साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जसका आवाज सुनिन्छन्, कथा भनिँदैनन्

Chovar Blues Mobile Size

साहित्य पोस्टले अन्य प्रकाशनका साहित्य वा लेखक विशेष प्रकाशित सामग्रीहरुलाई स्थान दिनका लागि यो ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । यो स्तम्भमा साहित्य पोस्टले आफ्ना पाठकहरुलाई अन्य प्रकाशनका छुटाउँनै नहुने वा संग्रह गर्नु पर्ने विशेष सामग्रीहरु पढ्नका लागि सिफारिस गर्छ ।

यो सामग्री हामीले सेतोपाटीबाट लिएका हौँ । यसलाई सेतोपाटीका लागि गिरीश गिरीले लेख्नुभएको हो । यस लेखलाई तपाईँ सेतोपाटीकै साइटबाट पनि हेर्न सक्नुहुने छ ।

====================================================================

टोलका छिमेकीहरूको जमघट थियो। जमघटमा गितार समातेका तन्नेरीहरूले नारायण गोपालको ‘पोखिएर घामको झुल्का’ गाउन सुरू गरे।

‘ए बा! तिमीहरूले त्यो गितार थ्री-फोर टाइमिङमा बजाइरहेका छौ,’ टोलकै पाका सिबी क्षत्रीले बीचैमा सुझाए, ‘पछाडिको एउटा बारलाई छाडेरै बजाई हेर त! अझ राम्रो सुनिन्छ।’

sagarmani mobile size

हामी सबैका टोल-छिमेकमा अवकाशप्राप्त जीवन बिताइरहेकाहरू प्रायः ‘लो प्रोफाइल’ मा भेटिन्छन्। जस्तो, ७४ वर्षीय सिबी दाइलाई पनि हाम्रो टोलका अधिकांश वासिन्दाले ‘बिहान बिहान पूजाका निम्ति फूल टिप्दै हिँड्ने मानिस’ का रूपमा मात्रै चिन्छन्।

त्यही जमघटमा पनि धेरैलाई क्षत्री नेपालका पुराना गितारवादक हुन् भन्ने थाहै थिएन। उनको सुझावले कोही-कोही अचम्म परे।

‘रेडियोमा यो गीत बज्दा विचार गर त, बजाउनेले पछाडिको बारलाई छोडेकै सुनिन्छ,’ सिबी दाइले अझ अगाडि थपे, ‘अनि, त्यो बजाउने मानिस मै हुँ।’

यो पछिल्लो जानकारीबारे चाहिँ त्यहाँ अरू कसैलाई थाहा थिएन। सबै ट्वाँ परे।

हाम्रो कुराकानी अब हरिभक्त कटुवालले लेखेको त्यो कालजयी गीततर्फै मोडियो। गीतमा दुईपटकको ‘इन्टरल्यूड’ मा एउटा मिठो गितारको लिड पिस सुनिन्छ। घुम्दै आएर खसेजस्तो आवाज।

‘रिदम मात्र होइन,’ सिबी दाइले थपे, ‘त्यो लिड पनि मैले नै बजाएको हुँ।’

चार दशकअघि रेडियो नेपालको स्टुडियोमा संगीतकार अम्बर गुरुङले यो गीतको कम्पोजिसनबारे निर्देशन दिँदा ‘यसलाई डी मा बजाऊ’ मात्रै भनेका रहेछन्।

‘तर सुन्नेबित्तिकै यो मिक्सो लिडेन स्केलमा बनेको धुन हो भन्ने मैले पत्तो पाइसकेको थिएँ,’ सिबी दाइले थपे, ‘त्यसपछि म आफैंले पछाडिको एउटा बार छाडेरै बजाउन सुरू गरेँ।’

आफूले तय गरेभन्दा बेग्लै यो आवाजले झनै सशक्त प्रभाव पारेको अम्बर गुरुङलाई तत्कालै महशुस भएछ।

उनले पुलुक्क गितारवादकतिर हेरे। क्षत्रीका अनुसार काम गर्दागर्दै संगीतकर्मीबीच यसरी जुध्ने आँखा बडो स्वादलाग्दो हुन्छ।

‘त्यस्तो हेराइलाई नेपालीमा के भन्छन्?’ दाइले हाँस्दै सोधे र अगाडि थपे, ‘अंग्रेजीमा त ‘ग्लिम्स’ भन्छन् क्यारे!’

वाद्यवादकको खास भूमिका संगीतकारले तोकेअनुसार एकोहोरो बजाउने मात्र भए पनि यदि कलाकार हो भने ऊभित्रको सर्जक थामिएर बस्न नसक्ने क्षत्रीको ठहर छ।

‘कम्पोजरले सेतो गुलाफ रचना गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा हल्का रंगीन देखिने टोनहरू वाद्यवादकको सिर्जनाशक्तिले तयार पार्छ।’

त्यस्ता टोन कसैले निकाल्छु भनेर निस्कने नभई बजाउँदा बजाउँदैको छटपटीले प्रस्फुटन हुने उनको अनुभव छ।

पश्चिमाहरू र आफूहरूको संगीत अभ्यासमा आकाश-पाताल फरक हुने सिबी दाइको अनुभव रह्यो।

‘उनीहरूकहाँ कम्पोजरले सबथोक कागजमै उतारेर दिएका हुन्छन् जसमा कसैले थोरै पनि तलमाथि गर्न पाउँदैन,’ उनले भने, ‘हामीकहाँ कम्पोजरहरूमा त्यो स्तरको तयारी नपुग्ने भएकाले वाद्यवादकको सहकार्यबाटै कतिपय कुरा विकास हुन्छ।’

जमघट सकिएलगत्तैको बिहान म सिबी दाइको घरमै पुगेँ र प्रश्न सुरू गरेँ।

‘ए बा! यसरी प्रश्न किन सोधेको भन त?’ दाइले पन्छिने पारा ल्याए, ‘नाइँ नाइँ। मलाई अखबारतिर तान्ने काम नगर।’

सिबी क्षत्री मात्र होइन, संगीतका दुनियाँमा यस्ता हजारौं, अझ लाखौं मानिस छन्। हामी उनीहरूले सिर्जेका धुन सुनेरै हुर्किन्छौं। तर, कहिल्यै उनीहरूबारे चासो राख्दैनौं। केवल गायक अनि बढीमा संगीतकार र गीतकारको चर्चा हुन्छ। धुन भर्नेका कथा पनि कसैले लेख्दैनन्। ओझेलका पात्र भएरै बाँच्छन्।

म भने सिबी दाइको कथा लेख्न तयार थिएँ। यति भएपछि संकोच मानिरहेका दाइलाई सम्झाउन मुश्किल परेन।

काभ्रेको पुर्ख्यौली घरमा जन्मेका सिबी क्षत्रीको हुर्काई बर्माको टोंगजी सहरमा भएको थियो। उनको परिवार उतै बसेर बीचमा फर्केको थियो। उनी जन्मेपछि फेरि उतै पुगेको थियो।

‘बर्मामा धेरैथरि जातिको मिश्रित बसोबास थियो,’ उनले सम्झना गरे, ‘बंगालीदेखि दक्षिण भारतीयसम्म, रैथाने बर्मेलीदेखि चिनियाँसम्म। हामी नेपाली त हुने नै भयौं।’

त्यस्तो जमघटमा कुनै-कुनै बेला नेपालीहरू धर्मराज थापाका गीत गाउँथे। नत्र प्रायः सबैले मिलेर गाउने भनेकै हिन्दी गीत हुन्थ्यो।

‘त्यसै जमघटमा कुमाउँतिरबाट आएका कल्याण नामका गुरूले मेरा दाइको समूहलाई मेण्डोलिन बजाउन सिकाएका थिए,’ सिबी दाइले सुनाए, ‘तर, नसिकाइएकै म चाहिँ समूहमै पोख्त भएर निस्केँ।’

बर्मा बसाइँका रमाइला क्षण लामो समय चलेनन्।

सैनिक शासक ने विनले सन् १९६४ मा आप्रवासीलाई दुःख दिने नीति अपनाएपछि क्षत्री परिवार नेपाल फर्कियो। सिबी दाइ भने भारतको सिलोङमा बसेर पढाइलाई निरन्तरता दिन थाले।

‘सिलोङको होस्टलमा आदिवासी खसियाहरू अंग्रेजी गीत गाउन असाध्यै माहिर थिए,’ उनले सुनाए, ‘त्यतिबेलै असाध्यै मनपरेको क्लिफ रिचर्डको ‘एभरग्रीन ट्री’ गाउँदा गाउँदै म गितारमा पनि पोख्त भएँ।’

सिलोङबाट एसएलसी सिध्याएपछि अगाडिको पढाइका निम्ति उनी नेपाल आए। दाइको परिवार पोखरामा थियो।

‘पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको दोश्रो समूह हाम्रै थियो,’ उनी भन्छन्, ‘२०२५–२६ सालको कुरा हो।’

पोखराको बसोबास झुप्री पाराको घरमा थियो।

‘तर, हाम्रो त्यही डेरा छेवैमा भूपि शेरचनको दरबारजस्तै घर थियो,’ उनले सुनाए, ‘त्यही घरमा बस्ने अशोक भट्टचन मेरा असाध्यै मिल्ने साथी।’

त्यो दरबारमा निरन्तर आवतजावत चल्थ्यो। अनि त्यसैमा कहिले पारिजात आएर भूपिको पाहुना बन्थिन्, कहिले भर्खर बिहे गरेर ल्याएकी श्रीमतीका साथ नारायण गोपाल डेरा लिएर बस्थे।

यसरी भूपिको घर जमघट थलो बनेको थियो। त्यस्ता जमघटमा क्षत्री उनका असाध्यै मिल्ने पोखरेली साथी सरोज गोपाल र कृष्णबहादुर श्रेष्ठका साथमा सरिक भइरहन्थे। सरोज गोपालको लोकप्रिय ‘देउराली उकाली चढेर’ आफैंले गितारमा संगीतबद्ध गरिदिएको उनी दाबी गर्छन्।

साथीसंगतमै गरिएको त्यो कामको जस उनलाई दिइएन। तै पनि कुनै दुःखेसो नरहेको उनी सुनाउँछन्। र, भन्छन्, ‘आइ एम ह्याप्पी’।

रेडियोमा रेकर्ड हुनुअगावै आफूहरूले धेरैपटक त्यो गीत पोखरामा सुनाएको उनले सम्झे। त्यसैमध्ये भूपिको घरको जमघट पनि थियो। त्यहाँ हार्मोनियम समातेर बसेका नारायण गोपाल आफू पनि गीत सुनाउँथे र अरूका पनि सुन्थे।

‘नारायण गोपाल र भूपि दुवै पिउने मामिलामा माहिर थिए,’ सिबी दाइ सम्झन्छन्, ‘टकिलाको जस्तै सिसाको सानो गिलासमा रक्सी हालेपछि ओेठमा पनि नछुवाई परैबाट घाँटीभित्रै हुत्याउने प्रतिस्पर्धै गर्थे।’

ठीक त्यतिबेलै पृथ्वीनारायण क्याम्पसमा परीक्षासम्बन्धी विवादलाई लिएर विद्यार्थी आन्दोलन चर्कियो। त्यसले पनि कलेज बाहिरका गतिविधिमा सरिक हुन झनै फुर्सद मिल्यो।

‘त्यो फुर्सदमै मैले कन्या स्कुलमा हिसाब पढाउन सुरू गरेँ,’ सिबी दाइ भन्छन्, ‘पेमला दिदी (नारायण गोपाल पत्नी) चाहिँ अंग्रेजी शिक्षिका।’

यसरी सम्पर्क अझ बढ्दै गयो।

एकदिन पेमलाले ‘नारायण गोपाल संगीत साँझ’ को इच्छा राख्दै ‘भाइ, तपाईंले सघाइदिनुपर्छ’ भनिन्।

त्यसको केही समयमै पृथ्वीनारायण क्याम्पसस्थित साइन्स ल्याबसँगै सानो अडिटोरियममा ‘नारायण गोपाल साँझ’ आयोजना गरियो। गाउनुका साथै हार्मोनियम बजाउने काम नारायण गोपालले नै सम्हालेका थिए भने गितारमा क्षत्री अनि तबला सरोज गोपालकै आफन्त प्रज्ञाले सम्हालेका थिए।

‘प्रज्ञा र म दुवैले त्यत्तिकै बजाइदिएका थियौं,’ क्षत्रीले भने, ‘त्यो समय पोखरामा कसैले पनि पैसालाई महत्त्व दिँदैन थियौं।’

त्यो नारायण गोपाल साँझको एउटा दृश्य उनलाई अझै सम्झना आउँछ।

‘नारायण दाइ हल्का ट्वाँट लगाएरै गाउन उभिएका थिए,’ उनले भने, ‘गाउँदा-गाउँदै एउटा गीतमा त बीचैमा खोक्न थाले।’

उनका अनुसार त्यो सायद भूपिकै ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत थियो।

‘गीतको बीचमै स्वर तान्दातान्दै खोक्न थालेका उनी एकछिनसम्मै थामिएनन्,’ क्षत्रीले सुनाए, ‘उनले गाउन पनि छाडेनन्।’

क्षत्रीका अनुसार त्यो क्षण सबैले मञ्चतिर हेरिरहेका थिए भने मञ्चमा नारायण गोपालबाहेक आफूहरू दुई जनाको नजर दर्शकदीर्घाको पहिलो लहरमै बसेकी पेमलातर्फ थियो।

‘हत्केलाले मुख छोपेकी पेमला दिदीको अनुहार यति आतंकित थियो,’ उनले भने, ‘असाध्यै असहज र हृदयविदारक।’

त्यो दृश्यले नै उनी नारायण गोपाललाई कति धेरै मनपराउँथिन् भन्ने देखिन्थ्यो।

‘त्यो दृश्य मेरो स्मृतिमा यसरी बसेको छ,’ उनी थप्छन्, ‘अहिले पनि झल्झली सम्झिरहन्छु।’

एकैछिनको त्यो असजिलोपछि फेरि स्थिति सामान्य बन्दै गयो। र, पोखराको ‘नारायण गोपाल साँझ’ सफलतासाथ सम्पन्न भयो।

त्यसलगत्तै नारायण गोपाल दम्पत्ति मात्र होइन, सिबी क्षत्री पनि काठमाडौं आइपुगे।

यता आएपछि नारायण गोपालको सुरूमा पुर्ख्यौली घर किलागलमै बसोबास थियो। पछिपछि रानीपोखरी अनि ठमेलतिर डेरा सर्दै गयो। नारायण गोपालको वासस्थान जता पुगे पनि भेट्न गइरहने, पेमलाले पकाएका खाना खाने, शिवरात्रिका बेला सँगसँगै पशुपति जाने, मनोज कुमारको सिनेमा हेर्न विश्वज्योती गइरहने कामले निरन्तरता पाइरहे।

‘त्योताका नारायण दाइको असाध्यै पिउने बानी थियो,’ क्षत्री भन्छन्, ‘कति रात त आफूले रातभर ढोकै नखोलिदिएको प्रसंग पेमला दिदीबाट सुन्थेँ।’

काठमाडौं आएपछि क्षत्रीलाई जागिर चाहिँ रेडियो नेपालमा मिल्यो। सुरूमा ‘बी क्लास’ र लगत्तै ‘ए क्लास’ संगीतकारको। त्यहाँ दिनदिनै रेकर्डिङ चल्थ्यो। शुक्रबारको दिन लोकगीतका लागि छुट्याइएको हुन्थ्यो भने बाँकीका दिन आधुनिक, राष्ट्रिय गीतदेखि भजनसम्म रेकर्ड हुन्थे।

‘म रेडियोमा रहँदै राजा वीरेन्द्रको राज्याभिषेक भएको थियो,’ उनी सुनाउँछन्, ‘त्यति बेला त रेडियो नेपालमा पर्वजस्तै चलेको थियो।’

बिहान उज्यालो नहुँदैदेखि मध्यरातसम्म एकोहोरो रेकर्डिङ चल्थ्यो। त्यो बेला रेडियो नेपालमा आएर नगाउने कुनै कलाकार थिएनन्।

‘तर, एउटै गायकलाई मैले त्यो बेला एकपटक पनि आएको देखिनँ,’ क्षत्री सम्झन्छन्, ‘उनी थिए नारायण गोपाल।’

सुरूमा रेडियोमा भित्रिँदा एउटा गीतको रेकर्ड सिध्याएपछि सात रूपैयाँ पारिश्रमिक पाइन्थ्यो। पछि ‘ए क्लास’ भएपछि नौ रूपैयाँ पुग्यो।

‘त्योताका तीस रूपैयाँले घरभाडा टर्थ्यो,’ उनी सम्झन्छन्, ‘रेडियोबाट आएको पैसाले नै छेलोखेलो पुग्थ्यो।’

दिनहुँ एकोहोरो जाने, काम गर्ने र फर्किने, रेडियोमा उनको खासै संगत भने कसैसँग थिएन।

‘एकपटक एउटा तन्नेरी देखेँ, पिटर जे कार्थक,’ उनी भन्छन्, ‘बेस गितार बजाउने पिटर र मेराबीच प्रायः अंग्रेजीमै कुराकानी हुन्थ्यो।’

क्षत्रीका अनुसार त्यो बेला पिटर रातभर क्यासिनोमा जागिर खान्थे भने बिहान सबेरै त्रिभुवन विश्वविद्यालयमा एमएको कक्षा लिन्थे। अनि दिउँसोपख रेडियोमा गितार बजाउन आइपुग्थे।

‘उसको क्षमता देखेर म जिल्ल पर्थें,’ क्षत्री भन्छन्, ‘हाम्रो अर्को रूचिको विषय अंग्रेजीका किताब थिए। फ्रेडरिक फोर्सिथका ‘बेस्ट सेलर थ्रिलर’ हरू हामी बाँडेर पढ्थ्यौं।’

दार्जिलिङबाटै आएका पिटरसँगको सम्पर्कले आफूलाई गोपाल योञ्जनसँग नजिकिन मद्दत मिलेको क्षत्री सम्झना गर्छन्।

‘गोपाल दाइका थुप्रै गीतमा मैले गितार बजाएको छु,’ उनी भन्छन्, ‘मलाई उनको असाध्यै मनपर्ने ‘देशले रगत मागे’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा’ मा पनि मेरै गितार बजेका छन्।’

क्षत्रीका नजरमा गोपाल योञ्जन नेपालले पाएको सर्वोत्कृष्ट संगीतकार हुन्। त्यो बेलाका संगीतकारहरू सबै कोभन्दा को कम थिए। अम्बर गुरुङदेखि नातिकाजीसम्म।

‘जस्तो भनौं न, नाति दाइ त राम्रो संगीतकार हो नि!’ उनले थपे, ‘उनको सम्पूर्ण ध्यान कसरी मिठो कम्पोजिसन तयार पार्ने भन्नेमा हुन्थ्यो। कसरी हुन्छ त्यो म्युजिक फ्लप नहोस् भनेर असाध्यै कोशिस गर्थे।’

क्षत्रीका अनुसार त्यसरी मेहनत गरेपछि नातिकाजीका गीत नभन्दै सुपर-हिट हुन्थे।

‘तर, गोपाल दाइ यस्ता कुरा मतलबै नराखी कविले जस्तो काम गर्थे,’ क्षत्री भन्छन्, ‘शब्द तौलनेदेखि लिएर संगीत बुझ्नेसम्ममा उनको विशिष्ट क्षमता थियो।’

क्षत्रीको अनुभवमा गोपाल योञ्जनलाई काम गर्दागर्दै कुन बेला के कुराको सुर चल्थ्यो भन्ने ठेगान थिएन।

एकदिन सुशीला कंसाकारको स्वरमा गीत रेकर्डिङ चलिरहेको थियो। अचानक योञ्जनलाई त्यसमा ‘माउथ अर्गन’ को आवाज मिसाउन मन लाग्यो। तर, रेडियोमा न त्यो बाजा थियो, न बजाउने मानिस।

‘स्टुडियोबाट कुद्दै आफ्नो डेरा पुगेर मैले नै माउथ अर्गन ल्याइदिएँ,’ क्षत्री सम्झन्छन्, ‘आफैंले बजाएर रेकर्ड गरिदिएपछि गोपाल दाइको अनुहार बल्ल सन्तुष्ट देखिएको थियो।’

क्षत्रीलाई असाध्यै मनपर्ने अर्का संगीतकार गोविन्दलाल श्रेष्ठ हुन्।

‘छुटाउनै नमिल्ने,’ उनी भन्छन्, ‘एकताका रेडियोमा एकाबिहानै बज्ने उनको कम्पोजिसनको शंख ध्वनी त मास्टरपिसै हो।’

त्यो ध्वनी निकाल्न प्रयोग गरिएको असाध्यै विशाल शंख रेडियो नेपालमा सजाएरै राखिएको क्षत्री सम्झन्छन्। गायनमा भने क्षत्रीलाई सबभन्दा प्रभाव नारायण गोपालकै परेको थियो।

‘नारायण दाइले पनि हाइ रेन्जमा पुग्दा त दबाएरै गाउँथे,’ उनले कमजोरी पनि औंल्याए, ‘सोप्रानोको माथिल्लो पिचमा पुग्दा आवाज खोलेर गाउन उनी पनि सक्थेनन्।’

नारायण गोपालका निम्ति बजाएका गीतमध्ये क्षत्रीलाई सबभन्दा मनपर्ने ईश्वरवल्लभको ‘मेरो बेहोसी आज मेरै लागि पर्दा भो’ हो।

त्यसबाहेक ‘मेरो आँखालाई राख्ने फूलबारी छैन’, ‘ईश्वर तैंले रचेर फेरि’, ‘दुइटा फूल देउरालीमा’, ‘मेरो यो गीतमा जुन मुर्च्छना छ’ जस्ता उनले गितार बजाएका गीतको लामै सूची छ, जुन अहिले सम्झिन पनि गाह्रो हुँदै गएको छ।

नारायण गोपालको गीतलाई कतिपयले ‘ब्लूज’ भनिदिँदा क्षत्रीलाई अचम्म लाग्छ।

मलाई नसोध गीत पनि ब्लूज होइन,’ उनी भन्छन्, ‘फ्ल्याटेड नोटलाई नबुझेर मानिसले ब्लूज भनिदिए कि जस्तो लाग्छ। बरु एक्सिडेन्टल भन्न सकिएला।’

उति बेलाजस्ता गायक वा संगीतकार हिजोआज देखिनै छाडेको गुनासो क्षत्रीको छ।

‘अलिकता कर्ण दासमा त्यो ‘टिम्बर क्वालिटी’ छ कि जस्तो लाग्छ,’ उनी फेरि पनि यो प्रश्नमा पन्छिन चाहे, ‘अहिलेका गायक तथा संगीतकारको बारेमा केही बोल्नुभन्दा पनि सबलाई राम्रो गर्ने शुभकामना दिन्छु।’

बरू उनले पुरानै समय सम्झिन चाहे।

‘रामराज पौड्याल निर्देशक भएकै बेला रेडियोमा माथि टुप्पी र तल हाफपाइन्ट भएका एक जना नपत्याउँदो सानो केटा आइपुगेका थिए,’ उनले थपे, ‘उदितनारायण झा।’

झा त्यति बेला आधुनिक गीत प्रतियोगितामा मैथिली गीत गाउन आएका थिए। त्यो प्रतियोगितामा ओमविक्रम विष्ट लगायत थिए।

‘उदितले त्यो बेला हाइ पिचमा यस्तो राम्ररी गाइदिए,’ क्षत्री सम्झन्छन्, ‘त्यो नपत्याउँदो बच्चोले गाएको देखेर सबै जना हेरेको हेर्‍यै भए।’

रेडियोले उनलाई उतिबेलै लियो। त्यसरी रेडियो नेपाल छिरेको बच्चाको आवाज दुई-तीन वर्षमै झनै लोभलाग्दो तवरले खुलेको थियो।

‘उदित असाध्यै भलादमी थिए,’ क्षत्रीले भने, ‘पछि उनको प्रगति देखेर निकै खुसी लाग्यो।’

त्योताकै दरबारबाट पनि गीतहरू आउँथे। त्यस्ता गीत नातिकाजीकहाँ सोझै पुग्थ्यो।

‘तारादेवीको ‘शुभकामनाभरि’ गीत रेकर्ड गर्दाको पनि मिठो याद छ,’ क्षत्रीले भने, ‘सुरूमा रेडियोका लागि इन्द्रलाल, म र किबोर्डमा स्वयं नातिकाजी गरेर जम्मा पाँच जनाले बजाएका थियौं।’

त्यही गीत पछि रत्न रेकर्डिङमा डिस्कको निम्ति ठूलै टिमका साथ रेकर्ड गरियो। रत्न रेकर्डिङमा जाने बेला क्षत्री रेडियो नेपालभित्रै आन्दोलनरत थिए। उनी जान मानेनन्। पछि तारादेवीले नै अनुरोध गरेपछि गएर बजाइदिए।

रेडियोमा त्यो बेला ‘ए क्लास म्युजिसियन’ मा क्षत्रीसहित पाँच जना इन्द्रलाल, सिके रसाइली, रोज कपुर र शुभबहादुर थिए। रेकर्डिङका मामिलामा वाद्यवादकलाई ‘४२ टेक’ को नाममा कस्दै लगेपछि आन्दोलन चर्किएको थियो।

‘आन्दोलन सकिएपछि सबै फेरि रेडियोमा फिर्ता गए,’ क्षत्री भन्छन्, ‘म र इन्द्रलाल भने फर्केनौं।’

यसरी उनले रेडियो नेपालमा मोटामोटी चार वर्ष काम गरे।

‘त्यो बेलाका शब्द, ती स्वर र तिनै आवाज आज पनि धेरैले मिस गरिरहेको पाउँछु,’ यसो भनिरहँदा उनको अनुहारमा गौरववोध देखिन्थ्यो, ‘एउटा संगीतकर्मीलाई खुसी हुन योभन्दा बढी अरू के चाहिन्छ?’

उनका अनुसार उनी कार्यरत क्षण नै रेडियो नेपालको स्वर्णिम समय थियो।

‘रेडियो नेपालसँग मेरा तिता-मिठा दुवै सम्झना छन्,’ उनी भन्छन्, ‘तर, म कहिल्यै गुनासो गर्दिनँ। आइ एम ह्याप्पी।’

क्षत्रीले अरू पनि धेरै गायकका चर्चित गीतमा गितार बजाएका थिए। अघिल्लो साँझको जमघटमा तन्नेरीहरूले दीप श्रेष्ठको ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ गाइरहँदा उनी ‘यसको पनि डिस्क रेकर्डमा मैले नै बजाएको हुँ’ भनिरहेका थिए।

‘दीपको अरू पनि धेरै गीतमा बजाएको छु,’ उनले थपे, ‘प्रेमध्वजका त झनै थुप्रै गीत छन्।’

प्रेमध्वजसँगै उनले ‘अमेरिकन लाइब्रेरी’ पनि सम्झे।

‘प्रेमध्वजसँग त मेरो एउटै अड्डाका सहकर्मीको सम्बन्ध पनि छ,’ उनले थपे, ‘रेडियो छाडेपछि मैले दुई वर्ष उनीसँगै अमेरिकन लाइब्रेरीमा काम गरेको थिएँ।’

त्यसको केही समयमै सन् १९८५ मा क्षत्रीले लिंकन स्कुलमा संगीत प्रशिक्षकको काम पाए।

‘लिंकन स्कुलको कमाइले नै आजसम्मै मेरोनिम्ति आर्थिक मेरुदण्डको काम गर्दै आएको छ,’ उनी भन्छन्, ‘काठमाडौंमा रहेका महत्त्वपूर्ण विदेशीसँगको सम्पर्क विकासमा पनि त्यसले सहयोग गरिदियो।’

त्यस्ता विदेशीको सम्पर्ककै आधारमा ज्याजमा सोख राख्नेहरूको एउटा गतिलै टोली बनाएर सँगै काम गर्न पाएको उनी सुनाउँछन्। त्यो टोलीसँग काम गर्दा अझ फराकिलो दायरामा संगीत बुझ्ने मौका पाए।

‘त्यो संगत मेरोनिम्ति धेरै महत्त्वपूर्ण रह्यो,’ उनी भन्छन्, ‘मैले संगीतका किताबमा खोजेर नपाएका धेरै प्रश्नको उत्तर त्यहाँ गरिएका अभ्यासमा भेटेको थिएँ।’

क्षत्रीको व्यस्तताका अन्य पाटा पनि छन्।

रेडियो छाडेपछि उनका होटल व्यवसायी साथी श्याम कक्षपतिले लगानी गरिदिएर त्यति बेलै क्षत्रीका निम्ति ‘म्युजिक क्लास’ खोलिदिए।

सन् १९७६ मा सुरू भएर २०१० सम्मै चलेको त्यो म्युजिक क्लासबाट हजारौंलाई गितार सिकाएको क्षत्री सुनाउँछन्। अहिलेको चर्चित ब्यान्ड ‘नेपथ्य’ का सदस्यले आफ्नो स्थापनाकालमै क्षत्रीको त्यही कक्षामा संगीत सिकेका थिए। उक्त ब्यान्डका अहिलेका गितारवादक निरज गुरुङ पनि क्षत्रीकै शिष्य हुन्।

‘नेपथ्य मात्रै होइन, कब-वेबका गितार पनि मेरै शिष्यले बजाउँछन्,’ क्षत्री भन्छन्, ‘गितारका निम्ति प्रख्यात अनिल शाहीदेखि सुगम पोखरेल, मोहन भुषालजस्ता असंख्य नाम छन्।’

क्षत्रीका अनुसार संगीतकर्ममा लाग्नु भनेको हातको पञ्जाले भित्तामा हिर्काउनुजस्तै हो।

‘त्यसरी हिर्काउँदा जुन आवाज निस्कन्छ त्यो दुनियाँको हुन्छ,’ उनी भन्छन्, ‘जुन धूलो टाँसिन्छ त्यो आफ्नो।’

वर्षौं निरन्तर हिर्काउँदै गएपछि सतहमा जब एउटा आकृति खोपिँदै जान्छ, त्यो नै संगीतकारको पहिचान हुने उनको ठहर छ।

संगीतमै डुब्नेहरू बीच पनि अलग-अलग बाटा हुन्छन्।

‘मलाई कम्पोजर बन्ने इच्छा कहिल्यै पलाएन,’ उनले भने, ‘बरू विदेश भइदिएको भए अर्केष्ट्राको कन्डक्टर बन्ने चाहना राख्थेँ होला।’

त्यो चाहना नेपालमा पूरा हुने अवस्थै थिएन।

उनले एउटा घटना नै सुनाए। अम्बर गुरुङले एकपटक काठमाडौंमा कतै ‘क्यान्टेटा’ आयोजना गरेका थिए। त्यति बेला ‘कन्डक्टर’ बनेका गुरुङ छडी समातेर यस्तो ‘पोजिसन’ मा बसेका थिए, गाउन भनेर उभिएका फत्तेमानले उनलाई देख्दै देखेनन्।

‘अलमलिएका फत्तेमान घरिघरि पछाडि फर्केर वाद्यवादकतर्फ हेर्थे,’ क्षत्रीले हाँसो थाम्न सकेनन्, ‘उता हलका अधिकांश विदेशी दर्शकका निम्ति त्यो गाईजात्रा बनिरहेको थियो।’

यस्तो वस्तुस्थितिमा आफ्नो ‘कन्डक्टर’ बन्ने सपना व्यर्थ छ भन्ने क्षत्रीले बुझेका थिए।

‘नेपालमा मेरोनिम्ति जे जति सम्भव थियो, मैले त्यही नै गरेँ,’ उनले फेरि दोहोर्‍याए, ‘आइ एम ह्याप्पी।’

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७, ०६:०७:००
प्रतिक्रिया
Loading...