली, अनुशासन, परम्परा अनि इतिहास बोकेको हेभीवेट शास्त्रीय सङ्गीत अनि लोकका अनेकौं भाका, लय, परम्परा अनि विरासत आफूले समेटेको लोक सङ्गीतको महासमुद्रमा गोता लगाइरहेको जनमानसले आधुनिक गीत सङ्गीतलाई यसरी टिपे मानौं गहिरो समुद्रबाट मानिसहरू मोती टिप्ने गर्छन्। यूरोपमा साहित्य अनि कलामा उन्नाइसौं शताब्दीको उत्तरार्द्ध अनि उन्नाइसौं शताब्दीको दोस्रो दशकसम्म प्रभावी भएको स्वच्छन्दवाद अनि त्यसपछि देखा परेको यथार्थवादको प्रभाव स्वरूप नै आधुनिक गीत-सङ्गीतको विकास भएको मानिन्छ। अझ आफ्नै समृद्ध शास्त्रीय धारा नभएका इङ्ग्ल्याण्ड अनि अमेरिका अनि इङ्ग्ल्याण्डका औपनिवेशिक देशहरूमा यसको प्रचार प्रसार बढी भएको देख्न सकिन्छ। कति आलोचकहरू आधुनिक गीत-सङ्गीतले औपनिवेशिक देशहरूका समृद्ध सङ्गीत परम्परालाई नष्ट गरेको आरोप पनि लाउने गरेका छन्। नेपाली गीत-सङ्गीतको सन्दर्भमा भने आधुनिक गीतको प्रवेशले एउटा नौलो अनि विशिष्ट परम्पराको थालनी गरेको देखिन्छ। लोक अनि शास्त्रीय सङ्गीतका दुवै लीकमा हिँड्दै नेपाली आधुनिक गीतले आफ्नो अनन्त यात्राको निरपेक्ष सुरुवात गर्यो।
जीवन र जगतप्रति नयाँ दृष्टिकोण अनि प्रगतिशील विचारधारालाई अँगालेर नेपाली आधुनिक गीतले सुरुचिसम्मत भाव भाषा, सुर अनि तालको समन्वय गर्दै आफ्ना पाइला अघि सार्न थाल्यो। युगअनुरूप प्रगतिशील विचारधारा बोकेका शब्दकारहरूले जब गीतहरू रच्न थाले मानौं जनमानसले आफ्नो हृदयको ढुकढुकी नै शब्द शब्दमा लुकेको पाए। शब्द, सुर, वाद्य अनि गायकी यी चार उपादानहरूको यस्तो तालमेल हुन थाल्यो कि हरेक नेपाली धड्कनले यी गीतहरूमा आफूलाई नै पाए। गीतको शब्द काव्य हो, साहित्य कर्म हो। कुनै पनि गीतकार सर्वप्रथम कवि हुन्छ अनि मात्र उसले गीतको रचना गर्न सक्छ। विषय वैचित्र्य अनि काव्य शिल्पले गीत कालजयी हुन्छ अनि यसको नव्यता शिल्पको उच्चतम उडान हुन्छ। सुर र रागको उच्च कोटीको ज्ञानले सङ्गीतकारलाई अमर बनाउँदछ। विश्व भरिका थरी थरीका देशी विदेशी, लोक शास्त्रीय सबै प्रकारका अनि सबै रङ्ग रसका धुनहरू छामी बटुली त्यसलाई आत्मसात गरी निजीकरण गर्दै मौलिकता दिन कुनै पनि सङ्गीतकारको कठिनतम् परीक्षा हो। शब्द, सङ्गीत अनि वाद्य यन्त्रको सन्तुलित, समुचित संयोजन भए पनि उत्कृष्ट गायकीको अभावमा गीत निम्न कोटिको हुन जान्छ। गायकीलाई सङ्गीतले पूर्णता दिनुपर्छ, शोषण गर्न हुँदैन। यहाँनेर आइपुग्दा सङ्गीत संयोजकमा कति सम्मको दक्षता हुनुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ। सङ्गीतको प्रचुरताले गायकीको अस्तित्व नै विलीन भएको अनि कतिपय गीतमा सङ्गीत खोज्न परेको प्रशस्त उदाहरणहरू हाम्रा आँखा अघि छन्।
भाषा र भावभन्दा सुरको कलाकारिता, आवाजको आरोह-अवरोह, हर्कत, मुडकी, सुरालापले भरिएको शास्त्रीय सङ्गीतको आनन्द ती कानहरू मात्र लिन सक्छन् जुन कानहरू यसको सूक्ष्मतालाई अनुभव गर्न अभ्यस्त छन्। भनिन्छ शास्त्रीय सङ्गीतले साधक अनि श्रोता दुवैलाई मोक्षको ढोकासम्म पुर्याइदिन्छ। चाँड पर्व, श्रम, संस्कार, विवाह मन्डप, पूजा-आजा, मेलापात, गाई-गोठ, लेक-लेकाली, डाँडा-काँडा, देवराली, दोबाटो, वन-जङ्गल आदिमा गुञ्जिने लोकगीतकै परम्परामा नै मान्छेले हजारौं वर्ष बिताएको हो। औद्योगीकरण, वैश्वीकरण, भूमण्डलीकरण, शिक्षा अनि तकनिकको प्रचार-प्रसार भइरहेको परिवर्तनशील समयमा, हाम्रै समाजमा पनि परिवर्तनको तीव्र लहर चलिरहेको थियो। साधारण जनमानसको सुख-दुःख, हाँसो-रोदन, आनन्द-वेदना, आशा-आकांक्षा, प्राप्ति-अप्राप्ति, प्रेम-विरह, आवेग-संवेगलाई सरल सहज शब्दहरूमा उनेर लोकको ठेटपनाबाट अलिकति उक्लँदै शास्त्रीयताको बन्धनबाट अलिकति मुक्त बन्दै आधुनिक गीत सङ्गीत यो ठाउँमा पाइलो हालेको हो।
सभ्य सुसंस्कृत शब्दहरूका बुनोटमा संयोजित सन्तुलित सङ्गीतको समन्वयमा आधुनिक गीतले जीवनको परिवर्तनशीलता मात्र होइन आत्माको तृप्ति समेत गराउने जमर्को कस्यो। काव्यात्मक भाषा, देशी-विदेशी, आञ्चलिक सुरहरूको सम्मिश्रणमा जब प्रेम-विरह, बिछोड-वेदना, राग-अनुराग, मिलन-विच्छेद, निद्रा-अनिद्रा देखि लिएर देशप्रेम, जातियता, भोक, दरिद्रता, शोषण, मुक्ति, क्रान्ति, भक्ति अनि ईश्वरसमेतलाई स्थायी अन्तरामा समावेश गर्यो, विविधता र नव्यताले भव्य बनेको यो मोती विश्व बजारमा यति प्रचलित बन्यो कि सबै प्रकारका मानिसहरू यतातिर आकृष्ट बने।
५. दार्जिलिङमा साङ्गीतिक क्रान्ति अनि युवा कलाकारहरू
आँसुदेखि जूनसम्म, बादलदेखि गाजलसम्म, दरिद्रतादेखि क्रान्तिसम्म अनि वेदनादेखि अध्यात्मसम्म विषय वैचित्र्य रहेको आधुनिक सङ्गीत सहजतासितै बौद्धिकता अनि रमाहटसितै रहस्यमयतालाई सँगसँगै बोकेर हिँड्न सक्षम बन्यो। विश्व बजारमा हलचल मच्चाइरहेको आधुनिकताको यस लहरले नेपाली गीत सङ्गीतलाई निथ्रुक्क भिजायो। औपनिवेशिक प्रभावले चुर्लुम्म डुबाएको पहाड-बेसी-तराईका श्रमजीवी, अल्पशिक्षितदेखि लिएर शिक्षित अनि नव मध्यम वर्ग नेपाली जनजीवनको युगानुरूप भाव भाषाले यी कवितात्मक गीतहरूमा लोक अभिव्यञ्जनाका साथै पाश्चात्य आश्वाद प्राप्त गरे। नगरजीवनलाई भर्खरै अनुभुत गर्दै गरेका जनमानसले यसलाई अझ टेवा दिए। यसै पनि पुरानो समयमा भारतमा युरोपीय कुनै पनि प्रकारको फेशन आयातित भए दुई वटा ठाउँमा पहिले आइपुगेपछि मात्र रहल ठाउँहरूमा पछिबाट प्रसार हुन्छ भन्ने भनाइ थियो। ती ठाउँहरू पहिलो थियो बम्बई अनि अर्को थियो दार्जिलिङ। दार्जिलिङ जुनै समयमा प्रतिभाको खानी रहेको सत्यता कसैले नकार्न सक्दैन। भारतका महान् नेताहरूदेखि लिएर, सङ्गीतकार, साहित्यकार, भौतिकविद, प्राणीविद, वनस्पतिविद, समाजशास्त्री, पुरातत्वविद, इतिहासकार, चलचित्र निर्माता, पर्वतारोही, धार्मिक गुरु, औषध-विज्ञानीदेखि लिएर प्लान्टरसम्म एकपल्ट भए पनि दार्जिलिङ आउन लालायित बन्थे। यस्तोमा ती जिनियसहरूका नयाँ नयाँ विचार, प्रयोग, वाद, जीवनशैली, नयाँ कुराहरू स्वतः दार्जिलिङ आइपुग्थे। यस्तोमा आधुनिक गीत-सङ्गीत अन्य ठाउँ भन्दा धेरै अघि दार्जिलिङ आइपुग्नु कुनै आश्चर्यको कुरा थिएन।
सन् १९०२ मा सिलगढी हुँदै हिमालयन रेलमार्फत फ्रेडरिक विलियम जेइसवर्गको दार्जिलिङ यात्रा, एलरिव आर जन्सनको सन् १९०६-मा भिक्ट्रोलाको आविष्कार, सन् १९०७-मा ग्रामोफोन रेकर्डको प्रवर्तन, १९०८ मा सेतुराम श्रेष्ठको पहिलो नेवारी गीतको रेकर्डिङ, १९२३ मा मेलवादेवीको नेपाली गीतको रेकर्डिङ, १९३२ मा दार्जिलिङमा गोर्खा दुःख निवारक सम्मेलनको स्थापना, १९३५मा पहिलो म्यागनेटिभ टेप रेकर्डरको आविष्कार, सन् १९३७ मा दार्जिलिङमा भाइ सङ्गीत सम्मेलनको स्थापना, आदिले नेपाली आधुनिक गीत-सङ्गीतको क्षेत्रमा पनि ठूलो योगदान पुर्याएको छ। दार्जिलिङमा नेपाली आधुनिक गीत-सङ्गीतको क्षेत्रमा गायक-सङ्गीतकार एल. टी. लामा, महानन्द गिरी, हिराकुमार सिंह, वखतबीर बुढापिर्थी, हरिमोहन गुरुङ नाट्य कलाकार डी.बी. सुनुवार, लालु तामाङ, एच. डी. लामा आदिको योगदान पनि अविस्मरणीय छ। दार्जिलिङमा मिशनरी शैक्षिक संस्थानहरूको स्थापना अनि यी संस्थान, विद्यालयहरूमार्फत हुने शिक्षादानले यस भेकका नानीहरू अनि किशोर-किशोरीहरूले पाश्चात्य संस्कृतिलाई छेउबाट देख्ने मौका पाएका थिए। प्रार्थनालाई जीवनशैलीको एउटा अत्यन्त महत्त्वपूर्ण अंश मान्ने युरोपेली इसाईहरूका प्रार्थना-भजन, क्यारोल, कोरस गाउने सँगसँगै पाश्चात्य वाद्यवादन गिटार, पियानो, एकर्डियन, मेन्डोलिन, ड्रम, सेक्सोफोन, हार्मोनिका, हार्मोनियम, बेन्जो, कङ्गो, भायोलिन आदिसँग परिचित बन्ने अवसर पाए। स्वरलिपि, अर्केष्ट्रा, व्याण्ड, माइक्रोफोन, साउन्ड सिस्टम, जस्ता सङ्गीत सम्बन्धी तकनिकसित साक्षात्कार हुने अवसर पनि प्रथमोप्रथम उनीहरूलाई यसरी नै उपलब्ध भयो। समयसितै व्यवस्थित सङ्गीत शिक्षाको स्रोत तथा साधन पनि दार्जिलिङमा उपलब्ध हुन थाल्यो। यसरी दार्जिलिङमा साहित्य-सङ्गीत-शिक्षालाई ग्रहण गर्दै आफ्नो संस्कृतिमा भित्राउने प्रथम पिँढीको निर्माण भयो। यही पिँडीको हात समाउँदै हिँड्ने दोस्रो पिँढीले नै दार्जिलिङमा नेपाली आधुनिक गीत-सङ्गीतलाई लोकप्रिय बनाएका हुन्।
दार्जिलिङमा साठीको दशकमा सङ्गीतको विकासमा आर्ट एकाडेमीको ठूलो योगदान रहेको देखिन्छ। यही आर्ट एकाडेमीका एक सङ्गीत प्रशिक्षक थिए अम्बर गुरुङ। उनीसँग सङ्गीत सिक्न आउनेहरूमा थिए शरण प्रधान, रन्जीत गजमेर, गोपाल योञ्जन, कर्म योञ्जन, शान्ति ठटाल, अरुणा लामा, दिलमाया खाती, वाङगेल लामा, पीटर जे कार्थक, रूद्रमणि गुरुङ, नयनप्रकाश सुब्बा, शेखर दिक्षित, देवदत्त गुरुङ, इन्द्रकुमार सिंह, प्रकाश गहतराज, गणेश शर्मा, मानबीर सिँह आदि। त्यस एकाडेमीमा आइरहने अन्य सङ्गीतकार-गायक- गीतकारहरूमा थिए नवीन बरदेवा, जितेन्द्र बरदेवा, गगन गुरुङ, विशासन लामा आदि। उनीहरू भन्दा अघि पचासकै दशकमा दार्जिलिङको साङ्गीतिक आकाशमा झलमल्ल उदाएका नक्षत्रहरू थिए बलु बराइली, दलसिंह गहतराज, मानध्वज गुरुङ, लिली सिंह आदि। यी युवा साङ्गीतिक प्रतिभाहरूको विशेषता के थियो भने केहीलाई अपवाद मानेर उनीहरू सङ्गीतकार पनि थिए, गीतकार पनि थिए अनि थिए धुरन्धर वाद्यवादक। शरण मेन्डोलिन बजाउँथे, कर्म योन्जन भायोलिन बजाउँथे, गोपाल बाँसुरी बजाउँथे, रन्जीत मादल बजाउँथे।
उनीहरूद्वारा सङ्गीत भरिएका गीतहरूमा आ-आफ्ना प्रिय वाद्य-वादनको मधुर स्वर परिलक्षित हुन्थ्यो। एउटै ठाउँमा रहेर, एउटै संस्थासित आबद्ध भएर अनि एउटै गुरूका चेला भएर पनि कसरी उनीहरूले आ-आफ्ना मौलिकतालाई कायम राख्न सके त्यो आश्चर्यको कुरा मान्नु पर्छ। यी अघिल्ला तीन सङ्गीत स्रष्टाहरूले आ-आफ्ना प्रिय वाद्यवादन मेन्डोलिन, भायोलिन अनि बाँसुरीको धुन उनीहरू तीनै जनाका सङ्गीत गुरु अम्बर गुरुङको प्रसिद्ध गीत ‘म अम्बर हुँ, तिमी धर्ती’ मा बजाएका छन्। यी युवा हाँचका कलाकारहरूलाई साङ्गीतिक उचाइ दिने व्यक्ति नै अम्बर गुरुङ थिए । उनको यो योगदानलाई उनका शिष्यहरूले जीवनभरी नै सम्झिरहे। उनका एक प्रिय शिष्य पीटर जे कार्थकले अम्बरलाई आधुनिक नेपाली सङ्गीतका ‘अल्फा’ र ‘ओमेगा’ त्यसै भनेका होइनन्।
६. प्रतिभाशाली शरण प्रधान
३ मई १९४३ मा धीरधाम दार्जिलिङमा मध्यम वर्गीय परिवारमा जन्मिएका शरण प्रधान सानैदेखि शिक्षा अनि सङ्गीतमा अब्बल रहन्थे। त्यसबेला नै उच्च शिक्षा हासिल गर्न पाउने नगण्य युवा हाँचमा उनी एकजना थिए। सानैदेखि मेन्डोलिन बजाउन मन पराउने शरणले मेन्डोलिन बजाउनकै निम्ति बम्बई पनि जाने अवसर पाएका थिए भन्ने सुनिन्छ तर आफ्नो शारीरिक अस्वस्थताको कारणले त्यस अवसरलाई उनले त्याग्न पर्यो। अम्बर गुरुङका केही गीतहरूमा उनले नै मेन्डोलिन बजाएको कुराको उल्लेख जे.के बराइलीले आफ्नो पुस्तक बिर्सनै नसक्ने हाम्रा प्रतिभा-हरूमा उल्लेख गरेका छन्। विज्ञान शिक्षकको रूपमा उनले नियुक्ति पाए सन्त रोबर्टस् स्कूलमा जुन स्कूल त्यस समय सांस्कृतिक गतिविधिको निम्ति प्रसिद्ध थियो । त्यसबेला दार्जिलिङका दुईवटा स्कूलहरू प्रसिद्ध थिए सन्त रोबर्टस् ड्रामामा अनि सन्त टेरिजा ड्रिलमा। नेपालीका प्रसिद्ध नाटककार मनबहादुर मुखिया यसै स्कूलका छात्र रहेका थिए। उनी यस स्कूलमा नवौं श्रेणीको छात्र हुँदा स्कूल अफिसलाई स्टुडियो बनाइ ध्वनि प्रसारणको माध्यमबाट उनको नाटक प्रत्येक क्लासमा प्रसारित गरिएको थियो। यसले सन्त रोबर्टस् स्कूल ड्रामाको निम्ति कतिसम्म गम्भीर थियो भन्ने कुराको पुष्टि गर्छ । त्यसबेला सङ्गीतलाई ड्रामाको एउटा अत्यावश्यक तत्त्वको रूपमा मानिन्थ्यो। ती नाटकहरूमा त्यसबेलाका उदीयमान अनि लोकप्रिय बनिसकेका सङ्गीतकारहरूले सङ्गीत भर्थे भने लोकप्रिय गायकहरूले आफ्नो स्वर दिन्थे। शरण प्रधानको सङ्गीतको विकासमा सन्त रोबर्टसका यस्ता ड्रामाहरूका पनि योगदान अवश्यै रहेको अनुमान गर्न सकिन्छ। सन्त रोबर्टसमा प्रत्येक दिन त्यहाँका शिक्षक अनि विद्यार्थी मिलेर विद्यालयको कलेज एन्थम गाउने चलन थियो। राम्रा सङ्गीत जान्ने शिक्षकहरूले अघि आएर वाद्य वादनको साथमा गीत गाउन पर्थ्यो। यसो हुँदा त्यसबेलाका विद्यार्थीहरूका मनमा सङ्गीतप्रतिको आकर्षण स्वतः बढेर जाने गर्थ्यो। यो काममा नेतृत्व दिने शिक्षक नै हुन्थे शरण प्रधान। यसरी शरण प्रधान सन्त रोबर्टस् स्कूलका सङ्गीतका केन्द्र थिए। उनी विद्यार्थीहरूका आँखाका तारा थिए। उनलाई विद्यार्थीहरू माई डियर भनेर सम्झना गर्छन् अझै।
७. शरण-रन्जीतको जोडी
शरण प्रधानका मन मिल्ने साथी थिए रन्जीत गजमेर। रन्जीत गजमेर आफै पनि बहुप्रतिभाशाली गीतकार, वाद्य वादक, गायक अनि सङगीतकार थिए। उनको प्रिय वाद्य वादन थियो मादल। उनले काठमाडौंमा मादल बजाएको सुनेरै हिन्दीका प्रसिद्ध सङ्गीतकार आरडी बर्मनले उनलाई बम्बई बोलाएका थिए। बम्बई गएपछि त्यहाँ उनको साङ्गीतिक यात्रा विकासको पथतिर अग्रसर भयो। उनले हिन्दी अनि नेपाली फिल्मका अनेक गीतहरूमा सङ्गीत दिने काम गरे। हिन्दीका प्रसिद्ध गायक-गायिकालाई नेपाली गीत गाउन लगाउने काम पनि उनैबाट भएको हो भन्ने गरिन्छ। शरण रन्जीतको भेट शायद अम्बर गुरुङकै आर्ट एकाडेमीमा भएको थियो। अम्बर गुरुङ लोक मनोरञ्जन शाखाका अधिकारी बनेपछि आर्ट एकाडेमी स्वतः बन्द भयो। आर्ट एकाडेमी बन्द भएपछि ती युवा कलाकारहरूले आ-आफ्नो बाटो रोजे। शरण, रन्जीत, पीटर जे कार्थक अनि अरुणा लामा मिलेर सङ्गम क्लब गठन गरे अनि यी दुई भाइले शरण- रन्जीतको नाममा सङ्गीत सृजना गर्न थाले।
शरण प्रधानको अल्पायुको कारणले उनीहरूको यो साङ्गीतिक जुगलबन्दी धेरै चलेन तर जति दिन चल्यो प्रसिद्धिको उचाइ प्राप्त गर्यो। रन्जीतसँगको सहकार्यले शरण प्रधानको सङ्गीत कार्यमा भिन्नै प्रकारको परिवर्तन आएको परवर्ती सङ्गीतकारहरू स्वीकार्छन्। आकासको प्रीत गीतमा शरण-रन्जीतको शब्द अनि शरण प्रधानको सङ्गीत रहेको थियो भने भुलिदेऊ पीर आँसु नै सुक्छ आजलाई हाँसे भोलि सजिन्छ गीतमा शरणको शब्द अनि शरण-रन्जीतको सङ्गीत रहेको थियो। यी दुवै गीत अरुणा लामाले गाएकी थिइन्। अब उनीहरूका सङ्गीत उत्कृष्टताको शिखरतिर उक्लन लागेको अनुभव हुन्छ तर नेपाली सङ्गीतले त्यो अवसर प्राप्त गर्न सकेन। शरणको मृत्युपछि रन्जीत पनि अन्य वरिष्ठ सङ्गीतकार-गायक-वाद्यवादक-गीतकारहरू जस्तै अवसरको खोजीमा नेपालतिर लागे अनि पछि मुम्बईलाई आफ्नो कार्यस्थल बनाए जो आज पनि नेपाली सङ्गीतलाई विश्व पटलमा पुर्याउन प्रयासरत छन्।
८. जुगलबन्दीमा शरण-अरुणा
शरण प्रधानको नाम लिँदा स्वतः हाम्रो मस्तिष्कमा आउने एउटा नाम हो अरुणा लामा। दुवै सङ्गीतका क्षेत्रमा काम गरिरहेका अनि दुवै उच्च शिक्षित यी प्रतिभाहरू साङ्गीतिक सहकार्यकै कारण एकार्काका सम्पर्कमा आएका थिए। अम्बर गुरूङ लोक मनोरन्जन शाखामा गएपछि आर्ट एकाडेमी विस्तारै निष्क्रिय बन्यो। त्यहाँबाट निस्किएर शरण, रन्जीत, पिटर जे कार्थक, अरुणा लामा, जितेन्द्र बरदेवा, मार्क कार्थक, प्रकाश गहतराज, ललित योन्जन, इन्द्रकुमार गजमेर, आर बी रसाइली आदिले सङ्गम क्लब बनाएका थिए भने हिमालय कला मन्दिरमै बसेर गोपाल योन्जन, कर्म योन्जनहरूले सङ्गीत साधना गरिरहेका थिए। यी दुवै संस्थामा त्यबेलाका धुरन्धर मानिने सङ्गीत स्रष्टाहरू सम्मिलित थिए। त्यसै समयको गोदुनिसमा भएको एउटा नेपाली सङ्गीत प्रतियोगितालाई मानिसहरू पछिसम्म सम्झन्थे। एकातिर सङ्गम क्लबले त्यो सङ्गीत प्रतियोगिताको निम्ति अरुणा लामालाई तयार गर्दै थियो भने अर्कोतिर हिमालयन कला मन्दिरले अर्का प्रतिभाशाली गायिका दिलमाया खातीलाई तयार पार्दै थियो। सारा दार्जिलिङ शहर यी दुई कोकिलकण्ठाहरूका प्रतियोगिता हेर्न लालायित थिय़ो।
अन्तमा अरुणा लामा नै विजयी भइन्। यो विजयको श्रेय उनले शरण प्रधानलाई दिइन्। दार्जिलिङ सङ्गीत प्रतियोगितापछि प्रतिभाका खानी यी दुई नेपाली साङ्गीतिक नक्षत्रहरू मित्रताको सम्बन्धबाट माथि उक्लेर पहिले प्रेमी-प्रेमिका बन्दै सन् १९६३मा एउटा मर्यादित विवाहसम्बन्धमा गाँसिए। विवाह भइसकेपछि अरुणा र शरणले सङ्गम क्लबदेखि बाहिरिएर आफ्नै ब्यानरमा साङ्गीतिक क्रियाकलाप सुरु गरे। उनीहरूको यो साङ्गीतिक जुगलबन्दीलाई पिटर जे कार्थकले ‘दार्जिलिङ नेपाली सङ्गीत इतिहासको एउटा महान कथा’ भनेका छन्। विवाहपछि शरण अनि अरुणा यति एकाकार बने, शरणको गीत-सङ्गीत अरुणाको निम्ति अनि अरुणाको स्वर शरणको निम्ति जस्तो भयो। दुवैको साङ्गीतिक यात्राले शिखर छोइरहेको थियो। कुनै पनि साङ्गीतिक कार्यक्रममा दुवैको सह-उपस्थिति रहन्थ्यो। आफ्नो एउटा लेखमा लक्खीदेवी सुन्दासले लरेटो कलेज (वर्तमानमा साउथफिल्ड कलेज)मा एउटा कार्यक्रममा अरुणालाई बोलाउने कुरा चल्दा भर्खर बिहे भएकी उनी आउलिन् कि नआउलिन् भन्ने दोधारमा परेको तर त्यसमयकी लरेटो कलेजकी छात्रा शान्ति ठटालको अनुरोधमा अरुणा आएर शरणका शब्द-सङ्गीतमा रहेका त्यसबेलाका लोकप्रिय गीतहरू गाएर सबैलाई मन्त्रमुग्ध बनाएको कुरा उल्लेख गरेकी छिन्।
त्यही कार्यक्रममा शरण प्रधानको मेन्डोलिनको धुनले कलेजका मदरहरूको मुखबाट ओह लभली ! एफर्टलेस भनेर बधाई दिएको कुरा पनि उनले उल्लेख गरेकी छिन्। यस घटनाले गीत-सङ्गीत प्रति उनीहरूको लगाऊ अनि समर्पण कतिको थियो भन्ने कुराको पनि पुष्टि हुन्छ। सन् १९६४ मा हिन्दुस्तान रेकर्ड कम्पनीले अरुणालाई नाइटिङ्गेल अफ हिल्सको उपाधिले विभूषित गर्यो। शरण प्रधानको शब्द-सङ्गीत अनि अरुणाको गला पाएपछि ती गीतहरू सुनेर नरुने कोही थिएनन् त्यसबेला। करूण स्वरकी धनी अरुणाको यो विशेषतालाई शरणले पहिल्यै नै चिनिसकेका थिए। यसैले करूण रसमा आधारित गीतहरूलाई नै शरणले अरुणाको निम्ति भनेर सङ्गीत भर्थे। शरण प्रधानकै शब्द अनि सङ्गीत रहेको अनैकौं गीतहरू अरुणाले नेपाली हृदयको अन्तरकुनामा बसाइदिइन्। यो माया, जीवनको सपनी, आजभोलि मेरो, जाऊ छोडी जानेलाई, जीवन मेरो, मलाई आफ्नो बनाउनमा, देवराली पाखाले भन्छ, बर्खे झरी, झरर झरर, बनको काँडा, म आँखैमा राखिने योग्य कहाँ छु र, आजै गीतको भाका,यो हृदय त त्यही नै छ यो ढुकढुकीलाई के भयो, म अभागीको, मान्छे सबै एउटै रगतको विचार किन बेग्ला बेग्लै, मेरो पापहरूलाई माया छ मेरा भूलहरूलाई माया छ, खोला भन्दा नदी ठूलो सागर अझै ठूलो छ, मैले जीवनलाई कसरी सजाएँ, म अभागीको दुश्मनै हाँसोस् आदि गीतहरूलाई त्यसबेलादेखि लिएर आजसम्म पनि गीत अनि सङ्गीत अनि गायकीको बेजोड मेलको रूपमा सम्झना गरिन्छ।
सानु लामाको शब्द अनि शरण प्रधानको सङ्गीत रहेको गीत नेपाली गौरव गर्छौँ आफ्नै पनमा आज पनि उतिकै लोकप्रिय छ। नेपाली जातिको गौरव अनि विशेषता दर्शाउने यो गीत नेपाली संसारमा कालजयी गीतको रूपमा परिचित छ। जीतेन्द्र बरदेवाको शब्द अनि शरण प्रधानको सङ्गीतमा रहेको अनि अरुणा लामाको गायन रहेको यहाँ फूल नखिलि छ बहार आउन नै भुलेछ, यहाँ चोट दुखेकै छ तर सहन परेको छ गीतले पनि तत्कालीन दार्जिलिङका मानिसहरूका हृदयलाई स्पर्श गरेको थियो । नेपाली साङ्गीतिक क्षेत्रका यी प्रतिभाशाली जोडीलाई आज पनि आदर्श जोडी मान्ने गरिन्छ। यस्ता अतुलनीय प्रतिभाको धनी शरण प्रधानको अल्पायुमा नै यस संसारबाट विदा हुनु नेपाली समाजको ठूलो क्षति हो। धेरै दिनदेखिको दुसाध्य रोगसँगको सङ्घर्षपछि आफ्ना छोरा सुप्रीत, छोरी सपना अनि पत्नी अरुणालाई घोर दुःख सागरमा छोडी सन् १९७४मा शरण प्रधानले सधैँको निम्ति आँखा चिम्ले ।शरणको मृत्युक्षणलाई ईबराले यसरी उतारेका छन्-
“सुश्रुषा गर्दाकि अनिदी अरुणा झकाएकी मात्र के थिइन् आफ्नो निद्रा फोरेर शरण कराए- अरुणा, अरुणा, अरुणा ! अनि कहिल्यै बोलेनन्, ब्युँझेकी अरुणाले कति नै बोलाउँदा पनि…।“ उनी अझ लेख्छन्- “अरुणालाई साथ दिने मूल साँझ नै टुट्यो, उनको स्वर नै चुँडियो, छिन्न भयो।“
शरणको मृत्युपछि अरुणाले केही समय त गीत गाउनै छोडिन् । पछि सङ्गीतकार कर्म योञ्जन, मणिकमल छेत्री अनि साथीहरूका घरीघरीको अनुरोधको कारण उनले नेपाली सङ्गीत जगतमा पुनः प्रवेश गरिन्। शरणबिनाको साङ्गीतिक यात्रा पुनः सुरु गर्न उनलाई प्रसिद्ध सङ्गीतकार-गायिका शान्ति ठटालको सामीप्य अनि स्नेहले पनि धेरै मानसिक सहयोग पुगेको थियो। शरण प्रधानको स्वर्गवास भएपछि पनि जिन्दगी भर नै अरुणा लामाले करूण भावकै गीतहरू गाइरहिन्। उनका यस्तै कारुणिक गीतहरू नै आजसम्म पनि नेपाली जनजिब्रोमा टाँसिएको छ। उनका हरेक गीतहरूले लोकप्रियता हासिल गर्यो। शरणका सङ्गीत नभरिएका गीतहरूलाई सङ्गीत भर्ने अनि तिनीहरूलाई रेकर्ड गर्ने काम पनि उनले गर्दै गइन्। उनलाई उनका फ्यानहरूले स्वर कोकिला, स्वर साम्राज्ञी आदि नाम दिए। आफ्नो जीवनसाथीको मृत्युले उनको मनमा जुन दुःखलाई ल्याएको थियो त्यही दुःखलाई उनले जीवनभरी आफ्ना गीतहरूका माध्यमबाट साधरणीकरण गरिन्। यो अरुणाको आफ्नो पतिप्रतिको समर्पण अनि एकप्रकारको श्रद्धाञ्जली पनि थियो।
९. शिक्षक शरण
विज्ञानका शिक्षक शरण प्रधान एक आदर्श शिक्षक थिए, आफ्ना विद्यार्थीहरूका सम्झनामा। उनका एक विद्यार्थी अनि भूतपूर्व विद्यार्थी प्रकाश बराइली उनलाई माइ डियर प्रकारको शिक्षक रहेको बताउँछन्। जतिबेला उनी सन्त रोबर्टसका शिक्षक बनेर आएका थिए त्यसबेला सन्त रोबर्टस स्कूलमा धेरै योग्य अनि आदर्श शिक्षकहरू थिए। डा. जगत छेत्री, पी.सी थापा, कल्याण थापा, आर् बी सुब्बा, यासीन सर, गाब्रियल डुक्पा आदि सरहरूले भरिएको थियो सन्त रोबर्टस् विद्यालय। कलाको क्षेत्रमा दार्जिलिङका विद्यालयहरूका योगदानको एउटा भिन्नै इतिहास लेखिनपर्ने हो। आज पनि स्थानीय संस्कृति, कला, अनि खेलकुदलाई विकासको अग्रगतिमा लानमा विद्यालयहरूनै अघि छन्। प्रतिभाशाली शिक्षकहरूका अथक प्रयासले मात्र यो सम्भव हुन्छ। साठी अनि सत्तरको दशकमा यस्ता समर्पित शिक्षकहरूले भरिएका हुन्थे विद्यालयहरू। यस्तै एक समर्पित शिक्षक थिए शरण प्रधान। विद्यार्थीहरूलाई सधैँ सहानुभूतिको दृष्टिले हेर्ने प्रधान सरको सहयोग अनि सहृदयता आज पनि सम्झन्छन् आफ्नै अवकाशको जीवन बिताइरहेका उनका पुराना विद्यार्थीहरू। उनकै सहयोग अनि प्रशिक्षणमा त्यसबेलाका धेरै विद्यार्थीहरूले सङ्गीतलाई आफ्नो जीवनवृत्ति पनि बनाएका थिए। यस्ता सङ्गीतकार-गायकहरूमा प्रकाश गुरुङ एक हुन् जसलाई शरण प्रधानले मेन्डोलिन सिकाएका थिए भन्ने गरिन्छ। प्रकाश गुरुङ उनै श्रद्धेय सङ्गीतकार हुन जसले ओमविक्रम विष्टसँग मिलेर नेपाली पप गीतलाई लोकप्रिय बनाएका थिए।
१०. एउटा लिजेण्डको अवसान
आफ्नो सङ्गीत यात्राको शिखर उक्लँदै गरेका शरण प्रधानको छोटो उमेरमै निधन हुनुले नेपाली साङ्गीतिक-साहित्यिक जगतमा ठूलो क्षति भयो। नेपाली संसारले एउटा लिजेन्ड सङ्गीतकारलाई गुमायो। अरुणा लामाले आफ्नो संसार गुमाइन्, अनि छोराछोरीको ओत नै खोसियो। यसै क्षीणकाय शरण उच्च रक्त चापका विमारी थिए भनिन्छ। विद्यालय मै पनि घरि घरि मूर्च्छा परिरहने शरणले त्यस समयमा राम्रो उपचार पाउन सकेको भए उनको यति चाँडै अवसान हुँदैन थियो कि भन्ने अनुभव भइरहन्छ। शरण प्रधान धेरै बाँचेनन् तर एक जीवनमा जति गर्न सक्ने काम उनले आफ्नो अल्प जीवन मै पूरा गरे। आज पनि शरण प्रधानको चर्चा हुनु, उनका गीत सङ्गीत गाइनु, सुनिनुले उनको रचनाको सार्वकालिकताको पुष्टि हुन्छ।
११. शरणको साङ्गीतिक विरासत अनि नेपाली सङ्गीत
नेपाली सङ्गीतको क्षेत्रमा शालीन, अर्थपूर्ण, सामाजिक आधुनिक गीतहरूलाई लोकप्रिय बनाउने श्रेय उनलाई जान्छ। नारीलाई हेय दृष्टिले हेरिएका अनि सामाजिक कुरीतिलाई पश्रय दिइने गीत सङ्गीतको भरमार रहेको समयमा उनले गीतलाई काव्यात्मकता उचाइ दिए, सङ्गीतमा लोक अनि आधुनिकताको मिश्रणले लोकप्रिय बनाए। जीवनको क्षणभङ्गुरता, माया, प्रेम, आदर्श, जातीयता, नारी हृदयका उच्छ्वासहरूलाई आफ्ना गीतहरूमा उतारे। आफ्नो सानै उमेरमा यस्ता प्रौढ रचना गर्न सक्ने सामर्थ्यले उनी आफ्नो युगभन्दा धेरै अघि थिए भन्न सकिन्छ। आज पनि दार्जिलिङमा साङ्गीतिक रचनाहरू अत्यन्त शालीन हुने गर्दछन्। गीतकार सङ्गीतकार कलाकारहरूलाई समाजले सम्मानको दृष्टिले हेर्ने गर्दछ। यस्तो प्रकारको साङ्गीतिक परिवेशको निर्माण गर्ने श्रेय तिनै कलाकारहरूलाई जान्छ। आज पनि दार्जिलिङले साठी सत्तर दशकका यी महान् कलाकार अम्बर गुरुङ, गगन गुरुङ,गोपाल योञ्जन, शान्ति ठटाल, शरण प्रधान, अरुणा लामा, इन्द्र थपलिया, कर्म योन्जन, मणिकमल छेत्री, दिलमाया खाती, कुमार सुब्बा जस्ता सङ्गीतकार-गीतकार-गायकलाई श्रद्धाको दृष्टिले सम्झना गर्दछ। उनीहरूले बनाएको साङ्गीतिक गोरेटोमा आज पनि दार्जिलिङे साङ्गीतिक यात्रा दौडिरहेको छ।
दार्जिलिङ सरकारी महाविद्यालय
सन्दर्भ ग्रन्थ
१. कुमार प्रधान, १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन
२. टी. बी चन्द्र सुब्बा (सम्पा), १९९८, स्वर समाज्ञी अरुणा लामा स्मृति ग्रन्थ, गान्तोक, किनार प्रकाशन
३. पिटर जे कार्थक, २०२०, नेपाली सङ्गीत स्रष्टा, काठमाडौँ, हिमाल किताब प्रा. लि.
४. जे. के बराइली, २०२२, बिर्सनै नसक्ने हाम्रा गीत-सङ्गीतका पदचापहरू, दिल्ली, लेखक स्वयम्
५. ह्युगो स्ट्रोटबोम (सम्पा.) २०१०, द फ्रेड गेइसबर्ग डायरीज भाग दुई, गोइङ इस्ट (१९०२-१९०३)
६. अरुणचन्द्र कुलुङ, २०२३, आधुनिक नेपाली सङ्गीतका शिखरपुरुष अम्बर गुरुङ स्मृतिग्रन्थ, मिरिक, अम्बर गुरुङ सालिग निर्माण समिति
आधुनिक कलामा मिथिला कला फ्युजन हुँदै गर्दा
गत मे २७ मा काठमाडौं आर्ट ग्यालरीमा हरेराम यादवको दोस्रो एकल कला प्रदर्शनी भयो । उनको पहिलो एकल कला प्रदर्शनी कलर्स अफ कल्चर सन् २०२३ मा भइसकेको रहेछ । उनी हिमालयन लाइट आर्टका अवार्डप्राप्त कलाकार पनि हुन् । यो अवार्डप्राप्त कलाकारले वर्षको अन्त्यमा एकल कला शो गर्नै पर्ने प्रावधानअनुसार पनि उनको यो एकल कला प्रदर्शनी हुन पुगेको देखिन्छ । सिद्धार्थ कला दीर्घाले प्रदान गर्दै आएको यो अवार्ड सन् २०१९ मा सुरु भएको थियो । उनले चाहिँ यो अवार्ड सन् २०२४ मा प्राप्त गरेका थिए । यसरी उनी यो आर्ट अवार्डका आठौँ रिसिपियन्ट हुन पुगेका देखिन्छन् ।
यो अवार्डको पनि रमाइलो व्यवस्था छ । कलाकारलाई एकमुष्ट दुई लाख प्रदान गरिन्छ । उनले वर्षभरि कम्तीमा पनि १५ वटा काम गर्नुपर्छ । अनि यसलाई प्रदर्शन पनि गर्नुपर्छ । प्रदर्शनको व्यवस्था सिद्धार्थ कला दीर्घाले गरिदिन्छ । दुईवटा चित्र चाहिँ आयोजकलाई नै बुझाउनुपर्छ । आयोजकले सम्भवतः यही चित्र बेचेर अर्को रिसिपियन्टका लागि पैसाको जगेडा गर्ने गर्दछ ।

हरेरामको यो कला प्रदर्शनीको नाम चाहिँ फ्रम सिराहा टु काठमाडौं राखिएको छ । उनी मूलतः उतैकै तराईवासी (उनी सिराहा जिल्लाको लाहानमा जन्मेका हुन् ।) हुन् । उनी निक्कै पहिलेदेखि मिथिला लोककला रहर र सोखका लागि बनाउँथे । अलि पछि चाहिँ काठमाडौंमै उनले कलाको विधिवत् अध्ययन गरेका हुन् । अनि अहिले काठमाडौंमै बसोवास गर्दै आएका छन् । पश्चिमी कलामा अध्ययन गरेका हरेरामले यता पूर्वीय कला अङ्कन–पद्धतिलाई मिसमास गरी अलि नौलो स्वाद पस्केका हुन् । मूलतः यो कलाको थिमले पनि यसैको प्रतिनिधित्व गरेको देखिन्छ । अर्को सन्दर्भ भनेको चाहिँ उनको कला तराई–मधेस अनि पहाडसँगको मिलनको एउटा विम्ब पनि हो । अझ अर्को सन्दर्भ भनेको चाहिँ लोककला (मैथिली कला) अनि आधुनिक कलाको सङ्गमको द्योतक पनि हो ।
आजका युवा कलाकारहरू यस्तै–यस्तै परम्परागत लोक–गाथा, संस्कार अनि लोककलाको सुगन्धलाई आधुनिक संरचनामा प्रस्तुत हुन–गराउन थालेको देखिन्छ । पश्चिमी युरोपमा बीसौँ शताब्दीको सुरुतिर यही लोककला आधुनिक कलाको स्रोत बन्न पुगेको थियो । पिकासो यसका ज्वलन्त उदाहरण हुन् । पिकासोले सन् १९०७ मा क्युबिज्मको नयाँ प्रयोग गर्नुअघि उनी झण्डै एक वर्ष एकान्त गाउँमा बसी यस्तै–यस्तै लोककलाहरूको अध्ययन गरेका थिए, भन्ने गरिन्छ । यसैगरी उन्नाइसौँ शताब्दीको अन्त्यतिर उनीभन्दा अझ अघि पेरिसमै बस्दै आएका उत्तर–प्रभाववादी कलाकार गोगाँ लोककलाको अध्ययन गर्न टाहिटी भन्ने गाउँमा पसेका थिए । यसै बेलाका अर्का उत्तर–प्रभाववादी कलाकार भ्यान गग पनि गाउँतिरै हानिएका थिए । मूलतः यसै बेलादेखि कलामा आधुनिकता आएको एउटा अलग्ग इतिहास पनि छ ।
साउथ एसियाका अधिकांश राष्ट्रहरूले उहिल्यै आफ्नै यही लोककलाको जगमा आधुनिक कला विकास गरेका हुन् । भारतका समसामयिक कलाका आधारभूमि कलाकार जामिनी रायले यही अजन्ता अनि मुगल कलालाई (परम्परागत लोककला) आधार बनाएर आधुनिक कला बनाउँदा, शुद्ध भारतीय आधुनिक कला मात्र बनाएनन्, आफ्नै माटोको सुगन्धलाई पनि आफ्नो कला मार्फत उजागर गरेका थिए । यस्तै–यस्तै आधुनिक कलाको आधारशिला बनेका, बनाइएको हुँदा पनि उनी भारतीय कला इतिहासमा अति शीर्ष स्थानमा छन् । तर नेपालमा चाहिँ यसको परिकल्पना अलि पछि आएको देखिन्छ । अर्थात् अहिले यतिखेर चाहिँ लोककलाको महत्त्व विस्तारै बुझ्न थालेको देखिन्छ । यसकारण पनि यो आधुनिक कलामा आफ्नै मौलिकता खोज्ने जमर्को हिजोआजका युवा कलाकारले जमेरै लागेको देखिन्छ । यो कला प्रदर्शनी पनि यसैको थप पाइलाका रूपमा हेर्न सकिन्छ । यो कला प्रदर्शनी आगामी जुन ९ सम्म रहनेछ ।
यसैले उनी भन्छन् – “हिजोआज आध्यात्मिक चेतना, सांस्कृतिक परम्परा कता कता कमजोर हुँदै गइरहेको मलाई महसूस हुन्छ । त्यसकारण पनि म मेरा यी आफ्नै मिथिला संस्कृति, संस्कार अनि यसको अनन्तकालदेखि हामीबीच रहँदै आएको गौरवमयी परम्परालाई सौन्दर्यताका साथ मेरा कला मार्फत पुनः ल्याउन चाहन्छु ।”
यसकारण पनि मूलतः उनको यो समसामयिक चित्रको आधारभूमि नै मिथिला लोककला देखिन्छ । उनका पात्रहरू मैथिली कलाका विम्बहरू, मोटिफहरूका रूपमा परिमार्जित भई प्रस्तुत भएका देखिन्छन् । अझ कति ठाउँमा त नितान्त पश्चिमी यथार्थवादी शैलीहरू लोककलाका मोटिफहरूसँग गाँसिएर देखा पर्दछन् । अलिकता अटपट जस्तो लागे पनि उनका कलाको नयाँ स्वरूप देखिन्छ । यही नै उनको आफ्नो पहिचान पनि हो ।

सदियौँदेखि माटाको भित्तामा टाँसिँदै आएको मिथिला कला कागज वा क्यानभासमा ओर्लन थालेपछि, यो परम्परागत लोकसंस्कृति आफैँ पनि आज आधुनिक रूपमा प्रतिबिम्बित हुँदै आएको छ । यसैको प्रतिबिम्बका रूपमा पनि हरेरामका कलाहरू देखिन पुगेका छन् । लोक–देव अनि लोकगाथा आदिलाई एउटा थप भाष्य जोडेर क्यानभासमा अर्थसहित ओराल्नु उनको कलाको मूल विशेषता पनि हो । मिथिला लोककलाका बाङ्गाटिङ्गा तर जीवन्त रेखाहरू, यसको द्वितीय आयामिक संयोजनहरू र स्थानीय रङको सुगन्धलाई आजको आधुनिक कलासँग घुलमिलमा प्रस्तुत गर्नु उनको अर्को विशेषता पनि देखिन्छ ।
उनको अक्स फार्मर वन्ड नामक एउटा चित्र छ । जहाँ रातो–पहेँलो ताता रङको बाहुल्यमा समग्र चित्रपट नै गोरुको बढेमाको टाउकोले ढाकेको देखिन्छ । यसैभित्र खेतबारी छ । किसानले खेत जोत्दै गरेको, बीउ छर्दै गरेका गाउँवासीहरू पनि देखिन्छन् । अनि धान रोप्दै गरेका महिलाहरू पनि देखिन्छन् । किन कसरी हो थाहा छैन । उनले गोरुलाई किसानसँग जोड्दै, उहिले–पहिला कसरी यहाँका गाउँवासीहरू स्वतन्त्रपूर्वक, स्वावलम्बी भई जीविकोपार्जन गर्दथे भन्ने कुराले उनलाई भित्रैबाट समाएको देखिन्छ । अनि यसैलाई उनले चित्रपटमा थोरै आधुनिक पारामा उतार्ने कोसिस गर्दछन् ।
आज त्यहीँ गाउँको अवस्था पनि यस्तो छैन । विकासको नाममा मान्छेहरू परजीवी भएका छन् । यसैले पनि उनको सम्झनामा रहेका गोरुहरू घरीघरी उनको चित्रपटमा ओर्लिरहन्छन् । उहिले–पहिलाको संस्कृति र जीविकोपार्जनको एउटा प्रतीकात्मक विम्ब गोरु घरीघरी क्यानभासमा ओरालो बस्नु पनि मिथिला परम्परालाई जोड्न खोज्नु पनि हो । गोरु र किसानको सम्बन्धलाई केन्द्रमा राखेर बनाइएको यो चित्रमा अनगिन्ती गोरुहरू सल्बलाउनु पनि गजबको परिदृश्य देखिन्छ । यो उनको अनौठो संयोजनमा कला देखिँदा भावकहरू यसलाई रमाइलो मानी अवलोकन गरिरहेका देखिन्छन् ।
लोक–लयमा यथार्थ चित्रण भएको यो चित्रमा गाउँघरका थुप्रै कथाहरूलाई समेटिएका देखिन्छन् । एउटै चित्रपटमा थुप्रै कथाहरू समायोजन गर्नु पनि हाम्रै परम्परागत लोककलाको विशेषता पनि हो । उनका थुप्रै चित्रहरू यही एप्रोचमा संयोजन गरिएको देखिन्छ । अर्कोतर्फ भने ज्यामितीय गोलाकार उनलाई मन पर्ने मोटिफ मात्र होइन । यसलाई उनले सपनामा कल्पना बुन्न परे प्रतीकात्मक विम्बका रूपमा प्रयोग गरेको पनि देखिन्छ । अर्को कुरा, जनावर अनि मानवको मेल अनि एकअर्काबीचको मायामोह आदि पनि उनका कलामा स्पष्ट महसूस गर्न सकिन्छ । यसले सन्तुलित पर्यावरणको आभास पनि हुन्छ । यस्तै–यस्तै भावना, आजको यथार्थ, परम्परा आदि सबैको घुलमिल नै उनको कलाको पहिचान हो जस्तो भान पनि हुन्छ ।
गाउँघरमा आज यस्तो परम्परा केही देखिन्न । उनकै अनुसार पनि गोरुले खेत जोतेको देखिँदैन । गाउँ आफैँ आधुनिकतामा प्रवेश पाइसक्दा डेकोरेटेड मोडर्निज्म देखिन्छ । (उनको मोडर्न एरा भन्ने चित्रले यसैको प्रतिबिम्ब बोकेको छ ।) आधुनिकता गाउँमा पस्दा परम्परालाई घचेटिदिएर पर कतै हुत्याइदिए जस्तो उनलाई भान हुन्छ । यो अनौठो परिदृश्यले उसलाई घोचिबस्दा उनी चाहिँ पुरानो कुरालाई सम्झन पुग्छन् । फलस्वरूप किसान अनि गोरुको सम्बन्धलाई आफ्नो क्यानभासमा ओराल्ने गर्दा रहेछन् । यसर्थ यी पुराना कुराहरू क्यानभासमा देखिँदा उनको कलागत संरचनाले गजबको मिठास छरेको देखिन्छ ।
उहिले–उहिले हुने गरेको मिथिला गाउँको दैनिकी, अर्थात् डेली लाइफलाई विभिन्न कोणबाट चित्रमा उतार्ने पनि उनको कोसिस रहेको रहेछ । उनका चित्रहरू जस्तै दैनिकी जीवन, ढिकी, चुलो, जर्नल अफ कल्चरल रिस्पेक्ट, अनि व्यङ्ग्यात्मक रूपमा देखा परेको मोडर्न एरा आदि चित्रहरूले यस्तै–यस्तै कथा भनिरहेको महसूस हुन्छ । यी र यस्तै–यस्तै कलागत संरचनाहरू नै उनको कलागत विशेषता पनि हो । यहाँ मैथिली समुदायको जीवन गाँसिएको छ । अलिकता धर्म अनि धर्मप्रतिको आस्था आदि इत्यादि गाँसिएर देखा पर्दा पनि यसले मौलिकता बोकेको यथेष्ट आभास पनि हुन्छ ।

यसबाहेक अझ स्पष्ट रूपमा भन्नुपर्दा विशेष गरेर मैथिली संस्कृति, चाडपर्व, जात्रा आदिमा देखिएका विशेषतालाई उनले आधुनिक कलागत भाषामा रूपान्तरण गर्न पुगेका छन् । मैथिली संस्कृतिमा यी धर्म र संस्कारहरू जस्तै छठ, गोवर्धन पूजा, सामा–चकेवा, अनि जितिया नाच आदि पनि उनको कलामा अभिन्न रूपमा जोडिएको देखिन्छ । छठपर्वको बेला सूर्यदेवताको पूजा गरिन्छ । तर छठदेवी आफैँ भने नारी हुन् । उनको चित्र डिभाइन पावर मा यसर्थ पनि सूर्यदेवलाई नदेखाएर छठदेवीको रूपलाई देखाउन खोजेका छन् । वास्तवमा उनको भनाइअनुसार छठमा छठदेवीकै पूजा–उपासना गर्दै गर्दा सूर्यनारायणलाई पनि थप पूजा–आराधना गरेका हुन् । यसकारण पनि सातै घोडाहरूले तानिरहेको रथमा आरूढ छठदेवीलाई (नारीलाई) उभ्याउन कोसिस गरेको हुँ । उनको अन्नपूर्णा नामको चित्रमा पनि यसरी नै देवीलाई प्रस्तुत गरेका छन् । जहाँ मैथिली कलाकै कैयौँ विम्बहरूलाई समायोजन गरेको देखिन्छ ।
उनको अर्को चित्र गोवर्धन पूजा मा पनि मैथिली सुगन्धलाई स्पष्ट छाम्न सकिन्छ । जहाँ टाढा कतै गाउँ, अनि एउटा गोलाकारभित्र देवकृष्णले पर्वत उठाइरहेको आधुनिक संरचना देखिन्छ । अनि दुई आकृतिहरू सहयोगस्वरूप देखिन्छन् । गोलाकारबाहिर यो देव, अनि लोकगाथालाई आजका महिलाहरूले पूजा–अर्चना गरिरहेका अनौठो परिदृश्य देखिन्छ । गोलाकारभित्र अनि बाहिरको अलग–अलग अवस्थाको परिकल्पना हिजो र आजको मिलनको सन्दर्भ पनि हो । उहिले–पहिलेको अनि यसैलाई सम्झनामा ल्याउँदै आजको अवस्था जोड्दै संयोजन गर्नु पनि उनको विशेष कलागत विशेषता हो ।
अर्को चित्र लोकदेवता सल्हेस मा पनि यस्तै–यस्तै दृश्यहरू देखिन्छन् । राजा सल्हेस पछि भगवान् सल्हेस पनि बन्न पुगेको देखिन्छ । उनै राजालाई उनैका प्रेमिकाहरूले फूलमाला लिई पर्खी बसेको एउटा दृश्य देखिन्छ । धेरै रात–दिन पर्खी बसेको प्रतीकात्मक विम्बका रूपमा ती नारीहरू निदाएको, चिम्म गरेको अवस्थालाई पनि चित्रण गरिएको छ । तर राजाले वास्तै नगरी अगाडि बढेपछि पनि ती नारीहरू अहिले पनि यसरी नै पर्खेर बसिरहेका छन् रे भन्ने विश्वास गरिन्छ । अहिले पनि यसरी नै ती तीन जना महिलाहरू पर्खी बसेका छन् भन्ने कुरा वैशाख १ गतेका दिन सिराहामा अवस्थित सल्हेसको मन्दिर परिसरमा आज पनि सेतो सुनाखरी फूल फुल्ने गर्दछन् । यस बेला त्यहाँ धुमधामको मेला पनि लाग्ने गर्दछ ।
लोकदेवता सल्हेस वा दैनिकी जीवन, ढिकी आदि चित्रहरूलाई हेर्दा दुईवटा कुराको सन्दर्भ देखिन आउँछ । एउटा भनेको चाहिँ लोकगाथा, जुन सदियौँदेखि भन्दै–सुनाउँदै आइएको परम्परा छ । यसैलाई आफ्नो कल्पनामा बुन्दै अनेक पात्रहरूको निर्माण गर्दै यो कथालाई पुनः जीवन्त पार्न खोजेको देखिन्छ । अर्को चाहिँ बालकालदेखि जुन यथार्थ जीवन उनी आफैले भोगे, देखे आदि, त्यसलाई यथार्थ रूपमा चित्रण गरेको देखिन्छ । यही नै समष्टिमा उनको कलागत विशेषता पनि हो ।
कलाकार, कला समीक्षक
नेपाल र उडिसाको कलात्मक सम्बन्ध
जिपी कोइराला आर्ट एन्ड फाउन्डेसन र उडिसा कलेज अफ आर्ट एन्ड क्राफ्ट, उडिसा, भारतको संयुक्त आयोजनामा गत हप्ता काठमाडौंमा एक बृहत् कला प्रदर्शनी तथा कला भ्रमण र मित्रवत् दुई देशका कलात्मक र सांस्कृतिक सम्बन्धको अध्ययन, अनुभव र सहकार्यका कार्यक्रमहरूको आयोजना गरिएको थियो । जहाँ दुई देशको कलाकर्मका सीप, शैली र ज्ञान तथा विचार आदानप्रदानको माहोल पनि बनेको थियो ।
मन्दिरै मन्दिर र कलैकलाले घेरिएको गहकिलो संस्कार तथा संस्कृतिले पोषित एवं पालित सुसज्जित काठमाडौं सहरलाई उडिसाका कलाकारहरूले क्यानभासमा रङ्गाएर आत्मीयता, प्रेम र भाइचाराको उदाहरण प्रस्तुत गरेका थिए ।
नेपाली कलाकार र उडिसाका कलाकारहरूको संयुक्त आउटडोर कला वर्कसपमा काठमाडौंका विभिन्न ऐतिहासिक संरचना, कला र वास्तु–धरोहरहरू समेटिएका थिए । उनीहरूको यो कला वर्कसप र भ्रमणले काठमाडौंका संरक्षित र चर्चित विविध स्थानलाई क्यानभासमा समेटिने अवसर दियो । जस्तो नेपाल र भारतका कलाकारहरूले पशुपति क्षेत्र, पाटन क्षेत्र, भक्तपुर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र परम्परागत राणाकालका दरबारलगायत अहिलेका नयाँ संरचनाका धरोहरहरूलाई आ–आफ्ना क्यानभासमा समेटे ।
उक्त वर्कसप एक हप्तासम्म भएको थियो । कार्यक्रमअन्तर्गतको वर्कसपमुखी भ्रमण सकिएपछि उडिसाका कलाकारहरूलाई नेपाली कलाको ज्ञान तथा जानकारी दिलाउने हेतुले कला डेमोन्स्ट्रेसन कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस कार्यक्रममा लिड रोलको भूमिकामा नेपालका वाटरकलाकर्मी ए. बी. गुरुङ र प्रायः हिमाल, हिमालका दिनचर्याका चित्र कोर्ने नरबहादुर वि.क. थिए । उनीहरूले उडिसाबाट कला अध्ययन–भ्रमणका निम्ति नेपाल आएका कलाकार एवं विद्यार्थी कलाकारहरूलाई नेपाली कलाको शैली, मान्यता र चित्र कोरिने सुर र लयलाई डेमोन्स्ट्रेसनमार्फत लाइभ प्रस्तुति र जानकारी गराएका थिए । यस्तै यस कार्यक्रममा मिथिला कला दीर्घाका सञ्चालक एवं कलाकार श्यामसुन्दर यादवको महत्त्वपूर्ण भूमिका एवं सहभागिता रहेको थियो ।
यस कार्यक्रमको माध्यमबाट उडिसाका कलाकारहरूले नेपाली कलाकारहरूबाट र नेपाली कलाकारहरूले उडिसाका कलाकारहरूबाट कलाको धेरै नै कलाज्ञान र कलाशिक्षा लिने, अनुभव साटफेर गर्ने अवसर पाएका थिए । र महत्त्वपूर्ण कार्यक्रमले इतिहासदेखि नै सुमधुर रहँदै आएको हाम्रो छिमेकी राष्ट्र भारतसँगको अटुट सम्बन्ध बलियो भएको अनुभूति दिलाएको थियो ।
३१ जेष्ठ २०८३, आईतवार 